एलियन

- अर्जुन थापा

“तेरो लोग्नेको कुरा सुन्दा डाह लागेर आउँछ । कस्तो जेन्टल, गुड लुकिङ र तेरो हरेक कुरामा ध्यान दिन्छ । हिजो पार्टीमा सबैको नजर तेरो लोग्नेमा नै थियो ।” स्नेग्धाले इष्र्यालु नजरमा कवितालाई भन्छे ।
“तेरो लोग्ने पनि कम र नि ।” हाँस्दै उनको साथी भन्छिन् ।
“देखिनस हिजो पार्टीमा ? खानै नपाको जस्तो मासु आएको । अझ रक्सी कति पिएको
हो । सबै आफन्तको अगाडी लाजै मर्दो भयो । तँलाई के थाहा, माइतीमा बिहान देखि पुजा पाठ चल्छ । सबै भक्तिमा लागेका छन् । तर मासु नभई तेरो माइती जादिन भन्छ लोग्ने भनाउदो । अरु त छाड्दे, श्रावण महिनामा माइतीमा पुरै चोखो पाक्ने घरमा ज्वाई मासुमा लुब्दो छ भनेर मनै नलागी भएतापनि मासु पकाउनु परेको थियोे । हदै भएर अचेल माइतीमा लानै छाडे मैले लोग्नेलाई । आज बिहान त साहै्र झोक चल्यो, चिया खान बसेको बेला भनि दिएँ मैले । पनि “खुब मेरो छोरा असल भन्छौ । हिजो मेरो एक से एक आफन्तका अगाडी खानै नपाको जस्तो गरेर तिम्रो छोरोले मासु खाएर मेरो इज्जत गयो भनेर । कोही बोल्न सकेनन् । नसुनेको जस्तो गरेर भित्र पसिन रातो मुख पारेर सासु । क्या आनन्द आयो भने कुरा छाड्दे ।” हाँस्दै भन्छे स्नेग्धा ।
“कसैलाई माछा मासु मन पर्छ । तर यसको अर्थ यो होइनकी मासु नै नभई भुजा खान नसक्ने । मासु नपाकी तेरो घर जान्न भन्ने र धेरै खाने खालको त कतैबाट लाग्दैन मलाई तेरो बुढा । हिजो पार्टीमा मलाई कतै पनि त्यस्तो लागेन कि तेरो इज्जत नै जाने गरी धेरै मासु खाको र रक्सी पिएको । तेरो लोग्नेको साथी मेरो पनि साथी हो । खोई कसैले त्यस्तो केही भनेको सुनेको छैन त ! लोभी, अरुको पाए सम्म धुँतु, मासुको लागि इज्जत नै फाल्छ भनेर कहिल्यै सुनेको छैन । ल मानौं, त्यस्तै खत्तमै तेरो लोग्ने भएतापनि त्यसलाई सुधार गर्न तिर जाने कि उल्टै सानो कुरालाई ठूलो बनाएर आफ्नै लोग्नेको बेइज्जत गर्दै हिँड्ने । त्यो सासुलाई कस्तो लाग्यो होला तँैले त्यसरी भन्दा ? अचम्म लाग्यो मलाई तेरो कुरा सुन्दा आज ।” सिरियस भएर भन्छिन् साथी ।
“तँलाई के थाहा मेरो लोग्ने भनाउँदो । सोझै भनि दिन्छु म उसलाई तिमीहरु अर्कै ग्रहबाट आएका एलियनहरु हौ भनेर । मान्छेमा हुनुपर्ने एउटै गुण नै छैन भनेर । त मेरो ठाउँमा भएको भए चौबिस घण्टामा नै हिँडी सक्ने थिइस ।” झोक्किदै भन्छे स्नेग्धा ।
“तैँले बुझ्ने कोशिस नगरेको मात्र हो । हरेक कुरा मेरो अनुरुप चल्नु पर्छ र मैले भनेकै जस्तो हुनुपर्छ भन्यो भने त कहिल्यै खुशी हुन सक्दिनस । सबै मान्छेमा केही न केही अवगुण हुन्छ । जसलाई मिलेर कम गर्दै जाने हो न कि त्यही कुरालाई पहाड बनाएर हिँड्ने । आफुलाई सुधार गर्न सकिनस भने कहिल्यै खुशी हुन सक्दिनस ।” सम्झाउँदै भन्छे साथी ।
“त मेरी साथी भएर र एउटा नारी भएर पनि ...” भन्दै उठेर हिँडीदिन्छे स्नेग्धा ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 31 जेठ, 2076

लेखकका अन्य रचनाहरु