साइकल यात्रा

- सङ्गीत आयाम

यो मेरो साइकल झन् झन् पीडाको कारण बन्दै गएको छ । मैले त यसलाई आत्मसात् गरिसकेको छु तर यसले भने सार्है अप्ठ्यारोमा पार्दछ साथीहरूका माझ । हिजो एउटा साथी मेरो साइकलतिर एकोहोरो हेरेर भन्दै थियो, 'तँ सँगसँगै पढेको म, आज हेर् म कहाँ छु तँ कहाँ छस्, तेरो प्रगति कत्ति पनि भएन यार !' मसँग यसको उत्तर थिएन कारण ऊसँग भर्खरै किनेको नयाँ मोटरसाइकल थियो, प्रगतिसूचक स्वरूप । ऊ उकालोमा पनि मोटरसाइकल हुइँक्याएर पर पुग्छ तर म त्यस उकालोलाई साइकल डोर्याएर चढ्दै हुन्छु ।

म छु र मेरो साइकल छ यतिखेर कतै यात्रामा जान तम्तयार रहेको । मेरो साइकल यात्राले आजसम्म कति किलोमिटरको यात्रा तय गर्यो त्यसको अनुमान गर्न एकदमै गार्हो छ । साइकल क्रमशः थोत्रो भैरहेछ तर रहरहरू अनन्त छन् झन् झन् बढ्दै गएका । साइकल पुरानो भएर राम्रोसँग नचल्ने स्थिति आइसक्यो तर आकाङ्क्षाहरू झन् झन् तीव्र रूपमा छन् बढ्दै गएका । मलाई थाहा छ,  दमको रोगीजस्तै साइकलको घ्यार-घ्यार आवाज रोकिन नै मान्दैन । लाग्छ, साइकलको बिरामी आवाजसँगै क्रमशः बलात्कृत हुँदै गैरहेछन् अनन्त सपनाहरू । मलाई थाहा नभएको भने होइन, साइकलको कारण लामो यात्रा तय गर्न सकिँदैन तर पनि साइकल नभएको कल्पनासम्म गर्न सक्दिन म मानौं जीवन टक्क अडिए झैं लाग्छ जहाँको त्यहीँ साइकलबिना ।

एउटा वास्तविकताले भने आसुरी नङ्ग्रा लिएर चिथोरिरहन्छ सँधै । नयाँ साइकल किन्न नै सकिएन जीवनमा, 'एउटा साइकल पनि किन्न नसक्ने ? मान्छेहरू मलाई नै लक्षित गरेर भनिरहन्छन् । म उनीहरूका कुरा सुन्छु र नसुनेझैं गरी साइकलमा अघि बढ्छु । यही थोत्रो साइकलमा चढेर जीवनका नयाँ-नयाँ परिभाषाहरू खोजिरहेछु चोक-चोकहरू र गल्ली-गल्लीहरूमा । यो पुरानो साइकललाई नै नयाँ मान्ने बाध्यता हिजो पनि सशक्त थियो र आज पनि प्रवल छ । आर्थिक रूपमा पो प्रगति भएन त अरू कुरामा म कोभन्दा कम छु र ? मस्तिष्कमा प्रायः आइरहने विचार हो यो । यही विचारले नै आजसम्म मलाई बचाएको छ भनेर भन्नुपर्दछ । साइकलमा चढ्दैमा मान्छे कसरी सानो हुन्छ ? यही प्रश्नको हतियार लिएर म ठूला भनाउँदा माफियाहरूसँग क्रमशः लडिरहेछु, उनीहरूले यो कुरा नबुझेका भने होइनन् । यो लडाइँमा प्रायः उनीहरूकै जित हुन्छ कारण उनीहरू असंख्य रूपमा चारैतिर छरिएका छन् तर म भने एक्लो-एक्लो छु आफ्नो मूल्य र मान्यताप्रति प्रतिबद्ध । तर पनि मैले हरेस खाएको भने छैन, हरेस खाने हो भने माफियाजस्तो संयन्त्रसँग कहिल्यै पनि जित्न सकिँदैन ।

मेरो साइकल यात्राले कहाँ पुर्याउने हो भोलि त्यो थाहा छैन । तर अहिले भने गन्तव्यमा पुर्याएको छ यही साइकलले । म साइकललाई धन्यवाद दिन्छु र त्यसलाई सुम्सुम्याउँदै चाबी लाउँछु अनि केही पर रहेको सभाहलभित्र प्रवेश गर्छु ।

हुन त साइकलबाट मोटरसाइकलसम्मको यात्रा तय गर्नुपर्छ अनि पो प्रगति गरेको प्रष्ट रूपमा प्रमाण हुन्छ भनेर भन्छन् साथीहरू । यो प्रशङ्ग प्रायः मनमा आइरहन्छ साथीहरूकै कारणले एकान्तमा कहिलेकाहीँ । त्यस्तै दुर्इ पाङ्ग्रे मोटरसाइकलबाट अझ चार पाङ्ग्रे कारसम्म जाने बाटो पत्ता लगाउने हो भने शत्रुहरूलाई पनि बस्मा पार्न सकिन्छ भनेर भन्छन् इष्टमित्रहरू । यो कुराले पनि चस्स-चस्स नबिझेको भने होइन ।  कारमात्र किन ? आकाशैमा उडिरहने  हवाइजहाजमा सँधै उडिरहन पाए आनन्दको अर्को परिभाषा यही जुनीमा लेखिने थियो भनेर अत्यन्त नजिकका आफ्नाहरूले घरि-घरि नभनेका होइनन् मलाई । कहिले कुनै कुराले विचारलाई कमजोर पार्ने चेष्टा गर्छ भने कहिले कुनै कुराले दृष्टिकोणलाई नै जोडसँग प्रहार गर्छ । एउटा निहत्था मान्छे कहाँ-कहाँ र के-केसँग जुध्ने ? बढो अप्ठ्यारो स्थिति छ मसँग, यो प्रायः रहिरहन्छ मसँग सँधै । सपनाहरू भने आइरहन्छन् समयको ख्याल नगरिकन नै । बारम्बार सपनाहरूले देखाइरहन्छन्, मान्छेहरूका कुरा सुन्ने र उनीहरूकै पछि लाग्ने हो भने झन् झन् प्रगाढ रूपमा जीवनमा रमाइलो हुने कुरा निश्चित छ । लाग्छ, जीवनका रङ्गहरू छरिएका छन् अनन्त अनन्तसम्म मानौं त्यसलाई क्यानभासमा नपोतेर ती रङ्गहरूको कुनै कलात्मक प्रस्तुति नै भएको छैन ।

 साइकल अघि बढिरहेछ, साइकलले मलाई अघि बढाइरहेछ अर्थात् मेरो साइकल यात्रा जारी छ । कहिलेकाहीँ मलाई नलागेको भने होइन मैले साइकललाई अघि बढाएको हुँ कि साइकलले मलाई अघि बढाएको हो यसमा विवाद गर्न पनि सकिन्छ शायद, कुनै छलफलको विषय हुन पनि सक्छ यो सर्न्दर्भ तर यो भने वास्तविकता हो कि मैले साइकल नचलाएको भए त्यसले पनि गन्तव्यसम्म पुर्याउन सक्ने नै थिएन मलाई । मैले साइकल चलाइरहेछु र त साइकलले मलाई ठाउँमा पुर्याइरहेछ । जसरी बुझे पनि कुरा एउटै हो ।  कहिले त धेरै चलाउनु पर्छ तर गन्तव्य भने आउँदैन । खुट्टाहरू थाकेर गल्न थाल्छन् र विचारहरूका क्रम टुट्दै जान्छन्, फेरि त्यसलाई जोड्न नै सकिँदैन । पुग्नुपर्ने ठाउँ कति टाढा रहेछ, म एकछिन रोकिएर परतिर हेर्छु टाढा धेरै टाढा पुग्नुपर्ने ठाउँ कतै नदेख्दा तर्कनाहरूभित्र मन क्रमशः बरालिन थाल्छ । विचारहरू तथा अनुभूतिहरू टुट्ने क्रम समय र परिस्थितिले पनि फरक पार्दो रहेछ । साइकल गतिशील हुन्छ अर्थात् मैले साइकल चलाउन सुरु गर्छु ।

एकदिन बाटोको छेउमा हुन्छु म, एउटा मोटरसाइकल पछाडिबाट वेगसँग आएको सुन्छु र एकछिनपछि म सडक किनारमा हुन्छु, लडेको अवस्थामा । मोटरसाइकलले मलाई हानेर जान्छ, म पर हेर्छु मोटरसाइकल टाढा पुगिसकेको हुन्छ । म केही समयपछि उठ्छु, लडेको शरीर दुख्ने नै भयो, बेस्सरी दुख्नथाल्छ । दिनको उज्यालोमैं एउटा मोटरसाइकलले साइकललाई हानेर जान्छ तर मैले केही गर्न सक्दिन । मैलेमात्र होइन कसैले पनि केही गर्न सक्दैन । वास्तवमा यो देशको नियम/कानुन ठूला-ठालु भनाउँदाहरूलाई नलाग्ने नै रहेछ  भन्ने कुरा पुष्टि भएको थप प्रमाण मिल्छ मलाई ।

सबै साधनहरूका अगाडि एउटा साइकल निहत्था उभिन्छ बीच सडकमा र केही पनि गर्न सकिंदैन, साइकलको निरीहता बडो दयनीय रूपमा प्रकट हुन्छ, म त्यस स्थितिरति अनभिज्ञ रहन सक्दिन । लाग्छ, यो पनि जीवनकै एकभाग हो । दार्शनिकहरूले भनेझैं सबै मान्छेहरू समान अवस्थिति लिएर जन्मिएका हुन्छन् तर यो धरतीमा आएपछि परिस्थितिका कारण ती गुलाम हुन्छन् । र्स्पर्श गर्न सकिने सबै चीज वा वस्तुहरूको अस्तित्व यस धरतीमा छ । सबै साधनहरूका आफ्नो पहिचान हुनुपर्ने पनि हो ! साइकलको पनि आफ्नै परिचय छ र त्यसले धेरै कुरामा सहयोग पनि गरिरहेको छ मान्छेलाई तर एउटा कमजोर साधनलाई हानेर अर्को बलियो साधनले तीव्र गतिमा आफ्नो बाटो नाप्छ भने त्यस्तो स्थितिलाई एक्काइसौं शताब्दी अनुकुल छैन भनेर भन्नु नै पर्ने हुन्छ । मान्छेहरूले मान्छेहरूलाईजस्तै साधनहरूले पनि साधनहरूलाई शोषण गर्ने प्रक्रियामा कत्ति पनि परिवर्तन आएन आजसम्म ।  कुराहरू बदलिए, समय बदलियो, शैली बदलियो, तर प्रक्रिया त त्यही रहृयो शताब्दीयौंदेखि ।  विज्ञानले जति नै प्रगति गरे पनि साधनहरूलाई हर्ेर्ने मान्यता र मान्छेहरूलाई हेर्ने दृष्टिकोणमा  विज्ञान प्रायः असफल भएको कुरामा भने होइन भन्ने सक्ने स्थिति नै छैन । म साइकल उठाउँछु । साइकल राम्रोसँग चल्दैन, आफ्नो अर्समर्थता प्रकट गर्छ अघि बढ्न । म खोल्ती छाम्छु, खोल्ती टक्टकिएको हुन्छ । अब टेन्सनले गति लिन्छ साइकलको ठाउँमा । वास्तवमा मान्छे त्यसै हरेस खाँदैन, समय र परिस्थितिले उसलाई हरेस खुवाउँछ, विचरा निरीह मान्छेले यसमा केही पनि गर्न सक्दैन । अब हेर्नुहोस् न, एउटा मोटरसाइकलले मेरो साइकललाई हानेर तीव्र गतिमा अघि बढ्छ तर मैले केही पनि गर्न सक्तिन । अझ जोडसँग साइकल सँगसँगै मलाई लागेको भए मेरो स्थिति के हुने थियो, के त्यस अवस्थालाई तपाईले अनुमान गर्न सक्नुहुन्छ - वास्तवमा त्यो कुरा अनुमानभन्दा पर छ । कतिपय यस्ता अवस्थाहरू हुन्छन् जहाँ उत्साहमात्र लिएर काम गर्नलाई अनुकुलता नै हुँदैन । वास्तवमा आदर्श र यथार्थलाई एउटै तराजुमा राखेर जोख्ने हो भने यथार्थको मात्रा कयौं गुणा बढी हुन्छ । आदर्शले जीवन चल्दैन, जीवन त यथार्थको पिँजडामा कैद छ । यथार्थले नै मान्छेलाई नचाउनुसम्म नचाउँछ । जे होस्, साइकल आज यस्तो एउटा यथार्थ हो जसबाट बचेर जान कुनै अवस्थामा पनि संभव छैन । साइकल छोडेर पनि के गर्ने मोटर साइकल चढ्ने आफ्नो आर्थिक हैसियत कहिल्यै पनि भएन । सपनाले त प्रायः ढोका ढक्ढक्याउँछ के बिहान के साँझ । अब सपनाकै पछि लाग्ने हो भने अरू चढेझैं गरेर रातारात साधन चढ्ने जादुको लठ्ठी आफूलाई कहिल्यै पनि प्राप्त भएन ।  मान्छेहरू ठूला र महङ्गा साधन कसरी चढ्छन् कुन्नी ! भन्नलाई त भन्छन् मान्छेहरू, 'एउटा त्यही जागीरको भर त हो जसबाट परिवार पाल्नैपर्यो, घर-व्यवहार चलाउनै पर्यो, छोरा-छोरी पढाउनै पर्यो, बिरामी हुँदा उपचार गर्नेपर्यो आदि, इत्यादि ।' तर तिनै मान्छेहरू ठूला र महङ्गा होटलमा प्रवेश गरिरहेका देखिन्छन्, भर्खरै बजारमा आएको नयाँ/नयाँ साधनलाई आफ्नो बनाएर । कसरी पत्याउनु अब मान्छेहरूका बोलीलाई ! मुखमा राम-राम बगलीमा छुरा भनेको यसैलाई त होला । कसरी विश्वास गर्नु उनीहरूको जीवनशैलीलाई ! आफ्नो त त्यही एउटा साधन छ जसले मलाई ठाउँ ठाउँमा पुर्याउँछ, पुर्याउँदैन भनेर कसरी भन्नु - पुर्याएकै छ । जानी/जानी झुठो बोल्नु पनि त भएन नि ! मलाई थाहा नभएको होइन, त्यही साइकललाई  पनि अरूका कुरा सुनेर अबदेखि चढ्दिन भनेर छोडिदिने हो भने सँधैभरिलाई जहाँको त्यहीँ हुन पनि के बेर - अर्काले घोडा चढ्यो भनेर आफूले घरको धुरी चढ्न पनि त भएन नि !मान्छेहरू भन्छन्, 'साइकल चढ्नेको कुनै नाम हुँदैन, मात्र बद्नाम हुन्छ अर्थात् साइकलले बद्नामीसिवाय केही दिँदैन' भनेर ठाउँ-कुठाउँमा मान्छेहरू भनिरहेका भेटिन्छन् । एकथरि मान्छेहरू भन्छन्, 'साइकल चढ्नेको कुनै व्यक्तित्व हुँदैन, साइकलले व्यक्तित्वलाई रुझेको बिरालोजस्तो बनाउँछ ।' एक मन त लाग्छ, मान्छेहरू साइकललाई छोडेर मोटरसाइकलमा पुगे तर बौद्धिक कसरत गर्न भने प्रायः भुले । फेरि मोटरसाइकललाई छोडेर मान्छेहरू बाजा/गाजाको साथमा कारभित्र प्रचार/पसारसहित पसे तर मस्तिष्कलाई चाहिने खुराक भने लत्याउँदै अघि बढे । सम्पन्नताको आडमा मान्छेहरूले जति  साधनहरू फेरे पनि अध्ययनको परिधि नबढाउँदा मान्छे आर्थिक रूपमा सक्षम त भयो तर बौद्धिक रूपमा भने सँधै खोक्रो रहृयो । अब तपाई नै भन्नुहोस् त, जोसँग जे साधन छ त्यही साधन चढ्दा मान्छेहरूलाई किन यति धेरै टाउको दुख्छ ? किन मान्छेहरू नानाथरि कुरा गरेर बस्छन् अर्काको बारेमा ? मलाई लाग्छ, मान्छे विचारमा सही हुनुपर्छ र दृष्टिकोणमा सकारात्मक हुनर्ुपर्छ अनि मान्छेले मान्छेलाई अत्यन्त सम्मानपूर्वक व्यवहार गर्नुपर्दछ । यदि मान्छेले मान्छेलाई सँधै असम्मान गर्ने हो भने भोलि ऊ सम्मानको लायक रहँदैन पनि । खोइ ! कहिले बुभ्ने मान्छेहरूले यी कुरा ?

तपाईहरूलाई थाहा भएकै कुरा हो, मान्छे समय र परिस्थितिको दास हो । जति नै कोशिश गरे पनि समयमाथि शासन गर्न र परिस्थितिलाई गुलाम बनाएर रमाउन सक्दैन मान्छे । हो, केही समयको लागि यो कुरा संभवजस्तो देखिन्छ तर समयक्रममा मान्छे सँधै विजेताको रूपमा रहिरहँदैन । मेरो मान्यता के हो भने साइकल चढ्नेलाई साइकल चढ्न दिनुर्पर्दछ स-सम्मानका साथमा ।  साइकल चढ्नुभन्दा अर्को उपाय नभएपछि के गर्ने ? के आत्महत्या गरेर मर्ने ? साइकल चढेर व्यक्तित्व बन्दैन भनेर मान्छेहरूका पछि लाग्ने हो भने हातमुख जोड्ने अलिकति रहेको खेत-बारी बेची-बेची मोटरसाइकल चढ्नु पनि त भएन नि !

ठूला मान्छेहरूले धन र पदको कारणले साना तथा निहत्था मान्छेहरूलाई पटक-पटक शोषण गरेझैं ठूला-ठूला साधनहरूले पनि साना तथा कमजोर साधनहरूलाई देख्नै नसक्ने रहेछन् भन्ने कुरा आजको यथार्थ हो, म त्यसको बारम्बार भुक्तभोगी पनि हुँ । मैले धेरै पल्ट अनुभव गरेको छु कि सडकको छेउबाट साइकल चलाउँदा पनि त्यसलाई हानलाजस्तो गर्छन् ठूला साधनहरू, मानौं साइकल चलाउने मान्छेहरूको बाँच्ने अधिकार नै छैन यस धरतीमा । आफू पनि उस्तै भएर तिनलाई हान्न जाउँ भने आकार/प्रकारले कत्ति पनि साथ  दिदैन तिनका साधन अगाडि ।

वास्तवमा मान्छेजस्तै साइकल पनि वर्ग विशेषको शिकार भएको छ भनेर भन्नुपर्छ । मान्छेलाई गर्ने शोषण र अत्याचारको प्रक्रिया अर्कै होला तर साना साधनलाई हेर्ने दृष्टिकोणमा मूलभुत भिन्नता भने पटक्कै छैन । शताब्दीयौंदेखि चलेको यो  सँस्कारलाई कुनै पनि परिवर्तन र क्रान्तिले वास्तवमा सम्बोधन गर्न सकेन भनेर भन्नु नै पर्ने हुन्छ । इतिहास प्रत्यक्षदर्शी छ, विचारका कारण भएका क्रान्तिहरूको । सामाजिक रूपान्तरण भएका कुरा हामीले स्कुल, कलेजमा नपढेका होइनौं । साँस्कृतिक आन्दोलनका लागि भनेर हजारौं शहीद भएर गए तर तिनका परिवारहरू भने अहिले पनि सास्तीको मारमा परेकै छन् । मर्ने त मरेर गए तर बाँच्नेले भने सात पुस्तालाई पुग्ने गरी मोज गरे । परिवर्तन र आन्दोलनका ठूला ठूला कुरा नभएका होइनन् । चाहे सडकमा होस् या सदनमा चर्कै कुरा भएकै हुन् आजसम्म । चाहे मञ्चबाट भनिएको होस् या सभाहलभित्रको तालीको करतल ध्वनिका बीच ठूला-ठूला कुरा नभएका होइनन् । तर व्यवहारमा त उही सामन्ती अवशेष अझ पनि जस्ताको त्यस्तै छ, नपत्याए तपाई आफूले आफ्नै पनि मूल्याङ्कन गर्न सक्नुहुन्छ । कहीँ न कहीँ केही न केहीबाट तपाई पक्कै पनि शोषित हुनुहुन्छ ।  वास्तवमा एक्काइसौं शताब्दीसँगै झनै बढेको यो शोषणको सत्ता अझ कहिलेसम्म जारी रहला भनेर अनुमान गर्न नै कठिन छ ।

अस्तित्वको कुरा गर्ने हो भने प्रत्येक चीज वा वस्तु जसलाई र्स्पर्श गर्दा अर्थबोध हुन्छ र अनुभूतिहरूमा स्पष्ट आकार लिन्छ त्यसको आफ्नै स्व-पहिचान हुनुपर्ने हो तर यथार्थमा त्यो कुरा कतै पनि देखिँदैन । मान्छे सानो/ठूलो हुनसक्छ, मान्छे होचो/अग्लो हुनसक्छ, मान्छे कालो/गोरो हुनसक्छ तर त्यसैको आधारमा मान्छेलाई हेर्ने दृष्टिकोणको विकास हुन्छ भने मान्छे अध्ययनशील प्राणी हो भनेर मान्ने आधार कतै पनि देखिँदैन । अनि मान्छेको  दृष्टिकोण नै एकाङ्गी छ भनेर किन नभन्ने ? इतिहास यसरी नै बन्दै जाने र त्यसलाई यसरी नै स्वीकार्दै जाने हो भने मान्छे र बुख्याचामा प्रष्ट फरक हुने दिन नआउन पनि सक्छ ।

अब हेर्नुहोस् न, मेरो साइकलले कसको के बिगार गरेको छ र त्यसलाई त्यस्तो रूपमा व्यवहार गर्ने ? कि साइकल अनावश्यक ठाउँमा प्रवेश गरेर नियम भङ्ग गरेको भए त्यो कुरा सुहाउँथ्यो । कि साइकलले कसैलाई गएर हानेको भए पनि त्यस्तै व्यवहार त्यसको लागि उपयुक्त हुन्थ्यो । के साइकलको बाँच्ने अधिकार छैन त यस समाजमा? तपाईले आफ्नो अधिकारको कुरो उठाउनु हुन्छ भने मैले यो साइकलको अधिकारको कुरा उठाउँदा किन हास्यास्पद हुन्छ  स्थिति ?

हेर्नुस, चराको आफ्नो अस्तित्व छ त्यस्तै जनावरहरूको । नदीको आफ्नो अस्तित्व छ त्यस्तै फूलहरूको । के आकाशको आफ्नो अस्तित्व छैन भनेर तपाई भन्नु सक्नुहुन्छ ? के तपाई गोरा मान्छेहरूका अगाडि उभिएका काला मान्छेहरूको कुनै अस्तित्व नै छैन भनेर आफ्नो दृष्टिकोण र्सार्वजनिक गर्न सक्नुहुन्छ ? अमेरिकाको आफ्नो अस्तित्व छ भने इराकको छैन भनेर कसरी भन्ने ? पेन्टागनको आफ्नो अस्तित्व छ भने आइफल टावरको छैन भनेर कसरी भन्ने? हरेक कुराको अस्तित्व छ भने मेरो साइकलको अस्तित्व किन नहुने ? मेरो प्रश्न छ यहाँनेर ।

मेरो साइकल फेरि अघि बढ्छ, साइकल यात्राले फेरि गति लिन्छ । यातनाशिविरमा पटक-पटक दुर्घटित हुन्छ साइकल र पनि साइकललाई मैले छोड्न सक्दिन । मान्छेहरूमाझ नै चोटग्रस्त हुन्छु म र पनि साइकलले मलाई छोड्न सक्दैन । लाग्छ, म साइकलको लागि नै बनेको हुँ र साइकल मेरो लागि नै बनेको हो ।  साइकल यात्रा अघि बढ्छ, म त्यही साइकलमा चढेर व्रि्रोहको हुँकार गर्छ ठूला साधनहरूसँग मेरो साइकलको लडाइँ जारी रहेझैं ठूला मान्छेहरूसँग मेरो लडाइँ पनि जारी नै छ ।

साभार-मधुर्पर्क

 

समाप्त

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 13 श्रावण, 2065

लेखकका अन्य रचनाहरु