अहा ! यस्तो देख्नुपर्ने दिन पनि आयो !

- पुण्य खरेल

बजारबाट किनारीकृत ठाउँमा
निरन्तर ढल बगिरहने खोल्सीछेउमा
खुइला इँटाहरुले बनेको भुतुङ्गो मैलो भुईँघरमा म
देख्नेहरुबाट सजिलै हेपाइतीमा पारिन्छु ।
आज म यस्तो छु, सहानुभूतिको पात्र
आठपाँच बोलाइन्छु सभासमारोहहरुमा
म चोर विरालो जसरी लुसुक्क आउँछु
त्यो सभा नै बिटुल्याउने जस्तो कुर्सीमा बसाइन्छु
र मर्मस्पर्शी सहानुभूतिका वाक्यहरु सुनाइन्छु ।
एक बेलाको मेरो दौंतरी
प्रमुख बनेर आँधी आएझैं आउँछ
या ऊ मौरीको रानु आएको होझैं आउँछ
या ऊ सलहको नेता आएको होझैं आउँछ
नघिनाएझैं गर्दै ऊ मसँग हात मिलाउँछ
प्रेमिल अभिनय गर्र्र्र्दै मेरा काँधमा हात थपथपाउँछ
मिलिक मिलिक फोटो खिचिन्छन्
सरर्र सरर्र भिडियो क्यामेरा घुम्छन्
मेरा अनुहारमा रुन्चे हाँसो पोखिन्छ ।
धेरैधेरै देशविदेश घुमेको
धेरै दामीदामी रम–रक्सी पिएको
शक्तिशाली मान्छे, मेरो एक बेलाको साथी
सभाभरिको आँखो बसेको छ ऊ
त्यही सभामा कसिंगर जस्तो बसेको छु म
मेरो टाउको फन्फनी घुम्छ र
मेरा टाउकाभरि कुरा रिङ्न थाल्छन् ... ...
सोर सत्र बर्षे उमेरमा ऊ र म
विद्रोहको रुमानी सपनाको लहैलहैमा
रगतले सहीछाप गर्दै थियौं
गरिब–गुर्वाको सर्वथा मुक्तिका निम्ति
काँधमा काँध मिलाउँदै थियौं
गोली थाप्नु परे
साथीको छातिअगाडि आफ्नो छाती थाप्न
उछिनपाछिन गर्ने
उन्मुक्त कवोल गर्दै थियौं ।
प्रथम श्रेणिमा पास भएको म
प्रथमै श्रेणिमा पास भएको ऊ
‘वुर्जुवा डिग्री बहिस्कार’ भन्दै
वुर्जुवा शिक्षा छोडेर खुसी थियौं
भोकोनाङ्गो जीवनबाट गाउँवस्तीलाई उकास्न
अन्याय र अत्याचारको कुम्भिपाकबाट निकाल्न
भुइँमा न भाँडामा भएका थियौं
अहो ! एक दिन यस्तो दिन थियो !
सिरुपाते खुकुरी चमचम चम्काउँदै ऊ
सिरुपाते खुकुरी चमचम चम्काउँदै म
सामन्तलाई ठनक ठनक गिंड्ने भन्थ्यौं
गरिब–गुर्वाको दिन फर्काउँछौं भन्थ्यौं ।
‘यिनै गरिबका रगत र पसिना चुसेर
यिनै गरिबका टाउको टेक्ने सामन्तहरु
हामी बाँकी राख्तैनौं’ भन्थ्यौं
‘ठनक ठनक गिंड्छौं’ भन्थ्यौं ।
गरिबीले हैरान भएका सोर अठार वर्षेहरु
चुसिंदा चुसिंदा भविष्य छेकिएका युवाहरु
मिसिंदै मिसिंदै गएपछि
सङ्ख्या बढेर अनेक हुँदै गयौं
जोस बढेर अकासिंदै गयौं ।
ओहो ! एक दिन यस्तो जोसिलो दिन थियो !
हामीभन्दा बलियो रहेछ कि सामन्तीको गुमस्ता
हेर्दाहेर्दै हाम्रा एक हुल साथीहरु
थुतिए हामीबाट जबर्जस्ती
घिस्याइए
जङ्गलमा लगेर गोली ठोकियो
हामी जुर्मुरायौं, मुर्मुरियौं, मुठ्ठी कस्यौं
‘हामी बदला लिन्छौं लिन्छौं’ चिच्यायौं
हामी पव्रmाउ प¥यौं, लाठी खायौं
कुम्भिपाकमा यमराजले दिने सास्ती पायौं
झ्यालखानमा प¥यौं ।
‘काटे शरीर ढल्छ, बिचार ढल्दैन मेरो’ भन्यौं
‘झ्यालखानमा थुनिँदैन कम्निस्ट’ भन्यौं
‘जिउँदो म सर्वहारा !’
‘यो अन्तिम युद्ध हो आआफ्नो ठाउँमा डटौं’ जप्यौं
हामीले जपिरह्यौं भनिरह्यौं
सुरुङ खन्यौं पालैसँग
पाले बस्यौं पालैसँग
झ्यालखानबाट साँच्चै उम्कियौं, निस्कियौं
ओहो ! एक दिन यस्तो रोमाञ्चक दिन थियो !
हामीलाई ‘जित्यौंजित्यौं’ लाग्ने दिन पनि आए
हामीलाई ‘विजयी भयौंभयौं’ लाग्ने दिन पनि आए
हुँदाहुँदै हुँदाहुँदै
कहाँनेर ? कुन मोडमा ? के भेद पस्यो ?
उनको र मेरो साँधमा कुन छेद पस्यो ?
एकाएक उनी अक्कासिन थाले
एकाएक म निसासिन थालें
थचारिन थालें
केही साथी हाम्रो मूल कार्यालय अगाडि
पासो लाग्छु भन्न थाले
केही साथी हामीसँगै
बगावत गर्छु भन्न थाले
वैरीका गोली वर्षिंदा
साथीको छातीअगाडि आफ्नो छाती राख्न उछिनपाछिन गर्ने
अब पद र पैसाको लागि उछिनपाछिन गर्ने हुन लाग्यौं
स्वार्थमा हाँप र झाँप गर्न लाग्यौं
के के भयो भयो !
के के भयो भयो !
हेर्दाहेर्दै एउटा साथी देशविदेश चाहार्ने भयो
महलभित्र विदेशी रम र रक्सीमा डुब्ने भयो
हेर्दाहेर्दै अर्को साथीको हविगत यस्तो भयो !
सामन्तको चालामाला उस्ताको उस्तै रह्यो
गरिब–गुर्वाको चाला उस्ताको उस्तै रह्यो
ओहो ! यस्तो देख्नुपर्ने दिन पनि आयो !

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 6 जेठ, 2076

लेखकका अन्य रचनाहरु