नेपाली गौरव : हाइमनदास राई ‘किरात’

- नरेन्द्रराज प्रसाई

प्राक्कथन:
हाइमनदास राई ‘किरात’ नेपाली संसारमा सुपरिचित नाउँ हो । उनी भारतीय नेपालीका गौरव मानिन्थे । उनको कर्मले नेपाली जातीको नै आराधना गरेको थियो । यसै कारणसमेत जोडिनाले उनको नाउँमा नेपाली साहित्यले अभिषेक गरेको थियो । त्यसैले उनी नेपाली साहित्यका पूजनीय बने । ईश्वरवल्लभका अनुसार ‘हाइमनदास राई किरात भारतीय नेपाली साहित्यका पुरोधा मानिए ।' प्रा.राजनारायण प्रधानको भाकामा भन्दा ‘किरात नेपाली भाषासाहित्यका शिरोमणि हुन् । उनी जति चम्के आफ्नै पौरखले चम्के । उनी हाम्रा अलङ्कार ! उनी कहिले नअस्ताउने हाम्रा आदर्श ! उनी हाम्रा दीपज्योति !'

किरात तेह्र वर्षको उमेरदेखि सिर्जनामा लागिरहे । तर उनका समकालीन रुपनारायण सिंहहरूले कीर्ति छापेर उनलाई उछिने । इन्द्र सुन्दास, रामकृष्ण शर्मा, शिवकुमार राई, हरिप्रसाद गोर्खा राई, भाइचन्द्र प्रधान, वीरेन्द्र सुब्बा आदिका नाउँले दार्जिलिङ ढाकेको बेला पनि किरातले आफ्नो लेखनको कहिले प्रचार गरेनन् । यसैबारे उनले पछिसम्म पनि भने— ‘मैले लेखेका कथाहरू छपाउन हतार गरिन, किनभने मेरा कथाहरू परिमार्जित थिएनन् । मेरा समकालीन साथीहरू मभन्दा अघिका थिएनन् तर प्रकाशनका दृष्टिकोणले उनीहरू मभन्दा अघि नै भए ।

किरात लेखनमा क्रमशः प्रसिद्धिको धुरी टेक्तै आए । उनको कृति जतिले पढे ती सबै उनीप्रति नजिक भए । उनलाई जतिले चिने सरल, सौम्य र सालीन भनेर नै चिने । सानोबाट उठेर उनी ठूला भए । तर उनीमा कहिल्यै घमण्ड पलाएन, बरु अरुको सेवा गर्ने, अरुलाई उठाउने र सम्मान दिलाउने काममा उनी लागि परे । त्यसै परिवेशमा उनीभित्र पनि सिर्जनाको लहरो झाङ्गिइरह्यो ।

जुनसुकै उमेरमा पुगेका बेला पनि किरात कहिले धारिलो भएर हिंडेनन् । उनी सधैं नरम भएर हिंडे । उनको महानता भनेकै उनी सादा जीवन बोकेका उच्च विचारका कुवेर थिए । साहित्यमा मात्र होइन धर्मसंस्कृति, शिक्षा, समाजसेवा र राजनीतिमा पनि उनको उतिकै चासो थियो । उनी बाँचुन्जेल उनले गोर्खालिग पार्टी पनि छाडेनन् । किनभने उनीभित्र नेपालित्वले जरा हालेको थियो । उनी जे काम गर्थे त्यहाँ स्वार्थको गन्ध हुँदैनथ्यो । उनी कहिले बनावटी भएर पनि हिंडेनन् । उनका हरेक पाइला सक्कली थिए । उनको जीवनको सम्पूर्ण जोडघटाउले नै उनी नेपाली साहित्यका महारथी पनि बने ।

जन्म:
हाइमनदास राई किरातको जन्म १९७५ साल माघ ३० गते भएको थियो । उनी भारत पश्चिम बङ्गालको कालेबुङको गोरुबथानमा जन्मेका थिए । रविचन्द्रदास राई र रत्नबाई राईका एउटी छोरी र सात जना छोराहरूमध्ये हाइमनदास काइँला छोरा थिए । रविचन्द्रदास राईले आफ्ना बुबाले समातेको कबीरपन्थी धर्म अँगालेका थिए ।

किरातका बाबुबाजे धर्मकर्मका अग्रगण्य थिए । उनका बुबाआमा कृषक थिए । त्यसबेला जग्गाजमिन सस्तो थियो । गाइगोरुसँग जग्गाजमिन साट्ने त्यो जमाना थियो । अनि उनकी आमाले धेरै जग्गा जोडेकी थिइन् । त्यसैले पछिपछिसम्म नै किरात गृह सम्पन्न नै थियो । तर उनीहरूका काइँला छोरा हाइमनदास सानामा बोधा थिए । त्यसैले उनी ढिलो स्कुल गए । उमेर छिप्पिएपछिको उनको स्कुलको पढाईबाट उनका गुरुहरू उनीप्रति निरास थिए । तर उनी खुट्टा टेक्तै जान थाले । क्रमशः बाल्यकाल सक्ने क्रममा उनी धेरैका उदाहरणीयमा गनिन थाले ।

किरात सानामा आफ्नो गच्छे अनुसारको घरेलु काम गर्थे । बाबु बाजेले गरेको धर्म सिकेर उनी परोपकारी भावनामा पनि हिंड्न थाले । अरुको उपकारमा उनले आफ्नो किशोरावस्था पार गरेका थिए । बाल्यकालदेखि नै उनी शिष्ट, मर्यािदत र शालीन थिए ।

शिक्षा दीक्षा:
किरातले आफ्ना बाबुबाजेले अँगालेको धर्म अँगाले । उनी कट्टर कबीरपन्थी थिए । सानैदेखि उनी धर्मपरायण थिए । तर उनी छुवाछुत मान्दैन थिए । उनी कुसंस्कारका विरोधी थिए । साथै जातजातिलाई उनी समान व्यवहार गर्थे । धर्म र कर्मका नाउँको आडम्बरदेखि उनी टाढै थिए । तर सानैदेखि उनी मसिनो बोली बोल्ने, सरल लाउने र पेटभरि खाने गर्थे । उनको शिक्षादीक्षाका लागि उनकी आमा सधैं अघि सर्थिन् । उनी पनि मातृभक्तका नमुना थिए ।

किरातले स्थानीय गोरुबथानको मिन स्कुलमा शिक्षाको आरम्भ गरे । उनले आठ कक्षासम्म स्कुल पढे । त्यसपछि उनी स्कुलको कक्षामा कहिले बसेनन् । पच्चीस वर्ष पुगेपछि उनले प्राइभेटबाट म्याट्रिक पास गरे । अनि दुई वर्षपछि उनले आइएको परीक्षा दिए र पास पनि भइहाले । तर आइए पास गरेपछि यी धेरै बर्ष अड्के । अथवा भनौं सन्ताउन्न वर्ष काटेपछि उनले बीए पास गरे । त्यसपछि पैसाठी वर्ष तुरेपछि मात्र उत्तर वङ्गाल विश्वविद्यालयले यिनका हातमा नेपाली विषयक एमएको प्रमाणपत्र थमाई दियो । यिनले जति पनि डिग्री लिए प्राइभेट विद्यार्थी भएर नै लिए ।

विवाह र सन्तान:
किरातले २५ वर्षको उमेरमा विहे गरे । गोरुबथानका नरदल लिम्बू र दिलमाया फागो लिम्बूकी छोरी गङ्गामायासँग यिनको लगन गाँठो कस्सिएको थियो । राई दम्पतीका तीन छोरी वीना, जानुका, लक्ष्मी र एक छोरा विजय जन्मे । यिनका छोराछोरी सबैले स्नातक पास गरे । अनि सबै छोरी र छोरा बुहारी शिक्षा पेसामा मात्र आबद्ध भए ।

व्यवसाय:
किरात सानैदेखि स्वावलम्बी थिए । उनी आफ्नो घरका सारा काम गर्न रुचाउँथे । घरधन्दादेखि खेतबारीसम्म पनि उनको लगन थियो । घरेलु काम अथवा भनौं आफ्नै कृषि व्यवसायका कारण उनले ढिलो पढे । यसैबारे उनले भने— ‘प्राथमिक पाठशाला छाडेपछि मेरो शिक्षाको स्रोत नै थुनियो । म कृषक भएर मेरो जीवन माटो र धुलोसँग मिसियो ।

किरात आफै खेत जोत्थे, आली लगाउथे, बाउसे गर्थे र दाँदे कुदाउँथे । उनी आफ्नो बारीको डल्ला फोर्थे । उनी कोदो रोप्थे, मकै गोड्थे र बाली टिप्थे । उनी अरुको खेतबारीमा पनि काम गर्थे । अथवा भनौं उनी पर्म पनि लगाउथे । उनी गाई पाल्थे, आफै दुध दुन्थे र मोही पनि पार्थे । उनी जन्मेदेखि नै शुद्ध साकाहारी थिए ।

जागिर र सेवा:
किरातले सुरुमा स्थानीय मिशन हिल चिया कमानमा काम गरे । केही वर्ष त्यहीं हल्लेपछि यी सिक्किमतिर हान्निए । त्यहाँ उनले धेरै ठाउँ काम खोजे । अन्ततः स्कुलको शिक्षकमा उनले काम भेटे र गरे । तर त्यहाँ उनी स्थिर हुन सकेनन् । त्यसैले उनी फेरि आफ्नै गाउँ फिरे । त्यहाँ पनि उनको कामदाम नभएपछि उनी भौतारिन थाले । त्यसपछि काम खोज्दै उनी घरबाहिर निस्के र जलपाइगुडीको डुबर्स पुगे । त्यहाँ पनि उनले शिक्षककै जागिर खोजे । जागिर पाए तापनि उनी त्यहाँ धेरै टिकेनन् । त्यसपछि पनि उनी जागरिकै खोजीमा लागे र जागरि खाँदै छोड्न थाले । फेरि पनि उनी आफ्नै गाउँको सम्झनामा बेरिन थाले । अन्ततः उनी गोरुबथानमै फर्के । त्यस बखत भने आफ्नै गाउँ ठाउँमा उनलाई जागिरको चिट्ठा पर्यो । अथवा भनौं युद्धवीर प्राइमरी स्कुलमा उनले पढाउने काम पाए । तर उनले त्यो जागिरको पनि बिट मारे । फेरि अर्का ठाँउ गएर उनले पढाउनै मन गरे । कतै चित्त नबुझेपछि फेरि उनी युद्धवीर प्राइमरी स्कुलमा नै घुरे । त्यतिबेलासम्ममा उनी पाको पनि भैसकेका थिए । त्यसैले त्यहीं उनले आफ्नो शिक्षासेवाको शेष अवधि रित्याए । त्यस स्कुलमा उनले निरन्तर पन्ध्र वर्ष पढाए । त्यतिमात्र होइन उनले गोरु बथान स्कुलको स्थायित्वका लागि जग्गा पनि दान गरे ।

किरात सुधारवादी थिए । शिक्षासेवा उनको मन पर्ने विषय थियो । पढाउने कामबाट यी कति ठाउँ अटाए र कति ठाउँ अटाएनन् । तर उनी जहाँजहाँ पुगे ती स्कुलहरूको सुधारमा मात्र लागिरहे । यिनले कुनै स्कुललाई सरकारी मान्यता दिलाए, कुनै स्कुलमा शिक्षकले तलब नियमित पाउँदैन थिए उनले पाउने गराएरै छाडे । कति स्कुलहरू धुले स्कुल र प्राथमिक स्तरका मात्र थिए, ती स्कुलहरूलाई पनि उनले माथिल्लो कक्षा पढाउने हैसियतको बनाए ।

साहित्यसेवा:
हाइमनदास राईले आफू तेह्र वर्ष भएपछि साहित्यमा आँखा गाडे । त्यसै बेला उनले आफ्नो नाउँको पुच्छरमा ‘किरात’ पनि थपे । आफ्ना बाबु बाजेको धर्मकर्मलाई साध्न उनले कबीर पुस्तकालयको सञ्चालनको भूमिका निर्वाह गरे । उनले ‘कोकिल’ नाउँको हस्तलिखित पत्रिकाको प्रकाशन पनि आरम्भ गरे । त्यसै वर्ष अथवा २०१३ साल पुस ७ गते उनले आफ्नै गाउँ गोरुबथानमा ‘नवयुग नेपाली पुस्तक मन्दिर’ को स्थापना गरे । त्यो संस्था खोलेर यी पनि चम्के र यिनले अरूलाई पनि चम्काए । नेपालका हृदयचन्द्रसिंह प्रधान, भीमनिधि तिवारी, सुन्दरप्रसाद शाह ‘दुखी आदिलाई त्यही संस्थाले थप प्रकाशमा ल्याउने काम गरेको थियो । साथै भारतका अगमसिंह गिरी, इन्द्रबहादुर राई, नरबहादुर दाहाल, हरिभक्त कटुवाललाई फोकस गर्ने काम किरात मार्फत ‘नवयुग नेपाली पुस्तक मन्दिर’ ले गरेको थियो । त्यतिखेर उनले आफ्नै जेथा लगाएर साहित्यको सेवा गरेका थिए । उनी आफ्नै धनले अरूका किताप छापिदिन्थे । त्यसैले त्यो संस्था धेरै टिक्न पनि सकेन । भनौं १३ वर्षसम्म नेपाली भाषासाहित्यको सेवा गरेर यो संस्था सेलाएर गयो । अनि धेरैपछि अर्थात् २०४७ असोज ७ गते उनले फेरि ‘नव साहित्य सङ्गमको स्थापना गरे ।

किरातका धेरे फुटकर लेखरचनाहरू प्रकाशित भए । सर्वप्रथम १९९१ सालमा ‘शारदा’ मा ‘सुरवीर’ शीर्षकको उनको कथा छापियो । कितापका हिसाबमा उनका अठार वटा कृति प्रकाशनमा आए । एघार वटा कथासङ्ग्रह, चार वटा उपन्यास र तीन वटा कवितासङ्ग्रह उनका प्रकाशित कृति हुन् ।

किरात नेपाली साहित्यका सिङ्गो संस्था मानिन्थे । उनैका कारण भारतको पश्चिम वङ्गालको गोरुबथान जस्तो कुनो ठाउँ पनि सुगम बन्यो । गोरुबथान क्रमशः गुरुबथानमा रुपान्तर हुन थाल्यो । उनकै त्याग, तपस्या र आराधनाका कारण गोरुबथान नै अर्को साहित्यिक तीर्थस्थल बन्यो ।

सम्मान र पुरस्कार:
किरातले नेपाली भाषासाहित्यमा अहोरात्र सेवा गरे । साहित्यको दीर्घ सेवा गरेको हुँदा उनलाई आफ्नो जन्मभूमिबाट र पुर्ख्याैली थलोबाट सम्मान र पुरस्कारहरूद्वारा सम्मानित गरियो । साहित्यको सेवामा मन, वचन र कर्म अर्पण गरेकै हुनाले उनले भारतीय साहित्य अकादेमी पुरस्कार, पश्चिम वङ्गाल सरकारबाट भानुभक्त पुरस्कार, अरुगी पुरस्कार, गिरी पुरस्कार, पारसमणि प्रधान पुरस्कार, बद्रीनारायण प्रधान पुरस्कार, दानियल खालिङ पुरस्कार र चन्द्रिका पुरस्कार पाए । साथै उनले भारतीय राष्ट्रपतिबाट राष्ट्रिय शिक्षा पुरस्कार पनि पाए । अनि उनले गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन दार्जिर्लङबाट जीवनकालीन पुरस्कार पाए । उनले सिक्किम राज्य सरकारद्वारा पनि सम्मान ग्रहण गरेका थिए । साथै उनलाई भारतकै केही संस्थाबाट पदक, कदरपत्र, अभिनन्दनपत्रहरू ससम्मान अर्पण गरिएको थियो । जलपाइगुढीको बाग्राकोटमा उनको रथयात्रा पनि गरिएको थियो । साथै उनको सम्मानमा जनस्तरबाट ‘हाइमनदास राई किरात प्रतिष्ठान’को पनि स्थापना भयो ।

किरातलाई नेपालबाट पनि सम्मान र पुरस्कार अर्पण गरिएको थियो । उनलाई नेपाल सरकारबाट भानुभक्त स्वर्णपदक, त्रिमूर्ति निकेतनबाट महाकवि देवकोटा शताब्दी सम्मान र नइ प्रकाशनबाट नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गरिएको थियो । यिनले पुरस्कार बापत जति धनराशि पाउथे एक पैसा पनि घरभित्र हुल्दैन थिए । त्यसरी आएको पैसाबाट उनी अप्ठ्यारोमा परेका स्रष्टाका किताप छापी दिन्थे ।

स्वर्गारोहण:
किरात आफ्नै घरमा बसेर नेपाली भाषाको सेवामा जुटरहेका थिए । उनी शरीरिक रुपले अक्षम भए तापनि मानसिक रुपमा सक्षम थिए । जीवनको उत्तरार्ध टेकेपछि उनले लेख्न सकेनन् तर उनी नेपाली भाषामा धाराप्रवाह भाषण दिन सक्थे । उनको स्वास्थ्यमा पनि कुनै त्यस्तो प्रतिकुल अवस्था थिएन । साँझको खाना खाएर उनी आफ्ना नातिनातिनासँग गफ गर्दै बसेका थिए । तर उनी बोल्दाबोल्दै सिथिल हुन थाले । उनको अवस्था एकाएक खस्केपछि उनकी छोरी लक्ष्मी र नातिनी ममता राईलगायत एक दर्जन नातिनातिना भएर उनलाई अस्पताल लगियो । तर अस्पतालै नपुगी बाटैमा उनका आफन्तसँगको उनको भौतिक सम्बन्ध टुङ्गिएको थियो ।

हाइमनदास राई ‘किरात’ ले १०२ वर्षको आरोह अबरोह खेपे । त्यस बीचमा उनले आफ्नो जिन्दगीको सबै काम भ्याए । अनि २०७६ साल असार २९ गते भानु जयन्तीका दिन राति साढे दस बजे उनी स्वर्गीय भए ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 1 भाद्र, 2076

लेखकका अन्य रचनाहरु