खप्तड ! तिमीलाई सञ्चै छ?

- कृष्ण प्रर्साई

खप्तड - तिमीलाई सम्झनेबित्तिकै जहिले पनि मेरा मस्तिष्कका कोषहरुमा सम्झनाका तरेलीहरु बयली खेल्न आउँछन् । तिम्रो सुकोमल र्स्पर्शको ताजा र न्यानो अनुभूतिले भावनाका अदृश्य रेसाहरु, असंख्य तरङ्गहरु र अनन्त सुहानुभूतिहरु मन भरिभरि, मुटु भरिभरि र सम्झने शक्ति भरिभरि जाग्राम भएर मडारिन थाल्छन् । म कसरी तिम्रो बर्णन गर्न खोजिरहेछु अनि कसरी तिम्रो सौर्न्दर्यको अक्षरी अनुकरण गर्न लागिरहेको छु । तिमीलाई मेरा पंक्तिहरुसँग तादात्म्य हुनुपर्दा अचम्म लाग्ला तरै पनि मेरा साना आँखाहरुले तिमीलाई जुन रुपमा त्यो हजार फीट माथिको डाँडामा आफ्ना समस्त शरीरका अङगहरु छरेर जसरी मुस्कुराएर पट्टा खेलिरहेको र प्रकृतिको अनुपम भू-र्स्वर्गभित्र नाचिरहेको देखेँ, त्यो मेरा लागि कम गर्वपुर्ण सावित भएकोछैन ।

साँच्चै भन्ने हो भने यसले मैले तिमीलाई पाउन एउटा कठिन दुःख झेल्नु परेको थियो । एउटा अकल्पनीय यात्रामा आफूलाई हिँडाउनुपरेको थियो र अनेकौँ नागबेली बाटाहरु छिचोल्नु परेको थियो । जीवनमा मैले धेरै उकालाहरु चढेको छु । धेरै बाटाहरु काटेको छु र सहश्र गल्छेडाहरु टेकेर, आफ्नो गन्तव्यमा पुगेको पनि छु । हो, मैले बूढीमोरङ पुग्न लावरबोटेबाट चढ्ने धारापानीको धनकुटे उकालो उकिलएको छु । ताप्लेजुङको राँकेभीर तरेको छु अनि लालिर्खर्क र चिउरी बासका उकालाहरु पनि काटेको छु । भारपाको उराठिलो उकालो, च्याल्साको चीसो उकालो, सोलुबाट ओखलढुङगा पुग्दा उकिलनु पर्ने पत्तालेको पातलो उकालोसहित रुम्जाटारेली ठाडे र टोड्केका उकालाहरु लगायत लामटाङ, लमजुङ, प्यूठान र वैतडीका अनगन्ती उकालाहरु पनि चाहारेको छु । त्यतिमात्र होइन सिक्किमेली प्रवास भूमिका कितामे उकालाहरु, नाम्चीका ननिका उकालाहरु अनि रात्माटे र जोरथाङका जोखिमपुर्ण उकालाहरु हुँदै बदमताम भएर बेनेकवने भिरालाहरुको समेत मैले फड्को मारेको छु ।

सुनेको थिएँ, रोल्पेली र मुस्ताङे उकालाहरु विकट र डरलाग्दा छन् । पढेको थिएँ घनघस्याको उकालो अति नै राक्षसी र मान्छेखाने खालको छ तर मैले भोगेका, देखेका, सुनेका र पढेका उकालाहरु त झिंग्रानाको उकालोका अगाडि त्यसैत्यसै अदृश्य भएर हराउने र बिलाउने जस्ता पो लागे । डोटीबाट बगलेख हुँदै तिमीलाई भेट्न आउने जोसुकै पदयात्रीले पनि झिंग्रानाको उकालो नचडिकन, नउक्लिकन र नछिचोलिकन कसैगरी सुख छैन । आधादिन आफ्नो नाकलाई पहाडी बुट्यान र आकासे भीरसित ठोकाएर बाटोविहीन बाटो पहिल्याउँदै हिड्नुपर्दा जुन सास्ती र थकान जीवनमा भेटिएको हुन्छ त्यो विरलै अरु थोकबाट पाइने गरिन्छ । यस्तो उकालो काटेर निगालोधारी सहित जंगलका नागबेली तरेलीहरु हुँदै दिनभरजसो स-साना उकाला ओरालाहरु काटेर यात्रा भरेपछि र्सवप्रथम हामी तिमीलाई पाउन सफल भएका थियौँ । दिनभरको यात्रामा त्यतिखेर तिमीले पालेका मातलाग्ने झारहरु, नागफनीका जस्ता फणा उठाएका स-साना माने जातका बिरुवाहरु र विभिन्न किसिमले फुल्ने बिषालु झारहरुले आक्रान्त पारेका मेरा स्नायु र सुषुप्त भएका अरु अंगहरुका सम्पूर्ण थकानहरु त्यसैबेला मैले बिर्सन पुगेको थिएँ, जब मैले तिमीलाई टाढैबाट हाँसिरहेको देखेँ ।

ओहो, म कल्पना समेत गर्न सक्दिनँ कठिन बाटाहरु पार गरेर माथिपट्टकिो रात्माटे जंगल चाहार्दै सानो खोला काटेर केही क्षण तर ओलिएएपछि तिम्रो उज्यालो पाएको मेरो मनले अद्धितीय र अनुपम अनुभूति समेट्न पुगेको थियो ।

मेरा सहयात्रीहरुले हेर्दा हेर्दै म तिम्रो दूबैदूबो भएको एउटा चुचुरे छातीमा लडेर एकचोटि रमाइलोमा मात्तिएको थिएँ । त्यतिखेर छ्याङ्ग उघ्रेको आकाशले आफूमा सेतो चन्द्रमा ओढेको थियो जुन समीपमा आएझैँ भान परेको थियो ।

म अझै खुलेर भन्न सकिरहेको छैन, त्यसपछि मैले आफ्ना सम्मुखमा के कस्ता चुचुराहरु देखेँ कति लाचकदार भुर्इहरुमा खेलेँ अनि कसरी यी आँखाहरुलाई समोहनको टुनाले भर्ने तिमीभित्रका दृश्यहरुसँग अङकमाल गरेँ भनेर !

मलाई अहिले पनि सम्झना छ, त्यति माथिको उचाईमा बग्ने ती तीन-तीन खोलाको मिलन थलो त्रिबेणीमा हामीहरुले हातखुट्टा थर्थराउँदै कमाएर नुहाएका थियौँ । यति अग्लो ठाउँमा नदीको दर्शन पाएको र त्यसैमा डुबुल्की मारेर पवित्र भएको मेरो जीवनले प्राथमिक अनुभवहरु बटुलिरहेको थियो । त्यसैदिन हुनसक्छ, त्यति धेरै संख्यामा घोडाका बथानहरु एकछत्र भएर वरपर देखिने थुम्का र पाटनहरुभरि चरिरहेका देखिन्थे । त्यस्तो संयोग पनि मेरो जीवनमा पहिलोपटक नै समेटिएको थिये। 

प्रिय खप्तड ! तिमीले कसरी त्यति धेरै पाटन र तालहरु आफ्नो गर्भमा पालेर हर्ुकाउन सक्यौ हँ - अनि कसरी पाटनैभरि पत्याइनसक्नु पाराले रंगीविरंगी फुल्ने सहश्र स-साना पुतली फूलहरुलाई फुलाउन सिक्यौ - त्यति मात्र होइन, आँखाले भ्याउन्जेल देखिने पाटने चुचुरा र मैदाने पाटाभरि त्यस्तो अद्वितीय दूबोको खेती भर्न सक्यौ - मलाई तिम्रो जाँगरिलो पौरखलाई देख्दा सारै अचम्म लागि रहेको छ ।

हो, यी सबै मेरा जीवनका पहिला अनुभवहरु नै थिए । नौरंगी डाँफेका त्यति धेरैको संख्याले तिम्रो शोभा भर्ने जोडीका जोडी बथानहरु पनि मैले तिम्रै पिठ्यूँको जंगलमा देख्न पाएको हुँ । त्यति धेरै चराका सन्ततिहरुको लहर मेरो जीवनले तिमीभित्रै छिपेको देख्यो अनि त्यति अग्लाइको निलो दह तिम्रै आँखाको शान्त र गम्भीर मुद्रामा अल्भिएर सुतिरहेको भेटेँ र त्यति राम्ररी सृष्टिको सुन्दरता समाएर चुलिएका चुचुराहरु लहर मिलाएर मस्त मग्मगाएको पनि तिम्रै छातीमा भेटेँ ।

खप्तड ! तिम्रो अनुहारको मलाई भ्रम परेको छैन भने प्रत्येक बिहानको र्सूर्य उदाउँदा देखिने तिम्रो वक्षस्थल झैँ उठेका अनगन्ती फूलबुट्टे चुचुराहरुको सौर्न्दर्यम एउटा वयस्क रोगन छिपेको मैले महसूस गरेको थिएँ । त्यही रोगनलाई मध्यान्हको सूर्यले काँचुली फेर्दा छुट्टै अर्को रौनक भरिने गरेको थियो । अनि बुढ्यौली लागेको सूर्यको कमजोर प्रकाशले त्यसमा र्स्पर्श लिँदा भिन्दै खालको अस्ताउँदो लालिमा तिमीमा नाचेको थियो । मलाई सोध्न मन लागेको छ तिमीलाई, त्यतिखेर तिमीले मेरा आँखाहरुलाई कस्तो मोहनी मन्त्रको जादूले तीनतीन दृश्य र रङहरुमा कसेका थियौ भनेर । मलाई प्रश्न गर्न मन लागेको छ, तिमीलाई त्यति राम्रा गलैँचे झारहरुको लचकदार मुलायम तन्ना आफूमा बिछ्याएर तिमीले कुन भू-र्स्वर्गलाई हँसिलो आसनमा विराजमान गराएका छौ भनेर ।

तिमीलाई थाहा हुनुपर्छ, हाम्रो त्यो चार दिनको बसाइमा तिमीले पाहुना सम्झेर त्यति धेरै खुसीहरु बाँडेको थियौ जुन खुसी मैले अहिलेसम्म चहारेका कुनै भूतलमा पाएको थिइनँ । कस्तो अकल्पनीय रहेछौ तिमी, त्यही बसाइमा त हो मैले दिनहुँ जस्तो तिम्रानरम चुलीहरुमा खेल्न सम्म लडिबुडी खेलेको थिएँ । तिमीलाई लोभ लागेर तिम्रापाए जति अंग प्रत्यङ्गहरुका लुकिछिपी तस्वीरहरु उतारेको थिएँ र छेउछाउको वनजंगलले घेरिएको छुट्टै माथिका सल्ला र धूपीका डाँडाहरुमा अचूक सम्मोहनका आँखाबाट सुकुमार दृष्टिहरु फ्याँकेर अजस्र आस्वादन चाखेको थिएँ । कस्तो विलक्षण गरिमा थामेर झुण्डिएका रहेछौ तिमी त ! मैले मनमनै तिमीभित्रको छटालाई इष्र्या र डाहहरुमा अनुवाद गरेको थिएँ ।

हो, तिमीले त्रिवेणी जस्ता हिमनदीका वरदानहरु पालेका छौ, केदारढुङगा र सहस्रलिङ्ग जस्ता महिमाहरु संरक्षित राखेका छौ अनि तालैताल र पाटनै पाटनको परेड तेर्स्याएर अतुलनीत आभा छरेका छौ । त्यस्तै तिमीले खप्तड स्वामी जस्ता ओजस्वी महात्मालाई थामेर गर्व गर्दै हिर्काएका, खेलाएका र आसनमा जमाएका छौ । तिमीभित्रको पुण्यभूमिलाई, तपोभूमिलाई र देवभूमिलाई भेट्दा म गौरवान्वित भएको छु, हर्षे फुलेल भएको छु र सुन्दर सरोवरहरुको परम पारखी भएको छु । म मात्रै होइन रहेछु, मैले सुनेँ, तिमीलाई आफ्नो अधिनमा कस्ने जमर्काहरु गरेर आज तिमीभन्दा उत्तरको बझाङ, तिमी छेउकै डोटी, तिमी दक्षिणको अछाम र पूर्वतिर लम्पसार परेर तर्र्सिएको बाजुरा अझै पनि पौँठेजोरी खेलिरहेका छन् रे । तिमीलाई आफ्नो् भन्न पाउँदा आनन्दले अतिरन्जित हुने उनीहरु तिमीलाई आफूभित्र गाभ्ने सुरले उत्तकै लगनशील भएर लागेका र जोरजुलुमले जुटेका छन् रे ।

हो खप्तड ! नढाँटी भन्ने हो भने तिमीभित्र पसेपछि मैले प्राचिन र युगीन आर्य संस्कृतिको साङगोपाङ्ग नमूनाका झाँक्रीहरु देखेको थिएँ । स्वच्छन्द विचरण गर्ने जंगली जनावरहरुले मान्छेको कुनै बिगार नगरेको सुने । त्यति मात्रै होइन रोगाएका, भोकाएका र हाडछाला मात्र लिएर तिम्रो शरणमा पुगेका घरेलु जनावरहरु पनि छोटो समयमै तङग्रिएर मान्छेको सेवामा जुट्ने गरेको बुझेँ । कस्तो अदृश्य औषधिमा अमरत्व अन्मिएको अचुुक उपचार छ हँ तिमीमा - मैले त मान्छेले पनि तिम्रो सर्ंर्सगमा गएर आफ्नो आयु लम्ब्याएको पो भेटेँ अनि रोगीहरु, गोठालाहरु र भरियाहरु पनि तिमीभित्र मन खोलेर सधै हाँसी नै रहेको देखेँ ।

हो, तिमीभित्र सहश्र तालहरु छन्, समग्र पाटने फाँटहरु छन् र युगौँदेखि आफ्नो राष्ट्रियता फुलाउँदै लाम लागेर लस्करै लालिमा भरिरहेका लालीगुराँसका अनेकरंगी फूलहरु छन् । सहश्र लिङगको डाँडाबाट वरिपछि हेर्दा जीवन्त र जाज्वल्यमान भएर पट्ट। खेलिरहेका देखिने हिम गिरीका प्राकृतिक सौर्न्दर्यको शास्वत सगुनलाई र्स्वर्गको साँध नभनेर के भन्ने त - जहाँ बास्ने गरेका प्रत्येक विहानीहरुले आफ्नो प्रत्येक आगमनमा नौला-नौला छटाका शुभ साइतहरु अर्पेर धर्तीलाई अन्माएका हुन्छन् ।

मैले सुँने, यसैपटकको हिउँदले तिमीमा सात-सात फिँटसम्म हिउँ जमाएको थियो रे । झण्डै चालीस वर्षयता यसरी नराम्रोसँग चिसिनुपर्दा तिम्रो सौर्न्दर्यले निकै सास्ती पाएको थियो रे । यस्तै भए पनि वर्षोनी दशहरा बोलाएर हुनसम्म रमाइलो गर्न मनलाग्दो रहेछ तिमीलाई । त्रिवेणी मन्दिरको छेउछाउ मेला लगाएर त्यसैबेला अनेकौँ यात्रुहरुको ओइरो हिडाउन मनलाग्दो रहेछ तिमीलाई अनि कसरी धर्ममा बग्न मन जाग्दो रहेछ तिमीलाई ।  कस्ता रसिला धार्मिक, सांस्कृतिक र आञ्चलिक पर्वहरुले बाँधेका रहेछन् तिमीलाई ! यसैले होला मलाई तिम्रो ओज र आदर्शले अझै पनि अविरल रुपले उन्मुख गराएको गरायै छ ।

त्यसैले होला खप्तड ! अझै पनि तिमी सम्झना बनेर म भित्र बारम्बार आई नै रहन्छौ । तिमीलाई सम्झने बित्तिकै म तिम्रो दर्शनार्थ आफूले काट्नु परेको झिँगा्रनाको कष्ट सम्झन्छु जुन कष्ट तिमीलाई देख्ने बित्तिकै निर्रथक सावित भएको थियो । अनि उकालो काटिरहेका बेला खुइ काढेर हिँड्ने एउटा बाजुरेली भूतपूर्व भारतीय सैनिक पदयात्रुलाई सम्झन्छु जसले आफ्नो चार-पाँच वर्षो छोरालाई दिल्लीको उपचार सकेर मृत्यु कुराउन त्यही बाटो हुँदै आफ्नो काँधमा हालेर उकालो चर्ढाईरहेका थिए । त्यति सानैमा अर्बुद रोगले टाउको र आँखाभरि पट्टी बाँधिए पनि ऊ हाँसेर रोटीको टुक्रा चपाईरहेको थियो । त्यति मात्र होइन, खप्तड स्वामीको दर्शन गर्न ठूलो विस्वास र आस्था बोकेर लौरो देक्दै हिँड्ने दुर्इकोरी वर्षरु पार गरिसकेका मिलनसार बन्दी दम्पतीको पनि मलाई त्यति नै झझल्को आउने गर्छ । बिर्सिनसक्ने हिसाबले मायाँ गर्ने मृदुभाषी खप्तड स्वामीसँग बिताएका चारदिनका बाह्र घण्टा जति समयको झन् धेरै सम्झना आउँछ, जुन अपूर्व समयको सम्मुखमा जीवनमा पाइनसक्ने दर्शन, ज्ञान र अध्यात्मको गतिलो अध्याय शुरु गर्ने आत्मबल बोकेर म पूर्वर्तिर वेगिएको थिएँ ।

खप्तड ! मलाई यतिखेर तिम्रो असाध्य न्यास्रो लागेको छ ।

के तिमीलाई सन्चै छ ?

 

समाप्त

 

 

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 13 श्रावण, 2065

लेखकका अन्य रचनाहरु