बुढो माझी कवितामा लयव्यवस्था

- उषा आचार्य

१ विषयपरिचय
‘बुढो माझी’ सुलोचना मानन्धरले रचना गरेको ‘प्रज्ञा आधुनिक नेपाली कविता’मा सङ्ग्रहित छोटो आयामको गद्य लयमा रचिएको कविता हो । लय काव्यात्मक पाठलाई सम्बद्ध र एकात्मक तुल्याउने प्रमुख आधार हो । कवितामा लयको उच्च प्रयोग हुन्छ । पद्य कवितामा गण र मात्रा मिलाएर लयको सिर्जना गरिएको हुन्छ भने गद्य कवितामा ध्वन्यात्मक अन्वितिको आधारमा विशिष्ट लयको सिर्जना गरिएको हुन्छ । यस्तै विशिष्ट लयको प्रयोग गरी लेखिएको ‘बुढो माझी’ कवितामा प्रयोग गरिएको अन्तर्लयबाट कवितामा एकात्मकता आएको छ । प्रस्तुत लेखमा उक्त कवितालाई सङ्कथन विश्लेषणका विभिन्न आधारमध्ये लयव्यवस्थाको आधारमा विश्लेषण गरी कवितामा विशिष्ट लय छ र त्यो लयले कवितात्मक पाठलाई एकात्मक बनाएको छ भन्ने निष्कर्ष निकालिएको छ ।

२ सैद्धान्तिक पर्याधार
गद्य कविता विशिष्ट लयमा संरचित हुन्छ । लय भनेको कविता वाचन गर्दा वा उच्चारण गर्दा लाग्ने समयको अन्तरालबाट उत्पन्न हुने विशेष किसिमको सौन्दर्य हो । कविताका पंक्तिको विन्यासले लय सिर्जनाको लागि आधार प्रदान गरेको हुन्छ । कवितामा प्रयोग भएका भाषिक स्वर व्यञ्जन वर्णको वितरण प्रक्रिया, पंक्तिविधान, पाउ, चरण, मात्रा आदिको वितरणको आवृत्ति, स्वल्प नियमिततको स्थिति नै गद्यकवितात्मक लय हो (त्रिपाठी, २०५४ ः १८) । पंक्तिगत स्तरमा आएका ध्वनि, वर्ण, शब्दको वितरणगत विविधताले कविताको लयलाई अझ विशिष्ट बनाउँछन् । वर्ण, मात्रा, अक्षर संख्या समान नभए पनि अनुच्छेदगत नियमितता र वाचनको वैचित्यले गद्य कवितामा अन्तर्लयको सिर्जना गर्दछ । कविता श्रव्य विधा भएकोले उच्चारण वा वाचनबाट लयको व्यवस्थाबारे स्पष्ट हुन्छ । उच्चारण र श्रवणका समयमा रम्य लाग्ने सङ्गीतमय ध्वनि नै लयको प्रमुख केन्द्र हो । पंक्तिविन्यास, आवृत्ति, विचलन, चित्रात्मक चिन्ह आदिबाट लयको व्यवस्था कायम गर्न सकिन्छ ।
कविता पंक्तिपुञ्जको सिङ्गो संरचना हो । कवितामा विभिन्न पंक्तिहरूको प्रयोग गरिन्छ । ती पंक्तिहरू आपसमा अन्तर्सम्बन्धित हुन्छन् । पंक्तिलाई एकात्मकता प्रदान गर्न विभिन्न वर्ण, शब्द सूचक आएका हुन्छन् । पंक्तिगत विन्यासबाट कवितामा एक प्रकारको विशिष्ट लयको सिर्जना भएको हुन्छ । पंक्तिगत संरचनामा प्रयोग भएका विभिन्न शब्दहरू आवृत्ति हुने क्रम पनि रहन्छ । समस्तरमा आवृत्ति भएका ध्वनि, शब्द र विविध स्तरमा प्रयुक्त ध्वनि र शब्दले विलक्षण लय सिर्जना गर्न मदत गर्दछन् । यस्ता ध्वनि, शब्द, उपवाक्य आदि प्रचलित मानक व्याकरणात्मक नियममा आवद्ध नभई आफ्नो छुट्टै अस्तिŒव बनाएका हुन्छन् अर्थात कवितामा भाषिक विचलन हुन्छ । कविताको अर्थलाई विशिष्ट बनाउन र लयात्मक संरचनालाई सौन्दर्यात्मक बनाउन विभिन्न चित्र, लेख्य चिन्ह आदिको प्रयोगसमेत कवितामा गरिन्छ ।
प्रस्तुत लेखमा ‘बुढो माझी’ कवितामा लय व्यवस्थाको विश्लेषण गर्नका लागि पंक्तिगत विन्यास, आवृत्ति, विचलन, लेख्य चिन्हको प्रयोगलाई कविता विश्लेषणको आधार बनाइएको छ । यहाँ उक्त कवितामा लयसिर्जनाका लागि के कस्तो व्यवस्था छ भन्ने अवधारणालाई केन्द्रमा राखी लयव्यवस्थाका आधारभूत मानदण्डलाई आधार बनाई ‘बुढो माझी’ कविताको लयगत विश्लेषण गरिएको छ ।

३ बुढो माझी कवितामा लयव्यवस्था
‘बुढो माझी’ गद्य लयमा संरचित कविता हो । यस कवितामा पंक्तिविन्यास, ध्वनि, वर्ण, शब्दको आवृत्ति, भाषिक विचलन र लेख्य चिन्हको प्रयोग भएको छ । यिनै चार आधारमा प्रस्तुत कविताको विश्लेषण गरिएको छ ।
३.१ पंक्तिविन्यास
कवितामा पंक्तिगत विन्यासबाट लयको सिर्जना भएको हुन्छ । गद्य कवितामा पदावलीको समान तर अनियमित विस्तारबाट लयको मधुरता पाइन्छ (एटम, २०७४ ः ८४) । ‘बुढो माझी’ कवितामा पदावली वा पंक्तिको पृथक – पृथक विन्यासबाट लयको स्पन्दित प्रभाव परेको छ । यस कवितामा ५० शब्द, १६ पंक्ति र ६ अनुच्छेदमा संरचित काव्यिक संकथन हो । यसमा १ शब्ददेखि ५ शब्दसम्मका पंक्तिको विन्यास गरिएको छ । १६ पंक्तिमध्ये दोस्रो र तेह्रौँ पंक्तिमा १ शब्दको दुई पंक्ति रहेका छन् । त्यस्तै पहिलो, आठौँ, दशौँ, चौधौँ र पन्ध्रौँ पंक्तिमा दुई शब्दका पाँच पंक्तिको विन्यास छ । पाचौँ र सोह्रौँ पंक्तिमा ३ शब्दको, तेस्रो, चौथो, छैठौँ पंक्तिमा ४ शब्दको र सातौँ, आठौँ, नवौँ, एघारौँ र बाह्रौँ पंक्तिमा ५ शब्दका पंक्तिको विन्यास रहेको छ । यसरी हेर्दा कवितामा शब्द र पंक्तिविन्यासमा असमान, अनियमित र विविधतापूर्ण वितरण भएको स्पष्ट हुन्छ । यो शास्त्रीय नियमको वर्णगत समानता र अनुप्रासमा आवद्ध नभई स्वतन्त्र तहबाट विशिष्ट लयको संयोजन गरेको कविता हो । यस कविताका हरेक पंक्तिमा गति, यति र लय मिलेको छ । पंक्तगत विश्राम, अनुच्छेदगत विश्राम, शब्दबलाधात आदिका कारण यस कवितामा काव्यात्मक लय उत्पन्न भएको छ । प्रस्तुत कविताको शरीर ३ २ ३ ३ २ ३ को पंक्तिगत संरचनामा ६ वटा अनुच्छेदको गठन गरिएको छ ।
‘बुढो माझी’ कवितामा ६ वटा अनुच्छेदको प्रयोग गरिए पनि ती असामान्य र असान्दर्भिक भने छैनन् । बुढो माझीको अवस्थाको पुष्टि गर्नको लागि विभिन्न सन्दर्भ ल्याएर एक अनुच्छेदसँग अर्को अनुच्छेदको सम्बन्ध स्थापित गर्दै कविताको अन्त्य गरिएको छ । अनुच्छेद वा पंक्तिगत विन्यासमा काव्यात्मक विराम गरिएकोले नै लयको उद्वोधन भएको हो । त्यसैले प्रस्तुत कवितामा असमान, अनियमित पंक्तिविन्यास हुनु लयव्यवस्थाको मूल आधार हो । यसबाट कवितामा निजŒवपूर्ण र विशिष्ट अन्तर्लयको प्रस्तुति रहेको छ ।

३.२ आवृत्ति ÷समानान्तरता
कवितामा प्रयोग भएको ध्वनि, वर्ण, शब्द पटक पटक आवृत्ति हुनु नै आवृत्ति हो । आवृत्तिले कवितामा लय उत्पादन गर्ने काम गर्छ । विम्ब र विचारको पुनरावृत्तिबाट गद्य कवितामा लय सिर्जना गरिन्छ (एटम, २०७४ ः ८४) । प्रस्तुत कवितामा वर्ण, शब्दको स्तरमा आवृत्ति भएको छ । यस कवितामा र÷म÷न वर्णको अधिक आवृत्ति भएको छ । यहाँ र वर्ण १८ पटक, म÷न वर्ण १० पटक, ल वर्ण ९ पटक, ब वर्ण ८ पटक, त वर्ण ७ पटक, स÷छ÷ह वर्ण ६ पटक, इ÷य वर्ण ५ पटक, क÷द÷झ वर्ण ४ पटक, ख÷ज वर्ण ३ पटक, त्र÷ढ÷प वर्णको २ पटक आवृत्ति भएको छ । यसरी सिङ्गो कवितामा क, ख, ग, घ, ब, त, छ, द, झ, ज, ढ, प जस्ता स्पर्शी, स स्पर्शसङ्घर्षी, ह, र सङ्घर्षी, म, न नासिक्य, ल पाश्र्विक, अर्धस्वर य, संयुक्त वर्ण त्र को असमान आवृत्ति भएको छ । विभिन्न वर्णको आवृत्तिले कवितामा लय उत्पादन गर्ने काम गरेका छन् । वर्णको पटक पटकको आवृत्तिबाट कवितामा अन्तर्लय सिर्जना भएको छ ।
प्रस्तुत कवितामा वर्णका साथसाथै शब्दको पनि बारम्बार आवृत्ति भएको छ । यस कवितामा बिस्तारै, बुढो, माझी, मलाई, नै, रात, म, संसार शब्दको दुई दुई पटक आवृत्ति भएको छ । जस्तै ः
बिस्तारै बिस्तारै आफैँ खिइँदै
यसमा कविताको चौँथो पङ्क्तिका चारवटै शब्दको अक्षरान्तमा ऐको समान आवृत्ति भएको छ । यस्तो आवृत्तिले कवितामा विशिष्ट लयको सिर्जना गरेको छ । त्यस्तै छैटौँ पंक्तिमा सोझो र बुढो शब्दमा ओ को समान वितरण भएको छ भने बाह्रौँ र तेह्रौँ पंक्तिका अन्त्यमा रमाउँछु र हराउँछु शब्दको अनुप्रासले कवितालाई लयात्मक बनाएको छ । कविताको अन्तिम पंक्तिमा बुढो र बिर्सिदिन्छन् शब्दमा आद्यअक्षर बको प्रयोग गरिएको छ साथै दशौँ पंक्तिमा सारा र संसार शब्दमा स, र को समान वितरण छ । त्यसैगरी छैटौँ, पंक्तिमा सोझो र माझीमा झ को, नवौँ पंक्तिमा म, मनको शब्दमा म को समान वितरण रहेको छ । यसै सन्दर्भमा नवौँ, एघारौँ, बाह्रौँ पंक्तिका अनितममा खोल्छु, देख्छु, रमाउँछु, हराउँछु शब्दमा आएका छु को समानान्तर वितरणले कवितामा विशेष लयको व्यवस्था गरेको छ ।
यसरी माथिका तथ्याङ्कको आधारमा वर्ण र शब्दको वितरण प्रक्रिया र आवृत्तिले कवितामा अन्तर्लयको सिर्जना गरेको पुष्टि हुन्छ ।

३.३ विचलन
प्रचलित व्याकरणात्मक नियमभन्दा भिन्न अर्थात व्याकरणात्मक व्यवस्थामाथिको अतिक्रमण नै विचलन हो । कविता भाषाको मानक नियमभन्दा पृथक रूपमा प्रस्तुत हुन्छ । यसको आशय कवितामा भाषिक विचलन हुन्छ भन्नु हो । कवितामा वाक्य गठन, शब्द, पद, पदावलीको नियमपूर्ण प्रयोग हुँदैन । यही विचलनका कारण कवितामा लयबोध हुन्छ । वास्तवमा साहित्यमा सौन्दर्यका निम्ति गरिने प्रचलित मानक नियमको उल्लङ्घन, कवितामा प्रयोग गरिने अलङ्कार, मानवीकरण, प्रतीक, बिम्बसिर्जना आदि एक प्रकारका विचलन हुन् । यस्तो काव्यात्मक पाठमा भाषा प्रयोगमा स्वतन्त्रता र भाषाको नयाँ भङ्गिमाबाट चमत्कार सिर्जना गर्ने हुनाले लयले पाठलाई सघन बनाउँछ (एटम, २०७४ ः २१३) । प्रस्तुत ‘बुढो माझी’ कवितामा पनि भाषिक संरचनालाई ध्यान नदिई लयात्मक संरचनालाई केन्द्र बनाइएको छ । कविताको तेस्रो अनुच्छेदमा यस्तो विचलन देखिन्छ ः
सोझो बुढो माझीले
मलाई पनि बिहानीको किनारासम्म नै
पु¥याइदिन्छ रातले
माथिको कवितांशको वाक्य व्यवस्था नेपाली मानक व्याकरणको नियममा आबद्ध छैन । नेपाली व्याकरणअनुसार कर्ता कर्म विस्तारित पद र अन्तिममा क्रियापदको प्रयोग गर्नुपर्छ तर यस कवितामा रात कर्ता लाई अन्तिममा राखिएको छ भने क्रियापदको प्रयोग पनि नियमसम्मत छैन । नेपाली व्याकरणको संरचनामा राख्दा माथिको वाक्यको संरचना यस्तो हुन्छ ः
रातले मलाई पनि बुढो माझीलेझैँ बिहानीको किनारासम्म नै पु¥याइदिन्छ ।
माथिका दुई वाक्यमा अर्थमा विचलन नदेखिए पनि सोझो, बुढो, माझी शब्दमा परेको बलाधात र तानका कारण विशेष अन्तर्लयको सिर्जना भएको छ । दुईवटा विशेषण् प्रयोग गर्नु, अध्यधिक शब्दको प्रयोग, कर्ता, कर्म क्रियाको क्रममा भङ्ग हुनु भाषिक र व्याकरणिक विचलन हो । यही विचलनका कारण कवितामा लयसंयोजन भएको छ ।
यसरी माथिका तथ्याङ्कबाट विचलनकै कारण कवितामा विशिष्ट लयको सिर्जना भई कवितालाई सुन्दर श्रवणरम्य बनाएको पुष्टि हुन्छ ।

३.४ लेख्य चिन्हहरूको प्रयुक्ति
कवितामा लय निर्माण गर्ने आधार लेख्य चिन्हहरू पनि हुन् । कविताको गति, यति, आरोह, अवरोह, तानलाई लेख्य चिन्हले सङ्केत गर्दछन् । गद्य कवितामा लेख्य चिन्हको न्यून प्रयोग गरिएको हुन्छ तथापि रिक्त पदको प्रयोगबाट कवितामा लय व्यवस्थित हुन्छ । प्रस्तुत ‘बुढो माझी’ कवितामा हरेक पंक्तिमा र अनुच्छेदमा विराम रहेको छ जसले लयको सिर्जना हुने आधार निर्माण गरेका छन् भने कविताको अन्तिम अनुच्छेदमा रिक्त सूचक र विस्मयसूचकको प्रयोग गरिएको छ । जस्तै ः
रातलाई बिर्सदै
जसरी यात्रीहरू
बुढो माझीलाई बिर्सिदिन्छन् ... !
प्रस्तुत कवितामा पंक्तिगत विन्यासमा र अनुच्छेदपछि विराम छ । यसको लागि कुनै संकेत नदिइए पनि वाचनको लयबाट रिक्त स्थान भन्ने स्पष्ट बुझिन्छ । माथिको कवितांशमा भने अन्तिम पंक्तिमा दिइएको तीन थोपा चिन्हले रिक्तताको संकेत गरेका छन् भने विस्मयसूचकले उच्च लय र भावको निर्देश गरेको छ ।
यसरी कवितामा प्रयोग हुने विभिन्न चिन्हले पनि लय निर्माणमा आधार प्रदान गरेका हुन्छन् भन्ने स्पष्ट हुन्छ ।
४. काव्यात्मक एकात्मकता
कवितामा प्रयोग भएको लयले काव्यात्मक पाठलाई एकात्मकता प्रदान गरेको हुन्छ । प्रस्तुत कवितामा प्रयोग भएको लयले कविताताई सम्बद्ध तुल्याएको छ । कवितामा प्रयोग भएका पंक्ति र अनुच्छेद सुरुदेखि अन्त्यसम्म एक अर्कामा सम्बद्ध छन् । यसमा पहिलो अनुच्छेदमा खियाइरहेने शब्दले दोस्रो अनुच्छेदको आफैँ खिइएको पंक्तिलाई सम्बद्ध गरेको छ भने दोस्रो अनुच्छेदको खोला तारिरहने सूचकले तेस्रो अनुच्छेदको किनारासम्म पु¥याएको भन्नेलाई जोडेको छ । त्यस्तै चौथो अनुच्छेदमा प्रयोग भएको आफूलाई पर्खेर बसेको संसारलाई पाचौँ अनुच्छेदमा त्यही संसारमा रमाउने र हराउने सन्दर्भले एकात्मक तुल्याएको छ । रमाउनु र हराउनुले बुढो माझिको अवस्थालाई संकेत गरेका छन् । माझीले खोला तारिसकेपछि सबैले उसलाई बिर्सिने गर्छन् भन्ने भावको स्पष्टीकरणको लागि लेखकले आफूले पनि रातलाई बिर्सिएर रमाउने सन्दर्भ उल्लेख गर्दै प्रस्ट पारेकी छन् । यस कवितामा सुरुमा अन्य सन्दर्भ र उदाहरण प्रस्तुत गर्दै विशिष्ट लय सिर्जना गरी अन्तिममा बुढो माझीमा लगेर टुङ्ग्याइएको छ । यसरी कविताभित्रको लयले पाठलाई एकात्मक बनाएको छ ।
५. निष्कर्ष
लय कवितालाई विशिष्ट बनाउने तŒव हो । गद्य कवितामा विशेष लयको प्रयोग गरिन्छ । लयले कविताको सम्पूर्ण संरचनामा एकात्मकता प्रदान गर्ने काम गर्छ । कविताको विश्लेषणको एक प्रमुख आधारको रूपमा लय पनि एक हो । प्रस्तुत ‘बुढो माझी’ कविता गद्य लयको कविता भएकोले यसमा पंक्ति, आवृत्ति, विराम समय, विलोपन आदिले लयको निर्माण गरेका छन् कवितामा प्रयुक्त लयले कवितालाई सम्बद्ध तुल्याएको छ । यसमा पंक्तिको उचित विन्यास भएको छ । पंक्तिको उपयुक्त विन्यासको कारण कवितामा लयगत वैचित्य उत्पन्न भएको छ । वर्ण, शब्दको आवृत्ति, अन्त्यानुप्रासका कारण कवितामा लयको व्यवस्था निर्माण भएको छ । प्रस्तुत कवितामा भाषिक विचलन लय निर्माणको प्रमुख आधार बनेको छ । लेख्य चिन्हको प्रयोग र रिक्त पदको सूचकको प्रयोगले कवितामा लयसंयोजन भएको छ । यसरी लयको कारणबाट ‘बुढो माझी’ कविता एकात्मक बनेको छ ।
सन्दर्थग्रन्थसूची
एटम, नेत्र (२०७४), सङ्क्षिप्त साहित्यिक शब्दकोश, काठमाडौँ ः नेपाल प्रज्ञा प्रतिष्ठान ।
गौतम, देवीप्रसाद र प्रेमप्रसाद चौलागाईँ (२०७०), भाषाविज्ञान, दो.सं. काठमाडौँ ः विद्यार्थी प्रकाशन ।
गौतम, लक्ष्मणप्रसाद र नेत्र एटम (२०७४), प्रज्ञा आधुनिक नेपाली कविता, काठमाडौँ ः नेपाल प्रज्ञा
प्रतिष्ठान ।
त्रिपाठी, वासुदेव, दैवज्ञराज न्यौपाने र केशव सुवेदी (२०५४), नेपाली कविता भाग ४, ललितपुर ः
साझा प्रकाशन ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 27 आसाढ, 2076

लेखकका अन्य रचनाहरु