बाटो कथामा अनुभूतिको संरचना

- दीपक दर्शन

विषय परिचय
इस्माली, विशेषगरी नेपाली आख्यानसाहित्यमा सुपरिचित नाम हो। समाजका सूक्ष्म विषयलाई टिपेर कथा बुन्न सिपालु इस्मालीका 'सेतो आतङ्क', 'जिरोमाइल' र 'दुर्धर्ष' उपन्यास प्रकाशित छन्। उनका 'माछो माछो भ्यागुतो', 'घाम घामजस्तो छैन', 'काट् जर्किन डी', 'श्रीको खोजी' जस्ता कथाकृति प्रकाशित छन् । इस्माली (वि.सं. २०१२) द्वारा लिखित बाटो (वि.सं. २०५२) कथा उनको वि.सं. २०६४ मा प्रकाशित कथासङ्ग्रह काट् जर्किन डी मा सङ्गृहीत छ । सङ्ग्रहका धेरैजसो कथाहरू नेपालको तराई क्षेत्रको सामाजिक जीवनमा केन्द्रित छन् । बाटो कथाले पनि तराईकै सामाजिक जीवनलाई केन्द्र बनाएको हुनुका साथै यसको सांस्कृतिक महत्त्वसमेत छ ।
तराईको जनजीवनलाई समग्रतामा हेर्न सक्षम प्रस्तुत कथा कथाशिल्पका दृष्टिले पनि निकै उच्च छ । समसामयिक नेपाली कथाको लर्कोमा उभिन पुग्ने यस कथामा तराईको समाजको जीवन्त अभिव्यक्ति पाइन्छ । वि.सं. २०४६ सालमा भएको आन्दोलन पछाडि नेपाली समाज जुन बाटोतिर अग्रसर भयो, राजनैतिक रूपमा जुन चेतना भित्रियो अनि त्यसको छाप जुन रूपमा नेपाली समाजमा पर्यो त्यसबाट बाटो कथामा आएको तराईको समाज पनि अछूतो छैन । लेखक इस्माली तराईमै पर्ने महोत्तरी जिल्लाका भएका हुनाले उनको लेखनमा तराईको समाज अनि संस्कृतिको छाप सघन रूपमा आएको हुन्छ ।
अनुभूतिको संरचना बेलायती चिन्तक रेमन्ड विलियम्स (सन् १९२१– १९८८) को समग्र सांस्कृतिक चिन्तनमा पाइने केन्द्रीय पदावली एवं मान्यता हो । उनको अध्ययन संस्कृतिकेन्द्री छ । उनका अनुसार संस्कृति समग्र पद्धति हो र संस्कृतिको जुन दस्तावेजी रूप दार्शनिक र सिर्जनात्मक कृतिहरूमा पाइन्छ त्यसमा मानवीय चिन्तन र अनुभवको अभिव्यक्ति हुन्छ । समाजमा संस्कृति आर्थिक वा राजनीतिक व्यवहार जस्तै आधारभूत व्यवहार हो भने संस्कृति, साहित्य र समाजलाई जोड्ने काम परम्पराले गर्छ । उनका अनुसार परम्परा निरन्तर सक्रिय चयन र पुनर्चयनका रूपमा अगाडि आउँछ तथा परम्पराको बोधमा सधैं चयन, सङ्ग्रह र त्यागको दृष्टि सक्रिय रहन्छ जो मूलतः सामाजिक दृष्टिसित जोडिएको हुन्छ । त्यसैगरी विलियम्स अनुभूतिको संरचनालाई एक कालखण्डको संस्कृति पनि भन्न रुचाउँछन् । उनी विचारभन्दा अनुभूतिलाई, वर्गभन्दा समुदायलाई र सामाजिक संरचनाभन्दा पिढीलाई महत्त्व दिन्छन् । उनी कम्तीमा पनि तीन पिढीको कुरा गर्छन् । उनका विचारमा समाजमा प्रायः पहिलो पिढी शासकतुल्य वा प्रभुत्वशाली हैसियतमा रहेको हुन्छ र दोस्रो (अझ तेस्रो) पिढीले अघिल्लो पिढीको प्रभुत्वका विकल्पमा आफ्नो अनुभूतिको संरचना निर्माण गर्छ । यस क्रममा दबाव र तनावको सिर्जना हुन्छ र त्यसका समाधानस्वरूप दोस्रो (तेस्रो) पिढी वा समुदायले वैकल्पिक बाटो लिन्छ र त्यसले नयाँ अनुभूतिको संरचना जन्माउछ । यसै कारण विलियम्स यस पिढी वा समुदायलाई प्रभुत्वशाली सांस्कृतिक उत्पादक समूहको संज्ञा दिन्छन् । यसरी प्रत्येक कालखण्डका समाजमा यी पिढी वा समुदायका आफ्ना अनुभूति हुन्छन् र हरेक कलाकृति यही अनुभूतिको संरचनाको उपज हुन्छ ।
इस्मालीको बाटो कथामा देखा परेको समाजलाई यस लेखको मूल विषयका रूपमा ग्रहण गरी उक्त समाजलाई समाजशास्त्रीय अवधारणा अनुभूतिको संरचनाका आधारमा विश्लेषण गरिएको छ । रेमन्ड विलियम्सले साहित्यिक समाजशास्त्रीय मान्यताका केन्द्रमा अनुभूतिको संरचनालाई स्थान दिएका छन् अर्थात् उनले समग्र साहित्यको समीक्षा गर्ने मूल आधार अनुभूतिको संरचनालाई बनाएका छन् ।
विलियम्सको अनुभूतिको संरचना सम्बन्धी समाजशास्त्रीय अवधारणाले कुनै पनि कृतिभित्र अनुभूतिको संरचना कसरी देखा परेको छ त्यसको वस्तुगत एवम् वैज्ञानिक ढंगले अध्ययन-विश्लेषण गरिनुपर्दछ भन्ने मान्यता राख्दछ । अझ विशेष गरी विलियम्सले सांस्कृतिक अध्ययनमाथि विशेष जोड दिइएको पाइन्छ ।
बाटो कथाको आख्यान सन्दर्भ
बाटो नेपालको तराई क्षेत्रको गरिब मुसहरको कथा हो । कथाकारले आजभन्दा १५–२० वर्ष अगाडि नेपालको त्यस भूभागमा देखेभोगेका तराईका कथित दलितहरूको जीवन दशा एवं तिनका कथाव्यथालाई अभिव्यक्ति दिने सन्दर्भमा कथा तयार भएको देखिन्छ । सामन्ती आर्थिक तथा सामाजिक शोषणमा बाँचिरहेको त्यस बेलाको उक्त समाजमा सानो मालिक, ठूला मालिक र महेसर सिंहजस्ता ठालुहरूको प्रभुत्व कायम थियो र तिनले शासन गर्नका लागि चालेका अनेकौं राजनीतिक दाउपेच एवं जालझेलका सिकार सुरथ मुसहर जस्ता गरिब जनताहरू भइरहेका थिए । त्यस्तैमा अलिकति चेतनाको बीज छर्न खोज्ने मास्टर रामगोसारथ कोइरीको प्रवेशले गरिबको रगत चुस्न पल्केका मालिकहरूको स्वार्थमा अवरोध खडा हुन्छ ।
एक बिहान सुरथले मालिककहाँ तीन जना जुँगामुठे नौला मान्छेहरू देख्छ जसलाई अघिल्लो दिन भट्टीमा भेटेको थियो । भोलिपल्ट बिहान मास्टर रामगोसारथ गाउँकै बाँसको झाङमा मृत अवस्थामा फेला पर्छ । प्रहरी आउँछन् र लास उठाएर लैजान्छन्, ठूला मालिकको प्रहरी हवल्दारसँग भलाकुसारी चल्छ र घटना त्यत्तिकै सामसुम हुन्छ ।
मास्टरसँगै एउटा पिढी मर्छ र ठूला मालिक, साना मालिक जस्ता पिढी वा समुदायको प्रभुत्व उसैगरी दरो रूपमा स्थापित हुन पुग्छ । ठूलो मालिक मरेर गएपछि शासनसत्ता सानो मलिकको हातमा आउँछ । सानो मालिक स्वार्थअनुकूल राजनीतिक पार्टी परिवर्तन गरिरहन्छ । पहिले जसका विरुद्ध गरिबहरूलाई लडाएको थियो उसैसित मिलेर एकताको खुसियालीमा भोज खुवाउँछ तर मालिकका लागि लड्दाखेरि गोली लागेर हात गुमाउनुपरेको भिखवा दुसाधको दुःख ज्यूँ का त्यूँ छ अझ गरिखाने हात नभएपछि बढेको छ । <br />
मालिकहरूको पुनर्मिलन देखेपछि सुरथ सादा मास्टर रामगोसारथको कुरो झल्झली सम्झन्छ, उसले चेथरुलाल कर्ण जो मास्टरद्वारा दीक्षित थियो उसको कुरो बुझ्छ । बिस्तारै त्यहाँ नयाँ पिंढी उदय हुदै गरेको आभास पाइन्छ । यसरी निर्मित ‘बाटो’ कथाको आख्यानले पिंढीगत प्रभुत्व र अधीनस्थ समुदायमा त्यसले सिर्जना गर्ने परिणतिको प्रस्ट खाका कोरेको छ ।

अनुभूतिको संरचनाका आधारमा ‘बाटो’ कथा
‘बाटो’ नेपालको सामन्तवादी सामाजिक व्यवस्थाको पीठिकामा उभिएको छ । देशमा प्रजातन्त्र आइसक्दा पनि दोस्रो (तेस्रो) पिढीको जीवनदशा फेरिन सकेको छैन । मालिकको चाकरी गर्नुको विकल्प नदेख्ने समुदाय विभिन्न राजनीतिक पार्टीमा लागेका मालिकहरूको स्वार्थका निम्ति आपसमा रगत बगाउँछन् । त्यसैले प्रस्तुत कथाको सांस्कृतिक पीठिका र तद्जन्य अनुभूतिको संरचना पनि त्यही सामन्तवादी, मालिकमुखी सामाजिक संरचनाको सांस्कृतिक उत्पादका रूपमा देखा पर्दछ ।
आर्थिक एवं प्रभुत्वका दृष्टिले कथाका ठूलो मालिक, सानो मालिक तथा महेसर सिंहजस्ता पात्रहरू सामन्त वर्गको प्रतिनिधित्व गर्ने पात्र हुन् । यिनीहरू जसरी हुन्छ गरिबमाथि शासन गरेर रहन चाहन्छन् । पिढीगत दृष्टिले यी तत्कालीन नेपाली समाजमा प्रभुत्वशाली पिढीको प्रतिनिधित्व गर्ने पात्रहरू हुन्, व्यक्ति पात्रका रूपमा आएर पनि यिनीहरूले एउटा पिढीको वा भनौं त्यस्ता सिङ्गो समुदायको प्रतिनिधित्व गरेका छन् । यो पिढी आर्थिक मात्र होइन, आफ्नो राजनीतिक प्रभुत्व कायम गरिराख्न र अर्को पिढीलाई आफ्नो अधीनस्थ बनाउन प्रयासरत रहेको छ । शासन गर्नैका लागि यिनीहरू आपसमा लड्छन् अनि मिल्छन् पनि । कसैले सुधारको कुरा गरेमा त्यो उनीहरूको आँखाको तारो बन्न पुग्छ । ठूलो मालिकको भनाइबाट यो कुरो प्रस्ट हुन्छ, ‘त्यो मेलापर्व जान्छ रे हैन, गोठालो पनि जान्छ रे हैन ? मालिकमजुर एउटै हुन् भन्छ रे हैन ? ... त्यसको काम मास्टरी गर्नु हो कि गाउँले भाँड्नु ?’ यस भनाइबाट ठूलो मालिक प्रभुत्वशाली पिढीको दरो प्रतिनिधि भएको पुष्टि हुन्छ । ऊ आफूलाई मालिक र गरिबगुरुवालाई दास ठान्छ र कसैले त्यसका विरुद्ध आवाज उठाए त्यस्तालाई आफ्नो बाटोबाट हटाउन जे गर्न पनि पछि पर्दैन । गाउँको स्कुलमा पढाउने रामगोसारथलाई मारेबाट यस कुराको पुष्टि भएको छ ।
सानो मालिक र महेसर सिंहले ठूलो मालिककै पदचिह्न पछ्याएका छन् । कथाकार लेख्छन् :

‘... त्यो साल त दोस्त पार्टी फुट्यो र सानो मालिकको पार्टी एकतिर, अर्कोतिर सिंह मालिकको पार्टी अरू सब बाद । साँच्चै भन्ने हो भने अरू पार्टी नै देखा परेन त्यो साल । वर्षौंका दुई मित्र बने ज्यानी शत्रु, सारा गाउँ दुई दलमा बाँडियो । यही दुई दलका लडाईंको कारणले गर्दा कतिका नातागोता, इष्टमित्रमा पानी बाराबार भयो, आउनुजानु रोकियो । ... सबका घरमा कलह सुरु भयो । अधिया बटैया, मोही-ठेक्काको खेती पनि बन्द भयो । कुलो पैनी, इनार–पोखरी पनि बाराबार भयो । यो वैमनस्यता गाउ“मा धेरै वर्षसम्म चल्यो । योबीचमा कहिले सानो मालिकको रजाइ“ चल्यो त कहिले महेसर सिंहको । पुलिसथाना पनि कहिले महेसर सिंहको पक्षमा लाग्थ्यो त कहिले सानो मालिककोमा ।’
यसरी जसरी पनि गरिबमाथि शासन चलाउने सानो मालिक र महेसर सिंह अहिले मिलेका छन् तर गरिबहरूले त्यो किन भयो भन्ने भेउ पाउन सकेका छैनन् । यसैगरी चेथरुलाल सुरथसित भन्छ :
‘मालिकहरू फुटे हामीमाथि शासन गर्न । यतिन्जेल फुटेर शासन गरे । गाउँ दुई पार्टी बन्यो – शासन गरे । उनीहरूको यो मतलब गाउँलेहरूले अलिअलि बुझ्न थाले, अब उनीहरू एक्लाएक्लैको बल नपुग्ने भो, त्यसैले उनीहरू जुटे हामीमाथि शासन गर्न र हाम्रो भाग खान ।’
चेथरुलालको यो भनाइमा गाउ“लेहरूमा बिस्तारै चेतनाको संस्कृति विकास हुन थालेको आभास पाइन्छ । जुन कुरा सुरथमा आएको परिवर्तनले पनि प्रस्ट पार्छ । <br />
सुरथ सादा, भिखवा दुसाधजस्ता मजदुर अनि कमैयाहरू मालिककै कृपादृष्टिमा बाँचेका छन् । मालिकका लागि काम गरेर बाँच्नेभन्दा माथिल्लो तहको सोच यिनीहरूमा उदाएको छैन । यिनीहरू गुलामका रूपमा बाँचिरहेका छन् । सुरथ मास्टरसित भन्छ, ‘त के गरौं । हाम्रा बाबुबाजेले त्यही गरे, हामी पनि त्यही गर्दै छौँ । हामी त आँखै नभएका ... ।’ सुरथको यो भनाइबाट उसले मास्टरसामु आफ्नो लाचारी मात्र प्रस्तुत गरेको छैन, उसको मनोभाव पनि उजागर भएको छ । गुलामी गर्नुलाई नै संस्कृतिका रूपमा अँगालेको देख्न सकिन्छ ।

मास्टर रामगोसारथ र चेथरुलाल कर्णमा नयाँ सोच छ । उनीहरू वैकल्पिक पिढीभित्रका पनि उदीयमान चेत भएका पात्र हुन् । मास्टर सुरथलाई भन्छ :
‘र तिम्रा छोरानातिले पनि त्यसै गरून् । पुस्तौंपुस्ता बँधुवा बनून् । अरे मर्द हौ, अक्किलले काम लेऊ, काम गर्ने तिम्रा बलिष्ठ पाखुरी छन्, सोच्ने तिम्रो अक्किल छ । आफ्नो अक्किल र बर्कतलाई आफ्नो बँधुवा स्थिति सुधार्न प्रयोग गर, मालिकको होइन...।’
कथामा दुई पिढीबिचको द्वन्द्वले उब्जाएको समस्या देखा परेको छ । र त्यहाँ विस्तारै बिस्तारै नयाँ चेतनशील समुदाय वा पिढीको उदय हुन थालेको देखिन्छ । कथामा पहिलो पिढीका प्रभावबाट क्रमशः मुक्त हुँदै भविष्यतिरको नयाँ क्षितिजमा पदार्पण गर्न चाहने अभिलाषा सशक्त रूपमा उदाएको छ दोस्रो पिढीमा । कथाको अन्त्यमा आएको वाक्यांश ‘उठ्दा त घाम झलमल्ल भइसकेछ ।’ ले उदीयमान नयाँ चेतनामा आएको विकासलाई साङ्केतिक रूपमा बुझाउन खोजेको छ ।
निष्कर्ष:
कथामा सुरथ सादाले भोगेको जीवनदशा र उसमा आएको परिवर्तनबाट जन्माएको नयाँ एवं विशिष्ट अनुभूतिको सन्दर्भलाई हेर्दा पिढीगत अनुभूतिको संरचना निकै सशक्त ढंगले व्यक्त भएको देखिन्छ । प्रभुत्वशाली पिढीको सामाजिक आर्थिक आधिपत्य र त्यसको प्रभाव बेहोर्न बाध्य विपन्न समुदायको सङ्कटपूर्ण कारुणिक जीवनदशा अनि त्यसलाई बदल्ने वा त्यसबाट मुक्ति पाउने चाहना र प्रयासबिचको सङ्घर्षबाट विशिष्ट प्रकारको अनुभूतिको संरचना निर्माण भएको छ । जस्तोसुकै रूपमा भए पनि सधैंभरि गरिबमाथि हैकम राखिराख्न चाहने मालिकहरूको प्रभुत्व समाजमा कायम छ । तर त्यसैका बिचबाट पनि रामगोसारथजस्ता पात्रका माध्यमबाट नयाँ चेतनाको उदय हुन थालेको छ । कथामा प्रभुत्वशाली पिढी र दोस्रो पिढीका बिच भएको सङ्घर्ष र त्यसपछि पैदा भएका घटनासन्दर्भबाट नयाँ संस्कृतिनिर्माणको आधार तय भएको छ । अन्यायका विरुद्ध त्यस्तो ठोस आधार पैदा हुने आशा जगाउन सफल यस कथाले तराई क्षेत्रको समाजमा झाङ्गिदै गरेको चेतनालाई निकै प्रभावकारी ढंगले प्रस्तुत गरेको छ जुन ‘बाटो’ कथाको विशिष्ट प्राप्ति हो ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 2 बैशाख, 2076

लेखकका अन्य रचनाहरु