सन्तोष लामिछानेको ‘अल्टिमेट आकाश’ : उडी छुनु चन्द्र एक

- डा. गोबिन्दसिंह रावत

विषय प्रवेश :
साहित्य के हो र के का लागि लेखिन्छ ? यसको उत्तर आफैमा निर्भर पर्ने कुरा हो । म भन्छु मनका परिकल्पनाहरूलाई वस्तु तथ्यमा उतारेर हेर्ने माध्यम साहित्य हो । आफ्नो सुखानुभूतिलाई शब्दमा रूपान्तरित गरेर हेर्ने शाब्दिक घोषणा पत्रसाहित्य हो । अझ भनौं, मातृभाषाप्रतिको आस्था र समाज सचेतताको माध्यम हो साहित्य । नेपाली साहित्यको इतिहास पल्टाएर हेर्ने हो भने नेपाली साहित्यमा धेरै कम लेखिने माध्यम हो उपन्यास । प्राचीन समयमा महाकाव्य बढी लेखिन्थ्यो भने आजको समयमा उपन्यास बढी लेखिने गरिएको छ । साहित्य लेखनमा रमाउने साहित्यकर्मी सबैमा एउटा उपन्यास लेख्ने आन्तरिक ईच्छा हुने गर्दछ । उपन्यासलाई मानिसको जीवनको धेरै नजिक रहेको रचनाका रूपमा परिभाषित गरिएको पाइन्छ । किनभने उपन्यासको सम्बन्ध मानिसको जीवनसँग गासिएको हुन्छ । मानिसको जीवन दर्शाउने आख्यान साहित्यनै उपन्यास हो ।
नेपालीे उपन्यास साहित्यको कालक्रमिक इतिहासलाई पल्टाएर हे¥यौं भने उपन्यासको प्रारम्भ सन् १७७० मा शक्तिबल्लभ अज्र्यालको धार्मिक तथा पौराणिक विषयवस्तूमा आधारित महाभारत विराटपर्व उपन्यासबाट भएको मानिन्छ । त्यसपछिका विभिन्न कालखण्डको चरण विभाजनको कोषे ढुङ्गाका रूपमा परिचित उपन्यासहरू पहिलोचरणमा सन् १९३४ मा रूद्रराज पाण्डेको रूपमति उपन्यासबाट सामाजिक विषयवस्तुमा आधारित मौलिक उपन्यास देखा पर्छ । दास्रोचरणमा सन् १९५९ मा गोबिन्दबहादुर मल्ल गोठालेको सामाजिक मनोविश्लेषणत्मक पल्लो घरको भ्mयाल देखा पर्छ । तेस्रोचरणमा आएर सन् १९६४ मा ईन्द्रबहादुर राईको आज रमिता छ उपन्यास अस्तित्ववादी र विसङ्गतिवादी नविन धारालाई नेपाली उपन्यासमा भित्र्याएको पाइन्छ । चौंथोचरणमा ध्रुवचन्द गौतमको सन् १९७९ मा नेपाली उपन्यासमा सामाजिक मानोवैज्ञानिक यथार्थतामा थप स्वैरकल्पना, मिथकीयताको नवस्वाद भरेर डापी उपन्यास देखा पर्छ । यसरी विभिन्न कालखण्ड पार गर्दै नेपाली उपन्यासले विस्तारै गति लिदै गएको पाइन्छ ।
प्रवासी नेपाली साहित्यकारहरूले उपन्यास विधाको थालनीसँगै कलम चलाएको पाइन्छ । तर आप्रवासी नेपाली साहित्य जसलाई अंग्रेजी प्रेमीहरूले डायस्पोरा साहित्य पनि भन्ने गर्छन, यसको प्रारम्भिक चरण कस्लाई मान्ने भन्ने बारे अध्ययन अनुसन्धान गर्नु पर्ने देखिन्छ । सन् २०१७ मा प्रकाशित निलम कार्की निहारिकाको योगमाया उपन्यासले गरिमामय मदन पुरस्कार पाएपछि आप्रवासी साहित्यप्रति पाठकको रूचि बढ्न थालेको छ । हुन त डा. गोबिन्दप्रसाद भट्टराईले होमनाथ सुवेदीको यमपुरीको महल (सन् २००७) उपन्यासलाई पहिलो आप्रवासी उपन्यास भनेर नामाकरण गरे पनि सुवेदी कै सन् १९९४ (द्यौराली) र सन् १९९६ (अंकुर) मा प्रकाशित उपन्यासलाई विर्सेर सन् २००७ को यमपुरीको महललाई पहिलो भन्नुको औचित्य अस्पष्ट भएकोले यसबारे अझ अध्ययन हुन जरूरी भएको छ । किनभने माथिका द्यौराली र अंकुर दुवै उपन्यासहरू नेपालबाहिर आप्रवासको नेपाली साहित्यकारहरूबाट आप्रवासको नेपाल िसाहित्यको विकास र विस्तारका लागि सन् १९९१ मा अमेरिकामा दर्ताभई स्थापना भएको अ.ने.सा.स. (अहिले नेपालकै अधिनमा गएको छ) बाट प्रकाशित भएको भनिएको छ । त्यसैले पहिलो आप्रवासी उपन्यासको खोजी गर्नु जरूरी भएको छ ।
पछिल्लो आप्रवासी उपन्यास
आप्रवासी नेपाली साहित्यमा पछिल्लो उपन्यासका रूपमा सन्तोष लामिछानेको अल्टिमेट आकाश प्रकाशित भएको छ । समकालिन साहित्य प्रतिष्ठान, बेलायतबाट यसै वर्ष (सन् २०१८) प्रकाशित ईन्दिरा मानन्धरको परिकल्पनामा उतारिएको यस उपन्यासको आवरणले मानिसको जिजिविषा दर्शाएको छ । नेपाली युवाहरूको ईच्छाको संसार भनेकोनै अमेरिका बनेकोले त्यहीँ युवाहरूको चाहनामा रहेको आफ्नो जीवनका लागि चाहिने अतिरिक्त आकाश पुस्तकको आवरणमा झल्किएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले उदृेश्य के लिनु उडी छुनु चन्द्र एक भनेझै सबैको चाहना आकाशलाई चुम्ने नै बन्न थालेको छ ।
सन्तोष लामिछाने मूलतः कविता कोर्ने गर्छन् । कवितामा रमाएर उनले एउटा संग्रह पनि प्रकाशित गराएको पाइन्छ । काव्यबाट कथ्यमा आएर उनले आफ्नो क्षमता प्रमाणित गरि दिएका छन् । १७३ पानाहरूलाई तेह« अध्यायमा बाडेर विभिन्न शीर्षकका आधारमा यो उपन्यास तयार पारेका छन् । उनले औपन्यासिक अभिव्यक्तीहरूका माध्यमबाट आफ्नो जीवन सङ्घर्षको कथा बयान गरेझै लाग्छ । उनी एक सचेत लेखक हुन भन्ने कुराको प्रमाण उनले तेह् अध्यायमा बाडिएको जीवनका मोडहरूको नामाकरण अ अक्षरबाट नै राखेर एकरूपता दिन खोजेको बाट प्रष्टिन्छ ।
अगस्त १, २००२ बाट शुरू भएको उपन्यासको कथायात्राले अगस्त २००७ को कुनै मितिमा आएर पहिलो बिट मार्छ । त्यसपछि फेरी २५ वर्षपछिको अर्को यात्रालाई उपसंहारका रूपमा सवा पाँच पानामा उतारेका छन् । अर्थात उनको एउटा संघर्षमय जीवनको अन्त्यपछि सेवामय जीवनको परिकल्पनामा २५ वर्षपछिको वयान आएको देखिन्छ । यो वास्तविकता प्रायः सबै आप्रवासीहरूको मन मस्तिष्कमा आउने एउटा सत्य तथ्य हो ।
अल्टिमेट आकाशको तत्व निर्धारण
आख्यान साहित्यको मेरूडण्ड भनेको त्यसको कथानक (भन्न चाहेको कथा), सहभागी (कथाले जन्माएका पात्रहरू), परिवेश (कथाले अनुशरण गरेको देश–काल–परिस्थिति), भाषाशैली (कथाले समेटेको भाषा) र उदृेश्य (लेख्नुको औचित्य) लाई मानिन्छ । यसैलाई कसी बनाएर कृतिको विचरण गरेर मूल्याङकन गरिन्छ । अब कुरा गर्रौ कृतिको । उपन्यास निर्माणका आवश्यक तत्वको कसीले अल्टिमेट आकाशलाई नियाल्दा यसलाई सफल मान्न सकिन्छ ।
कथानक भनेको उपन्यासले समेटेको धर्ती हो यहाँ पात्रहरूको उपस्थिति रहने गर्दछ । उपन्यासले एउटा नेपाली ठिटोको जीवनमा आईपरेका आरोह अवरोहको कथालाई प्रस्तुत गरको छ । नेपालको सामान्य परिवारको विभासले पनि आजको मितिमा प्रत्येक नेपाली युवाले देख्ने सपना देखेको हुन्छ । त्यहीँ सपनालाई सार्थक बनाउन विभास सम्भावनाहरूको देश अमेरिका पुग्छ । अनि शुरू हुन्छ संघर्षको कथा । आफ्नो पाँच वर्षको अध्ययन कालमा विभासले धेरैनै नेपाली र अनेपाली पात्रहरूको संगत गर्दै जानु पर्छ । यिनै पात्रहरूको चारीत्रिक विकासमा कथा बुनिदै जान्छ । कतै प्रताप जस्तो दुष्पात्र आउछन भने कतै अथीना जस्ती मानवीय जीवनमा चाहिने यौनको पहिलो अनुभूति दिने र मनग्य माया लाउने पात्र आउछे । कतै पाओल र मरिया जस्तो समलिङ्गी मित्रहरूको मायामा छताछुल्ल हुने मौका पाउछन् भने कतै नेपालबाट विजारोपण भएको नीलमसँगको प्रेमले प्रगतिको रूप लिदै फलदायी वृक्षमा परिणत हुँदै जान थाल्छ । कतै अमरप्रित र अब्दुल जस्ता सहयोगी मनहरू देखा पर्छन भने कतै हतियारधारी लुटेर आएर जीवनको वास्तविकताको एउटा पाटो उघारेर सतर्कताप्रति सचेतताको आभाष दिएर जान्छन् । प्रहरी प्रशासनको काम र कर्तब्यसँगै पढाई र खचाईका विवरणत्मक कथावस्तु प्स्तुत गरेको छ । एउटा नेपाली ठिटोले आफुलाई अमेरिकामा स्थापित गर्न हुने गरिएका वास्तविक जीवनका संघर्षमय उतार चढाउँको कथा उपन्यासले समेटेको छ । यही कथाको सेरोफेरोमा विभिन्न उपकथाहरु जोडिदै कथामा गतिमयता प्रदान गर्दै जान्छन् । त्यसैभित्र अमेरिकाको रङ्गिन जीवनमा पाओल र मरीयाबीचको एउटै बेग्लै प्रेमालाप । प्रतापको परपीडन प्रवृति । शिक्षक, सहपाठी, व्यापारी, कामदार, ग्राहक, डकैत, प्रहरी आदिको कर्तव्यनिष्ठ जीवनशैलीका बीच अमेरिकामा नेपाली युवाहरूको कथाव्यथाहरूनै उपन्यासको मूल कथानक भएर अगाडि बढेको छ ।
कथालाई गतिप्रदान गर्न सहभागीका रूपमा लगभग ३०–३२ चरित्रहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपबाट उपन्यासमा उपस्थित भएका छन् । कथालाई अघि डो¥याउन उपन्यासमा प्रत्यक्ष र परोक्ष आएका पात्रहरू विभास, बुवा, आमा, बैनी, मामा, लाहुरेनी आण्टी, लाक्पा, नीलम, नीलमका आमा बुवा, प्रियङ्का, पौडेल सर, त्रिलोक, सम्राट, सुवास, विप्लव, सिल्भिया, अमनप्रित, टङ्क दाइ, प्रताप, मोहन, स्टेफनी, प्रकास अब्दुलसँगै माइकल, निक, प्रहरी, ग्राहक, सहपाठी र डकैती गर्न आएका पात्रहरूको चारीत्रिक उत्कर्स र अपकर्षमा कथाले गति लिदै निष्कर्षमा पुगेर पहिलो बिट मारेका छ । यसमा विभास र नीलम मूख्य पात्रका रुपमा देखा पर्छन भने आमा, बैनी, आक्पा सहपात्र र त्रिलोक, सम्राट, सुवास, विप्लव सहयोगी पात्रका रुपमा उपन्यासमा आएका छन् । प्रत्येक पात्रको चरित्रले उपन्यासलाई गति दिदै आएको छ । अमनप्रित र अब्दुलले मुख्य पात्रलाई काम दिएर कथालाई अगाडि बढाएका छन् । अथीना, पाओल र मरीयाले मुख्य पात्रलाई मनोरञ्जनका मधुर क्षण दिएर कथा डो¥ाएका छन् । प्रभातले आफ्नो कुलत, कुव्यवहार र कटु विचारले विभासको जीवनमा संघर्षको महत्वलाई देखाएर कथालाई नयाँ मोड दिएका छन् । टङ्क दाइको कथाले नेपालबाट पलायन हुनुको मार्मिकता र पलायनका लागि धन–जन (मानवीय जीवन) लाई दाऊमा लगाएर युवाले समातेका कठीन यात्राको विवरणले दलालबाट पीडित युवाहरुको कथाव्यथा सुनाइएको छ । यसरी उपन्यासमा चित्रित सबै पात्रहरुको चरित्र चित्रणले उपन्यासलाई गतिमयता प्रदान गरेको छ । त्यस्तै पाँच वर्षको कठिन संघर्षमय कथा यात्राले बिट मारेपछि दोस्रो बिट मार्न मुख्य पात्रसँग सत्या, प्राप्ती, राजाराम, दयारात, नीलमका आमा बुवा आदि खो पर्छन् । नेपाली मन लिएर नेपालका लागि केही गर्ने अठोटका साथ विभास र नीलमको नेपाल पुर्नआगमनको कथालाई यी पात्रहरुको चरित्रले अगाडि बढाउनमा सहयोग गरेको छ ।
यस उपन्यासले रोजेको परिवेश देश र प्रदेश अर्थात नेपाल र अमेरिका रहेको छ । उपसंहार खण्डलाई छोडेर हेर्ने हो भने पाँच वर्षको घटना क्रममलाई उपन्यासले समेटेको छ । अनि यी दई देश अर्थात नेपाल र अमेरिकामा भए गरिएका र विभासले भोगेका सुखदुखका घटनाक्रमहरू सिनेमेटिक शैलीमा उतारिएको छ । एकपछि अर्को घटना चलचित्रका पर्दामा देखिए जसरी घट्दै कथा अघि बढेको छ । घटनाक्रमले घर, विद्यायलय, क्याम्पस, क्याफे, एयरपोर्ट, होस्टल, बार, ग्यास स्टेसन, बस, सडक, ट्राफिक आदि स्थलहरुको वरीपरी कथा घट्दै जानुले एक प्रकारको कौतुहलता पाठकमा रहदै आएको छ । कृतिमा पाईने कौतुहलतानै लेखनको सफलता हो । कतै अलि लामो वयान गरेर समय खर्चेको पनि पाइन्छ । तर परिवेशानुरुप नै कथा र पात्र एकपछि अकोृ गर्दै आएका छन् ।
उपन्यासको भाषाशैली अर्थात यसका पात्रहरूले बोलेका संवादको बारेमा भन्नु पर्दा लेखकले चरित्रानुरूप र देशानुरूप, परिवेशानुरुप पात्रहरूको संवादलाई जस्ताको यस्तै राखी दिएका छन् । कतै कतै भाषागत त्रुटी र कतै क्लिष्टता देखिएका पनि छन् । नेपाली अंग्रजीसँगै हिन्दीले पनि ठाँउ पाएको छ भने स्पेनिस भाषाले पनि मौका पाएको छ । स्थानानुरूप परिस्थिति अनुरूप र पात्रानुरूप संवादले गर्दा उपन्यासले अनुशरण गरेको भाषाशैलीमा खोट लगाउने ठाँउ देखिदैन । बरू नेपालीमा लेखिएको अंग्रेजी संवाद पढ्न पाठकको जिब्रो लरबराउने गर्छ र यसलाई अंग्रेजी शब्दमा राखेको भए राम्रो भन्ने कुरा पाठकको मनमा आउन सक्छ । तर त्यसो गर्दा नेपाली भाषाको उपन्यासले कतिको न्याय नपाउन सक्छ भन्नेमा नै प्रश्न उब्जन थाल्छ ।
प्रस्तुत उपन्यासमा लेखनको उदृेश्यको बारेमा भन्नु पर्दा सन्तोषले अध्ययनका लागि अमेरिका प्रवेश गरेका प्रत्येक विद्यार्थीको यर्थाथता टकटकाएर देखाई दिएका छन् । यहाँ देशलाई न तोकौं । किनभने सपना बोकेर देशबाट प्रदेश आएका सबै विद्यार्थीहरूको कथाव्यथा यस्तै नै हुने गरेको छ । यहाँ कामको कदर हुन्छ भन्ने देखाइएको छ । यहाँ विद्याको सम्मान हुन्छ भन्ने देखाइएको छ । यहाँ कानूनभन्दा ठूलो कोही हुँदैन भन्ने देखाइएको छ । यहाँ मिहेनत गरे मीठा फल पाइन्छ र बेईमानी गरे सजाय पाइन्छ भन्ने देखाइएको छ । यहाँ जात धर्म संस्कृति आआफ्नै अनुरूप चलेको छ भन्ने देखाइएको छ । यो रहरको देशमा आफ्नो सबै रहर पु¥याउन पाइन्छ भन्ने देखाइएको छ । साथै कर्म अनुसारको फल पाइन्छ भन्ने नेपाली उखानलाई पनि प्रताप जस्तो दुष्पात्रका माध्यमबाट देखाइएको छ । अझ सौकको पराकाष्ठामा पुग्दा भाग्नु पर्ने दुष्परिणामलाई पनि देखाइ दिएको छ । त्यसैले यो उपन्यासले लेखनको उदृदेश्य पूर्ति गरेको छ भन्दा अतिशयोक्ती नहोला । सबैले जीवनमा केही गर्ने उदृेश्य लिएका हुन्छन् । यस्तै उदृेश्य बोकेर अमेरिका पुगेका विभासको उदृेश्य भनेको पढ्नु हो । राम्रो अङ्क ल्याउनु हो । राम्रो ठाँऊमा काम गर्न पाउनु हो । विभासको उदृेश्य भनेको बैनीलाई पनि बाहिर पढ्न पठाउनु हो । आमालाई घर किनेर सुखका दिन दिनु हो । नीलमसँग दाम्पत्य जीवन बिताउनु हो । आमा र बैनीलाई अमेरिकामा बोलाएर सँगै राख्नु पनि विभास हो उदृेश्य थियो । तर अरु सबै उदृेश्य पुरा भए पनि अन्तिम उदृेश्य भने पुरा गर्न पाएन ।
निष्कर्ष
उपन्सायले आफ्नो कथायात्रामा माओवादीको जनयुद्ध र त्यसबाट मुलुकले भोग्नु परेको पीडालाई देखाएको छ । माओवादी राजनीतिमा आएर चुनावबाट बहुमतको सरकार बनेर पनि ढलेपछि पूनः देशमा देखा परेको अन्योलको स्थितिको प्रतिफलनै देशका युवाहरूको पलायन निति बन्दै गएको कुरा उपन्यासले अप्रत्यक्ष तरिकाले देखाएको छ । सन्तोषले आफै अनुभव गरेको वास्तविक कथा जस्तै लाग्ने अल्टिमेट आकाशमा नेपाली युवाहरूको पलायनका कारण, अमेरिका (विदेश) लाई गन्तव्य बनाउनुको औचित्य, अमेरिकोकका युवाहरूको जीवन शैली, बाच्नुको संघर्ष, जीवनुको वास्तविकता र अन्त्यमा अन्तत्वगोता नेपाली भएर विदेशिएका नेपालीको नेपालमै फर्कने मनभित्र उकुरमुकुस भएर रहेको आन्तरिक चाहनालाई उपन्यसले समेटेको छ ।
उपन्यासले उपसंहारका रूपमा लिएको २५ वर्षपछिको कथाले धेरै आदर्शतालाई दर्शाउन खोजेको आभाष हुन्छ । विभासको संघर्षको कथापछि नीलमसँगको मिलापनै कथाको निष्कर्ष हुनु पर्ने थियो । त्यसैले थोरै पानामा धेरै विवरणले उपन्यास टुङ्गाइएर लेखकले आफ्नो आदर्शता प्रष्फुटित गरेको आभाष हुन्छ ।
उपन्यासका प्रकारगत् प्रक्रिया अनुरूप हेर्ने हो भने प्रस्तुत उपन्यालाई जीवनपरक आदर्शोन्मुख यथार्थवादी घटनाप्रधान सुखान्त उपन्यासका रूपमा परिभाषित गर्न सकिन्छ । उपन्यासले प्रस्तुतिमा तृतीय पुरूष दृष्टि बिन्दुको शैलीका माध्यमबाट विभासलाई मुख्य पात्रका रूपमा उपस्थित गराएर उनका माध्यमबाट विदेशमा भोग्नु पर्ने जीवन शैलीका कठिन अङ्क गणितको समाधानका उपायहरू देखाइएकोे छ ।
उपन्यासले नेपालको राजनैतिक वास्तविकता र स्वघोषित क्रान्तिकारी नेताहरूको आन्तरिक ईच्छाहरूलाई यसरी उदाङ्गो पारेर देखाइ दिएको छ । यसले पनि नेपाली नेताहरूको स्वार्थी राजनीतिको परिणाम अहिलेसम्म नेपालीहरूले भाग्नु परेको प्रष्ट हुन्छ ः–
पृष्ठ १६२–१६३ ः संविधान सभाको चुनावमा माओवादीको बहुमत आएको थियो । राजाराम दाइले पनि सिन्धुपाल्चोकबाट सभासद्मा भारी मतले जितेका थिए । –
ल विभास अब यतै फर्क, अब हाम्रो सरकार बन्छ । म तिमीलाई यतै चिफ इन्जिनियर बनाउँछु । ठूलो हाईड्रो प्रोजेक्टमा तिमीले त्यहाँ दस वर्षमा कमाउने हामी एकै प्रोजेक्टबाट एकै वर्षमा कमाउन सक्छौं । ............................ राजाराम दाइ त केवल एक पात्र थिए । नौंटङ्कीका निर्देशक अरू नै थिए । ..............................मनका एउटा कुनामा देशमै फर्केर आउने चाहना भएका विभासजस्ता युवाका लागि देशको यस्तो स्थिति चट्टानझैं तगारो बन्थ्यो ।
निष्कर्षमा १८ वर्ष नाघेका नवयुवाहरू नेपालबाट पलायन भएका वा हुन चाहने सबैले एकपटक पढ्नु पर्ने नेपाली युवाहरूका जीवनको आरोह अवरोहको वृतन्त हो सन्तोष लामिछानेको अल्टिमेट आकाश । अतः महाकवि लक्ष्मीप्रसाद देवकोटाले उदृेश्य के लिनु उडी छुनु चन्द्र एक भनेझै सबैको आफ्नो बेग्लै आकाश बनाउने चाहनालाई पुरा गर्न के कस्तो संघर्ष गर्नु पर्दो रहेछ भन्ने कथाव्यथा यस उपन्यासबाट थाहा पाउन सकिन्छ ।
उपन्यासः अल्टिमेट आकाश
लेखकः सन्तोष लामिछाने
प्रकाशकः समकालीन साहित्य प्रतिष्ठान, बेलायत
मुल्यः रु.३०० ÷ युएस डलर १०


टोरन्टो, क्यानडा

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 27 चैत्र, 2075

लेखकका अन्य रचनाहरु