देवकोटाको निबन्धकारिताबारे

- प्रा.डा.गंगाप्रसाद अधिकारी

१. विषय उठान
लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६) नेपाली साहित्यको आधुनिक कालका प्रथम प्रहरका तीन मनीषिहरूमध्येका एक हुन् । मूलतः कविका रूपमा अत्यन्त सम्मानित देवकोटाको कवितापछिको अत्यन्त सफल विधा हो – निबन्ध । यद्यपि देवकोटाले यी बाहेक साहित्यका प्रायः सबै विधामा हात हाले पनि सफलता भने कमै हात पारेको देखिन्छ । यसो हुनुमा देवकोटाका कविसुलभ भावुकता र कल्पनाशीलता नै प्रबल कारण हुन्, किनभने कवितामा भावुकता र कल्पनशीलता आवश्यक र महत्त्वपूर्ण हुन्छ तर कथा, उपन्यास, नाटक आदिमा त्यसको प्रबलता सुपाच्य हुन सक्दैन । त्यसैले देवकोटाको सर्जक प्रतिभा कविता र निबन्धबाहेक अन्यत्र त्यति चम्कन सकेको अनुभूति हुँदैन । निबन्ध चाहिं कविताको धेरै नजीक रहेको विधा हो । विशेषतः निजात्मक स्वभावका निबन्धहरूमा कविताका उपर्युक्त उपकरणहरू ग्राह्य हुन्छन् । देवकोटा निबन्धमा विशेषतः निजात्मकताका पक्षपाती भएकाले उनी निबन्धकारका रूपमा पनि उत्तिकै सफल भएका छन् । यस छोटो लेखमा देवकोटालाई निबन्धकारका रूपमा यथासम्भव चिनाउने प्रयास गरिएको छ ।

२. निबन्धयात्रा
गद्यकारका रूपमा देवकोटाले निबन्धमै विशेष सिद्धि प्राप्त गरेका छन् । १९९२ सालमा प्रकाशित ‘मुनामदन’ खण्डकाव्यले सर्वाधिक लोकप्रसिद्धि पाइसकेको थियो । ‘बर्दाहामा शिकार’ भन्ने समको निबन्ध १९९१ को फागुनको ‘शारदा’ मा प्रकाशित भइओरी नेपाली निबन्धले माध्यमिक कालबाट आधुनिकतातर्फ सङ्क्रमणको सङ्केत देखाइसकेको थियो । यसै अवस्थामा १९९३ कार्तिकको ‘शारदा’ मा देवकोटाको प्रथम निबन्ध ‘आषाढको पन्ध्र’ छापियो । यसै निबन्धबाट देवकोटाको निबन्धयात्रा आरम्भ भएको हो । अर्कातिर ‘बर्दाहामा शिकार’ लाई कतिपय समालोचकले निबन्ध नभनेर कथा पनि भनेका छन् र स्वयम् समले पनि यसलाई कथा नै भनेका छन् । यसरी हेर्दा देवकोटाको निबन्धयात्राको यस थालनीसँगै नेपाली निबन्धले आधुनिकताको बाटो स्पष्ट रूपमा अँगालेको देखिन्छ । १९९५ सम्म आइपुग्दा ‘शारदा’ मै उनका ‘निन्द्रा’, ‘फूल’, ‘भलाद्मी’ आदि केही निबन्धहरू प्रकाशित भइसकेका थिए । १९९७ मा उनको ‘पहाडी जीवन’ निबन्ध छापियो भने यसपछि १९९८ मा ‘प्रसिद्ध प्रबन्ध संग्रह’ नामक अनूदित निबन्ध सँगालो प्रकाशित भयो । देवकोटाको निबन्धकारितामा यस सँगालोको महत्त्वपूर्ण भूमिका रहेको मानिन्छ । यो सँगालो उनले १९९६ मै अनुवाद गरेर तयार गरिसकेका थिए । यस अनुवादबाट उनी त्यति सन्तुष्ट थिएनन् तापनि यसबाट अनुवाद कलामा उनी कति दक्ष थिए भन्ने कुरा उक्त निबन्धसंग्रह पढ्दा स्वतः थाहा पाइन्छ । यसको मूल प्रबल पक्ष त के हो भने यस अनुवादका सिलसिलामा पनि उनले पाश्चात्य (अङ्ग्रेजी) निबन्धकलाको पर्याप्त ज्ञान सिप थपे । यस समयभित्रै उनी मौलिक सिर्जनामा पनि सक्रिय थिए । यसरी एकै समयमा दुवैतर्फको संलग्नताले उनको निबन्धकला उत्तरोत्तर परिष्कृत बन्दै गएको पाइन्छ । उक्त संग्रहभित्रका दशवटा जति निजात्मक निबन्धहरूको सम्मोहनले उनलाई आत्मपरकतातिर तानेको कुरा समालोचक राजेन्द्र सुवेदीले पनि उल्लेख गरेका छन् ।
२००० सालमा जब उनी भाषानुवाद परिषदमा ७० रुपियाँका (रामलाल अधिकारी ९० रु. भन्छन्) जागिरे लेखक भए उनको जागिर नै लेख्नु र अनुवाद गर्नु भयो । यसले उनको निबन्ध सिर्जनको फाँटलाई झन् उर्बर, फराकिलो र विविधतामय बनाइदियो । पहिले लेखिएका केही निबन्धहरूसहित ३७ वटा निबन्धको बिटोका रूपमा ‘लक्ष्मी निबन्ध संग्रह’ २००२ सालमा प्रकाशित भयो । यही नै उनको निबन्ध सिर्जनका लागि सबैभन्दा उर्बर क्षण थियो । ‘मगज कारखाना’ र ‘मगज कारखानाका उत्पादन’ भनेर उनले क्रमशः भाषानुवाद परिषद र लक्ष्मी निबन्ध संग्रहलाई भनेबाट पनि उनले स्वयम् यो तथ्यलाई प्रकारान्तरबाट स्वीकारेको देखिन्छ । अझ निबन्धगत मूल्यका दृष्टिले देवकोटाको यो निबन्ध संग्रह नेपाली निबन्धकै चरम उपलब्धि मानिन्छ । यसर्थ पनि लक्ष्मी निबन्ध संग्रहका देवकोटा नै सबैभन्दा उर्बर निबन्धकार देवकोटा हुन् ।
यसपछिका र यस कालका ‘लक्ष्मी निबन्ध संग्रह’ भित्र समेटिन नपाएका अठारवटा निबन्धहरू ‘दाडिमको रुखनेर’ नामले राजेन्द्र सुवेदीको सम्पादनमा २०३९ सालमा सँगालोका रूपमा प्रकाशित भए । यी बाहेक उनले केही राजनीति विषयका निबन्ध पनि लेखेका थिए भन्ने चर्चा पाइन्छ । अंग्रेजीमा पनि उनले थुप्रै निबन्धहरू लेखेका छन् । तीमध्ये केही प्रकाशित पनि छन् । देवकोटाका ‘on hearing legends about ownself' को शंकर लामिछानेले नेपालीमा अनुवाद पनि गरेका थिए जो ‘आफ्नो चर्चा आफैंले सुन्दा’ शीर्षकमा २०२२ मा प्रकाशित भएको कुरा उल्लेख गर्दै समालोचक चूडामणि बन्धुले आफ्नो ‘देवकोटा’ ग्रन्थमा देवकोटाका ५३ वटा अंग्रेजी निबन्धको सूची पनि दिएका छन् । यसबाट उनले अंग्रेजीमा पनि धेरै निबन्धहरू लेखेको कुराको पुष्टि हुन्छ ।
यसरी १९९३ को ‘आषाढको पन्ध्र’ बाट आरम्भ भएको देवकोटाको निबन्ध यात्रा लगभग उनको जीवनकालभरि नै अविरल रूपमा अगाडि बढिरह्यो । यसरी हेर्दा लगभग २२ वर्ष लामो निबन्ध साधनामा देवकोटाको संलग्नता रहेको देखिन्छ । देवकोटाको यस निबन्ध साधनाको समग्र समयलाई समालोचक राजेन्द्र सुवेदीले मूलतः २००२ अघि र पछि गरी दुई चरणमा बाँडेका छन् । यसका लागि उनले दिएका आधारहरूमा प्रथम चरणका देवकोटामा बौद्धिकताको अत्यन्त कम प्रयोग, भावनाको उत्ताल तरङ्ग, कल्पनाको उच्छलन, रोमाण्टिक चेतनाका साथै ब्लेकको रहस्यवाद, वर्डस्वर्थको प्रकृतिप्रधान मानवतावाद र जोन कीट्स्को इन्द्रियसम्वेद्य प्रकृतिप्रयोगको पर्याप्त प्रभाव भएको देखाएका छन् भने उत्तरार्धका देवकोटामा जीवनका विसङ्गतिको आलोचना, प्रकृतिको रौद्रपक्षको चित्रण, विद्रौहपूर्ण भावावेग, रोमान्टिक प्रगतिवादतिरको उन्मुखता आदिका अतिरिक्त अन्य ज्ञानविज्ञानका विभिन्न पाटाहरू, जीवनका मूल्य र मान्यताहरू प्रस्तुत गरेका कुराको उल्लेख गरेका छन् । शैलीमा सन्तुलन र परिपक्वता, बौद्धिकता र तार्किकताको मात्रात्मक वृद्धि पनि उत्तरार्धका देवकोटाका निबन्धहरूमा पाइने कुरा समालोचक सुवेदीले ‘दाडिमको रुखनेर’ को भूमिकामा उल्लेख गरेका छन् । यसरी हेर्दा देवकोटाका निबन्धयात्राको पूर्वाद्र्धको ‘लक्ष्मी निबन्ध संग्रह’ र उत्तराद्र्धको ‘दाडिमको रुखनेर’ लाई प्रतिनिधि निबन्ध संग्रहका रूपमा मान्न सकिन्छ ।

३. देवकोटाका निबन्धगत वैशिष्ट्य ः
नेपाली निबन्धमा आधुनिक निबन्धगत मूल्यलाई समग्रतः आात्मसात गर्ने पहिला निबन्धकार देवकोटा नै थिए (मोराश र दराश्रे)। आधुनिक निबन्धका क्षेत्रमा देवकोटा अविजेय नै रहेको कुरा समालोचक चूडामणि बन्धु पनि स्वीकार्छन् । समालोचक सुवेदीले पनि ‘निबन्ध क्षितिजका एकछत्र रथवाही’ भनेर देवकोटालाई देखाएका छन् । त्यसैले लक्ष्मीप्रसाद देवकोटा आधुनिक नेपाली निबन्धका अविजेय प्रतिभा रहेको कुरा निर्विवाद नै छ । नेपाली निबन्धकै सर्वोत्कृष्ट उपलब्धि मानिएको ‘लक्ष्मी निबन्ध संग्रह’ र अर्को ‘दाडिमको रुखनेर’ यी दुई संग्रहमा संकलित निबन्धहरूको मोटामोटी पर्यवेक्षणका आधारमा देवकोटाका केही निबन्धगत विशिष्टताहरू पहिल्याउने जमर्को यस अध्ययनमा गर्ने प्रयास छ ।
निबन्ध भन्नासाथ त्यसमा ‘के’ प्रस्तुत छ र त्यो ‘कसरी’ प्रस्तुत गरिएको छ, यी दुई मूल प्रश्न देखापर्छन् । ‘के’ को सम्बन्ध निबन्धको प्रतिपाद्य वा विषयवस्तु सँग छ भने ‘कसरी’ को सम्बन्ध त्यसको प्रविधि पक्ष अर्थात् शैली–शिल्पसँग छ । यिनै दुई कोणबाट देवकोटाको निबन्धकारितालाई केलाउनुपर्दा तिनलाई विषयवस्तु वा प्रतिपाद्यगत वैशिष्ट्य र शैली–शिल्पगत वैशिष्ट्यका रूपमा विभाजन गरी हेर्न सकिन्छ ।

क. विषयवस्तुप्रतिपाद्यगत वैशिष्ट्यः
देवकोटा स्वयम् आफ्ना निबन्धहरूलाई ‘विभिन्नताका मौजी मसला’को संज्ञा दिन्छन् । यो विभिन्नता मूलतः उनका निबन्धको विषयवस्तुमा पर्याप्त मात्रामा पाउन सकिन्छ । अर्थात् विषयगत विविधता भन्नु नै उनको ‘विभिन्नता’ हो ।
देवकोटाका निबन्धको आधारभूमि प्रकृति हो । मूलतः उनले प्रकृतिका तीन स्वरूपलाई आफ्ना निबन्धमा प्रस्तुत गरेका छन् । सामान्य प्रकृति प्रयोग, इन्द्रिय सम्बेद्य प्रकृति प्रयोग र आत्मसम्बेद्य प्रकृति प्रयोगका रूपमा समालोचक राजेन्द्र सुवेदीले देवकोटाका निबन्धमा प्रयुक्त प्रकृतिको वर्गीकरण गरेका छन् । निबन्धकार देवकोटाको निबन्धयात्राको थालनीमा सामान्य प्रकृति प्रयोग पाइन्छ भने भाषानुवाद परिषद र उत्तरार्धका देवकोटामा क्रमशः प्रकृतिका अन्य दुई रूपको प्रयोग पाउन सकिन्छ । निबन्धमा देवकोटा प्रकृतिका कलकल र झरझरमा रमेका छन् । जीवन फलेफुलेको हेर्न प्रकृतिकै शरणमा जानुपर्छ भन्ने धारणा उनका निबन्धमा पाइन्छ । मूलतः रुसोको ‘प्रकृतितिर फर्क’(back to nature) भन्ने आह्वानको छ्यापछ्याप्ती प्रभाव देवकोटाको प्रकृति चित्रणमा पाउन सकिन्छ । प्रकृति चित्रणबाट उनका कुनै पनि निबन्ध अलग छैनन् । अतः उनका निबन्धको मूल विषय नै प्रकृति र त्यसको पर्यवेक्षण हो ।
देवकोटा आफ्ना निबन्धको विषयवस्तु आफैं बनेका छन् । उनी आफैं भन्छन्–“कहीं म प्रबन्धभित्र आफैं घुसेको छु–व्यक्तित्वको रङ रङाएर आफूलाई चिन्न तथा चिनाउनका लागि ।” साँच्ची नै देवकोटाका निबन्धहरू पढेर हामी स्वयम् देवकोटालाई अनुभव गर्न सक्छौं । उनले भने झैं उनका निबन्धहरूमा उनकै जीवनका उकाली–ओराली र जीवन भोगाइहरू आर्थिक दारिद्र्यले गाँजेको अत्यन्त दारूण परिस्थिति निबन्धका विषयवस्तु बनेका छन् । मेरी शिशु,, सुस्तरी श्वास फेर, आमाको दिल, शिक्षा, निन्द्रा, नेपाली भाषा, धुम्रपानको क्षमाप्रार्थना, कवि हुने धूनमा, मेरो पाल्पा तानसेन यात्रा र अन्य पनि कतिपय निबन्धमा देवकोटाका आत्मानुभवहरू प्रस्तुत भएका छन् । निबन्ध आत्मप्रकाशनको विधा नै भएको हुनाले देवकोटा 'पङ्खफुक्का' भएर आफ्ना निबन्धहरूमा आफैंलाई प्रस्तुत गरेका छन् ।
देवकोटाका निबन्धहरूले विविध विषयसम्बन्धी देवकोटाका निजी मान्यतालाई पनि विषयवस्तु बनाएका छन् । उनले कतिपय निबन्धहरूमा जीवन–जगत् सम्बन्धी आफ्ना मान्यताहरू प्रस्तुत गरेका छन् । उनका कतिपय निबन्धहरू आध्यात्मिक छन् । ‘पाँचोटा चाहिने कुराहरू’ मा उनी वेदान्ती बनेर देखिएका छन् । ईश्वर, आत्मा आदि विषय उनका निबन्धमा प्रशस्त आएका छन् । कतिपय निबन्धमा उनी अध्यात्मवादी, कतै मानवतावादी र कतै रहस्यवादी बनेर देखिएका छन् भने कतिपय निबन्धमा समाजका र जीवनका आलोचक पनि बनेका छन् । प्राचीन आर्य सभ्यताका प्रशंसक र वर्तमान विसङ्गत जीवनका उनी आलोचक छन् । मान्छे मान्छेकै शत्रु भएको, मानवता रुग्ण हुँदै र दुब्लाउँदै गएको अनुभूति उनलाई छ । यस्ता विषयहरूलाई बौद्धिक तर्कभन्दा भावसत्यका आधारमा देखाउने प्रयास उनका निबन्धमा पाइन्छ । उनका धैरै निबन्धमा साहित्यसम्बन्धी मान्यता पनि प्रस्तुत भएका छन् । ‘लक्ष्मी निबन्ध संग्रह’ को भूभिकामा उनी निबन्धसम्बन्धी आफ्ना दृष्टिकोणहरू प्रस्तुत गर्दै भन्छन्–“यो टेविलगफ मात्र हो, शास्त्र होइन, यो एउटा फुर्सदको मनोरञ्जन हो ।” वास्तवमा देवकोटाभन्दा अघि निबन्धको लक्षण र स्वरुप खुट्टिएको पनि थिएन । निबन्धलाई प्रष्ट मार्ग दिने नेपाली भाषाका प्रथम स्रष्टा पनि देवकोटा नै थिए । निबन्ध आत्मपरक हुनुपर्छ– यो उनको मान्यता हो । यस अतिरिक्त उनले साहित्य के हो ? कला के हो ? कला र जीवनको के सम्बन्ध छ ? आदि विषयमा चर्चा गर्दै साहित्यमा बाहिरी सिंगार पटारभन्दा सहज प्राकृत अभिव्यक्ति हुनुपर्छ भन्ने दृष्टिकोण प्रस्तुत गरेका छन् । कला साहित्य हृदयस्पर्शी हुनुपर्छ ,तगण तगणको रगडमा कला जीवन्त बन्न सक्तैन भन्ने मान्यता अगाडि सार्दै परिष्कारवादका विरोधी बनेर देवकोटा आफ्ना निबन्धमा देखिएका छन् ।
देवकोटाका निबन्धमा रुसोको मानवतावादी चिन्तन प्रबल रूपमा आएको छ । त्यसैले उनले आफ्नै प्रकारको ईश्वरसत्ताको प्रतिपादन गरेका छन् । गाउँले प्राकृत पहाडी जीवनमा नै मानवता बाँच्न सक्छ भन्दै आधुनिक सभ्यताको विरोध एवम् आदिम प्राकृतिक जीवनप्रति मोह देखाएका छन् । पूर्वीय संस्कृतिका मूल आदर्शलाई उनले पछ्याएका छन् । पहाडी जीवन, के नेपाल सानो छ ? आदि निबन्धहरू पूर्वीय संस्कृतिका आदर्शहरू प्रस्तुत गरिएका निबन्धहरू हुन् । कविको कल्पना शक्तिलाई उनी ईश्वरीय शक्तिको संज्ञा दिन्छन् –“सृजनाका क्षणमा म पनि एउटा सानो ईश्वर हुँ ।”
साहित्य एवम् साहित्यकारलाई पनि उनका निबन्धले विषयवस्तु छानेका छन् । साहित्यका बारेमा लेखिएका साहित्यसमीक्षामूलक निबन्धहरूमा नेपाली साहित्यमा सर्वश्रेष्ठ पुरुष, पण्डित लेखनाथ पौडेलको विषयमा, नेपाली साहित्य गगनका दुई नक्षत्र, तरुण–तपसी प्रदक्षिणा आदि प्रमुख रहेका छन् । यी विविध विषयबाहेक राष्ट्रियता, देशप्रेम, भाषाप्रेम आदि कुराहरू पनि देवकोटाका निबन्धमा फेला पार्न सकिने विषयहरू हुन् ।

ख. शैली–शिल्पगत वैशिष्ट्य ः
स्वच्छन्दता देवकोटाको शैलीगत वैशिष्ट्य हो । नेपाली कवितामा रोमाण्टिक कविका रूपमा प्रसिद्धि पाएका देवाकोटाका निबन्धमा पनि रोमाण्टिक चेत पर्याप्त पाउन सकिन्छ । विषयवस्तु एवं शैली–शिल्प दुवै क्षेत्रबाट रुमानी कवि देवकोटा नै निबन्धमा पनि पोखिएका छन् । अतः भन्न सकिन्छ कवि र निबन्धकार देवकोटाको यी दुई विधाबिचको अन्तः सम्बन्धको मूल सूत्र नै यही रोमाण्टिक चेत हो । देवकोटाले आफ्ना निबन्धमा वस्तुमयताभन्दा हार्दिकता, विवेकको नियन्त्रणभन्दा स्वतःस्फूर्तता, बौद्धिकताभन्दा भावुकता, वस्तुको छानबीनभन्दा आत्मप्रकाशनलाई बढी महत्त्व दिएका छन् । निबन्धमा अवचेतनको स्वतःस्फूर्त प्रवाह छ तर बौद्धिक नियन्त्रण पाइन्न । उनी आफ्ना निबन्धलाई विचारशून्य क्षणका रचना मान्दछन् । उनलाई कुनै नियमको बन्देज स्वीकार छैन । परिष्कार परिमार्जनमा उनको विश्वास छैन । उनी भन्छन् –
“अलङ्कार चन्द्रोदयका नियम अनुसार कविता लेख्ने, सिंगारी पटारी राम्रो बन्ने । सचेत अनुकरणबाट सौन्दर्य निकाल्ने मेरा निम्ति रद्दी लेखनदास हुन्... ... म मै जस्तो छु, अरु जस्तो छैन....प्राकृतिक भावमा चले मेरो सच्चा रुप निक्लिहाल्छ । म राम्रो बनाएर देखाउन चाहन्न, आएको कुरा आओस् । ....बनावटी कलाभन्दा प्राकृतिक कला रोचक हुन्छ ......।”
देवकोटा निबन्धमा ‘टेबिलगफको शैली’ रुचाउँछन् । गफको शैलीमा उनलाई रूचि छ । बन्धनमुक्त भएर चुट्किला गफ हाँक्नुपर्छ निबन्धले । निबन्धमा अदृश्य श्रोता हुन्छ, त्यसै श्रोतालाई आफ्ना अनुभव सुनाउँछन् देवकोटा । भनाइमा मौलिकता छ, नवीनता छ । मनका भावलाई व्यक्त गर्न आवश्यक परे नयाँ शब्दको निर्माण गर्ने हुती पनि छ उनमा । रौंचिरा दर्शन, पाण्डित्य प्रदर्शन, बमन वेदान्त, चश्मादार भाषणबाट निबन्धलाई पृथक् पार्न चाहन्छन् उनी । अर्थात् निबन्धमा औपचारिकताको विरोध र अनौपचारिक गफाडी शैलीको आग्रह पाइन्छ । त्यसैले उनको निबन्ध गफाडी हो । ऊ निर्धक्कसँग चुट्किला गफ हाँक्छ ।
देवकोटाका निबन्ध पोथी गद्यमा लेखिएका छन् । मर्द गद्य शुष्क हुन्छ । कोमलता, हार्दिकता, सहजता र मधुरता भाषाका पोथी (कवितात्मक ?) गुण हुन् र उनी निबन्धमा यस्तै पोथी गुण भएको गद्य चाहन्छन् । त्यसैले यी पोथी बान्कीका विशेषता उनको गद्यका निजी विशेषता हुन् ।
देवकोटा आफ्ना निबन्धमा व्यङ्ग्यविनोदी भएर पनि देखिएका छन् । हाइ हाइ अंग्रेजी, कविराजको च्याङ्ग्रे खच्चर, गधा बुद्धिमान् कि गुरु ?, कुम्भकर्ण आदि निबन्धहरूमा हल्का हास्यका साथ व्यङ्ग्यको धारिलो प्रयोग भएको छ ।
उनका निबन्ध कवितात्मक छन् । यसो हुनुको कारण उनी कवि हुनु पनि हो । यसले गर्दा पनि उनका निबन्ध गद्य कविता झैं कवितामय छन् । भाषामा विशिष्ट प्रकारको साङ्गीतिकता पनि छ त्यसैले कवितात्मक गद्यकारिता पनि उनका निबन्धको विशेषता बनेको छ । कतिपय ठाउँमा आफ्ना भावनालाई शब्दले ठीक ठीक व्यक्त गर्न नसक्दा आफैं नयाँ शब्दको सृजना गरेर पनि उनी प्रयोग गर्छन् । देवकोटाकै शब्दमा ‘मानेदार’ भाषा कतिपय ठाउँमा उनका भावनालाई व्यक्त गर्न समर्थ छैन । हल्लन्ते, मगज–चक्करी, बमनवेदान्त जस्ता कैयन नयाँ स्वनिर्मित शब्दको प्रयोग पनि देवकोटाले आफ्ना निबन्धमा गरेका छन् ।

४. उपसंहार ः
नेपाली निबन्धमा देवकोटा भन्नु लगभग सवा दुई दशकको समय हो । नेपाली निबन्धको उर्वर र चहकिलो क्षण पनि अन्ततः यही नै सावित भयो । देवकोटाबाट नेपाली निबन्धले नयाँ भाव र शैली प्राप्त ग¥यो । रुमानी भाव र शैलीलाई आत्मसात गरेर नेपाली आत्मपरक निबन्धले आफ्नो छुट्टै वर्चस्व कायम ग¥यो । निबन्ध के हो ? यो कस्तो हुनुपर्छ ? यसले के प्रस्तुत गर्नुपर्छ जस्ता कुराका सटीक उत्तरहरू देवकोटाका निबन्धभित्र भेट्न सकिन्छ । साथै आत्मपरक निबन्धका क्षेत्रमा अनुपम नमूनाको रूपमा देवकोटाका निबन्धहरू आएका छन् । ‘श्री गणेशाय नमः’ र ‘लक्ष्मी निबन्ध संग्रह’को भूमिकामा प्रस्तुत भएका देवकोटाका निबन्धसम्बन्धी दृष्टिकोणहरूले निबन्धको सैद्धान्तिक स्वरूपलाई स्पष्ट निर्धारण गरेका छन् । यिनै निबन्धगत मूल्य र मान्यतालाई आधार मानेर हेर्ने हो भने देवकोटाका निबन्धहरूलाई र त्यसमा पनि ‘लक्ष्मी निबन्ध संग्रह’ लाई देवकोटाको मात्रै नभई नेपाली निबन्ध साहित्यकै सर्वोत्कृष्ट सिद्धि मान्न हिचकिचाउनु पर्दैन ।
कविताको तुलनामा निबन्ध सिर्जनामा देवकोटाको कलमको गति अलि सुस्तै देखिन्छ तर पनि प्राप्तिका हिसाबले हेर्ने हो भने कवितामा झैं नै निबन्धमा पनि देवकोटा एक अविजेय साधककै रूपमा देखिन्छन् ।

प्रमुख सन्दर्भ सामग्रीहरूः
लक्ष्मीप्रसाद देवकोटा —लक्ष्मी निबन्ध संग्रह ।
राजेन्द्र सुवेदी (सम्पा.)— दाडिमको रुखनेर ।
राजेन्द्र सुवेदी—स्रष्टा सृष्टि : द्रष्टा दृष्टि ।
चूडामणि बन्धु — देवकोटा ।
मोहनराज शर्मा र दयाराम श्रेष्ठ — नेपाली साहित्यको इतिहास ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 12 आसाढ, 2076

लेखकका अन्य रचनाहरु