चन्दन वृक्षको धुलो !

- सन्जु बजगाईं

चन्दन वृक्षको धुलो ! यो त अत्यन्तै पुरानो, मूल्यवान र संसारभरका अनेकौं धर्म–संस्कारमा पूजा गर्नदेखि मानव समुदायले भोग्नुपरेका अनेकौं समस्यासमेत हल गर्न प्रयोग हुँदै आएको सुगन्ध भन्ने थाहा पाएदेखि म चन्दन वृक्षको खोजीमा थिएँ ।

चन्दन वृक्षको धुलो ! योभन्दा आध्यात्मिक कुरो मेरा लागि के हुन सक्थ्यो र ? तर, बसाइ लण्डनको ! अचम्मको परिस्थिति आइलागेको थियो मलाई ।




एकातिर लण्डन र चन्दन वृक्षको धुलोको बीचमा मन चेपिएको थियो भने अर्कोतिर त्यही चेपिएको मनभित्र लण्डनमा चन्दन वृक्षको धुलो कहाँबाट र कसरी हातपर्ला भन्ने चिन्ता मज्जाले झाँङ्गिएको थियो ।

म त्यस पीडाको अन्त्य चाहन्थेँ । त्यसैले आफू बस्ने ठाउँ नजिकैको बजारका संम्भाब्य सबै पसलहरुबाटै धुलोको अविलम्ब खोजी शुरु गरेँ । दुखदः कुनै पसलमा पाइएन । पसलमा नपाएपछि मन्दिरहरुमा सोधेँ, जहाँ प्रसादस्वरुप पण्डितजीले त मात्र टीका लगाइदिने रहेछन् भन्ने थाहा भो । त्यसपछि नेपालमा भएकी वृद्धा फुपूलाई फोन गरेर सोधेँ । अहँ ! वहाँबाट त झनै बेसारको धुलो धरी शुद्ध पाउन मुस्किल हुने ठाउँमा विशुद्ध चन्दन वृक्षको धुलो कहाँबाट पाउनु भन्ने जवाफ आयो ।

धेरैतिर खोज्दा पनि कही नभेटिएपछि निराश हुँदै अन्तिम विकल्पको रुपमा ल्यापटपबाटै चन्दन वृक्षको धुलो पाइने सम्भाव्य ठाउँहरुको डिजिटल खोज शुरु गरेँ । निकैबेरको खोजपछि सेन्ट्रल लण्डनमा जडीबुटी बेच्ने एक स्टोरमा पाइन्छ भन्ने पत्ता लाग्यो । मैले त्यही स्टोर जाने निर्णय गरेँ ।

‘गुड मर्निङ्ग !!’ भित्र पस्नासाथ पातलो ज्यानको भद्र देखिने एक पुरुषले अभिवादनसहित स्वागत गर्‍यो।

‘गुड मर्निङ्ग !’ मैले स्वागत गर्नेतिर फर्किंदै अभिवादन फर्काएँ ।

भित्र पसिसकेपछि मलाई स्टोर बाहिरबाट देखेभन्दा निकै ठूलो लाग्यो । समानले भरिएका र्‍याकहरु पनि अनगिन्ती देखिए । म उत्साहित हुँदै र्‍याकहरुमा आफूलाई चाहिएको समान खोज्न थालें ।

खोज्ने क्रममा बेसारको सुठो, सुन्तलाका सुकेका बोक्रा, बोझो, नीमको धुलो, नरिवलको तेल, अदुवाको सेन्पो, सिस्नोको धुलो ईत्यादी भेटेँ । तर, चन्दन वृक्षको धुलो भेटिएन ।

‘तपाईंलाई केही सहयोग चाहिन्छ ?’ मेरो ओहोर–दोहोर देखेर होला, अघि स्वागत गर्ने मान्छेले छेवैमा आएर सोध्यो ।

‘म चन्दन वृक्षको धुलो किन्न आएकी । कुन र्‍याकमा छ भन्ने ठम्याउँन सकिनँ ।’ मान्छेतिर भन्दा पनि मैले हातमा उठाएका प्याकेटहरुमा हेर्दैै भनें ।

मेरो कुरा सुनेर यति नम्बर र्‍याकमा छ भन्नुको साटो उसले मलाई तलदेखि माथिसम्म नियालेर पो हेर्‍यो । त्यसले पनि नपुगेर होला, साउती मार्दै सोध्यो– ‘आफ्नै लागि या अरु कसैका लागि ?’

मलाई भने उसको प्रश्न र हेराई दुवै कलुषित लागे । त्यसै पनि ग्राहकले सामान आफ्ना लागि किनोस् या अरुका लागि उसको चासोको बिषय नै होइन नि ! यस्तै लाग्यो र रिस उठ्यो । मैले पनि त्यही रिस पोख्दै भनेँ ‘मेरै लागि ! तपाईंलाई कुनै समस्या ?’

‘माफ गर्नुहोला म्याडम, मेरो प्रश्नको उद्देश्य तपाईलाई दुःखी बनाउनु थिएन !’ म रिसाएको झल्को पाएर हुनुपर्छ, उसले आफूलाई तुरुन्तै सच्याउँदै थप्यो– ‘चन्दन वृक्षको धुलो किन्नलाई तपाईजस्तो कम उमेरका महिला ग्राहक पहिले कहिल्यै नआएको भएर मात्रै मैले कसलाई हो भनेर जान्न चाहेको ।’

उसले नम्र हुँदै कारण बतायो । उसले कारण बताईरहँदा केही बृद्ध उमेरका महिला ग्राहकहरु भने मेरो छेवैको र्‍याकमा भएका प्याकेटहरु ओल्टाई–पल्टाई गरिरहेका थिएँ ।

‘कृपया भित्र पाल्नुहोस्,’ पसलेले भन्यो ।

‘भित्र किन जाने ? र्‍याक नम्बर मात्र दिनोस् न ।’ मैले जहाँ उभिएकी थिएँ, त्यहीँबाट हलचल नगरी भनें ।

‘बाहिरको र्‍याकमा राख्दैनौँ, भित्र छ । आउनोस् न, म तपाईंलाई त्यहाँसम्म छोडिदिन्छु ।’ उसले विनम्रतापूर्वक आग्रह गर्‍यो ।

हुन त उसको हाउभाउमा छलकपट पटक्कै थिएन, यद्यपि उसको पछि लागेर भित्र जान असजिलो लाग्यो मलाई । आखिर सामान त चाहिएको छ कसैगरी । के गर्नु ? दुविधा भो मलाई । केही नचलेपछि बेलायतमा ग्राहकलाई दिने सन्तुष्टि र व्यापारिक विश्वसनीयताको भर परेरै उसको पछि लागेँ ।

केही र्‍याकहरुका वीचबाट हिँडिसकेपछि स्टोरको भित्तो आयो । त्यही भित्तोमा भएको एउटा काठको ढोका खोल्दै उसले मलाई भित्र पस्न लगायो । त्यसपछि सानो करिडोरमा २० फिट हिँडाएर एउटा सुन्दर बैठकमा पुर्‍यार्‍यायो र त्यहाँ राखेकोे सोफा देखाएर मलाई बस्न आग्रह गर्दै उसले भन्यो– ‘बस्नुहोस् ! तपाईंलाई चाहिएको सामान दिन कोही आउने छ ।’

यति भनेर ऊ फर्कियो । म उसले देखाएको सोफामा थपक्क बसेँ ।

मनमा असजिलोपन भएता पनि बैठकको सोफामा म धैर्यतापूर्वक बसेकी थिएँ । अनेकौं बुट्टा कुँदिएको काठको सुनौलो टल्किने सोफा, जसमाथि सिल्कका नरम बुट्टेदार कुसन लहरै मिलाएर राखिएका थिए । म तिनै छुँदा पनि मैलो लाग्ला कि जस्ता कुसनमा ढेपिएर बसेकी थिएँ ।

सोफा र कुसनमात्र कहाँ हो र ? बैठकका भुईँ, भित्ता, सिलिङ्ग, भ्याल सबै अत्यन्तै आकर्षक थिए । काठका फलेक हालेको भुँईँमा ‘ओरियन्टल’ गलैँचा बिछ्याइएको थियो । ‘एग्जोटिक’ काठका सोकेसहरुमध्ये कुनै चाइनिज पोर्सिलिनहरुले भरिएका थिए भने धेरैचाहिँ किताब, जडीबुटी र विभिन्नखाले सुकेका फूलका पत्र भएका स–साना बास्केटहरुले भरिएका थिए । पृष्ठभूमिमा पियानोको मधुरो धुन पनि बजिरहेको थियो । केवल जडीबुटी बेच्ने एउटा स्टोरको पछाडि यस्तो शान्त र वैभवले सजाएको बैठक होला भनेर विश्वास गर्न नसकिने !

त्यसमा पनि भित्ताहरुको त कुरै नगरुँ ! सुन्दर रङ्गीन बुट्टाहरुले ढपक्कै ढाकिएका ! तिनै बुट्टेदार भित्तामाथि ठुल्ठुला फ्रेमभित्रका पेन्टिङ्गहरु झुण्ड्याएर सुनमा सुगन्ध थपिएको थियो । पक्कै कुनै कला पारखीले डिजाइन गरेको हुनुपर्छ त्यो बैठक कोठा ! बसीबसी अड्कल काटेँ ।

मलाई बैठको सुन्दरताले यसरी तान्यो कि एकैछिन त आफू कहाँ र किन छु भन्नेसमेत बिर्सिएँ । अझ एउटा पेन्टिङ्गले त मेरो माथिङ्गल नै खलबल्याइदियो । त्यो पेन्टिङ्गमा सेतै कपाल फुलेकी र हातमा सिर्कनो बोकेकी एक महिलाले काठको डेस्कमा छाती अड्याएर साना केटीहरुलाई पढ्न सिकाइरहेकी थिई । एउटी सानी केटी चाहीँ पढ्दा–पढ्दै थाकेर होला, त्यै डेस्कमा ढेपिएर निदाइरहेकी थिई । त्यसैको छेउमा एउटा सेतो बिरालो बटुकीमा राखिदिएको दूध नेर चनाखो पारामा टुसुक्क बसेको थियो । थाकेर निदाएकी बच्ची र टुसुक्क बसेको बिरालो देखेपछि त सोफाको आरामदायी बसाई छोडेर म जुरुक्क उठेँ र पेन्टिङ्गकोे नजिकै गएँ ।

“१८७९, थोमस ।” नियालेर हेर्दा मात्र सम्वत र चित्रकारको नाम पेन्टिङ्गको पुछारमा लेखेको देखिने । नामबाट भने चित्रकार पुरुष रहेछ भन्ने अञ्दाज गरेँे । मनमा लाग्यो– अठारौं शताब्दीको एउटा पुरुष चित्रकारलाई के कुराले केटीहरुले पढिरहेको चित्र कोर्न प्रेरित गर्‍यो होला ? अझ पढाउने पनि महिला ! नारी चेतनालाई उजिल्याएर बाहिर ल्याउनुपर्छ भन्ने सोच त्यो पुरुषलाई ऊ जमानामै कसरी आयो होला ? मलाई त्यही चित्र अगाडि उभिएर आफ्नै कपाल आफैंले भुत्ल्याउँन मन लाग्यो । आफैंलाई चिथोरेर चिच्याउन मन लाग्यो । मेरो शरीर तात्यो । कानहरु रगत सरेर राता भए र आँखाका डिल आँशु भरिएर टिलपिल भए ।

‘एक्काइसौं शताब्दीमा बाँचेकी नारी ! देखिस् ? नारी चेतनालाई प्रोत्साहन गर्ने शताब्दीऔं पुरानो त्यो पुरुष चेत र नारी चेतनासँग पौंठेजोरी खेल्ने यो आधुनिक पुरुष चेत ।’

पेन्टिङ्ग हेर्दाहेर्दै आफैसँग रिस उठ्यो । मनमा आफंैप्रति घृणा, पश्चाताप र प्रतिशोध जगाउँदै मेरा आँखा निकैबेर त्यस चित्रकलामा गडिरहे ।

००००

‘गुड मर्निङ्ग ! तपाई नै हो चन्दन वृक्षको धुलो लिन आउनुभएको ?’ फेरि एउटा पुरुष आवाजले मेरो पेन्टिङ्गतिरको ध्यान भङ्ग गरिदियो ।

‘हो म नै हो ।’ मैले आफूलाई सहज पार्दै भनें ।

‘मेरो नाम आर्थर स्मीथ हो । मचाहिँ जडिबुटी ज्ञाता ।! उसले आफ्नो परिचय दियो । अनि सोध्यो ‘पेन्टिङ्ग पन पर्‍यो तपाईंलाई ?’

‘एकदमै राम्रो लाग्यो ।’ मैले भनेँ ।

‘यो भिक्टोरियन समयको पेन्टिङ्ग हो ।’ उसले फुर्किएर अगाडि थप्यो ‘यो बैठक पुरै भिक्टोरियन समयको अन्त्यतिरका सामानहरुले सजाइएको छ, जसमा नारीको प्रतिकात्मक उपस्थिति पाइन्छ ।’

‘त्यै भएर पो यो बैठक यस्तो सुन्दर र जीवन्त देखिएको रहेछ ।’ मैले ठट्यौली गरेझैं मनकै कुरा बोलेँ ।

‘वास्तवमा यो संसारमा नारीभन्दा सुन्दर सृष्टि अर्को कुनै छैन ।’ उसले पनि मेरा आँखामा हेरेर मुस्कुराउँदै थप्यो ।

उसले बोलेको अन्तिम हरफ सुन्दा भने टलक्क टल्किने तर आगोझैं तातो फलामे गोली मेरै छातीमा ठोकेजस्तो लाग्यो । उसै पनि मलाई अधिकांश लोग्नेमान्छेहरु कफ्र्यू लागेको शहरमा गस्ती गरिरहेका सेना जस्ता लाग्छन् अचेल । कतिबेला कहाँ गोली ठोक्ने हुन्, अन्दाज नहुने ! यो मान्छे पनि त्यही सेनामध्येको एक प्रतिनिधि होइन र ? मौका हेरेर गोली ठोक्ने ? कति पुरुषसँग त्यो मन होला, जो सत्यतः नारीलाई संसारकै सुन्दर सृष्टि मान्न सक्छ ? करोडौंमा एक ? त्यो पनि मुस्किलले ।

मैले उसका चिप्ला कुरा एक कानले सुनेर अर्को कानबाट उडाइदिएँ । र, नजानिँदो पाराले उसलाई हेरेँ । शारीरिक हिसाबमा उचाइ अन्दाजी ६ फिट जति थियो होला । गोरो छाला, तर कपालचाहिँ कालो, सलक्क परेको । दाह्रीजुँगा काटेर चटक्क सफा राखेको अनुहार । नीलो रङ्गको सुटमा गुलाबी सर्ट अनि निलै रङ्गको टाईले उसको व्यक्तित्वमा गजबको मिश्रण थपेको थियो । उमेर चाहिँ करिब ३५ बर्षजतिको हुनुपर्छ । त्यसैले झट्ट चाहिँ हेर्दा मैले भन्ने गरेको गस्तीमा खटिएको सेनाभन्दा अलि फरक देखिन्थ्यो ।

जेहोस्, त्यो एक अपरिचित पुरुष थियो, जो मेरा आँखामा उसका नीला गहिरा आँखा जुधाउँदै निर्धक्क नारी सौन्दर्यको सरहाना गरिरहेको थियो । जसको मानसिक उद्देश्य कति असल छ भन्ने थाहा थिएन मलाई । यसर्थः म एक्काइसौं शताब्दीकी आईमाई भए पनि कसैकी स्वास्नी भैसकेकी मान्छे, मध्य भिक्टोरियन समयका सामानहरुले सजाइएको सुन्दर हलको एकान्तमा उसको सह्राना सुनेर एक पाप गरिरहेकी थिएँ ।

‘हेर्नोस् ! म त स्टोरमा आयो, चाहिएको समान उठायो, पैसा तिर्‍यो फर्कियो भन्ने सोचेर बिहानै आएकी । यति लमो समय खर्चिनुपर्ने कहाँ थाहा थियो त !’ उसलाई अरु कुरा बढाउने मौका नदिई मैले आफू थप समय कुर्न नसक्ने जनाएँ ।

‘चन्दन वृक्षको धुलो अरुथोक जस्तो होइन । किन्ने ग्राहकका बारेमा केही जानकारी लिएर मात्र बिक्री गरिने हुनाले केही समय लाग्छ ।’ भद्र पारामा आफ्ना कुरा राख्दै बैठकको सोफा देखाएर उसले थप्यो– ‘आउनोस्, बसेर कुरा गरौँ ।’

केचाहिँ जान्नुपर्ने रहेछ कुन्नि ? पैसा तिरेपछि दिए भैगयो नि ! कसैको हत्या गर्ने हतियार किन्न आएकी होइन । कसैलाई पियाउने विष किन्न आएकी पनि हैन । आफ्नो ब्यक्तिगत स्वतन्त्रताकालागि प्रयोग गर्न मिल्ने समान किन्न आएकी ।

चित्त पटक्कै बुझेको थिएन मेरो । चित्त नबुझे पनि केही प्रतिक्रिया नजनाई उसले बस्न अनुरोध गरेको सोफामा गएर सरक्क बसेँ । ऊ पनि बस्यो छेवैमा ।

केही क्षणको समयावधिमै मेरो नाजुक मनस्थितिलाई बेवास्ता गर्दै मोडलजस्तो देखिने एउटा आकर्षक लोग्नेमान्छे मेरो छेउमै बसिसकेको थियो । यसरी एकान्तको सुन्दर बैठकमा अपरिचित लोग्नेमान्छेको नजिकै बसेर म भने घोर पाप गरिरहेकी थिएँ । यसर्थः ग्लानी बढ्यो । तर, बाध्यता बलियो भएर ठिङ्ग उभिएको थियो मेरो सामुन्ने । त्यसैले आत्मविश्वासलाई पनि ग्लानीको अनुपातमै बढाउने कोशिस गरेँ ।

‘भर्खरकी युवती हुनुहुन्छ, किन चाहियो तपाईंलाई चन्दन वृक्षको धुलो ?’ बस्नासाथैको पहिलो प्रश्न गर्‍यो उसले ।

‘उमेरको हदबन्दी छ र ?’ जवाफमा मैले पनि प्रश्नै गरेँ उसलाई ।

‘वालिग भैसकेकालाई उमेरको हदबन्दी छैन । तैपनि युवा अवस्थाकालाई सकेसम्म दिदैनौँ ।’ भुँईको कार्पेटमा नजर लगाउँदै यति बोल्यो र निकैबेरपछि मतिर हेर्दै भन्यो– ‘उनीहरु कहिलेकाहीँ आवेशमा निर्णय गर्छन् ।’

‘ढुक्क हुनुहोस्, मैले आवेशमा गरेको निर्णय होइन यो ।’ मैले चाहिँ दृढ हुँदै भने ।

ऊ फिस्स हाँस्यो । मेरो कुरामा भरोसा भएन उसलाई । उसको अनुहारको हाउभाउले त्यही बताइरहेको थियो ।

प्रतिवाद गर्ने आधार भेटेन । किनकि म एक ग्राहक थिएँ । एकछिन गम खायो र सोध्यो– ‘कति बर्षकी हुनुभयो ?’

‘३२ बर्षकी भएँ ।’ मैले भनेँ ।

‘इन्डिपेन्डेन्ट ?’ मेरो आशय, नोकरी गर्नुहुन्छ ?’

‘विल्कुल ! तपाईलाई म अरुको कमाइ खाने महिलाजस्तो लाग्यो ?’ यो विषय नै मन नपर्ने भएर होला, मेरो जवाफ पनि रुखो थियो ।

मेरो रुखोपन देख्दा देख्दै उसले अर्को प्रश्न सोध्यो– ‘विवाहित ?’

‘१० बर्ष पूरा हुन्छ अब आउने डिसेम्बरमा । विवाहको दिन कपल डान्स गरेको हिजै पो हो कि जस्तो लाग्छ ।’ मैले खुट्याएर भनिदिएँ ।

‘१० बर्ष…!’ मेरो बिवाह भएको समयावधिलाई अचम्मित अनि उत्साहित हुँदै दोहोर्‍यायो उसले । मानाै‌, विवाहको १० वर्ष हुनु भनेको कुनै प्रसिद्ध पुरस्कार जित्नु जत्तिकै हो उसका लागि ।

‘बच्चा पनि छन् ?’ हाँस्दै–हाँस्दै बच्चाका बारेमा पनि सोध्यो उसले ।

‘चार महिनाकी गर्भवती थिएँ । एकदिन लोग्नेले जुत्ता उठाएर हिर्कायो– यी यता, ढाडमा अनि कम्मरमा ! त्यसको दुई दिनमा त मलाई अस्पतालै भर्ना गर्नुपर्‍यो । बच्चा त्यहीबेला खेर गयो ।’ मैले धकै नमानी जुत्ताले हानेका ठाउँ देखाउँदै फरर बताएँ ।

मेरा कुरा सुनेर त्यसको अनुहारको रङ्ग बदलियो । लाजले रातोपिरो देखियो र भन्यो– ‘त्यस्तो हिंसा…! त्यो पनि बेलायतमा ?’

‘ठाउँ पो बेलायत, तर मेरो लोग्नेको संस्कार त ठेट पुरुषवादी छ ।’ स्पष्टीकरणमा उसलाई यति भनिसक्दा घाँटीमा गाँठो परिसकेको थियो मेरो । तर, चन्दन वृक्षको धुलोका लागि आफूलाई सम्हाल्दै उसलाई सोधेँ– ‘अब त दिन मिल्छ हैन चन्दन वृक्षको धुलो ?’

मेरो दोस्रो प्रश्न सुनेन उसले । बरु, आफै जान्ने हुँदै अगाडि थप्यो– ‘के त्यसपछि डिर्भोस भयो तपाईंको ?’

‘भएन । त्यसपछि पनि म उसैसँग बसेँ । आखिर सातफेरो अग्नि साक्षी राखेर मलाई श्रीमती बनाई उसैले बेलायत लिएर आएको थियो । फेरि, एउटै घटनाले सम्बन्ध तोड्नेसम्म पुग्नुपर्छ भन्ने लागेन मलाई । बरु परिवर्तन आउँछ भन्ने विश्वास लाग्यो । त्यसैले, उसले ममाथि गरेका अनेकौं शारीरिक र मानसिक यातनालाई पालैपालो सहेर बसेँ । त्योभन्दा बढी त अर्कै आईमाईसँग नजिकिएको थाहा पाएर पनि बसिरहेँ । अन्ततःः त्यसले मलाई मनबाट माया गर्दैन भन्ने जानेपछि पनि बसिरहेँ ।’

आवाज रुन्चे हुँदै थियो । तर, म बोलिरहेँ ।

मैले भोगेको सबै वृतान्त सुनेपछि ऊ साँच्चै निराश देखियो । अशान्त देखियो । उसका चम्किला आँखाहरु चिम्सा भए । हँसिलो अनुहार अँध्यारो भयो । उसलाई मैसँग चित्त नबुझेर झर्को मान्दै सोध्यो– ‘आफ्नै कमाइ खानेमान्छे भन्नुहुन्छ, फेरि किन बस्नुभयो त उसैसँग ?’

उसको प्रश्नले बिर्सन्छु भनेर मैले किरिया हालेका क्षणहरु पनि मेरा मानसपटलमा ताजा भएर सल्बलाउन थाले । ती वाणभन्दा तीखा र विषालु क्षण सम्झिएर फेरि घोचिनुभन्दा पहिल्यै मैले उसलाई कारण भनिदिएँ– ‘मेरो पहिलो माया थियो त्यो । त्यसैले छोड्न सकिनँ । पहिलो प्रेमका अगाडि कसको के लाग्दोरहेछ र !’

मेरो उत्तर सुनेपछि चुपचाप भयो ऊ । म पनि चुपचाप भएँ । दुवै चुप भएपछि सुनसान भयो बैठक कक्ष । तर, मेरो मनभित्र भने पीडाको मदानी चलेको थियो । त्यो मदानीले मेरा आँखामा छचल्क्याएका आँशुका लहर लुकाउन मैले बैठकको वरिपरि आँखा डुलाएँ ।

हामी दुईवाहेक अरु सबै निर्जीव वस्तुहरु मात्रै थिए वरिपरि । शायद आज चन्दन वृक्ष किन्न आउने ममात्रै थिएँ कि क्या हो ! म आएदेखि अरु कोही ग्राहकलाई भित्र ल्याएको थिएन त्यो स्टोरको मान्छेले ।

दुवै चुपचाप भएपछि त मैले मेरो हातेब्याग सुम्सुम्याएको पनि सुनियो । उसले खुट्टा हल्लाएर जुत्ताले भुँई टक्टक् गरेको पनि सुनियो । मैले लामो श्वास तानेको पनि सुनियो । उसले लामो श्वास छोडेको पनि सुनियो ।

यसरी धेरैबेर दुबै चुपचाप हुँदा मलाई लाग्यो, उसलाई अब अरु केही सोध्नु छैन र मैले केही भन्नु छैन । त्यसकारण म बसिरहेको ठाउँबाट उठ्न खोजेँ ।

‘कहिलेसम्म बस्नुभयो त्यो मान्छेसँग ?’ म उठ्न नपाउँदै हाम्रो केहीबेरदेखिको सन्नाटालाई छेडेर अर्को प्रश्न गर्‍यो उसले ।

‘आजका दिनसम्म बसिरहेकी छु ।’ उसको प्रश्न सुनि नसक्दै जवाफ दिएँ ।

‘उसैसँग बसिरहनुपर्ने भए किन चन्दन वृक्षको धुलो चाहियो तपाईंलाई ? तपाईजस्ता मान्छेको निर्णय गर्ने क्षमता देखेर दया लाग्छ मलाई ।’ मेरो जवाफ सुनेपछि उसले नैराश्यता र आक्रोश एकै पटक पोख्यो ।

‘विगत तीन बर्षदेखि मस्तिष्काघात भएर ओछ्यान परेको छ । बोल्न सक्दैन । देब्रेपाटै चल्दैन । उठाउनु, सुताउनु, बसाउनुदेखि, दिशापिसाब सबै अरुले गराउनुपर्छ ।’ मेरो बाध्यता र मानवीय संवेदना एकैठाउँ जोड्दै मैले भनेँ – ‘जीन्दगीले नै सजायँ दिएको मान्छेलाई म के सजायँ दिउँ ? तर उसले दिएका पीडा मेरो स्मृतिमा हरपल आएर मलाई बिथोलिरहन्छन् । पीडा बोकेर बाँच्न गाह्रो हुँदोरहेछ । र, तिनै पीडालाई कम गर्न मलाई चन्दन वृक्षको धुलो चाहिएको ।’

‘जीवनका मोडहरु ! खै के भनुँ ?’ लामो सास तानेर यत्ति बोल्यो ।

शायद अब ऊ मेरो निर्णयमाथि शंका नगर्ने अवस्थामा पुगेको थियो ।

‘वास्तवमै ठीक भन्नुभो ! मेरा जीवनका मोडहरु !! गर्भमै बच्चा गुमाएँ र पनि त्यो मान्छेलाई पहिलो प्रेम सम्झिएर केही समय सँगै बस्ने निधो गरेँ । त्यसपछिको समयमा मान्छे हो, परिवर्तन अवश्य हुन्छ भन्ने आफ्नै समझदारीमा अल्मलिएँ । फेरि उसको दुव्र्यवहार देख्दा–देख्दा हरेक लोग्नेमान्छे घीन लाग्न थाले । विस्तारै आफैँ मानसिकरुपले कमजोर भएँ । त्यसबाट सम्हालिन नपाउँदै आफ्नै जन्मदिने आमा गुमाएँ । यसरी सबैथोक भोगेर अबचाहिँ जीवनको बाटो बदल्छु भन्ने निर्णय गर्न सक्ने भएकी मात्र के थिएँ, उसैलाई मस्तिष्कघात भयो । के भनौँ ? जिन्दगी आफ्नो । तर, चलाउने कोही अरु नै रहेछ ।’

मैले केही बाँकी नराखी भनेँ ।

अन्ततः अनुहारभरि मप्रति सहानुभूतिका संकेतहरु देखाउँदै जुरुक्क उठेर उसले मधुरो आवाजमा सोध्यो– ‘कति प्याकेट दिउँ ?’

‘मेरा यी दुबै हत्केलाहरुलाई मज्जाले ढाक्न पुग्ने गरी दिनुहोस् ।’

मैले आफ्ना दुबै हत्केला उसका सामु फैलाउँदै भनेँ ।

‘कति नाजुक देखिएका तपाईंका हत्केलाहरु !’

निस्वार्थ प्रशंसा बोल्दै मलाई सोफामा छोडेर बैठकमै भएकोे एउटा दराज खोल्न थाल्यो उसले ।

म छक्क परेँ । ती मैले देखेका सोकेस र दराजहरु त चन्दन वृक्षको धुलोजस्तै अनेकन बहुमुल्य वस्तुहरु र तिनलाई प्रयोग गर्ने विधिका किताबहरुले भरिएका पो रहेछन् । त्यसैले त बुढापाकाले भन्दा रहेछन् ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खूर्पाको बिँड !’

एकैछिन पहिलेसम्म मलाई ती सोकेस र दराजहरु सजावटका लागि मात्र राखिएको होला भन्ने लागेको थियो । के थाहा त मजस्ता ग्राहकलाई चाहिने बहुमूल्य बस्तुहरु त्यहीँ होलान् भनेर ? त्यो सम्झेर मनमनै हाँसो पनि लाग्यो ।

म हाँसिनसक्दै हातमा पहेँला कपडाका केही प्याकेट बोकेर ऊ आइसकेको थियो । तिनै प्याकेट देखाएर उसले मलाई आत्मीय नजरले हेर्दै चन्दन वृक्षको धुलो प्रयोग गर्ने विधि बताउँदै भन्यो –‘जब–जब नमिठो स्मृतिले तपाईलाई सताउँछ, तपाईका दुवै हत्केलाहरुमा चन्दन वृक्षको नरम र सुगन्धित धुलो हालेर मज्जाले घोट्नुहोस् । घोटिरहनुहोस् जबसम्म तपाईंको मन र मस्तिष्कमा आराम मिल्दैन । यसरी प्रयोग गरेको केही दिन, हप्ता र महिना बित्न नपाउँदै तपाईको मन चन्दन वृक्षको धुलोझैं सुगन्धित हुनेछ ।’

चन्दन वृक्षको धुलो भेटियो भन्ने कुराले मात्र पनि आराम मिलेझैं भो मलाई । हौसला मिलेझैं भो । र, उत्साहित भएर भनें– ‘अवश्य ! जसरी चन्दन वृक्षको धुलो एउटा सिङ्गो जीवन्त वृक्षबाट ढालिएर, काटिएर, रेटिएर, चोईटिएर, पेलिएर अनि पिसिएर धुलो हुँदासम्म पनि यस्तो सुगन्धित र बहुमुल्य छ, म पनि त्यसैबाट प्रेरित भएर मेरा दुःख, पीडा, उपेक्षा, यातना, घृणा सबै बिर्सिएर बाँकी जीवन बाँच्न चाहन्छु ।’

मैले भावुक हुँदै भनेँ ।

‘चार प्याकेट छन् । तर, तीन प्याकेटको मात्र पैसा तिर्नुहोला ।’ यसो भनेर मलाई हेरेर हाँस्दै अगाडि थप्यो– ‘यो चौथो प्याकेटचाहिँ तपाईलाई मेरोतर्फबाट । तपाईंलाई राम्री देखेर दिएको होइन नि ! तपाईंको कुराले मेरो मन छोएकाले दिएको । यो मनलाई हत्तपत्त केहीले छुँदैन, कडा छ मेरो मन ! तर, आज छोयो । साथी मान्नुहोला । साथी मान्न अप्ठ्यारो भए भाइ माने पनि हुन्छ ।’

यसरी ठट्टा गर्दै चारैवटा प्याकेट उसले मेरा हातमा थमाइदियो ।

म अलमल्ल परेँ एकछिन त । चार–चार प्याकेट ! त्यसमाथि पनि सोच्दै–नसोची बन्न पुगेको एउटा असल साथी ! मेरा जीवनका मोडहरु सधैं असामान्य रुपमा आए । तर, यो मोड असामान्य भए पनि सुखद थियो । म हर्षले भावविह्ल हुँदै ऊसँगबाट बिदा भएँ ।

‘सकिएपछि फेरि आउनुहोला । अन्तरवार्ता दिनुपर्दैन ।’

मलाई बाहिरको स्टोरसम्म छोड्नलाई करिडोरमा हिँड्दासम्म ठट्टा गर्‍यो उसले ।

म पनि उसका ठट्टा सम्झिएर स्टोरबाट निस्किएको धेरैबेरसम्म हाँसे ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 27 चैत्र, 2075

लेखकका अन्य रचनाहरु