नेपाली कवितामा डा. भोज गुरूङको उपस्थिति

- नवीन पौड्याल

नेपाली कविताको फाँटमा नयाँ नयाँ ढाँचा स्वरूप देखा पर्छन्। कविता दिनदिनै मानिसहरूको नजिक नजिक बन्दै आएको छ, बोलिदिने माउथपिस बनेको छ। कविता अब पढिने, अभिनय गरिने, वाचन गरिने, हेरिने वस्तु बनेको छ। कविहरूको सङ्ख्या बढ्दैछ, पाठकको सङ्ख्या बढ्दैछ, कवितामा रूचि लिनेको सङख्या बढ्दैछ। कविताको विकल्प छैन। मान्छेको भाव र विचारलाई कविताले जस्तो अरू कुनै विधा र कुराले समेटेर अभिव्यक्ति दिन सक्दैन। कविताको जस्तो अभिव्यक्तिगत सशक्तता, स्वगतकथनात्मक स्वतञ्त्रता अरूबाट व्यक्त हुनसक्दैन। यसको भविष्य आशाप्रद छ।
संस्कृत साहित्यमा कवि भोजको मह्त्वपूर्ण स्थान छ। उनी आफैं राजा भए पनि एक खगोलशास्त्र, कला, भवन निर्माणशास्त्र, औषधीशास्त्रका लेखक थिए। अझ उनले साहित्यिक लक्षणशास्त्र र कविता लेखेका थिए। नेपाली साहित्यमा पनि अब कवि भोज देखा परेका छन्। हुन असमका कवि भोजकुमार छेत्री पनि कवितामा सक्रिय रूपमा देखिन्छन्। मङ्पुमा जन्म लिएका भोजबहादुर गुरूङको जन्म सन् २ नवम्बर १९७५ मा पिता स्व सन्तबहादुर गुरूङ र माता अमृता गुरूखो कोखबाट भएको हो। मङ्पु प्राथमिक पाठशाला र सरस्वती उतच्चतर माध्यमिक विद्यालयवबाट क्रमैले प्राथमितक र दशौं श्रेणी र खरसाङको पुष्परानी उच्चतर माध्यमिक विद्याबाट बाह्रौ श्रेणी अध्ययन गरेपछि दार्जिलिङ सरकारी कलेजबाट रसायन विषयमा अनर्स सम्पात गरी उत्तर बंगाल विश्वविद्यालयबाट आफ्नो अध्ययन क्रमलाई बढाएर विज्ञानको रसायन शास्त्रमा स्नातकोत्तर र विद्यावारिधि गरेका हुन्। रसायन शास्त्रमा उच्च शिक्षा हासिल गरे तापनि उनको हृदय भने साहित्यिक रसमा रसायन भएको पाउँछौं। उनी एक सफल कवि र नेपाली भाषा साहित्यप्रति समर्पित व्यक्तित्व हुन्। उनले आफ्ना साथीहरूसित मिलेर द्विभाषिक हिमालय रिसर्च जर्नलको कुशल सम्पादन गर्दै आएका हुन्। यसका साथै आफ्नो थलो मङ्पुमा विश्वकवि रबिन्द्रनाथ ठाकुरको आगमन, घरिघरिको बसाई र मङ्पुमा उनको साहित्यिक, सामाजिक गतिविधिबारे गहन अध्ययन र अनुसन्धान गरेर मङ्पु र टैगोर भन्ने ग्रन्थ तयार प्रकाशित गरेका छन्।
कविता कस्तो हुनुपर्छ? भन्ने कुरामा एकमत पाइन्न। कविताबारे जति लेखे पनि थोरै हुन्छ। कविले सिर्जना गरेको कविता हो र यो स्वयं एउटा संरचना हो। संस्कृत र पाश्चात्य साहित्यमा कवि र कविताको ठुलो महत्त्व र महिमाको वर्णन गरिएको पाइन्छ। कवितामा आदि मध्य र अन्त्यको निर्वाह भएको हुन्छ। कविताको शीर्षकदेखि लिएर टुङ्ग्याउऩीसम्म सुगठित हुन्छ। शीर्षक ले नै कविताको मूल कथ्य, भाव र वस्तुलाई सङ्केत गरेको हुन्छ। कविता विधाको आयतन सबैभन्दा ठुलो हुन्छ। यो एक हरफेदेखि लिएर लाखौं हरफेसम्मको आयतनको हुनसक्छ। यसका विभिन्न हाँगाबिँगा हुन्छन्। कविताको सबैभन्दा बढी वर्गीकरण भएको पाइन्छ। सामान्य रूपमा कवितालाई प्रबन्धकाव्य, कोशकाव्य र फूटकर काव्य भनेर वर्गीकरण गरिएको छ। प्रबन्धकाव्यभित्र महाकाव्य र खण्ड-काव्य पर्दछन्। फूटकर कविताका आयतन पनि लामा छोटा हुन्छन्। युग्मक, मुक्तक, गीत, गजल, रूबाइ, हाइकु आदि पनि कविताकै परिधिमा पर्दछन्। कविताको संरचनात्मक आधारमा हेर्दा कविता प्रगीतात्मक, आख्याना-त्मक र नाटकीय गरी तीन किसिमका हुन्छन्। सामान्य फुटकर कविता प्रगीतात्मक, कथावस्तु भएका महाकाव्य खण्डकाव्य आख्यानात्मक कविता अनि संवादपरक र अभिनयात्मक प्रस्तुति भएको नाटकीय कविता हो। कवितामा ठोस विचार, भाव र निश्चित सन्देश रहेको हुनुपर्छ, आफ्नो सत्विचारलाई कलात्मक र आकर्षक शैलीमा प्रस्तुत गर्नुपर्छ, सही शब्द प्रयोग र बहुअर्थ प्रदान गर्ने हुनुपर्छ, कवितामा प्रभावशाली रूपमा बिम्ब र प्रतीकको सिर्जना हुनुपर्छ, कवितामा एकेक शब्द, अक्षर, खाली ठाउँहरू (Space), विराम चिन्हहरू अर्थपूर्ण, सठिक र सही स्थानमा हुनुपर्छ। न लामो न छोटो ठिकैको आयामको, कविता पढेर पाठकमा पनि प्रबल भावना र सशक्त अनुभूति पैदा गर्न सकोस, कविता पढेर पाठक पनि बौद्धिक चिन्तन गर्न सकोस् आदि कवितामा हुनुपर्ने लक्षण तन्तु हुन्।
दार्जिलिङ सिक्किममा नयाँ नयाँ कविहरूको उपस्थिति बढ्दो छ। यहाँका पत्र-पत्रिका, मासिक भेला, दैनिक समाचार पत्र, फेसपुक- वाट्स् एप आदितिर नित्य नूतन कविताका कोसेली देखा पर्छन्। कविता अब अभिनयसित वाचन गरिने र हेरिने भएको छ। नयाँ नयाँ कविताको शिल्प, ढाँचा, स्वर, प्रस्तुति, रङ्गरोगन लिएर कविहरू देखा परिरहेछन्। कतिपय कविहरूको कवितासङ्ग्रह प्रकाशित भएका छैनन्, अधिकाङ्श कविहरू मूल्यङ्कित, समीक्षित भएका छैनन्। धेरै कविका कवितामा प्राकृतिक दृश्य चित्रित छन्, मान्छेको प्रकृति चित्रित छन् औ सामाजिक व्यवस्था वर्णित छन्। यी कविहरूका कवितामा भावनाका ज्वारबाटा छन्, क्रान्तिका फिलुङ्गा छन्, आक्रोशहरू आगोसरह लप्केका छन्, सिङ्गै युग हाँक्ने प्रलयङ्कारी आँधी बोकेका छन्, कतै आमुल परिवर्तनका शङ्खघोष छन्, वर्तमान युगका विभिन्न वितण्डालाई उखेलेर फ्याँकेर, विसङ्गतिका मैलाहरू बढारेर नयाँ युगको आह्वान गरेका छन्। वैयक्तिक गुनासो भन्दा सामूहिक आक्रोश व्यक्त गरेका छन्। सत्ता, समाज र मुलुकमा ‘अल इज वेल’ देख्दैनन् बरू यीप्रति आगो ओकलेर नयाँ बिहानीको रागभाव व्यक्त गर्दछन्। यी कविहरूका कविताहरू पढ्ने, बुझ्ने, हेर्ने, सुन्ने, छाम्ने पारखी नजरको खाँचो छ।
सन् २००० देखि यता दार्जिलिङ-सिक्किममा कविहरूको सङ्ख्या दिनानुदिन बढ्दो छ। एकातिर यसभन्दा अघिदेखि नै कवितामा साधनारत कविहरू अहिले पनि उत्तिकै नयाँ नयाँ स्वर र शैली लिएर आएका छन् भने २००० पछिदेखि भने अनेक देखा परिरहेछ। तिनका गुणात्मक र मात्रात्मक दुवै तहमा उत्कृष्ट छन्। अहिले पनि केही वरिष्ठ कविहरू राजेन्द्र भण्डारी, मनप्रसाद सुब्बा, विन्द्या सुब्बा, लक्खीदेवी सुन्दास, नोर्जाङ स्याङदेन, विनोद अश्रुमाली, जस योञ्जन प्यासी, जीवन नामदुङ, देव भण्डारी, वीणा हाँगखिम, ज्ञानेन्द्र खतिवडा, कालुसिंह रनपहेंली, भवजीत तामाङ, अर्जुन प्रधान, उदय सुब्बा गोर्खा, विचन्द्र, नरेशचन्द्र खाती, मोहन ठकुरी, सुरेन्द्र थीङ, केवलचन्द्र लामा, भगीराज सुब्बा, पवन चामलिङ, पदम छेत्री, उदय थुलुङ, सतीश रसाइली, जतीश बराइली आदि अझ सक्रिय भएर नयाँ नयाँ ढाँचा र स्वर लिएर लेखिरहेछन्। दार्जिलिङबाट मात्र पनि कविता लेख्ने नयाँ हाँचका कविहरूका नाम लिएर साध्य छैन। २००० देखि यता कवितासङ्ग्रह र फुटकर रूपमा कविता लेख्ने केही कविहरूका नाम लिनुपर्दा बीरू बाङदेल मोतीप्रसाद शर्मा, राजु प्रधान हिमांशु, सीताराम काफ्ले, अबीर खालिङ, जय क्याक्टस, सुधीर छेत्री, कमला तामाङ, शीला लामा, विनोद छेत्री, सुकराज दियाली, ध्रुव चौहान, विनोद प्रधान (पेदोङ), विनोद प्रधान, पवित्रा लामा, भुपेन्द्र सुब्बा, गीता छेत्री, अनिता लामा, कमल रेग्मी, रञ्जीत गुरूङ, निर्मल आग्रह, दिपेन तामाङ, प्रकाश राई, टिका भाइ, राजा पुनियानी, मनोज बोगटी, सुनिल राई दिलमाया, भूपाल सुब्बा, सचिन खवास, सञ्जय बान्तवा, रेमिका थापा, मिलन बान्तवा, नगेन्द्र गोर्खा, किरण कुमार राई, भीमा राई, ललिता शर्मा, दिनेश खँड्का, भक्तराज सुनुवार, मणिका मुखिया, डिकु मुखिया, राम शर्मा उपमन्यु, तारा लोहार, विशाल राई टिस्टे, उषाकिरण सत्यदर्शी, सुमन बान्तवा, सुभद्रा बम्जन साँवाली, गोकुल रसाइली, अमर दुङ्माली, तेजमान बराइली, सूर्य श्रेष्ठ, जोगेन दर्नाल, सतीश छेत्री, पवन नामदुङ, गणेश गजमेर, कृतिका दाहाल, बिक्की थापा, उमेश परियार, प्रदीप लोहागुन, राजकुमार छेत्री, बासुदेव पुलामी, अनिता लामा, श्याम बान्तवा, मनोज लामा, कर्ण विरह, महेश दाहाल, नीरज अयोग्य, ज्ञानेन्द्र यक्सो, पुष्कर सिङ्गर, शरण गुरूङ, दिनेश भुजेल आँसु, महेन्द्र स्याङ्बो, लतिका जोशी, किशन प्रधान, पी के प्रधान, उज्ज्वल बमजन, लेखनाथ छेत्री, जोभी मोक्तान, पुकार राई, शक्ति बर्देवा, जगत राई आदिको नाम अघि आउँछन्। अर्कापट्टि परम्परागत भाव शिल्प र संरचना गर्ने कविहरू पनि छन्।
उता सिक्किममा पनि नयाँ र अघिल्ला वरिष्ठ कविहरूको सुची लामै हुन्छ। उनीहरू पनि आफ्नै स्वर, गुनासो, आक्रोश, आफ्नै पीडा, राजनैतिक व्यवस्थाप्रति असन्तुष्टि आदिलाई कवितागत विषयवस्तु बनाई लेखिएको पाइन्छ। यद्यपि केही कविहरूमध्ये केदार गुरूङ, उपमान बस्नेत, छिरिङ पाञ्जो शेर्पा, प्रवीण राई जुमेली, सुधा एम राई, शङ्करदेव ढकाल, रवि रोदन, भीम ठटाल, बी खेवा, सोनाम दोङ, दिपा राई, लोइस बिष्ट, उषा शर्मा, मणिका शर्मा, अपसरा दाहाल, इन्दिरा स्टिफन, प्रवीण खालिङ, शेरबहादुर कार्की, रजनी पेगा, डिल्लीप्रसाद अधिकारी, कपिलमणि अधिकारी, टार्जन कट्टेल, भवानी घिमिरे, हरिश मोक्तान अल्लरे, हरि ढुङ्गेल, रवि पौड्याल. टिका ढुङ्गेल, राजेन शिवाकोटी, अभिचन्द्र दाहाल, राधिका शर्मा आदिको नाम लिनुपर्छ।
हाम्रा कवि भोजको कवितासङ्ग्रह निलो जुन नेपाली कविताको फाँटमा नयाँ बान्कीका कविता लिएर देखा परिरहेछ। सङ्ग्रहका जम्मा अठ्टाइसवटा कविताहरू पढ्दा कवि भोजमा पनि कवित्वका सघन बासना र महक देखा पर्छन्। एकेक कविताका स्वर, बान्की, मिठास, स्वरूप, संरचना, ढाँचा, ढप आदि कुराहरूले आवद्ध छन्। कवि आफु विज्ञानको विद्यार्थी भएर हुनसक्छ, उनका कवितामा विज्ञानका विभिन्न सिद्धान्त, इक्वेसन, नियमसित भावनाका अन्तर्घुलन र अन्तर्मिश्रण भएका छन्। आफना उद्वेग, संवेगमा विज्ञान समाहित भएका छन्। रङ्गै रङ्गका अन्तर्मिश्रण भएर नयाँ रङ्गहरू निर्मित भएका छन्। सङ्र्ग्रहका कविताहरू पढ्दा इन्द्रेणी, प्रिजम, निलो, अणु, प्रकाश, अन्तरिक्ष, नेबुला, गुरूत्वाकर्षण, ग्यास, महुवाको फुल्ने रूख आदि शब्द-शब्दावलीले कवितामा विशिष्ट अर्थ, सन्दर्भ, विम्ब र संकेत बोकेका छन्। कविताहरूमा घरिघरि निलो रङ्गको प्रसङ्ग आइरहेको पाइन्छ। कविताहरूमा नीलो रङ्गले कल्पना, आकांक्षा, जातीय पीडा, घुर्मैलो, धुमिल, असमञ्जसता, वर्जना, सौन्दर्य, संवेदन आदि जस्ता विविध अर्थ बोकेका छन्। उद्भिदको पनि प्राण हुन्छ, संवेदना हुन्छ भन्ने सर जगदीशचन्द्र बोसको वैज्ञानिक सिद्धान्तलाई आत्मसात गरेर कविले पनि फूलको संवेदनालाई देखाएका छन्। यद्यपि यहाँ वस्तु “फूल” ले मान्छेको हृदयसित तादात्म्य राख्दछ। सङ्ग्रहको मुख्य एउटा कविता डम्बर चोकको डम्बर मा डम्बरचोकलाई यसरी विभिनन पक्ष र दृष्टिबाट देरिएको छ- डम्बर चोक
गोर्खाली अस्मिता केन्द्र
राजनैतिक कार्यक्रम केन्द्र
भाषणबाजी केन्द्र
ब्रिटिस शासनको इतिहासको प्रतीक
चरम गोर्खाल्याण्डको केन्द्र
आन्दोलन शिथिलताको प्रतीक
राज्यबाट किनारीकृत
जनताको आस्थाकेन्द्र
राजनैतिक दलको स्वार्थकेन्द्र
भीडको प्रतीक
कवितासङ्ग्रहको समर्पणमा आफ्ना आमा बाबाको सम्झनामा एक नोस्टाल्जिक तर मार्मिक भावना अभिव्यक्ति गरिएको छ। आफु बाबुआमाहीन बन्नुपर्दाको पीडालाई व्यक्त गर्दा उनीहरूका विभिन्न दैनिक चर्या, परिश्रम, शारिरीक उपस्थिति, स्नेह, ममता आदिका आदिको विम्बात्मक संस्मरण व्यक्त गरेका छन्। सदैव निस्वार्थ माया गर्ने आमा बाबु गुमाउनु पर्दाको मनको पीरको गाँठोलाई अभिव्यक्ति दिएका छन्। वर्तमानको दार्जिलिङको राजनैतिक गतिविधिप्रति कवि भोजको असन्तुष्टि, आक्रोश र असहमति छ। स्वाभिमानी गोर्खाली अस्मिता अब नेता र राज्यसत्ताको कुत्सित योजना र कार्यक्रमबाट कुण्ठित भएको छ, निरीह जनता राजनैतिक चालबाजीबाट पीडित छन्, विगतको गोर्खाको अलग घर बनाउने आन्दोलन शिथिल भए पनि जनता नै चरण निराश, अन्योल, अन्यमनस्कता, पथहीन, उद्देश्यहीन बनेकामा कवि असन्तुष्ट छन्। वर्तमानकाली दार्जिलिङ पहाडको राजनैतिक व्यवस्थालाई कविले विभिन्न प्रतीक, विम्ब, शब्द संयोजन आदिका माध्यमले कठोर व्यङ्ग्य प्रहार गरेका छन।
कविले कविताको शीर्षक चयनमा नै सचेतता देखाएका छन्। शीर्षक एक वा दुई शब्दका छन् जसले सङ्ग्रहमा रहेका प्राय जम्मै कविताका विषयवस्तु, सारवस्तु कविताका स्वर भाव अभिप्राय आदिबारे सङ्केत गर्दछन्। शीर्षकमा रहेको वस्तुलाई केन्द्रमा राखेर त्यसलाई प्रतीक, विम्ब, शब्द, भाव सादृश्य उदाहरण आदिले परिपुष्टि गर्दै लगिएको पाइन्छ। डम्बर ‘चोकको डम्बर’, ‘निलो जुन’, ‘पसिना’, ‘डिम्पल’, ‘फूलको पीडा’, ‘पुराना फोटाहरू’, ‘भीड’, ‘यसपालि’, ‘रात’, ‘वेदना’ आदिजस्ता शीर्षकले नै कवितालाई कलात्मक बनाएका छन्। कवितामा सौन्दर्य छरिएका छन्। कवितामा यथार्थता र आदर्शता दुवै विद्यमान छन्।
कवि भोजका कविताहरू कोमल, मधुर, सुललित छन्। कविताहरू एकालापीय र प्रगीतात्मक ढाँचाका छन्। कोमल भावलाई कोमल अक्षर, शब्द र शैलीले आवद्ध गरेका छन्। सबै कविता प्राय: छोटा छोटा आयामका छन् जसले पाठकलाई दिक्क नलागेर रोचक तुल्याएका छन्। शब्द चयनमा सचेतता छ, बहुअर्थी प्रसङ्ग र भावगत लालित्यले कविता रोचक बनेका छन्। बुनोट र बनोट दुवैबाट कविता सफल छन्। पाठक आफैंले कविता पढेर रसास्वादन गर्ने नै छन्। कवि भोज अझै सिर्जनशील बनुन, साहित्य सेवालाई सधैंभरि यसरी नै शीरमा राखेर काम गरून्, उनका कवितासङ्ग्रह अझै थपिउन् भन्ने कामनासहित यो भूमिका टुङ्ग्याङँदछु।

तल्लो बमबस्ती, कालिम्पोङ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 20 जेठ, 2076

लेखकका अन्य रचनाहरु