प्राकृतिक निश्छलता र प्रगतिशीलताका दोभानः विजयराज आचार्य

- महेश पौड्याल

नेपाली बालसाहित्यको फाँटमा विजाराज आचार्य एउटा सुपरिचित तथा चर्चित नाम हो । मौलिक लेखनका अतिरिक्त बालासाहित्य र प्रौढ साहित्य दुवैको प्रकाशन र व्यस्थापन क्षेत्रमा पनि क्रिायशील सर्जक आचार्यका रचना नेपालीका अतिरिक्त अङ्ग्रेजी भाषामा पनि प्रकाशित छन् । सिर्जना र व्यवस्थापनसँगसँगै उनको विभिन्न साहित्यक संस्थाहरूमा सक्रिय रहेर तिनको नेतृत्व पनि गरेका छन् । उनले सम्पादक र अनुवादकका रूपमा पनि विशिष्ट पहिचान बनाइसकेको छन्, उद्यपि, उनको सर्जक व्यक्तित्व उनका अन्य व्यक्तित्वभन्दा बढी लोकप्रिय, परिचित र विशिष्ट छ ।
सर्जक विजयराज आचार्यको जन्म २०३३ साल, माघ ९ गतेका दिन प्युठान जिल्ल्लाको तात्कालीक दाङवाङ गाविस, वडा नम्बर ८ मा भएको हो । आमा मनकला र बाबा पीताम्बरका छोरा विजय सानैदेखि साहित्यमा रुची राख्थे र सिर्जनाकर्ममा रमाउँथे । उनको सिर्जनामा भेटिने गाउँले जीवनको झल्को, गरिबीको कहर, अन्धविश्वासको बाक्लो जालो, संघर्षका कथा, छुवाछुत र भेदभावको फेहरिस्त आदि कुरा पढ्दा थाह हुन्छ, उनको मनोविज्ञान र चेतनापटमा गाउँ कति गहिरो छाप लिएको बसेको छ । त्यही गाउँ, त्यही प्रकृति र त्यही सादा जीवनको प्रभावले उनलाई साहित्य लेखनतिर प्रवृत्त पारेको हो भन्ने कुराको अनुमान सहजै लगाउन सकिन्छ ।
गाउँमै स्कुली शिक्षा पूरा गरिसेकेपछि विजयराज आचार्य आफ्ना साहित्यिक र शैक्षिक सपनाहरूलाई एउटा सार्थक बाटो दिने उद्देश्यले काठमाडौँ छिरे । हाल उनी काठमाडौँको टौदहमा आफ्नै घरमा सपरिवार बस्छन् । उनी सहर छिरे, तर लाग्छ, उनीभित्र सहर छिरेन । उही सरल स्वभाव, उनी स्वाभाविक लेखक, उनी मृदु अनुभूति उनको व्यक्तित्वको अमेट पाटाहरू बनेर आज पनि अक्षुण्ण छन् ।
विजयराज आचार्य प्युठानबाट काठमाडौँ छिर्दा एक स्वप्नग्राही तर अपरिचित किशोरको रूपमा छिरेका थिए भने आज उनले आफैँलाई एउटा अब्बल दर्जाको बालसाहित्यकारको रूपमा स्थापित गराइसकेका छन् । नेपाली बालसाहित्यमा सम्भवतः सबैभन्दा ठूलो सङ्ख्यामा पुस्तक प्रकाशित गर्ने साहित्यकारहरूमध्येका एक हुन् विजयराज आचार्य ।
पत्रकारितामा स्नातकोत्तर गरिसकेको र कलेज शिक्षणको अनुभवसमेत सँगालिसकेका लेखक आचार्य आफ्नो लेखनमा गाम्बेसीको प्रसङ्ग र बिम्बमार्फत् नेपाली बालबालिकालाई तार्किकता, वैज्ञानिकता र प्रगतिशीलताको अलोकतिर डो¥याउने प्रयास गरिरहेका भेटिन्छन् । बालसाहित्य नै किन नहोस्, त्यो फगत मनोरञ्जन अथवा स्वान्त सुखाय हुनुपर्छ भन्ने मतको उनी बर्खिलाफ छन् । उनी सनैदेखि बालबालिकालाई अन्ध विश्वास, अन्याय र अत्याचार, विभेद, छुवाछुत र दलनको विपक्षमा सचेत बनाउनुपर्छ भन्ने मतका पक्षधर हुन् । परिवारमा मेलमिलाप, बृद्ध बाआमा तथा हजुरबा–हजुरआमाप्रतिको प्रेम, समस्यामा रहेका समवयी साथीहरूलाई माया र सहयोग, राष्ट्र र प्रकृतिको माया, वन्यजन्तु, घर पालुवा जन्तु र चराचुरुङ्गीप्रतिको माया आदि विषय उनको बालसाहत्यिको अन्तर्यका कुरा हुन् । उनी किशोरहरूको बद्लँदो मनोवृत्ति र दिनचर्यामा पनि चासो राख्छन्, र उनीहरूलाई पनि सकारात्मक सन्देशमार्फत् परिवर्तन गर्नुपर्छ भन्ने हेतुले कथाहरू लेखिरहन्छन् । उनका कथा, उपन्यास, जीवनी र चित्रकथाहरू यस्तै सकारात्मक संदेशका संवाहक हुन् ।
आचार्यका प्रकाशित कृतिहरूको फेहरिस्त निकै लामो छ । उनका लोकप्रिय बालसाहत्यका कृतिहरूमा शान्तिको आत्मकथा, झमककुमारी, चौध चम्किला कोपिला, नयाँ बस्ती, केवलपुरे किसान, हाम्रो आवाज, उज्यालोको खोजीमा परिवर्तन, श्यामप्रसाद, चितुवासँग जम्काभेट, शान्तिया नुगःया बाँख, अग्रज स्रष्टाहरू, बाटुली, हाम्रा आस्थाहरू, काढेँ दुम्सी, कोक्ले क्याँक ! कोकले, म त स्कुल जान्नँ (सचित्र बालकथा), रमाइलो स्कुल (सचित्र बालकथा) आआफ्नो सुर (सचित्र बालकथा), बुबाको माया, हजुरआमाको माया छोरीको माया, आमाको माया, छट्टु चङ्खे, पाप पखाल्ने गङ्गा, बुधनी, जेनिसको जन्मदिन, स्मार्ट घर, गुड नाइट, रङ्गीन विष, आकाश ओढ्ने जिन्दगी, पग्लिएको धर्ती आदि सामेल छन् । रातकी रानी उनको पहिलो प्रकाशित हाइकु सङ्ग्रह हो । उनले थुप्रै प्रनिनिधिमूलक कृतिहरूको सम्पादन पनि गरेका छन्, जसमा प्रतिनिधि बालनाटकहरू, प्रतिनिधि बालकथाहरू, प्रतिनिधि बालकथाहरू, विश्वका बालकथा (भाग–२), नव प्रतिभा (बाल मासिक पत्रिका), हाम्रो बालबगैँचा (मासिक बाल पत्रिका), प्रतिनिधि बालनाटकहरू, विश्वका बालकथा (भाग–२) आदि सामेल छन् ।
वजयराज आचार्य एक कुशल अनुवादक पनि हुन् । उनका अनुवाद कृतिहरूमा, बालबगैँचा (बालकथा सङ्ग्रह), एउटा नयाँ पुलको निर्माण, खरायोको पुच्छर किन छोटो भयो ? कृतज्ञ बाघ, डल्फिनको रमाइलो कथाविश्वप्रसिद्ध लोक कथाहरू १ , विश्वप्रसिद्ध लोक कथाहरू २, विश्वप्रसिद्ध लोक कथाहरू ३, विश्वप्रसिद्ध लोक कथाहरू ४, हितोपदेशका कथाहरू (भाग १), हितोपदेशका कथाहरू (भाग २) प्रसिद्ध चिनियाँ बालकथासङ्ग्रह (खण्ड–१), प्रसिद्ध चिनियाँ बालकथासङ्ग्रह (खण्ड–२), प्रसिद्ध चिनियाँ बालकथासङ्ग्रह (खण्ड–३), विश्व प्रसिद्ध बालकथासङ्ग्रह (खण्ड–६), विश्व प्रसिद्ध बालकथा (खण्ड–७), रमाइला चिनियाँ बालकथा, लियो टाल्सटायका उत्कृष्ट बालनाटक पञ्चतन्त्रका रमाइला कथाहरू विश्व प्रसिद्ध जापानी लोककथाहरू, सफलताका सय सूत्र, परी, अन्धी केटी र श्याल, रमाइला चिनियाँ बालकथा (भाग–२), आँटी पुतली, मामा घर आदि सामेल छन् ।
अचार्य विभिन्न साहित्य संघसंस्थासँग पनि संलग्नता रहेका छन् । उनी शुभकामना एकेडेमी, कीर्तिपुरका पूर्व अध्यक्ष तथा हालका प्रिन्सिपल हुन् भने विवेक सिर्जनशील प्रकाशनका प्रमुख कार्यकारी अधिकृत पनि हुन् । यसका अतिरिक्त उनी रमेश विकल साहित्य प्रतिष्ठानका आजीवन सदस्य, नेपाल बालसाहित्य समाजका आजीवन सदस्य, प्रगतिशील लेखक सङ्घका पूर्व केन्द्रीय कोषाध्यक्ष, मध्य पश्चिमाञ्चल साहित्य परिषद्का पूर्व सचिव, बालवाङ्मय तथा अनुसन्धान केन्द्रका महासचिव, तथा श्री पीताम्बर मनकला स्मृति कोषका आजीवन सदस्य पनि हुन् ।
सर्जक विजयराज आचायले आफ्नो योगदानका लागि सर्वोत्कृष्ट बालसाहित्य पुरस्कार २०६० (नेवासास), पुस्कर गौतम बालसाहित्य पुरस्कार–२०६७, ‘बुबाको माया’ कृतिको लागि २०७० मा पारिजात सर्वोत्कृष्ट बालसाहित्य पाण्डुलिपि पुरस्कार, राप्ती साहित्य परिषद्द्वारा प्रदान गरिएका दिलसरी–दल अतिरिक्त पुरस्कार–२०७१, तथा पहिलो प्रकाशित कृति ‘शान्तिको आत्मकथा’ (२०५८) का लागि पवनि उत्कृष्ट पुस्तक को पुरस्कार जितिसकेको छन् ।
यी तमाम आयाम र जिम्मेवारीमा फैलिएको विजयराज आचार्यको लेखकीय व्यक्तित्व बहुआयामिक देखिन्छ । तर यी सबै आयामहरूमा उनको सक्रियतालाई जोड्ने एकसूत्रीय चिन्तन भनेको प्रगतिशीलताको हो, जसलाई उनले जीवनका कुनै मोडमा पनि विसर्जन गरेनन् । उनको लेखनको अन्तर्यमा सकारात्मक परिवर्तनको हुटहुटी छ, र उनी विश्वास गर्छन्, यस दिशामा हामीले हाम्रा बालबालिकालाई आजैदेखि प्रवृत्त गराउनु जरुरी छ । उनीसँग बालबालिकालाई सहजै स्पर्श गर्न सक्ने भाषा र शैली छन्, र एउटा संवेदनशील र बालमैत्री हृदय छ । उनीभित्र सदैव बाँचिरहने त्यसै बालहृलयले उनलाई बालसाहित्यको क्षेत्रमा स्थापित गराएको छ । उनको बालसाहित्य पठनीय छ, र बालबालिका लागि अनिवार्य खुराक हो भन्दा पनि अत्युक्ति हुँदैन । देशविदेश भ्रमण गर्न र अनुभूतिहरूको जगमा उभिएर लेख्न मन पराउने आचार्यको साहित्य, त्यसैले पनि जीवनको निकट छ, हृदयको निकट छ, र स्वाभाविक छ । मूल रूपमा उनी यथार्थ र स्वाभाविकताका लेखक हुन् ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 31 जेठ, 2076

लेखकका अन्य रचनाहरु