"स्पन्दनका छालहरू" कृतिमाथि एक चर्चा

- देवीचरण भण्डारी सरोज

भोजपुर जिल्ला दोभाने गविसमा आजभन्दा ५२ वर्षअघि जन्मिएका विमल गिरीको वासस्थान साविक चारपाने २, हाल बिर्तामोड नगरपालिका झापामा रहेको देखिन्छ । ५२ वटा बसन्त पार गर्ने क्रममा उनी अहिले युरोपियन राष्ट्र बेल्जियमको ब्रसेल्समा बस्तै आएका छन् । जीवन जिउनका लागि मात्र हैन, जीवन परिवार, समाज, राष्ट्र र अझ उन्नत सोचका साथ भन्ने हो भने अन्तरराष्ट्रिय जगत्कै लागि पनि हो मानव जीवन । जीवनलाई सार्थक र समाजोपयोगी बनाउने क्रममा यायावर झैँ मान्छे यत्रतत्र विचरण गर्दछ । संसारको फन्को मार्दछ । यही घुमाइको सिलसिलामा उसले आफ्नो सुदूर भविष्य खोज्दछ र निर्दिष्ट गर्दछ आफ्नो गोरेटोलाई । यही गोरेटो पहिल्याउँदै विमल गिरी नेपाली मन मुटु बोकेर सुदूर भविष्यको खोजीमा बेल्जियम पुग्दछन् । विदेशमा बसेर धन कमाउने, सुख सयलमा रमाउने अनि विदेशमा दुःखले आर्जेको पैसाले स्वदेशमा गाडी, बङ्ला जोड्ने र विलासिताको जीवन जिउने औशत मान्छेको स्वभाव हुन्छ र त्यस्तै देखिएको पनि छ । उपरोक्त विषयबाट विमलजी कत्तिको पृथक रहन सक्छन् त्यो त उनका भोलिका क्रियाकलाप र व्यवहारबाट परीक्षण हुने नै छ । निश्चय नै कुनै पनि मान्छेमा आफ्नो जन्मभूमि छाडेर परदेशमा गएर काम गर्नु रहर हुँदैन । यसरी माटो छोडेर डायस्पोरिक जिन्दगी जिउनु कठिन नै हुन्छ । नेपाली मनहरूलाई भत्भती पोल्दछ त्यहाँ । एक किसिमको पीडा, जलन र छट्पटाहट हुन्छ । स्वदेशको याद र गाउँघरको सम्झनाले सताइरहन्छ तथापि मान्छेले नै हो यी सबै कुराको समाना गर्ने । नगरी सुखै छैन । एकैठाउँ बसेर प्रायः मान्छेको जीवनको गुजरा चल्दैन र सकिदैन पनि । नेपालीहरू संसारको जुनसुकै कुनामा पुगे पनि केही न केही रचनात्मक कार्य गरिरहेकै हुन्छन् । यन्त्रमानव झैँ अथवा घडीको काँटा झैँ घुमी मात्र रहँदैनन् । परदेशमा बसी कर्म गरिरहँदा डायस्पोरिक मनहरूलाई झक्झक्याउँछ । संवेदित बनाउँछ । तिनका भावनाहरू पोख्ने गर्दछन् शब्दहरूमा रूपान्तरित गरेर । हो यही उहापोहमा देखा परेका छन् विमल गिरी ‘स्मृतिका छालहरू’ (२०७२) मुक्तक सङ्ग्र्रहमा । गीत, मुक्तक, हाइकु र कवितामा रुचि राख्ने विमलका यसअघि तीन ओटा कृतिहरू प्रकाशित भैसकेका छन् । ‘संझनाका तरेलीहरू’, (गीती सङ्ग्र्रह—२०६६), ‘उपासना (गीती सि डी— २०६५) र ‘गोधूली मन’ (मुक्तक सङ्ग्र्रह—२०६९) । अनेसास (नेपाल च्याप्टर) प्रकाशक रहेको यो मुक्तक सङ्ग्रह कवि विमलले आफ्ना दिवङ्गत पिता छविलाल गिरी र माता लीला गिरीप्रति समर्पण गरेर आफ्ना पितामाताप्रति भक्तिभाव देखाएका छन् । प्रस्तुत कृतिलाई प्रकाशक संस्थाको तर्फबाट सम्वोधन गर्दै यस संस्थाका अध्यक्षले आफ्नो नाम उल्लेख नगरिकनै कृतिकार गिरीका बारेमा यसो भनेका छन्—“स्रष्टाले प्रेम, अनुराग, राजनीति, चेतना, राष्ट्रियता आदि विषयमा मौलिक यथार्थपरक मुक्तकहरू प्रस्तुत कृति मार्फत् प्रस्तुत गर्नु भएको छ । यो नै स्रष्टाको विशेषता पनि हो ।” बेल्जियमका बैजनी विमल भन्दै यस ‘स्पन्दनका छालहरू’ मुक्तक सङ्ग्रहको भूमिका लेखेका छन् रमेश पौडेलले । कृतिका बारेमा रमेशको ठम्याइ यस्तो छ—“सम्झनाका तरेलीहरू, मुक्तक सङ्ग्रह र ‘गोधूलि मन’ मुक्तक सङ्ग्रहको प्रकाशनपछि गिरी तेस्रोे कृति लिएर ‘स्पन्दका छालहरू’ को किनारमा उभिएका छन् यतिखेर । म त्यही किनारको छेउमा साक्षी किनारा बसेको छु— विमल गिरी खाँट्टी मुक्तककार हुन् भन्ने दाबी सहित । हो, विमल गिरीसंग मेरो अक्षरकै चिनजान हो । हामी एकै गाउँका नभए पनि मनका माध्यमबाट एकै ठाउँका हौं । अक्षरको चिनजान दशकौँ पुरानो जस्तो लाग्छ मलाई । विमलले जेजति आकार लिए, म सबै कृतिको साक्षी बसेको छु— उनका कृति मुहार सजाएर । मेरो जस्तो रङग् रहर पाल्ने कलाकार अरु पनि थिए, निरन्तरको साथ मप्रतिको विश्वाश ठान्छु ।”
उल्लेखित भूमिकाबाट थोरै शब्दमा धेरै भनेका छन् र धेरै बुझेका छन् कवि विमललाई रमेश पौड्यालले । अर्का विद्वान् होमनाथ सुवेदीले पनि ‘स्पन्दनका छालहरू’ भित्र डुबुल्की मार्दै मोती टिप्ने प्रयास गरेका छन्— ‘पश्चिम युरोपेली नेपाली डायस्पोरा साहित्यिक मुक्तक’ शीर्षक दिएर स्रष्टा विमल गिरीको लेखकीय वैशिष्ट्यलाई उजागर गर्दै उनी लेख्छन्—“वर्तमान नेपाली साहित्यमा मुक्तक लेखकहरूको धुइरो लागेको छ । तर विमल गिरी मुक्तकको मर्मलाई बुझेर लेख्ने माझिएका मुक्तककार हुन् भन्ने कुराको साक्षी बसेका छन् सङ्ग्रहभित्रका उनका मुक्तकहरू ।” यस भनाइबाट पनि प्रष्ट हुन्छ, विमल गिरी खारिएका र माझिएका मुक्तककार हुन् ।
‘स्रष्टाको कलमबाट’ शीर्षक दिएर विमल आफ्नो कृतिका बारेमा भन्छ— “जिन्दगी भोगाइहरूको भकारी रहेछ । यही भकारीबाट जिन्दगीको लक्ष्यलाई चाल्दै सिँढीहरू उक्लने बहानामा समयले डोहो¥याएका खुशीका पल अनि मनभरि उर्लिरहने स्मृतिका पलहरसँंगै बग्दै जाँदा समयले रोकेको अथवा देखाएको निशानी बेल्जियमको करिब डेढ दशक बसाइको क्रममा जिन्दगीले जे देख्यो, जे सुन्यो,जे महसुस ग¥यो जे भोग्यो ती जम्मै वास्तविकताले मन उधिन्दा जति रसाए अनुभूतिहरू यी सबैसँंग बग्दाबग्दै उर्लिएको यही मनको छाल र छालहरूको निशानी हो मुक्तक सङ्ग्रह—‘स्पन्दनका छालहरू’। उनी अगाडि थप्छन्— “डायस्पोरिक बसाइको व्यस्त समयलाई थोरै उभारी स्पन्दनका यिनै भावात्मक छालहरूलाई एकैछिन रोकेर आफूले सकेको कला र विम्बहरूले रङ्र रोगन गरी फेरि यहाँहरूको मनसम्म बगाउने यत्न गरेको छु मैले— यो सङ्ग्रहभित्र । मेरो कलमको कलिलो टुप्पोलाई थोरै उध्याएर यो विशाल दुनियाँमा बामे सराउँदैछु—अक्षरहरूको बाटो गरेर । यात्रा लामो छ । म घुम्तीमा मोडिदैछु । कहाँ पुग्छु । बाटो अनिश्चित छ । अप्ठ्यारो छ । तैपनि तपाईं साहित्यिक मनहरूको हौसला, प्रेरणा अनि गाली र साथको हात समात्दै एक पाइला अघि सारेको छु— समयको किनारै किनार । थाहा छैन मेरो यो प्रयासले मुक्तकको मर्मलाई कत्तिको आत्मसात् गरेको छ । म यस कृतिलाई सुमसुम्याउनुहुने बुद्धिजीबी पाठकहरूको हातमा सुम्पिन चाहन्छु ।” कविको यो भावना निकै गहन र विचार पनि उदात्त छ । कविलाई शुभकामना दिएकी छन् विदूषी उषा शेरचनले । शुभकामनाका शब्दहरू मार्फत् उषा भन्छिन्—“उहाँका मुक्तकहरूमा माटोबाट टाढा हुनुको पीडाले गर्दा माटोप्रतिको अगाध प्रेम भेट्टाउँछु । र, सामाजिक विकृति र विसङ्गतिप्रति प्रहार गरेको देख्छु । आफ्नासँग टाढा हुनु परेको पीडाले गर्दा प्रेम र वियोगका पीडाहरू पाउँछु । यसरी आशा र निराशाको झोलुङ्गे पुलमा बसेर मनका भाव र पीडाका सुस्केराहरू समेटेर मुक्तक सिर्जना गर्ने मुक्तककार विमल गिरी भाइको मुक्तक सङ्ग्रह प्रकाशन हुन लागेकोमा लाखौँलाख वधाई एवम् शुभकामना” । कृति चिनारीका क्रममा कवि तथा कृतिका बारेमा आफ्ना भावना पोख्ने विद्वान् विदूषीहरूका भनाइहरू साह्रै मन छुने तथा उच्च मूल्य बोध गर्ने प्रकृतिका छन् । उपरोक्त तीनैजना महानुभावका विश्लेषणबाट विमल गिरीको मुक्तकीय व्यक्तित्व ‘स्पन्दनका छालहरू’ भित्र कसरी छचल्किएका रहेछन् भन्ने कुरा सजिलै बुझ्न सकिन्छ । घर छाडेर परदेसिएपछि कहाँ ढुक्कले बस्न सकिँदो रहेछ र त्यहाँ । माटोको मायाँ, घर परिवारको मायाँ, साथीसङ्गीको मायाँ, आफू जन्मी हुर्की खेल कुद गरेको माटो र ढुङगा, आफूले मान्दै र मनाउँदै आएका चाडपर्वहरू विश्वको जुनसुकै कुनामा बसे पनि मनभरि, मष्तिष्कभरि र आँखाभरिभरि झल्झली आउँदो रहेछ चलचित्रका दृश्यहरू जस्तै गरी । जन्मभूमिमा देखिएका विकृति, विसङ्गति, अन्याय, अत्याचार, शोषण, दमन र बेथिती आदिले कवि हृदयलाई घोच्तो रहेछ । पोल्दो रहेछ । सपनामा पनि ऐठन हुँदो रहेछ । तब त आफ्ना सिर्जनाहरूमा त्यसप्रति व्यङ्ग्य प्रहार गर्दा रहेछन् सर्जकहरू । विमल गिरीले पनि ‘स्पन्दनका छालहरू’ मा सशक्त ढङ्गले उपरोक्त कुराहरू माथि प्रहार गरेका छन् । घर छोडेर परदेसिँदाको पीडाबोध गर्दै— ‘आमाको आँसु धाराले’ शीर्षकको मुक्तकमा लेख्छन्ः
आमाको आँसु धाराले घरतिर बोलाउँछ मलाई
अभावको ज्वालामुखीले फेरी फुटाउँछ मलाई
रहरले को परदेशी बन्छ र ? परदेशमा भए पनि
माटोको सुगन्धले पलपल झस्काउँछ मलाई ।
विमल प्रेमिल मुक्तक लेख्न पनि खप्पिस छन् । ‘जून माथितिर सर्दासर्दै‘’ शीर्षकको मुक्तक आफ्नी प्रेमिकालाई पराइले सिंदुर भर्दै गरेको देखेर कवि भावुक बन्दै यसरी रुन पुग्छन्—
जून माथितिर सर्दासर्दै उनलाई देखेर रोएँ
पारी उज्यालो झर्दा नझर्दै उनलाई देखेर रोएँ
जिन्दगी तिमी हौ भन्थिन् कुनै दिन मलाई
पराइले सिन्दुर भर्दाभर्दै उनलाई देखेर रोएँ ।
राजधानीमा बसेर कालो धन कमाउने, गरिब दुःखीको बस्तीहरूमा सँधै अभाव र पीर मात्र दिने, देश जलाएर रमाउने अनि सँधै हैकम मात्र जमाउने ठुलाठालुहरूलाई कवि विमल यसरी लल्कार्छन्— ‘देश जलाई त्यै रापमा ‘ शीर्षकको मुक्तकमा—
देश जलाई त्यै रापमा रमाउँछस् कहिलेसम्म ?
गरिबमारा त्यो कालो धन कमाउँछस् कहिलेसम्म ?
मेरा जम्मै बस्तीहरूमा अभाव र पीर पठाएर
राजधानी तँ सँधै हैकम जमाउँछस् कहिलेसम्म ?
जतिसुकै समस्या वा व्यवधान आइपरे पनि त्यसको सामना गर्नु पर्छ । छातीभित्र जतिसुकै पीडा होस् वा आँखामा आँसु होस् । सबै कुरा सहँदै बाँच्न सक्नु नै जीवन हो, जिन्दगी हो भन्ने भाव समेट्तै ‘ब्यथा खप्तै’ शीर्षकको मुक्तकमा कवि लेख्छन्—
ब्यथा खप्तै काँडा माथि नाँच्न सक्नु पर्छ
मुटु भित्र देशको माया साँच्न सक्नु पर्छ
आँखाभरि हिउँ हुन्छ छातीभरि आगो
जिन्दगी हो यसरी नि बाँच्न सक्नु पर्छ ।
‘माटोलाई केही दिन मन छ’ शीर्षकको मुक्तकमा कविको देशप्रेम र देशभक्तिको भावना मुखरित भएको देख्न सकिन्छ—
माटोलाई केही दिन मन छ माटोसँग माग्ने छैन
बाँचुञ्जेल देश भुलेर अन्त कतै लाग्ने छैन
एक न एक दिन चिताको बुई चढ्नै पर्छ आखिर
मेरो यो देश बाँच्छ भने मृत्युसँग भाग्ने छैन ।
मुक्तककार विमल विरहका मुक्तक लेख्न पनि सिपालु छन् । आफ्नो खसम परदेसिएपछि एक्ली बनेकी गृहिणीको वेदना पीडा र मनोदशालाई सटिक ढंगले सजीबरूपमा उतारेका छन् ‘आफ्नै छायाँले’ शीर्षकको मुक्तकमा—
आफ्नै छायाँले कतै बसाइँ सराएजस्तै भाकी छु
पूर्णेको जूनमा कालो बादल लाएजस्तै भाकी छु
मेरो चाल मेरो भरोसा मेरो लक्ष्य तिमी हराएपछि
आफ्नै जिन्दगीदेखि आफै हराएजस्तै भाकी छु ।
मुक्तककार गिरीका मुक्तकमा कलात्मकता, भावगाम्भीर्य, शब्दसुसंगठन तथा सामाजिक चेत बडो सरल र सुन्दर ढङ्गले प्रस्तुत भएको पाइन्छ । थोरैमा धेरै भन्न सक्नु अर्थात् ढोकाको च्यापबाट हेरेर संसार देख्नु मुक्तकको विशेषता हो । चार पङ्तिको शब्दसंरचनामा बाँधिएको मुक्तक कविताको सूक्ष्म रूप हो भन्न सकिन्छ । एकै निमेशमा पढ्न सकिने, पढ्न झन्झट नलाग्ने, समय किफायती हुने हुँदा मुक्तक पढ्ने वा वाचन गर्ने रुचि हुन्छ पाठकहरूमा । समसामयिकता, देशप्रेम, विकृति, विसंगतिमाथि प्रहार, युगीन चेतना, प्रेम, विरह, पीडा, आक्रोश मात्र छैनन् कवि विमल गिरीका मुक्तकभित्र सामाजिक संदेश, मातृभूमिप्रतिको कर्तब्यवोध र आशावादिता पनि पाइन्छ गिरीका मुक्तकभित्र छिरेर हेर्दा । श्रृंगारिकता भित्र पनि उनी विरह र वियोगी भावनाको पटाक्षेप गर्दछन् शब्दका सुन्दर बान्कीहरूद्वारा । हेरौँ यो ‘एक्लै श्रृङ्गारिदै’ शीर्षकको मुक्तक—
एक्लै श्रृङ्गारिदै पहिरन फेरिरहन्छु अचेल
किनारका छालहरूसँग बेरिरहन्छु अचेल
दुःखमा गुहार सुखमा निम्ता बाँड्नेहरू छैनन्
तिमी विदेसिएको गोरेटो हेरिरहन्छु अचेल
समभावको ‘कहिले जूनको’ शीर्षकको अर्को नमूना पनि हेर्न लायक छ—
कहिले जूनको उजेलो हेरी तस्वीर छुन मन लाग्छ
कहिले विगतका सग्ला दुःख सम्झी रुन मन लाग्छ
जीवनका अनेक यात्राहरूमा कहिल्यै ओझेल नहुने गरी
कहिले पत्रैपत्र अक्षरमा अभिव्यक्त हुन मन लाग्छ ।
समग्रमा मुक्तक लेखन त्यति सजिलो छैन । त्यसो त साहित्यका कुनै पनि विधामा कलम चलाउन कहाँ सजिलो हुन्छ र ? जे भए पनि कवि विमल गिरीको कलम नेपाली साहित्यको मुक्तकका क्षेत्रमा सशक्त भएर चलेको छ । आफूले देखेका, भोगेका र अनुभवले सिकाएका हरेक विषयवस्तुहरूलाई टपक्क टिपेर सटिक ढङ्गले ट्वाक्क लाग्ने गरी कालीगढले कुनै चित्र कलात्मक ढङ्गले सजाए झैँ कवि विमल शब्दहरूको कलात्मक संयोजनद्वरा सजाउँछन् आफ्ना मुक्तकहरूलाई । आउने दिनहरूमा अझ माझिएका र खरिएका नयाँनयाँ साहित्यिक स्वादहरू लिएर आउन कवि विमल गिरीलाई सफलता मिल्न सक्ने आशा गरिन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 31 जेठ, 2076

लेखकका अन्य रचनाहरु