खनियाको रूख र रोगी वर्तमान

- कबिन बस्नेत

जब-जब
जीवनको चौतारीमा बसेर
अनायास यि आँखाहरू टोलाउन थाल्दछन्
कुनै अज्ञात, अपरिमेय, अक्षुण्ण सुखको परिकल्पना गर्दै
म हतार-हतार कोरिदिन्छु आफ्नै वरिपरि
एउटा लक्ष्मणरेखा - सन्तुष्टिको नाउँमा ।

तर, मेरो विगत
झक्झकाउदै सोधिरहेको हुन्छ मसँग
त्यो सन्तुष्टिको परिभाषा,
तर, मेरो विगतले
मानौं मै विरूद्ध रङ्ग भरिसकेको हुन्छ
स्मृतिको क्यानभासमा
घामको स्वागतमा मुस्काउँदै सूर्यमुखी झुलेझैं
प्रष्टिसकेको हुन्छ मेरो अघिल्तिर - मेरो शैशवकाल ।
र , क्रमश: प्रष्टिदै जान्छ,
एउटा खनियाको रूख ।

म हेरिरहेछु -
त्यो खनियाको रूखको सिँयालमा
जराहरुबीच कोमल औंलाहरुले
एकजना बालक टिपिरहेछ
खनियाका दुधिला दानाहरु
केही पाकेका , केही काँचा
कट्टुका दुवै खल्तीहरू भरिएपछि
अचानक, ऊ दौडिदै छेउको कुलोनेर आईपुग्छ
र, दानाहरु पखालेर खाँदै
चोपीलो हातले
कुलोको पानीमाथि एउटा कविता लेख्छ ।

नोष्टाल्जियाका घाऊहरुले प्रताडित
मेरो रोगी वर्तमान
खनियाको रूखसँग मलम मागिरहेछ ।
जीवनको बहिखातामा
केही खुसीका तरङ्गहरू उधारो थापिरहेछ ।
रोगी वर्तमानको विडम्बना
उफ्! खनियाको रूख कस्तरी नाङ्गिएछ
मानौं मरिसकेछ
समयको क्रस-फायरमा एउटा निर्थक मृत्यु ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 31 जेठ, 2076

लेखकका अन्य रचनाहरु