मनोवैज्ञानिक कथासंग्रह – मनोनेट

- पारस तिम्सिना

स्प्रष्ट शन्देस छ– मनोनेटमा । झापाली पत्रकार तीर्थ सिग्देलले २०७६ साल जेष्ठ २० गते बिमोचन गरेर बजारमा ल्याएको मनोनेटबाट अझ के स्प्रष्ट हुन्छ भने प्रत्येक काममा अघि बढ्न प्रेरणाको स्रोत अनिवार्य हुन्छ ।
लेखक सिग्देलको कथा संग्रहमा संग्रहित भएका २२ वटा कथाहरु मध्येको पहिलो कथा त्यसपछी त्यसपछि ऊ हराई...का केही हरफहरु निक्कै दर्दनाक नै रहेको छ भन्दा फरक पर्दैन । त्यहाँकी महिला पात्र प्रमिशा र रमेशको भेटले प्रमिशाको जीवनशैली नै परिवर्तन त भयो ।
तर, प्रमिशा किन रमेशले देखाएको बाटोबाट अलग भई ? के थियो त कारण ? उसले किन त्यस्तो निर्णय लिई की काम नै छाडेर हिड्नुपर्ने भयो उसलाई ? लेखकलाई मेरो प्रश्न यो छ की ऊ हराई ...ऊ कता हराई ???
झापाली साहित्यिक क्षेत्रमा एउटा पर्याप्त सम्भावना बोकेर उदाएका पत्रकारिता क्षेत्रका गुरु तीर्थ सिग्देलले लेखेको मनोनेट कथामा लेखिएको जिन्दगीको पासवर्ड नामको अर्को कथाको एउटै हरफले मनलाई उद्धेलित बनाउँछ ।
मैले उसको हातका औला समाएर पासवर्ड थिचें– आइलभ साइरा । त्यस दिनदेखि मेरो सिस्टमले काम गर्न छाड्यो । यो कथाले बिज्ञानको चेतलाई खुलाउने मात्र होइन, आफ्नो काम लिनका लागि एउटा मान्छे कसरी चपेटामा पर्दो रहेछ । आफ्नो जिन्दगी भरीको मेहनत पानीमा पुर्याउन बाध्य बन्दो रहेछ भन्ने बुझ्न सकिन्छ ।
लेखक सिग्देलको केही समययता देखापरेको साहित्यिक कृति उत्पादनको दौड मल्लकालीन लिग–लिगे दौडकै तुलनामा भन्ने हो भने निश्चयनै राजा बनिसकेको अवस्था हो भन्न कुनै आइतवार पर्खनु पर्दैन । मनोनेटमा आँखा डुलाउँदै जाँदा लाग्छ, यो आम जनमानसमा घटिरहेका वास्तबिक घटनामा आधारित कथासंग्रह हो ।
आज एउटा भनाई सम्झन्छु, किताब मात्र पढेर ज्ञान हासिल हुँदैन रहेछ । ज्ञान हासिल गर्न मान्छे पनि पढ्नु पर्दो रहेछ । आखिर किताब पनि त मान्छेहरु पढेर लेखिँदो रहेछ । यो भनाईलाई लेखकले चरितार्त गरेर देखाएका छन् ।
धेरै मान्छेको भोगाई र यथार्थतासँग मेल खाने कथाहरुमध्ये प्रथम कथा त्यसपछि ऊ हराई...मा झापाकै कुरा गर्ने हो भने पूर्वी पहाडी भेगबाट अध्ययन वा कुनै काम बिषेशले झापा झरेका युवा–युवतीहरु गलत बाटोतर्फ धकेलिएको तितो यथार्थ आज पनि पाउन सकिन्छ ।
लाग्यो लेखकले वास्तबमै मानवको मन भित्र हुर्केको जालो नै कोट्याएर पाठकसामु पस्केको हुनुपर्छ । माकुराको जालो झैं मान्छेको मन फँसिसकेपछि कसरी निस्कने ? – त्यो हो मनोनेटको अर्थ । अर्थात्, हरेक मान्छेका मनमा जाल झैं जेलिएको अब्यक्त भाव र उसका पीडाहरुको एकमुष्ठ प्रश्न र सँगसँगै आएको उत्तर पनि हो – मनोनेट ।
हरेक मान्छेका आ–आफ्ना भोगाई र अनुभूति हुन्छन् । ती बिषयले हरघडी मान्छेलाई सताइरहेको हुन्छ । बिगतले त झन् मान्छेलाई सताइरहेको हुन्छ । यस किताबमा संग्रहित दोमन कथाले त्यस अबस्थाको चित्रण मात्र गरेको छैन, चिरफार नै गरेको छ भन्दा हुन्छ । किनभने पराई भएर गइसकेपछि पनि एउटी महिला पात्र, जसले आफ्नो अतीतलाई भुल्न सक्दिन ।
उसले एउटा पीडाबोध गरिरहेकी हुन्छे । र, भन्छे, भो बिगत मेरो जिन्दगीमा तिमी एउटा भयानक पर्खाल बनेर नउदाऊ । के तिमीलाई थाहा छैन म अहिले कुन अबस्थाबाट गुज्रिएकी छु भनेर । के अझैपनि तिम्रो जीवन तिमीसँगै छे भन्ठान्छौं ? अहँ म अब तिम्रो यादमा बाँच्न सक्दिन । भो अब मलाई धेरै नसताऊ । मलाई मेरो बर्तमानसँग रम्न देऊ । मलाई मेरो बर्तमानमा बाँच्न देऊ ।
मनोनेटमा लेखक सिग्देलले सामान्य परिबेशमा बाँचिरहेका मान्छेहरुदेखि राज्यसत्ता चलाउदै आएका माथिल्लो तहका नेताहरुसम्मको यथार्थतालाई समेटेको पाएं मैले । मान्छेका चाहनाहरु हजारौ हुन्छन् ।
तर ती सबै चाहना र आबश्यकता सजिलै पूरा हुँदैनन् । ती हजारौ चाहनाहरु पूरा गर्न मान्छेले आफ्नो जीवनलाई कतातर्फ धकेल्ने भन्ने प्रश्नमाथि थप प्रश्न खडा गरिदिएको भान हुन्छ, पुस्तक पढ्दा । सादय जिन्दगी कथामा लेखकले लेखेका छन्, ऊ कतै आफ्नो सपना पूरा गर्न तल्लिन होला... कतै रातहरुमा त कतै दिनहरुमा । कतै प्रहरहरुमा त कतै रहरहरुमा रुमल्लिरहेको होला ?
यही हरफले बोल्छ अहिलेको हाम्रो नेपाली समाजको यथार्थ । त्यही जिन्दगीका सपनालाई भेट्न र ती सपना साकार पार्न गरिरहेका कामको बोझले थिचिएका मान्छेहरुले भोगेको तीतोपन, मनभित्र बिझेका काँडारुपी भावना, मन र तनबीचका अन्तरद्धन्द्धले चर्काएका युद्धलाई पनि मनोनेटले मसिनो गरी चित्रण गरेको भेटिन्छ ।
तसर्थ, तत्कालीन आवश्कताको पहिचान गरेर अघि बढ्ने कि मनको जालो भित्र जेलिएर जीवनलाई नै खरानी बनाउने ? यो जटील प्रश्न हो जस्तो लाग्छ । आजपनि ती असिमित चाहना र आवश्कता परिपूर्ति गर्ने बहानामा हाम्रो समाजलाई दुर्घन्धित बन्दै गइरहेको छ । कतिपय मूनाहरु असमयमै निमोठिएका छन् त कतिपय बेचिएका पनि छन् ।
त्यतातर्फ धकेल्ने पिपासुहरु यतैकतै तपाइकै वरिपरि प्रसस्त छन् । के हाम्रो समाज तिनीहरुप्रति अनुदार बन्न सक्छ ? यस्ता प्रश्नलाई कतिपय कथाले सपाट उत्तर दिएको छैन । बरु बाध्यतात्मक अवस्थाबाट आफ्नो दर्दनाक जीवनको गाथा पोख्नेहरुलाई पर्याप्त शन्देस दिएको छ– मनोनेटले ।
लेखक स्वयम्ले यस कथासंग्रहलाई मनोबैज्ञानिक कथासंग्रहको रुपमा उब्याएको भनेपछि मैले यसमै चित्त बुझाँए । तर, कतिपय कथाले बोकेको मनोबैज्ञानिक चेतले लेखकको भनाईलाई पुष्टि गरेको देख्न सकिन्छ । यद्दपि केही कथाले छोडेको अधुरोपनले भने पढ्ने मान्छेलाई खल्लो लाग्नु स्वाभाबिकै हो । किनभने अब केही होला.. होला भन्दा भन्दै कथा सकिन्छ । एउटा सस्पेन्स चलचित्र झैं ।
हुनपनि हो, मनोनेट नामैले मन र त्यससँग जोड्ने कुनै तत्वको कुरा हुन्छ । लेखक कै शब्दमा यो मनलाई मनसँग जोड्ने नेट हो, जसले धेरै कुरा नभनिकनै भनिरहेको हुन्छ । नबोलिकनै बालिरहेको हुन्छ ।
लेखकले आफ्नो पुस्तकको अन्तिम कभरमा समेटेका छन्, एउटा मनले चाहेको कुरा अर्को मनले कतिपय अवस्थामा अभिव्यक्त नै नगरी पनि महसुस गर्न सक्छ । आत्मसात गर्न सक्छ । हो, त्यही अन्तरमनको कथा हो, मनोनेट । त्यही अव्यत्त, पीडाको रुप हो, मनोनेट ।
भो, यो भन्दा धेरै शब्द कोर्न सक्दिन । बस्, यती भन्न चाहन्छु की आगामी दिनमा लेखकको लेखनीको यो दौड नरोकियोस् । सलाम छ मेरो, मनोनेट र लेखकलाई ।

पुस्तकः मनोनेट
लेखकः तीर्थ सिग्देल
प्रकाशकः मिडिया रिसर्च सेन्टर
मूल्यः २५०

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 1 भाद्र, 2076

लेखकका अन्य रचनाहरु