बुझाई

- दीपक जडित

संधैझैं सुब्बिनी भाउजु आठबजेतिरै खर्दारको मिलमा पुगिन् । उनको काम धानमिलको गोदाम , धान सुकाउन आँगनमा सिमेण्टले बनाएको ठुलो चट्टान र मिल राखेको घर सफागर्नु हुन्थ्यो साथै फाटेका बोराहरु सिलाउनु , छरिए पोखिएका धानचामल भेलागरेर केलाई कुलाई गरी जम्मा गर्नु जस्ता अतिरिक्त काम पनि आईपर्थ्यो उनलाई ।

मिलको आँगनमा खर्दार अरु एकदुईजना मान्छेहरुसंग कुरा गर्दैथिए । संधै त यसबेलासम्म मिल चल्न थालिसकेको हुन्थ्यो । आज के भएछ भन्दै उनि त्यतै गईन । उनिहरु भन्दैथिए , ' हैन यो ईन्धनको मुल्य पनि असाध्यै बढ्यो । यो सबै ईराक वारको परिणाम हो । '

मनमनै सोचिन् उनले 'यो ईन्धन भनेको चैं के र'? मुल्ले बडो भन्छन ।'

उनिहरुको कुरा बुझ्ने प्रयत्न गर्दैथिईन् सुब्बिनि भाउजु , खर्दारले भने , 'ए भाउजु आज काम नहुने भो तिम्रो । दुख मात्रै पाईछौ यहाँसम्म आउन । अब मिल चलाई नसक्नु भै'गो । घर गए हुन्छ ।' उनले फर्कने आदेश पाईन् र लुरुलुरु फर्किन् ।

उनको मनबाट ईन्धन हटेन । कस्तो खालको धन होला यो ईन्धन भन्ने ? जिज्ञाशा भै रह्यो उनलाई । घर पुगेर छोरालाई सोधिन् , ' ए कान्छा ? हैन यो ईन्धन भनेको के रै'च हँ ? '

'
किन चाहियो तिम्लाई ईन्धन र सिन्धन ? खै मलाई स्कुल जान ढिलो भै सको २० रुपियाँ देउ , डटपेन छैन । कतिदिन अर्काको मागेर लेख्नु ? ' सात कक्षामा पढ्ने कान्छाले उल्टै उन्को सातो खायो ।

'
हैन ई छोराछोरी पढार पनि सुख छैन नपढार पनि सुख छैन ' पोल्टाबाट सुर्काने थैली झिक्दै भनिन् उन्ले , ' के राम्रै पात्तिएको ? नबुझेको त सोध्नै नहुने । ई ला बिस छैन दश लैजा , आफ्नो त दुमो पनि रहेन भएजति सबै तँलाई नै ठिक्क छ । '

उनको हातबाट चिलले चल्ला झम्टिएझैं दशको नोट थुत्दै कान्छाले भन्यो, ' चाहिएको पनि दश नै थियो तर दश भनेको भए पाँच देखाउंथ्यौ । मलाई था'छैन र ? ईन्धन भनेको मोटर गाडी चलाउने , मिल चलाउने र ठुला ठुला कार्खाना चलाउने तेल हो, भयो अब त ? ' कान्छा हान्नियो स्कुल तिर ।

'
तेई भ'र पो मिल बन्द भएछ । तेत्रा खर्दारले पनि किन्न नसक्ने गरेर बढेछ है ईन्धनको मुल्ले त । धन्न हामी गरिबलाई त्यो ईन्धन नभए नि हुने नत्र हामी गरिबले के किन्न सक्थ्यौं होला र ? ' मनमनै गमिन् सुब्बिनी भाउजुले र प्रकट मै भनिन् , ' अब बुझें ईन्धन भनेको पनि । आँखिर कान्छालाई पढाको काम त लाग्यो । '

बिहानै घाम लाग्ला जस्तो भएपनि अहिले बाहिर पानी पर्न शुरु भैसकेको थियो । सुब्बिनी भाउजुको दिनभर काम केहि नै थिएन त्यसैले कान्छाले पकाएको भात खाएर घर बन्द गरेर गाउँतिर लागिन् । दिनभरी गाउँमै बिताईन् उनले न उनको बस्तुभाउ हेर्नु स्याहार्नु थियो न अरु कुनै काम । साह्रै फुर्सदिली थिईन् सुब्बिनी ।

साँझ घर आएर भात पकाउन अगेँनोमा आगो जोर्न के खोजेकी थिईन् उनिसँग घरमा मट्टितेल रहेनछ । लौ खा परेन अब फसाद ? सण्ठी , स्याउला सबै झरीले ओसिएको मात्र छ । थोरै मट्टितेल नचुहाए आगो सल्किनै मान्दैन । अब के गर्ने ? पकाएर खानु त पर्यो ; भएन राती सुतुञ्जेल कुप्पि पनि बाल्नै पर्यो । साँझ हस्याङफस्याङ गर्दै खर्दारको घर पुगिन् उनि । उनको लागी काम , दाम , माम सबै कुरामा हेरदेख गर्ने खर्दार नै त थिए । आँगनमै खर्दारकि श्रीमती भेटिईन् , ' ए दुलई लौ मेरो त अगेँनोमा आगै सल्केन अलिकति मट्टितेल पैंचो दिन्थेउकि भनेर आ'की , भोलीपर्सी किनेर दिम्ला........ ' सुब्बिनीले कुरा सक्नै पाएकी थिईनन् खर्दारले भने , ' हैन ए भाउजु त्यही तेल नपाएर आज देखि मिल बन्द भो , कतिदिन भैसक्यो किन्नलाई पैसा ले'र जाँदा पनि पाईएको
छैन , कहाँबाट ल्याउने हो मट्टितेल ? धन्न ग्याँसले थेगेको छ हाम्रो त्यो पनि भरैभोली देखि सकिन्छ ।'

कुन्ताको अँध्यारो त्यसमाथी अँध्यारै मुख लाएर फर्किनुको बिकल्प थिएन सुब्बिनीसँग । फर्किंदा बाटोमा सोच्दै थिईन् उनि , ' थुक्क ! यो ईन्धन भनेको त हामी गरिबले बाल्ने मट्टितेल पनि पो रहेछ । बल्ल अब चैं बुझें ईन्धन भनेको , गरिबसँग नहुने भएपछि धन नै त भयो नि ईन्धन भने नि जुन धन भने नि , थुक्क ! ईन्धन । ' अँध्यारोमा सुमुसुमु घर फर्किन् सुब्बिनी भाउजु ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 14 श्रावण, 2065

लेखकका अन्य रचनाहरु