अन्तरलिङ्गीको पीडा अनावरण गर्ने आवरण

- दीपक दर्शन

सिर्जनशीलतालाई प्रमुख कर्मक्षेत्रका रूपमा चुनेकी अध्यापक जया ओझाको पहिलो औपन्यासिक कृति हो आवरण । यो कृति अन्तरलिङ्गीको समस्यालाई गम्भीर रूपले उठान गर्न सफल छ । विषयवस्तुका दृष्टिले यो कृति नेपाली साहित्य क्षेत्रमा फरक वा आजसम्म नछोइएको पाटोमा टेकेर उभिएको छ जुन विशेषताले यो उपन्यासलाई नेपाली साहित्य क्षेत्रकै सशक्त नक्षत्रका रूपमा खडा हुनसक्ने आधार प्रदान गरेको छ ।
उपन्यास लेखनका थुप्रै विषय छन् तर लेखिका जयाले नेपाली साहित्यमा ‘भर्जिन’ विषय प्रवेश गराएकी छन् । उनले आवरणमा अन्तरलिंगीको मुद्दा उठान मात्र गरेकी छैनन् यसलाई गहन र फरक ढंगले अत्यन्त न्यायपूर्वक कुशल अवतरण गराएकी छन् । उनको छनोटमै नयाँपन अझ भनौँ मौलिकता देखिएको छ । जसले गर्दा पाठकले नवीन रसास्वाद अनुभूत गर्न सक्नेछन् ।
हाम्रो समाजले सन्तानका रूपमा छोरा वा छोरी मात्रै हुन्छन् भन्ने भ्रम पालेको छ । तर शारीरिक तथा मानसिक रूपमा समाजको विद्यमान धारणाभन्दा फरक पनि सन्तान हुनसक्छन् । समाजले यतातिर दृष्टि दिन सकेको छैन, अन्तरलिङ्गी, द्विलिंगी अथवा तेस्रोलिंगी सन्तान पनि जन्मन सक्छन् भन्नेतिर ध्यान दिएको छैन । यो विषयमा समाजको धारणा संकुचित भएकाले अन्तरलिंगीहरूले आफ्नै परिवारभित्र अपहेलित हुनुपरेको छ । यसरी उनीहरूले आफ्नो अस्तित्व खोजी गर्ने क्रममा भोग्नुपरेको संघर्ष नै यो उपन्यासको केन्द्रीय कथ्यका रूपमा रहेको छ । उपन्यासले धेरै हदसम्म अन्तरलिङ्गी र तेस्रोलिंगीका विषयमा समाजमा विद्यमान भ्रमको निवारण गर्ने काम गरेको छ ।
प्रेमानुभूतिको चरम आनन्दलाई कल्पनामा सजाएर, मन्द पीडासहितको मीठो घाउ लगाएर चुर्लुम्म आनन्दको सागरमा डुबुल्की मार्ने लालसा सँगाल्ने उपन्यासकी नायिका ज्योति पाठकवर्गका आँखामा एकाएक सजीव भएर बौरिन्छिन् । यथार्थ र कल्पनाको भीषण चौघेरामा जब ज्योति धमिलिंदै घुम्न थाल्छिन्, पाठकको मथिंगल पनि उही रफ्तारमा वेगवान् हुन बाध्य हुन्छ । यस हिसाबले उपन्यासकार पाठकलाई बाँधिराख्न धेरै हदसम्म सफल बनेको देख्न सकिन्छ ।
उपन्यासकारले भनेकी छन्– ‘मेरो कल्पनाको गर्भमा एउटा पात्रले बीजारोपण गर्न थाल्यो । कल्पनामा हुर्किंदै गएको म पात्रको भोगाइ मेरो भएन । तर, नछटपटाई बस्न सकिन । यस पात्रको भोगाइमा धेरै विचलित हुन पुगेँ ।’
लेखकले पात्रसँग प्रत्यक्ष भेटेर उनी र उनीजस्ताका भोगाइसँग एकाकार भइसकेपछि निर्मित अनुभूतिको प्रकटीकरण भएकाले यो उपन्यास पढिसकेपछि पाठक पनि विचलित नभई रहन सक्दैनन् । लेखिकाले यस उपन्यासमा सहानुभूतिको भन्दा पनि समानुभूतिको भाव उकेरेकी छिन् जुन कुराले यो कृतिलाई सम्बल प्रदान गरेको छ ।
समाजले ऐंजेरु ठानेका अन्तरलिंगी समुदायको मुद्दा उठाउने दस्तावेजजस्तो लाग्ने उपन्यास पढ्दा कताकति गैर आख्यान पढेजस्तो पनि लाग्छ । यद्यपि पात्र, परिवेश अनि सरल तर कलात्मक भाषाशैलीको तालमा बग्दै जाँदा बढीजसो आँखा रसाउँदै अनि कहीँकतै उत्तेजित त कतै मुस्कान खेलाउँदै उपन्यास पढ्न बाध्य बन्छ पाठक, यत्ति मात्रै यसको सबल पक्ष हो भनिहाले पनि उपन्यासका अरू दोष सहजै छोपिन्छन् ।
हरेक बाबुआमाको चाहना आफ्ना सन्तान राम्रो जन्मिए हुन्थ्यो भन्ने हुन्छ । विडम्वनाका रूपमा छोरा वा छोरीको कल्पना गरेर सन्तान जन्माउने तयारीमा रहेका बाबुआमाको कोखबाट अपेक्षा गरेभन्दा फरक सन्तान जन्मिँदा त्यो परिवारमा कस्तो प्रभाव पर्ला ? यो कुरा किरणकाजी थापाका रूपमा जन्मेका ज्योतिको भोगाइलाई सजीव रूपमा उतारेर उपन्यासले छर्लङ्ग पारेको छ ।
किरण उर्फ ज्योतिको स्वप्निल चाहनाको प्रकटीकरणसँगै सुरु भएको छ उपन्यास । अनि एक्कैचोटि अस्पतालको बेडमा होस खुलेकी ज्योतिसँगै अघि बढ्छ । ज्योति को हुन् पढ्दै जाँदा खुल्दै जान्छ । परिवारले र समाजले किरणका रूपमा देख्न चाहेको तर ऊ स्वयंले ज्योतिको रूपमा पहिचान खोल्न चाहिरहेको तर आफू के हुँ भन्ने कुरा थाहा पाउन अन्तरबाह्य रूपमा संघर्षरत पात्रको सेरोफेरोमै घुमेको छ उपन्यास ।
बाल्यकालको घटनाअघि पूर्वदीप्ति शैलीमा जवान अवस्थाको घटना देखाइएको छ । घरबाट निकालिएकी ज्योति लाई एक रात केटाहरूले समात्छन् । त्यो समाताइमा पीडा भएर पनि आनन्दित हुन्छे ज्योति । तर उत्तिनखेरै उसको कल्पनाभन्दा बाहिर पुग्छ स्थिति । ऊ बलात्कृत हुन्छे ।
आफूलाई महिला हुँ भनेर साबित गर्न पनि नसक्ने, पुरुष भनेर प्रमाणित गर्न पनि नसक्ने, आफ्नो प्राकृतिक अवस्थामा आफ्नो कुनै दोष नहुँदानहुँदै पनिदोषभागी हुनुपर्ने विडम्बनाले सताइएकी छे ज्योति । समाजले पीडा नबुझ्ने, अनावश्यक चरित्रहीनको पगरी गुथाउनेजस्ता कुराले मर्माहित हुन्छे । मर्नु न बाँच्नुको दोसाँधमा बिना कुनै सहारा परिवार एवं समाजसँग अथक रूपमा लड्नुपर्ने नियतिले अभिशप्त छे ज्योति ।
सानैमा बहिनीहरूजस्तो नहुँदा ज्योतिको आत्माको पवित्र मन्दिरमा निराहार व्रत बसेका महिलाहरूबाट थुक र पत्थर बर्सिन्छ– छि छि कस्तो बाँसको टाँगोमा लुगा बेरेको जस्तो । ....त्यही त भन्या छन्द न बन्द । छोरीको लक्षण नै छैन ।
सहरमा पु¥याएर स्कुल भर्ना गरिदिएपछि बाबुचाहिँले उसको नाम लेखाइदिन्छन्– किरणकाजी थापा । यससँगै उसमा अन्तद्र्वन्द्व झनै बढ्छ । उसको उमेर जति जति बढ्दै जान्छ, द्वन्द्व उति उति बढ्दै जान्छ । स्कुलमा साथीसँगातीका बीच अन्यमनस्क हुन्छे ऊ । फसाद पर्छ – महिला शौचालय जाने कि पुरुष ? समस्या छ । ऊसँग त कुनै पनि यौनांग छैनन् । तर कुरा कसैले बुझ्दैनन् ।
ज्योतिको आवरण एउटा छ, भित्री पाटो अर्कै छ । उसको यो म्यासेजमा ऊभित्रका पीडा बाहिर निस्केका छन्– ‘मधु तिमीलाई माया गर्छु तर तिमीले चाहेकोजस्तो माया हैन । तिमीसँग बिहे गर्न सक्दिन । किनकि, तिमी जस्तो पुरुषको कल्पना गर्छौ, म त्यो पुरुष हैन । तिमी जुन पुरुषको सामीप्य खोज्छौ, म पनि त्यस्तै पुरुषको सामीप्य खोजिरहेकी छु ।.... नारी हुँ । तर, अरू नारीका झैं पुरुषलाई आकर्षित गर्ने र सन्तानलाइृ स्तनपान गराउने स्तन छैनन् । नारीको स्वरूपमा यौन आकृति मात्र छ । .... पुरुष हुँ भनूँ भने पुरुष लिंगको कुनै सानो निशान मात्रै । आधा नर, आधा नारी । पुरुष र स्त्री प्राकृतिक रूपमा दुवै मिश्रित अंग छ । तर अपूर्ण ।’
यसरी उपन्यासमा अन्तरलिंगीको पीडा जताततै छरपस्ट भएर आएको छ । उदाहरण दिँदै जाने हो भने हरेकजसो वाक्य उद्धरणयोग्य छन् । पीडाको अनुभूतिलाई निकै सशक्त ढंगमा अभिव्यक्त गरिएको छ ।
कताकति उपन्यास महिलामा बढ्दै गएको बोल्डनेस वा भनौं निडरताको संकेत दिँँदै जान्छ– पुरुष पात्र भन्छ ः ‘तँभन्दा त बरु कात्तिके कुकुर्नी हुने ।’ केटीले जवाफ फर्काउँछे ः ‘तिमारुजस्ताका लागि त्यै ठीक छ । ..... ओइ नामर्द ! स्वास्नीलाई माइत पठाइदे । नभए मलाई भेटा । म तँजस्ता फुँडोलाई तह लगाउने तालिम दिन्छु ।’
मध्यम वर्गीय ग्रामीण काजी परिवारमा जन्मिएकी छिन् ज्योति । तर पछि आन्दोलन सफल भएपछि उनको बाबु विश्वकाजी थापाले प्रशस्त सम्पत्ति कमाएका, इज्जत कमाएका र मन्त्रीसम्म बन्न पुगेका देखिन्छन् । यससँगै ज्योतिका भोगाइहरू पनि विभिन्न तहमा प्रभावित हुँदै गएका छन् ।
सुरुदेखि अन्त्यसम्म ज्योतिलाई सहानुभूति दिने आमाबाहेक अरू छैनन् । उनका कारण आमाले समेत दुःख पाएकी छिन्, बाबुको कुटाइ खाएकी छिन् । जन्मसँगै हरेकका लागि बोझ बनेर बाँचेकी ज्योतिको कथा लगभग अन्तसम्म यथार्थको जगमा उभिएको लाग्छ तर अन्त्यतिर पुग्दै गर्दा पहिलेका भिलेनहरू ज्योतिका समर्थनमा आउनु, ज्योतिले अपार सफलता पाउनु, ज्योतिको वाहवाही हुनुजस्ता घटना फिल्मी पारामा आएको देखिन्छ । साथै ज्योतिका अन्य पक्षभन्दा यौनिक पक्षमा उपन्यासले बढी शब्द खर्च गरेको छ । उपन्यासको सीमाका रूपमा आएका यस्ता कुराले उपन्यासलाई केही हलुका बनाएको अनुभूत हुन्छ ।
उपन्यास ज्योतिको सेरोफेरोमा रहेर मूल विषयवस्तुका अतिरिक्त राजनीतिक, सामाजिक एवं आर्थिक विषयवस्तुमा पनि थोरबहुत प्रवेश गरेको छ । उपन्यासमा नेपालको राजनीति, स्थानीय मेलापर्व आदि पनि मुखरित भएका छन् । नुवाकोट, काठमाडौँ मात्र होइन, भारतको दिल्लीसम्म उपन्यासको परिवेश फैलिएको छ । साथै यसमा समाजका विविध तह र तप्काका मानव चरित्रहरू चित्रित छन् । म पात्र अर्थात् प्रथम पुरुष दृष्टिविन्दुको प्रयोग गरिएको छ । असल–खराब, राम्रा–नराम्रा, स्थिर–गतिशील, सम्पन्न–विपन्न, निष्ठुर–दयालुजस्ता सबैखाले चरित्र अटाएका छन् । म पात्रको भोगाइ, मनोभाव, मनोविज्ञान अनि संघर्ष नै उपन्यासको केन्द्र बनेको छ । बिनाकामको काल्पनिक उडानभन्दा यथार्थको मजबुत जगमा टेकिएर निर्मित भएका कारण उपन्यास सशक्त बनेको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 1 भाद्र, 2076

लेखकका अन्य रचनाहरु