अनाम मान्छेको कथा

- अर्जुन यावा

बेलाबखत समाचार पत्रिकाहरूतिर पढ़िरहन्छु छोटा-छरिता कथाहरू। आज पनि छापिएको रहेछ ‘अनाम मान्छे’-को नयाँ कथा। अझै पनि लागिरहेको छ मलाई कस्तो नाम होला ‘अनाम मान्छे’? अनाम मान्छे कस्ता होलान्, कहाँका होलान्, के गर्छन्? जान्ने-भेट्ने मन छ। उनका कथाहरूले मलाई सधैं छोएको हुन्छ। मलाई खुब मन पर्छ उनका कथाहरू।

---

किरायको घरमा बस्छु म यो शहरमा। परिवारमा मसित मेरी सानी छोरी र छोरीकी आमा। हामी तीनजना छौं। हामी बसेको घरछेउबाट प्रत्येक बिहान एकजना मान्छे हिँड़िरहन्छ। मान्छे त धेरै हिँड़छन्, तर उ भिन्नै प्रकारका छन्। बेलुकी फर्किएको कहिले देखिएको छैन। कहाँ बस्छ? थाहा छैन। के गर्छ? अहँ थाहा छैन। नाम के हो त? त्यो त झन कसरी थाहा हुनेर।

छोरीले त्यो मान्छेलाई बाटो हिँड़िरहेको देखी भने हेरिरहन्छे। उसले पनि बाटोमा हिँड़दा छोरीलाई हात हल्लाउँदै गएको धेरैपटक देखेको छु। श्रीमतीले त्यो मान्छेलाई देखेर घिनाउँछे। मैलो कपड़ा। मैला-पुरानो जुत्ता। कैलो-पहेंलो परेको दाह्री-जुङ्गाले मुख छोप्न खोजेको। अनुहार धुस्रै। कपाल नकाटेर कान छोपिसकेको। घुचुकदेखि तलतलसम्म झरेको। म साहित्यमा रुची राख्ने। थोरै लेख्ने पनि। यो मान्छेको कथा लेख्नु सोचेको धेरै भइसक्यो। लेख्न सकेको छुइन। मान्छेहरू भन्ने गर्छन्-

‘यो मान्छे त पागल हो नि!’

‘यसले त चोर्छ पो भनेको सुनेको थिएँ।’

‘पहिला त यो यो मान्छे राम्रै थिए अरे।’

‘यो मान्छे त पढ़ेको मान्छे पो त, तर खै के भाको यस्तो।’

‘होइन पागल नै होला हौ।’

---

एकदिन सिलगढी पुगेको थिएँ। छापाखानामा। मेरो ‘बितेका कुराहरू’ छपाउने तरखरमा। सालुगड़ामा अचानक मेरो किरायको घरछेउबाट हिँड़िरहने त्यो मान्छेलाई देखेँ। उ आफै बोलीहाल्यो।

-‘तपाईंको घर त गान्तोक होइन?’

-‘हो। गान्तोक हो। तपाईं मलाई चिन्नुहुन्छ?’ औपचारिकता पूरा गर्न खोजेँ।

-‘मैले तपाईंलाई देखेको हुँ। तर चिनेको थिइन। तपाईंको घर नि?’

-‘मेरो त न घरको टुङ्गो छ, न मेरो नामै छ।’ उसको कुराले छक्क परेँ। फरि भन्यो- ‘म तपाईंलाई राम्ररी चिन्छु। तपाईं राम्रो लेख्नुहुन्छ।’ अब म छक्क परेँ।

-‘तपाईंलाई गान्तोक मै देखेको हूँ मैले। यहाँ किन आउनुभयो?’ सायद जान्ने जिज्ञासा बढ्यो मभित्र।

-‘हेर्नुस न, ग्राफिक्स हिँड़ेको। गाड़ी यहाँदेखि उता नजाने भयो। भारा पूरा तिरेपछि गन्तव्यसम्म त पुराइदिनुपर्ने हो नि। ठीकै छ, अब यहाँदेखि सिधै दार्जीलिङ मोड़को अटो पक्रिनुपऱ्यो।’ अहो, उसको कुराले झन उसलाई चिन्ने मन भयो।

-‘ग्राफिक्स किन नि?’ गाड़ीले कमसे कम जङ्कसनस्म पुराउनुपर्ने। आधिबीचमा छोड़िदिएछ।

-‘अँ साँची तपाईंको अस्तित्व कथासंग्रह पढ़ेको छु। अलन्तर, अनुहार, भ्रम र अरु पनि कथाहरू पढ़ेको छु।’ मेरो प्रश्नको जवाब दिएन उसले। उप्रति म अझ गम्भीर बनेँ। मलाई यतिसम्म जान्नेमान्छे उ। मैले हरेक दिन देखिरहेको तर म चिन्दिन उसलाई। फेरि सोधें-

-‘ग्राफिक्स किन जानु भएको नि?’

-‘एउटा कथासंग्रह छापुँ भनेर।’ अब उसको कुराले म तर्सिएँ।

-‘तपाईं कथा लेख्नुहुन्छ?’

-हजूर। अलिअलि लेख्छु। किताब निकाल्ने रहर छ। मेरो ‘मान्छेहरूबीच म एकलो मान्छे’ कथा धेरैले मन पराएको कथा हो...।’ अब त झन म तर्सिएँ। ‘मान्छेहरूबीच म एकलो मान्छे’-का कथाकारलाई भेट्ने कत्रो सपना थियो मेरो। लेखक त्यो कथाको लेखक कसरी हुनसक्छ! विश्वासै भएन।

-‘तपाईंको शुभ नाम’ नसोधी सकिनँ।

-‘मैले त मेरो नामै भुलिसकेँ। कथाहरू लेख्दा ‘अनाम मान्छे’ भनेर लेख्ने गरेको छु।

-‘तपाईं अनाम मान्छे?’

-‘हजुर। म अनाम मान्छे।’

-‘किन यस्तो नाम राख्नुभयो?’

-‘मैले कहाँ राखेको हूँ र। मलाई कसैले पागल भन्छन्। कसैले मगन्ते। कसैले बौलाह भन्छन्। कसैले त चोर भन्छन्। भन्नै हो भने यो शहरमा मेरो नामै छैन। मेरो त कुनै नामै छैन। त्यसैले म अनाम मान्छे।

-‘तपाई के गर्नुहुन्छ?’

-‘गान्तोकको एउटा होटलमा भाँड़ा माझ्ने काम गर्छु। त्यहीँ खान्छु। बस्ने त टुङ्गो छैन। काम गरेको पैसा अलिअलि भेला गरेर आज किताब निकाल्ने भनेर आएको। एउटा पत्रिकामा ग्राफिक्सको फोन नम्बर पाएको थिएँ। अहिले त्यहीँ जाँदैछु।’ यति भनेर उसले दुईहात जोड़ेर विदा लियो। म उसलाई परसम्म हेरिरहेँ। एउटा अटो चढ़ेर गयो। धेरैबेरसम्म म उभिएर हेरेको हेरेकै भएँछु।

---

अनाम मान्छेलाई सिलगढीमा भेटेको दुईमहिना भयो। त्यसपछि अहिलेसम्म उसलाई भेटेको छुइन। उसले कथासंग्रह निकाल्यो कि निकालेन होला? त्यो पनि थाहा छैन। होटलको नामसम्म सोधिन रहेछु। फेरि भेटेँभने पक्का लेख्नेछु अनाम मान्छेको कथा।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 27 चैत्र, 2075

लेखकका अन्य रचनाहरु