प्रणय अनुरागजन्य शिष्ट अनुभूतिका दृष्टिले ‘आफैँभित्र’को विवेचना

- डा.लेखप्रसाद निरौला

१. विषयप्रवेश
युवा गजलकार गोपीकृष्ण ढुङ्गाना (२०३१) को दोस्रो गजलसङ्गहको नाम आफैंभित्र (२०७१) हो । उनकै २०६० मा प्रकाशित मौनताका आवाजहरू शीर्षकको गजलसङ्ग्रहपछि २०७१ सम्म रचना गरिएका एकसट्ठीओटा गजलहरू यस सङ्ग्रहमा सङ्कलित छन् । सामान्यतया आधुनिक नेपाली साहित्य जगत्मा शीर्षकविहीन गजलहरू लेखिँदै आएको पृष्ठभूमिमा उनका हरेक गजलहरू शीर्षकसहित तयार गरिएका छन् र तिनले विषयगत विविधतालाई हृदयस्पर्शी ढङ्गबाट समेट्ने प्रयास गरेका छन् । कृतिको प्रारभ्म दुःख रोपी शीर्षकबाट हुन्छ र मनदेखि मनसम्म शीर्षकमा पुगेर टुङ्गिन्छ । संरचनात्मक विस्तृतिलाई भन्दा विषयगत विविधतालाई समेट्ने सन्दर्भमा उनका गजलहरू निकै उच्च कोटिका रहेका छन् । उनका गजलहरूले मूलतः प्रणय चेतनका विविध पक्ष एवम् सन्दर्भलाई समेटे पनि त्यसका अतिरिक्त नेपालको सामाजिक समस्या, गजलकारको आशावादी एवम् कर्मवादी जीवनदृष्टि, राष्ट्रवादी चिन्तन, प्रगतिवादी चेत, मातृत्वप्रतिको अनुराग र नेपाली राजनीतिक विकृतिलगायतका विषय वस्तुहरूलाई समेत समेटेको पाइन्छ ।
यस आफैँभित्र गजलसङ्ग्रहका एकसट्ठी गलजमध्ये छब्बिसओटा जति विशेषतः प्रणय चेतनाजन्य विषयलाई नै समेटेर तयार भएका छन् । माध्यमिक कालीन नेपाली कविता परम्परामा केन्द्रीय प्रवृत्तिका रूपमा रहेको शृङ्गारिक विषयवस्तुले गजलकार ढुङ्गानाका गजलहरूमा नौलो बान्कीका साथ प्रवेश पाएको मान्न सकिन्छ । शृङ्गारिक विषयलाई नवीनतम सन्दर्भसँग समन्वय गरी लेखिएका यी गजलका हरेक सेरहरू आफैमा विचारको पूर्णताभित्र आबद्ध छन् तापनि प्रत्येक गजलभित्र विषयगत आन्तरिक अन्वितिको सशक्त उपस्थिति पाइन्छ । म तिम्रो र कसरी हेरूँबाहेकका गजलहरू प्रायः प्रेमीद्वारा प्रेमिकाप्रति नै सम्बोधित छन् र यिनको आयतन चारदेखि छ सेरसम्मको रहेको पाइन्छ । छ सेर भएको एउटै मात्र रचना मात चढ्ने र पाँच सेरको हे¥यो किचाहिँ एउटै हरफलाई तोडेर तयार भएको जस्तो देखिन्छ । जेहोस्, यी सबैजसो गजलहरू गेयगुणको कसीमा निकै निकटतम सान्निध्यका साथ देखा पर्दछन् । प्रणय अनुरागजन्य शिष्ट अनुभूतिका दृष्टिले उनको यस आफैँभित्र गजलसङ्ग्रहलाई नियाल्दा निम्नबमोजिमको विशिष्टता देखा पर्दछ ।

२. प्रणय अनुरागजन्य शिष्ट अनुभूतिहरू
क) प्रणयजन्य क्रियाकलाप
साहित्यमा सम्भोग वा विप्रलम्भ शृङ्गारका लागि आवश्यक पर्ने आलम्बन विभाव र उद्दीपन विभावहरूको स्पष्ट परिचर्चा पाइन्छ । त्यसैगरी प्रेमी–प्रेमिकाका बिचको मिलन सन्दर्भसँगै जोडिएर देखा पर्ने विभाव, अनुभाव र सञ्चारी भावहरूको संयोगका कारण शृङ्गार रसको आस्वादन हुने कुरा औँल्याइएको पाइन्छ । यौवन र प्रेमको प्रभावले व्यक्तिलाई आपसी स्पर्शसुखका निम्ति घचघच्याउँछ नै । उनीहरूमा आपसी मिलनका लागि आतुरता सिर्जना गर्छ । त्यस्तै यहाँ प्रियतमाको सान्निध्य खोजिरहेको कुनै प्रियतमका विचारहरूलाई यस कृतिभित्र सङ्कलित एउटै चन्द्र शीर्षकको गजलले समेटेको पाइन्छ । यसमा भनिएको छ– ‘संसार झलमल पार्न तिमी एउटै चन्द्र काफी छ्यौ । मनले पनि एउटै चन्द्र मागेको छ । आकाशमा हजारौँ ताराहरू भए पनि तिमी एउटैप्रति इच्छा जाग्यो । चोखो चन्द्रमामा दाग लाग्ने डर पनि तिमी पाएपछि हट्यो र संसार झलमल पार्न साथ मिल्यो । आकाश र धर्तीका बिचमा स्पर्श भएकाले संसार झलमल पार्न मनले संघार नाघ्यो ।’ यस किसिमको सङ्क्षिप्त अभिव्यक्तिले प्रणयजन्य अनुरागको एउटा विशिष्ट पाटोलाई सङ्केत गरेको छ । जब मनले संघार नै नाघिसक्छ तब आनन्दको चरम रूप प्राप्त हुन्छ नै । अझ अर्को वर माग्दा शीर्षकको गजलमा त प्रियतमाका निम्ति सम्पूर्ण सामाजिक बन्धनहरूले पनि छेक्न सकेको देखिँदैन । त्यसमा भनिएको छ– ‘ईश्वरसँग वर माग्दा तिमीलाई माग्ने र नसोधेरै सिन्दूर हाल्ने चाहना थियो । अरूको गीत पनि सुनिनँ । एक झल्को देख्दै सोच्न बाध्य पार्ने प्रेमिकाको मन गाल्ने इच्छा थियो । अझ जात धर्म केही थाहै नपाए पनि लाडिएर मुस्कुराउँदा साथै पालूँजस्तो समेत लागेको थियो ।’ प्रेमलाई कुनै सामाजिक बन्धनले रोक्दैन भनेझैँ यहाँ पनि जात वा धर्म केही नहेरी जब दुबैको सान्निध्य बढ्छ र प्रियतमा लाडिएर मुस्कुराउन थाल्छिन् तब प्रेमीका मनमा साथै पाल्ने कुरा हुनु त स्वाभाविक नै हो । वस्तुतः प्रेम एकपक्षीय नभई दुवै पक्षमा जाग्नुपर्छ अनि मात्र त्यसले सही सुख प्रदान गर्दछ । त्यस्तै ए प्रिय सुन शीर्षकको अर्को एउटा गजलमा भनिएको छ– ‘ए प्रिय प्याज लसुन ल्याइदेऊ । किन बोल्दैनौ, धुन बजाऊ । म कडा घाम भएको खुन बगाउँछु । तिमीलाई चन्द्रमा दिएर छुन ज्यान अर्पिन्छु । सधैँ रुन सक्दिनँ; जे हुनु भयो मुटुमा उन र हँसाऊ ।’ यसरी आपसी मिलनका लागि देखिएको आतुरता वास्तवमै स्वाभाविक रहेको छ र मानसिक रूपमै प्रियतमाका नजिक जान आतुर बनेको सन्दर्भले व्यक्तिमा अन्तर्निहित प्रेमको जागृतिलाई दर्साएको देखिन्छ ।
प्रणयजन्य संवेगहरू अनेक किसिमबाट व्यक्त हुन्छन् । हेराइसँगै नजिकिने क्रम सुरु हुन सक्छ । आकर्षणका कारण स्थानान्तरणको प्रयास प्रारम्भ हुन सक्छ । बढी नजिकिँदा अभिन्नताको अनुभूति समेत हुन थाल्दछ । त्यस्तै अनुभूति भएको छ कुनै प्रेमीलाई । हे¥यो कि शीर्षकको गजलमा प्रेमी भनिरहेको छ– ‘हेर्दा आँखा तर्छे, नहेर्दा नजिक सर्छे । ऊ कान्लामा थिई, किन तल झरी ? यताउता गरी; म फसादमा परेँ । पछयाउँदै जाँदा फेरि मेरै भर पर्छे । माया गर्छु भन्दा काखैमा ढलेर मर्छे ।’ यौवन कालमा यस किसिमका प्रणय अनुरागजन्य अनुभावहरू स्वाभाविक रूपमै देखा पर्दछन् । तर, नेपाली सांस्कृतिक परम्परामा केही वैधानिक मान्यताहरू जीवतै देखिन्छन् । सांस्कृतिक प्रभावसँगै प्रणय अनुरागका लागि सहज अवस्था पनि सिर्जना भएको पाइन्छ । शून्य सिउँदो शीर्षकको एउटा गजलमा प्रेमी भनिरहेको छ– ‘सिउँदो भरियो अब कुरा गरौँ । तिमीबाटै सुरु होस् । मनको बगैँचामा लगाएका पूmलहरूमा छुरा लाग्ने छैनन् । तिमी चुरा बजाउँदै शब्दको मिठासपूर्ण स्वर निकाल; म सङ्गीत थप्छु । तिमी र म दुबै भएकाले एकअर्कालाई पायौँ; हाम्रो माया नटुटोस् । अब तिम्रो जीवनमा खुसी भर्न र सपनाको स्वर्ग छुन आइसकेको छु ।’ सिउँदो नभरिउन्जेल निर्धक्कसँग खुल्ला रूपमा कुरा गर्न अझै पनि नेपाली समाजको सीमारेखा कायमै छ ।
यसरी प्रणयजन्य अनुरागका क्रममा प्रेमी प्रेमिकाबिच आआफ्नै किसिमबाट क्रियात्मक अभिलक्षणहरू देखा पर्न थाल्दछन् । प्रेममा देखिने यस्ता क्रियाकलापलाई सूक्ष्म ढङ्गबाट केलाउन सक्नु गजलकारको खुबी नै मान्नुपर्छ ।ण्

ख) उद्दीपक परिवेश
वातावरणले प्रणयचेतलाई नयाँ रूप प्रदान गर्दछ । सम्पूर्ण वातावरण उपयुक्त भए त्यहाँ प्रेम फुल्छ वा फक्रिन्छ नै । त्यस्तै बाह्य वातावरण प्रणयअनुकूल भई रतिरागका लागि उपयुक्त भएको अवस्थामा प्रेमीपे्रमिकाका बिचको मिलन निकै आनन्ददायी मानिन्छ । वस्तुतः प्रेमका सन्दर्भमा पनि निश्चित मर्यादालाई उल्लङ्घन गर्नु हुँदैन भन्ने कुराबाट नै प्रेमको महत्त्व अझ बढेको अनुभूति गर्न सकिन्छ । जून पोखिएको शीर्षकको गजलमा भनिएको छ– ‘जून पोखिएको रातमा म प्रेयसीको मातमा छु । उसकै हातमा भएजस्तै सधैँ झड्का लाग्छ । उसकै अँगालामा खुसी छु । मौन बातमा छु । स्वर सुकिसक्यो । छताछुल्ल पोखिएझैँ मिठो घातमा छु ।’ यस्तै हुन्छ जब दुबैका बिचको सान्निध्य रहन्छ । यस अवस्थामा प्रेमी मात्र हैन सायद प्रेमिकाका अनुभूतिहरू पनि त्यस्तै हुन सक्लान् । फरक यत्ति हो प्रेमी भनिरहेको छ र प्रेमिका मौन रूपमा अनुभूति गरिरहेकी छे । त्यस्तै मात चढ्ने शीर्षकको गजलमा पनि प्रियतमाका प्रत्येक गतिविधिले कस्तो परिवेश सिर्जना गरेको छ भने ऊ कहिले प्रियतमाको नजरका कारण आपूmमा मात चढेको बताउँछ त कहिले उसलाई अधर चुम्ने इच्छा जागेको बताउँछ । प्रियतमाको गुनगुनाहट उसका लागि गजलजस्तो भएको पनि ऊ ठान्दछ । साथै ऊ मनमा मायाजस्तो तथा धर्ती र आकाश सबै नगरजस्तो भएको भन्दै साँझसँगै आपूmमा मात चढेकाले आपूm पग्लिसकेको धारणा राख्दछ । हुन पनि हो प्रियतमाको सान्निध्य र हाउभाउहरू जुनसुकै प्रियतमका लागि प्रभावकारी बन्छन् नै । तर, म तिम्रो शीर्षकको गजलमा जस्तो उपयुक्त वातावरण सबै प्रेमिकाका लागि कहाँ उपलब्ध होला र ! त्यसमा प्रेमिका भनिरहेकी छे– ‘म तिम्रो र तिमी मेरो भन्दै उनले पर्दा झारे; खुलेर प्रशंसा वा बयान गर्न थाले; त्यसक्रममा मोनालिसा र चन्द्रमा आदि अनेकौँ रूपमा आपूmलाई स्थापित गरे । आखिरमा पूर्ण भएँ भन्दै लाज छोडेर आपूmतिर तान्दै गाला चुँम्दै सुम्सुम्याउन थाले ।’ यो अवस्था भनेको सम्भोग शृङ्गारको अनुकूल हो । प्रेमको एउटा पूण रूप पनि यसै क्षणलाई मान्ने गरिन्छ । यहाँ कुनै विमति झल्किएको छैन बरु प्रियतमा यस्ता कुरा निर्धक्क भनिरहेकी छ । यसबाट पनि उसमा प्रणयजन्य अनुरागले पक्कै आनन्दित तुल्याएको हुनुपर्छ । त्यस्तै अर्को एउटा तिम्रो आँखाको शीर्षकको गजलमा पनि कसरी प्रेमीलाई बाह्य तथा आन्तरिक परिवेशले प्रेमातुर तुल्याएको थियो भन्ने कुरालाई समेटिएको छ । त्यसमा भनिएको छ– ‘तिम्रो आँखाको चाहना र बोलीको बहानाले तानेकै हो । तिम्रो भावनाले तानेको कुरा कसरी बताऊँ । तिम्रो ओठको चुम्बनजन्य यातना पनि छँदै छ । नबोलीकन मनको साधना वा कसिलो कामनाले पनि त्यत्तिकै तानेको छ ।’ वास्तवमा यस्ता गतिविधिहरू उद्दीपनयुक्त वातावरणका कारण सिर्जत हुन पुग्दछन् । प्रेमका विषयमा यसलाई स्वाभाविक मान्ने गरिन्छ । यदि अनुकूल परिवेश वा वातावरण भएन भने प्रेमको गरिमा निस्तेज हुने निश्चित छ ।

ग) प्रेमप्रतीक्षा
प्रेममा पर्खाइको क्षणलाई निकै महत्त्वपूर्ण अवधि मानिन्छ । धैर्यको फल मिठो भनिएझैँ जति धीरता देखाउँदै काम गरिन्छ त्यति नै परिणाम पनि फलदायी बन्ने गर्छ । विप्रलम्भ शृङ्गार नै सम्भोगको सही उपलब्धि मानिन्छ । बिना प्रतीक्षा अथवा परिश्रम सहज रूपमा प्राप्त वस्तुको त्यति महत्त्व हुँदैन जति लामो प्रतीक्षापछिको प्राप्तिमा रहन्छ । त्यस्तै यहाँ गजलकारले न्यानो न्यानो शीर्षकको गजलमा कुनै प्रेमीले कुन हदसम्म प्रेमिकासँगको मिलनका लागि प्रतीक्षा गरिरहेको हुन्छ भन्ने सन्दर्भलाई समेटेका छन् । यसमा भनिएको छ– ‘तिमीसँगै न्यानोका लागि रात पर्खिरहेको छु । नैतिकताभन्दा पनि जवानीको स्वाद पर्खिरहेको छु । दिलमा सुस्त सुस्केराले छोएको हुँदा मौनताको पर्खाल तोड्न खोजिरहे पनि तिम्रै यादगारको घात खोज्दै छु । तर, प्रतीक्षाको घडी पूरा भएकाले तिम्रै ज्यानको मात खोजिरहेको छु ।’ सङ्क्षिप्त एवम् सूत्रात्मक अभिव्यक्तिभित्र प्रतीक्षाका तमाम सन्दर्भहरूलाई यस गजलले समेटेको छ । यस्तो पर्खाइलाई वास्तवमै निकै स्मरणीय क्षणका रूपमा लिने गरिन्छ ।
प्रेमको अङ्कुरणका क्रममा सबैभन्दा बढी आकर्षणको मात्राले काम गरेको हुन्छ । तर, दुबैलाई नजिकिएसँगै प्रणयराग साटासाट गर्ने उपयुक्त वातावरण मिलिरहेको हुँदैन । प्रियतम र प्रियतमा जतिजति नजिकिन खोज्छन् त्यति नै तिनका बिच टाढिएको क्षण सिर्जना हुन्छ । यद्यपि विप्रलम्भ वा विछोडको क्षणमा दुवैका बिचको आपसी प्रेम घटेको हुँदैन बरु अझ प्रगाढ हुन थालेको मानिन्छ । कसरी हेरूँ शीर्षकको गजलमा त्यस्तै अनुभूतिलाई समेटिएको पाइन्छ । त्यहाँ कुनै प्रियतमा यसरी भनिरहेकी छे– ‘नदेखिएका पाइलाहरू हेर्न र नलेखिएका पाइलाहरू लेख्न ऊ तयार छे । पानी थामिए पनि उसका आँखा रसिला छन् । ऊ नटेकिएका पाइलाहरू टेक्न र काँचका चुराझैँ रहेको अस्तित्व समर्पण गर्न चाहन्छे । तर, उसको सिउँदो रँगिए पनि सपना रँगिएनन् । ऊ नभेटिएका पाइलाहरू भेट्नका लागि नै अत्यासमा मरेर पलपल बाँचेकी छे । उसलाई नरेटिएका पाइलाहरू रेट्न निकै गाह्रो भएको छ ।’ प्रियतमाका यी विचारहरू लामो पर्खाइपछि पनि अपेक्षित गन्तव्य प्राप्त नभएको अवस्थामा प्रकट भएको मान्न सकिन्छ । प्रियतमालाई मात्र हैन प्रियतम पनि ब्युँझिएँ कि शीर्षकमा एक्लो हुँदाको क्षणलाई लिएर यसरी भनिरहेको पाइन्छ– ‘संयोग नहुँदै वियोग भएकाले निदाएर ब्युँझिए पनि तिमीलाई नपाएकाले पीडासरि रोएँ । सपनाको यात्रामा समेत तिम्रा पाइला थिए; त्यहाँ बाहुपास फिँजाएर पनि रोएँ । तर, माया पिरतीको परिभाषा नै खै कस्तो सपनामा तन्द्राभित्र यसरी मरीमरी रोइन्छ मात्र ।’ यस्तो व्यथा हरेक प्रेमीका जीवनमा प्रियतमाको अभावमा हुने गर्छ नै । कतिपय प्रेमीहरू एकतर्फी रूपमै पीडा सहेर प्रेमप्रतीक्षामै बाँचिरहेका हुन्छन् । त्यस्तै बोलिनौ तिमी शीर्षकको गजलमा प्रियतमलाई प्रियतमाले नबोलिरहेको अवस्थामा बोल्ने इच्छा हुँदैन । ऊ कुनै पनि शब्द उच्चारण नगरी यौवनको आँधीमा पौरिँदै प्रेमिकालाई दुःख दिन वा सताउन चाहँदैन । बरु आफ्नै माया निम्छरो भयो कि भन्दै आपूmलाई जवानीले ठोसेर प्रेम नै सल्काए पनि प्रियतमालाई पोल्न रुचाउँदैन । यस्ता पीडाजन्य सुस्केराहरू सुसेल्दै कयौँ प्रेमीहरू बाँचिरहेकै छन् । कतिपय अवस्थामा त प्रेमीले एउटा सोचेको हुन्छ प्रेमिकाका क्रियाकलाप अर्कै किसिमका हुन थाल्नछन् । अनि, प्रेम आफै भत्किन पुग्छ र प्रेमी निराश बन्दछ तर पनि ऊ प्रतीक्षाचाहिँ गरिहन्छ । यस्तै भएको छ एउटा प्रेमीलाई । उसले उक्लेँ जसै शीर्षकको गजलमा भनेको छ– ‘अकाशको जूनको प्रकाशले धरतीलाई छुन थाल्यो । धरतीमा एक हातले मायाप्रीति गुन्जिएन । आफूले मुढो ताके पनि उनले घुँडो ताकिन् । उनले प्रेमका बन्धनहरू फुकाउँदै लान थालिन् । त्यति हुँदाहुँदै पनि उषा, गोधूलि र तारा देखिँदा आदिका क्षणमा लोभी मन त्यतै धरतीमा पस्न थाल्यो ।’ शाश्वत प्रेमको बन्धन हत्तपत्त चुडिँदैन भन्ने कुरा यसबाट पनि पुष्टि हुन्छ । एकतर्फी रूपमै भए पनि प्रेमी अझै प्रतीक्षारत रहेको छ ।
प्रतीक्षाले कहिले मिठाससमेत भर्छ । आशा वास्तवमै सुनौलो सपना पनि हो । अझै पनि कुनै प्रेमी प्रियतमाको आशा गर्दै आउँछ्यौ भने शीर्षकको गजलमा भनिरहेको पाइन्छ– ‘प्रिया आउँछ्यौ भने सजाएर वा पहाडको मूल रसाएर आऊ । जीवनमा सहयात्राको सम्बन्ध सम्झौतापूर्वक लागु हुने गर्छ । कहिले काहीँ सहयात्रामा तितोमिठो हुन सक्ला; त्यस्ता काँडाका बारेमा पनि विचार गरेर आऊ । आपसी दुःखभित्र सुख खेप्न तयार भएर आऊ । तिमी जत्तिको सुन्दर नभए पनि मन बुझाएर आऊ ।’ विश्वास छ, प्रियतमा आउँछे र भनेजसै गरी आउँछे । तर, के सबैले सोचेअनुसारको काम भएको छ त ? निश्चय पनि प्रतीक्षाको मिठो सपनाले नै मानिसलाई पुनर्ताजगी गराइरहेको हुन्छ ।
लामो प्रतीक्षाको परिणाम जहिलै एकै किसिमले सुखद नै नहुन सक्छ । मानिसको पर्खाइ पनि एकदिन आक्रोशमा परिणत हुने गर्छ । केही समय प्रेमी पर्खिरहेकै हुन्छ तर अन्ततः हार खाएपछि यस्तो कुरा गर्न समेत पछि पर्दैन । भेटौँभन्दा आइनौ शीर्षकमा कुनै प्रेमी प्रेमिकाको प्रतीक्षा अवधि समाप्त भएको कुरालाई यसरी भनिरहेको पाइन्छ– ‘पटक पटक भेटौँ भन्दा तिमी नआएकीले मन खरानीझैँ जलिसकेको छ । रुँदारुँदै दिन रातजस्ता भए भने रात दिनजस्ता बने । सेतोलाई कालो पार्नेजस्तो तिम्रै जबरजस्ती जित भएको छ । हो, सम्झनाले डसे पनि मुटु खसिसक्यो र भाग्यमा पनि पहिरो गएकाले बरु जहरको खोजी हुन थालेको छ ।’ यो आक्रोश हो र लामो प्रतीक्षापछिको अभिव्यक्ति हो । यसरी प्रेमप्रतीक्षबाट आहत बनेका धेरै प्रेमी प्रेमिकाहरू समाजमा पाइन्छन् ।

घ) बिछोडजन्य पीडा
कहिले काहीँ त निश्चित समयको यात्रापछि पनि युगलका बिच यस्तो बिछोडको समय आउन सक्छ । आधाबाटो शीर्षकको गजलमा त्यस्तै भाव समेटिएको छ । यसमा भनिएको छ– ‘जीवनमा आधा बाटो हिँड्नासाथ एक्लै परियो । जीवनको गीत गाउन खोज्दा तिमीले चुँडाइदियौ । उकाली ओरालीमा सँगै हिँडे पनि आखिरमा ठेस लागिहल्यो । जीवनमा सुख आउँदा नआउँदै एक्लै दुःखका दिनहरू बिहोर्नुपर्यो ।’ दाम्पत्य जीवनको सुखद भविष्यबारे परिकल्पना गर्ने व्यक्तिका लागि यस्तो घटनाक्रम राम्रो मानिँदैन तर भएको हुन्छ । धेरै जनाको जीवनमा यस्ता घटना सन्दर्भहरूले प्रभाव पारेको पाइन्छ । कतिपय प्रेमीहरू यस्ता अनेकौँ अवस्थाहरूबाट मर्माहत भएका देखिन्छन् । त्यस्तै अर्को मुटु माग्यौ शीर्षकको एउटा गजलमा प्रेमीले भनेको छ– ‘मुटु मागेर आगो छुवायौ तर जाने बेलामा गोहीका आँसु चुहाएर गयौ । तन मन सुम्पेर तिम्रै भर परेँ तर तिमीले अरू कसैको चुलो धुवायौ । तिमीलाई भर पर्दा मलाई धोखा भयो । मन नकोर्ने कुरा गथ्र्यौ तर आफैले जुनीभरलाई रुवाएर गयौ ।’ यसरी प्रेममा धोखा नभएको होइन । धोखाकै कारण कयौँ प्रेमीहरूले आफ्नो जीवनलाई नसोचेको मार्गतिर धकेलेका छन् । कतिपयको सिर्जनामा समेत बिछोडको प्रभाव नपरेको होइन । कुनै सिर्जनशील प्रेमीलाई त यस्तो समेत प्रभाव परेको बुझिन्छ कि उसको सिर्जनशीलता नै सङ्कटमा पर्दछ । धेरै भयो शीर्षकको गजलमा त्यस्तै सिर्जनशील प्रेमीले भनिरहेको हुन्छ– ‘धेरै दिनदेखि न त गजल लेखियो न तिमीसँग भेट भयो । केही दिन नभेट्दा पनि तिमी नै बात र मात भएझैँ लाग्यो । तिम्रा हरेक बात र मात मेरा गजल हुन् । मलाई त छल्यौ तर दाग मेटिनौ । तिमी छाया पर्दा भावना गुम्सिन्छन् । मनको गाँठो चिसो भएको छ किन सेकिनौ । उकालीमा लड्न खोज्दा साथ दियौ तर दोबाटोमा चाहिँ किन बाटो छेकिनौ ?’ भावुक गजलकारलाई यस्तो भन्ने अधिकार पक्कै होला । कयौँ स्रष्टाका सिर्जनालाई प्रेमिकाले सुगन्धित तुल्याएका पनि होलान् तर त्यस्तै प्रियतमाको अभावमा कयौँको सिर्जनात्मक कोपिलाहरू अवश्य नै फक्रिन सकिरहेका हुँदैनन् ।

ङ) उपदेशको क्षण
प्रेममा कहिले उपदेशात्मक भावना व्यक्त हुने क्षण पनि आउँछ । कुन कुरा गरे राम्रो र कुन कुरा गरे नराम्रो जस्ता विषयले पनि स्थान पाउँछ । यहाँ मुटु मिल्नेतिर शीर्षकको एउटा गजलमा कुनै प्रेमी भनिरहेको हुन्छ– ‘जता मुटु मिल्छ त्यतै मन ढल्किन्छ । तनले पनि रसरङ्ग खोज्छ नै । तिम्रो एकै छिनमा हराउने मनले कतै भोलि मलाई पनि बिर्सन्छ कि ! मनलाई आगोजस्तै जलाउनुचाहिँ हुन्न । प्रेममा हाँस्नु र रुनु दुवै हुन्छन् तर माया नै धन हो । स्वच्छ मनले बास मागेपछि दिलमा ठाउँ बनाएर जीवन अमर बनाउनुपर्छ ।’ यस किसिमका भावुक अभिव्यक्तिहरू समयक्रमअनुसार देखा पर्दछन् । तर, औपदेशिक अवस्था जतिखेरै सिर्जना हुँदैन । कहिले काहीँ त झन् के भन्ने जस्ता कुरामै हराउनुपर्ने हुन सक्छ । खुसी हुँदा शीर्षकको अर्को गजलमा प्रियतमाका अनेक अवस्थाहरूको विश्लेषणपश्चात् प्रियतम अन्यौलमा परेर आपैm हराएको जस्तो देखिएको छ । त्यसमा भनिएको छ– ‘तिमी खुसी हुँदा अनुहारमा आकाशका जस्ता तारा चम्किने र रिसाउँदा औँसीको कालो रातझैँ हुने गर्दछ । तिम्रो खुसी मेरो पनि खुसी हो तर किन घुर्की लाउँछ्यौ । विनाकारण अनुहारमा रारा देख्नुपर्छ । मन सफा हुँदा सबै प्रेमको धारा बग्दछ तर कति दिन नबोलेरै रात काट्छ्यौ वा उकुसमुकुस अँटाउछ्यौ । क्षणभरिमा एउटै मान्छेका किन अनेक रूप हुन्छन् कुन्नि !’ यस्तो अवस्थामा प्रेमी आफै छक्क परेको बुझिन्छ । उसलाई प्रियतमाका अनेक अवस्थाजन्य प्रतिक्रियाबारे कुनै कुरा भन्न सक्ने अवस्था नै भएको हुँदैन । आपूm नै स्पष्ट नभएपछि कसरी उपदेश दिन सकोस् ।

च) प्रतिबद्धता
प्रियतमले प्रियतमाका निम्ति अनेक बाचाहरू गरेको हुन्छ । पहिले पहिले आकाशबाट चन्द्रमा ल्याइदिने अथवा चन्द्रमाको हाँसो हिमालमा सजाइदिने जस्ता बाचाहरू गरिएका पाइन्थे । तर हिजोआज प्रियतमाका निम्ति समयानुकूल एवम् यथार्थपरक बाचाहरू हुन थालेका छन् । यदि तिमी शीर्षकको एउटा गजलमा प्रेमीले के भनिरहेको पाइन्छ भने यदि प्रियतमाले भन्छे भने ऊ मर्न वा पन्छिएर डेरा सर्न पनि तयार छ । साथै अरू त के कुरा भयो र नदेख्दा शान्ति मिल्छ भने सागर तरेर जान पनि ऊ तयार छ । त्यस्तै अर्को हावासँगै हासूँ शीर्षकको गजलमा पनि कुनै प्रेमीका माध्यमबाट हावासँगै हाँस्न वा झरना भई झर्न चाहेको कुरा गर्दै तारालाई देखेर बरु बसाइँ सर्न पनि तयार भइसकेको कुरा बताइएको छ । त्यस्तै प्रेमिकाका आँखाभन्दा अर्को कुन सागर तर्ने भन्दै उनीसित समाहित हुने चाहना राखिएको छ । प्रेमीका मनमा अझै पनि इन्द्रेनीमा नयाँ रङ्ग भर्ने अथवा मर्नै परे प्रेमिकालाई माया गर्दागर्दै मर्ने इच्छा कायमै छ । वस्तुतः वर्तमान पुस्ताका युवायुवतीबिच प्रेमले नयाँ काँचुली फेरिहेको अनुभूति गर्न सकिन्छ । बरु डेरा सरेर होस्, समुद्र तरेर होस्, आँखाको सागरमा डुबेर होस्, इन्द्रेनीमा रङ्ग भरेर होस् अथवा माया गर्दै मरेर होस् प्रेमी प्रेमिकाका लागि यस किसिमका कदमहरू चाल्न तयार हुन थालेका छन् ।

छ) प्रेरणा
भनिन्छ, महान् पुरुष बन्नुका पछाडि सहधर्मिणी वा प्रेमिकाको ठुलो योगदान रहन्छ । प्रेमीहरू पनि प्रेमिकाका कारण आपूmमा परिवर्तन भएको कुरालाई स्विकार्छन् । यहाँ धड्कनको धूनसँगै शीर्षकको गजलमा त्यस्तै परिवर्तनको सन्दर्भलाई प्रस्तुत गरिएको छ– ‘नचिने पनि मिठा गजल सुनेपछि मन छुन थाल्यो । सरस्वती शारदा नै चम्किलो बनेको जस्तो लाग्यो । उनकै प्रभावमा परेजस्तो लाग्यो । तिनै शब्द तर मिठो लेख्ने शैलीले अघिसम्म हाँसे पनि तिमीले रुने बनायौ । म पनि गजल लेख्छु तर तिमीलाई मनमा उनेपछि आफ्ना त शब्द नै फिक्का लाग्न थाले ।’ वास्तवमा यस किसिमको रचनात्मक प्रेरणा लिने प्रवृत्ति प्राचीन कालदेखि नै रहँदै आएको देखिन्छ । प्रेमिका वा सहधर्मिणीकै कारण विश्वमा धेरै महान् व्यक्तिहरूको अभ्युदय भएको पाइन्छ नै । त्यस्तै प्रेमीका रूपमा रहेका गजलकारमा पनि यस्तो रचनात्मक परिवर्तनको कारण प्रेमिका नै हुनु स्वागतयोग्य मान्न सकिन्छ ।

ज) बाह्य सौन्दर्य
नायिकाको बाह्य आकर्षणबारे चर्चा गर्ने प्रवृत्ति पनि पुरानै हो । प्रायः जवानीसँगै मौलाउन थालेको सौन्दर्यले प्रेमातुर व्यक्तिलाई छुन्छ नै । प्रेमिकाका अनुहार, आँखा, ओठ र कपालजस्ता वस्तुले निकै लोभ्याउँछ भन्ने कुरामा कुनै विमति छैन । यस सङ्ग्रहमा पनि प्रियतमद्वारा प्रियतमाका बाह्य आकर्षणलाई लिएर एउटा गजल तयार गरिएको देखिन्छ । चर्चा शीर्षकको गजल त्यस्तै प्रकृतिको रचना हो । यसमा भनिएको छ– ‘जसको जवानी छ; उसकै चर्चा हुन्छ । सुनौलो जवानीलाई देखेपछि उसका सामु पुग्दा पाइला रोकिन्छ । उसका अनुहार र आँखाको चमकले सताउँछ । गुनिलो मुटु देखेर प्रकृति पनि मक्ख हुन्छ भने केशका छहरा र खुनझैँ लालिमापूर्ण ओठले सबैलाई आकर्षित गर्छ नै ।’ वस्तुतः नारीको सौन्दर्य प्रष्फुटन गर्ने क्रममा शारीरिक अवयवको पनि त्यत्तिकै महत्त्व रहेको कुरा नकार्न मिल्दैन ।

झ) आशङ्का
प्रेमका रूपहरू र प्रतिक्रियाहरू बुझेर सकिँदैन । एक पटक गाढा प्रेम भएजस्तो हुँदा नहुँदै अर्को पटक पुनः शङ्का गर्नुपर्ने अवस्था आउन सक्छ । पटक पटकको परीक्षणपछि प्रेममा प्रगाढता थपिँदै जान्छ । यहाँ किन फक्र्यौ शीर्षकको एउटा गजलमा प्रमीले कति गर्दा पनि प्रेमिकाबाट आपूmले प्रेम पाइरहेको छ वा छैन छुट्याउन सकिरहेका छैन । ऊ भन्छ– ‘मलाई तारेर माया मारेपछि किन सुँक्कसुँक्क रुन्छ्यौ । बाटो फरक हुँदाहुँदै पनि मलाई पश्चिम पारेर पूर्व खोजेजस्तै गर्यौ । पाइला, गति, सुरुवात उही भए पनि बस्ती सारेर कहाँ पुग्न खोजेकी ? पानी बारेर किन मुहानको खोजी गछ्र्यौ । सपनाको भर्याङमा चढाएर जून टिप्न लगाउँदै भुइँमा लडेपछि किन सुमसुम्याउँछौ ।’ वस्तुतः एउटा घटनाक्रममा एउटा रूप दर्साउने प्रेमिका अर्को घटनाक्रममा किन अर्को अवस्थामा देखा परेकी हुन्छे त्यो नै बुझ्न गाह«ो छ ।

३. निष्कर्ष
वस्तुतः युवा गजलकार गोपीकृष्ण ढुङ्गानाको आफैँभित्र गजलसङ्ग्रहले समसामयिक गजल प्रवृत्तिको एउटा पक्षलाई सशक्त रूपमा प्रतिबिम्बित गरेको छ । हिजोआज गजलकारहरू आफ्ना गजलभित्र शृङ्गारिक प्रवृत्तिलाई अछुतजस्तो ठानेर क्रान्तिकारी परिवर्तनका पक्षमा मात्र उभिन थालेको हो कि जस्तो देखिन्छ । हो, गजल समसामयिक नेपाली साहित्यको निकै लोकप्रिय विधा पनि हो । यो विधा अरबी वा फारसी साहित्यबाट नेपालीमा भित्रिएको हो र यसले नेपाली साहित्यमा उत्तरोत्तर प्रभाव पार्दै लगेको पनि छ । प्रारम्भमा प्रेमीप्रेमिकाका बिच हुने गरेको प्रणय अनुरागका सन्दर्भमा गजलको प्रयोग गरिएको अथवा बादसाहको प्रशंसाका सन्दर्भमा समेत प्रयोग गरिएको हुनाले शृ्ङ्गारिक वा प्रशंसालाई यसले विषयवस्तु बनाएको देखिन्छ । तर, पहिले ती विषयवस्तुमा गजलको प्रयोग भएकाले यो विधा नै बदनाम छ भनेर अब यस्तो विषय सन्दर्भलाई स्पर्श गर्नै हुँदैन भन्ने अतिवादी चिन्तन राख्नु उपयुक्त मानिँदैन । त्यस्तै केवल शृङ्गारका पछि मात्र गजलको अस्तित्व रहन्छ भन्नु अथवा यस्तो विषय नै निषेध छ भन्नु दुबै अतिवादी चिन्तन गजल क्षेत्रका लागि हितकर हुँदैनन् । जुनसुकै विषयवस्तुलाई पनि गजलका माध्यमबाट पस्किन सकिन्छ भन्ने कुरा प्रमाणित भइसकेको अवस्थामा ढुङ्गानाका गजलहरू सबै किसिमका विषयवस्तुमा आधारित पाइन्छन् । यहाँ केवल उनले पुनर्जीवन दिएका छब्बिसओटा गजलहरूमा पाइने शृङ्गारिक विषयसन्दर्भको मात्र चर्चा गरिएको हो । प्रणय अनुरागजन्य शिष्ट अनुभूतिहरूलाई उनले कति गहिरिएर आत्मसात् गरेका रहेछन् भन्ने कुरा उक्त विश्लेषणबाट छर्लङ्ग हुन्छ नै । हरेक प्रणयजन्य क्रियाकलापहरू कति शिष्ट र मर्यादित हुन सक्दा रहेछन् भन्ने कुरा उक्त गजलहरूले दर्साएकै छन् । शृङ्गारका क्षेत्रमा लाग्ने आरोपहरूलाई कडा रूपमा प्रतिवाद नै नगरी गजलकारले उपर्युक्त किसिमले सौन्दर्यपरक शिष्ट प्रस्तुतिका माध्यमबाट स्वतः निस्तेज तुल्याएका छन् । शृङ्गारका सन्दर्भमा प्रणय अनुरागजन्य क्रियाकलाप, प्रेमप्रतीक्षा, वातावरणजन्य प्रभावको क्षण, सम्भोगको चाहना, वियोगजन्य छटपटी, औपदेशिक स्थिति, बाह्य सौन्दर्य र आशङ्का आदि सूक्ष्म पक्षहरूलाई सजीव रूपमा प्रस्तुत गरेर गजलकार ढुङ्गानले नेपाली गजलको महत्तालाई थप गरिमामय तुल्याउन सक्नु उनको प्राप्ति मानिन्छ । यसरी गजलको नयाँ बान्की र विषयसन्दर्भको जीवन्त प्रयोगकै कारण युवा गजलकार गोपीकृष्ण ढुङ्गानाका शृङ्गारिक गजलहरूले समसामयिक साहित्यलाई गति दिनुका साथै माध्यमिक कालीन नेपाली साहित्यको गजलयुगलाई समेत उत्कर्षमा पु¥याउनका लागि पुनर्जीवन प्रदान गरेका छन् ।


सन्दर्भसामग्री
उदासी, टीकाराम, (२०५९), गजल सिद्धान्त र नेपाली गजलको इतिहास, काठमाडौँ ः अतिरिक्त प्रकाशन ।
ढुङ्गाना, गोपीकृष्ण, (२०७१) आफैँभित्र, काठमाडौँ ः तन्नेरी प्रकाशन,
बराल, कृष्णहरि, (२०६०), गीत सिद्धान्त र इतिहास, काठमाडौँ ः विद्यार्थी पुस्तक भण्डार, ।
रावल, ललिजन, (सम्पा.२०६५), प्रतिनिधि नेपाली गजलहरू, काठमाडौँ ः विवेक सिर्जनशील प्रकाशन प्रा.लि. ।
शर्मा, शरच्चन्द्र र अन्य, (सम्पा.२०६०), मोतीराम भट्ट र संसर्गी कवि, काठमाडौँ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान,
सुवेदी, राजेन्द्र, ‘गजलको सिद्धान्त शास्त्रीय परिचय’, ठाकुर शर्मा, (सम्पा.) वैजयन्ती वर्ष ७, अङ्क ४, पूर्णाङ्क ३४, २०७१, कार्तिक–मंसिर ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 15 माघ, 2075

लेखकका अन्य रचनाहरु