दिल बाहादुर

- नन्देश्वर दैमारी

(बडो भाषाकाे कथा)

कामाख्या रेल स्टेशन।
रेलमा उठियो। म जस्तै अरू पनि उठे। कोई बेग लिएर एकलै उठे। कोई केटा-केटी, टोप्ला-टोप्ली लिएर, कसैले आफ्नी दूर्बल पत्नीलाई हातमा समाएर उठाए। रेल छुटेको छैन। तथापि बस्नलाई सीट पाईदैंन भनेर दौडा-दौडि गऱ्यौं। सुत्नलाई पनि जग्गा चाहिन्छ। रातिको रेल। रातभरि रेलमा नै जानु पर्छ। बिहान मात्रै पुग्नेछ।
रेल एक्सप्रेस हो। जुनसुकै स्टेशनमा रोकिंदैन। रातभरि दौडिएर उज्ज्यालो भएपछि मात्रै नाहरलगुन पुग्नेछ। धेरै जसोनै बीच का स्टेशनहरूमा उत्रनेछन। कति चैं राङापाडा, विश्वनाथ चारालि, गहपुर अथवा अरूणाचलमा उत्रनेछन। अरूणाचलको नाहरलगुन सम्म जानेछ रेल। धेरैको नै रिजर्भेशन छ। नभएकाहरू जनरल डब्बामा उठेका छन। छेउमै उत्रनेहरू दर्जाकै छेउमा उभिनेछन। उठेका छैनन। रेल चलेपछि उठनेछन उनिहरू। ठिटा केटाहरू डर भर केही छैन।
म भने एकलै भए पनि आफ्नो सीट खोजेर बसिहालें। म बसेको खिडकीको छेउमा एउटी आइमाई पनि बसेकी छ। उस्को मुख देखेको छुईन। बुढी हो कि केटी हो थाह पाएको छुईन। कहाँ जान्छे जान्दिन। सोधेको पनि छैन। खिडकी छेउमा बसेर उ बाहिर हेरिरहेकी छ। एक खेप पनि म तिर फर्किएकी छैन। सानो बेग एउटा लिएकी छ। गोडामाथि दुईटा हातले समातेकी छ बेग। पहिरनमा साडी। हल्का नीलो नाईलनको। रातो पारी भएको। हल्का नीलो साडीलाई पानीमा भिज्न दिनु हो भने आइमाईको अंग-प्रत्यंगहरू सबै देखिनेछ।
आइमाई केहीक्षण अघि पसिनाले भिजेकी हुनुपर्छ। तात्तातो पसिना गन्हाई रहेको छ। आफ्नो पसिना नराम्रो गन्हाए पनि त्यो आइमाईको पसिना भने मलाई भित्रै देखि राम्रो लागेर आइरहेको थियो। मान्छे मान्छेमा ठेला-ठेलि हुँदा म पनि अलिकति ठेलिएँ। ठेलिदाँ ठेलिदैं आइमाईको छेउमै धस्किन पुगें। आइमाईको कुइनामा ठोक्किए जस्तै लाग्यो। मेरो हत्केलो आइमाईको हत्केला माथि नराम्रो गरि जोडिन पुग्यो। म पनि लजायें। आइमाईले के सोची जान्दिनँ। आइमाईले आफ्नो हत्केलो हटाए पनि मेरो हत्केलो भने त्यस्तै लागि रह्यो।
राम्रो भएन। उत्रने क्या हो भनेर मलाई सोधी। उत्रन्न। कुनै रकमले जान्छु, मैले भने। एक समयमा रेल दौडन थाल्यो। रेल दौडन थालेपछि मेरा भावहरू पनि दौडिन थाले। आइमाई कहाँ जालि....एकलै हो कि.....इत्यादि इत्यादि। अरूहरू बिभिन्न कुरा गरि रहेछन। कोई मोबाइलमा गेम खेलदैछन। कोई हेड फोनमा गाना सुनिरहेछन। हामी दुई चुपचाप। आइमाई पनि, म पनि। बात मार्न कुनै बहाना भेटेको छुईंन। कुनै विषय पनि छैन। चिनेको पनि छैन। मुखनै देखेको छुईंन, कसरि बात मार्ने। आइमाईले जब बाहिरतिर फर्केर हेर्न लागि एकटक लगाएर हेरिनै रहेकी छ। चुपचाप बाहिरै हेरिरहेकी छ। टाढा देखिएको गुवाहाटी शहरको रमझम, बिजुलीको झिलिक-मिलिक हेरिरहेकी होली। हेरेर के सोच्दै होली जान्दिनँ। आइमाईले कपाल सम्हाली। कपाल मिलाउँदा पनि उस्को मुख देख्न पाइनँ। हेर्न चाहेको मुखलाई केही बल गरेर अर्कै पटि फर्काई।
मैले सोचें- आइमाई जस्ति तस्ति हैन। भद्र महिला हो। उच्च वर्गकी। कवि हुन सक्छे। कविताको हरफ, कविताका शब्दहरूमा खेलिरहेकी हुनसक्छे। कविले कविता लेखिरहेको बेला जसरि भाषा र शब्दमा डूबिरहन्छ आइमाई पनि त्यस्तैमा डूबिरहे जस्तो लाग्यो। बात मारो भने कविताका हरफहरू हराउने डर भए जस्तो। हरायो भने पागल जस्तै घरकै बराण्डामा यता उता गरिरहेको कुनै नामी कविको हालत जस्तै विक्षिप्त भावको स्थिति हुनेछ। आइमाईको चुप रहेको अवस्थालाई मैले त्यस्तै होला भन्ने सोचें।
शराईघाटको पुल आयो। भावूक भएर म पनि चुप भएँ। पुलको शब्द हाम्रो डब्बामा पनि आयो। सबैले भाषा बुज्नु पर्छ। सबै चुप हुनुपर्छ। आइमाईले त्यही समयमा आफ्नो बेगलाई दुवै हातले खोली। केही बोलिन। मैले पनि लाज लाज मानेर केही भनिन। चुप लागेर बसें। भद्र महिलालाई जस्तो तस्तो कुरा गर्नु हुँदैन। भन्नु उचित पनि होइन। बाटा घाटामा चप्पल खोलेर पिटेका उदाहरणहरू छन। कहिलेकाहीं अरूले भनेको सुनेको छु र आफ्नै नजरले पनि देखेको छु। जस्तो तस्तो कुरा हरू हेर्नुभन्दा आफैं संयत रहेको राम्रो। लाजले मुख लुकाएँ।
दुवै गोडामाथि राखेर चेइन खोलेर बेगबाट केही चीज निकालेर मुखमा हाली। सादा हो कि के हो केही भन्न सकिनँ। पान पनि हुन सक्छ। त्यसै समयमा भद्र महिला भन्ने सोचिराखेको मेरो मनमा केही खलबली मच्चियो। भद्रमहिलाहरूलाई तामुल-साधाको टोप्ला बोकेको देखेको छुइनँ। किनेर लगेको पनि देखेको छुइनँ। कस्ति आइमाई हो यो। धत् म पनि के के सोचिराखेको छु। कोई बेला त के हुन्छ। दबाई पनि त हुनसक्छ। दबाई थियो भने पानी चाहिने थियो। दबाई हैन त्यो। दबाई थियो भने त्यस्को खोल देखिने थियो। खोल बाहिर फ्याक्नु पर्ने थियो। अँह..होमियोको दबाई पनि हुनसक्छ। होमियोको दबाई पानी संग खानु पर्दैन। पानी नखाँदा पनि हुन्छ।
दबाई खाएकी हो भने आइमाईलाई केही बिमार छ कि क्या हो... सोच्न न सक्ने बिमार लागेको छ कि कसो। आलट्रासाउण्ड गर्दा पनि फेला नपर्ने कुनै नराम्रो बिमारले भेटेछ कि क्या हो। न केटा केटी न हुने दबाई खाएकी हो। केटा केटी न हुने के के दबाई हाम्री नानी की आमाले पनि खाएकी थिइ। ढिलो गरेर बच्चा जन्माउनलाई नानी की आमाले पाँच बर्ष सम्म त्यो दबाई खाएकी थिई। छिट्टै बच्चा जन्मायो भने आमाहरूको देह बिग्रन्छ। कुरा सबैले बुजेकाछन। त्यसैले हिजोआझ सबै आमाहरू दबाई खान्छन। बिहे नभएका केटीहरू पनि दबाई खान्छन। दबाई खाँदा खाँदा पछि बच्चा न जन्मने हुन्छ। बच्चा जन्मने संभावना पनि कमाउँछन। नत्र एबर्सन गराएर यंत्रणामा एक्लै जीउँछन। त्यसो भएन भने बाउ बिनाको बच्चा जन्माईदिन्छन। त्यसो गर्नु भन्दा आँखा खुला राख्नु राम्रो हुन्छ।
शहरहरूमा अक्सर त्यसरी जन्मिएका बच्चाहरूलाई कहिल्यै बाटा छेउमा, कहिल्यै डास्टबिन छेउमा फ्याँक्ने गर्दछन। यस्तै यस्तै सोच्दै हत्केलालाई तानेर ल्याँए आइमाईको हत्केलाको छेउबाट। आइमाईको हत्केलोलाई पर सारिदिएँ। आइमाई अलिक पर सरी। अर्कपट्टि फर्किए जस्तै गरी म बाट टाढा गए जस्तै गरी। म पनि अलि पर सरेर बसें। मलाई नहेर्ने जस्तै गरी। मैले सोचें- कहिल्यै यस्तो कुरा सोचेकी थिइ होला। मलाई पर राख्ने। राख्न सकिरहेकि थिइन। मेरो हत्केलाले लागेको उस्लाई थाहा हुनुपर्ने उस्को उष्णता मलाई महसुस भै रहेको थियो। म देखि रिसाई कि क्या हो। मलाई असभ्य, नराम्रो मान्छे भनेर सोचिहोला। मलाई लाज लागेर आयो। मेरो भूल भयो। त्यसै उसै सोचें। आइमाई धेरै लेखे पढेकी हुनसक्छे। कुनै कलेजकी छात्रा पनि हुनसक्छे। छात्रा नभएर अध्यापक पनि हुनसक्छे। नत्र अफसर पनि हुनसक्छे। आफ्नो कार्यालयमा कस्तो काम चल्दैछ, स्टाफले राम्रो गर्दैछन कि छैनन त्यस्तै सोचेर बसेकी हुन सक्छे। नभए दूर्नीतिको बाटो लिएर धन कमाउने हुन सक्छे। दिन दिनै राम्रो बाटो खोजदै हिंडेकी पनि हुनसक्छे। सिंचाई अभियन्ता हो भने कुनै अञ्चलको, कुनै जिल्लाको कृषकहरूलाई ठगाएर रूपया ऐंठने बाटो खोज्ने पनि हुनसक्छे। खनिराखेको नालालाई देखाएर प्रतिशत भाग गर्ने पनि त हुनसक्छे। मैले पनि आइमाईको जीउको छेउबाट आफैंलाई पर सारें। पर सरेर बसें। आइमाई पनि कोल्टे फेर्दै अर्कैपट्टि फर्किएर बसि। उता फर्केर के कुरा सोच्न थाली। भित्र भित्रै के के सोच्न लागी। तँइले बूजिस, तँ केही चिन्ता गर। आइमाईको कुरा छाडि दे। मेरो अन्तर्मनले भन्यो।
तर भएन। फेरि त्यहि आइमाईको कुरा सोच्दै हिंडें। आइमाई बिहे नभएकी हो कि बिहे भएकी आमा हो फेरि सोच्न थालें। बिहे न भएकी भए किन एकलै हिंडथि र। पघा नभएका भेडा बाख्रा जस्तै। चर्न छोडिदिएका गाई बाख्रा टाउन का बाटा घाटामा हिंडे जस्तै। सबैले खेदछन। कसैकोमा पसेर पानी खान्छन। चर्न छोडिदिएका गाई गोरूहरू जताततै दोकानहरूमा दाल आलु फ्याँकेको खोज्दै हिंडछन। त्यो आइमाई पनि त्यस्तै घर बारी नभएकी, आमा बाबु नभएकी, पति नभएकी घुमी फिरी हिंडने देह व्यापारमा लागेकी कुनै बेश्या त हैन। न आइमाईको कुनै मायालु छ कि क्या हो। जे होस त्यो आइमाई राम्री आइमाई हैन। आइमाईको तातो पसीना मलाई अब नराम्रो लाग्न थालो। त्यो आइमाईको देहबाट अब गोमूत्र जस्तो गन्ध आउन थाले जस्तो लाग्न थालो। त्यस्तो भए पनि चुप लागेर बसें।
आइमाईबाट पर गएर बस्न मन लाग्यो। खिडकीको छेउमा गएर हेर्न मन लाग्यो। हेर्न सकिएन। पर सर्ने जग्गा पनि छैन। खिडकीमै चेपिएर बसेकी छ बिचारी। कतै पनि न हल्लिकन गाछको मुढा जस्तै स्थिर भै रहेकी छ। श्वास फेरेको आभाष भै रहेछ। मुटू ढूक ढूक गरि रहेछ। उस्ले श्वास फेरेको मेरो जीउमा पनि अलि अलि अनुभूत भै रहेछ। नयाँ मारूतिलाई स्टार्ट गरेर स्ल रेसमा चलाएर साईलेन्सार पाइप बाट थर् थर् गरे जस्तो। त्यो आइमाई तर मारूती पनि हैन, ट्रैक्टर पनि होइन। हावालाई भेटेर आफ्नो बनाए पनि पाउन नसक्नो चीज हो त्यो आईमाई। एम आर आई गरेपनि त्यो आइमाईको कुरोलाई जान्न सकिन्न।
भूतलाई मैले देखेको छुईन। भूतको कामलाई कसै कसैको मुखबाट सुनेको छु। भूतको हात-हत्केलाहरू अति चिसो हुन्छ अरे। तर त्यो आईमाई त भूत पनि हैन। त्यस्को हत्केलो तातो छ। खुन पसिनाले बनिएकी मान्छे हो उ। उस्को जीवन छ। सोच विचार छ। पृथिवीको सौन्दर्य हेर्ने दुइवटा आँखा छन। मुटूमा के छ जान्दिनँ। माया-रूनु-हाँस्नु उस्को मुटूमा छ कि छैन त्यो खोजेर पनि केही पाउने छुइनँ। खोज्ने सुयोग पनि छैन। कुनै सूत्र भेटिएन। केवल सोचें अनि सोचें। समय पनि अलि अलि गर्दै गै रहेछ। अहिलेको समय कस्तो हो केही थाहा छैन।
रेलबाट को उत्रियो, को उठो केही देखेको छुइनँ। आइमाईले हेरिरहेकी खिडकिबाट बाहिर उज्ज्यालो भएको भर्खरै थाहा पाउदैछु। उज्ज्यालो भएको हुनुपर्छ। उज्ज्यालो भयो। रेल पनि रोकियो। नाहरलगुन स्टेशन आइपुगेको हुनुपर्छ। सबै उत्रन ठिक परे। म पनि आस्तेले आइमाईको रातो पारी भएको साडि थिचिएबाट उठदै आइमाईलाई त्यसै बोलाएँ-
आउ। केही नभनिकन आइमाई उत्रिएर मेरो पछि पछि आई। हामी दुवै पति पत्नी जस्तै रेलबाट उत्रियौं। प्लेटफार्म छाड्यौं। बतलको पानीले मुख धुन खोज्दै आइमाई अलि परतिर गई।
चिया पिउने ?
पिउँदिनँ।
पिउँदिनँ भनेपनि रातभरि सँगै बसेकी आइमाईको मुखबाट पहिलोपल्ट भए पनि कुरा सुन्न पाएर राम्रो लाग्यो। उस्को अनुहारलाई धेरै राम्रोसँग हेंरे। आइमाई देख्नमा राम्री छ। गोरी, ठूलो अनुहार भएकी सुन्दरी। नाक मेरो भन्दा अलिक ठूलो अनि थेप्चो थियो। राम्री भए पनि उमेर सोध्न ठिक लागेन।
केटी त हैन। बिहे भएकी आइमाई। तीस बर्षकी जस्ती देखिए पनि असल उमेर भने त्यो भन्दा बढी नै हुन्छ। तँपाई पिउनुहोस है दाजु, म पान खान्छु। यो पनि राम्रो हैन। पान खाने मेरो निशा नै भयो। यसरि बेगभित्र राखेको तामुलको थैलो निकाली र थैलीबाट पान निकालेर मुखमा हाली। बिडी, सिगारेट केही पनि म खान्न। अरूले खाए पनि म नराम्रो मान्दिनँ। मास्टर थिएँ। अहिले रिटायार्ड भएँ।
पर्दैन दाजु। सँगै बसेर मेरो अभिभावक जस्तो भएर आयौं त्यस्को लागि दाजुलाई धन्यबाद है। मेरो त जीवन नै एकलै। बिहे भए पछि पनि मेरो पतिले मलाई छाडेर हिंड्यो। कहिं गयो। त्यही हराएको पतिलाई खोज्दै आजसम्म बीस बर्ष घुमें। तर पनि उस्लाई भेटन सकिंनँ। कहाँ गयो के गर्छ जान्दिनँ। मलाई विश्वास छ उ मरेको छैन। छिट्टै उस्लाई भेटनेछु। गुवाहाटीको कुनै पाहाडमा गाई पाल्छ अरे भन्ने सुनेर गएकी थिएँ। छैन, भेटिएन। फेरि सुनें, अरूणाचलको कुनै ठाउँमा काठको काम गर्दैछ। तर कुन जिल्लामा, कुन जङ्गलमा त्यो पनि जान्दिनँ।
नाम के हो अचानक सोधिहालें। दिल बाहादुर। त्यही दिललाई खोज्न म अरूणाचल आएकी। तँपाई जानुहोस दाजु। म जान्छु। यति भनेर उ हतारमा गै। फोन नम्बर पनि लिइनँ।
दिल बाहादुर...। म चिन्दिनँ। चिन्नु पर्ने कुनै कारण पनि छैन। उ भयो अर्कै जातिको। अर्कै संस्कृति मान्ने। म एक जाना मास्टर। अब रिटायार्ड।
आइमाई जाँदै गरेको दृश्य टाढासम्म हेरि रहें। रातो पारी भएको नीलो साडी उच्च पावारको चश्मा लगाएर हेरिरहेकोछु। सोचें—त्यो आइमाईले आफ्नो पति दिल बाहादुरलाई भेटलि त.....!!!

(मूल लेखक- नन्देश्वर दैमारी, जन्म 25 मई, 1955। बडो भाषाका प्रसिद्ध लेखक। असमिया र बडोमा कितापहरू प्रकाशित।
नेपाली भाषान्तर- वैद्यनाथ उपाध्याय, जन्म- 28 सितम्बर,1967। कवि, पत्रकार एवं समालोचक। हिन्दी, असमिया र नेपालीमा पुस्तकहरू प्रकाशित। केन्द्रीय हिंदी निदेशालयबाट हिंदीतरभाषी हिंदी लेखक पुरस्कारले सम्मानित। )

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 1 भाद्र, 2076

लेखकका अन्य रचनाहरु