वन कवितामा पौरस्त्य दर्शन

- उषा आचार्य

सार
प्रस्तुत अध्ययन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘वन’ कवितामा पूर्वीय दर्शनसँग सम्बन्धित छ । पूर्वीय दर्शनशास्त्र विश्वको पुरानो र उच्चतम् ज्ञानको भण्डार हो । साहित्य कला र ज्ञानको संयोग रूप भएको कारण यसमा दर्शनको छवि देखिनु स्वभाविकै हो । पूर्वीय दर्शनमा संसार अनित्य, परिवर्तनशील भएकाले कुनै पनि कुरा चिरस्थायी छैन भन्ने दृष्टिकोण पाइन्छन् । यहाँ जन्म, मृत्यु, सृष्टि, प्रलय, आत्मा, शरीर, स्वर्ग नरक, मोज्ञ, कर्म भाग्य, लौकिक पारलौकिकजस्ता आफ्नै चिन्तन पाइन्छ । यस अध्ययनमा लक्ष्मीप्रसाद देवकोटाको ‘वन’ कवितामा व्यञ्जित भएको दर्शनलाई विश्लेषण गरिएको छ । मूलतः यहाँ देवकोटाको कलात्मक दर्शनलाई देखाइएको छ ।
१. विषयपरिचय
‘वन’ कविता लक्ष्मीप्रसाद देवकोटा (१९६६– २०१६) द्वारा रचना गरिएको एक उत्कृष्ट कविता हो । यो कविता वि.सं. २०१६ सालमा प्रकाशित ‘भिखारी’ कवितँ सङ्ग्रहमा सङ्ग्रहित छ । कवितामा पूर्वका विविध दर्शन, विचारलाई प्रस्तुत गरिएको छ । आफ्नो जन्मभूमिप्रतिको प्रेम देखाउनुको साथै लौकिक र अलौकिक संसारबिचका कुरालाई सम्वादात्मक रूपमा प्रस्तुत गरिएको छ । गीताको निष्काम कर्मयोग कवितामा महत्त्वपूर्ण बनेर देखिएको छ ।
सूर्यलाई अन्य नक्षत्रले परिक्रमा गरेजस्तै दर्शन पनि साहित्यको वरिपरि घुमिरहेको हुन्छ । हामीभित्र लुकेर रहेको संस्कार साहित्यमा पनि प्रकट हुन्छ । विचारलाई कलाको आवरणभित्र सजाउने काम कवि लेखकहरूले गरेका हुन्छन् । त्यही विचार तत्त्व र संस्कारलाई खोतल्नु आवश्यक छ । हिन्दु दर्शनका षड् दर्शनहरूमध्ये कुनै न कुनै दर्शन वा विचारले लेखकको मनलाई उद्वेलित पारिरहेको हुन्छ । नेपाली साहित्यलाई त्यस्ता पूर्वीय धार्मिक मान्यता वा दर्शनको आधारमा पनि विश्लेषण गरिनुपर्छ । यिनै दर्शनलाई आधार बनाई वन कवितामा पूर्वीय दर्शनको खोजी गर्ने काम यस लेखमा गरिएको छ ।
२. सैद्धान्तिक पर्याधार
जीवन , जगत्, निर्माता सम्बन्धको विचार, मान्यता र दृष्टिकोण नै दर्शन हो । पुरस् पदमा त्यक प्रत्यय लागेर बनेको पौरस्त्य शब्दले प्राक्कालीन सनातन रूपमा चल्दै आएको तत्त्व, चिन्तन, दृष्टिकोण वा विशिष्ट अर्थ बुझाउँछ । त्यस्तै दृशिर् प्रकृति पदमा ल्युट प्रत्यय लागेर बनेको दर्शन शब्दले ज्ञानात्मक, विचारात्मक, बौद्धिक र विवेकशील दृष्टिकोणको अर्थ धारण गरेको हुन्छ । यी दुई शब्दलाई संयोजन गर्दा तत्त्व भनेको आत्मा हो, आत्मा अनित्य वस्तुभन्दा भिन्न र विलक्षण हुन्छ, यसको ज्ञानबाट मानिसले मोक्ष प्राप्त गर्छ भन्ने अर्थ प्रतीत हुन्छ । पौरस्यानां वेदादिप्रमाणसिद्धानि प्रमाणप्रमेयादीनि तत्त्वानि स्वीकुर्तता व्यासजैमिनिकणादकपिल – पतञ्जलि प्रभृतीनां दर्शनभेव पौरस्त्यदर्शनम् अर्थात वेद, वेदानुकूल स्मृति, आचार आदि र प्रमाणद्वारा सिद्ध प्रमाण प्रमेय आदि तत्त्वहरूलाई स्वीकार गर्ने व्यास, जैमिनि, गौतम, कणाद, कपिल, पतञ्जलि, आदि तत्त्वदर्शी ऋषिहरूको दर्शन नै पौरस्त्य दर्शन हो (भट्टराई, २०७४ ः १–३) । पौरस्त्य दर्शन वेदमन्त्र, देवताको स्तुति, यज्ञ पूजा, उपासना एवम् तŒवहरूको सङ्कलन पनि हो । संसार परिवर्तनशील छ । मानिस पनि जन्मिएपछि एकदिन मृत्युवरण गर्न पुग्छ । जन्म मृत्यु शाश्वत नियम भए पनि मानिस मृत्यु, दुःख, अभावलाई स्वीकार गर्न चाहँदैन । मानिसले दुःखको कारण, दुःख निवारणको उपाय, अमरता र चिरस्थायीका निम्ति ईश्वरको खोजी गर्ने प्रक्रियामा दर्शनको प्रादुर्भाव हुन पुगेको हो । संसार दुःखमय छ, दुःखको कारण छ, दुःख नाशको उपाय छ भन्ने चिन्तनमा पूर्वीय दर्शन केन्द्रित छ ।
जीवन, जगत, ईश्वर , आत्मा, परमात्मा, जड, चेतन, अणु, परमाणु, ब्रह्म, मोक्षजस्ता कुराहरूको बारेमा चिन्तन गर्ने, खोजी गर्ने काम यस दर्शनमा गरिन्छ (ज्ञवाली, २०७४ ः २२) । सृष्टि र विनाश प्रकृतिको नियम हो । जन्मनु र मर्नुको छोटो समयमा मानिस भौतिक लोभमा पर्दछन् । भौतिक जगत् मिथ्या हो भन्ने बिर्सेर अनेक पाप र स्वार्थमा लाग्छन् । जति धेरै भौतिक सङ्कलन गरे पनि मानिसले सुख र सन्तोष प्राप्त गर्न सक्दैन । मानिस आफ्नो सुखमा रमाउने मात्र नभई अरूको दुःख हटाउने कारक पनि बन्नुपर्छ । मन्दिरमा पूजा गर्नु मात्र धर्म होइन, आफ्नो कला, बुद्धि र विवेकद्वारा आर्जन गरेको सम्पति दुःखीका उपयोगका लागि खर्चिनु वास्तविक धर्म हो । ईश्वर प्राप्ती र भौतिक समृद्धिलाई सँगसँगै लैजानुपर्छ । यसो गर्दा आत्मामा शान्ति मिल्छ । शान्ति र स्वतन्त्रता पाउनु नै मोक्ष मिल्नु हो । हामी खाली हात आउछौँ खाली हात जान्छौँ । सम्पत्तिका मालिक हामी होइनौँ । त्यसैले भौतिक मोहको सञ्जालमा पर्नु हुँदैन भन्ने पक्षमा पूर्वीय चिन्तन रहेको छ । जड र चेतनको सूक्ष्म भन्दा पनि सूक्ष्म तत्त्वलाई केलाएर देखाउनु दर्शन (गिरी, २०५५ ः १) भएकाले पूर्वीय दर्शनमा सूक्ष्मातिसूक्ष्म तत्त्वको खोजी गरिन्छ ।
३. ‘वन’कवितामा पोैरस्त्य दर्शन
‘वन’ कविता लक्ष्मीप्रसाद देवकोटाकृत पूर्वीय आध्यात्मिक दर्शन व्यक्त भएको कविता हो । यस कवितामा षड्दर्शनका विभिन्न वैशिष्ठ्य समाहित भएका छन् । मूलतः कवितामा सृष्टि र प्रलय, लौकिक र पारलौकिक चिन्तन, मोक्ष, कर्म, भाग्य, भौतिक वस्तुप्रतिको विमुखताको भाव प्रकट भएको छ । यस लेखमा पूर्वीय चिन्तनमा विकसित षड्दर्शनका साझा विशेषताका आधारमा देवकोटाको ‘वन’ कविताको विश्लेषण गरिएको छ ।
३.१ विधि वा भाग्यवादी दर्शन
भाग्य, विधि वा नियतिलाई व्यक्त गर्नु नै भाग्यवादी दर्शन हो । मानिस एक लाचार प्राणी बन्न विवश छ । उसलाई भाग्यले डो¥याएको छ । विधि वा भाग्यमा जे लेखेको हुन्छ मानिस सो फल भोग्न बाध्य हुन्छ । कोही पनि मानिस आफूमाथि दुःख, सङ्कट र चिन्ता आइपरोस् भन्ने चाहँदैन । नचाहँदा नचाहँदै पनि मानिस दुःख र पीरको खाडलमा परेकै हुन्छ । यो सबै भाग्य वा विधिको विधान हो भन्ने मान्यता पौरस्त्य दर्शनमा रहेको छ । ‘वन’ कविताका केही हरफले भाग्यवादी दर्शनलाई व्यक्त गरेका छन् ।
आँसु खसाली रोइरहेथेँ जीवन वनको बीच
खोजी खोजी कतै नपाई मेरा मनका चीज
टुटेफुटेका आशामाथि नयन दुःखका नीर
कहाँ कहाँको कता कताको मेरो मनको पीर ।
माथिका हरफमा भाग्यवादी दर्शन व्यक्त भएको छ । जीवन भनेको वनको मध्यभाग जस्तै हो । जहाँ बाटो पहिल्याउन कठिन छ । त्यहाँ अनेक बाधा र व्यवधान आउँछन् । डर, त्रास, दुःख पीरलाई सँगाली जीवनमा रोइरहनुपर्ने मानिसको बाध्यता हो । बन्धनमा परेर बाँचेको मानव मनमा अनगिन्ति चाहना हुन्छन् । मानिसले अनेकन चीजको खोजी गरे पनि सन्तुष्टी मिल्ने गरी प्राप्त गर्न सक्दैन । मनका तृष्णा पुरा गर्न मानिस जीवनभर भौँतारिइरहन्छ । सबै इच्छा र चाहना टुटेका हुन्छन् । तिनै टुटेका आशालाई सम्झिएर मानिस रुने गर्दछ । टुटेका आशा पनि दुःखले भरिएका हुन्छन् । जीवन भनेको सुख र दुःखको संयोजन पनि हो । मानिसको जीवनमा सुख र दुःख पालै पालो प्रवेश गरेका हुन्छन् । वास्तवमा मानव जीवन प्रश्नै प्रश्नले जेलिएको छ । मनमा आउने अनेक पीर कहाँबाट आयो ? किन आयो ? कसरी आयो ? भन्ने प्रश्नको जवाफ मानिससँग छैन । मानिस नियतिकै बन्धनमा बाँधिन बाध्य छ भन्ने विचार माथिका हरफमा व्यक्त भएको छ ।
यसरी ‘वन’ कवितामा मानिस नियति र परिस्थितिको परिधिमा रहेको छ । उसको जीवनमा अनेक सङ्कटहरू आउँछन् तर ती पीर, समस्यालाई मानिसले चिन्न सकेको छैन । दुःखको कारण र त्यसको स्रोत बुझ्न सकेको छैन भन्ने विधि वा भाग्यवादी दर्शन कवितामा व्यञ्जित छ ।




३.२. भौतिकतासम्बन्धीको दर्शन
मानिसका इन्द्रियले अनुभव गर्न सक्ने, दृश्यात्मक, अदृश्यात्मक धन सम्पत्ति, माया, जीवन यी सबै भौतिक वस्तु हुन् । भौतिक वस्तु चिरस्थायी हुँदैनन् । भौतिक जीवन नै मिथ्या भएकोले लोभ र मोह गर्न नहुने विचार पूर्वीय दर्शनमा रहेको छ । कुनै पनि भौतिक वस्तुको निर्माणपछि अन्त्य पनि हुन्छ । त्यसैले त्यस्ता अनित्य वस्तुको माया र लोभमा पर्न नहुने दार्शनिक चिन्तन पूर्वमा विकसित छ । ‘वन’ कवितामा भौतिकतासम्बन्धीको अनास्था र आत्मिकताप्रतिको आस्था प्रकट भएको छ ।
लालसाले मोहनीको रूप गरी धारण
बोली गहना झल्काई रून्छौ तिमी कुन कारण
विलासको यो महल, मनोहर हुन्छु म तिम्री रानी
मैले बोलेँ हुन्छ सबै यो भोलि धुलो खरानी
प्रस्तुत हरफमा धन सम्पत्तिको क्षणिकतालाई प्रष्ट पारिएको छ । मानिसमा हुने लोभ र लालसाले हामीलाई बारम्बार धनप्रति आकर्षित गरिराखेका हुन्छन् । धनप्रतिको मोह र लोभका कारण मानिस कहिल्यै सुखी हुन सकेको छैन । प्रशस्त धन प्राप्ती हुँदा हुँदै पनि मानिस कुन कारणले रुने गर्छ भन्दै धन हुँदैमा सन्तुष्टी नमिल्ने भाव यहाँ प्रस्तुत गरिएको छ । मानिसको लोभ, चाहना र इच्छाले विलासलाई निम्त्याउने गर्छ । भौतिक सुख र सम्पत्तिले बनेको विलासको महल देख्दा मनोरम, सुन्दर देखिए पनि भोलि त्यो सबै धुलो र खरानी हुन्छ भन्ने विचार कविले व्यक्त गरेका छन् ।
भौतिक सुखभन्दा आत्मिक सुख महान हुन्छ र धन सम्पत्तिले केही क्षण सुख, सन्तुष्टी, आराम प्रदान गरे पनि त्यो सबै नष्ट भएर जान्छ भन्ने दार्शनिक विचार कवितामा प्रस्तुत छ ।
३.३ कर्मवादी चिन्तन
सामाजिक कर्तव्यको वेवास्ताले आनन्द नमिल्ने हुँदा निष्काम भावनाले सम्पूर्ण व्यावहारिक कर्तव्यहरूको निर्वाह गर्नुपर्दछ भन्नु कर्मवादी दर्शन हो । पूर्वीय दर्शन परिवेशमा सम्पूर्ण संसारलाई रङ्गमञ्च, जीवनलाई नाटक, समस्त प्राणी कलाकार, कर्मलाई अभिनय, कर्म सिद्धान्तलाई नाट्यशाला, ईश्वरलाई दर्शकको रूपमा लिइएको छ (गिरी, २०५५ः २१) । कर्म गनर््ु नै प्राणीको धर्म भएकोले बाँचुञ्जेल सत्कर्ममा लाग्नुपर्ने विचार वन कवितामा प्रकट भएको छ ।
कुबेर बोले नोकरी लेऊ दिन्छु म दौलत अनगिन्ती
मेरा सेवक हेर उज्याला सँग सुनौला झुल्छन् ती
माथिका हरफमा सम्पत्तिका मालिक कुबेरले जसले कर्म गर्छ उसलाई मात्र दौलत दिने भाव व्यक्त गरेका छन् । कर्म गर्ने मानिसले भौतिक सु्खको साथसाथै आत्मिक सुख पनि आर्जन गर्न सक्छ । कर्मको पुजारीहरू सधैँ खुसी, सन्तुष्ट र अरूभन्दा भिन्न देखिने हुँदा सबैलाई कर्मको बाटो हिड्न अनुरोध गरिएको छ ।
धर्म बोले कुन मन्दिरमा पूजा गर्छौँ आऊ
मैले बोलेँ वीरहरूको बलिदान भएको ठाउँ
यी हरफमा कर्मकाण्डलाई समेत प्रस्तुत गरिएको छ । पूजा गर्न मन्दिरमा जानु हिन्दू धर्मको कर्म हो । यही कर्म कुन मन्दिरमा गएर गर्ने भनी प्रश्न गरिएको छ । मूर्तिपूजा वास्तविक पूजा नभएकाले कर्म हुने ठाउँलाई पुज्नुपर्छ । कर्म नै ईश्वर र कर्मस्थल नै मन्दिर भएकाले सो चिनेर मात्र पूजा गर्नुपर्छ भन्ने भाव माथिका हरफमा आएको छ । यहाँ देवकोटाले वीरहरूले बलिदान गरेको ठाउँ नै पुज्य हुन्छ (अवस्थी, २०६१ ः ३८) भनेकोबाट पनि कर्मलाई महत्त्व दिएको स्पष्ट हुन्छ ।
३.४ मोक्षसम्बन्धी दर्शन
जीवनको चरम लक्ष्य भनेको नै मोक्ष हो । संसार दुःखमय छ । दुःख बन्धनबाट छुट्कारा पाउनु नै मोक्ष प्राप्त हुनु हो । मानिस भौतिक मायाजालमा फसेको छ । उसले त्यस चक्रव्यूहबाट स्वतन्त्र हुन चाहन्छ । प्रस्तुत ‘वन’ कवितामा मोक्ष सम्बन्धीका भावहरू आएका छन्
मैले बोलेँ धनका मालिक सम्झन्छु धनको मोल
अन्तस्करणको स्वतन्त्रता यो तर छ आहा ! अनमोल
प्रस्तुत हरफमा देहमुक्तिको भाव भन्दा पनि जीवन्मुक्तिको भावलाई व्यक्त गरिएको छ । मानिसले आफ्नो इच्छा चाहना पुरा गर्न र जीवन यापन गर्न धन आवश्यक छ । धनको पनि उपयुक्त ठाउँमा महत्त्व हुन्छ भन्दै कविले धनका मालिक भनी कुबेरलाई सम्बोधन गर्दै धन भन्दा मोक्ष नै ठूलो भएको बताएका छन् । भौतिक जीवनका लागि धन मूल्यवान भए पनि मानिसको अन्तिम लक्ष्य भनेको मोक्ष नै हो जून अन्तस्करणको स्वतन्त्रताबाट प्राप्त हुन्छ । आत्माको स्वतन्त्रता निकै सुन्दर, सुखी, हुने हुँदा यो धनसँग तुलनीय छैन । आत्माको स्वतन्त्रताबाटै मानिसले मोक्ष प्राप्त गर्न सक्छ भन्ने विचार माथिका हरफले स्पष्ट पारेका छन् ।
३.५ ऐहलौकिक र पारलौकिकसम्बन्धी दर्शन
ऐहलौकिक भनेको भौतिक जगत वा सांसारिक जगत हो । लौकिक जीवन मानिसले भोगेको जीवन हो जहाँ अनेकन दुःख, पीडा, असन्तुष्टी रहेका छन् । पारलौकिक लौकिक संसार भन्दा परको आत्मिक संसार हो । मानिसले चाहेको र लक्ष्यको संसार नै आत्मिक संसार हो । ‘वन’ कवितामा ऐहलौकिक संसारप्रतिको कर्तव्य र पारलौकिक संसारको वर्णनलाई प्रस्तुत गरिएको छ ।
योगी बोले चढाऊ समाधि खुल्छ तिमीकन स्वर्गद्वार
मैले बोलेँ हेर्नु छ मैले भाइहरूको घरबार
बोले इन्द्र छ सुरपुर सन्दर झिलिमिलि मेरो दरबार
मैले बोलेँ बाल्नु छ बत्ती अझै छ अँध्यारो संसार
प्रस्तुत हरफहरूमा भौतिक जीवन र आत्मिक जीवन सम्बन्धीको चिन्तनलाई व्यक्त गरिएको छ । मानिस लौकिक जीवनमा आमा, बुबा, दाजु, भाइजस्ता सम्बन्धमा बाँधिएको छ । आफ्नो लागि मात्र नभएर अन्य सदस्यको लागि पनि सोच्न बाध्य मानिस चाहेर पनि मोक्षको बाटोमा हिड्न सकेको छैन । माथिका हरफमा कविले एक व्यक्तिको लौकिक मन र आत्मिक मनबीच संवाद गराएका छन् । सांसारिक मोहबाट मुक्त भए स्वर्गमा गइने, स्वर्ग निकै सुन्दर भएको भाव एकातिर छ भने भौतिक उन्नति गर्न अझैँ बाँकी भएको, भाइहरूको घरबार अझै नसुधारिएकोले सो परिवार पनि आफैले हेर्नु पर्ने भाव अर्कोतिर व्यक्त भएको छ । संसारमा अझै अज्ञान छ, अँध्यारो छ । त्यसैले ज्ञानको ज्योति बाल्न बाँकी भएकोले अहिले समाधि चढाउन नसकेको विचार प्रस्तुत भएको छ । आफूले मात्र मोक्ष प्राप्त गरेर नहुने, संसारलाई मोक्षको बाटो देखाउनु छ भन्ने दार्शनिक विचार कवितामा आएको छ । आफ्नो परिवारप्रतिको कर्तव्य पुरा गर्नु छ भन्ने ऐहलौकिक जीवन र समाधि नै परम सुख भएको पारलौकिक जीवन सम्बन्धी विचार कवितामा व्यक्त भएको छ ।
३.६ सृष्टि र प्रलयसम्बन्धी दर्शन
यो संसारको सृष्टि हुन्छ र त्यसको प्रलय वा अन्त्य पनि हुन्छ भन्नु नै सृष्टि र प्रलय सम्बन्धीको धारणा हो । प्राणीको पनि जन्मपछि मृत्यु अनिवार्य छ । कुनै पनि जीव अमर हुँदैन । यो भौतिक जगतको निर्माण भएपछि विनास निश्चित छ भन्ने विचार सृष्टि र प्रलय सम्बन्धीको विचार हो । ‘वन’ कवितामा सृष्टि र प्रलयका भाव बोकेका केही हरफहरू प्रस्तुत भएका छन् ।
दुःखले बोल्यो फूल नफुल्ला मैले बोलेँ फुल्ला फूल
शङ्का बोली फूल नफुल्ला मैले बोलेँ स्वच्छ छ मूल
माथिका हरफमा सृष्टि सम्बन्धी विचार व्यक्त भएको छ । फूल फुल्नु भनेको सृष्टि हुनु वा जन्म हुनु हो । सृष्टि हुँदा विभिन्न बाधा उत्पन्न हुन्छन् । जतिसुकै बाधा भए पनि मूल स्वस्थ छ भने सृष्टि हुन्छ भन्ने भाव यहाँ प्रस्तुत भएको छ । सृष्टिलाई कुनै व्यवधानले असर नगर्ने अर्थात सृष्टि अनिवार्य छ भन्ने भाव माथिका हरफमा प्रष्ट भएको छ ।
जीवन बोल्यो समर छ भीषण मैले बोलेँ गद्गद् वीर
कठिनाइले बोली पहाड छ बोलेँ छुन्छु कि स्वर्गै शीर

सहानुभूतिले सकरुण बोलिन् तब किन रुन्छौ भाइ
मैले बोलेँ समय छ छोटो सेवा गर्न मलाई
यी हरफहरूमा प्रलय वा मृत्यु सम्बन्धी विचार प्रस्तुत भएको छ । जीवन डरलाग्दो छ, कठिन, छ, दुःखद छ, त्रासद छ । त्यो बुझेर कठिनाइसँग युद्ध गर्ने वीरहरू मृत्यु पछि स्वर्ग छुन पाइने कुरामा खुसी हुन्छन् । जन्मसँगै मृत्यु आएको हुँदा मृत्युसँग नडराई यो शाश्वत चक्रलाई बुझ्नुपर्छ । मानिस मर्नुपर्छ भनेर दुःखी हुने गर्छ । जीवन छोटो भएकोले कुनै पनि काम समयमै गर्नुपर्छ । मानिस जन्मिएपछि मृत्युलाई बिर्सिएर अनेक पाप गर्दछ र अन्त्यमा पश्चाताप गर्दछ । मृत्यु पनि जीवनकै एक चक्र भएकाले त्यसलाई सहज रूपमा स्वीकार गर्नुपर्ने विचार कवितामा व्यक्त भएको छ ।
४. विषयान्त
संसारमा सामान्यतया भौतिक वस्तु स्थायी वा नित्य छैनन् । भौतिक जगत दुःखद छ यसबाट मुक्त हुनु नै मोक्ष पाउनु हो । जन्म र मृत्युको बीचमा कर्म महत्त्वपूर्ण हुन्छ । सत्कर्मबाट वास्तविक मोक्ष प्राप्त हुन्छ भन्ने पौरस्त्य दर्शनमा आधारित मान्यतालाई ‘वन’ कवितामा चित्रण गरिएको छ । लक्ष्मीप्रसाद देवकोटा भौतिकताभन्दा आत्मिकतातर्फ उन्मुख भएका छन् । उनले आफ्नो कलात्मक शक्तिले दर्शनलाई सजाएका छन् । पौरस्त्य षड् दर्शनका साझा विशेषताबाट ‘वन’ कवितामा भएको पौरस्त्य दर्शनको पुष्टि गर्न सकिन्छ ।
सन्दर्भ सामग्रीसूची
अवस्थी, महादेव (२०६१), लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्यकारिता, काठमाडौँ ः एकता बुक्स ।
ज्ञवाली, ज्ञाननिष्ठ (२०७५), शाकुन्तल महाकाव्यमा पूर्वीय दर्शन, काठमाडौँ ः हरिविक्रम के.सी ।
गिरी, रमानन्द (२०५५), जनक दर्शन (अनु. रामहरि तिमिल्सिना), भक्तपुर ः जनक शिक्षा सामग्री ।
देवकोटा, लक्ष्मीप्रसाद (२०५५), भिखारी, ललितपुर ः साझा प्रकाशन ।
भण्डारी, मोहनप्रसाद र भूमिप्रसाद दाहाल (२०६६), पूर्वीय चिन्तन परम्परा (सम्पा) , काठमाडौँ ः विद्यार्थी प्रकाशन प्रा। लि. ।
भट्टराई, पद्मप्रसाद (२०७४), पौरस्त्य दर्शन एक चिनारी, काठमाडौँ ः विद्यार्थी पुस्तक भण्डार ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 6 जेठ, 2076

लेखकका अन्य रचनाहरु