सामाजिक सरोकारका द्ष्टिमा लक्ष्मी मिनुका एकाङ्कीहरु

- ज्ञान बहादुर क्षेत्री

साहित्यका श्रव्य र दृश्य दुइ स्थूल भेदमध्ये नाटक दोस्रामा पर्छ। नाटककार, रङ्गकर्मी र दर्शक गरी तीन पक्षसँग उत्तिकै सम्बन्ध हुनाले नाटकको स्वरुप त्रिआयामिक हुन्छ। यसैले यो साहित्यको सबै भन्दा प्रभावशाली र जनप्रिय विधा मानिन्छ। स्वरुप र बनोटको आधारमा नाटकको परिभाषा--- आख्यानात्मक कथाको अनुकार्यप्रधान सम्बादात्मक संरचना नाटक हो। (नेसासइ, पृ.132)
एकाङ्कीलाई नाटकभन्दा भिन्न र स्वतन्त्र नाट्यविधा मानिन्छ। कथ्यको एकोन्मूखता भएको आख्यानपरक, अभिनेय र संवादात्मक लघु संरचनालाई एकाङ्की भनिन्छ। लघु संरचना भएकोले यो आकारमा छोटो हुन्छ। लघुता एकाङ्कीको विशेषता र पहिचान पनि हो। यसको अर्थ छोटो नाटक एकाङ्की हो वा नाटकको एउटा अङ्क, अंश वा अङ्ग भन्नेचाहिं होइन। न त नाटकलाई छोटो पार्दा एकाङ्की हुन्छ न एकाङ्कीलाई लामो पार्दा नाटक हुन्छ। (नेसासइ, पृ. 147)।
भारतीय नेपाली एकाङ्की परम्परा र विकास शोधमूलक प्रबन्धमा डा. जसयोञ्जन प्यासीले डा केशवप्रसाद उपाध्यायको कथनलाई अघि सार्दै नेपाली भाषामा एकाङ्की लेखनको परम्पराको शुरुवात सन 1932 मा आत्माभिमान शीर्षकको एकाङ्कीबाट भएको उल्लेख गरेका छन। यसरी हेर्दा नेपाली एकाङ्कीको इतिहास पचासी वर्ष पुगेको छ। उसरी नै डा. लीला लुइँटेलको हाम्रो प्रजाशक्ति (5 जुलाई 2017), मा प्रकाशित नेपाली नाटकमा महिला लेखन शीर्षकको प्रबन्धमा नेपाली एकाङ्कीमा महिला सहभागिता सन 1954मा भारती (अङ्क 77)मा प्रकाशित राधिका रायाको जीवनको इच्छा एकाङकीबाट भएको उल्लेख पाइन्छ।
दार्जीलिङकी इन्द्रमणि दर्नाल भारतीय नेपाली नाटकमा ख्यातिप्राप्त प्रतिभा हुन। उनका ययाति, अक्षि-भु, कृष्णा कृष्णा, उर्मिला आदि चर्चित नाट्यकृति हुन। भारतको उत्तर-पूर्वाञ्चल भेकका महिलाहरु पनि नाटक तथा एकाङ्की लेखनमा लागिपरेका छन। तिनमा असमकी सविता छेत्रीको अधिकार (2005) र भारती भण्डारीको लाश (2014), जिउँदो इतिहास(2017) विशेष उल्लेखनीय छन।
मिजोराम निवासी धनमाया प्रधान र देवीदत्त जोशीकी सुपुत्रीका रुपमा 19 मई, 1956 मा जन्मने सुश्री लक्ष्मी मिनु कवि, निबन्धकार, एकाङ्कीकार र कुशल सम्पादकका रुपमा सुपरिचित प्रतिभा हुन। मिर्मिरेका अनुभूतिहरु (कविता संग्रह, 2006) र कर्तव्य (एकाङ्की संग्रह, 2003) उनका कृति हुन। युवा, निगालो, गहना आदि पत्रिकाकी सम्पादक लक्ष्मी उत्तर-पूर्वाञ्चल भेककी सशक्त साहित्यकार हुन। उनले विशेष गरी मिजोराम राज्यमा नेपाली साहित्यको विकासमा महत्वपूर्ण भूमिका खेलेकी छन। हरिभक्त कटुवाल स्मृति पुरस्कार, स्रष्टा पुरस्कार, प्रक्रिया सम्मान, विद्यावाचस्पति आदि पुरस्कारले सम्मानित मिनु एक कुशल संगठक पनि हुन। उनको कर्तव्य शीर्षकको एकाङ्की संग्रह बिन्दु प्रकाशन (लामडिङ) बाट प्रकाशित भएको छ। यसमा समावेशित जम्मा चारवटा एकाङ्की यसप्रकार छन----
1. भ्रमको जालोभित्र बेह्रिएको चोखो माया
2. भुल भएका दिनहरु
3. यदि परिवर्तन हुनै पर्छ भने
4. कर्तव्य
लक्ष्मी मिनुका उल्लेखित एकाङ्कीमा सामाजिक पक्षलाई उजागर पार्नु यस कार्यपत्रको उद्देश्य हो।
1. भ्रमको जालोभित्र बेह्रिएको चोखो माया
तीनवटा दृश्यको यस पहिलो एकाङ्कीमा बिजय, रेखा, बाबा (बिजयको बाबु), दिले-मने-रमेश र शशी पात्र-पात्रा छन। बिजय रेखालाई गीटार बजाउन सिकाउँछ। तर बाबुलाई यो कुरा मन पर्दैन किनभने तल्लो जातकी गरीप घरकी रेखासंग छोराको प्रेमको सम्बन्ध भएको शङ्का हुन्छ र कतै भित्र्याइहाल्छ कि भन्ने डर छ। एक दिन शशीलाई भेट्न घरमा आएको बेलामा बाबुले रेखालाई नराम्रो गरी (चण्डालनी) गाली गर्छ। अपमानित भएर रेखा यो घरमा अब कहिल्यै पनि आउने छैन भनेर जान लाग्छे। जानु अघि रेखा भन्छे-------- केवल बाहुनलाई मात्र प्रत्येक बस्तुको लाभ सुबिधा हुन्छ भनेर सम्झन्छौ भने यो सोच्नु सर्बथा निरर्थक हो। किनभने मनुष्य एकमात्र जाति। मानवीय मौलिक अधिकार सबैलाई हुन्छ (पृ.8)
त्यही समयमा बिजय बाबुलाई सम्झाउऩ आइपुग्छ र भन्छ-------बाबा, तपाईँले उच्च-नीच भनेर जति पनि दोष देखाउनु हुन्छ, उति तपाई हार्दै जानुहुन्छ। (पृ.3)
यसै बीच मनेले पनि आफ्नो विचार पोख्छ यसरी---मान्छे ठूलो र सानो त आफ्नो कर्मले हुन्छ काका, जातले हुँदैन। (पृ.3)
मानिस ठूलो दिलले हुन्छ जातले हुदैन भन्ने देवकोटाको कथनलाई पुष्टि गर्दै जात-पात, उच्च-नीच, धनी-गरीपका भेदभाव हटाएर एउटा सर्वाङ्ग सुन्दर समाज निर्माण गर्ने एकाङ्कीकारको ध्येय रहेको स्पष्ट हुन्छ।
1. भुल भएका दिनहरु
भुल भएका दिनहरु यस सङ्ग्रहको दोस्रो एकाङ्की हो। यसमा तीन दृश्य छन। अशोक, मञ्जु, टीका, मोहन, दाज्यू, राजु-रमेश पात्र-पात्रा छन। उच्चशिक्षित सरकारी अधिकारी भए पनि अशोक सङ्कीर्ण विचारको असामाजिक छ। यसको विपरीत उसका घरका अरु सदस्य उदार भावापन्न र सामाजिक छन। भाई मोहन गाउँमा हुने साना-ठूला सभाहरुमा भाग लिने जनप्रिय संगठक बनेको अशोकलाई मन पर्दैन। मिटिङमा कुदनु भनेको नदुखेको टाउको दुखाउनु, समय यसै खेर फाल्नु हो भन्ने नकारात्मक सोच हुनाले उ भाई मोहनलाई मिटिङमा जानु बाधा दिन्छ। यसरीनै द्वन्दको शुरु हुन्छ। दाज्यूले बाधा दिँदा मोहन पहिले दाज्यूलाई सम्झाउँने प्रयास गर्छ। उ भन्छ ----------- दाई हेर्नोस, यदि हामी युवाहरुले समाजमा आएका, देखिएका कुविचार, कुरीतिहरुलाई यसरी आँखा चिम्लेर गयौं भने हाम्रो उन्नति कसरी होला। हाम्रो भविष्य अन्धकारमा रहनेछ। जम्मै काम गर्न नसके पनि प्रयास त गर्नै पर्छ।..... आफ्नो स्वार्थमा मात्र जिउनु पनि के जिउनु। यसर्थ सामाजिक सुधार र उन्नतिमा हामीले गर्नु पर्ने, सक्ने काम गर्नै पर्छ। (पृ.15)
मोहनका कुरा सुनेर अशोक रिसले चुरमुरिंदै भन्छ,----हेरु कसरी जाँदो रहेछस। घरको कामकाज पनि त कोही बेला सघाउनु पर्छ।
अशोककी पत्नी मञ्जु र बैनी टीका मोहनका कुरा समर्थन गर्छन।
मोहन पुन बोल्छ, ----- समाजमा बसे पछि समाजसित हेलमेल राख्नै पर्छ। समाजका लागि केही गर्नै पर्छ। आखिर सुखदुखमा चाहिने समाज नै हो। समाजबाट दूर भागेर हामी कहिल्यै बाँच्न सक्तैनौ। समाज हामीलाई चाहिन्छ नै। (पृ. 16)
नारी-पुरुषको बारेमा पनि तनावपूर्ण तर्क हुन्छ र मञ्जु निकै जोशले बोल्छे---- आज नारीहरु पुरुष भन्दा केमा कम छन। उ (नारी) पनि शिक्षित र सामाजिक हुनुपर्छ। घरको नारी शिक्षित छैन भने घर परिवारमा कुनै प्रकारको प्रगति ल्याउन अप्ठ्यारो हुन्छ। (पृ.22 )
रमेश थप्छ,---- समाज कुनै बिजिनेस होइन। यहाँ स्वेच्छाले काम गर्नु पर्छ। समाजले हामीलाई होइन, हामीले समाजलाई दिनु पर्छ। (पृ.25)
मोहन---यश-अपयश, मान-अपमान समाजको काम गर्दा पाइन्छ नै। सहनु पनि पर्छ। (पृ.30)
अवशेषमा अशोकले आफनो भुल स्वीकार गर्छ।
प्रस्तुत एकाङ्कीमा नारी-पुरुष दुबैले निस्वार्थ रुपले सामाजिक उत्थानका लागि मरिमेटनु पर्छ भन्ने भावना मुखरित भएको छ।
1. यदि परिवर्तन हुनै पर्छ भने
यो तेस्रो एकाङ्की एउटा मात्र दृश्यमा सकिएको छ। यसमा परिवर्तन नामको एक प्रतीकात्मक मुख्य पात्र र विकास, नवीन, यश, रम्भा, ममता अन्य पात्र-पात्रा छन। यो एकाङ्कीमा घरको समस्या, समाजको र देशको समस्या खांदखुँद पार्नाले बेस्वादिलो खिचडी जस्तो भएको छ। भारकतो संसद भवनमा हमला, तालिबानका कुरा, अमेरिकाको ट्रेड सेन्टर ध्वस्त पारेको, जर्ज बुशले शान्तिको नोबल पुरस्कार किन पाएन आदि कुराहरु अप्रयोजनीय लाग्छन।
एउटा कुरामा भने एकाङ्कीकार निकै होसियारी र जिम्मेदारीका साथ आफ्ना कुरा अघि सारेकी छन। सो के भने परिवर्तनका नाममा सबै कुरा त्याग्न सकिंदैन। विशेष गरी जातीय, राष्ट्रिय पहिचानसँग जडित कुरामा परिवर्तन काम्य हुँदैन। सुनौं त परिवर्तन नामको पात्रका कुरा---
परिवर्तन—पंक्चुएलिटि भएन भने केही काम बन्दैन। भाले बास्ने साथै बिहान भएको आभास हुन्छ। उषाकालको आगमन हुन्छ, अरुणोदय हुन्छ। फेरि प्रखर ताप लिएर सूर्य आफ्नो किरण फैलाउन थाल्छ।......
परिवर्तन—यस युगमा मेरो सम्बोधन जताततै भइरहेछ।
परिवर्तन—यो संसार नै परिवर्नशील छ।....... हामीले यसको नियम पालन गर्नै पर्छ। तर आफ्नो संस्कृति, धर्म, जातीयतालाई बिर्सेर होइन। किन हामी आफ्नो धर्म छोडेर अरुको धर्म अपनाउँछौ। जुन धर्म पनि आफ्नो स्थानमा महान छ। यसका लागि किन काटमार गर्नु।
ख्रीस्तान मिसनेरीहरुले गाउँ-शहरमा पसेर हाम्रा सिधा-सोझा मान्छेहरुलाई धर्म परिवर्तन गराएको कुरालाई यहाँ सङ्केत गरिएको छ। परिवर्तनको नारा लाउँदै केन्द्रमा मोदी सरकार आएको यसमा मेल देखिन्छ, तर यो संग्रह 2003 मै प्रकाशित भएको हुनाले मोदीको प्रभाव परेको भन्नु मिल्दैन।
1. कर्तव्य
अन्तमा कर्तव्य शीर्षक एकाङ्की राखिएको छ। संग्रहको नाम पनि कै राखिएको हुनाले लेखिकाको दृष्टिमा यो सबै भन्दा महत्वपूर्ण भन्ने बुझिन्छ। छहवटा दृश्य (पुस्तकमा अङ्क लेखिएको छ) भएको यस एकाङ्कीमा प्रकाश मुख्य पुरुष पात्र, छायाँ नारी पात्र र बाबा-आमा, रवि, ललित, हरि, रमेश, रीता, बृख आदि अन्य पात्र-पात्रा हुन।
प्रकाश एक मध्यबर्गीय घरको प्रगतिवादी विचारसम्पन्न युवक हो। उ छाय़ाँ नाम गरेकी एउटी केटीलाई प्रेम मात्र गर्दैन, बिहे गरेर ल्याउन चाहन्छ। ऱुपवती गुणवती भए पनि गरीप घरकी, मातृहीना दिव्याङ्गी छाय़ाँलाई बिहे गर्न प्रकाशले ठुलै सङ्घर्ष झेल्नु पर्ने हुन्छ।
प्रकाश आफ्ना आमा-बाबु, छर-छिमेकी, साथी-भाई र युवावर्गको सोचमा सकारात्मक परिवर्तन ल्याउन चाहन्छ। उपदेश र भाषणको माध्यमबाट परिवर्तन ल्याउने कुरामा उसलाई विश्वास छैन। कामलाई आफ्नै जीवनमा उतारेर आदर्श देखाउन चाहन्छ। त्यसैले बिहे गरेर ल्याउनु अनि उसलाई उचित सम्मान र स्वीकृति दिनु दिलाउनु आफ्नो कर्तव्य ठान्छ।
प्रकाश--- समाज सेवामा वचन र ठोकर खानै पर्छ। वचन गाली नखाई समाज सेवा हुँदैन। समाजसेवा अपजशे काम हो, य़शको आशा नराखे हुन्छ। (पृ.54)
प्रकाश भनेको उज्यालो हो, समाजमा पन्पिरहेका कुविचार, कुरीति र कुकर्म जस्ता काला तत्वहरुलाई हटाएर उज्यालो, सुस्थ, सबल र समृद्ध समाज बनाउन निरन्तर प्रयास गर्दछ।
बेजोडको द्वन्द छ यो एकाङ्कीमा।
द्वन्द नभइ नाटकै हुँदैन भन्ने बर्नर्ड शाको भनाई छ। लक्ष्मी मिनुका चारै वटा नाटकमा वैचारिक द्वन्द पाइन्छ।
निष्कर्ष
आफ्ना कुरा नाटककारले पात्रका मुखबाट बोलाउँछ। यहाँ एकाङ्कीकर्त्री लक्ष्मी मिनुले उनको विचार विजय, मोहन, परिवर्तन र प्रकाशका कथन र कर्मबाट खुलासा पारेकी छन। संरचनात्मक र नाटकीय शिल्पकारिताका कमी कमजोरीहरु देखिए पनि पहिलो कृति नै यत्तिको गहकिलो हुनु मिनुको ठूलो कृतित्व हो। जहाँसम्म सामाजिक सरोकारको प्रश्न छ लक्ष्मी मिनुका चारैवटा एकाङ्कीमा सामाजिक दायित्व, कर्तव्य र सुधारको सन्देश प्रष्ट छ। जात-पात, धनी-गरीप, उच्च-नीच तथा लैङ्गिक विभेद दूर गर्नु नै एकाङ्कीकर्त्रीको उद्देश्य रहेको बुझिन्छ।

1. नेपाली साहित्यको संक्षिप्त इतिहास, डा. दयाराम श्रेष्ठ-प्रा. मोहनराज शर्मा, साझा प्रकाशन (वि.स. 2056), काठमाडौ।
2. परिचर्चा, डा. जसयोञ्जन प्यासी, लाशा प्रकाशन (2015), खर्साङ ।
3. भारतीय एकाङ्की सङ्कलन, सम्पादक लक्ष्मण श्रीमल, साहित्य अकादेमी।
4. हाम्रो प्रजाशक्ति (5 जुलाई 2017), सम्पादक अञ्जन उपाध्याय।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 15 माघ, 2075

लेखकका अन्य रचनाहरु