चरिमाया तिमीलाई शुभकामना

- डिग बहादुर तामाङ्ग

पैसाको लागि
आफनै गाउँबासीबाट बेचिएर
बम्बाईको कालकोठीमा
नारकीय जीवन बिताउन विवस चेली
सोंच्थी
त्यो जिन्दगीभन्दा त बरु
मृत्यु नै प्यारो होला
र एक दिन झुन्डिई
आफ्नै पल्लुको गलपासोमा

तर अफसोच !
उनको प्राणको शक्तिसंग
आत्महत्याको प्रयास समेत
पराजित भयो
पराजित भयो उनको मृत्यूको चाहना
पराजित भयो उनको शरीर
र लाचार भएर विवसतापूर्वक
सुम्पन थालिन
आफनो अमूल्य जीवन
नरपिचासहरुलाई
भोगचलन गर्न दिईन अनेकौं ग्राहकरुलाई
र उनी बनिन फगत
यौन तृप्तीको साधन
साधन जस्तै

परदेशमा
आफ्नो सुकोमल शरीर बेच्न विबश
यी थिईन नेपाली चेली
चरिमाया
चरिमाया
बेचेर आफ्नो सर्वस्व बैश
एकदिन फर्किईन
सुरक्षाकर्मीहरुको सहयोगमा
आफ्नै घर आँगन

तर कठै !
यतिन्जेल भई सकेको थियो
आफ्नै गाँउघर पनि विरानो
आफ्नै छरछिमेकी पनि पराई
उनको अनुहारमा कलंकको दाग थियो
उनको शरीरसंग सबैको घृणा थियो
उनलाई बाटोमा देख्नेहरुले पनि
नदेखेझैं गर्न थाले
उनको बोली सुन्नेहरुले पनि
नसुनेझैं गर्न थाले
समाजबाटै अपहेलित
चरिमाया
अशुभ र अपवित्रताको प्रतीक बनीन्
तैपनि उनमा स्वाभिमानको छाती थियो
समाजको सामु
संर्घर्षशील भएर जिउने आँट थियो
र त्यही आँट र स्वाभिमानको समुद्रमा
धोएर आफ्नो र पूरै समाजको दुर्गन्ध
उनले फैलाई दिई संसारभर सुगन्ध

बस् त्यही सुगन्धको जादूले
पुर्नजन्म भयो चरिमायाको
दिग्विजय भयो उनको जिन्दगीको
र सन् दुई हजार एघार जुन सत्ताईस्का दिन
सारा दुनीयाँले देखे चरिमायालाई
टेलिभिजन भित्र
अमेरिकाकै राजधानी वासिंगटन् डिसीमा
शक्तिशाली राष्ट्र्की परराष्ट्र् मन्त्री
हिलरीको शक्तिशाली अँगालोमा
त्यस पछि, उनको होईन
उनका दुखका दिनहरुको मृत्यू भयो
उनको होईन
उनलाई घृणा गर्ने समाजहरुको हार भयो
कतै स्वार्थी यो संसारमा
चरिमायांले अवतारी फेरे जस्तो
कतै ठूलो देशको नायिकालाई
ग्लामरको उपाधि दिए जस्तो
चरिमाया रातारात दन्त्यकथाकी राजकुमारी भईन

कठै ! सिएनएनको अन्तर्वार्ता पछि मात्रै
कान्तिपुरको आँखा खुल्यो
र उसले पनि चरिमायाको अन्तर्वार्ता लिएर
गोहीको आँसु चुहायो
हिलारीको सिको गर्दै नेपाली महिला मन्त्रीले पनि
चरिमायालाई ग्वाम्लागं अँगालो हालिन्
कस्तो विडम्बना
आफ्नै हातको सीपीलाई अरुले चिनाई दिनु पर्ने
कति स्वार्थी हामी
अपहेलितलाई घृणा गर्ने
र सम्मानित भए पछि पुजा गर्ने
चरिमाया तत्पश्चात जिउँदो देवी बनीन्
नेपाली पत्रपत्रिकामा छाउन थालिन्
उनलाई
पिउनदेखि सचिबसम्मले
राजदूतदेखि राष्ट्र्पतिसम्मले खाना बोलाए
शुभकामना र प्रशंशाको ओहिरो खनाए
उनको देहलाई
खादादेखि फूलमाला सम्मको पहिरोले
गजबसंग सिंगारे ।

चरिमाया
यतिखेर साँचिकै बनकी चरि भएकी छे
कहिले आफ्नो गुँडबाट उक्लेर
कहिले डाली डालीमा बसेर
मीठो गीत गाउन थालेकी छे
हामीले हामी भित्रको स्वार्थीपनालाई
अब मास्नु पर्छ
हामीले अपहेलितलाई
अपहेलना गर्ने परम्परालाई नास्नु पर्छ
र हामीले अब उनको गीतको
मीठो भाकालाई बुझ्ने कोशीश गर्नु पर्छ
चरिमाया !
तिमीलाई मेरो पनि हार्दिक बधाई ।


वासिंगटन डिसी

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 15 माघ, 2075

लेखकका अन्य रचनाहरु