साहित्यकार कृष्ण बजगाईंसँग कुराकानी

- छविरमण सिलवाल

सपरिवार बेलायतमा बसोवास गर्नुहुने कृष्ण बजगार्इं डायोस्पोराका चर्चित तथा सक्रिय साहित्यकार हुनुहुन्छ । उहाँले बेल्जियम र बेलायतमा गरी करिव दुई दशक बिताउनुभएको छ । लेखन, सम्पादन, प्रकाशन र साहित्यिक संगठनमा उत्तिकै सक्रिय बजगाईंका भाया साक्रा (नियात्रासङ्ग्रह २०१८), युरेसियाको स्पर्श (नियात्रासङ्ग्रह २०१७), कवच (लघुकथासङ्ग्रह २०१६), कमरेड भाउजू (कथासङ्ग्रह २०१५), रोडम्याप (लघुकथासङ्ग्रह २०१०), स्रष्टा र डिजिटल वार्ता (साहित्यिक अन्तर्वार्तासङ्ग्रह २०१०), हिउँको तन्ना (हाइकुसङ्ग्रह २००९) यन्त्रवत् (लघुकथासङ्ग्रह २००७) प्रकाशित भएका छन् । उहाँले विगत १२ वर्षदेखि नेपाली साहित्यको वेब पत्रिका समकालीन साहित्य डट कम ९धधध।कबmबपबष्लिकबजष्तथब।अयm० को प्रकाशन तथा सम्पादन गर्दै आउनुभएको छ । उहाँ प्रधान सम्पादक भएको नेपाली साहित्यको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नल ‘प्रवासन’ बेलायतबाटै प्रकाशित भइरहेको छ ।
उहाँले नारायण जयन्ता लिटरेरी वेब जर्नालिज्म एवार्ड, अमेरिका (२००९), देवकोटा शताब्दी सम्मान, नेपाल (२००९), डायास्पोरा नृपध्वज पुरस्कार, अमेरिका (२०११), भानुभक्त द्विशताब्दी स्वर्ण पदक, नेपाल (२०१४), सुप्रमा साहित्य पुरस्कार, बेलायत (२०१६), सत्यमोहन जोशी शताब्दी पदक, नेपाल (२०१६), वैजयन्ती स्रष्टा सम्मान, नेपाल (२०१६) आदि पुरस्कार तथा सम्मान पाउनुभएको छ ।
समकालीन साहित्य प्रतिष्ठान बेलायतको संस्थापक अध्यक्ष बजगाईंले लघुकथा समाज नेपालको अन्तर्राष्ट्रिय संयोजकको रुपमा पनि जिम्मेवारी पूरा गरिरहनुभएको छ । यसभन्दा पहिले उहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमिति, वासिङ्टन डी.सी, अमेरिकाको बरिष्ठ उपाध्यक्ष (२०१०–१२) र केन्द्रीय महासचिव (२००८–१०), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेल्जियमको संस्थापक अध्यक्ष (२००७–११) हुनुहुन्थ्यो । साहित्यकार बजगाईंसँग अन्तर्बोधका लागि छविरमण सिलवालले गर्नुभएको छोटो कुराकानी ।

कहिलेदेखि नेपाली साहित्यमा तपाईंको रुचि बढ्यो ?

– मलाई सानै उमेरदेखि साहित्यमा रुचि थियो । वि.सं. २०३६ सालमा पहिलोपटक कविता लेखेर स्कुलमा सुनाएपछि बालकविको रुपमा चिनिएँ । त्यहीँबाट मेरो साहित्यिक यात्रा सुरु भयोभन्दा हुन्छ । पत्रिकामा भने पहिलो पटक वि.सं. २०४१ सालमा कविता प्रकाशित भएको थियो । त्यसपछि आजका मितिसम्म अविछिन्नरुपमा साहित्य लेखन, पठनपाठन र संगठनमा सक्रिय छु ।

पठनपाठन र लेखनमा रुचि बढाइदिने कोही थिए ?

– त्यस्तो व्यक्ति विशेष त कोही छैनन् । साहित्यमा मेरो आफ्नै रुचिका कारण सोही अनुसारका साथी र समूह खोज्न र बनाउन थालेँ । विभिन्न कार्यक्रममा सहभागिता, संलग्नता र साहित्यिक संगठनमा सक्रियताका कारण पठनपाठन र लेखनमा झन् रुची बढेर गयो ।

लेख्न बस्दाको तयारी र लेख्ने दैनिक तालिकाको बारेमा केही भनिदिनुस् न ?

– विदेशको मेरो बसाइँ दुई दशक पुग्न लाग्यो । यता कामको व्यस्तता, पारिवारिक जिम्मेवारी, सामाजिक सम्पर्क र साहित्यिक संगठनकाजस्ता कार्यले गर्दा मलाई समय अभाव भइरन्छ । त्यही भागदौड जिन्दगीबाट अलिकति समय बचाउँछु, अलिकति समय चोर्छु र हतारहतारमा लेख्ने गर्दछु । लेखनको पहिलो ड्राफ्ट ट्रेनको यात्रा, अफिसको लन्च ब्रेक, बिहानीपख, मध्यरात आदि जुन बेला फुर्सद र मुड हुन्छ त्यही बेला हुने गर्दछ । पछि अलिक फुर्सदमा त्यसलाई पुर्नलेखन गर्न थाल्छु । दुईतीन पटक एउटा रचनालाई चलाएपछि फाइनल गर्छु । वास्तवमा भन्ने हो भने मैले जे जति लेखेको छु ती सबै हतार र धपेडीमै लेखेको छु ।

तपाईंको लेखनलाई उत्प्रेरणा जगाउने मूल तत्व के हो ?

– मेरो लेखनमा उत्प्रेरणा जगाउने मूल तत्व भनेको नै पाठकहरु हुन् । पाठकसँग सम्पर्कमा रहँदा म उत्साहित हुन्छु । मेरा रचनालाई पढेर पाठकहरुले विभिन्न माध्यमबाट प्रतिक्रिया दिने गर्नुहुन्छ । मेरा रचना र कृतिका बारेमा विभिन्न ठाउँ र माध्यममा चर्चा भएको समाचार पढ्दा र सुन्दा थप हौसला मिल्छ । यी नै कुराहरुले मलाई लेखनमा थप उत्प्रेरणा दिने गरेका छन् ।

तपाईंको विचारमा अब कस्तो साहित्य लेखिनुपर्छ ?

– विज्ञान, प्रविधि, सूचना र संचारका कारण विश्व एउटा सानो गाउँजस्तो भएको छ । हामी विश्वग्रामका लेखक हौँ । त्यसकारण हामीले सङ्कुचित भएर हैन फराकिलो भएर सोच्ने गर्नुपर्दछ । कुनै राजनीतिक पार्टी, जात, धर्म, सम्प्रदायभित्र रुमलिएर गालीगलौज र कुण्ठा होइन समग्र मानव जातिका हितमा साहित्य लेखिनुपर्दछ ।

साहित्य र स्रष्टाप्रति राष्ट्रको जिम्मोवारी कस्तो हुनुपर्दछ ?

– भाषा, साहित्य र स्रष्टा राष्ट्रका गहना हुन् । यिनैले राष्ट्रको पहिचान जोगाएका हुन्छन् । हर समय समाज र राष्ट्रलाई मार्ग निर्देशन गरिरहेका हुन्छन् । स्रष्टाहरुले गलत काममा खबरदारी गरिरहेका हुन्छन् । अतः तिनको विकाश, संरक्षण, सम्वद्र्धन र सम्मान गर्नु राष्ट्रको जिम्मेवारी हो ।

वर्तमान नेपाली लेखकले आफ्नो दायित्वलाई वहन गर्न सकेका छन् कि छैनन् । नेपाली साहित्यको भविष्यलाई कस्तो देख्नुभएको छ ?

– वास्तवमा भन्ने हो भने नेपालमा रहेका अधिकांश लेखकले लेखक हुनुको भूमिका मात्र निर्वाह गरिरहेका छन् । अझै पनि उनीहरु जात, धर्म, सम्प्रदाय रराजनीतिक पार्टी आदिको झोला बोकेर हिँडिरहेका छन् । आफ्नो लेखनमार्फत् सोही कुराको भारी पाठकलाई जबरजस्ती बोकाइ रहेको दुःखद अवस्था छ । यसरी हेर्दा वर्तमान नेपाली लेखकले आफ्नो दायित्व निर्वाह गरेजस्तो लागेको छैन ।
नेपाली साहित्यको कुरा गर्दा पहिलेको तुलनामा अहिले साहित्यप्रति मानिसहरुमा रुचि बढेको छ । नयाँ सोच र विचार भएका केही लेखकको उदय भएको छ । अर्को तर्फ लेखकलाई नै चुनौती दिनसक्ने पाठकहरुको जमात तयार भएको छ । विभिन्न विधामा राम्रा साहित्यिक कृतिहरु बजारमा आइरहेका छन् । व्यावसायिक प्रकाशनगृहहरु थपिएका छन् । साहित्यिक पत्रिकाहरुको संख्या र गुणस्तरमा बृद्धि भएको छ । यसरी हेर्दा वर्तमान समयमा नेपाली साहित्य सन्तोषजनकरुपमा अगाडि बढिरहेको देखेको छु । नयाँ पुस्ताका नेपाली लेखकले चाँडै नै विश्व बजारमा प्रवेश गर्ने छाँट देखेको छु ।

तपाईंको विचारमा नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय साहित्यको हाराहारीमा पु¥याउन के गर्नुपर्ला जस्तो लाग्छ ?

– नेपाली साहित्य अन्तर्राष्ट्रिय साहित्यको हाराहारीमा पु¥याउन सर्वप्रथम स्तरीय साहित्य लेखिनुपर्दछ । भाषा, शैली र विषयवस्तुका हिसावले नवीन र अब्बल खालको लेखन हुनुपर्दछ । त्यसपछि त्यस्ता कृतिहरुलाई स्तरीय अनुवाद गर्नुपर्दछ । नेपाली साहित्य अङ्ग्रेजीमा अनुवाद गर्न सकियो भने त्यसलाई विश्वका अन्य भाषामा लैजान सजिलो हुन्छ । अनुवादित कृतिहरुको वितरण र बजारीकरण अन्तर्राष्ट्रियरुपमा गर्न सकेमात्र अन्तर्राष्ट्रियस्तरमा नेपाली साहित्यको प्रवेश हुन्छ । तर अहिले नेपालमा गरिएको कमजोर अनुवाद र त्यस्ता कृतिले दशगजा नाघेर बाहिर जान नसकेको दुःखद् अवस्था छ । तर पनि म आशावादी छु ।

तपाईंका कृति बारे गरिएको समालोचना र मूल्याङ्कन ठीक छ जस्तो लाग्छ कि लाग्दैन ?

– पुरस्कार र सम्मान कृतिको मूल्याङ्कनको आधार हो भने मेरो कृतिको खासै मूल्याङ्कन भएको छैन । किनकि जन्मभूमिबाट मैले पाउनुपर्ने राम्रा पुरस्कारहरु पाएको छैन । यदि कृतिको मूल्याङ्कनको आधार मेरो लेखन शक्तिलाई मान्ने हो भने राम्रो मूल्याङ्कन भएको छ । मेरो रचना विश्वविद्यालयका पाठ्यक्रममा समावेश भएका छन् । मेरा कृति पाठकले खोजीखोजी पढ्नुहुन्छ । समालोचकहरुले मेरो कृतिका बारेमा गर्नुभएको टिप्पण्ी र समालोचनाबाट म सन्तुष्ट छु ।

विदेशी भूमिमा बसेर नेपाली साहित्य सिर्जना गर्दाको क्षण बताउनुस् न ?

– विदेशमा पाइला टेकेपछि घर, परिवार र देश छाड्नु पर्दाको पीडाले गर्दा हरेक नेपालीलाई देश, भाषा र संस्कृतिको अगाध माया लागेर आउँछ । सोही कारणले विदेशका नेपाली कुनै न कुनै माध्यमबाट तीसँग जोडिएका हुन्छन् । सोही क्रममा म साहित्यसँग जोडिएँ । उसो त नेपालमा हुँदा नै साहित्य लेखन, प्रकाशन र संगठनको काममा सक्रिय थिएँ । मेरा आठ वटा कृति विदेश बसाइको क्रममा प्रकाशित भए । त्यसमध्ये आधा पुस्तक पूर्णरुपमा विदेशी भूमिमा बसेर लेखिएका पुस्तक हुन् । वास्तवमा विदेशको फरक परिवेश, काम, घरपरिवार आदिको व्यस्तताले पूर्णरुपमा लेखनमा समय दिन सकिदैन । विदेशमा नेपाली साहित्यका पुस्तक र पत्रपत्रिका पढ्न पाउनु अहोभाग्य हुन्छ । लेखपढका लागि खासै वातावरण र सन्दर्भ सामग्री हुँदैन् । अर्को तर्फ आफूलाई मार्गनिर्देशन गर्ने गुरु र अग्रजहरुको अभाव महशुस हुन्छ । वास्तवमा भन्ने हो भने विदेशमा साहित्य लेख्नु, त्यसमा पनि राम्रो र स्तरीय लेख्नु कठिन कार्य हो । मेरो हकमा भन्ने हो भने म चाहिँ एकलव्यजस्तै भएर लेखिरहेको छु ।

तपाईंको बिचारमा साहित्यिक क्षेत्रमा लाग्दै गर्दा भविष्यमा कस्तो फल प्राप्त होला ?

– नेपालमा हुँदादेखि नै साहित्य लेखन र संगठनको कार्यमा सक्रिय थिएँ । त्यसलाई करिव दुई दशकदेखि विदेशमा रहे पनि निरन्तरता दिँदै आएको छु । विदेशमा साहित्यिक संगठन, पत्रिका प्रकाशनजस्ता काममा मेरो परिश्रम मात्र होइन निकै पैसा खर्च भएको छ । मेरो आफ्नो पुस्तक प्रकाशनमा पैसा खर्च गर्नु नपरे पनि प्रसस्त परिश्रम गरेको छु । कुनै फलको आशाले म साहित्यमा लागेको होइन । आत्मसन्तुष्टि र नेपाली भाषा, साहित्यको प्रेमका कारण साहित्यमा सक्रिय छु । जसका कारण संसाभर चिनिन पाएको छु । यसैमा खुशी छु । भविष्यमा कुनै फलको आशा गरेको छैन ।

तपार्इं आफ्ना कृतिबाट कतिसम्म सन्तुष्ट हुनुहुन्छ । आगामी प्रकाशन कस्ता आउँदै छन् ।

– हुन त कुनै पनि कृतिमा लेखक पूर्ण सन्तुष्ट हुँदैन । अझ राम्रो गर्न सकिने ठाउँ पुस्तक प्रकाशन पश्चात हरेक लेखकले देख्ने गर्दछन् । मेरो हकमा पनि त्यही कुरा लागु हुन्छ र मेरा कृतिहरुबाट म सन्तुष्ट नै छु । पाठक र समालोचकहरुबाट
राम्रो प्रतिक्रिया पाएको छु ।
आगामी प्रकाशनको कुरा गर्दा मेरो नवौँ साहित्यिक कृति तथा चौँथो लघुकथासङ्ग्रह वि.सं. २०७५ को दसैँपछि बजारमा आउने छ । अहिले कथा, लघुकथा र नियात्रा लेखिरहेको छु ।

‘भाया साक्रा’ अहिले निकै चर्चामा छ । यसकोे लेखन गर्भका बारेमा केही बताइदिनुस् न ?

– म यात्राप्रेमी व्यक्ति हुँ । पूर्व तयारी र योजनाविना कहिले कता त कहिले कुन देशको यात्रामा पुग्छु । यात्राले मलाई लेख्न घच्घच्याउँछ । गतवर्ष इटालीको यात्राको क्रममा रोम सहरलाई चक्कर लगाउँदा लगाउँदै रोमन फोरममा प्रवेश गरेँ । आजभन्दा करिव २७ सय वर्षअघि रोमन सभ्यताको केन्द्र रोम सहरमा अवस्थित त्यही रोमन फोरमका मन्दिरहरुमा जान बनाइएको मार्गमा पाइला टेक्ने अवसर प्राप्त भयो । उतिबेला तीर्थयात्रीहरु हिँड्नका लागि बनाइएको मार्गमा मेरा पाइलाले स्पर्श गर्दा रोमाञ्चित भएँ । त्यस मार्गलाई ‘भाया साक्रा’ भनिन्छ । जसको नेपालीे अर्थ हुन आउँछ ‘पवित्र मार्ग’ । सोही मार्गको नाममा मेरो नियात्रा कृतिको नामाकरण गरेर ‘भाया साक्रा’ राखेँ । उक्त सङ्ग्रहमा रोमको मात्र वर्णन नभएर बेलायत, बेल्जियम र इटालीका विभिन्न सहर, स्थान, सम्पदा, व्यक्तित्व आदिका बारेमा लेखिएका २१ वटा यात्रा अनुभूतिहरु छन् । त्यसमा ती देशका कला, साहित्य, संस्कृति, इतिहास, दर्शन आदिका रोचक र खोजमूलक जानकारी छ ।

अन्तमा अन्तर्बोध मार्फत् साहित्यिक मनहरुलाई केही भन्नु छ कि ?

– बेलायतमा कोसेलीको रुपमा आक्कलझुक्कल अन्तर्बोध पत्रिका आइपुग्छ । मैले पढ्न पाएका अङ्कहरु हेर्दा यो गतिलो साहित्यिक पत्रिका लाग्यो । साहित्यिक मनहरुलाई मेरो अनुरोध छ, नेपाली भाषा र साहित्यको सेवा गर्ने अन्तर्वोधजस्ता साहित्यिक पत्रिकाहरुलाई हरतरहको सहयोग गरेर तिनलाई दीर्घायु दिउँ । नेपाली भाषा र साहित्य बाँचे मात्र हाम्रो मौलिक नेपाली पहिचान बाँच्ने छ ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 27 चैत्र, 2075

लेखकका अन्य रचनाहरु