श्राप

- बद्री अधिकारी

इच्छा पुरा हुने निश्चिन्तताले मेरो मन रमाउँदै थियो । रमाइलो मन बढी चन्चल हुन्छ । चन्चल मन बढी हत्तारिँदो रहेछ । त्यो कुराबाट म पनि अछूतो रहन सकिरहेको थिइनँ । मोरङ बेलबारीको बेतना सिमसारको परिवर्तित रुप हेर्ने मेरो रहर ‘सेवक’ सरको साहित्यिक निम्तोले पूरा गर्दै थियो । पहिला त बेतनामा फाट्टफूट्ट मुर्दा पोल्दथे । सायद अहिले पनि आक्कलझुक्कल राजमार्ग दक्षिण खोला किनारमा पोलिन्छ की ! निश्चिन्तता छैन । त्यो त पुगेपछि बुझ्दा थाहा हुन्छ नै....।
स्थानीय स्तरको ठूलै प्रयासले बेतना सिमसारको रूपमा स्थापित भै देश र विदेशमा परिचित हुन थालेको भरखरै हो । राम्रो परिचय प्राप्तीको लागि समय धेरै लाग्न सक्छ । तर नराम्रो परिचयको छाप क्षणभरमै टाँसिन सक्छ ।

म साहित्यकार होइन,.... साहित्यप्रेमी हुँ ....। आत्मासन्तुष्टीको लागि लेख्छु घरी–घरी । यही क्रममा ‘सेवक’ सर र मेरो मित्रता मौलाएको हो । हुन त एक दशक अगाडिसम्म वेतना सिमसार आस पासमै बसेको थिएँ, सामान्य पसलेको रूपमा । अभावले गर्दा हेटौडा बसाइ सरेको पनि दुई वर्ष भै सकेछ । बसाई सर्ने क्रम नेपालीहरूको जारी छ । बौद्घिक पलायनको संख्या भारी छ । खोइ ! यो क्रम कहिलेसम्म चलिरहने हो ! क्रम भङ्गको पूर्व सङ्केतको आभाश हुन सकेको छैन ।

प्रतीक्षारत ‘सेवक‘ सर, स्थानीय साहित्यकार, साहित्यप्रेमीहरूले मलाई स्वागत गरे । वहाँहरूको स्वागत गराइमा असिम अपनत्व झल्किरहेको थियो । ‘सेवक’ सरले आफूलाई गरेको आदर–सत्कार सम्मानको अगाडि आफूले दिएको आशिर्वाद, माया, स्नेहको थुप्रो सानो झैँ लाग्दै थियो मलाई । सबै पाहुनाहरू आइसकेका रहेछन् । लाहानमा भएको साङ्केतिक हड्तालले दुई घण्टा बस रोकिएको थियो । बन्द, हडताल पनि दिनहुँ जस्तो हुन्छ । जनताको पीरमार्का कसले बुझ्ने ? सबै पार्टीका नेताहरू जनताको लागि गरेको भन्छन् । जनता दिग्दारीमा छन् । जनताले बुझ्न चाहिरहेका छैनन् की ! नेताले बुझाउन सकिरहेका छैनन् ? यस प्रकारको स्वचालित मनोसंंंवाद म भित्र निरन्तर चलिरहेको छ र चल्दै छ । पुराना साथीहरूको भेटघाट नयाँहरूसँगको जोसिलो परिचयले यात्राको थकाइ बिर्सिँदो रहेछ, मैले पनि बिर्सिएँ । त्यसमा पनि धिमाल जातिहरूको मनमोहक नृत्यले सहभागिहरू बसेकै कुर्सिमा आनन्दले ताली ठोक्दै झुमिरहेका थिए । छिमेकी देश भारतबाट आएका साहित्यकारहरूको पनि राम्रै उपस्थिति थियो । मिश्रित अनुहार, भेषभुसा र भाषा लवजले पनि एक प्रकारको आनन्दको रसास्वादन हुँदै थियो । मेरो शरीर पनि प्रफुल्लित भइरहेको थियो । नास्ता पछाडी प्राप्त ब्रेकको समयले चुरोटको तल्(तल म भित्र उर्लियो ।

म लुसुक्क गेट बाहिर निस्किएँ तल्तल् मेटाउने ध्येयले । राजमार्ग दक्षिणतिरका विभिन्न पेय पदार्थ र खाजाका पसलहरूतिर दृष्टिपात गर्दै म बेतना पुलतिर लागेँ । एउटा छहारी भएको रुखको फेदमा बसेर चुरोट सल्काउँदै लामोलामो कस लिँदै धुवाँलाई गोलाकार रूपमा उकल्दै आँखाका परेलीहरू ढप्क्याएँ । धेरै समय पछाडी पिएको चुरोटको सर्कोले होला शरीर शिथिल हुन थाल्यो । आँखाहरू लोलाउँदै गए, परेलीहरू ढप्किँदै गए ।

एउटा युवाको घुर्मैलो आकृति अलि पर मैले देखेँझँै भान भयो । युवक क्रमिकरुपले म भएतिर आइरहेको थियो । युवक चिने–चिने जस्तै लाग्यो । उसको फुस्फुसाएको स्वर कानमा ठोक्कियो–“अङ्कल ! के मलाई उनीहरूले मार्दैमा म जस्ताहरूलाई देशबाट उन्मूलन गर्न सके त ?” बावुकाजी फिस्स मुस्कुरायो । उसको मुस्कानमा एक प्रकारको व्यांग्य झल्किरहेको थियो । उसको मुहारमा कुनै प्रकारको भय, त्रास, डर देखिँदैनथ्यो । निश्चल, शान्त र अडिग ढङ्गगले उभिएर उसले मलाई हेरिरहेको थियो । म मौन थिएँ । मसँग उसको प्रश्नको कुनै जवाफ थिएन न म ऊसँग कुनै पनि प्रश्न नै गर्न सकिरहेको थिएँ ।
‘अङ्कल ! तपाईँ किन मौन ? तपाईँहरू जस्तो साहित्यप्रेमीको नजरबाट पनि म ओझेलिएँ कि कसो ? तपाईँहरूको दुरदृष्टी हुन्छ रे ! खोइ ?” उसले मलाई चुनौती दिँदै ओठ लेप्राइरहेको थियो । उसका आँखामा आफू सदैब श्रद्धा देख्दथेँ तर आज उसका द्वय आँखाले घृणाका व्ंयंग्यवाण आफूप्रति वर्षाइ रहेका थिए । बावुकाजीको घृणायुक्त वाणहरूले मेरो शरीरको हरेक मर्म स्थलमा चोट पु¥याई रहेको थियो । म घायल पंखी जस्तो फड्फडाई रहेको थिएँ । हेर्दाहेर्दै बाबुकाजी शरीर लाशमा परिवर्तित भयो । केही मलामीहरू वावुकाजीको लागि चिता निर्माण कार्यमा व्यस्त देखिन्थे भने अर्काथरि एक आपसमा साउती मारेझैँ गरी गफ गर्न व्यस्त देखिन्थे । बाबुकाजिकी आमा (वोलाउने साइनोकी भाउजू) छाति पिटी–पिटी रोइरहेकी थिइन् । उनको केश खुल्ला छरपस्ट थियो । लमतन्न सुताइएको छोराको शव उनको अलाप्विलाप् र कर्णभेदी रोदनले जागा हुने थिएन । तथापी ‘आमाको मन छोरा छोरी माथि ।’उनको त्यो पीडायुक्त रोदनले सबै मलामीहरूको ध्यान आकृष्ट गरिरहेको थियो । रोदनको ठूलो स्वरले वेतना सिमसारमा आहारा खोजिरहेका पंक्षीहरू त्रसित भएर घाँटी तन्काउँदै यत्रतत्र हेरिरहेका देखिन्थे । नजिकै रुखहरूमा शितल तापेर बसेका पंक्षीहरू उडेर अन्यत्र जाँदै गरेका देखिन्थे । म आफ्नो मनलाई कठोर बनाउँदै एक छेउमा उभिएर त्यो हृदय विदारक दृश्य हेरिरहेको थिएँ । त्यो कारुणिक दृश्यले सहजै जतिसुकै कठोर मन भएको मानव मन पग्लन सक्दथ्यो । म त झन् कोमल हृदय भएको मानिस आफूलाई सम्हाल्न मलाई हम्मे हम्मे भै रहेको थियो ।

मेरो छोरालाई तिमीहरूले आफ्नै श्रम शिविरमा राखेर सुधारेको भए हुँदैनथ्यो ? मानिसलाई मारेर सजाय दिन मिल्छ ? सजाय त प्रचलित कानुनले दिन्छ । मेरो छोराले के अपराध गरेको थियो ?” यसरी रुँदै चिच्याउँदै वावुकाजिकी आमा डाको छोडेर रोइरहेकी थिइन् ।

“घृणालाई मायाले, क्रान्तिलाई शान्तिले, आगोलाई पानीले र अज्ञानिलाई ज्ञानले उछिन्ने कार्यबाट नै देशको मुहार बदल्न सकिन्छ झैँ लाग्छ मलाई । खोई ! यहाँ त घृणालाई जन्माउने कुरामा मात्र प्रमुख नेताहरू सक्रिय देखिन्छन् ।” मेरो दायाँतिर एक जना भद्र मानिस नजिक रहेकाहरूसँग आफ्नो विचार यसरी पोखिरहेका थिए ।

वायाँतिर एक युवक आफ्ना दाँैतरीसँग भनिरहेको थियो –“विचार नमिल्दैमा हतियार हुनेले निहत्थालाई यसरी मार्दै जाने कुरा कुनै मानेमा राम्रो पक्ष होइन । मारिनेका आफन्त सङ्गठित भै विरोधमा हतियार उठाए भने देशको अवस्था कस्तो होला ?”

अर्कातिर एक वृद्ध ठूलो स्वरमा दौँतरीहरू माझ आफ्नो कुरा राख्दै थिए– “ दुर्योधनको हठधर्मिता र ध्रृतराष्टको पुत्र मोहको कारणले कुरु वंश समाप्त भयो । पाण्डुहरूले विजय प्राप्त गरे पनि प्रजाको रिक्तता पूर्ण स्थितिले शासनको कुनै औचित्य रहेन ।”
मलामीहरू यसरी गफिँदै थिए भने अर्कोतिर बाबुकाजीको चिता निर्माण कार्य अन्तिम अवस्थामा पुगिसकेको देखिँदै थियो ।

“दिदी ! नरुनुहोस् । हुने कुरालाई कसले टार्न सक्छ र ! तपाईँ को मात्र होइन कयांै आमाका कयौं छोराहरू यसरी मरेको र मारिएको सुन्न पाइन्छ । तिनै कुरालाई सम्झेर पनि चित्त बुझाउने कोशिस गर्नुहोस् ।” नजिकै रहेकी एउटा महिला बाबुकाजिकी आमालाई सम्झाउने प्रयास गरिरहेकी थिइन् ।

“दशधारा दूध ख्वाएर हुर्काएको छोरा कसरी चित्त बुझाउँ । आइमाइको विभिन्न रुप मध्ये आमा र श्रीमतीको रुप महत्वपूर्ण हुन्छ । बृन्दाले दिएको श्राप विष्णुलाई लागेको थियो रे ! म पनि आज मेरो छोरो मार्नेहरूलाई श्राप दिन्छु । उनीहरूको इच्छा कहिल्यै पूरा नहोस् । एउटा नेपाली भएर अर्को नेपालीलाई मारेर पुरुषार्थ देखाउनेहरू हो.... सिमाना मिचिँदा के हेरिरहेका छन् !? तिमीहरू कायर हौ ।” अलापविलाप गरेर रुँदारुँदै बाबुकाजिकी आमा बेहोस भएर भूइँमा लडेकी थिइन्..। नजिकमा रहेका महिलाहरू उनको अनुहारमा पानी छिटेर होस्मा ल्याउने उपक्रम गरिरहेका थिए ।

कतिपय मानिसहरू बाबुकाजीलाई दुब्र्यशनी, फटाहा भन्दथे । म उसलाई मनुष्य जीवनको महत्वको बारेमा घरिघरि जम्काभेट हँुदा सम्झाउने चेस्टा गर्दथेँ । मेरा कुरालाई ध्यान दिएर सुन्दथ्यो , विरोधमा मुख उघारेको मलाई हेक्का छैन । एक दिन म पसल रुँगेर बसिरहेको थिएँ । बाबुकाजी नशाले मातेझैँ गरी लर्खरिँदै मेरो पसलमा आयो । मैले शिरदेखि पैतलासम्म उसलाई हेरेँ । मेरो हेराइको वास्ता नगरि उसले भन्यो –“अङ्कल ! म सँग आज पैसा छैन । भोकले सताइरहेको छ । विस्वास लाग्छ भने एक प्याकेट विस्कुट दिनुहोस् पर्सि पैसा दिन्छु ।”

उसको आदर पूर्वकको स्पष्ट अभिव्यक्तिले म प्रभावित भएको थिएँ । त्यसैले होला नाई भन्न सकिन । मेरो स्थानमा अरुनै पसले भए पनि नाई भन्न सक्ने थिएनन् होला....। तीन दिन नपुग्दै उसले आफ्नो वचन पूरा गरेको देख्दा म छक्क परेको थिएँ ।
साँच्चै भन्नुपर्दा, आस्वासन बाँडेर पूरा नगर्ने आजकालका नेताकोभन्दा उसको इमान्दारीताको सराहना गर्न मेरा दुबै ओठहरू लालायित हुँदै थिए ।

“ओहो ....दाई !...तपाई त यहाँ पो ...! निदाउनु भयो कि क्या हो ? पश्चिमका साथीहरू बस चढेर तपार्इँलाई पर्खिरहेका छन्.।” पछाडीबाट आएको ‘सेवक’ सरको स्वर कानमा ठोक्किएकाले म वर्तमानमा आइपुगेँ । म अर्ध निन्द्राबाट बिउँझिएँ ।

औँलामा च्यापिएको चुरोट निभिसकेको रहेछ । भुइँबाट उठ्दै मैले भने –“धेरै समय अगाडि बाबुकाजिकी आमाले दिएको श्रापलाई स्थान विशेषले गर्दा सम्झन पुगेछु । ”

“दाइ ! बावुकाजिकी आमाको श्राप लागेकै हो । थालेको युद्ध जितेनन् आखिर । उनीहरूको अपराधको पोकाहरू न्यायलयले क्रमिक रुपले खोल्दैछ, खोली रहेछ ।”

“.........................“ । बस हिड्न थालेकोले गर्दा, मैले बोलेर केही भन्न भ्याइन ‘सेवक’ सरसँग । विदाईको हात हल्लाउँदै उहाँतिर नहेरी बसतिर दगुरेँ, वावुकाजीको मुहार र उनकी आमाले दिएको श्रापको धमिलो सम्झना बोकेर........।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 5 श्रावण, 2076

लेखकका अन्य रचनाहरु