आज रमिता छ उपन्यासमा चित्रित राजनैतिक परिदृश्य

- नवीन पौड्याल

१. आमुख :
नेपाली साहित्यमा इन्द्रबहादुर राई एउटा अति आदरणीय र श्रद्धाका व्यक्तित्व हुन्। उनी एक सफल स्रष्टा र द्रष्टा दुवै हुन्। उनी एक सफल उपन्यासकार, कथाकार, नाटककार, समालोचक र निबन्धकारका रूपमा चिन्हित छन्। हालसम्म उनका एउटा उपन्यास ‘आज रमिता छ’ (१९६४) , तीनवटा कथासङ्ग्रह ‘विपना कतिपय’, ‘कथास्था’ र ‘कठपुतलीको मन’ (१९८९), समालोचनात्मक कृतिहरूमा ‘टिपेका टिप्पणी’ (), नेपाली उपन्यासका आधारहरू (१९७४), ‘सन्दर्भमा ईश्वरवल्लभका कविताहरू’ (१९७६), ‘साहित्यको अपहरण’ (१८८३), ‘दार्जिलिङमा नेपाली नाटकको अर्द्धशताब्दी’ (१९८४), ‘अर्थहरूका पछिल्तिर’ (१९९४), ‘पृष्ट पृष्ठ’ (१९९८), ‘लेखहरू र झ्याल’, निबन्ध सङ्ग्रहहरू ‘पहाड र खोला’ (१९९३), ‘समयाङ्कन दैनन्दिनी’ (१९९७), नाटक ‘पहेंलो दिन’ आदि पुस्तकाकार कृतिहरू देखा पर्छन्। उनका सिर्जना र समालोचनात्मक लेखहरू सबैलाई समेटेर सिक्किमको निर्माण प्रकाशनले पाँच खण्डमा ‘इन्द्र सम्पूर्ण’ प्रकाशित भएको छ। उक्त समग्र ग्रन्थावली प्रकाशनपछि उनले लेखेका अन्य लेखहरू ‘सम्पूरक’ (२०१४) र ‘रहल लेखहरू’ मा प्रकाशित भएका छन्।
२. राजनिती र केही नेपाली उपन्यासमा राजनैतिक स्पर्श :
भारतको राजनितीको पिरो धुँवाले भारतका रैथाने गोर्खालीहरूलाई पिरोलेको इतिहास पाइन्छ। दार्जिलिङ, सिक्किम र असमका गोर्खालीहरू केही न केही राजनितीको शिकार बनेका छन्। भारतमा गोर्खालीहरूले आफुलाई राजनैतिक रूपमा असुरक्षित अनुभव गरेर समय समयमा आफ्नो छुट्टै प्रशासनिक इकाइको माग गर्दै आएको इतिहास छ। सन् १९०७ देखि नै दार्जिलिङका विभिन्न गैरराजनैतिक र राजनैतिक सङ्गठनहरूले ब्रिटिस शासक र भारतीय शासकहरूसमक्ष आफ्नै छुट्टै प्रशासनिक इकाईको माग गरी ज्ञापन पत्र र आन्दोलन गरेका हुन्। पछिबाट भने गोर्खालीग, प्रान्त परिषद, गोर्खा राष्ट्रीय मुक्ति मोर्चा र गोर्खा जन मुक्ति मोर्चाले छुट्टै राज्यको आन्दोलन गरेका हुन्। दार्जिलिङबाट प्रकाशित केही उपन्यासहरूमा युगानुकूल राजनैतिक अवस्थाको चित्रण पाइन्छ । अर्को उल्लेखनीय राजनैतिक विषयकेन्द्रित उपन्यासमध्ये १९८६ सालको गोर्खाल्याण्ड आन्दोलनमा आधारित बद्रीनारायण प्रधानको ‘भुमरी’ मा पनि प्रखर राजनैतिक चेतना पाइन्छ।
३. राजनिती र इन्द्रबहादुर राई :
इन्द्रबहादुर राई पनि एकताका सक्रिय राजनितीमा ओर्लिएका हुन्।उनी एक भाषा सङ्ग्रामी, राजनैतिक चिन्तक, गोर्खा अस्मिताको निम्ति सोंच राख्ने राजनितीज्ञ हुन्। उनी विशेषगरी भारतको राष्ट्रिय कँग्रेससित जोडिएका थिए। उनी एकपटक दार्जिलिङका नगरपाल रही नगरपालिकाका उपाध्याक्षसमेत बनेका थिए। यद्यपि उनको राजनैतिक अडान भने भारतमा गोर्खाहरूको आफ्नो घर बनाउनु पर्ने आवश्यकतामाथि आधारित देखिन्छ। सन् १९७७-७८ सालतिर उनले राजनैतिक सिद्धान्त समभाव राख्ने साथीहरू मिली सन् १९८० मा प्रान्त परिषद् नामक एउटा राजनैतिक दल गठन गरेका थिए। उनी त्यसका अध्यक्ष भएर राजनिती पनि गरेका हुन्। उनले दार्जिलिङको चोकबजारमा भाषण पनि गरेका हुन्। मूल रूपमा भने उनी नेपाली भाषा सङ्ग्रामी हुन्। भारता नेपाली भाषालाई सम्वैधानिक मान्यताको निम्ति गरिएको सङ्घर्षको मुख्य नायके हुन्।
४. आज रमिता छ उपन्यासमा राजनैतिक चेतना :
इन्द्रबहादुर राईको उपन्यास आज रमिता छ (१९६४) मा दार्जिलिङे राजनैतिक परिदृश्य स्पष्ट देखा पर्छ। यस उपन्यासभित्र बीसौं शताब्दीको चालिस र पचासको दशकभित्रका दार्जिलिङको प्रतिविम्बित राजनैतिक परिदृश्य झल्काइएको छ। तत्कालीन राजनितीको केन्द्र र लक्ष्य चियाकमानमा आधारित छ। चियाकमानमा ब्याप्त अन्याय, अत्याचार, अभाव, असुरक्षा, अल्प आय आर्जन जस्ता समस्या विद्यमान थियो। यस्ता समस्याबाट चिया श्रमिकहरूमा भित्रभित्रै असन्तुष्टि, आक्रोश र विद्रोहको आगो सल्केको थियो। सन् १८१६ मा नेपाल भारतबीच सुगौली सन्धी, महात्मा गाँधीको पक्राउ र काँग्रेस पार्टी अवैद्ध भएको घोषणा, दलबहादुर गिरीले दार्जिलिङ गान्धीको हल्ला चलाएको, चियाकानमा विद्रोह गर्न खोजे हट्टाबाहिर प्रथा रहेको, घरमूली हट्टाबाहिर भए उसको परिवारका अन्य सदस्य पनि खमान छोड्नुपर्ने नियम, १६ अगस्ट १९४६ का दिन कलकत्तामा हिन्दू मुस्लिम दङ्गा परेको, भारतले मध्यरातमा ब्रिटिसको शासनबाट मुक्ति पाएको, हैदरवाद भारतको अङ्गको रूपमा समावेश भएको, नेपालमा राणा शासन विरूद्ध आन्दोलन र वि.सं. २००७ सालमा मुक्ति हासिल गरेको आदि जस्ता राजनैतिक घटना र प्रसङ्गको उल्लेख र संकेत पाइन्छ।
यस उपन्यासमा राजनितीका केही पक्ष यसरी परिलक्षित भएको पाइन्छ –
क. भारतमा रहने गोर्खालीहरूले सामाजिक, आर्थिक राजनैतिक रूपमा आफुलाई असुरक्षित, असन्तुष्टि र अपहेलित ठान्छन् र त्यस्तो मानसिकता उपन्यासमा एकाध प्रसङ्गमा झल्किएको पाइन्छ।
ख. दार्जिलिङको राजनितीको केन्द्रविन्दु, माध्यमविन्दु, लक्ष्यविन्दु र स्वार्थविन्दु चिया कमान हो। यहाँबाट नै राजनितीको जड छ, राजनैतिक दलहरू खेल्ने गर्छन्, कमानलाई जति राजनैतिक उकेरा लायो उति राजनितीको फसल फल्ने माध्यम बनाएको तथ्य प्रतिविम्बित हुन्छ। यहाँका श्रमिकहरूमा मालिकवर्गको अन्याय, अत्याचार, अल्पवेतन, अदेखा जस्ता समस्याको प्रभावस्वरूप विद्रोह चेतनाको विकास।
ग. दार्जिलिङ शहर र कमानका युवावर्गमा बेरोजगारी समस्याका आएको राजनितीप्रतिको आकर्षण र विकर्षण, यसतर्फ अभिरूचि र चासो, राजनैतिक दलप्रति आस्था र समर्पण पनि देखा परेको छ। यद्यपि उपन्यासमा दार्जिलिङका युवाहरूमा राजनैतिक सुझबुझ र सैद्धान्तिक आधारभन्दा आवेग, आवेश र आक्रोसको भाव अधिक देखिन्छ। विचार नपुर्‍याइ आन्दोलनको नाममा लेबुङको सेनवाहिनीमाथि ढुङ्गामुडा गर्नु, ल्यान्डरोभरमा चडेको बङ्गालीको चश्मा फुटाइदिनु, दरोगाबजारको कैंयाँको पसलमा तोडफोड गर्नु आदि हुनु जस्ता कुरा देखा पर्छन्।
घ. दार्जिलिङमा भीडको राजनिती प्रभावशाली रहेको तथ्य स्पष्ट छ। भीडप्रति आकर्षण र समर्पण मान्छेभित्रको सामूहिक अचेतनको प्रभाव हुनसक्छ। नारा जुलुसमा अभिरूचि, सक्रियता र सहभागिता, भीडभित्र उट्पट्याङ क्रियाकलाप आदि देख्न पाइन्छ।
ङ. उपन्यासको विकास अवस्थादेखि नै राजनितीको प्रवाह मन्द गतिमा चलेको पाइन्छ भने अन्तमा भने चरम अवस्था देखिन्छ। गोलीकाण्ड र १४४ धारा लागेर उपन्यासको समाप्ति गरिएको छ। गोलीकाण्डको पृष्ठभूमि र त्यसको परिणति नै उपन्यासको केन्द्रीय कथ्य हो।
च. उपन्यासमा पनि राजनेता र राजनितीप्रति आममानिसको नकारात्मक विचार राखिएको पाइन्छ।
उपन्यासको मूल पात्र जनक, भूदेव राजनैतिक कर्मी हुन् भने रवि, हरि, पार्थिव आदि राजनैतिक रूचि लिएको नवयुवक हुन्। चियाकमानहरूमा व्याप्त अत्याचारका विरूद्ध श्रमिकहरू संगठित हुन थालेका छन्। दार्जिलिङ शहरमा विभिन्न कमानहरूबाट श्रमिकहरू दिनदिनै जुलुस गर्दै हिँडेको देखाइएको छ। चिया श्रमिकवर्ग र मालिकवर्गबीच संघर्षस्वरूप दार्जिलिङ शहरमा विकराल रूप लिएको थियो जसको फलस्वरूप सन् १९५५ सालमा मार्गरेट्स होप गोलीकाण्डमा परी आठजना श्रमिकहरू मृत्यु भएको कुरा उपन्यासमा प्रतिविम्वित भएको देखाइएको छ। चियाकमानमा मजदूरहरूलाई थोरै ज्याला दिएर मालिकवर्गको मुनाफाखोरी प्रथा कायम रहेको देखाइएको छ। यद्यपि मालिकवर्ग शोषणलाई लिएर राजनैतिक दल र नेताको प्रादुर्भाव भएको तथ्य पाइन्छ। त्यसलाई राजनैतिक मुद्दा बनाएर केही अवसरवादी व्यक्तिहरू नेता बनेर राजनैतिक फाइदा लिएको तथ्य प्रकाश पारिएको छ। नेताहरूले श्रमिकहरूलाई आन्दोलनको जुलुसमा हिँडाउनु, प्रशासनिक सुरक्षा शक्तिसँग मुडभेड गराउनु केही आन्दोलनकारी मर्नु, विद्रोहीहरूका क्रियाकलाप ठप्प पार्नु निषेधाज्ञा जारी हुनु र त्यही सरकारी निषेधाज्ञाको उल्लङ्घन गराएर श्रमिकहरूको ठुलो समावेश एवम् सभा गराउन उपन्यासकारको राजनैतिक चेतना स्पष्ट देखिन्छ।
आज रमिता छ उपन्यासको विशृङ्खलित कथावस्तुभित्र राजनितीका विविध पक्षहरू पनि बिचबिचमा देखा पर्छन्। दार्जिलिङको चियाकमानमा मालिक पक्षले उपद्रवी श्रमिक नेताका विरूद्ध मुद्दा दर्ता गर्छ र अन्य नेताहरू त्यसबारे चासो लिन्छन्। एकपटक एम के बसेको जनसभामा भूदेवले मात्र भाषा गर्छ तर चर्चा अरू पनि सामेल हुन्छ। उक्त चर्चामा नोकरीको अभाव, जमिनको सरकारी सुबिधा, नेपालबाट गएका मानिसहरू दार्जिलिङ र असममा दुःख पाएको त्यस्ता समस्याको समाधान गर्नेबारे प्रस्ताव ग्रहण गर्ने जस्ता मुख्य विषयहरू हुन्छन्। भारत-चीनको पञ्चशील सन्धि र शुद्ध नगर्ने सम्झौताले गोर्खालीहरूले युद्धमा बहादुरी देखाउन सक्दैन पाउदैन र भारतमा मूल्यहीन होइन्छ भन्ने त्रास पनि तत्कालीन गोर्खालीहरूमा थियो भन्ने सङ्केत पनि पाइन्छ।
उपन्यासमा शोषित श्रमिकवर्ग र शासकको बीच एकप्रकारको सङ्घर्ष अनि शासकको आडमा रहेको पुलिसी द्वन्द्वलाई लिएर समालोचक जस योञ्जन प्यासीले यस उपन्यासलाई प्रगतिवादी उपन्यासको रूपमा प्रस्तुत गरेका छन्। यद्यपि यसलाई प्रगतिवादी उपन्यासभन्दा राजनैतिक चेतनामूलक उपन्यास मान्न सकिन्छ। आज रमिता छ उपन्यासमा भूदेव यस्तै अवसरवादी नेताको रूपमा प्रस्तुत छ। उपन्यासमा दुई प्रकारका राजनैतिक कर्मी देखाइएको छ - सचेत राजनैतिक र असचेत राजनैतिक कर्मी। भूदेव, जनक, रवि, हरि, पार्थिव, प्रेमकृष्ण आदि सचेत कर्मी हुन् भने चियाकमानका मानिसहरू असचेत तर राजनितीमा सङ्लग्न भएका छन्। उनीहरू नेताको स्वार्थको साधन भएका छन्। ती चियाकमानका श्रमिकहरू राजनिती नै नबुझी अरूको कुरामा लागी बहकिएर, लहैलहैमा लागेर कराउँदै, ठट्टा र जोसमा जुलुसमा सामेल हुन्छन्। पुलिसले जुलुसलाई निषेधाज्ञा लाएर चेतावनी दिँदा पनि त्यसलाई गम्भीरतासँग नलिई अघि भिड्ने हुँदा अनाहकमा आठजनाको मृत्यु हुन्छ। दार्जिलिङको चियाकमान र शहरमा अहिले पनि त्यही असचेत राजनिती खेल सम्पन्न भइरहेछन्। अहिले पनि राजनैतिक सिद्धान्त र कटिबद्धताभन्दा होहोरीमा लागेर धरना, जुलुस गर्ने चलन देखिन्छ।
५. केही राजनैतिक नेता चरित्र भएका मानिसहरूको राजनैतिक चरित्र चित्रण -
क.भूदेव - उपन्यासको एउटा प्रभावशाली र मुख्य नेतापात्र भूदेव एकजना जण्डा खेलाडीका रूपमा देखा पर्छन्। तत्त्कालीन गोर्खाको जनप्रिय नेता डम्बरसिंह गुरूङसित भोट माग्न हिँडेका हुनाले उ अखिल भारतीय गोर्खालीगका सक्रिय सदस्य हो। उ स्वार्थी राजनेताको रूपमा झल्किन्छ। पार्टी अफि जान्छ, खट्नलाई भन्दा देखा पर्नलाई, अरूले उपद्रो गर्दा उ जेल जान्छ तर छुटाउन मान्दैन। भूदेव जेलमा थुनिदा उसलाई बेलमा छुटाउन आउने जनकलाई आफुलाई अलिक दिन नछुटावोस भन्ने राय व्यक्त गर्छ। जेलबाट छुटेपछि आफ्नै राजनितीको नायक हुने मानसाय छ। उप्रति आममानिसको विचार सकारात्मक छैन। उसलाई पिठ्युँपछाडि चोर र फटाहाको संज्ञा दिन्छन् अनि एमेले हुनखोज्दैछ भनी हेय दृष्टि राख्छन्।
ख.जनक – आज रमिता छ उपन्यासको मुख्य चरित्र र नायक जनकमान योञ्जन एकजना महत्त्वाकाङ्क्षी पात्र हो। आफु तामाङको छोरो भएर पनि उसले नेवारकी छोरी सिता बिहा गरेको छ (पहिलेको समयमा नेवार र तामाङको बिहालाई घोर अमान्य गरिन्थ्यो)। उ तत्कालीन दार्जिलिङको शिक्षित सचेत र सङ्घर्षशील व्यक्तिका रूपमा देखा पर्छ। उ एउटा सुन्दर घर, सुन्दर गाडीको कल्पना गर्छ। उ राजनितीमा समेत सामेल हुन्छ यद्यपि उ आफ्नो चीर प्रतिद्वन्द्वी भूदेवसित कुनै न कुनै हार्छ। उ दार्जिलिङ हाम्रो हो र अरूले राजनैतिक, सामाजिक आर्थिक र बौद्धिक रूपमा ढलीमली गर्न नपाउने भन्ने जातिवादी सचेतता राख्छ। उ एउटा स्थानीय राजनैतिक दलको सक्रिय कार्यकर्ता र दोस्रो पङ्क्तिको नेता हो। उ भूदेवसित मिलेर चियाकमानको हक अधिकारको निम्ति आन्दोलनको अग्रिम पङ्क्तिको नेता बनेको छ। भूदेव जेलमा पर्दा उ गएर छुटाउन कोसिस गर्छ तर भूदेव छुट्न मान्दैन। अन्तमा गोलीकाण्डपछि भूदेवको कर परेर १४४ धाराको उल्लङ्घन गर्दै जनसभा गर्छ। उ एक असफल राजनेताको रूपमा प्रस्तुत छ।
ग. एम के – एम के भन्ने एउटा पात्र घरि नोकरीको खोसुवामा पर्छ घरि राजीनामा दिन्छ। उ आफ्ना कमजोरी छोप्न रक्सी खान्छ। उ गरीबीको काण आफ्नो सुखी हुने र धरै धनार्जन गर्ने इच्छा नपुग्दा मातेको बेला म कम्युनिस्ट हुन्छु भन्छ। उ पनि राजनितीप्रति नजानिदो रूपमा आकर्षित छ र एउटा राजनैतिक दलको कार्यालयतिर जान्छ तर कुनै उल्लेखनीय स्थान पाउँदैन। “पार्टी अफिस एकछिन गइटोपलेको थिएँ”- भनेर उभित्रको दमत पद इच्छा र आकाङ्क्षा निहीत छ। उ पनि दार्जिलिङमा एउटा “ठुलो गुलमाल (विध्वंशक आन्दोलन) चलाउनुपर्छ” भन्छ।
६. वर्तमानकालीन दार्जिलिङको राजनिती र आज रमिता छ उपन्यासमा प्रतिविम्बित राजनिती - एक तुलना :
आज रमिता छ उपन्यासमा प्रतिविम्बित केही राजनैतिक परिस्थिति वर्तमानकालीन राजनितीसित निकै मिल्दोजुल्दो देखिन्छ। यतिबेला पनि दार्जिलिङ शहर र कमान बस्तीका मान्छेमा एक प्रकारको असन्तुष्टि, आक्रोश, अस्पष्टता आदि प्रतिविम्बित हुन्छ। विशेषगरी ५५ सालको प्रख्यात मार्गरेट होप चियाकमानमा चलेको गोलीकाण्डकालीन असचेत मानसिकता दार्जिलिङमा अद्यपि कायम देखिन्छ। भीडको मनोविज्ञानमा जनता भीडप्रति आकर्षित हुने, बहुसंख्याप्रति समर्पित हुने, आफ्नो एकल मौलिक र शाश्वत विचार भन्दा चर्चा, हल्ला विचारमा विश्वास राख्ने, नारा-जुलुसप्रति आसक्ति राख्ने, प्रदर्शनकारी संस्कृतिको विकास आदि तत्वहरू हाबी हुन्छन्। सुवास घिसिङको नेतृत्वको अघिल्लो आन्दोलन र विमल गुरूङको पछिल्लो आन्दोलनमा पनि यही भीडको मनोविज्ञानले पनि काम गरेको पाइन्छ।
सन् १९८६ सालमा दार्जिलिङ पहाडमा सुवास घिसिङको नेतृत्व बाइस महिने हिंसात्मक जनान्दोलन भयो। यसमा गोलीकाण्ड, लाठीचार्ज, नारा-जुलुस, धरना, बमकाण्ड, धडपकड़, हत्या, बलात्कार, अग्निकाण्ड, सरमुञ्डन, जेल, यातना, आपसी कलह आदिजस्ता घटना भए। घरघरबाट जुलुसमा हिँडने, राती राती आन्दोलनकारीहरू गाउँ र सडकको पेट्रोलिङ जस्ता कार्य गर्थे।
आजको समयमा राजनिती र राजनेताप्रति नकारात्मक विचार राख्ने गरिन्छ। आज रमिता छ उपन्यासमा पनि नेताप्रति आममानिसमा नकारात्मक धारणा भएको र श्रद्धा र सम्मानको भाव नभएको व्यक्त भएको छ। नेताहरूको नैतिकता नभएर दार्जिलिङको उन्नति नभएको धारणा व्यक्त गर्छन्। कमानमा मेनेजर कुटेर आएका र बोनस नपाएका श्रमिकहरू भूदेवलाई पर्खन्थे भनिएको छ। कमानका मानिसहरू एउटै दलमा मात्र कुद्छन तर ‘बजारेहरू दुःख हेरिहेरि पार्टी छान्दै दगुर्छन्’ भन्ने आशय राखिएको छ।
७. उपसंहार – आज रमिता उपन्यासलाई विभिन्न तह, अर्थ, व्याख्या सिद्धान्त र दर्शनका फाँटहरूमा विश्लेषण गर्नसकिन्छ भने राजनैतिक दृष्टिले अध्ययन गर्न सकिने धेरै ठाउँ छन्। यसलाई प्रखर राजनैतिक चेतनापरक उपन्यास मान्दा हुन्छ। यसको कथावस्तुको विकास, विस्तार समाप्ति सबै राजनितीमा आधारित छ। यसको अध्ययन गरे मात्र पनि तत्कालीन दार्जिलिङको राजनैतिक अवस्थाको प्रतिविम्बन भएको छ। जनक र भूदेवहरू राजनेता भए पनि गिर्दो नैतिकताका नमूना बनेका छन्। उहिलेदेखि नै दार्जिलिङको राजनिती सैद्धान्तिक अडान भन्दा समसामयिक समस्याको अस्थायी समाधानमा केन्द्रित देखिन्छ।

कालिम्पोङ

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 6 जेठ, 2076

लेखकका अन्य रचनाहरु