'यन्त्रवत्' मानवको परीक्षण

- होमनाथ सुवेदी

लघुकथा-लामो कथाको छोटो भाग हैन । न त यो लोक कथाको किस्सा नै हो । वास्तवमा नेपालीमा यो आधुनिक किस्सा हो । व्यङ्ग्य यसको मुलधार हो भने यसले सामाजिक, सांस्कृतिक र ऐतिहासिक, मनोवैज्ञानिक आदि सबै पक्षको सदसत्को उजागर गर्दछ । कवितामा आजको लोकप्रिय विधा मुक्तक भए जस्तै आख्यानमा लघु कथा हो ।
 कृष्ण बजगाईंको यो 'यन्त्रवत्' लघुकथा संग्रह पढ्दा लाग्यो- यन्त्रवत् मानवको परीक्षण भइरहेको छ । यो परीक्षणमा सतचालिसवटा 'बुलेट' चल्छन् र ती प्रयोग सिद्ध हुन्छन् । यी लघु कथालाई कलापक्ष र वस्तुपक्षको दृष्टिले अवलोकन गर्न सकिन्छ ।

कलापक्ष
 कलापक्षबाट हेर्दा शब्दार्थमा हुने विचित्रता, प्रतीकात्मकता, लेखनशैलीमा देखिने अजीवका प्रयोगहरु पाइन्छन् । तिनका केही उदाहरण यस प्रकार छन् ।शब्दार्थ विचित्रता 'यन्त्रवत्' कथा वास्तवमा शब्द र धारणाको  खेल हो । यन्त्रवत् मानवले पहिल्याउन सक्दैन ।  यन्त्रवत् नै बनाइदिन्छ । 'मितब्ययिता' कर्मचारीको भ्रष्टाचारको उजागर चचाचु- चम्चागिरी, चाकरी, चुक्ली, आसचपु -आर्थिक सहायता चन्दा पुरस्कार) यस्ता शब्दनिर्माणमा विचित्रता छ । 'शब्दहरुको मृत्यु' कथा शब्द अर्थ वैचित्रताको नमुना हो । समानुपातिक र समावेशी राज्यको निर्वाचन ब्यवस्था हुनुपर्छ भन्ने यो नेपालको आजको स्वर भएकोले त्यसलाई लिएर यो कथा लेखिएको छ । कथा लेखन शैलीमा शब्द खेलाएर कथा बनाउने प्रविधि प्रयोग छ । यसमा माया प्रेम सद्भाव, करुणा, दया, स्नेहहरू धर्म ग्रन्थबाट हराउन थाले । बलात्कार, हत्या, आतङ्क, लुटपाट, तोडफोड र बन्द जस्ता शब्दहरुले अखबार ढाके । अनि यिनले जवरजस्ती उनलाई जितेका छन् । बिमोचन' कथामा साहित्यकार बन्ने झुटो ख्वाबलाई उदांङ्ग पारिएको छ । बिचारा त्यो पात्र पुस्तक प्रकाशित गरेर धन्यबाद पाउन आत्महत्या गर्छ र स्वास्नी उसको पोइ साहित्यकारको समवेदनामा खोज्छे । त्यो पनि पाउदिन । छापिए पनि बिरलै यस्तो सेवाको औचित्य के । यसमा लेखक, पैसा लिएर विमोचन गर्ने समालोचना गर्ने लेखकहरुलाई भ्रष्ट प्रकृत्रिरति तीब्र ब्यङ्ग्य हानिएको छ ।
 इज्जत' कथामा सवैभन्दा राम्रो थियो उसैले सवैको मुखमा कालो पोतेर भाग्यो । त्यो कसैले थाहा पाएन । पछि मात्र पोतिएको कालोले वेइज्जत भएको महसुस गरे । प्रतीकात्मक कथा हो 'इज्जत' । लेखन शैलीको दृष्टिले 'नाङ्गो मान्छे' र 'मुकदर्शक' कथाले विशेष महत्व राख्दछन् । 'नाङ्गो मान्छे' हाकिमी पाखण्डको पर्दाफास गर्छ यो कथाले । आजको पाखण्डी नायकको कथा हो यो । यसले समाजकै नांङ्गोपन देखाउछ । यो कथाहीन कथा के भन्ने - यसमा कथानक छैन । अनुभुति छ र एउटा कुरा छुट्टाछुट्टै मुक्तक जस्तै बनाएर गद्य राखिएको छ । 'मुकदर्शक'मा पनि कथानक छैन । अनुभुतिका सूक्तिहरू छन् । छ खण्डमा छन् । बिक्षिप्त ब्रि्रेको, समाजको नायकको चरित्र संक्षिप्तमा प्रस्तुत छ । 'सबै हेरिरहे' यसको पुनरावृत्तिले कथाको लेखन शैलीमा कवितात्मक ल्याएको छ ।

वस्तु पक्ष
बस्तुको दृष्टिले हेर्दा राजनैतिक, भ्रष्टाचार सम्बन्धी, आर्थिक, सौर्न्दर्य,बालश्रम, शोषण सम्बन्धी कथाबस्तुहरुको बाहुल्य छ ।

राजनैतिक वस्तुगत व्यङ्ग्यः

सम्झौता कथा नेपालको वर्तमान प्रजातन्त्र, र नेताहरु प्रतिको व्यङ्ग्य हो ।  'विपत्ति' कथामा बाढीले पुरे पनि बन्दुकको आदेश नभै उद्धार गर्न नपाइने शासनलाई व्यङ्ग्य छ र बन्दुके शाशनको बिरोध गर्दछ । 'दुःख'-यौटा बन्दुकेको राजको संका अर्को बन्दुकेको राजा आएर जनता दुःखी छन् । 'परिवर्तन' मा लोकतन्त्र भनेर प्रजातन्त्रको नाम मात्र फेरिएको छ । राजा हट्ला त्यो कुरा छुट्टै हो । भोका नांङ्गा बहुसंख्यक जनताको लागि यो लोकतन्त्र पनि उही बुर्जुवा प्रजातन्त्र हो ।
यसमा भ्रष्टाचार र शोशण यथावत नै रहन्छन् । खास परिवर्तन केही हुन्न भन्ने लेखकको धारणा यहाँ र्छलङ्ग हुन्छ । जादुगरी डण्डा' मा पुलिसहरुको उपायहीन डण्डाप्रति व्यङ्ग्य हो । यो पढदा लोक कथाको किस्सा जस्तो लाग्छ । तर लेखकले आजको प्रहरी र सरकारलाई व्यङ्ग्यका रुपमा ढालेका छन् र राजाको कुरो अब पुरानो भैसक्यो भन्ने बेला आएको छ । कुरो त उही हो तर मात्र प्रजातन्त्र भन्दा लोकतन्त्र दरो भएको छ । राजा भन्दा प्रधानमन्त्री ठूलो शासक रहेको छ । 'कुकुर' यो कथा नेतालाई व्यङ्ग्य हो । गाउँको केही नहुने कुकुर जस्ता दलका नेता पछि आलिशान महल बनाएर बस्छ कहाँबाट बनायो भनी पत्रकारले सोध्दै जाँदा रिसाएर नेताले भन्छन् । “मेरो बारेमा चासो राख्ने सबै कुकुर हुन्” यो कुरा सुनेर उनका पाल्तु कुकुरहरू सबै भुक्न थाल्छन् । यो आजको नेपाली नेतालाई व्यङ्ग्य हो, चाकडी र घुसखोरको लागि । 'राजनैतिक प्रयोगशाला' कथामा यो वर्तमान नेपालको लोकतन्त्र र समानुपातिक निर्वाचन संघीय गणतन्त्र आदि प्रश्नप्रति राष्ट्रवादको तीव्र व्यङ्ग्य हो । समाज कल्याण कुनै पनि राजनैतिक सिद्धान्तले न भएपछि जनजाती उठाएर संघीय गणतन्त्र नेपालको सपना देख्नु राष्ट्रको कबिला तन्त्रतिरको गति हो भन्ने यो कथाको आशय हो ।
कथाकारले नेपालको बस्तु सत्यलाई र्सार्वभौम बनाई प्रस्तुत गर्न सफल छन् यहाँ । 'राजराज्य' देशको झगडाले नै राजनीतिलाई सक्रिय बनाएको हुन्छ । झगडै नभए त राजीनिती कै आवश्यक पर्दैनथियो, रामराज्य नै हुन्थ्यो तर त्यसो हुन्न । राजनीति विभिन्न धर्म, वर्णजातजातिले बनेको आजको मानव समाजमा  अनिवार्य बस्तु हो । यसको लागि स्वस्थ राजनीतिले समाधान दिन सक्छ तर दुर्भाग्य त यो हो कि राजनीति पनि स्वस्थ हुन सकेन । राजनीतिले नै रामराज्य भत्काइरहेको छ । 'मन्त्रीको घुर्की' मुर्ख बलको आधारमा मन्त्री भो । यसैले मन्त्री थाम्यो तर पछि मन्त्री नपाए पछि छोडेर बिदेश गएर बस्दा अरु मन्त्रीहरूका ठूला ठूला बैंक ब्यालेन्स र आलिसान महलहरु देखेर 'म त किन संन्यास लिएछू' भनेर अझ खान पाइन भनी पश्चाताप गर्छन् । यो ठूलो पेट भएका मन्त्रीहरूलाई ब्यङ्ग्य हो । आर्कषण' कथा अनुसार फोहरमा फोहरै हुन्छ । नेताको लौह शक्तिकै कारण यस्तो परिवर्तन भएको हो भन्ने यो कथामा नायक नेताले नै त्यो परिवर्तन गराएको थियो । तर सत्तामा पुगेपछि कमिशनखोरी उनको आदत र तिनसँगको हिमचिम कार्यकर्तालाई चित्त बुझेन । यही मौका पारी बिरोधी पार्टी भने- फोहरमा नै झिगा भन्किन्छ, कूनै ठूलो कुरो हैन । नरिवल' कथामा आजको नेपाल नै 'नरिवल' हो । यो प्रतीकात्मक शैलीमा लेखिएको कथा हो । नरिवल नेपाल राष्ट्र वा र्सार्वभौमिक सत्ता हो जस्ले बिभिन्न पार्टीजाती  र धर्मले बिभाजन गरेर बरबाद गर्न खोजेको देख्दा बुद्धिजीवीहरू कुरा सुन्दै नसुन्ने भै रुन थालेका छन् । यो अरु देश टुक्रयाउने बिचार भएको बर्गलाई व्यङ्ग्य हो । 'मन्त्रीको जुत्ता'मा जुत्ता चोरमन्त्रीहरु र भष्ट्राचारी शाक्तिको भन्डाफोर हो । 'घुम्ने कुर्सीकथामा यो पद अस्थिर हुने र राजनैतिक नियुक्तिहरू हुने स्वार्थ निहित हुने कुरो यसले इङ्गति गर्दछ । टाउकाका मोल राखिएको प्रसंग नेपाल सरकारले आफ्ना बिरोधी माओवादीको टाउको ल्याउने टाउकाको मोल राखेको घोषणा र  पछि ती टाउका स्वयम् त्यो इनाम लिन सरकारमा सामेल हुन आएको र पद र घुम्ने कुर्सीमा पुगेकोले र ती न पाउनेले युद्ध पक्षलाई कम न गरेकोले शान्ति न भएको अर्कोतिर सरकारी पक्षलाई पनि ती कुर्सीअर्कालाई दिनुपर्दा, कम भर्इ, न पाएकोले, अशान्ति नै फैलाउने गर्दा भ्रष्ट नेताहरुको हातबाट शान्ति हुन न सक्ने कुराको संकेत छ ।

भ्रष्टाचारसम्वन्धी व्यङ्ग्य

 यो बजगाईंको यो कथा सङ्ग्रह भ्रष्ट्राचारसम्वन्धी व्यङ्ग्यको लागि नै लेखिएको मलाई अनुभव भयो । यसका लागि केही कथाहरू उल्लेखीय छन् । जस्तो 'सजाय' कथा । यो कथामा प्रहरी लाटालङ्गडाको पनि पैसा लुट्न पछि पर्दैन । चोकका पागल झगडियालाई लगेर पहरी घुस खान्छ । नेपाल प्रहरीको घुसखोर प्रवृत्रि्रति तीव्र व्यङ्ग्य छ । पीडा' कथाले नेपालको व्युरोक्रेसीमा आर्थिक अनियमितता हाकिमबाटै हुन्छ भन्ने कुरालाई व्यङ्ग्य गरेको छ । हाकिम टाइपिष्टलाई सिरानी किनाउन र यौन कार्यमा प्रयोग गर्न थाल्छ । यो देखेर सबै कर्मचारीको टाउको दुख्छ । उन्मूलन' कथामा गरिबी उन्मूलन गर्ने भनेर विदेशबाट पैसा ल्याउने र आफन्तलाई मात्र बाँडेर सक्नेहरूप्रति व्यङ्ग्य छ । त्यस्तै 'प्रतिबिम्ब' कथा हाकिम र कर्मचारीको सम्वन्ध विदेशी अनुदान र खर्चबारेको हो । भ्रष्ट, कमिशनखोर, बेइमान, कामचोर, चाकरीबाज, चम्चा चुक्लीबाज आदिमा कर्मचारीहरू भएको स्वयम् देख्छ । त्यो द्रष्टा उनीहरूसंग यात्री पात्र भएरै यो कथा सिर्जना गरेका छन् र तीव्र व्यङ्ग्य बाण प्रहार गरेका छन् । यसमा ऐनाको प्रतीकात्मकता अत्यन्त प्रभावशाली छ । घुसखाने भ्रष्ट प्रवृत्तिको नियन्त्रण कसरी गर्ने - एकपछि अर्को न्यायाधीश राख्यो , जत्ति जना राखे पनि सबै नै कान चिरेका भएका पछि कसको के लाग्छ - घुसखोर बन्ने जमातको कथा यो अत्यन्त सशक्त छ ।
'राहत' कथाको वस्तु हो -जुन पायो त्यही शीर्षकबाट पैसा निकालेर मन्त्रीहरू विदेश जान्छन् । भोका, सारङ्गी जस्ता पेट भएका आफ्ना मतदातालाई मोटोपन रोक्ने केही औषधि दिएर आँखामा छारो हान्छन् मन्त्री । त्यसमा पनि विरोधी, विरोधी पार्टी मतदाताले 'हामीलाई दिएन, पक्षपात गर्यो' भन्दै नाराबाजी गर्दै सडकमा उत्रन्छन् । यहाँ कस्तो गजबको व्यङ्ग्य छ -हाम्रा नेता र जनतालाई!  पहिलो कुरो त भोका र नाङ्गा जनतालाई खाना र पौष्टिक आहार चाहिएको थियो, मोटोपन रोक्ने औषधि हैन । जे ती मन्त्रीले बाँडे  त्यो दिएको कुरो गलत दिए भन्नेतिर मान्छेको ध्यान छैन बरु झन त्यही मतदाताको आँखामा हालेको छारो हेर्ने छाडेर हामीले पनि पाइएन भनेर नारा लगाउँछन् विरोधीहरू । बहुदलीय पार्टीयवस्थाका जनताले यो कुरा बुझन नसक्ने भएर पनि यो दुरावस्था भएको हो ।  हाम्रो समाज र जनताको दुर्भाग्यप्रति तीव्र व्यङ्ग्य हो ।नयाँ सुट' कथा पढेर म एक्लै हाँसें । बजगाईंको यस लेखनशैलीले मेरो मन छोयो । यसमा व्युरोक्रेसीमा भएको बेइमानीको व्याख्या छ । त्यो व्यङ्ग्य उत्कृष्ठ बनेर उत्रिएको छ । यसलाई प्रस्तुत गर्न लेखकले 'चचाचु' -चम्चमगिरी, चाकडी र चुक्ली) लाई रुढ रुपमा र्सबत्र प्रयोग गरेका छन् । यो कथा निजामती कर्मचारीमा व्याप्त भ्रष्टाचारको नाङ्गो रुप देखाउन लेखिएकोले यसमा पियनले लगाएको टाइदेखि लेखापालको पाइन्टमा पनि हाकिमको कमिशनकै चुहावट देखेर दुखी हुने हाकिमको कलात्मक चित्रण छ । यो अभिव्यञ्जना साहित्यको उत्कृट नमुना बनेर कर्मचारीको भ्रष्टाचारी प्रवृत्तिलाई उदाङ्ग पार्न सफल छ । लिफ्ट' कथा भ्रष्ट व्युरोक्रेसीको प्रतीक हो । हाकिमलाई हिडेर भर्याङ्ग चढ्न गाह्रो हुँदा आधुनिकीकरणको नाममा लिफ्ट बन्छ । त्यसैमा कर्मचारीहरू कमिशन खान्छन् जहाँ हाकिमको पनि शेयर हुन्छ र कर्मचारीहरू आफ्नो पनि पद पैसा र प्रतिष्ठा प्राप्त गर्ने प्रतिद्वन्द्वितामा लाग्छन् । परम्परागत नियम मान्ने कर्मचारहिरू यो लिफ्ट चड्ने प्रतियोगिता हटाऊ भनेर
माग गर्न जाँदा समय अनुसार परिवर्तन हुन नसक्ने वज्रस्वाँठ भनेर हाकिमले नियम खोज्न कर्मचारलिाई हप्काएर पठाउँछ र उसको कमिशन लिने नयाँ पद्धतिको रक्षा गर्छ । जस्तो छ हाम्रो समाजको भ्रष्टता त्यसलाई व्यङ्ग्य र प्रतीकको माध्यमबाट आफ्नो शिपको उपस्थिति गराएका छन् । यो हो व्यङ्ग्यकारको खुबी ।  'सञ्चालन' कथाले यो देश कसले चलाएको छ - यो बरबादीको कारण के -  भन्ने प्रश्नको जबाफ यसरी दिएको छ -'हो, यो देश बन्दुक र गोलीको वल प्रयोगले नै चलाइरहेको छ ।'  वास्तवमा देशको शाशन गर्ने राजनीतिले हो जुन सत्को नीतिमा आधारित हुनुपर्ने हो तर यहाँ सत् धर्म भन्दा बढी बन्दुक र गोली बल प्रयोग भै रहेको कुरा मानव इतिहासले प्रमाणित गरेको छ । केवल कुरा रह्यो को सत्तामा पुग्छ र कुन् सत्ताले बहुजन हिताय काम गर्न सक्छ - यी प्रश्नको उत्तर खोज्न कथाले पाठकलाई उत्प्रेरित गरेको छ । व्यक्ति र सरकारको बीच भएको गहनतम अन्तरलाई यसले उद्घाटन गरेको छ । यसभित्र राजनीति, भ्रष्टाचार, संस्कृति, धर्म र शोषणका सबै कुरा संक्षिप्तमा समेटिएको छ ।
माओत्सेतुङ्गले भने जस्तै राजनैतिक शक्ति बन्दुकको नलीबाट निस्रित हुन्छ । हो संसारको सबभन्दा ठूलो शक्ति राजनैतिक शक्ति हो । त्यो पनि बन्दुककै नलीबाट आउँछ भने गोली र डण्डाले शाशन न गरे कसले गर्छ त - तर गोली र खेलाउने नेता छान्नुपर्दा चुन्ने जनताले सही नेतृत्व छान्न सक्नु पर्दछ । पाँच रुपियाँमा यौटा भोट बेच्ने भ्रष्टाचारी जनता नै देशको बरबादीका जिम्बेवार छन् भन्ने कुरालाई उजागर गर्न पाठकलाई नै यो कथाले उत्प्रेरित गर्दछ । भ्रष्टाचारका विविध रुप छन् । तिनलाई खोजीखोजी उदाङ्ग पार्नु यो कथा संङ्ग्रहको उद्देश्य नै रहेको देखिन्छ । त्यसैले यो पक्षले यस कृतिमा धेरै ठाउँ ओकटेको छ । 'चोर औलो' भ्रष्टाचार उदङ्गाएको नमुना कथा हो । चोर औलो कोट्याएर चाट्नमा प्रशिद्ध छ ।  छट्टु गरिब मान्छे नेता बन्छ र चोर औलाले चाटेर घर बङ्गला र कार बनाउँछ । यसरी भ्रष्टाचारको उजागर यो कथाले गर्दछ । योग्यता' कथाले जो जे जस्तो छ त्यसलाई त्यसै गरी जबाफ दिनुपर्छ भष्टाचार हटाउनुपर्छ भन्ने खालको कथा हो । जनकारबाही' यो कथा नेपालको मात्र हैन, यसमा विश्वकै सरकार वा जनताको बीचको सम्वन्धबारे सदा स्मरणीय छ । वास्तवमा मन्त्रीहरू नै दोषी हुन् भनिन्छ भन्छ यो कथाले पनि तर ती मन्त्री बनाउने र छान्ने जनता सबभन्दा बढी जिम्बेबार हुन् जसमा चेतना छैन , नैतिकता छैन , जो आफ्नो अमूल्य भोट चिया र चुरोटको भाउमा बेच्छन् ती अशिक्षित जनता जिम्मेबार हुन् । कुन सरकारले यिनलाई शिक्षित गर्ने सबैलाई उनकै खल्ती भर्नबाट फुर्सत छैन । यसरी यो लघुकथा सङ्ग्रहका यी कथाले भ्रष्टाचारका विविध पक्षलाई केलाई केलाई उदाङ्ग पार्न सफल भएका छन् ।

धर्म सम्वन्धी

धार्मिक शोषण भन्नुभन्दा धार्मिक पाखण्डको भण्डाफोर गरिएको छ भन्दा बढी यी कथाप्रति न्याय हुन्छ । 'दान' कथामा भोकालाई दान नदिएर ढुङ्गाको मुर्तिमा चढाउने भक्तलाई र माग्नेलाई सेवा गर्नेलाई पागल भन्नेलाई तीव्र व्यङ्ग्यको झटारो हानेका छन् । 'अनास्था' कथामा धार्मिक पाखण्डको भण्डाफोर गरिको छ । 'भिखारी' भोकालाई न हेरी धर्म गर्न खोज्नेको हातमा केही आउदैन भन्ने कुरामा यो कथाले व्यङ्ग्य गर्दछ । यी कथाहरू धर्मको पाखण्डलाई नङ्गाएर उपकारको पक्षमा बढी वोल्छन् ।

शोषण सम्वन्धी

 शोषणका प्रकार धेरै छन् यहाँ । खास गरी आर्थिक, नारीका शोषणका कथाहरू यी हुन् ।
आर्थिक शोषण 

 'मूल्य' कथामा दाउरेको भारी बोकेको श्रमको ज्याला पनि कोही दिन चाहन्न । मूल्य वृद्धि र क्रय शक्तिको अभावको दिर्ग्दर्शन यो कथामा छ । 'आत्महत्या' साहुले भोको आसामीलाई साँबाव्याज उठाउन खाना भनेर कीटनाशक औषधि उधारोमा दिन्छ ।  ती पात्रा खान भनी औषधि बोकेर डेरातिर लान्छे । भोकी, नाङ्गी गरिब मान्छे खाना भनेर खान्छे र ऊ र उसका छोराछोरीहरू समेत खर्लापखिलिप्पै मर्छन् । गरिबमाथिको अन्यायप्रति तीव्र व्यङ्ग्य कुंदिएको छ । 'शोषण'मा सबैले बालश्रमको शोषण गर्न पाइदैन भन्छन् तर चटके र चटकेको छोराको पेट भर्न कसैले एक पैसा दिन्न । बोलेर मात्र शोषणको अन्त हुन्न । यो कुनै जादु हैन । शोषणको अन्त गर्न सरकारबाट कुनै ठोस कदम चालिनुपर्छ भन्ने संकेत यो कथाले गर्दछ । 'घर' यो कथा सामाजिक सम्बन्धहरूलाई लिएर लेखिएको छ । कसैको घर, इज्जत समाजका अरु सदस्यको अस्तित्वसित जोडिएको हुन्छ । जसले आफूमात्र हेरी अरूको बेवास्ता गर्छ उसको घर एकदिन उचाइमा पुगेर पनि अरुहरूले खनेको खाल्खोले आफै ढल्दछ । आफ्नो अस्तित्वको रक्षा गर्न पहिले अरुको अस्तित्वमा ध्यान दिनु आवश्यक छ भन्ने कुरो यो कथाले पुष्टी गर्दछ । 'शोषण' परम्पराको विघटनको नमुना कथा हो । यो सांस्कृतिक परिवर्तनको सर्न्दर्भमा आाएको शोषणको पर्दापास गर्ने कथा हो । यो समाजको आँखीझयाल हो । शोषणको लागि ढोका बन्द गर्न खोजेको कथा हो यो ।

नारी शोषण

 'बलात्कार' यो कथा अन्धो समाजप्रति व्यङ्ग्य हो । यसले शिक्षा र सुधारमा संकेत गर्दछ । एक हृदयगति बन्द भएर मरेकी नारी छ । उसलाई भीडले 'यसमा बलात्कार भो' भन्छ । त्यसमा पनि नारी बिटुलिएकी भनेर औंलो ठडाउन खोजिन्छ । यो नारी शोषणको प्रति संकेत हो र लेखकले डाक्टरको उपस्थिति गराएर 'यी नारी बलात्कारी हैनन्, बरु बलात्कार नभएकी नारीलाई बलात्कार भैसक्यो भनेर वलात्कार गर्ने तपाईहरू नै बलात्कारी हो' भन्ने तपाईहरू नै वलात्कारी हुनुहुन्छ' भनाएर नारीमाथि भएको शोषणको अन्तिम हदको प्रक्षेप गरेको छ कथाले ।  'पुर्णता' कथा आजकी नारीको समस्या हो । तीन- तीन जना पुरुषसित यौन सम्वन्ध र विवाह हुँदा पनि पुर्ण पुरुषको प्राप्तिको अभावले आत्महत्या गर्न विवश नारीको कारुणिक कथा हो यो । 'सुन्दरी प्रतियोगिता' कथाले उत्तेजनालाई प्रार्थमिकता दिएको छ । सुन्दरी प्रतियोगिता विरोधी नाराले पनि उत्तेजना नै बढाएको छ भने प्रतियोगितामा सुन्दरीको कृतिम नितम्ब, वक्ष आदि तिनका हावभावले पनि दर्शकलाई उत्रेजना नै बढाएको छ । यसले सुन्दरी प्रतियोगितामा र्समर्पण र विरोधी पनि रहेको सामाजिक मान्यताको चित्र पनि प्रस्तुत गर्दछ । यसरी नारी शोषणको बारेमा यी कथाले व्यथा पोखेका छन् ।

मातृभूमि प्रेम

खुसी' कथाका मातृभूमि प्रेमप्रति प्रेरित र विदेशिन रहर गर्नेप्रति व्यङ्ग्य गरिको छ । 'मधेश र पहाड' यो कथा नेपालको समसामयिक राजनीतिको कारण टुक्रिन गएको नेपालको पहाड तर्राई र त्यसबाट हुने नोक्सानलाई संकेत गरेर तयार गरिएको मरुभूमिको प्रतीकात्मक कथा हो । यस प्रकारको प्रतीकात्मक कथाको व्याख्या असीम हुन्छ ।

आजको जीवन

आजका मानवीय विवशताका चित्रहरू प्रस्तुत गरिएका कथाहरू यस वर्गमा छन्, जस्तै 'आँखा', 'स्वार्थ' आदि । 'आँखा' कथामा आज मान्छे समस्याको अगाडि नै छ, देख्न सक्दैन । यद्यपि यो कथामा काठमाडौंका मान्छेलाई अन्धा देखाएका छन् तापनि त्यो एक उदाहण मात्र हो । यो समस्या आजको मानवको विश्वजनीन समस्या हो । अझै वरिपरि भएको दुर्ग छ र अनियन्त्रण पनि । त्यसैले त आज मान्छे देख्छ देखेर पनि ऊ देख्दैन । यही त ठूलो समस्या हो आजको मानवको । कथाकारले काठमाडौंमा सबै अन्धा देखाएर स्वयम्भूका आँखाले देखाएका छन् र त्यो वस्तुको आँखा हेर्ने विदेशीलाई पठाएर झन लेखकले आजको जीवनप्रति तीव्र व्यङ्ग्यको छाप छोडेका छन् ।'स्वार्थ' कथा आजको साधनमै हराएको छ ।  सबैचिज पैसाले मात्र पूरा हुन्न । प्रलय जस्तो घटना घटेर हराएका सुन कसैले पाउन सक्छ तर ऊसंग भोक प्यासमा खाने खाने, कुरा अन्न र आफन्तको विछोड तथा प्रेम र सहयोगको अभावमा ऊ कोलाहल मच्चाउदै रुन सक्छ, त्यो पनि सुनिदिने कोही हुन्न । आजको समाजको चित्रण यहाँ मेरो चित्त बुझने मेरै कथाहरू जस्तै गरिएको मैले अनुभव गरें । यो कथाको यौटा उद्धरणः  'मान्छेहरू मानवीय सहयोग, प्रेम तथा सद्भाव सबै बिर्सीदशा हीन भागिरहेका थिए ।'यो कथाको मात्र हैन वरु यो आजको मानवको गति हो ।आजका लघुकथा केवल हंसाउने मात्र खालका किस्सा हैनन् वरु यिनले आजको मानव जीवनको सुक्ष्म चरित्र प्रस्तुत गर्दछन् । यी कथा उद्देश्य मूलक हुन्छन् र छन् । त्यस बाहेक आजका यी कथाले हंसाउने मात्र हैन वरु यिनले रुवाउन सक्छन् । रुवाउने मात्र हैन, गम्भीर चिन्तनमा मान्छेलाई डुवाइदिन पनि सक्छन् । लघु भैकन गोली बनेर महत् काम गर्न सक्नु आजका लघुकथाको सफलता हो । बजगाईंको यो 'यन्त्रवत्'  लघुकथा सङ्ग्रहले शब्दार्थको विचित्रता र प्रतीकको कला शैलीमा मानवीय संचेतनाको मूल प्रवृत्ति दमनको निषेध र विकल्पको वरणको खोजमा सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक तथा यौन सम्वन्धी शोषणको पर्दाफास गरेको छ ।

साभार: अभिब्यक्ति, अंक १३६

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 19 श्रावण, 2065

लेखकका अन्य रचनाहरु