भुपीको चोक र मेरो यात्रा

- गोपाल झापाली

६ बैशाखमा काठमाडौं पुग्नै पर्ने कार्यक्रम थियो । खासमा मलाई काठमाडौ प्रति खास मोह पनि छैन । त्यसैले बिगतमा राजधानीको नाममा एकछत्र राजगर्ने त्यो भिडलाई अहिले भूतपूर्वमोफसलले गिज्याएको देख्दा खुच्चिङ् भन्न मन पर्छ । अहिले त केको मोफसल, के को केन्द्रियता । चोकचोकै राजधानी । गाउँ गाउँमा सरकार भए पछि चाहिएन राजधानी ? बेनामे प्रदेशहरुले अनाम बजारहरुलाई राजधानी बनाउन पाखुरा सुर्कासुर्की गरेको देख्दा चाँहि त्यो काठमाडौ खुच्चिङ् भन्दो हो, भनोस् ।
कुराको चुरामै जाउँ । ५ गते बेलुका गाडी चढौंला, ६ गते बिहान पुगौंला, त्यहि साँझ फर्कौला भन्ने मेरो मनचिन्ते योजना थियो । मलाई उहिल्यै मोहभंग भएको काठमाडौं आउ–जाउमा प्राय यस्तै छरितो तालिका बन्ने गरेको छ । तर जुन नामका शासकले राज गरि रहेका छन् देशमा, त्यहि नामको समूहले गरेको उर्दीका कारण म यस पटक फेल भएँ । छरितो तालिका बनेन । अघिल्लो दिनमै हिड्नु पर्ने भयो । ४ गते साँझको मझौला बसमा । भन्नेहरुले यसलाई हायस पनि भन्छन् । थाह थियो, रात्रीकालिन समयमा सिन्धुलीको बाटोमा भाडाका यात्रुबाहक सवारी साधन चल्न दिँदैनन् भन्ने । त्यसैले रातभर कहाँ जाग्राम बसाउने भयो भन्ने लागेको थियो । सिन्धुली हुँदै काठमाडौ समात्ने बाटोका छातीमा उभिएर खिचेका दुनियाका सेल्फी देख्दा म रोमाञ्चित हुन्थे । काठमाडौबाट आउनेले जापान सरकारले बनाई दिएको बाटाका बारेमा दन्त्य कथा भन्दा सुनिरहँथे मात्रै । अर्थात मैले त्यो बाटोबाट यात्रा गरेकै थिईन् । त्यसैले रातिनै सहि । फेसबुकका वालमा छाद आउँन्जेल रमाउँदै हेरेको र कानेगुजी सल्बलाउने गरि कथा सुनेको बाटोमा यात्रा गर्न पाउँदा बेखुस थिईँन ।
गाडीको कमाईः ससुरालीको मोज
दमकमा मलाई ५ बजे लिन आउँछु भनेको गाडी सवा ६ मा आयो । पर्खनु थियो, पर्खि बसे आउला भनि........। चालकसँगैका सीटमा दुई महिला थिए । बाँकि म मात्रै यात्रु । त्यस पछि दमकका भित्री चोक चोकमा पुगेर पनि यात्रु सिला खोज्यो, गाडीले । मुसाका दुला पहिल्याउँदै उहिले उहिले मंशिरमा सिला खोजेको याद आयो । म पनि सिला खोजेर धान बेच्थेँ, पैसा कमाउँथे । अहिले गाडी साहु मान्छे सिला खोज्छन्, तर पैसै कमाउँछन् । क्याम्पस मोड पुगे पछि एक जवान यात्रु ढाड कुप्रो पारेर छिरे । छिर्दै गर्दा उसले सोध्यो–‘हैन मेरो सिट कहाँ हो ?’ गाडीवालाले बाहिरैबाट उत्तर दियो–‘लाष्टमा हो, गएर बस्नु नि, साना नानीहरु छन्, उनीहरुलाई काखमा राख्नु पर्छ ।’ भैगो बरु मुढामै बस्छु भन्दै उसले मुढा तान्यो । अझै ७ जनाको सिट खालि थियो । सुस्तरी गाडी लम्कियो । केहि बेरको घाचाक घुचुक पछि सवैले आसन सम्हाले । अनि त्यो जवान यात्रु र उस्तै उमेरको गाडी मालिक हुँ भन्ने विचको संवाद शुरु भयो । ‘होईन हाम्रो भेट काँ पो भो ?’ मुढामा बसेको यात्रुको उत्तरले गाडी चलाउँदै गरेको साहुलाई चिमोट्यो । ‘त्यहि त मलाई पनि त्यस्तै लागि रा छ’ गाडी नियन्त्रणका लागि स्टेरीङ्मा रहेका उनले पछाडी फर्केर सुस्त दिएको उत्तर पछि उ एकाएक रौसियो ‘....दुवईको कम्पनीमा गाडी चलाउनु हुन्थ्यो हो ?’ ठ्याक्कै कुरा मिल्यो । बिगतमा उनीहरु सहकर्मी रहेछन् । उनीहरुको चिनाजान छिनभरमै नविकृत भयो । संवादबाट थाह भयो, महिनाको डेढ लाख रुपैयाँ सम्म हुने आम्दानी छोडेर उसले (अहिले गाडी चलाई रहेको चालक अनि साहु) गाडी किनेर चलाउन थालेको रहेछ । ‘साहुको गाली, चर्को घाम, घर परिवारको न्याश्रो । डेढ लाख छोडेर आँफै थालियो काम, अब बिदेश गईदैन’ गाडीवालको पोटिलो प्रतिक्रिया पछि पूर्वसहकर्मी र वर्तमान यात्रु बोल्यो–‘आफुचाँहि एक÷साल बस्ने हो, यसपालि पनि बिहे भएन, अब कमाएर आर चाँहि बिहे गर्ने अनि नजाने बिचारमा छु । साँच्चि कमाई कस्तो छ अहिले गाडी लाईनमा ?’ गाडीको स्पिकरमा गुञ्जिदै गरेको मधुरो हिन्दीगीतलाई उछिन्ने आवाजमा जिज्ञासा राख्यो । साहुजी उवाच–‘कमाई त त्यस्तै हो, यहाँको काम चाँहि उता हेरि ससुराली नि ।’ बिवाहनै नगरेको पूर्वसहकर्मीलाई ससुराली भन्ने शव्दाले अल्झाए छ क्यारे । थप जिज्ञासु बन्यो ‘ससुराली मतलव ?’ ससुराली समेत भएको गाडी साहुले प्रष्ट्यायो–‘चलेको दिन कमाई त हुन्छ ठिकै तर ससुराली जस्तो मस्ति नि । आफ्नो काम, आफ्नो कमाई । परिवारसँग भेटघाट । बँधुवा भएर काम गरेको हेरि त ससुराली जस्तै मस्ति नि ।’

अविश्वास समयको कि पुरुषको ?
करिव १० मिनेटको संवाद लगातार चलि रहेको थियो । गाडी उर्लाबारी चोक कटेर मंगलबारे पुग्यो । त्यहाँ एकजना महिला यात्रु हाम्रो प्रतिक्षामा थिईन् । हाम्रो अर्थात गाडीको । साँझ पर्नै लागेको थियो । चालकका आँखाले मात्र बाटो भेउ नपाएर गाडीका आँखा बाल्नु पर्ने अवस्था हुनै लागेको थियो । ‘गाडीका लेडीज छैनन् कि क्याहो ? यि हाम्री बुहारी हुन् कि, भर्खर बिहा गरेको छ । सिट मिलार राखिदिनु है’ एक बयस्क पुरुषले गाडीसाहुको कान फुकेको झ्यालकै छेउमा बसेको मैले पनि सुनिहालेँ । ‘हाओ, अगाडी–पछाडी लेडीजै लेडिज नि हौ, अनि अरु नहुँदा हामीचाँहि वन मान्छे हौं क्याहो, चिथोरी हाल्ने ?’ गाडीवालाले दिग्दारी स्वारमा उत्तर दिए । ति महिला गाडी छेउमै आई पुगिन् । दुई जनाको सिटमा म एक्लो थिएँ । अर्को एकल सिटमा एक पुरुष एक्लै । गाडीवालाले आग्रह गरे–‘सोल्टी तपाई त्यो सिटमा बसिदिनु ल, यहाँ लेडीजलाई एक्लै सजिलो हुन्छ ।’ मुखमा मास्क लगाएको जवानले बोल्दै नबोलि सिट खालि पारिदिए, सरक्क मेरो छेउमा आएर बसे । म अलिक भित्तातिर सरेर उनलाई स्वागत गरेँ । नवबधुले खालिए भएको आफ्नो एकल सिट सम्हालिन् । ‘खै कहाँ हुनुहुन्छ लेडीजहरु, कि म एक्लै परेँ ?’ अगाडी पछाडी हेर्न थाल्दै गर्दा पछिल्ला सिटकी मेरी काकी उमेरकी महिला बोलिन्–‘हामी छौ नि नानी, उ अगाडी पनि हुनुहुन्छ । के को डर र ?’ उनले निक्कै लामो स्वास फेरेको मैले नियालेँ । के को डर रे । यदि कुनै महिला थिएनन् भने चाँहि गाडीमा भएका सवै पुरुषले डरलाग्दो गरि के गर्थे उनलाई ? प्याच्च सोधौं कि लाग्यो, फेरि किन बाठो हुनु जस्तो लाग्यो । बरु सोचेँ–‘किन पुरुषहरु प्रति यति डरलाग्दो छायाँ आममहिलाहरुको मस्तिस्कमा छापिन पुग्यो ? आँफैलाई गरेको मेरो प्रश्नको उत्तर अरु कसैले दिनेवाला पनि थिएन । मैले पनि दिईन । गाडी मौन अघि बढ्यो । ति वधुको तारन्तार फोन आई रहयो । सानो स्वरमा उत्तर दिएको सुन्थेँ, उत्तर प्रायः एकै प्रकृतिका थिए–‘गाडीमा भर्खर चढेँ, अँ....., लेडीजहरु पनि हुनुहुन्छ.........म सिंगलसिटमा छु.........ल फोन गर्छु.....आधा घण्टा नभई करिव ४÷५ ओटा फोन आए उनका । सायद जिज्ञासा पनि साझा थिए कि गाडीमा पुरुष मात्र छैनन्, सुरक्षित छौ कि छैनौ, को सँग छौ भन्ने जस्ता । कति अविश्वास । उनी नवविवाहीता भएर हो कि समाजमा पुरुषहरु प्रतिको विश्वास हराएर ? कि यि प्रश्न हरेक महिलाका परिवारका लागि साझा आवश्यकता हुन् ? अरु पुरुषहरुले त यस प्रकारको उत्तर दिएको मैले सुन्दै सुनिन ।
बन्दको डरसँगै देश बनाउने हाँक
मोरङ्को गछिया पुग्दा झमक्कै भई सकेको थियो । अघि देखि गाडी साहु कसैलाई तयारी अवस्थामा रहनु, आईपुग्नै लागेँ भन्दै थिए । बाटैमा पर्खि रहेका रहेछन् । अघि मैले दमकमा पर्खेजस्तै । ‘लुलु समान माथि राखौं, पानी छिट्याउन थाल्यो’ गाडी चालक समेत रहेका साहुले हतार लगाए । सहचालक गाडीको धुरीमा पुगे, सवै पोका पुन्तरा कसे । सिट ६ जनाको खालि थियो । केहि महिला, पुरुष र एउटी बालिका चढे । गछिया बाट थपिएका यात्रु मध्येकी एक महिला, सायद् उनी त्यहाँकी टोली नेता थिईन्,बोलिन्–‘भाइ विश्वास गरेर सिट राखि दिनु भएछहै ?’ चालक साहु बोले–‘मान्छेको विश्वास भनेकै बोलि हो नि, बोलि सके पछि सक्यो । तपाईहरु ६ जनाले बुक गरे पछि त मलाई हिम्मत आएको नि काठमाडौ फर्कने । नत्र बिहान आएको अहिले कहाँ जान्थेँ र । फेरि भोलिको बन्द, परिवार काठमाडौमा । आफु कहाँ बस्नु झापामा । त्यहि भएर पो त ।’ ति भद्र महिलाले थपिन्–‘हो नि, मान्छेको विश्वास भनेकै बोलि मा त हो नि, साँच्चि भोली बन्द पो रछ है ?’ उनको प्रश्नको उत्तर चाँहि निक्कै रौसे परेका सहचालकले दिने हिम्मत गरे–‘बल्ल बल्ल हराएको थियो बन्द हुने चलन, फेरि थाले छन्, गरि खानै नदिने भए नि ।’ नवबिवाहिता भनिएकीले चिन्ता पोखिन्–‘ला अब भोलि बिहान कति बेला पुगिन्छ काठमाडौ, केहि चल्दैन होला गाडीबाट झरेर कसरी जानु ?’ उनलाई सावन्त्वना दिने प्रयासमा लाष्टसिटकी काकीले बोलिन्–‘यहि पाराले गयो भने त ४ बजे तिर पुगिएला जस्तो छ तर के को डर, उज्यालो नभईन्जेल गाडीमै बसि रहने नि ।’ जसले जे जानेको, बुझेको छ त्यहि बोल्न थाले सवै एक–एक गरि । अर्का सज्जनले थपे–‘होईन, भोलीको बन्द छ, उज्यालो भए पछि गाडी चल्न दिँदैनन, बरु बिहानकै राती कहाँ कहाँ पुग्ने हो पुग्नु पर्छ है ।’ सहचालकले बोली खप्टिए–‘रातीनै हिँड्दा झ¥याम्मै पारे भने नि ?’ गाडी साहुका पूर्वसहकर्मीले तितो पोखे–‘साला यहाँको सिस्टमै खराव । उहाँ त पुरा सव सीसी क्यामराले हेरेको हुन्छ बाटाभरि, गाडीमा छिसिक्क हुँदा पनि थाह हुन्छ । लेनको नियम उस्तै कडा, पेनाल्टी छेराई हाल्छ है ’ पूर्वसहकर्मीले यति चटनी दिए पछि चालकसीटबाट साहुजी बोले–‘हो नि, उहाँ त आन्दोलन, तोडफोड नसोचे हुन्छ । गाडी कुदाउनेले पनि नियम मान्नै पर्छ । नत्र पुलिसले फेला पा¥यो भने सकियो ।’ फेरि यात्रुको रुपमा रहेका पूर्वसहकर्मीनै चर्किए–‘यहाँका पुलिस त सव खानका काल, गाडी फुटाए पनि मतलव छैन, जता कुदाए पनि बाल.....फुलुस भेटे पछि सकियो । यस्तो पाराले देश बन्छ ? देश कसरी बन्छ हाम्लाई थाह छ नि तर के गर्नु...’ आफ्ना विद्धता प्रकट गरे । लाग्थ्यो यिनमा देश बनाउने यस्तो दिव्य क्षमता छ, तर पालै नआएर मर्मुरिनु परेको छ । लामो गलफति सकियो । म मौन सुनिरहेँ । मसँगै बसेका सहयात्रु पनि दमककै भाइ रहेछन् । उनको पनि मेरो जस्तै स्वभाव । सामान्य चिनजान । अनि मौन ।
पाथीभराका नाममा ढाँट
भोलीपल्टको बन्दका कारण होला सायद, बाटाभरि काठमाडौंलाई कुम्ल्याउन उछिन पाछिन गर्ने सवारी साधनका लर्को थियो । चारभञ्ज्याङ् बाहिरबाट अन्न–पानी नआए पञ्चमीको ब्रत बस्न बाध्य काठमाडौले भोलिपल्टको बन्दका दिन चाँहि के के न गर्ला भन्ने भ्रम कतिविधिहो, दुनियालाई । उदेगै लाग्दो गरि । ईटहरीलाई पिठ्यू फर्काए पछि स्टेरीङ्बाटै साहुजी चालक बोले–‘अब कसैले सोधे हामी ताप्लेजुङ् पाथिभरा पुगेर आएको भन्नुस् है, धेरै जना बोल्नु पर्दैन एक जना बोले हुन्छ ।’ अरे । म अचम्म । किन दुनियालाई झुठ बोल्नु पर्ने ? त्यो पनि भगवानको नाम दिँदै । उहिले त झुठ बोले आनो निस्कन्छ भन्थे । भोली मलाई गाडी भरि बसेका सवैको अनुहार हेर्ने हुटहुटी थियो । कसका कत्रा आना निस्किदारान भनेर । एक सज्जन बोले–‘हो त किन धेर कुरा गर्नु, त्यहि भने भैगो नि सवैले ।’ कारण उनीहरुले बुझेका रैछन् क्यार । मलाई केहि भेउ थिएन । सायद, ईनरुवा छेउछाउ होला । उज्यालो अघिनै बिदा भएकाले ठम्याउन सकिन । गाडी घ्याच्च रोकियो । अरु पनि त्यसै गरि रोकिएका थिए । ट्राफिक प्रहरी छेउमा आए । ‘कहाँबाट आएको ?’ सहचालकलाई गरेको प्रश्नको जवाफ छेवैमा बसेका हाम्रो एक सहयात्रीलाई दिन हतार भएछ । भनिदिए–‘ताप्लेजुङ् । पाथिभरा ।’ झ्यालबाट मुन्टो छिराएका ट्राफिकको फेरि प्रश्न–‘टीकट छ ?’ हाम्रो सहयात्रीको उस्तै छोटो जवाफ–‘रिजर्व गएर आएको के को टिकट ?’ ट्राफिकले अघि बढ्नु भन्ने संकेत गरे । गाडी अघि बढ्यो । धेरैजसो गललल हाँसे । म छक्क परेँ । किन ट्राफिकलाई ढाँटे, किन हाँसे भनेर । सहचालक भन्दै थिए–‘साला यस्तालाई कसरी झुक्याउनु पर्छ थाह छैन र । हाम्रो रातीको रुटपरमिट छैन । त्यहि थाहा पाएर माल झार्न खोजि हाल्छ । सोधेको भए फोटै देखाई दिन्थे ।’ उनले ट्राफिक प्रहरीलाई झुक्याउन सकेकोका बहादुरी पोखे र फेरि थपे–‘दाइ बाठो हुनु हुँदो रहेछ, रिजर्व गएको के को टिकट भनि दिनुभयो ।’ फेरि सवै उसैगरि हाँसे । गाडी रुट मरमिट बिनानै चलेको रहेछ । भवितव्य, कुनै दुर्घटना भई दिएको भए हाम्रो बिमा, सुरक्षा, उपचार भगवान भरोसा । फेरि उहि भगवान अर्थात पाथिभराको नाम बेचेर झुठ बोल्न सवै एकमत । पाथिभरालाई त साक्षात देवी भन्छन् । दर्शन र भाकल गर्न दुनियाको लर्को लाग्छ । पाभिराकै नाममा ढाँट्नेहरु फेरि भन्दै थिए, तल्लो फेदि देखि यस्तो बाटो छ, काफ्ले पाटी उस्तो छ, उकालो कम्ता छैन तर म जति चोटी गए चिताएको पुगो । उनीहरु भन्छन्, फेरि चिताएको पुगो अनि तिनै देवीको नाम बेच्दै झुठ बोलि रहेका छन् । म पनि भनिदिन्थै पाथीभरा मन्दिरको गजुर क्या राम्रो, यदि ट्राफिकले सोधेको भए । तर के गर्नु म आज सम्म त्यहाँ पुगेको छैन । मलाई सोध्यो भने कसरी ढाँट्नु भनेर सोच्दा सोच्दै गाडी अघि बढि रहयो । चालक फोनमा भन्दै थिए–‘ओई, तलाई पर्ची कटायो ? कतिको ? एक हजारको रे ? मुला दिमाग लगाउनु पर्दैन, हामी त उसैलाई झुक्याएर आयौ नि । कडा छ रे ? कहाँ ? ए.....त्यसलाई पनि उहि हो । एक पैसा नतिरि आईन्छ हेर न ।’ एउटा चेकमा झुक्याए पछि उनको हिम्मत बढेछ क्यारे । अर्को चेकमा पनि उसैगरि झुक्याउने साहस उनले बटुलि सकेका थिए । थपे–‘साला ट्राफिकले हात हल्लायो मात्र भने खुई खुँई जाने हो, देख्या नदेख्यै गरि, अगाडी आएर उभियो भने मात्र रोक्ने । जतिखेरै बल्छी थाप्छन्, खान पल्क्याहरु ।’
‘सालाहरु खान पल्किएका नि, हातमा सयको नोट हाल्दिए पछि चुप लागि हाल्छन्’ सहचालकले भन्दै थिए । बिदेशमा गाडी चलाएर आएका मित्रले थपे–‘सालाहरु माथि सम्म सेटीङ् गर्छन् नि त, भाग सवैलाई लाउँछन् र त चुप लाग्छन् नि, नत्र माथि बस्नेलाई किन थाह नहुने र हातमा पैसा हाल्दा चुप लाग्ने चलन ।’ माथि भनेर कसलाई भन्दै थिए कुन्नी । त्यहि बेला गाडीको माथि छतमा लगाएको त्रिपालचाँहि हावाले जोडसँगै फर्फराउँदै थियो । चालकले सोधे–‘भाइ, त्रिपाल त दह्रो बाँधेको छ नि, हावाले उडाउला है ।’ उनले उत्तर दिए–‘नो टेन्सन ।’ फेरि झण्डै पौने घण्टा दगुरे पछि अर्को चेक आयो । चालकले भनि हाले–‘सव चुप लाग्नु है, यहाँ कडा छरे ।’ सवै आज्ञाकारी बने । अघिको जस्तै प्रश्नोत्तर चल्यो । तर ट्राफिक प्रहरी मानेनन् । गाडी साईड लगाएर चालक र सहचालक दुवै पोष्टतर्फ लागे । करिव १५ मिनेट लाग्यो । आएनन् । अरु सहयात्रीहरु मुखामुख गर्न थाले । ‘के हो, छोडन कि क्याहो ? बल्छी थापेर बसेको थिए किन छोड्थे ? कति डल्याउने भए ?’ सवैले आ आफ्नो अड्कल काटे । पहिलो चेकपोष्टमा बहर गोरु जस्ता उफ्रिदै आएका दुई भाइ फर्कँदा खसी पारेका बुढा गोरु जस्ता देखिए । चुपचाप गाडीमा पसे । अघि बढाए । करिव ५ मिनेटको मौनता । अघि देखि ढाँट्न साथ दिँदै आएकी महिलाले सुस्तरी प्रश्न गरिन्–‘भाइ, चिट कटाए कि क्या हो ?’ आधा दिन सम्म जोतेर थाकेको गोरुजस्तै चेहरा । सुस्त उत्तर दिए–‘चोरहरुले कटाई छोडे नि, हजार गयो ।’ अगाडीबाट चालक बोले–‘सालाहरुलाई, पाथीभराका नाममा ढाँटेको पनि पार लागेन ।’
गाडीमै जाग्राम
आधारातमा लमतन्न सुतेको पूर्वपश्चिम राजमार्गमा हात पसारेर बसेको रहेछ, सिन्धुली काठमाडौं सडक । बाटो मोडीयो, बर्दिबासबाट । साँधुरो सडक । जोखिमको यात्रा । सायद यसैको व्यवस्थापनका लागि होला राती मालबाहक र निजी सवारीसाधनलाई मात्र बाटो खुल्ला गरि दिएर यात्रुबाहक भाडाका गाडी चल्न नदिने थिति बसालेको । चालक आँफै भन्दै थिए–‘यहाँ राती भाडाका गाडी छोड्न दिँदैन । अगाडीको चेकबाट छुटेको गाडी एक्सिडेन्ट भयो भने कतिका जागिर जान्छ, किन गाडी छोडेको भनेर ।’ सवैकुरा चाल पाएर पनि बलमिच्याई गर्दै बिनापरमिट र अनुमति नभएको समयमा उनी गाडी चलाई रहेका थिए । दवाव सायद अलिकति आम्दानीको थियो । दबाव फेरि बिदेशिन नपरोस भन्ने चाहनाको पनि थियो, सायद । ‘अब धन्दा नगरे हुन्छ, रोक्ने ठाउँजति पार गरियो, अब चियावारीमा पुगेर खाना खाने हो अनि जाने हो’ सहचालक क्या ढुक्क थिए । उनले खानाको कुरा गरि रहँदा छेवैमा एक्लो सीटमा बसेकी नवविवाहिता आन्द्रै फर्किने गरि प्लाष्टिक भित्र मुख गाडेर बिहान खाएको निकाल्दै थिईन् । बरा, निक्कै थाकेकी पनि थिईन । जसरी बिहान थालबाट गाँस मुखतिर हालिन्, उसै गरि अहिले पेटबाट प्लाष्टिकमा खन्याउँदै झ्यालबाट हुर्याउँदै थिईन् । हाम्रो तिथी पनि कस्तो है । सुन्तला खायो, बोक्रा बाटैमा फालिदियो । पानी पियो झ्यालबाटै बोत्तल हु¥याई दियो । मुन्टो निकाल्यो, ह्वाल्लै छादि दियो । अझ, प्लाष्टिकमा छादेर पनि उसै गरो । मध्यरातमा बाटोमा कोहि थियो भने त्यसको हालत के भयो होला ?
चियावारीमा पुगेर खाना खाने भन्थे । कहाँको चियाबारी केहि थाह थिएन । म त झापामा हुर्किएको मान्छे, आँखाभरि चियाका मुना अंकुरण भई रहेका थिए । सिन्धुलीका चीयाका मुनामा मेरो आँखामा उनिएका झापाका आंकुरा मिसाएर कक्टेल स्वाद लिने तलतल थियो । तर मध्यरातको बाटो । केहि देखिएन । नयाँबाटोमा पहिलो पटकको यात्रा । त्यो पनि राति, कुरै सकियो । बरु धिमा आवाजमा बजि रहेको गीतमा मस्त थिएँ, गीतचाँहि कुन थियो, भुलेँ । मोवाईलको वाल पेपरमा मुस्कुराई रहेकी ४ महिनाकी छोरी देख्दा थाकेको अनुहारमा एकाएक चमक आयो, मोवाईलको स्कृन जस्तै बल्यो क्यार मेरो अनुहार पनि । उनीसँगै उनी ४ वर्षको दाजु र उनीहरुकी आमाको पनि याद आयो । फोन गरे । स्विचअफ । झ्यालका छिद्रबाट बतास तिव्र गतिमा मसँग साउती गर्न आउँदै थियो । सायद गाउँतिर हावाहुरी पो आयो की ? हावाहुरी, झरी,चट्याङ् पर्दा मोवाईल अफ गर्ने बानि छ, मेरी जाहानको । त्यसैले मोवाईल अफ गरेको हो कि । त्यसो नहुन पनि सक्छ, बेट्री सकिएको पनि त हुन सक्छ नि । प्रश्नोत्तर आँफैसँग चल्यो । यात्रावृतान्त प्रत्यक्ष प्रशारण गर्ने हुट्हुटी हरायो । बरु पेट हुँडलिएको थियो, अमिलो डकार मात्र आयो । गलेको ज्यान, बाहिर अन्धकार हेर्नु कहि थिएन । झकाउन लागेको थिएँ, फेरि अर्को चेक पोष्ट आएछ । गाडी साईड लाग्यो । १० मिनेट जतिको पखाई पछि फेरि भोकाएको पेटमा नुन खाएर आएका जस्ता देखिए,चालक–सहचालक । ‘चियाबारी पुगिन्छ कि भनेको पुगिएन, कागजपत्र राखि गयो नि, अब उज्यालो भए पछि मात्र दिन्छ ।’ सहचालकको गनगन पछि छेवैकी यात्रुले भनिन्–‘आम्मा, अब रातभरि यहिँ, कसरी बिताउनु ?’ अलिकति अघि बढेर एउटा होटलको आँगमा गाडीले घुँडा मा¥यो । चालक उत्रिए । ‘अब यहिँ बस्ने, भोलि बिहान मात्र जाने ।’
ट्राफिकलाई छल्दै आएका आँखाहरु चिम्सा भई सकेका थिए । आन्द्रै उल्टिने गरि छादी रहेकी बधुको जिउ सिथिल भई सकेको थियो । रुची अनुसारको खाजा खाए कसैले, कसैले आँफैले ल्याएका पोका खोले । मध्यरातको मौनतालाई चिर्ने हिम्मत कसैमा थिएन । सिरसिर चलेको बताससँग लामो कुरा गर्ने चाहना पनि रहेन । बिहानको पर्खाईमा गाडी भित्रै घुँडा खुम्च्याएर कोचिएको मैले सम्झि रहेँ कविता भुपी शेरचनको–मेरो चोक । भुपीको चोक जस्ते मेरो यात्रा । जसरी भुपीको चोकमा सवथोक छ मेरो यात्रामा पनि सवथोक छ । देशको कानून मिच्ने हिम्मत छ । भगवानको नाममा झुठ बोल्ने ओठ छन् । देश बनाउने जाँगर छ । पुलिस छल्ने कला छ । रातभर टोक्ने उपिँया, दिनभर टोक्ने रुपियाँ भएर पनि, देउताले बनाएका मानिस र मानिसले बनाएका देउता भएर पनि हाँस्न नसकेको भुपीको चोक जस्तै मेरो यात्रा मध्यरातमा थचारियो । बिहानको पर्खाईमा ।

झापा

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 5 श्रावण, 2076

लेखकका अन्य रचनाहरु