राष्ट्रियता, संस्कृति र डायस्पोरिक चिन्तनमा आधारित कथासङ्ग्रहः सुइखुरे

- डा.लेखप्रसाद निरौला

१. पृष्ठभूमि
साहित्यकारका अनुभूतिहरू जीवन्त हुन्छन् । उनीहरू जे देख्छन्; भोग्छन् र सुन्छन्, तीसँग सम्बन्धित विचारहरूलाई मूर्त रूप दिन सक्छन् । परिघटना र घटनाजन्य तŒवहरूको कारकमा मात्र सीमित नभई परिणामसम्मको आयतनभित्र तदाकार हुँदै सन्देशमूलक अभिव्यक्ति दिन समर्थ हुन्छन् । त्यसैले पनि साहित्यकारभित्रको प्रातिभ क्षमतालाई विश्वले उच्च सम्मान गर्दै आएको छ । वस्तुतः साहित्य–लेखन भनेको एक प्रकारको अद्भुत, विलक्षण, प्रभावकारी र सन्देशमूलक कला पनि हो ।
साहित्यकारले कहिले सङ्क्षिप्त रूपमा विषयसन्दर्भलाई पूर्णता दिन्छन् त कहिले विस्तारपूर्ण ढाँचामा । अझ त्यसमा पनि विधागत पहिचान झल्किने किसिमबाट शैलीगत नवीनता र उच्च सम्प्रेषणीयताका पक्षमा आफूलाई प्रस्तुत गर्छन् । त्यसका लागि कसैभित्र जन्मसिद्ध प्रतिभाको अद्वितीय प्रभाव हुन सक्छ भने कसैभित्र व्युत्पत्ति र अभ्यास अथवा साधनाको प्राप्ति । नवोदित हुन् वा स्थापित, साहित्यकार साहित्यकार नै हुन् । उनीहरूभित्र वैचारिक नवीनता र शैल्पिक कुशलता झल्किन्छ नै । मात्र अनुभवजन्य परिपक्वता र साहित्य साधनाको सिद्धिमा फरक हुन सक्छ ।
जहाँसम्म कथा विधाको सन्दर्भ छ । यसलाई साहित्यको अत्यन्त लोकप्रिय तथा प्राचीनतम विधाका रूपमा लिने गरिन्छ । यो आख्यानमूलक विधा पनि हो । यसमा घटना वा चारित्रिक विशेषताहरूलाई विषयवस्तुका रूपमा प्रस्तुत गरिन्छ । घटनात्मक शृङ्खलाहरू वा चारित्रिक विशिष्टताहरूको कौतूहलपूर्ण प्रस्तुतिबाट रोचकता प्रदान गरिन्छ । उत्तरोत्तर विस्तृतिभित्र अनुभूतिलाई आख्यानीकरण गर्दै लगिन्छ । जीवन–जगत्सँग गाँसिएका कुनै पनि सङ्क्षिप्त तर घत लाग्दा सन्दर्भहरू समेटिन्छ । अनि, पाठकसमक्ष सन्देशमूलक किसिमबाट रुचिकर तुल्याउँदै प्रस्तुत गरिन्छ । कथाकार स्वयं सन्तुष्ट नभई पस्किने प्रयास गरिँदैन पनि ।
कथा विधालाई कथा र लघुकथाका रूपमा सम्बोधन गर्न थालिएको छ । सामान्यतया विषयवस्तु र आयतनसँगै परिवेश, उद्देश्य, संवाद तथा भाषाशैली आदिका कारणसमेत कथाका स्वरूपगत भेदहरू कायम हुँदै गएका छन् । लघुकथाहरूमा अत्यन्त सङ्क्षिप्तता तर तीव्र आख्यानात्मकता रहन्छ । यो एक किसिमले आख्यानमूलक साहित्यको चटनी नै हो । यसभित्र अनुच्छेद अनुच्छेदका तहमा भन्दा पनि वाक्य वाक्यका तहमा विषयवस्तुको उठान, विस्तार र उपसंहारको विन्यास रहन्छ । रैखिक होस् कि वृत्ताकारीय, विषयवस्तुको पूर्वापर क्रमभित्रै यसको संरचनाले पूर्णता पाउँछ । हिजोआज लघुकथाको सैद्धान्तिक तथा मौलिक चिन्तनबारे अभिलेखनक्रम जारी छ । कथाको विधागत पहिचानभित्रैबाट लघुकथाका अभिलक्षणहरूको निक्र्यौल गरिँदै छ । यद्यपि लोककथा वा दन्त्यकथा र पौराणिक वा ऐतिहासिक कथाहरू पनि उपजीव्यका रूपमा रहन सक्छन् । सूक्तिमय गद्याख्यानका आदिम स्रोतहरू समेत लघुकथाका प्रेरक बन्ने गरेका छन् ।
आधुनिक लघुकथा÷कथाहरू समाजसापेक्ष हुने गर्दछन् । वर्तमान समाजसँग गाँसिएका हुन्छन् । समाजभित्रकै विषयवस्तुमा आधारित हुन्छन् । युगीन समाजले कथाकारभित्र उब्जाएका अनुभूतिहरूमा केन्द्रित हुन्छन् । र, तिनको उद्देश्य पनि युगीन समाज वा त्यसबाट प्रभावित मानवीय अवस्था विशेषलाई झल्काउनु रहेको हुन्छ । नेपाली साहित्यको प्रारम्भिक र मध्यकालीन परम्पराभन्दा भिन्न विषयवस्तु र शैलीमा आधुनिक कथाहरू लेखिँदै आएका छन् । धर्मसंस्कृति र प्राचीन परम्परामा आधारित विषयवस्तु अथवा जासुसी तिलस्मी वा अद्भुत चरित्रकेन्द्री कथाहरूलाई वर्तमान युगसापेक्ष आधुनिक कथाहरूले खासै महŒव दिँदैनन् । दिए पनि तिनमा पुनर्मूल्याङ्कन गरिएको हुन्छ ।
आधुनिक नेपाली साहित्यको परिधि विश्व परिवेशसम्म फैलिएको छ । संसारका हरेक कुनामा घटित घटनाहरूसमेत नेपाली कथाका विषय बनिरहेका छन् । जुनसुकै क्षेत्रका चारित्रिक सन्दर्भहरूले पनि कथामा प्रवेश पाउने गरेका छन् । युगीन समाजको प्रतिविम्ब मात्र नभई मानवीय संवेदना र रुचिसँग गाँसिएका फरक फरक विषय पनि कथाका आधार बन्ने गरेका छन् । सुइखुरे पनि प्रभात किरणद्वारा लिखित त्यसै प्रकृतिको पहिलो कथासङ्ग्रह हो ।
२. सुइखुरेभित्रको सञ्चेतना
साहित्यिक क्षेत्रमा प्रभात किरण भनिए पनि कथाकारको वास्तविक नाम पर्वाखर पौडेल हो । उनले नेपालबाट वनस्पतिशास्त्रमा स्नातकोत्तर गरी स्विडेनबाट पुनः प्राकृतिक स्रोत व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । हाल उनी रोजगारीका क्रममा डेनमार्कमा रहँदै आएका छन् । प्रभातको साहित्यिक यात्रा कविता लेखनसँगै प्रारम्भ भएको हो । उनले कथाका अतिरिक्त गीत र गजलप्रतिको अनुरागलाई अझै घनीभूत तुल्याउँदै आएका छन् । उनका गीतहरूले समाजमा निकै प्रशंसा पनि पाएको देखिन्छ । समाज रूपान्तरणका लागि निरन्तर लेखिरहने किरणका साहित्यिक अभिव्यक्तिहरूबाट सिङ्गो राष्ट्र अथवा आम पाठक र श्रोताहरू लाभान्वित हुने विश्वास गरिन्छ ।
प्रभात किरणका बैसट्ठीओटा कथाहरूको सङ्कलन नै सुइखुरे हो । यसमा नितान्त लघुकथाकै आयतनमा लेखिएका कथाहरूको सङ्ख्याचाहिँ अट्ठाइस रहेको छ । बाँकी अन्य कथाहरू पनि विषयवस्तु र प्रस्तुतिका दृष्टिले लघुकथात्मक प्रकृतिकै छन् तापनि तिनीहरू आयतनका दृष्टिले अपेक्षाकृत विस्तृत छन् । तिनीहरूको आकारप्रकार उत्तरोत्तर विस्तृतितिर उन्मुख भएकाले तिनमा कथागत अभिलक्षणहरूको क्रम देखा पर्दछ ।
सुइखुरे पूर्वीय क्षेत्रतिर सर्वसाधारणले सम्बोधन गर्ने चराको नाम हो । यसले आफू बाँचेको परिवेशलाई मात्र नभई सम्भावित परिघटनाहरूलाई समेत सङ्केत गर्छ भन्ने विश्वास गरिन्छ । प्रस्तुत कथासङ्ग्रहमा त्यही चराका प्रवृत्तिहरूलाई सामान्यीकृत गर्दै सुइखुरेका क्रियाकलाप, विचार र चारित्रिक पक्षहरूबारे अलि विशेष रूपमा चर्चा गरिएको छ । अधिकतम घटनाहरूमा सुइखुरेकै पृथक् भूमिका र पृथक् मान्यताहरू प्रस्तुत गरिएका छन् । सुइखुरेको प्रयोग नगरिएका कथाहरूमा समेत सुइखुरेकै झभल्को पाउन सकिन्छ । मानौँ सुइखुरेकै माध्यमबाट नेपाली राष्ट्रियता, संस्कृति र डायस्पोरिक चिन्तनहरू मुखरित भइरहेका छन् ।
क) राष्ट्रियताप्रतिको चासो
सुइखुरे कथासङग्रहको धरातल मूलतः राष्ट्र, राष्ट्रियता र देशप्रेममा अडिएको छ । यसमा सङ्कलित कथाहरूले सोझै वा घुमाउरो जुनसुकै किसिमबाट भए पनि देशप्रतिको अनुरागलाई सम्बोधन गरेका छन् । नेपालको राजनीतिक सन्दर्भ उठाएर होस् वा नेपालीहरूको मनोवृत्तिप्रति व्यङ्ग्य गरेर होस् आन्तरिक रूपमा राष्ट्रियतालाई झल्काउनु नै कथाकारको मूल अभीष्ट बनेको छ । कथाकारले नेपालको समकालीन राजनीति र तिनमा मौलाइरहेको विकृतिप्रति गहिरो चिन्ता प्रकट गरेका छन् । राजनीति गर्नेहरूमध्ये कतिपयमा इमानदारिता भए पनि आम सर्वसाधारणले नेपाली राजनीतिबाट सन्तुष्टि नपाएको धारणा राखेका छन् ।
नेपाली राजनीतिमा पटक पटक उतार–चढाव आएको पाइन्छ । जनयुद्ध कालमा गाउँका सुविधाहरू प्रभावित बनेका थिए् । पचासौँ क्विन्टल अन्न दिएर गाउँमा पसलहरू चलाउन गाह्रै भएको थियो । अन्न मात्र नभई परिवारका सदस्यलाई समेत जनयुद्धका लागि सुम्पिनुपर्दा एक किसिमबाट गाउँमा त्रासैत्रास फैलिएको थियो । यस्ता कुरालाई ‘बिरे साहू र छापामार युद्ध’ कथाामार्फत प्रस्तुत गरिएको छ । तर, जनयुद्ध सकिए पनि नेपाली राजनीतिले अझै सही निकास दिन सकेको छैन । त्यसैले, ‘ढुङ्ग्यान जाति र प्रदेश विभाजन’कथाका माध्यमबाट अझै पनि केही राजनीतिकर्मीहरू आफ्नो स्वार्थभन्दा माथि उठ्न नसकेकोप्रति चिन्ता व्यक्त गरिएको छ । नेपाललाई जातीयताकै आधारमा विखण्डन गर्दै जाने हो भने नेपालको भविष्य इथोपियाभन्दा पृथक् नहुने कुरा ‘नेपालको जातीय प्रान्त इथियोपिया’ शीर्षकको कथामार्फत औँल्याइएको छ । राजनीतिमा सच्चा हृदयले लाग्ने व्यक्ति पनि सङ्घीयताको दुरूपयोग हुन्छ कि भन्ने कुरामा चिन्तित हुन थालेको सन्दर्भ ‘सङ्घीयता र नरेको जागिर’ कथामार्फत उठाइएको छ ।
मुलुकमा राजनीति गर्ने विधायिका स्वयम् पनि स्वतन्त्र देखिँदैनन् । यसै कारण राजनीतिक अन्योलता कायमै रहेको मानिन्छ । ‘लालचन, संसद र ऐँठन’ कथाले नेपालको राजनीति कुन दिशातिर जाँदै छ भन्ने कुराको दिशानिर्देश गरिरहेको छ । के साँच्चिकै नेपालका नीतिनिर्माताहरू स्वतन्त्र छन् त भन्ने प्रश्न पनि थपिएको छ । नेपाली राजनीतिकर्मीहरूको सङ्कीर्ण मनोवृत्तिलाई ‘स्वर्गको भिसा समस्या’ कथाले अझै छर्लङ्ग पारेको छ । जथाभावी सहिद घोषणा हुनुका पछाडि कतै राजनीतिक स्वार्थ त गाँसिएको छैन ? भन्ने आशङ्का गर्न सकिन्छ । अझ मुलुकमा के भइरहेको छ भन्ने कुरा ‘पार्टीप्रवेश’ कथाबाट पनि थाहा हुन्छ । यसमा हरेक राजनीतिक कार्यक्रमहरूमा पैसालाई सर्वोपरि राखेर कार्यकर्ताहरूको किनबेच भइरहेको वास्तविकता देखाइएको छ । यसलाई भ्रमको खेती गर्नेहरूको सुन्दर दृष्टान्तसमेत मान्न सकिन्छ । अर्को गम्भीर चुनौतीका रूपमा नीतिगत तहमै सम्पत्ति शुद्धीकरण अभियानभित्रै मौलाएको विकृतिलाई रोक्न सकिएला त ? भन्ने कुरा ‘मन्त्राणीको पेवा’ कथामार्फत घत लाग्दो किसिमबाट उठाइएको छ । हुन त जतिसुकै गरे पनि तुरुन्तै नेपाली राजनीतिमा अनावश्यक तामझाम रोकिने कुनै सम्भावना नरहेको कुरा ‘प्रदेशमन्त्रीको व्यस्तता’ कथाले नदर्साएको पनि होइन । तर पनि, मुलुकको विकास कसरी गर्न सकिन्छ ? भन्ने कुरा सिक्न मन्त्रीहरू विदेश गइरहेकै छन् । जतिसुकै विदेश भ्रमणमा निस्किए पनि तिनले कसरी पैसा कमाउन सकिन्छ भन्ने बाहेक केही नसोचको रहस्य ‘विकास’जस्तो कथामार्फत छर्लङ्ग पारिएको छ ।
नेपाली राजनीतिलाई सुधार्न सक्ने आशा मरिसकेको छैन । राजनीति राम्रो भए मुलुक राम्रो बन्छ भन्ने विश्वास कायमै छ । राजनीतिकर्मीका गलत क्रियाकलापहरूलाई पार्टीभित्रैबाट भन्डाफोर गर्न सक्नुपर्छ भन्दै ‘रोलेक्स घडी’ कथामार्फत अभियान नै थालिएको छ । भ्रष्टाचार गर्ने र काम चोर्ने प्रवृत्ति भएका कर्मचारीलाई असल राष्ट्रवादी मन्त्री परे भने निश्चय नै सुधार्न सक्छन् । कहिले काहीँ उनीहरूलाई आपसमा साटासाट गरेर अथवा छड्के जाँच गरेर भए पनि सुधार्न सकिन्छ । यसको उदाहरण हो ‘अदलीबदली र छड्के जाँच’ । त्यस्तै ‘संस्थाको चुनाव’ कथाका माध्यमबाट प्रवासमा होस् वा स्वदेशमा, जहाँ पनि मानिसले चुनावका बेला विभिन्न किसिमबाट नातागोता, सम्बन्ध र फाइदाका कुरासँग गाँसेर मत माग्ने गरेको प्रवृत्तिलाई देखाइएको छ । तर, मतदान भन्ने कुरा नातागोताभन्दा पनि हकहितका पक्षमा लाग्नेहरूमा आधारित हुनुपर्ने धारणा अगि सारिएको छ । त्यसैगरी चुनावमा जोसुकै जहाँसुकैबाट प्रत्यासी बन्नुभन्दा स्थानीयलाई प्राथमिकता दिनुपर्ने कुरामा समेत जोड दिइएको छ । ‘टुरिस्ट उम्मेदवार’ कथा यसकै उपज मानिन्छ । यदि आन्दोलनलाई नै सकारात्मक कोणबाट हेर्नु हो भने आन्दोलनमा निरन्तर प्रयोग गरिने इँटा–ढुङ्गाबाट गरिबले छाप्रोसमेत हाल्न सक्छ भन्ने नयाँ किसिमको विचार ‘आन्दोलनले दिएको सुइखुरेको घर’ कथामार्फत व्यङ्ग्यात्मक किसिमबाट पस्किने काम गरिएको छ । यद्यपि आन्दोलनको असरलाई भने कम ठानिएको छैन । यसप्रकार प्रस्तुत कृतिभित्रका केही कथाहरूले विभिन्न सन्दर्भहरूका माध्यमबाट नेपाली राष्ट्रियताप्रतिको चिन्तालाई प्राथमिकता दिएका छन् ।
ख) संस्कृति र विकृति
नेपाल बहु संस्कृतिसम्पन्न धार्मिक सहिष्णुता भएको मुलुक पनि हो । यहाँका धार्मिक–सांस्कृतिकलगायत भाषिक, जातीय तथा भौगोलिक विविधताहरू नै अनुपम मानिन्छन् । नेपाली मौलिक संस्कृतिहरूले प्राचीन कालदेखि नै सामाजिक तथा पारिवारिक आत्मीयतालाई संवहन गर्दै आएका पनि छन् । यस कथासङ्ग्रहमा त्यस्ता अनेकौँ नेपाली संस्कृति र तीसँगै गाँसिएका विकृतिलाई समेत चिरफार गरिएको छ ।
धर्मसंस्कृति वा चाडबाडका नाममा मार हान्ने प्रथा अझै पनि छँदै छ । तर, त्यसबाट उत्पन्न परिणामले परिवर्तनको दिशा खोजिरहेको कुरा ‘मार’ कथाले दर्साएको छ । त्यसैगरी तिजलगायतका चाडबाडसँगै मौलाएको देखावटी संस्कारले विकृतिको रूप ग्रहण गर्दै गएको पाइन्छ । कतिपय मानिसहरू चाडबाडसँगै देखासिकीमा रुमलिन थालेका छन् भने कतिपयमा हीनताबोध र तनावपूर्ण अवस्था पनि सिर्जना भएको पाइन्छ । त्यस्तै ‘फेसबुक र प्याकुलीको साडी’ कथामा चाडबाडका कारण खास गरी नारीमनोविज्ञानमा देखासिकीले पारेको प्रभाव प्रस्ट हुन्छ । त्यस्तै श्रावणमा नारीहरूले लगाउने हरिया पहिरनका कारण मानौँ सालको रुखका रूपमा रूपान्तरण हुन थालेको कुरा ‘सालको रुखको नमस्कार’ कथाले दर्साएको छ । त्यसैगरी सामाजिक सञ्जालमार्फत हुने अत्यधिक प्रचारबाजीका कारण नेपाली संस्कृति वा चाडपर्वसँगै मौलाएको विकृतिलाई नियन्त्रण गर्न ‘फेसबुकमा तिजका फोटा बन्देज होस्’ जस्ता कथाको आवश्यकता थपिएको बुझिन्छ । त्यस्तै चाडबाडमा गरगहनाको देखावटीपनबाट उत्पन्न नोक्सानीको न्यूनीकरणका लागि ‘लुटिएकी प्याकुली र सुइखुरेको चलाखीपन’जस्तो कथाको भूमिका पनि उल्लेखनीय देखिन्छ । सामाजिक तथा सांस्कृतिक विकृतिहरू नरोकिने हो भने मानिस मनोवैज्ञानिक रूपमा प्रभावित हुने कुरा त निश्चित छ नै । समाजमा प्रतिष्ठाका लागि पहिरनको प्रतिस्पर्धा गर्न नसक्ने अवस्थाका कारण कतिपय मानिस बिसन्चोको सिकार हुन थालेको कुरा ‘बिसन्चो मन’ कथाले समेत दर्साएको पाइन्छ ।
नेपाली चाडपर्वहरू एकातिर देखासिकीको अस्वस्थ प्रतिस्पर्धा र त्यसबाट उत्पन्न मनोवैज्ञानिक प्रभावका कारण आलोचित हुन थालेका छन् भने अर्कातिर तिनले दुव्र्यसन र कुलतको वातावरण पनि सिर्जना गरिरहेका छन् भन्ने कुरा नकार्न मिल्दैन । ‘सिलौटे बाबाको गाँजा व्यापार’ कथालाई यसै किसिमबाट हेर्न सकिन्छ । यसलाई युवायुवतीहरू गाँजाका लागि कसरी कुसंस्कृत हुँदै छन् भन्ने कुराको प्रमाण मान्न सकिन्छ ।
सबै चाडपर्वमा विकृति नै पाइन्छ भन्ने होइन । चाडपर्वहरू नै नेपाली समाजका आत्मीय संस्कार हुन् । यिनकै माध्यमबाट पारिवारिक तथा वैयक्तिक सन्तुष्टि तथा मनोरञ्जन प्राप्त गर्न सकिन्छ । चाडपर्वहरू स्वाभिमानका विषय पनि हुन् । ‘फलमासु र ह्याकुलो कि हाडखुर’ तथा ‘ठुल्दिदी र लाठे भाइ’जस्ता कथाहरूबाट यस्ता कुराको प्रमाण पाउन सकिन्छ । जे होस्, सुइखुरे कथासङ्ग्रहका माध्यमबाट प्रशस्त मात्रामा नेपाली संस्कार वा चाडपर्वबारे चर्चा भएको छ र अन्त्यमा चाडपर्व र संस्कारबाटै नेपाली जीवन अझैँ सुसंस्कृत, सामाजिक, खुसियालीपूर्ण र आनन्ददायी बन्ने विश्वास गरिएको छ ।
ग) डायस्पोरिक सन्दर्भ र भोगाइ
डायस्पोरिक कथाकारले आफ्नो समकालीन परिवृत्तलाई स्पर्श नगर्ने कुरै भएन । त्यसैले, सुइखुरे–भित्रका कैयौँ कथाहरूमा डायस्पोरिक सन्दर्भसँग गाँसेर जीवन भोगाइका रहस्यहरूको उद्घाटन गरिएको पाइन्छ । त्यसमा पनि डायस्पोरिक वा परदेशीय सन्दर्भहरूभित्र स्वदेशी महकता झल्काउन सक्नु कथाकारको विशिष्ट पहिचान बनेको छ ।
नेपालीहरू परदेशी भूमिमा क्रियाशील भइरहँदा परदेश र स्वदेशका सन्दर्भहरूसँग निरन्तर गाँसिने गर्छन् । त्यसै क्रममा त्यहाँका स्थानीयसँग पनि नेपालीको हिमचिम बढेको पाइन्छ । तर, त्यहाँका स्थानीयले नेपालप्रति राखेका कतिपय दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने देखिन्छ । हो, नेपाल हिमाली मुलुक मानिन्छ तर त्यहाँका स्थानीयले नेपाल पर्यटन गरिरहँदा यहाँका विकृतिहरू पनि सँगै हेर्ने गरेको कुरामा ध्यान दिनु जरुरी भएको छ । त्यसै सन्दर्भमा ‘गाँजा, खैरे र सुइखुरे’जस्तो कथा देखा पर्दछ । त्यस्तै नेपाली स्वाभिमानलाई परदेशी भूमिमै भए पनि दर्साउन खोजिएको कुराप्रति व्यङ्ग्य गर्दै ‘पाखेको टोपी र गणेशको कार्यपत्र’ कथा प्रस्तुत गरिएको छ । यसबाट नेपालीको पहिरनबारे डायस्पोरिक सन्दर्भसँग गाँस्ने काम भएको छ ।
परदेशी भूमिमा पुगेका नेपालीहरूमा कतै फरकपनको विकास त हुन थालेको छैन ? हिजोआज यस्तो प्रश्न जन्मिन थालेको छ । नेपालीका परम्परित नाम र संस्कारहरूमा परिवर्तन बढेको बढै छ । त्यसैको उदाहरण हो– ‘जसमाया बास्कोटा र जेसी बास’ । यस कथाले नेपालीहरू आफ्नो नामलाई समेत परिवर्तन गर्नतिर कसरी उन्मुख भइरहेका छन् भन्ने कुरालाई दर्साएको छ । त्यस्तै हरि थापाहरू पनि ह्यारी ठापा बनिरहेका छन् । उनीहरूले परदेशमा जस्तोसुकै काम गरे पनि फेसबुकको राम्ररी उपयोग गरेर आफ्नो रवाफिलो विदेशीपनलाई झल्काउन थालेका छन् । ‘ह्यारी ठापाको फेसबुके ढाँेग’लाई यस प्रकृतिको कथाका रूपमा लिन सकिन्छ ।
परदेशमा गरिने कामका बारेमा यथार्थ लुकाउने वा कामको सत्यताबारे प्रकाश नपार्ने तथा आफ्नो रवाफिलो स्वरूप मात्र प्रदर्शन गर्ने नेपालीको प्रवृत्ति झन् झन् मौलाउँदै गएको छ । यसलाई डायस्पोरिक जीवनशैलीमा देखा परेको एउटा फरक प्रवृत्ति पनि मान्न सकिन्छ । ‘प्रवासी सुइखुरेले उत्तर नजानेको प्रश्न’ कथाबाट प्रवासी नेपालीले परदेशमा गरेका कामहरूको सही जबाफ दिन अझै अनकनाउनुपर्ने अवस्था कायमै रहेको रहस्य झल्किन्छ । त्यस्तै ‘उडाएको सपना’ कथाले पनि कैयौँ नेपालीहरूले विदेशी भूमिमा विरक्तिएर बस्नुपरेको सन्दर्भ उठाएको छ ।
परदेशमा पुग्नु भनेको कैयौँ नेपालीको सपना पनि हो । कोही स्वदेशको मानसम्मानलाई तिलाञ्जली दिएर परदेशी भूमिमा गएका हुन्छन् । तिनले के गरिहेका छन् भन्ने कुरा उठाउनु व्यर्थ मानिन्छ । त्यसैले ‘रेडलाइट क्षेत्रमा शीतल’ कथाको औचित्य बढेको मान्न सकिन्छ । हुन त हिजोआज विश्वव्यापीकरणले मानिसलाई परदेशमा सङ्घर्ष गर्न पाउने वातावरण सिर्जना गरिरहेकै छ । तर, अग्रजहरूबाट परदेशमा हुने समस्याहरूको यथार्थता बाहिर नल्याइदिनाले अनुजहरू पनि तिनै अग्रजकै जस्ता समस्याहरू भोग्न बाध्य भइरहेका छन् । ‘इन्दिराको ब्लग’ कथाबाट यस्ता कैयौँ परदेशका समस्यमा आधारित विषयहरू सार्वजनिक भएका छन् । तर, कतिपय नेपालीहरू आफू परदेशमा जसरी ठगिएर पुगे तथा जसरी दुःख पाउन बाध्य भए त्यसरी नै अरू नेपाली पनि ठगियून् भन्ने कुराबाट अझै मुक्त हुन सकेका छैनन् । ‘ठगिएको ठग’ कथाले नेपालीको त्यही नसुध्रिएको प्रवृत्तिलाई देखाएको छ । त्यसैगरी परदेशमा पनि धेरै जनासँग झुक्किएपछि डर लाग्नु स्वाभाविकै हो भन्ने कुरा ‘छद्मभेषी अनिता र सेन्ट्रल स्टेसन’ कथाले समेटेको पाइन्छ ।
हिजोआज नेपाली बाबुआमाहरू केही अवधिका लागि परदेशतर्फ गइरहेका छन् । सन्तानको मागबमोजिम जानुपर्ने अवस्थासमेत सिर्जना हुन थालेको छ । त्यसलाई लोकप्रचलनमा तेल भिसाको संज्ञा दिने गरिन्छ । यस्तै विषयमा केन्द्रित रोचक कथा हो– ‘तेल भिसा’ । यसप्रकार प्रस्तुत कृतिमा परदेशी विषयसन्दर्भसँग गाँसिएका कैयौँ कथाहरू सङ्कलित छन् । परदेशप्रतिको सपनादेखि लिएर त्यहाँ गरिएका काम तथा परदेशी भूमिसँग गाँसिएका मानसिक उतारचढावहरू समेटिएका छन् । निश्चय पनि यी सङ्कलित कथाहरूले डायस्पोरिकतालाई सङ्केत गरिरहेका छन् ।
घ) विषयगत विविधता
सुइखुरे कथासङ्ग्रहमा सङ्कलित कथाहरूले व्यापक विषयवस्तुलाई समेटेका छन् नै । तीमध्ये प्राथमिकताका साथ माथि उल्लेखित विषयवस्तुका अतिरिक्त पनि विषयगत विविधता पर्याप्त मात्रामा पाइन्छ । त्यसै क्रममा कतिपय कथाहरूभित्र नारीवादी चिन्तनको गहिरो प्रभाव पाउन सकिन्छ । एउटा प्रसङ्गमा जब पुरुषले सालीसँग दोस्री श्रीमती वा फरक किसिमको सम्बन्धका रूपमा व्याख्या गर्न सक्छ भने नारीले देवरलाई किन दोस्रो श्रीमान् नभन्ने भन्ने प्रश्न टड्कारो रूपमा उठाइएको छ । त्यसैले पनि यहाँ ‘देवर, आधा श्रीमान् ः प्याकुलीको कचहरी’ कथाको सन्दर्भ प्रभावकारी बनेको देखिन्छ । तर, महिला हक–अधिकारका कुराहरू चर्किए पनि तिनको वास्तविकता र पारिवारिक आत्मीयताका बारेमा खोजी गरिनुपर्ने कुरालाई ‘जम्दारकी नातिनी’ कथामार्फत सङ्केत गरिएको छ । अझ अर्को सन्दर्भमा ‘नोकर्नी मन्त्री’ कथामार्फत महिला अधिकारका लागि महिलाले नै अझैँ सङ्घर्ष गर्नुपर्ने कुरा बताइएको छ । यद्यपि महिला हक–अधिकारका नाममा समाजले अनावश्यक लाञ्छना वा आरोप लगाइरहे पनि नारी र पुरुषबिचको आत्मीयतालाई तोड्नु हुँदैन भन्ने कुरा ‘खुट्टा धोएको पानी र महिला अधिकारकर्मी’ कथामार्फत व्यक्त गरिएको छ ।
यहाँ युगीन प्रविधिसँग गाँसिएका विषयहरूमा आधारित कथाहरू पनि प्रशस्त मात्रामा पाइन्छन् । त्यसै क्रममा सामाजिक सञ्जालको संसारमा मानिसहरू कसरी हराइरहेका छन् भन्ने कुरा उठाइएको पाइन्छ । ‘स्मार्ट मान्छे’अन्तर्गत स्मार्ट भनेको मोबाइलमा व्यस्त रहने, कसैले कसैलाई सहयोग नगर्ने र जस्तोसुकै काम पाए पनि मक्ख पर्ने रहेछ भन्ने व्याख्या हुन थालेकोप्रति व्यङ्ग्य गरिएको छ । त्यस्तै ‘स्वचालित भ्वाइस च्याट’ कथामार्फत प्रविधिले मानिसलाई चरम किसिमबाट एकोहोर्याउन थालेको बताइएको छ । त्यस्तै मानिसले सामाजिक सञ्जालकै कारण जीवन बरबाद गर्न सक्ने अवस्थालाई ‘बैकुण्ठवास’मार्फत प्रस्तुत गरिएको छ । ‘सुन्दरता’ पनि सामाजिक सञ्जालकै उपज मान्न सकिन्छ ।
त्यसैगरी यहाँ जातीयतासँग गाँसिएका कैयौँ कथाहरू समेटिएका छन् । जातीयताबारे ‘शुद्धि’ कथाभित्रको चिन्तन फरक किसिमबाट आएको छ । ‘कमलकुमारीको करकाप’ कथामा पनि सुरुसुरुमा किन कोही बाहुनले लुकेर रक्सी र बङ्गुर खाएका होलान् ? किन हाकाहाकी नखाएका होलान् भन्ने जिज्ञासा राखिएको छ । त्यस्तै ‘संस्कृत पाठशाला’मा जनजाति र अझ छोरीले मात्र संस्कृत पढ्नु हुँदैन भन्ने मान्यताबारे बहस गरिएको छ । र, अन्त्यमा त्यही संस्कृतको प्रमाणपत्रका कारण माइक्रोसफ्टमा जागिर पाएको र बाबुले प्रायश्चित्त गरी पाठशाला खोल्ने निर्णय गरेको बताइएको छ ।
मानवीय स्वभावकै कारण अनेकौँ घटनाहरू घटिरहन्छन् । कोही स्वार्थी हुन्छन्, कोही कामुक हुन्छन्, कोही चापलुसी गर्ने स्वभावका हुन्छन् त कोही इमानदार हुन्छन् । कसै कसैले निरन्तर रूपमा धमास देखाइरहनुपर्छ इत्यादि । मानिसका यस्ता अनेकौँ प्रवृत्तिहरूमध्ये ‘बिरादरीको धमास’ कथामा समाजसेवी भनाउँदाहरू अत्यधिक भाषणमा लिप्त हुने गरेका तथा पहुँचवालाले मात्र भाषण गर्ने गरेको कुरा दर्साइएको छ । साथै, कुर्सीमा पुग्नेहरूले खाली कुर्सी हरेरै भए पनि भाषण दिने गरेको कुराप्रति व्यङ्ग्य गरिएको छ । अथवा, ‘टिके प्रमुखको लतपतिएको निधार’ कथामा कुनै पदमा पुग्न मानिसले कैयौँ पटक प्रभु भनाउँदाहरूसँग लम्पसार पर्ने प्रवृत्तिप्रति व्यङ्ग्य गरिएको छ । ‘ठुटेको सिँगौरी’ अत्यन्त प्रतीकात्मक कथा हो र यसले समयअनुसार पाएको मानसम्मानमा ह्रास आए पनि पुरानो संस्मरणले त्यही कुरा खोजिरहन्छ भन्ने कुरा दर्साएको छ । अथवा, ‘झड्केली छोरीको बिहे’ कथाले अझै पनि साहू महाजनहरूले आफूबाट गरिएका गलत कामलाई सोझासाझातिर जिम्मा लगाउने प्रवृत्ति कायमै रहेको कुरा औँल्याएको छ । मानिसको स्वभाव जस्तो छ त्यसै किसिमको काम दिनसके पक्कै सफलता पाइन्छ भन्ने कुरा ‘सुइखुरेको फ्रेस हाउस’ कथाले समेटेको छ ।
परिवारमा मनमुटाव भए पनि बाबुआमालाई जहिलेसुकै नसोधी भेट्न सकिन्छ । ‘सुकेको दुधेआन्द्रा र काइँलाबाको फेसबुक कमेन्ट’ कथाले यही कुरालाई दर्साएको छ । तर, केही मनिसहरू आमाबाबुप्रति अनुदार भए पनि सत्य लुकाएर सामाजिक प्रतिष्ठाका साथ बाँच्न खोजिरहेका हुन्छन् । त्यस्तै ‘वृद्धाश्रमको भोज’ कथामार्फत आफ्ना आमाबाबुलाई टाढा पु¥याएर वृद्धाश्रममा सेवा गरेको भन्दै सामाजिक प्रतिष्ठा लिन खोज्नेहरूको भन्डाफोर गरिएको पाइन्छ । तर, ‘चियाको चुस्की ः घ्याम्पे र सुइखुरे’ कथामा चाहिँ मानिसले कहिले काहीँ आध्यात्मिक मान्यताका कारण गलत बाटोमा लाग्न नदिने गरेको कुरा अस्वीकार गरे पनि त्यसपछिको परिणाम नराम्रो भएपछि अन्ततः त्यही मार्ग ठिक रहेछ भन्ने कुरालाई समेटिएको छ ।
यीबाहेक पनि बाल्यकालीन संस्मृतिका सन्दर्भमा ‘सावाको सिकार’ कथा निकै रोमाञ्चक देखिन्छ । त्यस्तै गाउँमा भन्दा सहरमा बस्ने मानिसहरूको प्रवृत्ति स्वार्थैस्वार्थले भरिएको हुन्छ भन्ने सन्दर्भमा ‘सहरको रहर’ कथा घत लाग्दो किसिमबाट प्रस्तुत भएको छ । झन् अर्को ‘संवाहक’ कथाको विषय र शैली दुवै प्रभावकारी रहेको पाइन्छ ।
४. शैलीगत सम्प्रेषणीयता
सुइखुरे सम्प्रेषणीय भाषाशैलीमा आधारित कथासङ्ग्रह हो । यसमा भाषिक शब्दचयनदेखि वाक्यगठनसम्ममा सरलता र सम्प्रेषणीयता पाइन्छ । घटना वा चारित्रिक विशेषताहरूलाई प्रस्ट तुल्याउन अथवा आख्यानतन्तुलाई तीव्र गतिमा दौडाउन सटीक अभिव्यक्तितर्फ ध्यान दिइएको छ । एउटै अनुच्छेदमा तत्कालीन परिवेश, चारित्रिक विशेषता र घटना सन्दर्भलाई कसरी सङ्क्षिप्त रूपमा प्रस्तुत गरिएको पाइन्छ भन्ने कुरा यहाँ उल्लेख गर्न सकिन्छ ः
‘ऊ बेलाको पाँच धार्नीको खसी, दुई घ्याम्पा कोदाको जाँड र अमिनी जाँदा लागेको सामल खर्च । वेलैमा बुद्धि नपु¥याएको भए, खान्थ्यौ अहिले मसिना चामलको भात !’ टारीको बाह्रमुरे खेत किनेको समयको किस्सा बाबुको मुखबाट सुनिरहन्थे छोराछोरी । खेतीपाती नगरी मुखमा माड लाग्दैन भन्ने कुरामा विश्वस्त धनबहादुर बाले उकाली–ओराली, कुटो–कोदालो, बस्तु–भाउ भन्दाभन्दै तीन कोरीमाथि दसको उमेर कटाइसके । तर, अझै हृष्टपुष्ट र तन्दुरुस्त देखिन्छन् । (संवाहक)
त्यस्तै कतिपय सन्दर्भलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्न सक्ने कला पनि यहाँ पाइन्छ । कुनै जन्ड शासक वा सत्तोन्माद व्यक्तिको शक्तिहीन अवस्थालाई गोरुका माध्यमबाट प्रतीकात्मक रूपमा उल्लेख गरिएको कथाको एउटा सन्दर्भ हेर्न सकिन्छ ः
ऊ बेलाको हाई हाईको तिखे, बाई बाईको अवस्थामा पुग्यो । नदाइएको गोरु न थियो तिखे । त्यसैले, परिस्थिति बुझ्ने गरीको परिपक्वता थिएन उसमा । आफ्नो महŒव घटेर तिखेबाट मुडुले भएको उसलाई हेक्का थिएन । हरिभक्तेबाट उही किसिमको विशेष स्याहार चाहन्थ्यो । सात गाउँसम्म फैलिएको उसको नाम सुवास फेरि चाहन्थ्यो । तर, समयसँगै उसको औचित्य सकिँदै गएको उसले बुझेको थिएन । त्यही ज्ञानको अभावले त उसको अहम्तामा टसमस भएको थिएन । ऊ बेला सात गाउँसम्म चर्चा फैलिएको तिखेले यो बेला तगाराभित्र खुम्चिएको पत्तो नपाएरै त होला– ऊ रिसाउँथ्यो, टाउको बटाथ्र्याे अनि जहाँ भेट्यो त्यही सिँगौरी हान्थ्यो । साना साना बाच्छाबाच्छीमा रिस पोख्थ्यो । टाट्नो भाँच्थ्यो । (ठुटेको सिँगौरी)
नेपालमा बढ्दै गएको राजनीतिक विकृतिको चोटिलो उदाहरण बनेको छ ‘मन्त्राणीको पेवा’ कथा । यसमा प्रयुक्त भाषाशैलीले सत्ता र गरिबी दुवैलार्ई गम्भीर तरिकाले व्यङ्ग्य गरेको पाइन्छ । जस्तै;
मेरो पेवापात र माइतीको दाइजोमा ३५ तोला सुन र ११ लाख नगद भनेर लेख्नुभएको छ । यदि कोही सोध्न आए भने हो भनिदिनु होला । छान्दाछान्दैको जाँड छोडेर कोदाको छोक्रा लागेका हात लुङ्गीको पछाडि पुछ्दै उसकी स्वास्नी (डम्बरी) अगाडि उभिइरहेकी थिई । हतार हतार उसको गला, नाक, कान र शिर हे¥यो । न नौगेडी, न पोते, न फुली न त सिरबन्दी; स्वास्नी बुच्चै थिई । (मन्त्राणीको पेवा)
त्यस्तै पत्रात्मकता र संवादात्मकता दृष्टिले समेत ‘फेसबुकमा तिजका फोटा बन्देज होस्’ जस्ता कथाहरू उल्लेखनीय रहेका छन् ।
यसप्रकार सुइखुरे कथासङ्ग्रहभित्रका कथाहरूमा भाषिक सरलता र रमरम व्यङ्ग्यात्मकताका उदाहरणहरू प्रशस्त मात्रामा पाइन्छन् । तर, तीव्र आख्यान चेतका कारण शैल्पिक कलात्मकताको पक्षचाहिँ केही शिथिल रहेको पाउन सकिन्छ ।
५. निष्कर्ष
प्रभात किरणको पहिलो कथासङ्ग्रह सुइखुरे हो । यसमा नेपाली राष्ट्रियतालाई सर्वोपरि ठानेर विभिन्न किसिमबाट राष्ट्रियताकै पक्षमा जोड दिइएको छ । चाहे नेपाली संस्कृति र विकृतिको सन्दर्भ होस् वा डायस्पोरिक सन्दर्भ होस् प्रायः सबैतिर नेपाली राष्ट्रियताले संसारभरि सम्मान पाउनुपर्छ भन्ने कुरामा जोड दिइएको छ । जबसम्म नेपाली आपूmले आफैलाई चारित्रिक रूपमा रूपान्तरण गर्न सक्दैनन् तबसम्म नेपाली राष्ट्रियताको पक्ष सबल हुँदैन भन्ने विचार प्रकट गरिएको छ । नारीवादी चिन्तनको मूल जरो पनि समानता नै हो । समानताकै कारण राष्ट्रको शिर उच्च हुने अपेक्षा गरिन्छ । अथवा, हरेक कोणबाट नेपाल र नेपालीसँग गाँसिएका परिवर्तनमुखी चिन्तनमा आधारित उद्देश्यहरू प्रस्तुत गर्ने दृष्टिकोण राख्नु नै सुइखुरेको उपलब्धि मान्न सकिन्छ । यद्यपि लेखकको पहिलो कथासङ्ग्रह भएकाले यी सबै कथाहरू विधागत सैद्धान्तिक मान्यताका सापेक्षतामा र कलात्मक संयोजनका सापेक्षतामा खरो उत्रिन नसक्लान् तापनि यिनले हृदयलाई स्पर्श सक्छन् र निश्चित सन्देश प्रवाह गर्छन् । त्यसैले के भन्न सकिन्छ भने सुइखुरेका कथाहरूले विशेष गरी राष्ट्र, राष्ट्रियता र संस्कृतिप्रति अनन्य अनुरागसहित तिनकै सेरोफेरोमा परिभ्रमण गरेका छन् । राजनीतिक अस्थिरता र मानवीय सङ्कीर्णताका बिच रुमलिँदै गएको नेपाली समाज तथा नेपाली मनहरूको चिरफार गरेका छन् । स्वदेशदेखि परदेशसम्मका र सांस्कृतिक महत्तादेखि आधुनिक जीवनशैलीसम्मका विषय परिधिहरू समेटेका छन् । सङ्क्षिप्तताभित्रको द्रुत आख्यानात्मकता, विवरणात्मकताभित्रको व्यङ्ग्यात्मकता र सरलताभित्रको वैचारिकताजस्ता शैलीगत प्राप्तिहरू वरण गरेका छन् ।


बुढानीलकण्ठ ८, हाइल्यान्ड (भङ्गाल), काठमाडौँ

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 27 आसाढ, 2076

लेखकका अन्य रचनाहरु