आश्रम

- अर्जुन थापा

‘संविधान निर्माण भइसकेपछिको राष्ट्रिय राजनीतिमा पनि अतिवादको जोखिम र चुनौती अझै रहिरहेको छ । हाम्रा विपक्षी दलहरूले संविधान निर्माणको बेलादेखि नै आफ्नो प्रतिस्पर्धी राजनीतिक दलहरूप्रति निरन्तर असहिष्णु र आक्रामक प्रवृत्तिका साथ क्रियाशील रहेका छन् । संसदीय पद्धति र आचरणअनुरूप जुन दलको सरकार भए तापनि उक्त सरकारको काम र निर्णयमा उत्साहपूर्ण सहकार्य गर्नुभन्दा दलगत र गुटगत राजनीति भागबन्डा खोज्ने प्रवृत्तिले गर्दा आज हामी जनता सामु उभिन गाह्रो भएको छ । अब पनि हामीहरूले आआफ्ना भूल जनतासमक्ष स्वीकार नगर्ने हो भने हाम्रो भोलिका सन्ततिले के सिक्नेछन् हामीबाट ? के हामीले हाम्रो जन्मभूमिलाई यसरी नै आफ्नो निहित स्वार्थका लागि सधैँ भागबन्डा मात्र गरी आपसी लुछाचुँडी गर्ने हो ? अब पनि हामी जस्तो युवाहरू नजाग्ने हो भने उज्ज्वल भविष्य नेपालको सपना नदेखे पनि भयो ।’ किरणले भनिरहँदा सबै जना उठेर समर्थनमा ताली बजाउँछन् ।
अहिलेको चर्चित युवा नेता किरण । उसले बोलेको हरेक वाक्यमा एउटा देशभक्तिको भावना सुनिन्थ्यो । जसले गर्दा छोटो समयमा नै देशका दिग्गज नेताहरू पनि ऊदेखि डराउन थालेका थिए । अझ भनूँ भ्रष्ट, चाप्लुसी र देशलाई अगाडि लान नभई मात्र आफू र आफ्नाका बारेमा बढी केन्द्रित नेताहरूलाई किरण बाधक भएको थियो । टिभीदेखि हरेक पत्रपत्रिकामा उसलाई एउटा आदर्श नेता बनेर प्रस्तुत गरिन्थ्यो । हुन पनि ऊ एउटा इमानदार र देशप्रति मरिमेट्ने व्यक्ति थियो । यस भूमिमा जन्म लिएपछि । धर्तीमाताको गुणलाई हामीले कहिल्यै बिर्सन हुँदैन भनेर दत्तचित्त भएर अगाडि बढिराखेको थियो किरण ।
मध्यमवर्गीय परिवारको थियो ऊ । जन्म दिने आमाबाहेक यस संसारमा अरू कोही थिएन उसको आफ्ना भन्ने । आमालाई ऊ राजनीतिमा लागेको पटक्कै मन परेको थिएन । उनी चाहन्थिन् छोरा कुनै सरकारी अफिसमा काम गरोस् । बिहेवारी गरेर घरसंसारमा नै भुलोस् भन्ने चाहना थियो ।
‘बाबू, तिमी कहाँ छौ ? झट्ट घर आऊ । तिमीसँग एउटा सल्लाह गर्नु छ ।’ आमाले फोनबाट बोलाउँछिन् ।
बाटोदेखि घर नपुगुन्जेल अनेकौँ शङ्का उपशङ्काहरू मडारिरहन्छ किरणको । कहिल्यै यसरी फोन गरेर नबोलाउने आमाले आज त्यस्तो के भयो र भन्दै मनमा कुरा खेलाउँदै ऊ घर पुग्छ । घरको अगाडि दुई महँगा गाडीहरू रोकिएका छन् । उसको मनमा चिसो पस्छ उक्त गाडी देखेपछि ।
‘आमा, आमा !’ भन्दै हतारहतार घरभित्र छिर्छ । सबै जना उसलाई नै पर्खिबसेका हुन्छन् ।
‘किरणजी नमस्कार ! हामी तपाईंलाई नै पर्खिबसेका थियौँ । फोन गरेर मैले नै हजुरसँग भेट गर्न सक्थेँ । तर पनि राम्रो कामको सुरुवातका लागि हजुरको मुमाबाटै श्रीगणेश गर्ने विचार भएर नै मुमालाई फोन गर्न लगाएको ।’ हीराजडित औँठी भएको हातले नमस्कार गर्छ काठमाडौँको नाम चलेका व्यापारी ।
नाम त किरणले धेरै पहिलादेखि सुन्दै आएको थियो उनीहरूको । तर आज पहिलो पटक प्रत्यक्ष भेट गर्दै थियो उसले ।
‘हजुरलाई कुरा नघुमाई भन्नुपर्दा । हाम्रो एकै मात्र छोरी छे । हजुर जस्तो योग्य, इमानदार र सांस्कारिक केटालाई हाम्री छोरी दिन पाए । त्यो हाम्रा लागि ठूलो अहोभाग्य हुने थियो ।’ खिसिक्क हाँस्दै भन्छन् उनी ।
‘बाबू, तिमी एक पटक भेट उनलाई । अनि कुरा अगाडि बढाऔँला ।’ आमा मक्ख पर्दै भन्छिन् ।
किरणको विवाह गर्ने उमेर नभएको त होइन । तर अहिल्यै विवाह गर्नुभन्दा पनि पहिला देशमा लोकतान्त्रिक समाजवाद उन्मुख समृद्ध नेपाल निर्माण भएको हेर्न चाहेको थियो । त्यस दिनपछि हरेक क्षण आमाको विवाहको किचकिचको अगाडि हार खाएर विवाहको स्वीकृति दिएको थियो ।
ड्ड
‘आर्थिक, सामाजिक परिवर्तनको लहर ल्याउन युवाहरूको सिर्जनशीलता, सीप र दक्षता विकास गर्दै लाने । महिलालाई आर्थिक रूपले आत्मनिर्भर बनाउने । मधेसका मुद्दाहरूलाई सम्बोधन गर्ने । भूकम्प पीडितहरूलाई पुनर्वासको व्यवस्था गर्नेजस्ता चिप्ला भाषण गर्नुभएको तपाईंले विगत चार वर्षमा प्रगतिको नाममा के गर्नुभयो ? मन्त्रीको कुर्सीमा बसेर आफ्ना नातेदार मात्र पोस्ने कामबाहेक अरू के गर्नुभयो ? छ केही जबाफ ?’ संसद् भवनमा एक सांसद ठूलो स्वर गरेर चिच्च्याउन थाल्छ । जसको समर्थनमा सबै जना डेस्क ठटाएर समर्थन गर्छन् ।
हुन पनि सही प्रश्न उठाएका थिए । किरणको पार्टीले सरकार चलाएको चार वर्ष बितिसक्दा पनि जनताका लागि भनेर कुनै उपलब्धिमूलक प्रगति गर्न सकेको थिएन । जुन कुरा स्वयम् ऊ पनि स्वीकार गर्दै र आफ्नै पार्टीभित्र पनि यसको विरुद्ध आवाज उठाउँदै आएको थियो । पार्टीका नेताहरू आआफ्ना कुर्सी जोगाउने मात्र र आफू आर्थिक रूपमा बलियो हुनेतिर केन्द्रित भइरहेको देख्दा ऊ बिस्तारै आफ्नो पार्टीप्रति असन्तुष्ट हुँदै गइराखेको थियो ।
उसले मन्त्री पद समालेदेखि उसका विरुद्धमा ती सब भ्रष्ट कहलिएका कर्मचारी तथा व्यक्तिहरू रुष्ट भएका थिए । उसले आफ्नो क्षेत्रभित्र हुने अनियमितता, घूसखोरी, ढिलासुस्ती, चाप्लुसी जस्ता कार्यलाई धेरै हदसम्ममा न्यून पार्न सफल भएको थियो । जसका कारण जनताले धेरै राहत पाएका थिए ।
‘तपाईं किन कुरा बुझ्न तयार हुनुुहुन्न किरणजी ? तपाईं आफू जनताको सेवा गरेबापत उनीहरूबाट पाएका उपहार लिनुहुन्न भन्दैमा हामीले लिनेमा पनि किन विरोध गर्नुहुन्छ ? यो सरकारमा आउन हामीले ठूलो लगानी गरेका छौँ । अब कति दिन हाम्रो सरकार टिक्ने हो थाहा छैन । त्यसैले तपाईं लिनुहुन्न त्यो तपाईंको विचार हो तर हामीलाई ज्यादा बारछेक गर्न नखोज्नुहोला । यो माथि हाईकमान्डको निर्देशन हो ।’ जङ्गिँदै अर्को समकक्षी मन्त्री बोल्छ ।
‘तिम्रो पो ससुरालीले पेल्छ र तिमीलाई नाम मात्र कमाउनु छ । तर हाम्रो त सबै यसैबाट अझ अर्को दुई पुस्तासम्मलाई जोड्नु छ । जनताको सेवा गर्ने भन्दैमा साँच्चीकै सेवा गर्न थालियो भने भोलि हामी सडकमा आउन बेर छैन । चुनाव लड्दा लिएको ऋण अझै तिर्न सकिएको छैन । त्यसैले कि यो मन्त्री पद त्याग गर कि चुपचाप जे हुँदै गइराखेको छ, त्यसैलाई समर्थन गर ।’ अर्को थप्छ फेरि ।
पाँचतारे होटलको रुममा भएको गोप्य वार्तामा सम्मिलित सबैले पालैपालो किरणलाई सम्झाउन थाल्छन् । उसलाई त्यसभित्रको वातावरणदेखि उकुसमुकुस भइराखेको हुन्छ । सबै जना कुखुराको सपेटा तान्दै ग्लासमा प्याग भर्दै र रित्याउँदै सबै एकै स्वरमा उसलाई नै दोष देखाउँदै थिए । मानौँ उसले जघन्य अपराध गरेको छ ।
ऊ त्यहाँबाट बाहिरिन्छ । साँझको पौने नौ बजिसकेको छ । घरमा बूढी आमा उसलाई नै पर्खिराखेकी हुन्छे ।
‘आमा, किन एक्लै ? खोइ त बुहारी ?’ ऊ आमाछेउमा बस्दै सोध्छ ।
‘कहिले पो मलाई भनेर जाने हो र कि कहाँ गएकी छ भनेर तँलाई भनूँ ।’ आमा खाना पस्किँदै भन्छिन् ।
ड्ड
‘अहिले त सरकार तिमीहरूको छ । सरकारको मन्त्री छौ तिमी तर पनि केही गर्न सकेका होइनौ । हेर त, तिमीसँगै मन्त्री भएकाले नारायणथानमा एक रोपनी जग्गामा बङ्गला उभ्याइसक्यो । तर तिमी त्यही पुरानो लुगामा नै सीमित छौ । तिमी चुनाव लड्नको लागि भनेर ड्याडीले त्यत्रो लगानी गर्नुभएको थियो । खोइ त्यसको रिटर्न दिन सकेको ? अब त मलाई माइतीमा जान पनि लाज भइसक्यो ।’ श्रीमती भुतभुताउँदै अर्को रुमतिर जान्छे ।
उसकी श्रीमती रुमबाट बाहिरिएपछि । कलम र नोटबुक लिएर किरण लेख्न थाल्छ ।
‘हामी जस्तो पढेलेखेका युवाहरूले सीमित सीमारेखाभित्र रहेर मात्र आफ्नो बारेमा सोच्ने हो भने ती निमुखा जनताका बारेमा सोच्ने कसले ? के यसैका लागि भनेर हामीलाई भोट दिएर जिताएका हुन् त ? आज अस्थिर, अविश्वसनीय, भ्रष्ट र लोकरिझ्याइँमा नै सीमित नीतिहरूले गर्दा मुलुक ध्वस्त हुँदै गएको छ । गरिब जनता झन्झन् कष्टकर जीवन बिताउन बाध्य हुनुपरेको छ ।’
‘सम्पन्न, स्वस्थ, शिक्षित र क्रियाशील नागरिक, शान्त र एकताबद्ध परिवार, सामाजिक सद्भावसहितको समतामूलक समाज र समावेशी प्रतिनिधित्व भएको लोकतान्त्रिक समाजवादी राज्य स्थापना नै हामी सबैको मूल लक्ष्य हुनुपर्नेमा अहिले ठीक त्यसको विपरीत हुँदै गइराखेको छ ।’ ऊ आफ्नै धुनमा लेखिराखेको हुन्छ ।
‘होइन, कति न महान् नेता सम्झेका छौ कि के हो आफूलाई ? यो मन्त्री पदले गर्दा मात्र हो सबैले ज्यूज्यू गरेका । बस्, पद खुस्कोस् त तिम्रो नाम समेत भुल्नेछन् । अनि म र मेरो ड्याडी नै चाहिनेछ तिमीलाई । भोलि ड्याडीले ठीक एघार बजे अफिसमा पठाइदिनू भनिसेको छ ।’ भन्दै ओछ्यानमा पल्टिन्छिन् उनी ।
ड्ड
‘ज्वाइँसाब, मलाई कुरा घुमाएर गर्न आउँदैन । हजुरको चुनावमा धेरै खर्च भएको छ । सबैलाई मैले हजुर पदमा पुगेपछि सबै काम गर्दिन्छु भनेर सबैसँग मदत लिएको थिएँ । अब हजुरले सक्दो मदत गर्नुप¥यो । यो सरकार पनि अब धेरै टिक्ला जस्तो छैन । त्यसैले सक्दो चाँडो काम गर्नेतिर जानुपर्छ ।’ ससुरा कफीको चुस्की लिँदै सम्झाउँछ ।
‘ड्याडी हजुरले जुन प्रकारको सहयोगको अपेक्षा राख्नुभएको छ । त्यो मबाट कुनै हालतमा पनि हुँदैन र म त्यो हुन पनि दिन्नँ । त्यसको लागि जेजस्तो कदम उठाउन म तयार छु ।’ किरण मेचबाट उठ्दै भन्छ ।
‘तिमी जस्तो लो क्लास केटालाई मेरी छोरी दिएर आज मलाई पछुतो भइराखेको छ । के थियौ तिमीहरू र ? आज मेरो कारण सुख–सुविधा भोग गर्न पाएका छौ तिमीहरू आमाछोराले । मैले त मिलेर अगाडि बढ्न पाए सबैलाई फाइदा हुन्छ भन्ने सोचेर तिमी जस्तोलाई छोरी दिएँ जुन मेरो अहिलेसम्मको ठूलो भूल भयो ।’ चर्किंदै जान्छ स्वर ससुराको ।
उसलाई अब सबै कुराको ज्ञात भइसकेको छ ससुरा र उनकी छोरीको योजनाको बारे । ऊ बाहिर निस्कन्छ अफिसबाट । उसलाई देख्नेबित्तिकै उसको सेक्युरिटीका लागि तैनात सुरक्षाकर्मीहरू गाडी स्टार्ट गर्ने सङ्केत गर्छन् । तर आज उसलाई वरिपरि साइरन बजाउँदै सिंहदरबार जान मन छैन । सबै कुराबाट वाक्क लागेर आएको छ । उसको मनमा धेरै पहिलादेखि उब्जिराखेका कुरा जसलाई उसले आफैँभित्र दबाइराखेको थियो । आज त्यही काम गर्ने निर्णयमा पुगेको छ ऊ । गाडी नचढी ऊ हिँड्दै घर आइपुग्छ । आमाको रुममा पुगेर उसले सबै कुरा बेलीविस्तारका साथ आमालाई सम्झाउँछ । अनि ऊ आफ्नो रुममा आएर फेरि लेख्न बस्छ ।
ऊ देशलाई बदल्छु भनेर दत्तदित्त भएर अगाडि बढिरह्यो । यस देशमा कोही पनि भोकानाङ्गा वा निरक्षर नरहून्, देशमा सडक, बाटोघाटो, अस्पताललगायत जीवनलाई सुन्दर र खुसी बनाउने अब कुनै कुराहरूको अभाव नरहोस् भन्ने सोचका साथ अगाडि बढेका तर आज ऊ हारेको छ । आफ्नैबाट, देशका नेताहरूबाट, दरिद्री सोच भएका व्यक्तिहरूबाट । जुन माध्यमबाट समृद्ध नेपाल बनाउने अठोट लिएको थियो विफल भएको छ आज र त उसले अर्को माध्यम अपनाउने अठोट गरेको छ ।
ड्ड
बिहानीको सूर्यको किरणले धर्तीलाई चोख्याइदिएको थियो । त्रिशूली र थपल खोलाको सङ्गमछेउ अवस्थित एउटा आश्रम । त्यहाँ बनाइएका तीन–चारओटा कुटी । ठूलो आँगनको मध्यभागमा मन्दिर र मन्दिरको विशाल गर्भगृहमा श्रद्धालु श्रोता र दर्शकहरूको उपस्थिति थियो । केही विदेशी जस्ता देखिन पत्रकारहरू त्यहाँका सबै कुरा क्यामेराभित्र कैद गर्दै थिए । महिला पुरुष सबै बसेर एकचित्तले पिइरहेका थिए कञ्चन त्रिशूलीको उत्ताल तरङ्ग शृङ्खलासदृश त्यस मन्धमुक्त प्रवचनलाई मञ्चमा बसेर प्रवचन दिइराखेका विश्वलाई तरङ्गित पार्न सफल गुरु । जसका प्रवचन सुन्न देश विदेशबाट मान्छेहरूको भीड लाग्ने गथ्र्यो ।
‘कसैलाई दिइएको उपहार तब मात्र पवित्र हुन्छ जब त्यस उपहार सही व्यक्तिलाई सही समय र सही ठाउँमा दिइन्छ र उपहार दिने व्यक्तिले स्वच्छ मनले दिएको हुनुपर्छ । त्यस उपहारको बदलामा पाउने व्यक्तिसँग केही पाउने आशा भएको हुनु हुँदैन ।’
‘कर्म भनेकै धर्म हो । त्यसैले हामीले आफ्नो कर्म गर्दै जानुपर्छ । अनि त्यसको फल आफैँ आउँछ । यो दुनियाँमा जो प्रसिद्ध भएका छन् उनीहरू सब आआफ्नो कर्मले गर्दा नै भएका छन् ।’
गुरुको प्रवचनले त्यहाँ उपस्थित सबै भक्तालुजनको मन, बुद्धि र चेतनालाई परमात्मासित एकाकार गराइदिएको थियो । गुरुको सम्मोहक स्वरलहरीमा तोटक छन्दमा मुखरित हुन पुगेको थियो एक अत्यन्त मनमोहक भजन–
‘प्रभु, त्यो सेतो पछ्यौरीमा रातो दात त लाग्यो । अब म जान्दिनँ त्यस दागलाई पखालूँ कसरी ?’
ड्ड
आजको संसारभरि प्रकाशित हुने प्रख्यात पत्रपत्रिकाको हेडलाइनमा एउटै खबर छापिएको थियो ।
‘एउटो सानो देशको सानो परिवारमा जन्मेर पनि उदाहरणीय काम गरेबापत यस वर्षको शान्ति पुरस्कार पुण्य गुरु किरणज्यूलाई दिने घोषणा गरिएको छ । एउटा सन्न्यासी जीवन अपनाएर पनि मान्छेको सोचलाई कसरी बदल्न सकिन्छ भनेर उहाँले गर्नुभएको योगदानलाई हामी संसारभरिका मान्छे मिलेर उहाँलाई सम्मान व्यक्त गर्दछौँ ।’

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 15 माघ, 2075

लेखकका अन्य रचनाहरु