मन रसाइरहेको छ

- तीर्थ सिग्देल

बिहेको मौसम छ । अतिथि सदनमा निक्कै भीडभाड देखिन्छ । सानो तिनो जिम्मेबारी पाए पनि त्यसलाई बिशेषरुपमा पूरा गर्ने आफ्नो पुरानै बानीले कहिलेकाहिँ निक्कै अफठ्यारो पार्दो रहेछ ।
चन्द्र भाइले भन्यो, के भाको हो, सर । कहिलेकाहिँ त कस्तो हुन्छ भने नी... ।
मैले भने, के भो र... ?
उसले दोहोर्यायो, हैन यी केटीहरुलाई कसले बनाउँछ, यस्तो ? हेर्दा पनि हुरुक्कै पार्ने ।
हँ हँ... किन के भो र ?
मेरो प्रश्नले ऊ अलिक लजायो र भन्यो, सर पनि... ,
नजर न हो । कति दोशी हुन्छ । नजर नै दोशी भएपछि कसको के लाग्छ र ? हुन त ऊ त्यस्तो मान्छे होइन । र, हरेक मान्छे त्यस्ता हुँदैनन् पनि । हुनु पनि हुदैन । परबाट हिमाल पनि चन्द्रको कुरा सुनिरहेको हुन्छ । तर, ऊ त्यति बोलिरहेको छैन । ऊ बरु अलिकति ब्यस्त देखिन्छ । ब्यस्तता त के भनौ, कसैकसैको बानी नै त्यस्तै हुन्छ । अलिकति समय भयो की, ब्यस्तता देखाउने । तर, उसले म त्यस्तो हैन । काम मै छु भनिरहेको छ ।
बेलाबेला चन्द्र बाहिर गइरहन्छ । ऊ अहिले फेरि बाहिर गयो । फर्केर आएपछि मर्नेगरी हाँस्यो । तर, अघिको जस्तो प्रतिक्रिया भने जनाएन । शायद उसले यसपटक आफ्ना आँखाको केही सरसफाई गर्यो की ? खै...
नजरको दोश हो की अधरको ? जे होस् । मान्छे न हो । उसले आफुलाई सर्बोत्कृट प्राणी हुनुको फाइदा लिइ छाड्छ । किनकी ऊ मान्छे हो, मान्छे । न ऊ पशु हुन सक्छ, न पंक्षी । मान्छे न घस्रेर हिँड्न सक्छ, न उड्न सक्छ । तर, त्यही मान्छे हो जसले आफुलाई कुनै बेला बिर्सन्छ । र, कहिलेकाहिँ उड्न खोज्छ त कहिले घस्रन पनि तयार हुन्छ ।
खासगरी मनका भाव उर्लेको बेला कसैसकैले आफुलाई थाम्न सक्दैन । कता कता ऊ चुक्छ । के सही र के गलत छुट्याउन सक्दैन र अन्ततः फँस्छ ।
फागुन लागेपछि पनि यस पटक गर्मी छैन । तराइमा पनि मौसम ठीक ठीकैको छ । न त गर्मी न जाडो । यस्तो मौसम हुनुको पनि मज्जा बेग्लै हुँदो रहेछ । एकातीर बिबाहको मौसम र अर्कोतिर सन्तुलित मौसम । यसको मज्जा लिनेलाई त झन् मज्जा आइरहेको होला ।
शायद यतिबेला फिक्कलतिरका होटलहरु खाली हुनन् । कन्याम पनि नक्कले छ । कहिले खुल्छ, कहिले धुम्मिन्छ, थाहा हुन्न । रेखाको होटलमा पनि त्यति मान्छे नहुन सक्छन् । श्रीअन्तु पनि मान्छेजस्तै भएछ । उसलाई जतिबेला जे गर्न मन लाग्छ, त्यो गर्छ । उसलाई आतिथ्यता स्वीकार्न कुनै सिजन चाहिन छाडेछ । जतिबेला गएपनि हुने । कुनै दृश्यमा रोकावट छैन ।
अचानक आएको म्यासेजले अमम्बित तुल्याउँछ । त्यो पनि, नसोचेको मान्छेको ।
फागुन १० तिरको एउटा म्यासेजले खासै असर गरेन । किनकी ऊ त्यहाँ थिएन । अर्थात्, एउटा सानो लफडाले त्यता जानु भन्दा नजानु उचित थियो । ऊ गएन । नगएरै जित्यो उसले । हुनतः यसपटक ऊ जस्ता धेरैलाई त्यो रमझमले तानेन, त्यताको लनतनले गाँजेन । किन हो, थाहा छैन ।
उसले म्यासेज गरिछ । दादा हजुर पोखरामै हो ?
अहँ... म यसपटक त्यता आइन..., प्रदीपको उत्तरले शायद उसले चित्त बुझाई क्यार दोहोर्याएर केही सोधिन ।
तर, यसपटक उसले प्रदीपबाट निक्कै अपेक्षा गरी क्यार । फेसबुकमा उसले पोष्ट गरेको एउटा तस्वीर अपलोड भएको सूचना फेसबुकले कके पठाउन भ्याएको थियो । उसले म्यासेन्जरमा कल गरी ।
भनी, दादा... हजुर झापामै हो ।
हो त ... तिमी कहाँ हो र ?
म पनि झापा मै हो र नी...
ए... कहाँ ?
धुलाबारी...
..........
मान्छे आफ्नो जीवनबाट सन्तुष्ट छैन । शायद मान्छेसँग सन्तुष्टिको मापन गर्ने यन्त्र नै छैन । किनभने जति नै प्रगति गरेपनि ऊ आफ्नो प्रगतिमा रमाउन सक्दैन । अर्थात्, सकेको छैन । आजसम्म यदी यसरी सन्तुष्टिको मापन गर्ने यन्त्रको विकास भएको भए यस्तो कहाँ हुन्थ्यो र ? बास्तबमा, एउटा सामान्य प्रगतिले शिखर चुम्न सक्दैन, मान्छेले । र, एक पछि अर्को, अर्को पछि अर्को प्रगतिको सिँडी चढ्न चाहन्छ, मान्छे ।
तर, मान्छेका लागि केवल त्यो प्रगतिको सिँडी मात्र अन्तिम सिँडी नबन्दो रहेछ ।
केही बर्ष अघि मात्र चिनजान भएर के भो र ? मान्छे मान्छे बीचको सामिप्यता र आत्मियता नै काफी हुँदो रहेछ । त्यो नै ठूलो कुरा रहेछ । चाहे त्यो सात समुद्र पारि नै किन नहोस् ? त्यो आत्मियता झन् गाढा हुँदो रहेछ ।
उसले अचानक कुरा झिक्यो, के अब तिमी बिहे गर्दिनौ ?
उसले अब बिहे नगर्ने भाव झल्काई । बरु भनी, अब त के बिहे गर्नु र ? दाई...
उसको उत्तरले धेरै प्रश्न जन्माएको भान हुन्छ । किनकी मान्छे प्रायः बिबाह नगरी बस्न सक्ने प्राणी होइन । अपबाद बाहेक धेरैका जोडी बाँधिएकै देखिन्छ । अझ सक्नेले धेरे पटक जोडी बाँधेका उदाहरण पनि भेटिएका छन् । भलै उसले पनि एक पटक त बिहे नगरेकी कहाँ हो र ? तर, मान्छेको जीवन सोचेजस्तो कहाँ हुँदो रहेछ र ? उसले कुरा खोतली, दादा हजुरलाई म के भनौ ? कसरी भनौ ? यी हेर्नुस् त, यो मेरी छोरी हो ।
प्रदीपले केही सोच्न सकेन । किनभने शायद उसले उसकी छोरी पनि छे भन्ने कल्पना पनि गरेको थिएन ।
ए... होर ? साह्रै रामी रहिछन् त । ठ्याक्कै तिमीजस्तै..., उसले मोबाइलका फोटो हेर्दे छोटो प्रतिक्रिया दियो ।
अनी उसले भनी, किन नहोस् त मजस्तै ? किनकी ऊ मेरै छोरी हो । मेरै ...
म आज बाँचिरहेकै त उसकै लागि हो । शायद ऊ नभएको भए म नै नहुन पनि सक्थें की ? म अहिले यसरी ठम्ठम् हिँडिरहनुमा उसकै देन छ । अर्थात्, मैले जुन बेदना पालेर बसें, त्यो आज उसैले दुर गरिदिएकी छे । मान्छे किन बाँच्छ, केका लागि बाँच्छ ? भन्ने महसुस उसैले गराइदिए । म दुइचार दिन कामले बाहिर जाँदा मलाई यस्तो लाग्छ, म किन उबाट टाढा भइरहेकी छु । आखिर किन...?
शायद म आज धेरै भाबुक भएँ क्यार...। हजुरलाई बोर भो की ?, उसले कुरालाई अन्तै मोड्न चाहेजस्तो गरी ।
हैन.. केही छैन, भने हुन्छ । मान्छेले आफ्ना पीडा जति पोख्यो उति नै मन हलुंगो हुन्छ भन्छन् । मैले किन त्यस्तो सोच्नु र ?, प्रदीपको सहज उत्तरले उसको मन खासै पगाल्न नसकेको भान हुन्छ ।
सन्नाटा भित्र कुनै बादल फाट्यो भने मेघ गर्जिन सक्छ, जसरी तलाउमा ढुंगा हान्दा तरंग आउछ । शायद मान्छेको जीवनका हरेक पाटाहरुलाई केलाउन सक्यो भने कतै मान्छेले निकास पाउन सक्छ । उसले खोतलेका अधुरा कुराले त के अर्थ राख्थ्यो र ? किनभने अधुरो कहानीले न उपन्यास पूरा हुन सक्छ, न लेखकले चित्त बुझाउन सक्छ । त्यो अबस्था आउनु भनेको यात्रामा पाइतालामा काँडा बिजेजस्तो मात्र हो । अझ हिँड्दा हिँड्दै सडक टुगिंनुजस्तै हो । एउटा लेखकले त्यस्तो अधुरो उपन्यासको कल्पना गर्ने सक्दैन । जसले यस्तो सोच्छ, उसले उपन्यास पूरा गर्न पनि सक्दैन ।
जीवन एउटा नटुगिंने यात्रा हो । यो भनाईलाई सार्थकता प्रदान गर्ने हो भने आज उसले जे पीडा भोगी, जे बेदना पोखी । त्यो अरुले भोगेका छैनन् भन्ने चाहिँ पटक्कै होइन, तर हरेक भोगाइका फरक फरक अनुभुति हुँदा रहेछन् । चाहे त्यो पुरुष होस्, चाहे महिला । सबैले पीडा भोगेकै हुन्छन् । तर, यस समाजले हेर्ने दृष्टिकोणमा फरक पर्ने रहेछ । उही भूमिका र जिम्मेबारीमा रहँदा पनि र कर्तब्य पालना गर्ने शन्दर्भमा पनि समाजले अलग अलग रुपले हेर्दो रहेछ । शायद उसले त्यही पीडा भोगी क्यार ।
कति कुरा अभिब्यक्त गर्न गाह्रो पर्छ । मान्छे हो, बोल्न सक्छ । र, पनि सबै कुरा भन्न सक्दैन । मान्छे बाहेकका त के कुरा गर्ने र ? जबसम्म मान्छेले आँफै आफ्ना कुरा गर्न सक्दैन, तव कसको के लाग्छ र ? उसका संबिधान प्रदत्त अभिब्यक्ति स्वतन्त्रतामा पनि भर पार्न सकेन भनेपछि । जवसम्म मान्छेले आफ्नैलाई बिश्वास गर्न सक्दैन, त्यतिबेला संबिधानमा जति नै अधिकारका कुरा लेखेर पनि केही नहुँदो रहेछ ।
त्यस दिन प्रदीपलाई यस्तै लाग्यो । उसले नभनी कनै धेरै कुरा बुझ्यो । कुरा बुझ्न र बुझाउन बोल्नै पर्छ भन्ने पनि छैन र बोलेका कुरा सबै बुझिने गरिका हुन्छन् भन्ने पनि हुँदैन । फेरि मान्छेले बोलेका कुरा सबै सत्य नै हुन्छन् भन्नै पनि हुन्न । बरु नबोलेरै अभिब्यक्त भएका कुराको धेरै अर्थ खुल्न सक्दो रहेछ । किनभने बोली एउटा अभिब्यक्तिको माध्यम मात्र हो, मान्छेले त नबोलरै धेरै काम गरिरहेको हुन्छ । जसरी आवाज नहुनेहरुले केही कुरा भनिरहेका हुन्छन्, जसरी मनको भावले प्रकट गरिरहेको हुन्छ ।
बरु मान्छेलाई आफ्नो आवाजले धोका दिन सक्छ, तर मनले कहिले पनि धोका दिँदैन । बरु हाउभाउले ढाँटीरहेको हुन्छ, तर नजरले कहिले पनि ढाँट्न सक्दैन । किनभने मनले सत्य बोल्छ, नजरले कहिले पनि धोका दिँदैन ।
उसका नजरले केही बताइरहेको छ । उसको मनले धेरै कुरा भनिरहेको छ । त्यो मन भित्रबाट प्रकट भएका भावलाई नजरले संचार गरिरहेको छ । जे जति भनिरहेको छ, त्यो सबै बुझ्नु नबुझ्नु अलग हो । उसका अधरमा छल्केका बेदनाका आँशुले पछ्यौरी भिजाओस् या नभिजाओस्, तर त्यो बेदना भित्रबाट एउटा भाव प्रकट भइरहेको छ ।
अब मनको बाँध फुट्न मात्र बाँकी छ । शायद उसको मन रसाइरहेको छ ।
रसाउँदैछ, क्रमशः...
.....................

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 27 चैत्र, 2075

लेखकका अन्य रचनाहरु