हिम्मत

- बद्री अधिकारी

तीन अक्षरको शब्द ‘जीवन’ । लेख्नलाई सजिलो बोल्नलाई सहज तर भोग्नलाई जटिल । ‘जीवन आरामसँग वितिरहेको छ’ कोही–कोही भन्ने गर्दछन् । त्यो भनाइमा पूर्णता नभए झैँ ठान्दछु । भन्ने मान्छेले जीवनलाई नजिकबाट बुझेको छैन वा बुझेर पनि बुझ पचाइ रहेछ । या त जीवनको बारेमा बहस गर्न चाहँदैन तर पनि जीवन निरन्तर चलिरहन्छ, चल्दैछ र चलिरहनेछ । ऊ सर्टको टाँक लगाउँदै दिमागमा कुरा खेलाउँदै थियो ।
“अफिस जान ढिला भै सक्यो ! बस छुट्ला” प्यासेजबाट आएको श्रीमतीको स्वरले ऊ वर्तमानमा आइपुग्छ । अफिस जाँदा आउँदा दैनिक साठी किलोमिटर बसको यात्रा गर्नु पर्दथ्यो । भिडभाड र त्यसमा पनि कुनैकुनै यात्रीहरूको बरव्यवहारले त कुनै दिन दिमागनै तताउने गर्दथ्यो । बसको यात्रामा शाश्वत तीन दिनदेखि देखिँदै आएको तीनजना युवाहरूको क्रियाकलाप बारम्बार उसका आँखा सामु चलचित्रको दृश्यझैँ नाचिरहेको थियो । युवा समूहको अभद्र, अशिष्ट र अश्लिल व्यवहारले यात्रुहरूलाई आहत गरिरहन्थ्यो । ऊ पनि मान्छे, अछुत रहने कुरै भएन । हल्का गुलावी रङको कुर्तासलवार लगाएकी ती युवती युवाहरूको अश्लिल हरकर्तबाट बच्ने प्रयास गर्दथिन् । युवा समूह झन युवतीका यौनाङ्गको स्पर्ष गर्ने कुरामा होडवाजी गरिहेका हुन्थे । युवाहरूको ठेलाठेलले गर्दा उनको बच्ने र बचाउने प्रयास विफल भैरह्यो । उनको हेराइ यात्रुहरूतिर पल्याक्पुलुक टाँसिन्थ्यो । उनका आँखामा सहयोगको अपेक्षा झल्किरहेको हुन्थ्यो । कुनै सहयोगको लागि अग्रसर देखिँदैनथे । युवाहरूबाट अश्लिलताको पराकाष्ट नाघेको देखिन्थ्यो । त्यो दृश्यले ऊभित्र क्रोध उब्जे पनि विरोधमा मुख उघार्न सक्दैनथ्यो । पचास पुगि सकेको बुढो शरीर । विरोध गर्न ऊ पनि सक्दैनथ्यो । डर मनको भ्रम हो भन्ने जान्दाजान्दै पनि ऊ पलायन हुन्थ्यो । अरु कयौँ यात्री ऊभन्दा बलिष्ठ देखिन्थ्यो । तथापी उनीहरू पनि नदेखेको अभिनय गरिरहेका हुन्थे । ‘खाइ न पाइ लुतोको कन्याइ.....।’
“अन्याय, अत्याचार, दुराचार, भ्रष्टाचार र व्यभिचारलाई भोगेर, देखेर, सुनेर र पढेर पनि विरोध गर्न नसक्ने मानिसको स्वभावकै कारण फटाइँ मौलाएको हो ।” यसरी मनोसंवाद गर्दै ऊ आफ्नो कायरता लुकाउन व्यस्त भयो । बस रोकिएकाले ऊ वर्तमानमा आइपुग्यो ।
सदाझैँ युवती बसमा चढिन् नित्यकै पहिरनमा । यसलाई संयोग भन्न मिल्दैन, सयम तालिकाको मिलान भन्नुपर्ला । सिट खाली नभएकोले उनी ऊ बसेको सिट अगाडि आएर उभिइन् । अघिल्लो बसस्टेण्डबाट नित्य युवा समूह चढ्ने गर्दथे ।
“छोरी ........! तपाईँ यो सिटमा बस्नुहोस् .. ।
“धन्यवाद ! तपाईँ नै बस्नुहोस् बाऊजस्तो मानिसलाई उठाएर बस्न सुहाउँदैन ।” ओठभरी मुस्कान छर्दै उनले ऊतिर हेर्दै भनिन् ।
“अहिले तपाईँ बस्नुहोस्, तपाईँ उत्रेपछि म बसौँला, आखिर म तपाईँभन्दा टाढा नै जान्छु ।” ऊ यसो भन्दै सिटबाट उठ्ने उपक्रम गर्न थाल्यो ।
“भो...भो अङ्कल ! मैले तपाईँको अभिप्रायलाई बुझिसकेँ । आफूमाथि आइपर्ने हरेक समस्याको आफैँले समाधान खोज्नुपर्छ । अरुले खोजिदिएको विकल्प केवल क्षणिक हुन्छ, त्यसभित्र समस्या मुक्तिको उपाय हुँदैन ... ।”
“............।” उनका कुराले ऊ निरुत्तर बन्यो । साँच्चै वाणिमा सम्मोहन र कथनमा दर्शन भएको ऊ महसुस गरिरहेको थियो । उसले कुरा बदल्यो “छोरी..........! तपाईँ टिचिङ गर्नु हुन्छ ?”
“हजुर ........।“ उनी मौन भइन् ।
अघिल्लो स्टेण्डमा बस रोकिनासाथ युवासमूह सिठी बजाउँदै बसमा चढे । उनलाई देखेपछि उनीहरूको मुहारमा एक प्रकारको रोमान्टिक रेखाहरू सल्बलाएको देखियो । सदाझैँ उनलाई तीनतिरबाट छेकेर उनीहरू उभिए । समूहबाट उनी आफूलाई सुरक्षित पार्न हरेक तरिकाबाट प्रयास गरिरहेकी थिइन् । उनको शरीरको सहज प्रक्रियामा विवशता झल्किरहेको थियो । मुहार र आँखामा पनि लाचारी झल्किरहेको थियो होला । युवा आ–आफ्नो इच्छा मुताविक उनको यौनाङ्गलाई नजानिँदो पाराले स्पर्श गरिरहेका थिए । अगाडिपट्टिको युवक उनको गालामै ओठ टाँसुलाझैँ गरी लेपासिएर उरोजलाई छातिले स्पर्श गरिरहेको थियो । यथासम्भव उनीहरूको असोभनीय अश्लिलताबाट आफूलाई बचाउने प्रयास उनको विफल हुँदै थियो । जानाजान गरिएको व्यवहारबाट कसरी बँच्न सकिन्छ र ? कसाइको अगाडि बाख्राले आँसु झार्नुको अर्थ के रहन्छ ? यात्रामा अज्ञानताबश कुनै महिलाको संवेदनशिल अङ्गको स्पर्श भएमा त्यसलाई सुधार्न सकिन्छ । बसको यात्रामा नजानिँदो पाराले महिलाको शरीर स्पर्श गर्ने प्रसस्तै पुरुषहरू पाइएलान्, पाइन्छन् र पाइँदारहेछन् । तर यस्तो घिनलाग्दो हरकत चँै कमै देख्न पाइन्छ ।
“ओ......दाइहरू ! कृपया नढेस्सिकन अलि सरेर उभिनु होस् न है ।” उनले याचना गरिन् ।
“चिन्नु न जान्नु दाइको साइनो ! हामीलाई यहीँ सजिलो छ । सजिलो खोज्न त आफ्नै गाडि लिएर पो हिँड्नु पर्छ त कि कसो केटा हो ? उनको अग्रभागमा उभिएको युवकले ठूलो स्वर उकल्यो ।
“हा...हा...हा...ही...ही”. उनको शरीरमा शरीर जोडेर उभिएका दुवै युवकहरूकले एकैचोटि खिल्लि उडाए । यात्रु सबै साक्षी बनेर टुलुटुलु हेरिरहेका थिए । राजमार्गमा बस कसैको वास्ता नगरी पूर्वतिर
हँुइकिइ रहेको थियो । छेउछाउ बस्ती समाप्त भएर जङ्गल सुरु भयो । करिब तीन किलोमिटर जङ्गल पछिमात्र उनी उत्रने स्टेण्ड आउँथ्यो ।
“गुरुजी ! गाडि रोकिदिनुहोस् म उत्रिन्छु ।” अचानक ठूलो स्वरले उनी कराइन् । चालकले पछाडि फर्केर हेर्दै ब्रेक लगायो । उनी फुर्तीसाथ बसबाट उत्रिइन् । युवासमूह पनि एक अर्कालाई इसारा गर्दै चाकबाट झर्न लागेको पेन्ट मास्तिर तान्दै बसबाट उत्रिए । बसस्टाप र यात्रुका आँखाले युवती र युवा समूहलाई पच्छ्याइरहेको थियो । सबै मानिसको दृष्टिमा जिज्ञासा देखिन्थ्यो । घटना उत्सुकता जन्माउने खालको भैरहेको थियो । हेर्दाहेर्दै एउटा युवाले युवतीको बायाँ पाखुरा पक्डेर उत्तर जङ्गल तिर घिसार्न थाल्यो । फूर्तिले आफ्नो पाखुरालाई छुट्याउँदै चितुवाको वेगले युवाहरूमथि जाइ लागिन् । उनको फूर्तिको अगाडि युवाहरू विरालोको अगाडि मुसाझैँ देखिइ रहेका थिए । बसमा रहेका कसैको दिमागले पनि कल्पनासम्म गर्न सकेको थिएन होला यो आकस्मिक घटिरहेको घट्नाको .......। युवा समूहले पनि युवतीले आफूहरूमाथि आक्रमण गर्लिन् भन्ने ठानेकै थिएनन् । युवतीका हातखुट्टाहरू स्वचालित मेसिनझैँ युवा समूहमाथि वर्षिरहेका थिए । बसस्टाप र यात्रु घट्नास्थल पुग्दा नपुग्दै युवा समूहलाई उनले जमिन सुँघाइ सकेकि थिइन् । पीडितको विजय प्राप्तिको दृश्यले सबैको मन रमाइरहेको थियो । ऊ र अन्य मानिसहरू युवतीको अदम्य साहसको मुक्तकण्ठले प्रशंसा गरिरहेका थिए । उनी भुइँमा लडेको युवासमूहको बिचमा उभिएर सिंहझैँ गर्जिरहेकी थिइन्“ गुण्डा.....! तिमीहरूका दिदीबहिनी छैनन् ? महिलालाई कमजोर ठान्दछौ ?”
मानिसहरूको भिडले गर्दा यातायात अवरुद्ध भैसकेको थियो । पूर्वतिरबाट आइरहेको प्रहरी निरिक्षक भ्यानबाट उत्रेर घटनाको विबरण लिन थाले ।
“इन्सेपेक्टर साहव ! ममाथि यो समूहले केही दिनदेखि अत्याचार गरिरहेको थियो । खोइ ! म के भनौं देखी जान्नेहरूसँग सोध्नुहोस् ।” खुल्ला रुपले अभिव्यक्ति गर्न उनी चाहीरहेकी थिइनन् ।
“यो सब तपाई एक्लैले ........? प्रहरी निरिक्षक आश्चर्य मानिरहेका थिए ।
“हजुर...... , मसँग अन्य विकल्प थिएन । मैले सितोरियो कराँतेमा ब्ल्याकवेल्ट गरेकी छु । भरे विद्यालयबाट फर्कँदा थानामा आई लिखित जाहेरी दिनेछु, हुँदैन ?
“हुन्छ, हुन्छ सिस्टर ! आइ यम प्राउड अफ यु .......।”
“थेन्क यु सर .......।” उनी यसो भन्दै बस भएतिर फर्किइन् । प्रहरी जवानले युवाहरूलाई प्रहरी भ्यानमा कोचि सकेका थिए । ऊ पनि रमाइलो मन बोकी मनमनै खुसी हुँदै बसतिर आउँदै थियो । सोच्यो, –“ सबै महिलामा यस्तो हिम्मत हुन्थ्यो भने .........।”

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 27 चैत्र, 2075

लेखकका अन्य रचनाहरु