के भो बा ?

- प्रकाश नेपाल

काले बोकेर निस्कियो
एउटा घन, साना साना छिना र ठूलो आत्मविश्वास
उक्लियो पहाड र हिर्कायो ठूलो चट्टानमा
र चोइटायो बडेमानको ढुंगा
कोप्यो र हात बनायो
सोच्यो-भगवानको आँखा राम्रो हुनु पर्छ
हातहरु बलबान हुनु पर्छ
कोप्दै गयो - बजार्दै गयो साना साना छिनाहरु त्यो अजंगको ढुंगामाथि
र यसरी कालेले भगवान बनायो
दुरुस्त भगवान बनायो ।

भगवानको पूजा भयो
आ-आफ्नो भाकल भयो
कालेले पनि भाकल गर्यो र एक थुंगा फूल हातमा लिएर भगवानको पाउ छुने विचार गर्यो
र आफुले बनाएको भगवान छुन सर्यो
बिचमा कसलैले रोक्दै भन्यो - भगवान अछुतले पूज्नु हुदैन
अशुभ हुने काम गर्नु हुदैन

अवाक काले चुपचाप एकोहोरियो
उसंगै उभिएको सानो छोराले उसको कमिजको फेर समाउदै सोध्यो
के भो बा ?

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 15 माघ, 2075

लेखकका अन्य रचनाहरु