कर्ण विरहको कविता चर्किएको भुँइ

- बैद्यनाथ उपाध्याय

कर्ण विरह एकजाना अति प्रवल सम्भावना बोकेका कवि हुन। अहिले उनि 2019 सनको साहित्य अकादेमीको युवा पुरस्कार का निम्ती चर्चामा छन। उनको कविता संग्रह चर्किएको भुँइमा भारतेली नेपाली समाजको परिवर्तनको पीडा, बर्मा देखि विस्थापित जयमायाहरूको देशविहीन हुनुको पीडा, भूटान का नेपालीहरूको विस्थापन र अनजान अपरिचित देशमा गएर जीवन धान्नु परेको मार्मिकता, हाम्रै गाँउले धनमतीहरूको आधुनिकताको नाउँमा शहरमा भै रहेको शारिरीक शोषण र अरू थुप्रै सामाजिक सरोकारहरूले अभिव्यक्ति पाएका छन। उनको यो काव्य पुस्तक पढेपछि निर्धक्क भएर म उन्लाई सामाजिक सरोकार का नेपाली जातीयताबोधले भरिएका एकजाना सशक्त कवि हुन भनेर भन्न सक्छु। उनका सबै कविताहरू उच्च कोटीका छन र मार्मिक पनि छन। पाठकहरूले अवश्यैपनि सशक्त काव्यको खुराक पाउने छन। यी कविताहरू यति सशक्त र समाज उपयोगी हुँदाहुँदै पनि त्यति चर्चा नहुनु सारै खेदको कुरो हो। उनी जयमायाहरूको पीडालाई आत्मसाथ गर्दै यसरी अभिव्यक्ति दिन्छन-
जसरी संसार भन्दा बाहिर कुनै देश छैन
संसारभित्र पनि कुनै देश छैन
जयमायाको।
आफ्नो कवितामा जयमायाहरूले आफ्नो विस्थापनको कुम्लो-कुटुरो बोकेर सँधै एउटा पछि अर्को देश हुँदैं भौंतारिनु र आफ्नो भन्ने कुनै देश नभएको पीडालाई यसरी पोखेका छन संवेदनशील कवि विरहले-
मेरो संस्कृति हेऱ्यो बर्माले
अनि खेद्यो मलाई त्यहाँबाट
संस्कृतिभन्दा ठूलो सम्पत्ति
अरू के हुन सक्छ र !
मेरो पहिरन हेऱ्यो भारतले
अनि खेद्यो मलाई त्यँहाबाट
पहिरनभन्दा ठूलो चिन्हारी
अरू के हुन सक्छ र !
मेरो बोली हेऱ्यो नेपालले
अनि खेद्यो मलाई त्यहाँबाट
बोलीभन्दा ठूलो साइनो
अरू के हुन सक्छ र !
मेरो मस्तिष्क हेऱ्यो अमेरिकाले
अनि बोलायो मलाई त्यँहा
म सित बाँचेको एउटै मन थियो
अब त्यही मनलाई मशिन बनाउन
हिंडे म अमेरिका !
यति भनि सकेपछि यो विस्थापनको विषयमा अरू भन्नलाई के नै पो रह्यो र! भूटानबाट देश निकाला गरिएकी लीला निशा, दार्जिलिङ्ग की कवयित्री रेमिका थापाहरूलाई जस्ताको तस्तै आफ्ना कवितामा स्थान दिएका छन कविले। यो उन्को आफ्नो खुबी हो। धनमती शिर्षक कवितामा कवि सोद्धछन-
गाई दुहुने हातले
फेसियल गर्छौ कि सपना उखेल्छौ ?
घाँस काटने हातले
कपाल काटछौ कि इच्छा छोट्याउँछौ?
धनमती तिमी शहरमा के गर्छौ?
----------------------------------
तिम्रो शरीरलाई शहरको कुन आदर्शले
जाँड जस्तै निचोरेर पिइदियो धनमती
-------------------------------------
सिनो जस्तो लाग्छ आफ्नै सपना
चिहान जस्तो लाग्छ आफ्नै शरीर
अचेल धनमतीलाई
जहाँ जहिल्यै
गिद्धहरूले लुछिराख्छ सपनाको मुटुलाई
र कागले ठुँगिराख्छ विपनाको छातीलाई।
समाजमा छुवाछुत र उच्च र नीच ठहऱ्याउने परम्परा का पृष्टपोषकहरूमाथि व्यंग्यात्मक भाव पोखेका छन कवि विरहले-
साइत बिग्रिन्छ भनेर
कहिल्यै मेरो अनुहार नहेर्ने बाहुन जेठा
किन मेरै आँगनबाट हिंडेको होला
किन पानी माँगेर खाएको होला
उन्का कवितामा गाँउमा उन्नतिको नाउँमा भएका विसंगतिहरूको पीडा छ। आफ्नो संस्कृति बचाउन नसकेको भयंकर दुख छ-
हजुरबा भन्नुहुन्छ-
गाँउमा खर र चित्राका घरहरू हुन्थे
छानामाथि फर्सिहरू हुन्थे
घरघरबाट जाँतो र ढिकीका आवाजहरू सुनिन्थे
थुञ्चे बोकेर बजार झर्थ्यौं हामी
र खालीखुट्टै हिंडेर आइपुग्थ्यौं घर
खाजा चिउरा चबाउँथ्यौं।
यस्का विपरीत आजको स्थितिलाई पनि कविले वर्णन मार्मिक शब्दाभिव्यक्ति दिएका छन-
हन के अचम्म भो यो
गाँउभरि त उखेल्नै नसकिने
बिल्डिंगका बोटहरू पो पलाइ सकेछन
पिठ्युँमा सिलिण्डर बोकेर शहर हिंडछ बिर्खे
अँगेनाको वरिपरि बसेर बोजूको कथा सुन्ने नातिनातिनीहरू
बोजूलाई धरि कार्टून देखाउँछन टेलिभिजनमा।
7 अक्टोबर 1987 मा जन्मनुभएका युवा कवि कर्ण विरह की आमा हुन जानुका छेत्री र पिता हुनुहुन्छ गंगाप्रसाद छेत्री। नेपालीमा स्नातकोत्तर कर्ण विरह अहिले बिजनबारी कलेजमा नेपाली बिषयको अतिथि प्रवक्ताका रूपमा कार्यरत हुनुहुन्छ। वहाँ दार्जिलिङ्ग की युवति वीणा राई संग गृहस्थ जीवन बिताउनु हुन्छ। यहाँका हालसम्म 1. शब्द सम्मेलन (कविता,2010), 2. भक्कनिएका भावनाहरू (गजल,2011), 3. रंगहीन तरंग (रूवाई,2012), 4. भाव-अभाव (कविता,2013), 5. चर्किएको भुँइ (कविता,2014) र 6. डियर डोरेमन (कविता,2019) प्रकाशित भै सकेका छन। हाम्रो भाषा साहित्यले वहाँको कलमबाट अरू धेरै अवदानहरू पाउन सक्षम हुनेछ भन्ने आशा पनि राख्न सकिन्छ।

ले

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 1 भाद्र, 2076

लेखकका अन्य रचनाहरु