अक्सफोर्डमा एक नजर

- इन्दिरा दीक्षित

बेलायत घुम्न आएका हामी, यता बसुन्जेल छोरीज्वाइँले बिदाको दिन कतै न कतै घुमाएकै हुन्थे । अगस्त १९ शनिबारका दिन अक्सफोर्ड घुम्न जाने योजना बन्यो । अक्सफोर्डको नाम लिनेबित्तिकै मलाई निकै खुसी लाग्यो; यो त जानैपर्ने ठाउँँ हो । संसारभरि फैलिएको नाम अक्सफोर्ड र त्यो युनिभर्सिटी कस्तो होला ! जिज्ञासा लाग्नु स्वाभाविक नै हो ।
बिदाको दिन अलि अबेर नै उठ्ने चलन भए तापनि घुम्न हिँड्ने भएपछि चाँडै नै उठेर ठीकठाक परियो । नास्ता गरेर बाहिरिँदा बिहानको नौ बजिसकेको थियो । बाहिरतिर घुमघामका लागि योग्य अगस्तको महिना न्यानो र घमाइलो समय थियो । बेलायत आएदेखि हाम्रो बसोबास गर्ने थलो इङ्गल्यान्डको ब्रिस्टल सहरबाट सिधा पूर्वपट्टि इङ्गल्यान्डको अर्को सहर अक्सफोर्ड पर्दो रहेछ । ब्रिस्टलबाट अक्सफोर्डसम्मको बाटाको दूरी करिब सत्तरी माइल रहेछ । करिब एक घण्टाजतिको बाटो तर सहरी बाटो भएकाले अलि ट्राफिक जाम हुँदो रहेछ । ब्रिस्टलबाट एम ४ मोटरवे छिचोल्न नै निकै समय लाग्यो । मोटरवे पुगेपछि आरामले गाडी कुदाउन मिल्यो । सहर सकिएपछि बेलायती दुनियाँ उही त हो खाली–खालीजस्तो देखिन्छ । सहरबाहिरको बसोबास क्षेत्रलाई कन्ट्रिसाइड भन्दा रहेछन्, हाम्रोतिर गाउँघर भनेजस्तै । तर, हाम्रो देशको गाउँतिर धेरैजसो गरिब र पिछडिएका वर्गको बसोबास हुन्छ भने यतातिर धनी मान्छेको बसोबास हुँदो रहेछ । ठूलो खेती गर्ने किसान, पशुपालन व्यवसाय गर्ने किसान आदि व्यक्तिहरू यताका धनी वर्गमा पर्दा रहेछन् । कम्पाउन्ड भएका ठूला घर त गाउँतिरै देख्न पाँइदो रहेछ । गहुँका पहेँला फाँट र मकैका हरिया फाँटका अलावा कतैकतै पहेँला तोरी पनि फुलेका देखिन्थे । यी सबै छिचोल्दै हामी चार प्राणी अगाडि बढ्दै थियाँै ।
अक्सफोर्ड पुग्न आधा बाटोतिर होला ज्वाइँँ साहेबले गाडी अर्कोतिर मोडदै भन्नुभयो, “ममी ! मैले पढेको कलेज पनि हेर्ने कि ?” बाटोमा पर्ने कलेज त्यो पनि ज्वाइँँले पढेको किन नहेर्नु ! मूलबाटोदेखि आधा माइलजति पर ठूलाठूला बिल्डिङहरू देखिए; नगिचै लेखेको बोर्ड पनि देखियो; डिफेन्स एकेडेमी अफ युनाएटेड किङडम । हामीजस्ता सर्वसाधारणले यस कलेजभित्र पस्न नपाइने रहेछ; बाहिरैबाट कलेजको फन्को मारेर फर्कियौँ । खुसी लाग्यो, यस्तो कलेज त सर्वसाधाणले पढ्न खोजेर कहाँ पाउनु र ? गोराभन्दा बढी नै दिमाग भए मात्र गोडा टेक्न पाइने रहेछ । गौरवान्वित हुँदै मनमनै भनेँ– मेरा ज्वाइँँ न हुन्; आखिर यी गोरेभन्दा त बढी नै होलान् ! घटी के हुन्थे र ?
हाम्रो गन्तव्य त अक्सफोर्ड भएकाले त्यतैतिर गाडी मोडियो । करिब आधा घण्टाजतिको कुदाइपछि अक्सफोर्ड सहर देखा प¥यो । इङ्गल्यान्ड को पुरानो सहर अक्सफोर्ड ! पुरातन शिलानिर्मित सहर । बेलायतका अधिकांश प्राचीन सहरहरू ढुङ्गाले बनाइएका देखिन्छन् । त्यति बेलाको सभ्यता नै त्यस्तै थियो होला ! यति बलिया शिलाका बडेबडे महल अनि दिनभरि हिँडेर भ्याइनसक्नुको सहर । अझ महलका शिलामा कुँदिएका बुट्टा, हेरेर त झन् आश्चर्य लाग्छ; मिहिनेतका साथै दिमाग पनि कस्तो पाएका यी बेलायतीले ? यस्तो अद्भुत दृश्य थोरै समयमा हेरेर के साद्धे र ?
सहर हेर्ने उद्देश्यभन्दा पनि अक्फोर्ड विश्वविद्यालय हेर्न आएका हामी, लोभ्याउँदो सहरले केहीबेर रुमल्यायो । धेरैबेर अलमल गर्नु भएन, फटाफटी अगाडि बढ्यौँ । अक्सफोर्ड सहरकै बीचमा भएर होला युनिभर्सिटीको नाम पनि अक्सफोर्ड रहन गएको ! गाडी छोडेर करिब आधा घण्टाजति पैदल हिँडेपछि युसनिभर्सिटी हाता सुरु हुँदो रहेछ । विभिन्न विषयका छुट्टाछुट्टै ढुङ्गाका बडेबडे भवन, चारैतिर भवनैभवनहरू, एउटा विषयको सकिएपछि निकै पर अर्को विषयको सुरु भयो । दुनियाँमा कति कुराको पढाइ हुन्छ त्यत्ति नै छुट्टाछुट्टै ठाउँँ । सबै घुमेर के साद्धे ? सरसर्ती हेर्दै हिँडियो ।
पछाडि पुगियो मुख्य ठाउँँ जहाँ पढाइको सुरुवात भएको थियो । युनिभर्सिटीको गेटबाट भित्र पस्नेबित्तिकै एक किसिमको आनन्द महसुस भयो । बिदाको दिन भएर हो अथवा सधैँ यस्तै हुने हो भिड निकै नै थियो । अन्य सहरदेखि विदेशबाट समेत बस भरीभरी मान्छे पुगेका, आखिर हामीलाई जस्तै यिनलाई पनि यो युनिभर्सिटी हेर्ने लालचले तानेर आएका होलान् । धेरैलाई विद्वान् बनाउने यो थलो, अनि यसै थलोले कति जना व्यक्तिलाई डाक्टर, इन्जिनिएर, वैज्ञानिक्, दार्शनिक, राजनीतिज्ञ अनि अरू केके पनि थुप्रै बनायो । विश्वका ठूलाठूला विशिष्ट राजनेताहरूले पढेको थलो, अक्फोर्डमा पढेको भनेपछि दुनियाँको हेर्ने नजरमा पनि इज्जत र सम्मान भरिएको हुन्छ । विद्वान्हरूका लागि यो ठाउँँ कुनै तीर्थस्थल–जत्तिकै हुन्छ होला ! मेरा लागि पनि यो ठाउँँमा पदार्पण गर्नु भनेको ठूलो कुरा हो । यस मानेमा म आपूmले आपैmलाई भाग्यमानी नै ठान्छु ।
युनिभर्सिटी हाताको ठूलो कम्पाउन्डभित्र ठूलाठूला शिलानिर्मित भवन, भवनमा कुँदिएका जीवन्त मूर्तिहरूका साथै अन्यत्र पनि ठाउँँठाउँँमा पूर्णकदका सालिकहरू देखिन्थे । शिलाका अग्ला टावर, थरीथरीका अग्ला बडेबडे भवन, गुमुज आकारका भवन आदि इत्यादि देखिन्थे; भित्र चोटाकोठा घुम्न मिल्दैनथ्यो । दिनहुँजसो हामीजस्ता पर्यटक ओइरो लाग्ने ठाउँँमा सबैलाई भित्रभित्र पस्न दिने हो भने युनिभर्सिटीको हालत कस्तो हुन्थ्यो होला ! अनि पठनपाठन गर्ने ठाउँँमा धेरै मान्छे छिर्दा पढाइमा बाधा हुन जान्छ भनेर होला सबै ठाउँँमा ढोका लगाएकै हुन्थ्यो । हेर्दै जाँदा जति पनि कला र आकृति बनाउन मिल्छ अक्सफोर्ड युनिभर्सिटीभित्रै छ कि जस्तो लाग्यो । युनिभसिटी हाताको बीचतिर एउटा ठूलो चर्च पनि रहेछ; अग्लो कलात्मक चर्च ! भगवान् त सबैको उस्तै न हो मेरा लागि मन्दिरभन्दा कम थिएन; श्र्रद्धाले मेरो शिर झुक्यो । भित्र पस्न मिल्ने भएकाले थुप्रै मान्छेको लाइनमा हामी पनि बस्यौँ ।
भित्र पुग्दा एउटा ठूलो सिनेमा हलजत्रै कलात्मक बैठकमा पुगियो । बैठकको ठीक अगाडिपट्टि जिजसक्राइस्टको क्रस आकारको प्रतिमा, अर्कोपट्टि मदर मेरीको सौम्य मूर्ति र अरू सहायक थुप्रै मूर्तिहरू थिए । भित्र पसेर घुमीघुमी हेर्दा अरू अचम्म लाग्यो । कहिले हो कहिले बनाएको यो भवनको भित्ता र सिलिङभरि कुँदिएको कला, हेर्दा लाग्छ कि भर्खरै कुनै सिद्धहस्त कलाकारले फुर्सदले बनाएको हो कि भनेजस्तै देखिने कस्तो कला अनि कस्ता कलाकार ! अझ आश्चर्यलाग्दो कुरा त यति पुरानो चिजवस्तुलाई जस्ताको तस्तै कसरी राख्न सकेका होलान् ? मेरो सानो दिमागले यस्तो कुरा कसरी जानोस् र ! तलमाथि चारैतिर घुमेर हेरियो । त्यो शान्त ठाउँँमा केहीबेर बस्न मन लागेर बस्याँै पनि । केही तस्बिर खिचाएर बाहिरियौँ; अन्त पनि त हेर्नुप¥यो ।
युानभर्सिटी कहिले कसले बनायो ? सत्यतथ्य कुराको पत्तो नलागे तापनि सन् १०९६ देखि पढाउन सुरु गरिएका प्रमाणहरू रहेछन् । त्यति बेला इङ्गल्यान्ड र अरू राज्य छुट्टाछुट्टै थिए । इङ्गल्यान्डका इङ्ग्लिसहरू धेरैजसो पेरिसतिर गएर पढ्दा रहेछन् । धेरै वर्षपछि इङ्गल्यान्डका राजा हेनरी द्वितीयको पालामा पेरिस र इङ्गल्यान्डको बीचमा मनमुटाव सुरु भएछ । सन् ११६७ देखि राजा हेनरी द्वितीयले इङ्ग्लिसहरूलाई पेरिस जान बन्देज लगाएर अक्सफोर्डमा नै विधिवत् रूपमा सर्वसाधारणलाई पठनपाठनको व्यवस्था गराएका रहेछन् । सुरुवाती अवस्थामा कमै बिल्डिङहरू थिए होलान् तर अहिले थुप्रै बिल्डिङ र कलेजहरू छन्, जुन एकै दिनमा घुमेर र हेरेर साध्य हुँदैन ।
यसरी सुरु भएको यो इङ्ग्लिस युनिभर्सिटीले आज विश्वभरि आफ्नो वर्चस्व फैलाउन सफल भएको छ । फलस्वरूप सर्वमान्य भाषाको मध्यस्थकर्ता अनि विश्वले बुझ्ने र बोलिने भाषा इङ्ग्लिस बनेको छ । संसारमा प्रचलित अङ्ग्रेजी शब्दकोश डिक्स्नेरी सर्वप्रथम अक्फोर्डले नै निकाल्यो । आजसम्म विश्वले यसै डिक्स्नेरीमा भएका अङ्ग्रेजी शब्दको अनुसरण गर्दै आइरहेका छन् । अक्सफोर्ड युनिभर्सिटीले अरू धेरै किताबहरू प्नि निकालेको छ, जुन सर्वमान्य र सबैले पढ्छन् । संसारभरिको अङ्ग्रेजी भाषाको पठनपाठन कार्य ब्रिटिस इङ्ग्लिस भनेकै यसै युनिभर्सिटीको प्रादुर्भाव हो ।
गौरवान्वित हुँदै सबैतिर घुम्दै हेरियो । दिन ढल्किसकेकाले अब घर फर्कने बेला पनि भयो । अक्सफोर्ड युनिभर्सिटीको कलाकृतिलाई आँखामा समेट्दै फर्कियौँ । गाडी कुद्दै थियो; मेरो मन नेपालमा पुग्यो; हाम्रो देशमा भएको एउटा पुरानो त्रिभुवन विश्वविद्यालयको हालत कस्तो छ ! सम्झँदा पनि मन दुखेर आउँछ । अक्सफोर्डमा पठनपाठन सुरु भएदेखि यतासम्म मर्मत–सुधारका साथै आवश्यकताअनुसार नयाँ बिल्डिङ पनि थप्दै लगेका छन् भने नेपालको अवस्था ठीक विपरीत देखिन्छ ।
नेपालमा पनि कलाकार र कलाकृति नभएका त हैनन् नि । बेलायतमा जस्तो बडेबडे ढुङ्गेघर नभए तापनि ठाउँँ र समयअनुसारका त बनेकै थिए । सार्वजनिक ठाउँँदेखि मन्दिरका टुँडाल, खाँबा, भित्ता, मूर्ति आदि ठाउँँहरूमा राम्राराम्रा आकृतिहरू अझै पनि देख्न पाइन्छ । मन्दिर मात्र हैन पुराना घरहरूमा पनि काठ र ढुङ्गामा कुँदेर सुन्दर आकृतिहरू बनाइएका छन् । पैलेपैलेका राजा महाराजाले ठाउँँठाउँँमा शिलादेखि धातुसम्मका मूर्ति, सालिक, स्मारक आदि बनाएर छोडेको अद्यापि छँदै छ । युनेस्कोमा नाम लेखाउन सफल भएको हाम्रो देशका कलाकृति र पुरातन सामग्रीहरू पनि कम त हैनन् । फरक यत्ति हो कि बेलायतमा भएका सबै प्राचीन र पुरातन वस्तुहरू सरकारदेखि जनतासम्मले जोगाएर राखेका छन् भने हाम्रो देशमा कसैको नजर नपर्नाले खण्डहरका रूपमा परिणत हुँदै छन् । विकसित र शिक्षित देश बेलायतजस्तो नेपाल कहिले बन्ला ? हाम्रा सन्ततिले आफ्नो देशको धरोहर खोजी गर्ने बेलासम्म सायद खण्डहर पनि हराएर जान्छ कि ?
आज हामीले अक्सफोर्डको पढाइको अनुसरण गर्दै छौँ । यो नराम्रो कुरा हैन । यही पढाइले ज्ञानीमानी गराउनाका साथै काम र मामको पनि व्यवस्था गरेको छ । अक्सफोर्डको विकासक्रम हेर्दा निकै पुरानो देखिन्छ । यसबारे चर्चा गर्नासाथ रमाउने हाम्रो मन संसारको सबैभन्दा पहिले शिक्षाको प्रदुर्भाव भएको सनातन धर्ममा आधारित संस्कृत भाषा र लिपिको गुरुकुलीय शिक्षा, पूर्वीय क्षेत्रको सेरोफेरोमा फैलिएको थियो; हामीले यसको किन संरक्षण गर्न सकेनौँ ? यो अनुत्तरीय प्रश्न बनेको छ । सुनिन्छ, विश्वका अधिकांश देशहरूमा संस्कृत शिक्षाका लागि विश्वविद्यालयहरू खुलेका छन् तर हामो देश नेपाल, जुन संस्कृत शिक्षाका दिग्गज ऋषिमुनिहरूले गुरुकुल खोलेर त्यति बेलाका मानवलाई शिक्षित बनाएका थिए; त्यही शिक्षा र भाषा आज लोपोन्मुख अवस्थामा छ । यस्ता कुरामा सम्बन्धित निकायदेखि सर्वसाधारण कसैको ध्यान नजानु दुःखलाग्दो कुरा हो । हामीले पनि संस्कृत शिक्षाको जगेर्ना गरेर आफ्नो परम्परालाई समयानुकूल परिमार्जित गर्दै लगेको भए अहिलेसम्म ती विश्वविद्यालयहरू अक्सफोर्डभन्दा कम हुन्थे होलान् त ? अनि, त्यसै विश्वविद्यालयमा अध्ययन गरेका हामीलगायत हाम्रा सन्ततिहरू अक्सफोर्डका भन्दा कम हुन्थे होलान् त ? यी अनुत्तरीय प्रश्नहरूले मेरो मन घोचिरह्यो । आज देखिएको अक्सफोर्डमा लागेको भिड हाम्रो संस्कृत विश्वविद्यालयको अवलोकन गर्न आउँदैनथ्यो होला त ?

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 1 भाद्र, 2076

लेखकका अन्य रचनाहरु