डा.साङ्‍मु लेप्चाको आकाशबेलीसित केही क्षण- केही विचरण

- डा. राजकुमार छेत्री

कथाकारबाट उपन्यासकार हुनु अति राम्रो कुरा हो। एन्टोन चेखोव झैं कथा लेखनमा मात्र लागिरहने स्रष्टा हामीसित साह्रै थोरै छन्। आवश्यकता, बाध्यता र चाहनाले पनि यसरी लेखकहरूलाई विविध विधा-क्षेत्रतिर अभिप्रेरित गरिरहेको हुनै सक्छ। सुरुसुरुमा लघु कथा, मुक्तक, सम्पादकलाई पत्र र पुस्तक-निरूपणहरू लेखेर पछिबाट राम्रा उपन्यासकार, कवि-महाकवि, समालोचकहरू भएको दृष्टान्त हामीसित प्रशस्तै छन्। पैँयू फेरि फुल्ने आशामा (२००७) र अव्यक्त कथा (२०१०)-का कथाकार, बन संसार (२०१२) र मन-मञ्जरी (२०१३)-की बालसाहित्यकार डा. साङ्‍मु लेप्चा अब त खाइलाग्दो, भरपर्दो र साहित्यमा उल्लेखयोग्य उपन्यासकारको रूपमा झ्याँगिन लहरै-लहरा भएको आकाशबेलीलिएर आइपुग्नु भएको छ। तर आकाशबेली जस्तो अरूको सहारामा झ्याँगिए बाँच्ने मनसायले होइन तर आफ्नै खुट्टामा, आफ्नै बलबुतामा उभिन र मौलिन खोज्नुभएको छ। यो ज्वलन्त दृष्टान्त स्वरूप म आकाशबेली उपन्यासलाई सगर्व अघि राख्दछु। दार्जिलिङको आधुनिक नेपाली कथाले उहाँलाई शोधार्थी बनायो, कथा क्षेत्रकै गहन-अध्येता बनायो। अब यसैको आधिकारिक विशेषज्ञ बन्नतिर पनि अग्रसर हुनुपर्छ भन्ने समाज र समयको आवश्यक माग पनि रहेको कुरो मैले उहाँ जस्तो अग्रज स्रष्टालाई बताइरहने कुरो होइन।

सानो-छरितो लघुकायको यस उपन्यासले पूराण, महाभारत, भाववत् गीताको अठार पर्वहरूले जस्तै एउटा अति सामान्य मानिसको जीवनलाई पनि अठार अध्यायमा राखेर जीवनको आरोह-अवरोह, आलोडन-विलोडन, मानिसको जिजीविषा र जिगीषा, जीवन बाँच्दाको हर्ष-अमर्ष, विजय र पराजय, अनुभव र अनुभूतिलाई सकेसम्म सग्लो रूपमा प्रस्तुत गर्ने लेखकको अभिष्ट रहेको बुझिन्छ। उपन्यासकारले अठार अध्यायको विभाजन निश्चय नै सचेत रूपमा गर्नु भएको होइन, पूर्वनिर्धारित कथ्ययोजनाअनुसार सचेततापूर्वक अठारै अध्यायमा विभाजन गर्नुभएको जस्तो लाग्दैन तर उपन्यासका ती जीवन्त चरित्रहरूले जीवन भोग्दै जाँदा आफै आफै, अनायसै यसप्रकार अठार अध्यायहरूमा विभाजित हुन पुगेको देखिन्छ। कसैले सचेत रूपमा जीवनलाई भागभागमा बाँडिरहनै पर्दैन, जीवनलाई भागभागमा नबाँडे पनि जीवन विभाजित छ तर विभाजित हुँदाहुँदै पनि फेरि जीवन अविभाज्य पनि छ। उपन्यासमा सहभागी र वर्णित चरित्रहरूको जीवन जस्तै यो जीवन पनि बुझ्नै नसकिने जटिल वस्तु छ। यसैले पनि जीवन अबोध्य छ, अगम्य छ, अगोचर छ।

संसारमा आजको दिनसम्म जति पनि साहित्य-सङ्गीत हस्तकलाको सिर्जना भए वास्तवमा यी सबै जीवन बुझ्ने प्रकियामा जन्मेका अवधारणाका अवतारहरू मात्र हुन्। वास्तविक जीवनलाई बुझ्न यो भौतिक जीवन अपर्याप्त रहेछ, मानिसले सम्पूर्ण जीवन बाँच्दा पनि एक थोपा, एक विन्दु जति मात्र त जीवन बुझिने रहेछ भन्ने संचेतना, सज्ञान हामीलाई प्रस्तुत उपन्यासका जीवन्त जस्तो लाग्ने चरित्रहरू गुडिया, तनु, गुडियाकी आमा निर्मला, गुडिया र तनु दुवैको मत्थुबाबुहरू र नावालिका गुडियालाई करणी गर्ने फुपा अर्थात् प्रमोदको बाबुको जीवन चरित्रले पनि यो कुरालाई दर्शाउँछ।

प्रस्तुत उपन्यासमा प्रयुक्त पात्र-चरित्रहरूमा गुडिया, गुडियाको आमा निर्मला र बाबु समीर, फुपु-फुपा फुपु-फुपाहरूको कलकत्तामा बस्ने छोरा (प्रमोद) र बुहारी (सुहानी) र उनीहरूकी छोरी (प्रियदर्शिनी), गुडियाको बचपनदेखिको साथी तनु (तनुजा), तनुको छोरो (न्वारानको नाम कर्म दोर्जे भए पनि बोलाउने नाम रहस्य), निमु र निमुको आमा र निमुको प्रेमी प्रमोद, तनुको मत्थु बाबा र तनुकी आमा र दुई बहिनीहरू अनु र सानु, तनुको प्रेमी रसिक, गुडियाको प्रेमी अमर र अमरकी आमा, गुडियालाई अन्तिम समय घर-दार्जिलिङ छोड्न लाग्दा सहयोग गर्ने रोमन, समीरको साथी नरेन्द्र, ट्यूसन मास्टर एस के सर प्रभृतिलाई लिन सकिन्छ। यस उपन्यासमा नायिका गुडिया र उनको आमा-बाबु, फुपु-फुपाजु, तनु, निमु, गुडियालाई भित्रभित्रै मनपराउने तर प्रेमको प्रस्ताव राख्न नसक्ने तथापि गुडियाले दार्जिलिङ छाडेर अज्ञातवासतिर लाग्दा बागडोगरा विमानस्थलसम्म पुर्‍याएर गुडिया दार्जिलिङदेखि पलायन हुनुको रहस्यलाई रहस्यमै राख्ने रोमनलाई प्रमुख कार्यकारी अर्थात् मञ्चीय पात्रका रूपमा लिन सकिन्छ।

प्रस्तुत उपन्यासमा दार्जिलिङको शान भनेर दार्जिलिङ सरकारी कलेजलाई चिनाइएको छ। त्यसरी नै विश्व विरासतमा स्थान पाएको दार्जिलिङको सानो रेल (टोय ट्रेन)-लाई विर्सिएको छैन। दार्जिलिङ सरकारी कलेजको प्रसङ्गमा नेपाली विभाग र विभागका तत्कालीन शिक्षकहरू लक्खीदेवी सुन्दास, रामलाल अधिकारी, मोतीवीर राई, प्रेम शेर्पा विरोकी, ललिता राईको नामोल्लेखको साथसाथै कलेजको वार्षिक मुखपत्र पाइन्स् एण्ड क्यामेलियाजको प्रसङ्ग आएकोले आफू यसै महाविद्यालयमा नेपाली विभागमा शिक्षण गर्ने एकजना शिक्षक भएको नाताले पनि उपन्यासमा वर्णित सामाजिक र भौगोलिक परिवेशको परिचितिले धेरै नजिकको सम्बन्ध रहेको बोध हुन्छ। अझ तनु र गुडिया नेपाली विभागमा अध्ययरत् नेपाली अर्नसका विद्यार्थीहरू भनिएकोले आफ्नै घरभित्रको अदेख सच्चाइहरू उदाङ्दो पारिएको जस्तो लागिरहेछ। यति मात्र कहाँ हो र दार्जिलिङ सरकारी कलेजको अतिरिक्त स्थानीय दिव्यवाणी, महम्मद गल्ली, कन्हैयालालको चिया दोकान, सिंहमारी मोटरस्याण्ड, फूलबारी, गैरीगाँउ, धीरधाम, दार्जिलिङ सदर थानातिर पनि पात्रहरूले पाठकहरूलाई डोहोर्‍याउँछ। पात्रसँगसँगै स्थानीय दार्जिलिङबाहेक खरसाङ, रोहिणी, सिलगढी, डेलो, गम्बुज रेस्टोरेन्ट कञ्चनजङ्गा, स्यालदह रेलवे स्टेशन, चिनियाँ बजार, साइन्स सिटी, गुफा-डायनासोर, भिक्टोरिया महल, कलकत्ता विश्वविद्यालयहुँदै मुम्बईसम्मको यात्रामा पात्रहरूले हामीलाई पनि मानसिक रूपमा सहभागी बनाएको छ, उनीहरूसँगै यात्रागामी बनाएको छ।

प्रस्तुत उपन्यासमा धेरैवटा साहित्यिक कृतिहरूको पनि सन्दर्भ उल्लेख भएको छ। त्यसको अर्थ यी कृति र कृतिकारहरूका लेखन शिल्पशैलीबाट उपन्यासकार डा. साङ्‍मु लेप्चा धेरै प्रभावित हुनुहुन्छ भन्ने कुरा स्पष्ट जाहेर गर्दछ। दृष्टान्तका निम्ति शिवकुमार राई र उनको दिल्लीको सुर्मावाला शीर्षक कथा, मटिल्डा राईको टोटलाको फूल कथा, रामलाल अधिकारीको हावाजहाजको पेटभित्र नामक निबन्धका अतिरिक्त आख्यानकार प्रकाश कोविद, अच्छा राई रसिक, रूपनारायण सिंह र जातीय कवि-गीतकार अगमसिंह गिरी आदि जस्ता स्वनामधन्य हाम्रा आदरणीय साहित्यकारहरू तथा सेतो धरती, अथाह, निर्गमन, मध्यान्तर, छाउघर प्रभृति उच्च दर्जाका साहित्य सिर्जनाहरूको समेत प्रसङ्गमा नाम उल्लेख गरिएको भेटिन्छ।

यस उपन्यासमा काना गोरूलाई औंसी न पूर्णे, आफ्नै गाला आफ्नै लपेटा, सबसे भला चुप, थुन्चेले छोप्दा छोप्दा अब डोकोले छोपेको, चट मंगनी पट बिहा आदि जस्ता उखान-लोकोक्तिको प्रयोग तथा
गुडियाको अनुहार दीयोले झलमल्ल पारेको पूजा कोठा झैँ, तुवाँलो लागेको पहाड झैँ, ढल्न लागेको सुरिलो रूख झैँ, भूइँचालोले तहसनहस पारेको सुन्दर घर झैँ, एउटा न्याहुल नगिचै चाँपको बोटमा आएर बिलौना कहे झैँ प्रभृति उपमा-अलङ्कार, सादृश्य प्रयोग गरिएको भेटिन्छ। त्यति मात्र होइन द्वापारयुगमा कंशको क्रुर दमननीति, भगवान कृष्ण, गान्धारीको महाभारतकालीन मिथकीयता, दार्जिलिङमा चलेको अनिश्चितकालीन आन्दोलन, साझाको कान्छा दाजु, भानुजयन्ती समारोह, नानीहरूको टि.भी. सिरियल- बिउटी एण्ड द बेस्ट, सिन्ड्रेला आदिको पनि प्रसङ्ग उल्लेख गरिएकोले सबै वर्ग र उमेर समूहका पाठकहरूलाई रूचिकर बन्न सकेको देखिन्छ। यसका साथै उपन्यासमा मन्दिरको लामो घण्टी, जननी शक्ति स्वरूपिनी देवी दुर्गा माताको आरती, महाकाल बाबा, गुम्बाको लामाको उल्लेखले हिन्दू-बौद्ध धर्मावलम्बीहरूको धार्मिक आस्था-विश्वासलाई पनि इंगित गरेको बुझिन्छ।

उपन्यासकार डा. साङ्‍मु लेप्चाको यस उपन्यासमा प्रयुक्त भाषाले सुधी पाठकलाई शब्दकोश पल्टाउँदै त्यसको अर्थ खोज्नुपर्ने झन्झट अनि खुट्टा कमाउँदै पढ्नुपर्ने दुर्वोध्यता, जटिलता, क्लिष्टता, दुरूहताबाट सक्दो जोगाएको छ। उहाँ आफ्नो लेखनमा बौद्धिकताभन्दा हार्दिकतामा बढी रमाउनु हुन्छ भन्ने कुरोको गतिलो प्रमाण हो प्रस्तुत उपन्यास। यसैले पनि उहाँ सिर्जना उन्मुख स्रष्टा हुनुहुन्छ, सिर्जना विमुख र हल्लाको भरमा बाँच्ने स्रष्टा होइनन्। कानै बहिरा पार्ने किसिमको अचाहिँदो हल्ला-खल्लाले केही दिनसम्म त लेखकलाई आफ्नो छातीमा टाँसिएको लेबलले लेखक जस्तो त बनाउँला तर साँचो लेखक-सर्जक नै भएर सधैँ भरि बाँचिरहन भने लेखकलाई साधना नै चाहिन्छ, जीवनको अनुभव र अनुभूति नै चाहिन्छ। जीवन र जगतको वास्तविक अध्ययन नै चाहिन्छ। यसर्थ साँचो सर्जकले ठूलठूलो हल्लामा लगानी गर्ने समूहका सदस्य र अनुयायी भइरहनु आवश्यक छैन। हल्लामा विश्वासै नराख्नेहरूबाट पनि राम्रा राम्रा उम्दा उम्दा कालजयी सिर्जनाहरू पाठक-समाजलाई निरन्तर दिइरहेका हामीसित सयौं सर्जक र सिर्जनात्मक कृतिहरू छन्। कृति पाठकलाई सुम्पेपछि त्यस कृति आफैले पाठक खोज्छ, हल्ला गरेर पाठक र दर्शक-श्रोता बटुलिरहनै पर्दैन। हल्ला नगरी चुपचाप साहित्य साधनामा निरन्तर लागि परेर पाठक-समाजलाई भरलाग्दो, लोभलाग्दो र आशालाग्दो सिर्जना दिन सक्छन्। साहित्य साधनामै रमाउनु हुने कर्तव्यनिष्ठ, लगनशील आख्यानकार डा. साङ्‍मु लेप्चाज्यू साहित्य लेखन र अध्ययनमा मौन साधक हुनुहुन्छ। उहाँको यो लगनशीलतालाई मेरो यो लेख्दै गरेको कलमको अजस्र सलाम।

स्नातकोत्तर नेपाली विभाग
दार्जिलिङ सरकारी महाविद्यालय।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 5 श्रावण, 2076

लेखकका अन्य रचनाहरु