अभावले निम्त्याएको यथार्थ

- इन्दिरा दीक्षित

हातभरी कागजपत्र बोकेर सरोज बाटोमा हिंडिरहेको थियो, यसै बेला उसलाई कुनै परिचित आवाजले बोलायो— “सरोज ! ए सरोज !”
पछाडि फर्केर हेर्दा सन्तु हाँस्दै उभिएको थियो । “ए ! तिमी सन्तु पो, कताबाट आयौ तिमी ?” सरोजले आश्चर्य मान्दै सोध्यो ।
“दायाँंबायाँ कतै नहेरी कसरी हिंडेको सरोज ? मैले कत्ति गाडीबाट कति बोलाएँ, सुनेनौ, अनि बाहिरै निस्केको” सन्तुले भन्यो ।
“मैले ध्यान दिइनछु !” सरोजले जवाफ दियो
सरोजको ध्यान त अन्तै थियो, कसरी सुनोस् र सन्तुले बोलाएको ! आज कुन अफिसमा गएर कसलाई आफ्नो बायोडाटा बुझाउने र जागिरको गुहार लगाउने हो ?
२७, २८ को युवक सरोज पाण्डे, एउटा सामान्य परिवारको केटो । सुन्दर गोरो अनुहार, पातलो शरीर, ठिक्कको अग्लो केटो, झट्ट हेर्दा कसैले खुनखोट लगाउने ठाउँ कतै देखिन्थेन । परित्रघभमवार पनि सानै थियो, आमाबाबु दिदी सङ्गीता र सरोज मात्रै ।
सरोजको बाबुको नासु जागिरबाट चलेको घर अनि जसरी भए पनि आफ्ना छोराछोरीलाई पढाउनै पर्छ भनी दुःखजिलो गरेरै भए पनि दुबैलाई उच्च शिक्षा दिलाएका थिए । सरोज पनि खुबै मेहनती र जेहेन्दार थियो । बाबुको चाहनाअनुसार पढाइमा सधैंं अब्बल आउने केटो, बाल्यकाल राम्रैसँग बितेको थियो सरोजको ।
विधातालाई सरोजको खुसी राम्रो नलागेको हुनुपर्छ, एक्कासी हृदयाघातबाट बाबुको देहान्त भएको पनि आज ४ वर्ष बितिसकेछ ।
सन्तबहादुर सरोजको स्कुले साथी हो । तामाङको छोरो अग्लो, फुर्तिलो जिउडाल पनि टम्म परेको राम्रो केटो ।
स्कुले जीवनमा दुबै सँगै पठ्थे, सरोज पढाइमा अब्बल थियो तर सन्तु भने अलि निम्न स्तरको थियो । पढ्न मनै नगर्ने, धेरैजसो शिक्षकको मारबाट सरोजले साथी सन्तुलाई जोगाउने गथ्र्याे । एस.एल. सी पनि बल्लतल्ल सरोजकै सहयोग गरे दुई पटकमा पास गरेको थियो ।
“कता हिंड्यौ, आऊ गाडीमा बस म पु¥याइदिन्छु !” सन्तुको भनाइले एकतमास भई सन्तुको गाडीतिर हेरेको सरोजलाई झस्काइदियो, नकार्न खोज्दै सरोजले भन्यो— “भयो तिमी जाऊ, मेरो गन्तव्य अन्तै छ तिम्लाई अबेर हुन्छ” तर सन्तुले मानेन । हातै समातेर गाडीभित्र बसायो ।
“कता जाने हो भन न म पु¥याइदिन्छु” सन्तुको सोधाइमा सरोज असमञ्जसमा प¥यो, ऊ आफंैलाई थाहा थिएन कि उसको गन्तव्य कता हो, आफूले जागिर खोज्दै हिँडेको कुरा सन्तुलाई भन्न मन लागेन ।
उसले झुटै भनिदियो—“घरै हिंडेको ।”
“उसो भए मेरो घरमा जाऊँ आज, धेरै दिन भो हाम्रो भेटधाट पनि नभको ।” सरोजले सन्तुलाई नकार्न सकेन, अनि दुबै सन्तुको घरमा गए ।
सन्तुको घरको कम्पाउन्डभित्र गाडी छि¥यो, दुबैै जना ओर्लिए, ड्राइभरले गाडी ग्यारेजभित्र लग्यो । सरोज अचम्म मान्दै सन्तुको घर हेर्दैथ्यो, ठिक्कको कम्पाउन्ड सायद ८, १० आना जति जग्गा होला, एकापट्टि बङ्गला टाइपको तिनतले घर, पर्खालको छेउमा एउटा सानो सर्भेन्ट क्वार्टर, घरसँगै जोडिएको ग्यारेज अनि बाँकीको जमीनमा व्यवस्थित तरिकाको फूलबगैंचा थियो । वरिपरि ठुला साना गमला सजिएका र विभिन्न फूल फुलेका देखिन्थे । सरोज दङ्ग परेर सोच्दैथ्यो ! हैन यो त सानोतिनो बङ्गला जस्तो पो छ ! सन्तुको घर यस्तो भव्य कसरी ?”
सरोजले सोधिहाल्यो— “सन्तु यो तिम्रै घर हो ?” सन्तुले जवाफ दियो—“दुई वर्षअगाडि यो घर किनेको उति चित्त बुझेको छैन । अर्को खोज्दैछु, हिंड न भित्रै बसेर कुरा गरांै । सन्तुले तान्दै सरोजलाई आफ्नो बैठक कोठामा पु¥यायो ।
बैठक कोठाको रौनक अर्कै थियो । ठुलठुला तस्विर झुन्डिएका भित्ता, भव्य सोफा, आलमारी भित्र सजिएका विभिन्न कलात्मक मूर्ति अनि अरू धेरै विदेशी सजावटका सामान पनि देखिन्थे । बैठकको एक कुनामा गोलो तरिकाले बनाएको बार र त्यसभित्र सिसाको आलमारी थियो । खन्डैखन्ड परेको त्यो आलमारीभित्र देश विदेशबाट ल्याइएका महँगा रक्सीका बोतलहरू टम्म मिलाएर राखिएका थिए ।
एकै छिनमा बैठकभित्र एउटी सुन्दर युवतीले प्रवेश गरिन्, सन्तुले परिचय गरायो “मीना, मेरी श्रीमती ।”
ओहो ! टन्न सुनका गहनाले भरिएको शरीर, महँगा पहिरन र ठाँटबाँट नै अर्कै छ, नमस्कारको आदानप्रदान भयो । सन्तुले बिहे पनि गरेछ ।
“हामीलाई भोज नै नखुवाई बिहे गरिसक्यौ ?” हँस्यौली पारामा सरोजले सोध्यो । “काहाँ र यार ! दुई वर्ष अगाडि बिहे गरेको, त्यति बेलाको परिस्थिति नै अर्कै थियो ।”
सन्तबहादुर कुनकुन पाटीमा लागेर भूमिगत भएको छ अरे भन्ने हल्ला त सुनेकै थियो सरोजले पनि ।
सन्तुले कुरा निकाल्यो— “आजभोलि केके गर्दैछौ नि ? तिमी त धेरै पढेका मान्छे, आफू त पढ्न सकिएन राजनीतिमा लागियो यी यस्तै छ ।”
सरोजले पनि आफ्नो कुरा खोल्यो—“जागिरको खोजीमा छु भेटेको छैन, यस्तै छ ।”
“अरे यार छोड त्यो जागिरसागिरको चक्कर ! बरु हाम्रो पाटी ज्वाइन गर, हामीहरूलाई पनि पढेका मान्छेको खाँचों परेको छ, त्यो नाथे जागिरमा के नै हुन्छ र ?”
सरोज केही बोलेन, एकै छिनमा सन्तुकी पत्नीले एउटा केटोको साथ लाएर खाजा ल्याइन्, सायद काम गर्न राखेको केटो हो कि ! खाजापछि सरोज बाहिरिन खोज्यो । सन्तुले हात समाउँदै भन्यो— “के हतारो छ र यार बस न ! धेरै पछि भेट भा’को, अरू साथीसँग पनि कहिले भेट हुँदैन, हामी दुई भए पनि बेलुकी यसो रमाइलो गरांैला नि !” सन्तुको इसारा रातको पेयतिरको मस्तीमा थियो । तर सरोजलाई घर पुग्न हतारो थियो, बुढी आमा एक्लै पर्खेर खाना पनि नखाइकन बाटो हेर्दै हुन्छिन् ।
“हैन सन्तु, म पछि भेटौंला नि, अहिले घर पुग्न हतार छ, साँझ पनि पर्न लाग्यो ।” सन्तुले आफ्नो आइ.डी. कार्ड दिंदै भन्यो— “केही प¥यो भने फोन गर्नु, हाम्रो पाटी ज्वाइन्ट गर्न मन भएदेखि त एक कल गरे हुन्छ, म पनि तुरुन्त गरिहाल्छु नि ।”
“हुन्छ ! ल अहिले बिदा हुन्छु है त ।” सन्तु र उसकी पत्नीले मिठो मुस्कानसाथ सरोजलाई बिदा गरे ।
सरोज बाटो भरी सन्तुको बारेमा सोच्दै घर पुग्यो । बाहिरैदेखि आफ्नो घर हेर्दै विरक्त लाग्यो उसलाई । सन्तुको त्यत्ति राम्रो घर । आफ्नो ता पुरानो फुङ्ग उडेको धेरै वर्षदेखि रङ्गरोगनको पर्खाइमा रहेको घर । रङ्गको त के कुरा झ्यालको फुटेको सिसा पनि फेर्न सकेको छैन । यस्तै सोच्नै ऊ फुत्त घरभित्र छि¥यो, ढोकातिर हेर्दै आमा पर्खेर बसेकी रहिछिन् ।
“आज त निकै अबेर गरिस् नि त बाबु !” आशाले परिएका नजरले छोरातिर हेर्दै आमाले भनिन्, सायद अबेरको कारण कतै जागिर पो मिल्यो कि यसलाई ! उनले सोचिन् । “अँ एउटा पुरानो साथी भेटें, घर जाऊँ भन्यो अनि अबेर भयो आमा ।”
“खाना पस्कूँ त ?” आमाले सोधिन् ।
“अहँ, खान्न आमा, उतै खाएर आएँ आज । तपाईं खानोस् है !” यति भनेर सरोज आफ्नो कोठातिर लाग्यो । अनि बिछ्यौनामा थचक्क बस्यो, के गर्ने कसो गर्ने केही सुझेन, घरीघरी सन्तुको अनुहार अनि सम्पन्न तथा भव्य उसको घर ! स्कुल पढ्दाको दिन सन्तुको कस्तो हालत थियो अहिले कसरी फड्को मा¥यो होला अचम्म ! सरोजलाई आफ्नो स्कुले जीवनका याद आए ।
स्कुलमा सन्तु सधैंं पछाडि बस्थ्यो, सबै साथीले होच्याउने गर्थे, मैलो लुगा, फाटेको झोला, पटपटी फुटेका हातगोडा, किताब पनि कहिले पुरा हुन्थेन, शिक्षकले पनि त उसलाई कहिले पनि कुनै राम्रो व्यवहार गरेनन् नि, “ए सन्ते ! आज पनि होमवर्क गरिनस् हैन, तेरा फटा !” यसो भन्दै लौरोले तिघ्रामा सुम्लो उठाइहाल्थे, सन्तु आँखाबाट बर्बरी आँसु झारेर बस्थ्यो, अझ कति शिक्षकले त दिनभर घाममा उभ्याएर राखिदिन्थे । अरू साथीहरू पनि सन्तुको हालतमा हाँसिदिन्थे, मचाहिं कहिलेकाहीं सन्तुको कापीमा कसैले था नपाउने गरेर आफ्नो होमवर्क सारिदिन्थें, यसरी धेरै पटक शिक्षकको मारबाट मैले सन्तुलाई बचाएको थिएँ ।
सरोज सोच्दैथ्यो ती बाल्यकाल र बिताएका क्षणहरू, कक्षामा निकै राम्रो विद्यार्थीको रूपमा कहलिएको थिएँ, शिक्षकहरू पनि निकै माया गर्थे, सघैं गृहकार्य राम्ररी गरेकै हुन्थ्यो । ऊ आफ्नो स्वर्गीय बाबुलाई सम्झन पुग्यो, कडा मिजासका बाबु भए पनि आवश्यकताका सबै सामान पु¥याइदिने, “पढ्नुपर्छ दायाँंबायाँं हैन, नपढे कसरी खानु ?” उहाँको विचार यस्तै हुन्थ्यो । एक्लैको जागिरे कमाइले सबै थोक पुगेकै थियो, हामी दिदीभाइलाई कमी केही थिएन । कसरी पुगेको होला ? सायद बाबुआमा दुबैले आफ्नो आवश्यकतालाई पन्छाएर भए पनि हाम्रा लागि सबै चिज पु¥याउँथे होलान् ।
५ वर्षअगाडि बाबु हँुदै दिदीको बिहे पनि भयो, चारवर्ष अगाडि अचानक बाबुको देहान्त हुँदा सरोज आफ्नो पढाइमा एम.ए.को अन्तिम वर्षको तयारीमा थियो । छोरोले धेरै पढेर राम्रो जागिर खाएको हेर्ने रहर रहरै भयो सरोजको बाबुलाई ।
आमाको काँधमा सबै व्यवहार आयो, उनी पनि त आशा गर्दै होलिन् छोरोले जागिर खाला घरव्यवहार समाल्ला भनेर । तर खै ?
राम्री बुहारी भिœयाउने आमाको धोको सरोजले नबुझेको हैन, बेलाबेलामा आमाले नजानिदो पाराले सुनाएकै हुन्छ, फलानोको छोरोको बिहे भएछ बुहारी कस्ती राम्री !, फलानोको छोराको बिहेको निम्ता छ जानुपर्छ आदि । घरमा पनि बिहेको कुरो नआएको हैनन्, थरीथरीका मान्छे बिहेको कुरा लिएर आउँछन् । आमाले सुनाउँछिन्, फÞलानी आएकी थिई, केटी पढेकी राम्री छ भन्थी । सरोजलाई पनि बिहेको रहर नभएको त काहाँं हो र ! के गरोस् एउटा जागिर नभएसम्म कसरी बिहे गर्नु र ! यो कुरा आमाले पनि बुझेकी होलिन् तर के गर्नु रहर त रहरै हो नि ।
सरोज सोच्दैथ्यो, रातो दिन बिहान बाहिर जानेबेला भयो कि आमासँग पैसा हात थाप्नुपर्छ । धन्न मेरी आमा कसरी पु¥याएकी होलिन् खै ! त्यही बाबुको पेन्सनको आधा पैसा आमालाई आउँछ, अनि दिदीको बिहेपछि खाली भएको एउटा कोठा भाडामा लागेको छ, त्यसबाट कति पैसा आउँछ होला र खै ।
बुबाले सधैं भन्नुहुन्थ्यो, राजनीति गर्नुहुन्न है बाबु ! यो त एउटा फोहोरी खेल हो, साम, दान, डण्ड, भेद सबै हथकन्डा राजनीतिमा हुन्छ । हामी जस्ता जागिरेले राजनीति गरेर कहिले हुँदैन । ऊ यो सम्झिन्छ ।
जागिर खाएर छोरोले ठुलो पदमा पुगेको हेर्ने उसका बुबाको रहर पनि रहरै भएर गयो ।
घुम्दैफिर्दै सरोजको दिमाग फेरि पनि सन्तुको आलिसान घरमा गएर अड्क्यो । सन्तुले कसरी पैसा कमायो होला त ! के राजनीतिमा यत्रो पैसा कमाइन्छ त ! एस्.एल्.सी.मा फेल भएदेखि हराएको मान्छे, एक्कासी दुई वर्षअगाडि देखा प¥यो । भागिभागी हिंड्दा कसरी पैसा कमायो होला ! अहिले यत्रो महल कसरी जो¥यो होला ! गाडी पनि ठुलै छ ! त्यो घरको ठाँटबाँट त कम पैसाले होला जस्तो देखिंदैन, आखिर राजनीतिमा चाहिं के त्यस्तो जादू रहेछ खै ! यत्तिको आम्दानी हुन्छ भने मेरो बुबाले चाहिं किन राजनीतिमा नजानु भनेको होला !
सरोज कोठामा एक्लै भौंतारिरह्यो । उसको मनको उथलपुथलले एक ठाउमा बस्नै दिएन । फेरि सोच्न थाल्यो, यति चाँडै धनी हुने काम पनि कसरी राम्रो होला र खै ! जिन्दगीभरी मेरा बाबुले जागिर खाँदा घरखर्च चलाउन मुस्किल हुन्थ्यो । जागिरदारको घर पनि मैले देखेको छु, उही पुगेसपुगेस गरेर चलाएका छन् ।
मनको एउटा कुनाले भन्यो, यस्तो दुःख पाएर बस्नुभन्दा त सुखैसुख भोग गर्न नराम्रो हो र ? सन्तुको के चाहिं नराम्रो भएको छ र ? पैसा भएपछि सबैको हाइहाइ हुँदो रहेछ । हिजोसम्म त्यही सन्तुको कति कुरा काट्थे मान्छेले, तर आज उसलाई कसले के भन्न सक्छ र, खै !
पैसाबिना यो थोत्रो घर कसरी बनाउनु, बिहे गर्ने उमेर भयो, अर्काकी छोरीलाई अभावै अभावको जीवन कसरी दिनु ! बूढी आमा कति बाँच्छिन् होला र ! उनले पनि त कहिले सुखको सास फेरेकी छैनन् । सधैं हाम्रा लागि बाँचिरहेकी छिन्, म तन्नेरी छोरो भएर केही गर्न सकेको छैन । बिहेपछि त मेरा पनि सन्तान होलान् ! के यस्तै अभावमा तिनको जीवन पनि पालियोस् ! अनेकौं तरङ्गमा सरोजको रात छर्लंगै बित्यो ।
बिहान पनि अबेर उठ्यो, हिजो सन्तुले दिएको परिचय कार्ड ओल्टाई पल्टाई हे¥यो । पार्टीको सक्रिय सदस्य अनि फोन नम्बर पनि चार पाँच ओटा छन् । त्यो कार्ड त्यत्तिकै टेबुलमा राख्यो, अन्यमनष्क भावले नित्यकर्म सकेर भान्छामा पस्यो, आमा चिया कुरिरहेकी रहिछिन् । सरोज लुसुक्क भान्छाभित्र पस्यो, सधैं त चाँडैचाँडै सबै काम सकेर लुगा लगाएरै कोठाबाट निस्कने छोरो, आज ढिला अनि रातिको लुगामा, अचम्म मानेर आमा सोध्छिन्—“के भो बाबु ! सन्चो भएन कि ?”
“ठिकै छु आमा” सरोजले जवाफ दियो ।
“अनि किन त कतै जानु छैन र ?”
“कता जाऊँ र खै, जता गए पनि उस्तै त हो, आफ्नो कोही चिनेको मान्छे छैन, कसरी जागिर पाऊँ र !” सरोजले आमासँग गुनासो पोख्यो ।
“सरकारी जागिर पाउँन त त्यस्तै हो आमा, प्राइवेट पनि नपाइने रहेछ भनसुनविना त ।”
“के गर्छस् त बाबु जिन्दगीभरि यसरी बसेरै भएन, म पनि......!”
“ठिकै छु आमा !” सरोजले जवाफ दियो ।
“अनि किन त कतै जानु छैन र ?”
“कता जाऊँ र खै, जता गए पनि उस्तै त हो, आफ्नो कोही चिनेको मान्छे छैन, कसरी जागिर पाऊँ र !” सरोले आमासँग गुनासो पोख्यो ।
“सरकारी जागिर पाउन त त्यस्तै हो आमा, प्राइवेट पनि नपाइने रहेछ भनसुन विना त ।”
“के गर्छस् त बाबु जिन्दगीभरी यसरी बसेरै भएन, म पनि त कति बाचौँला र खै, तेरो घरबार भएको हेर्न पाए आनन्दसँग सास जान्थ्यो होला ।” आमाले पनि आफ्नो मनमा गुम्सिएको कुरा बाहिर ल्याइन् । सरोजले मनमनै विचार ग¥यो, सन्तुले भनेको कुरा त आमासँग सोध्नै प¥यो ।
“आमा ! मेरो एउटा साथीले राजनीतिक पाटी खोलेको रहेछ, पढेको मान्छे चाहिन्छ, तिमी आऊ भन्थ्यो, के गरौ ?”
“तेरा बाले राजनीति गर्नु हुन्न भन्नुहुन्थ्यो, मेरो विचारमा इमानजमान नबेचीकन, सबैको सोझो चिताएर काम गर्दा त राम्रै होला नि बाबु, अरू म के जानौ र खै !”
सरोजलाई आमाको जवाफ पनि सकारात्मक नै लाग्यो । फर्केर कोठामा आयो । फेरि त्यही कार्ड हेर्न थाल्यो, आमाको कुरा पनि दिमागभित्र घुम्न थाल्यो, राजनीतिमा इमानजमान कसरी हुन्छ होला र खै । आखिर उसले जे भन्यो त्यो त मान्नै पर्छ । फेरि आमाको हरेस खाएको बोली कानमा बज्न थाल्यो, “म कति बाचौंला र, तेरो घरबार हेर्न मन छ ।”
साँच्चै आमालाई केही भैहाल्यो भने ? म बाँच्नु पनि बेकार हुन्छ । एउटा आमाको साधारण इच्छा पनि पु¥याउन नसक्ने नाथे छोरो कस्तो म !
यही उथलपुथलमा कुन बेला सरोजले सन्तुको मोबाइलमा नम्बर हानेछ पत्तै भएन, सन्तुले उताबाट हलो हलो गर्दा पो झस्कियो सरोज ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 20 जेठ, 2076

लेखकका अन्य रचनाहरु