भारतीय नेपाली महिला एकाङ्कीकार र उषाकिरणको मुक्तिबोध

- दीपक सुवेदी

हाम्रा समस्या आन्तरिक धेरै रहेछ । अनि निकै बिग्रिसकेछन् व्यवस्थाहरू । मनोविज्ञान, अस्तित्ववाद र ढुङ्गामा च्यापिएका नक्साचेतना पनि शाश्वत् छन् । हेबरमासले भनेजस्तै बुद्धिजीवी, शिक्षित र चेतनशील वर्गले स्वतन्त्र भएर जनताका राज्यको सामथ्र्यलाई बल दिऊन् । उषाकालमा गुम्सिएका अभिव्यक्ति र कला एउटा स्वच्छ, पवित्र बिहानीको उत्सव लिएर आइरहेको बेला समकालीन समाजलाई सामथ्र्य दिलाउन उषकिरण सत्यदर्शी मुक्तिबोध एकाङ्की संग्रह लिएर आएकीछन् । मिरिकका दधिराम घिमिरेले दर्पणले प्रकाशन गरेको मुक्तिबोधको आत्मसम्मान र पोलिटिक्स इन कमान्ड नै यसको केन्द्रीयता हो ।
नेपाली नाटकले पौराणिक युगका गाथाहरुलाई समेटेर अध्यात्मवाद, छायावाद, स्वच्छन्दतावाद, यथार्थवाद, प्रगतिवाद हुँदै समयानूकूल चेतनासँगसँगै यहाँसम्म आइपुगेको छ । जसमा भारतीय नेपाली नाटकका क्षेत्रमा कलम चलाउने नारी हस्ताक्षरहरुमा डा.लक्खीदेवी सुन्दास, राधिका राय, कमला नेउपाने, मालती गिरी, इन्द्रमणि दर्नाल, लक्ष्मी मिनु, लीला कालिकोटे, डोल्मा भोटिया, सरिता राई (प्रधान), दावा रिञ्जी शेर्पा, सपना विश्वास, शारदा क्षेत्री रायमाझी, मालती थापा, इन्दिरा सिंह, सुषमा मोक्तान, रत्ना चौँलागाईं, उर्मिला घिसिङ, मेनुका प्रधान, सविता क्षेत्री, माया योञ्जन, दीपा राई, देविका मोक्तान, अमला सुब्वा क्षेत्री, स्मृति सुब्वा, रचना राई ‘अनाकार’ आदि रहेकाछन् ।
समालोचक लीला लुइँटेलले नेपाली एकाङ्की लेखन परम्परामा आदर्श दीप र जीवनको इच्छा एकाङ्की भारती पत्रिकामा प्रकाशित गराउने अनि हालसम्म प्राप्त नेपाली एकाङ्की लेखन परम्परामा कलम चलाउने प्रथम नारी हस्ताक्षर राधिका राय नै हुन् भनेकी छन् । यसपछि खरसाङबाट सत्तरीको दशकको उत्तरार्धतिर स्मृति सुब्वाको प्रेतात्माको प्रतिशोध र रचना राईं अनाकारका घर झगडा, नेपाली भाषा जिन्दावाद र प्रतिशोध मञ्चन मात्र भएको पाईन्छ ।
नाटकलाई उर्वरिलो बनाउँदै राधिका रायको जीवनको इच्छा (भारती, ७÷७, सन् १९५४), इन्द्रमणि दर्नालका ययाती (सन् २००२), अक्षिभू (सन् २००५) र कृष्ण ! कृष्ण ! (सन् २००९), असमकी लीला कालिकोटेको चुनौती (सन् १९९४) मिजोरमकी लक्ष्मी मिनुको कर्तव्य (सन् २००३), सरिता राई (प्रधान) को यहाँ इतिहास दोहोरिन्छ (काव्य कृति सन् १९८५), अमला सुब्वा क्षेत्रीको पाइलाहरु (गीति नाटक सन् २०१४), उर्मिला घिसिङको मृगतृष्ण (सन् २०१५) र यसपछिको पछिको लहरमा उषाकिरण सत्यदर्शी मुक्तिबोध (सन् २०१८) लिएर उभिएकीछन् । जसमा त्रासद, मुक्तिबोध, समयका पाइलाहरु, वधशाला, भग्न आयाम, स्वाधीन स्वर र शरणगमन गरी सातवटा एकाङ्कीहरु संकलित छन् ।
पर्यावरणीय चेत, प्राकृतिक प्रकोपबाट उत्पादित विनाश र त्यसको निवारणार्थ चाल्नुपर्ने पाइलाबारे त्रासद नाटकले दिशानिर्देश गरेको छ । आठ दृश्यमा विभाजित यस नाटकले प्राकृतिक प्रकोपपछि देखा परेको विषम स्थितिलाई संवादात्मक द्वन्दसँगै जनचेतना प्रस्तुत गरेको छ । गरीब, टुहुरा र घरविहीन बालबालिकाहरुको शिक्षा र पुर्वासका निम्ति एनजीओ खोली सेवा प्रदान गर्न चाहने सन्तान विहीन स्त्रीको मनस्थिति प्रस्तुत गरिएको छ मुक्तिबोध नाटकमा । यसमा नारीवादी धारणको समेत प्रबलता पाइन्छ । नाम र दामको खोजीमा विदेशीने नारीहरुलाई स्वदेशमा नै बसेर सेवारत हुने समयका पाइलाहरुले प्रेरणा र सन्देश दिएको छ । विदेशिएकी ज्योत्स्नाले विदेशमा यातना र शोषण भोगेर भाग्यले आफ्नो घर फर्किएपछि आफ्नै देशमा नर्स बनेर मातृभूमिको सेवामा समर्पित संघर्षको कथा रहेको छ समयका पाइलाहरुमा ।
कमान बस्ती र गाउँका सीधा सरल स्वभावका छोरीहरुलाई नोकरीको प्रलोभनमा फँसाएर कसरी मानव तस्करहरुले बेचबिखन गर्छन् भन्ने मानव तस्करीमाथिको नाटक छ वधशाला । भग्न आयाममा विदेशमा आफ्ना छोराछोरी भएता पनि पक्षघातले आक्रान्त अनि विधुर बृद्धको नेपाली समाजमा देखा परेको मार्मिक समस्यालाई देखाइएको छ भने स्वाधीन स्वरमा स्वाधीन स्वरमा दार्जिलिङको चियाबगानको समस्या, जातीय चिनारी र अस्मिताको संरक्षणको विमर्श गरिएको छ । बुद्धको उपदेशलाई प्रतिपादित गर्दै लेखिएको यस नाटकले बुद्धकालीन सुन्दरी नारी आम्रपालीको प्रेमगाथालाई शरणगमनले प्रस्तुत गरिएको छ ।
मुक्तिबोधमा बहुदृश्य योजनामा संरचित एकाङ्कीहरू छन् । त्यस्तै केही नाट्य रचनाहरूमा धेरै पात्रहरू पनि रहेका छन् । वास्तवमा कार्यकारी पात्रहरू तीन र चार भएको, एकै अंकमा बाँधिएको रचनाका रूपमा यसको पूर्वीय परम्परामा भासकालीन मान्यता स्थापित रहेको पाइन्छ । यसको आधुनिक स्वरूप भने पश्चिमको उन्नाइसौँ शताब्दी नै हो । पूर्वीय परम्परामा रूपक अन्तर्गत अङ्क, भाण, व्यायोग, वीथी, प्रहसन आदि भएको नाट्य रचनालाई एकाङ्की भनिएको छ । कतैकतै यसको वैकल्पिक रूपमा चार अङ्कसम्म पनि हुन सक्ने कुरा बताइएको छ । त्यसैगरी उपरूपक अन्तर्गत गोष्ठी, नाट्यरासक, उल्लाप्य, काव्य, प्रेङ्खण, श्रीगदित, विलासिका र हल्लिसलाई एकाङ्की नाटक मानिएको छ ।
त्यस्तै, पश्चिमी परम्परामा प्राचीनकालदेखि नै रहेको लघु नाटकलेखन परम्परालाई एकाङ्की लेखनको पूर्वाभ्यास मान्न सकिन्छ । एकाङ्कीमा एउटै विषय, एउटै कार्य र एउटै दृश्य भएको अङ्क अपेक्षित भए पनि त्यसको पूर्ण पालना सबैले गरेको पाइँदैन । त्यसैले पनि प्रस्तुत एकाङ्कीमा संग्रहीत नाट्य रचनाहरूमा भासकालीन नियमको पालना नभए पनि केही छनौट गरिएको हो । कथावस्तु, पात्र, संवाद, वातावरण, भाषा, शैली, उद्देश्य र द्वन्द्व जस्ता तत्वहरूलाई नाटकका आधारभूत मानिँदै आएको परम्पराका सापेक्षतामा यो संग्रहमा भने वैचारिक प्रतिबद्धता, सर्वहारा वर्गीय पक्षधरतालाई मूल आधार मान्ने प्रयास गरिएको देखिन्छ ।
वास्तवमा एकाङ्की नाटक साहित्य र कलाको सम्मिश्रति रूप हो । यहाँ साहित्य र कला परिपूरक रूपमा रहेका हुन्छन् । नाटकको विधागत शिल्पविधि, एकाङ्कीले माग गरेको नवीनता एवम् चामत्कारिताको अपेक्षा के कति पुरा भएको छ– यो विहङ्गम समीक्षाको पाटो हो । निश्चय पनि एकाङ्कीले भावपक्षलाई चरित्रमा मिसाउनु पर्छ, घटना घटाउनु पर्छ र परिवेशमा मिलाउनु पर्छ, जसमा एकाङ्की नाटकको स्वत्व र अपनत्व कायम रहेको होस् । यस मर्मलाई प्रस्तुत एकाङ्की संग्रहमा संकलित प्रायः नाट्य रचनाहरूले यथासम्भव न्याय गर्ने प्रयास गरेका छन् ।
तथ्यप्रति सचेत सत्यदर्शीका नाटकहरुमा पात्र हाम्रै भाकामा बोल्छन्, हाम्रो खस्कँदो सामाजिक मूल्य र मान्यताप्रति हामीलाई खबरदारी गरिरहन्छन् । चारैतिर विसङ्गतिले ढाकिरहेको हाम्रो समाज र समकालीन सन्दर्भप्रति सहानुभूति र संवेदनामात्र अब यथेष्ट छैन, तर सामाजिक सचेतना र दिशाबोधको चर्को अभाव खट्किरहेको आवश्यकता अनुभव गर्दै सत्यदर्शीले आफ्ना नाटकहरुमा सार्थक र सकरात्मक सामाजिक सन्देश दिएकीछन् । अहिलेको हाम्रो सामाजिक आवश्यकता भनेकै सत्यदर्शीका नाटकहरुमा प्रतिबिम्बित सामाजिक मूल्यका विघटन, सामाजिक विकृति, विसङ्गति र विनाशका परिणामहरुप्रति समयमै सचेत भई सम्भावित सांस्कृतिक दुर्घटनाबाट हाम्रो समकालीन समाजलाई सुरक्षित राख्नु पर्ने बोध नाटकहरुमा प्रस्तुत गरिएको छ ।
विभिन्न समस्यामा जेलिएको जीवन र त्यसको प्रभावमा जन्मेका घात– प्रतिघात, द्वन्द्व, घायल मानसिकता वा कुण्ठित मनस्थितिका उद्वेलनहरुमा पिल्सिएका र पिरोलिएका पात्रहरुको अन्तर्मनको विश्लेषण गर्नु वा सामाजिक, मानसिक यथार्थवादी चिरफार गरेर देखाउनु सत्यदर्शीका एकाङ्कीका मूल अभिष्ट हो ।
साँच्चै शेक्सपियर– ‘जिन्दगी एउटा नाटक हो ।’ समाज नाटकको लागि होइन तर नाटक समाजको लागि हुनुपर्छ । नाटक हाम्रो संस्कारमा छ । नाटकको सैद्धान्तिक वर्गीकरणको आकाश टाँगेर भरतमुनी, कालिदास, सेक्सपियर, सफोक्लिज, स्यामुअल वेकेट, बालकृष्ण समहरुको प्रभाव र परम्परा नहेर्ने हो भने प्रकृत चरित्रगत संस्कारलाई सजीव रुपमा उतारिएको एकाङ्की संग्रह मुक्तिबोध प्रसारित, पठनीय मात्र होइन मननीय र संग्रहणीय पनि छ ।
गौरादह, झापा

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 27 चैत्र, 2075

लेखकका अन्य रचनाहरु