साहित्यकार गोवद्र्धन पूजासँग छोटो कुराकानी

- होमशंकर बास्तोला

अमेरिकामा बस्नुहुने कवि गोवद्र्धन पूजाको जन्म चितवन जिल्लाको चैनपुरमा २०२७ सालमा भएको हो । उहाँको वास्तविक नाम राजेन्द्र श्रेष्ठ हो । नेपाली साहित्यका चिरपरिचित कवि पूजाका असहमतिका पाइलाहरु (कथा २०५०), शून्यताको आँचलभित्र (उपन्यास २०५३), धर्तीको धूलो (गजल २०५४), अब इतिहास रुँदैन (धारावाहिक उपन्यास २०५६), पीडा अवतार (कविता २०५७), वाचल ओठहरु (कविता २०५९), प्रेम अवतार (कविता २०६३), बिक्रीमा यो जिन्दगी (गजल २०६८), अनामनगरकी अम्विका (कविता २०७२) जस्ता कृतिहरु प्रकाशित भइसकेका छन् । नेपाली भाषा, साहित्यको योगदान स्वरुप उहाँलाई नवकविता पुरस्कार (२०५५), युवा कविता महोत्सव, धरान (२०५५), भानुभक्त लेखन पुरस्कार (२०५५), लालीगुराँस युवा सम्मान (२०५५), राष्ट्रिय कविता महोत्सव, प्रज्ञा (२०५७), शुभजन्मोत्सव कविता महोत्सव (२०५७), नारायणी वाङ्गमय पुरस्कार (२०५७), युवावर्ष प्रतिभा पुरस्कार (२०५९), भानुमोती पुरस्कार (२०५७), हरिभक्त कटुवाल युवा सम्मान (२०५९), गजलश्री सम्मान (२०६०), दामोदर पुडासैनी प्रतिभा सम्मान (२०६३), नयाँनेपाल राष्ट्रप्रेम सम्मान (२०६३), लोकतन्त्र सास्कृतिक सम्मान (२०६३), जनमत, जनक सेवा सम्मान (२०६४), राष्ट्रिय विकास सेवा सम्मान (२०६४), युवावर्ष मा ेति पुरस्कार (२०६५), अनेसास सर्बोकृष्ट पुरस्कार (२०६८), भानुशत्वार्षिकी सम्मान (२०७१) जस्ता पुरस्कार एवम् सम्मान प्राप्त गरिसक्नुभएको छ । साहित्यिक गतिविधिमा समेत संलग्न रहने पूजा गजल मञ्च, साहित्यिक पत्रकार संघ, साहित्यिक सम्पादक समाज, सामाखुशी साहित्यिक समाज, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्ट, चलचित्र पत्रकार संघ, अन्तर्राष्ट्रिय गजलमंच, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज आदि साहित्यिक संघसंस्थामा रही आउनुभएको छ । नेपाली साहित्यका प्रभावशाली कवि गोवद्र्धन पूजासँग होमशंकर बास्तोलाले गनुुभएको छोटो कुराकानी ।
साहित्यमा तपाईं कसरी आकर्षित हुनुभो ? यहाँको साहित्यिक यात्रा बारेमा केही बताइदिनोस् न ?

– सानैदेखि मलाई कथा, कविता पढ्न रुचि थियो, बिद्यालयको पाठ्यपुस्तकमा भएका कविता कण्ठस्त हुन्थे र सोच्थेँ, यस्तै लेख्न पाए पनि हुन्थ्यो । जब म आठ कक्षामा पुगेँ, त्यसबेला अटोग्राफ लेख्ने चलन थियो । त्यसमा कसैको राम्रो कविताको टुक्रा
राख्ने चलन थियो । मैले पनि कसैको कवितालाई आफ्नो रुपमा ढालेर लेखेँ र अटोग्राफमा राख्न थालेँ । पछि कलेज जीवनमा यसले झन् मौलाउने अवसर पायो । २०४३ मा केही कविता र कथा लेखेको थिएँ तर छपाउन अलि हिच्किचावट भयो । त्यसैले प्रतिभा भन्ने पत्रिकामा मात्रै एउटा कविता छपाउन सफल भएँ ।
२०४४ मा पाटन क्याम्पस आएपछि भूगोल समूहबाट वृष्टि र नेपाली समूहबाट अनावरण स्मारिकाको प्रधान सम्पादक भएर आफ्नो र अरुको रचना छपाउन सुरु गरेँ । क्याम्पस जीवनपछि पनि आकाश साहित्यिक पत्रिका दर्ता गरेर निरन्तरता दिएँ । योक्रम एक दर्जनजति साप्ताहिक पत्रिका र अन्नपूर्ण पोष्टको बरिष्ठ उपसम्पादक भएसम्म चल्यो । यसैले मेरो साहित्यिक यात्रा अग्रजहरुको रचना पढेर, अरुको रचना सम्पादन गरेर सुरु भएको भन्नु उपयुक्त हुन्छ होला ।

नेपाली कवि भएको नाताले विदेशमा गएर लेखनमा केही परक पाउनुभएको छ ?

– करिव एक दशकदेखि म अमेरिकाको बोस्टनमा बस्दै आएको छु । यहाँको वातावरण अलि फरक छ । मेरो लेखनमा यसले केही फरक परेको त अवश्य नै छ तर मन नेपाली भएकाले सपना देख्दा पनि नेपालकै देखिन्छ । सोच्दा पनि नेपालीमै
सोचिन्छ । त्यसैले ममा खासैफरक आएको मैले अनुभूति गर्न सकेको छैन । नेपालमा हुँदा अलि बढी समय हुन्थ्यो । साहित्यिक कार्यक्रममा बढी नै सहभागिता जनाइन्थ्यो । यता त्यो कम छ । लेख्न समय नै निकाल्नुपर्छ । अनिअलि कृतिम हुन्छकि जस्तो लाग्न थालेको छ ।

नेपालमा रहँदा तपाईं भाषा साहित्यको उन्नयनमा सक्रिय हुनुहुन्थ्यो । अमेरिकामा रहेर सक्रिय हुनुहुन्छ, यो कसरी संभव भइरहेको छ ?

– म सधँै आफूलाई व्यस्त राख्न चाहने मान्छे्र । जीवन निर्वाहका लागि आवश्यक आर्थिक उपार्जनका कार्यका अलावा मेरो सोख भनेको साहित्यको अध्ययन र सिर्जनात्मक लेखन नै हो । त्यसैले मैले नाच, गान र क्लवहरुमा गएर समय खर्चनुको सट्टा भाषा साहित्यमा त्यो समय लगाउने गरेकोछु । यसो गरिरहँदा म अलि बढी नै सामाजिक क्रियाकलापबाट टाढा रहेको अनुभूति पनि गर्न थालेको छु्र । साहित्यिक क्रियाकलापमा बाहेक अन्य गतिविधिमा कमै सरिक हुने मेरो स्वभावले नै मलाई यस्तो सम्भव गराई दिएको पो हो कि ?

हाल तपाईं पारिवारिक सहित विदेशमा रहनुभएको हो कि नेपालमा पनि कोही परिवारका सदस्य हुनुहुन्छ ?

– म मेरा दुई छोराहरु र श्रीमती सहित अमेरिकाको बोस्टनमा बस्दै आएको छु । अन्य परिवारका सदस्य नेपालमै हुनुहुन्छ ।

नेपाली रचनालाई अङ्ग्रेजीमा अनुवाद गरेर अमेरिकी पठकसम्म पु¥याउन संभव छ वा छैन, तपाईंलाई के लाग्छ ?

– एकदम राम्रो कुरा हो यो । अनुबाद गरेर नेपाली साहित्यलाई विदेशी पाठक समक्ष पुराउनु आजको हाम्रो अवश्यकता हो । यसलाई व्यक्तिगतरुपमा र संस्थागत रुपमा मेरो पनि प्रत्यक्ष वा परोक्ष रुपले संग्लगनता रहदै आएको छ । यो कार्य सुरु भइसकेको छ । बिस्तारै नजानिदो पाराले यो अघि बढिरहेको छ ।

नेपाली साहित्य र अन्तर्राष्ट्रिय साहित्यमा कस्तो फरक पाउनुभएको छ ?

– साँस्कृतिक, सामाजिक र परम्परागत मूल्य र मान्यतामा अलि फरक दृष्टिकोण भए पनि मानवीय मूल्य र अस्तित्वका सवालका सन्दर्भमा लेखनको मूल उदेश्य समान देखिन्छ । पूर्वीय र पाश्चात्य साहित्यको भेद सायद यसै कारण भएको होला ।

विदेशमा रहेर पनि नेपाली भाषा, साहित्यमा संलग्न हुनुहुन्छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बारेमा केही वताइदिनोस् न ?

– म अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका कारण अमेरिका आएको हुँ । यो एउटा नेपाली भाषा र साहित्यलाई विश्व मानचित्रमा फैल्याउने मूल सस्थाको रुपमा विकशित भैरहेको छ । मैले यसमा दुई कार्यकाल महासचिव भएर काम गर्ने अवसर
पाएँ । अझै पनि आजीवन सदस्यको नाताले यसको गतिविधिलाई सहयोग र सहभागिता जनाउदै आएको छु ।
हाल उक्त संस्थाले के गरिरहेको छ ?

– भर्खरै यस संस्थामा नयाँ साथीहरु आएका छन् । उनीहरु भविष्यका योजनाहरु बनाउदै छन् । अनेसासको मूल उदेश्य भनेको अन्तर्रााष्ट्रयस्तरमा नेपाली भाषा र साहित्यको सेवा र विस्तार गर्नु नै हो । साथै विभिन्न समयमा गोष्ठी र सम्मेलन गर्नु पनि हो । सोही कार्यको निरन्तरता र नयाँ योजना गर्नु पनि हो । मेरो पालामा भएको नेपाली कथाको अङ्ग्रेजी अनुवाद प्रकाशनको संघारमा छ । अन्तर्दृष्टिको प्रकाशन तयारी गरिरहेका छन् । बोर्डअफट्रष्टीको निर्वाचन भर्खरै सम्पन्न भएको छ । अनेसासको भवन निर्माण गर्ने, कृतिहरु प्रकाशन गर्ने, राम्रा कृतिलाई पुरस्कृत गर्ने, परदेशमा रहेर भाषा साहित्यमा लागेकाको उचित मूल्याङ्कन गर्दै सम्मान र पुरस्कृत गर्ने कार्यमा संस्था लागेको छ र लाग्नुपर्दछ्र ।

नेपाली भाषा साहित्यको उन्नयनका लागि यहाँ देश देशान्तरसम्म क्रियाशील हुनुहुन्छ । समय कसरी व्यवस्थापन गर्नुहुन्छ ? थकान लाग्दैन ?

– इक्छा भएपछि उपाए निस्कन्छ नै भन्छन् । नेपालमा हुँदा पनि म १६ घण्टा काम र सिर्जनामा नै लागेको थिएँ । यता पनि यस्तै कर्ममा क्रियाशील छु । समय मिलाएर घुमघाम पनि गरिरहेको छु । मैले माथि नै भनेँ नि यो मेरो सोख या नशा हो । जसको तलतल लागि रहन्छ । जसरी चुरोट खानेहरुलाई तलतल लाग्छ । सायद मैले चुरोट पिउन नसिकेको हुनाले सिर्जनात्मक तलतलले मलाई सिर्जनात्मक कार्यमा लगाएको छ ।

तपाईंका विचारमा वर्तमान नेपाली साहित्यको स्थिति कस्तो छ र कस्तो हुनुपर्छ भन्ने लाग्छ ?

– नेपाली साहित्य समय सान्दर्भिक उचाइ उन्मुख छ । सबै विधामा राम्राराम्रा कृति आइरहेका छन् । अनुवाद भएर विश्व बजारमा जानेक्रम पनि चलिरहेको नै छ । फेसबुक र सामाजिक सञ्जालका कारण कृया–प्रतिक्रिया चल्दो छ । यसैले नेपाली साहित्यको स्तरको गति दिन प्रतिदिन बढिरहेको छ ।
कस्तो हुनुपर्छ भन्नुभन्दा पनि कसरी अघि बढिरहेको छ भन्ने कुरा ठूलो कुरा हो । अहिलेको हिसाबमा सन्तोषजनक गति नै यसको विकाशको सकारात्मक शैली हो भन्ने बुझ्नुपर्छ्र ।

नामले पनि साहित्यमा काम गरिरहेको हुन्छ । सिर्जनाभन्दा नाम शक्तिशाली हुन्छ र ?

– यो कुरामा मैले पनि धेरै बहस गरेको छु । जसरी जागिर खानाका लागि अनुभव हुनुपर्छ र अनुभवका लागि जागिर खानुपर्छ भने जस्तै स्तरीय पत्रिकामा छापिन नाम चलेको हुनुपर्छ र नाम चल्न स्तरीय पत्रिकामा छापिनु पर्छ । तर अहिले सामाजिक संजालले गर्दा नयाँ पुस्तालाई सजिलो बनाइदिएको छ्र। एउटै शक्तिशाली रचनाले पनि रातारात चर्चा कमाउने प्रतिभाको जन्म भैरहेको छ । यो पनि बुझ्नुपर्छ कि राम्रो लेख्ने र नाम कमाएका लेखकको नाम बिक्छ पनि । किनकि उनीहरुलाई पाठकले विश्वास
गरिरहेका हुन्छन् ।

जिन्दगीको यात्रामा साहित्यले तपाईंलाई कस्तो अवस्थामा पु¥याएको अनुभव गर्नुभएको छ ?

– मैले नेपालीमा एम. ए. अध्ययन गर्नु अघि भूगोलमा एम. ए. गरिसकेको थिएँ । तर नेपाली भाषा र साहित्यप्रतिको रुचिका कारण यतातिर लागेँ । कलेजमा नेपाली साहित्य नै अध्यापन गरेँ । साहित्यकै कारण अन्नपूर्ण पोस्ट पत्रिकामा ८ वर्ष
बरिष्ट उपसम्पादक बनेर काम गरेँ । मैत्री एफ.एम.मा साहित्यिक कार्यक्रम संचालक बनेँ । त्योभन्दा पर साहित्य सम्मेलनमा सहभागी हुन अमेरिका आएँ । गोवद्र्धन पूजा नाम यसैले दिएको हो । आज म यहाँ साहित्यकै कारण केही कुरा गर्दैछु । त्यसैले म जे छु साहित्यकै कारण छु । नत्र कुनै कलेजमा राजेन्द्र श्रेष्ठको नाममा भूगोल विषय अध्यापन गरिरहेको हुन्थ्येँ हुँला ।

वर्तमान नेपाली साहित्यको अवस्था कस्तो रहेको पाउनुभएको छ ?

– अत्यन्तै सुन्दर, उर्वर र जीवन–जगतमुखी लेखनको क्रम बढिरहेको छ । कोरा कल्पनाभन्दा सत्यलाई लिएर लेख्ने परिपाटी बढिरहेको छ ।

साहित्यिक लेखनमा लाग्ने युवा पुस्तालाई केही सल्लाह दिन चाहनुहुन्छ ?

– लेखनमा निरन्तरता ठूलो कुरा हो । यसमा कसले कति लेख्यो भन्दा पनि कस्तो लेख्यो भन्ने महत्वपूर्ण हुन्छ । यसैले संख्यात्मकभन्दा पनि गुणात्मक लेखनलाई ध्यान दिनु जरुरी छ । राम्रो लेखनलाई समयले अवश्य मूल्याङ्कन गर्ने नै छ ।

हाल के गरिरहनुएको छ ? भविश्यको सोचाइ के छ ?

– म अहिले साहित्यकै अध्ययन गर्दै छु । सायद यस वर्ष नेपाली साहित्यमा पिएचडीको प्रक्रिया अघि बढाउछु होला । यसका लागि तयारी गर्दै छु । पुस्तकहरु अध्ययन गर्दै छु । आर्टिकल लेख्दै छु । कार्यक्रममा सहभागी भैरहेकै छु । भविष्य अनिश्चित हुन्छ तर पनि एउटा कुरा सत्य के छ भने गोवद्र्धन पूजा बनेर बाच्न मैले लेख्नै पर्छ । अध्ययन गर्नेपर्छ । साहित्यिक कार्यक्रममा सहभागिता जनाउनै पर्छ । त्यो गर्ने नै छु ।

अन्त्यमा भन्ने केही बाँकी छ ?

– धेरै कुरा भन्ने अवसर दिनु भएकोमा तपाईंलाई हार्दिक धन्यवाद, त्यत्ति नै मेरा प्रिय पाठकलाई हार्दिक धन्यवाद । म अझै राम्राराम्रा सिर्जना पस्कने योजनामा छु । आफूलाई सधैँ खार्ने क्रममा रहन्छु । बस हाम्रो सम्बन्ध नङ र मासु
जस्तै बनोस् ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 27 चैत्र, 2075

लेखकका अन्य रचनाहरु