समानान्तर

- बद्री अधिकारी

सुर्य झुल्किसकेको थियो । सम्पूर्ण प्राणीहरु आ–आफ्नो नित्य कर्ममा व्यस्त देखिन्थे । मेरी आमा पनि व्यस्त देखिनु हुन्थ्यो । चालिसे पार गरिसक्दा पनि आमामा सिथिलता देखिँदैन । आजकल उहाँ पहिला जस्तो गम्भीर र दुःखीत देखिनु हुन्न । मैले राम्रो जागिर पाएर पनि आमामा त्यो परिवर्तन आएको हुन सक्छ । उहाँ निजी वोर्डिङमा शिक्षिका हुनुहन्थ्यो । बीस बाइस वर्षको उमेरदेखि एउटी छोरीलाई पालेर एक्लै बस्न सक्नु आइमाइका लागि यो हाम्रो समाजमा कम चुनौतिको कुरा होइन ! कर्मप्रति इमान्दार मान्छे मानसिक र शारीरिक दुबै रुपले थाक्दैन क्यार ! आमासँग मैले एकदुई पटक “अब दुःख नगर्नु ” भनी आग्रह गरेकी थिएँ ।

“एक्लै घरमा बसेर के गर्नु, समय पनि बित्छ ... नसकेपछि दुःख नगरौँलानी ............। ”

जीवनमा अव केही सुखका पलहरु थपिए झँै लाग्दथ्यो । आमाले म सँग कहिल्यै दुःख पाएको गुनासो गर्नु भएन । ज्ञान पलाएपछि घरी घरी अन्य पारिवारिक सदस्यको बारेमा सोधनी गर्दा झर्कँदै कुरा घुमाउनु हुन्थ्यो । क्षणभरमा आफुलाई नियन्त्रण गर्दै भन्न थाल्नु हुन्थ्यो –“छोरी तिमी आफ्नो ध्यान पढाइमा लगाउ......... तिमीले पढेर ठूलो मान्छे हुन बाँकी नै छ ........ समय आएपछि सवै कुरा भनौला .. ।” आमाको स्नेह माया ममताले म प्रफुल्लीत हुन्थेँ । समय आफ्नै पाराले चिप्लिरहेको थियो ।

“लीला छोरी आज विदाको दिन, चाँडै उठेऊ.. कहाँ जानु छ ?

“ड्राईभर अंकलकोमा । स्कुटर सिकाइ दिनु भयो । एक जोर पैन्टसर्ट किनेर ल्याएकी थिएँ ........... लगिदिनु प¥यो ।”

“................” आमाले कुनै प्रतिक्रिया जनाउनु भएन । म कोठामा पसेर लुगा लगाउन थालेँ ।
८८
ड्राइभर अङ्कलको कोठा सानु थियो । कोठाले एक्लो लोग्ने मानिस बसेको सङ्केत गरिरहेको थियो । उहाँले मलाई नमस्कार गर्दै खाट नजिकको प्लास्टिकको कुर्सीमा बस्ने सङ्केत गर्नु भयो । कपडा भएको झोला खाट नजिक भएको टि टेबलमा राख्दै बसेँ । कोठाको एक कुनामा ग्याँस चुल्हो । लत्ता कपडा अलपत्र । सिरानतिर सिसाको गिलास र लम्पसार परेको खाली रक्सीको बोतल । उहाँ भरखरै हातमुख धोएर खाटमा बस्नु भएको थियो क्यार । सायद वेलुकी पिएको धङ्गधङ्गे उहाँमा अझै बाँकी छ झँै भान हुन्थ्यो । हाम्रै अफिसमा पाँच महिनादेखि ड्राइभर पदमा कार्यरत हुनुहुन्थ्यो । मिलनसार, नम्र स्वभावको धनि............। अफिसले दिएको क्वाटरमै बस्नु हुन्थ्यो ।

“लीला छोरी ......! सरी ........मुखबाट अनायास यो शब्द निस्केकोमा माफ पाउँ ... ।”

“होइन... होइन अङ्कल । माफ मागेर तपाई मलाइ आफू देखि टाढा बनाउन खोज्दै हुनुहुन्छ.... ।” मैले हत्तारिँदै भनँे ।

“छोरी तिम्रो यो आफ्नोपनले आज मलाई यो संसारमा मेरो पनि कोही आफन्त अझै छन् झैँ लाग्दै छ...। मैले श्रीमतीमाथि अभद्र व्यवहार नगरेको भए सायद मेरी छोरी पनि तिमी जत्रै हुन्थिन् होला र बाँचेकी भए भइन होला .... ।” अंकलको मुखबाट लामो उछ्छवास निस्कियो । उहाँको मुहार अतीतको पीडायुक्त सागरमा डुवेझँै देखिँदै थियो । उहाँको दुःखलाई बुझ्ने र घाउमा आफ्नो क्षमताले भ्याएसम्म मल्हम लगाउने तृष्णा म भित्र पलाइरहेको थियो । इच्छापूर्तिको माध्यम मानिसले खोज्दछ रे .... । मलाई पनि त्यस्तै भइरहेको थियो ... । म मौकाको तलाश गर्दै थिएँ ।

“अङ्कल आफ्ना पीडाहरु भरोसा भएको व्यक्तिलाई सुनाउँदा पनि पीडितलाई राहत मिल्छ रे भन्छन् हो?” मैले आपूmभित्रको अभिष्ट चाहलाई घुमाउरो पाराले पोखि दिएँ ।

“सायद..... हुन सक्छ । तर बाबुआमाले आफ्नो दुःख छोराछोरीलाई सुनाएर उनीहरुलाई दुःखीत पार्ने काम गर्नु बुद्धिमानी होइन... ।” उहाँले मेरो मुहारमा दृष्टिपात गर्दै भन्नुभयो ।

“त्यसो होइन अङ्कल ... । छोरा छोरीलाई पनि अभिभावकको पीडामा मल्हम लगाउने अधिकार हुँदैन र ? के म तपाइको भरोसा गर्नेभित्र पर्न सकिन ?” मैले उहाँलाई पगाल्ने उद्देश्यले प्रश्नमाथि प्रश्नको जाल बुनेथेँ ।
“मेरो आसय त्यो होइन .... । तिमीले मलाई जुन आदर, सत्कार, सम्मान गरेर नजिकिएकी छौ, कतै मेरो अतीत ज्ञात भएपछि वर्तमानको यो सुख, कतै मबाट टाढिँदैन ? यो डरले मभित्र भित्रै थर्थराईरहेको छु ।” उहाँको मुखबाट पीडा र त्रासको सम्मिश्रण स्वर बाहिरिएर कोठाको वातावरणमा बिलिन भयो ।

“अङ्कल ! म अबुझ र अज्ञानी छुइन .... राम्रो र नराम्रोलाई पहिचान गर्ने क्षमता ममा छ ..। विश्वास गर्नुहोस् ।” मैले उहाँलाई आस्वस्त पार्ने प्रयास गरेँ । उहाँले एकपटक मलाई शिरदीख पैतालासम्म नियाल्नु भयो । गुरु दक्षिणा स्वरुप ल्याइदिएको सर्ट, पैन्टको कपडा उहाँलाई दिएँ । उहाँले निकै आने काने गर्नु भयो लिनका लाीग । मेरो जिद्धिको अगाडि उहाँको केही चलेन । उहाँको आँखामा आपूmप्रति झन माया र स्नेह थपिएको मैले अनुभव गरेँ । सिरानमुनिबाट मोबाइल उठाएर नजिकैको चिया पसलेसँग दुई कप चिया मगाउनु भयो र लामो स्वास फेर्नु भयो ।

“छोरी म कसरी तिमीलाई आफ्नो अभद्र व्यवहारको वर्णन गराँैं .... । शब्द नै फुरिरहेको छैन । अनावश्यक लालचले बेष्ठीत मानिस कुकर्मी हुँदो रहेछ । उसबाट ठूला–ठूला अपराध पनि हुन सक्छन् । जब उसको दृष्टि खुल्दछ त्यतिखेर समय उसको हातबाट चिप्लिसकेको हुन्छ । साँच्चै लीला छोरी आजसम्म म त्यही अपराध बोधबाट गलित हँुदै मुक्तिको खोजीमा भौंतारिरहेको छु । मैले आजसम्म आफ्नो त्यो घीनलाग्दो अतीत कसैलाई पस्केको छैन । कसैलाई सुनाएर घृणाको पात्र बन्ने आँट पनि म मा थिएन र छैन पनि । तिम्रो मायालु व्यवहार, आदर, सत्कार र तिम्रो क्षमतामाथी भरोसा राखेको छु । मेरो घीनलाग्दो अतीत सुनेर अवश्य पनि विवेक प्रयोग गर्ने छौ ।” अङ्कल यति भनेर केही क्षण अडिनु भयो । उहाँको मुहारमा अस्वभाविक रुपले पीडाका रेखाहरु सलबलाइ रहेका थिए । म उहाँको छट्टिमा छट्पटिँदै पनि थिएँ । “तपाईको विगत गोप्य राख्नुहोस् ...” भनी भन्न पनि सकिरहेकी थिइन .... । मेरो गला अवरुद्ध भएर घाँटीमा केही अडके झैँ हुँदै थियो ।

उहाँको पीडायुक्त्त स्वरले कोठाको वातावरणलाई चिर्न थाल्यो “म त्यस बखत बाइस वर्षको भै सकेको थिएँ । बुबा म सात वर्षको हुँदै खस्नु भएको रे । विधुवा आमाको म केन्द्रविन्दु थिएँ । आई. ए. पास गरिसकेको हुँदा आमा मेरो विवाहको लागि हतारिनु भएको थियो । एक्ली आमाको कुरा काट्ने म मा सामथ्र्य थिएन । सायद त्यो अवस्थामा अरुहरुले पनि गर्न नसक्लान् । माइती गाउँकी एस. एल. सी. पास केटीसँंग मेरो विवाह गरिदिनु भयो । मेरी श्रीमती सारै राम्री थिइन् । बुहारी र पत्नीमा हुनु पर्ने गुण उनमा प्रशस्त थियो । खोट लगाउने ठाउँ थिएन । हाँसीखुसीसाथ विवाहको प्रथम वर्ष बित्यो ....। उनी दोजीया भै सकेकी थिइन् । “हाम्रो पहिलो सन्तान त छोरो नै हुन्छ होला ....।” म उनलाई यसरी जिस्क्याउथेँ ।

“म के जानौँ ।” उनी लजाउँथिन् ।

अङ्कलको मुहारमा खुसी र आनन्दको भाव उब्जीरहेको थियो । हेर्दाहेर्दै उहाँको मुहारलाई पुनः ग्रहणले छोप्यो । यस्तो वेदनाले भरिपूर्ण लोग्ने मानिसको मुहार नजिकैबाट मैले पहिलो पटक देखेकी थिएँ । मेरो ठाउँमा जो कोही भए पनि उसको मन चस्किन्थ्यो होला । यो मेरो अनुमान मात्र हो । सोही समयमा चिया दोकाने ठिटोले दुईकप चिया टि टेवलमाथी राखेर बाहिरीयो । उहाँले मलाई चिया पिउने इशारा गर्नु भयो । चिया पिउँदै मैले उहाँको मुहारमा आउँदै जादैँ गरेको भावलाई अध्ययन गरिरहेकी थिएँ । चिया पिइसके पछि मैले उहाँ तीर प्रश्नवाचक दृष्टि फ्याकेँ ।

“मैले उनलाई अल्ट्रासाउन्ड गराउन डाक्टरकोमा लगेको थिएँ । गर्भ जाँचको रिर्पोटले मेरो पहिलो सन्तान छोरो प्राप्तीको आशमा तुषारापात भयो । यही विषयलाई लिएर उनी र म बीच खटपट शुरु भयो । म उनीलाई गर्भपतनको लागि बलजफत गरिरहेको थिएँ । उनी मानिरहेकी थिइनन् । “छोरा र छोरी अहिलेको युगमा समान हुन् । छोरी के कुरामा छोराभन्दा कम छन् ?” उनी यसरी मसँग तर्क गर्द्थिन । फकाउने, धमक्याउने, तर्साउने सबै प्रकारको मेरो प्रयाश विफल हुँदै थियो । म आफ्नो कुरा लागू गर्न चाहान्थेँ । उनी मान्ने पक्षमा थिइनन् । मैले दिएको शारीरिक यातनाबाट पनि उनी डेग चलिनन् । म त्यस बखत जवान भएकोले म भित्र अहंकार, घमण्ड र दंम्भ थियो । साँच्चै भन्नु पर्दा जीवन र जगतलाई मैले यसरी नजिकबाट अनुभव गर्न सकेकै थिइन । अनुभव आर्जन गर्ने मानिस नरम व्यवहारिक हुँदो रहेछ । मेरो योग्यता चिहानमा सुत्ने बाहेक केही रेहेनछ त्यस बखत । अनुभवी मान्छे सानो उमेरमा पनि बुढो हुन्छ भनेको यही हो क्यारे ! छोरा र छोरी जन्माउने कुरामा आमाको कुनै पनि भूमिका रहँदैन भन्ने जान्दाजान्दै पनि म बुझ पचाइरहेको थिएँ । बुझ पचाहालाई सम्झाउन सक्ने कुरा थिएन उनका लागि । म अन्धभक्त भैसकेको थिएँ छोरा प्राप्तीको लागि । साँच्चै म अन्धो मात्र होइन बहिरो पनि भै सकेको थिएँ क्यार ! “लोग्नेको इच्क्षा पूरा गर्नु पत्नी धर्म हो .. ।” भनी उनलाई आमाले धेरै सम्झाउने प्रयास गर्नुभयो । “घरबाट देखिएको रुख झँै ठिङ्ग उभिइ रहिन् । मैले दिएको यातनालाई सहन नसकेर उनले घर त्याग गरिन् । उनी छदँैछिन् यो संसारमा या छैनन् ... । आफ्नो नाता गोतादेखि अन्यत्र धेरै खोजेँ र खोज्दै छु करिब २२ वर्षदेखि ।”

मिलनसार, पारोपकारी, सहयोगी, नम्र स्वभावको यति सज्जन अङ्कल त्यति निर्दयी कसरी हुनुभयो होला ...! म पत्याउन सकिरहेकी थिइनँ । म उहाँलाई धारेहात गर्न पनि सकिरहेकी थिइनँ । छोरा र छोरी प्रतिको विभेदको खाडी मानिसको दिमागमा कहिलेबाट हट्ला ! अङ्कलको चाहना जस्तै सबै पुरुषमा चाह उब्जीरहे यो धर्तीको सम्रचना कस्तो होला ? मथिङ्गलमा उब्जेको प्रश्नले आङ सिरिङ्ग भयो । मलाई अनौठो त्रासले गाँजिरहेको थियो ।

“ अङ्कल .... । अनि तपाइले अर्को विवाह गर्नु भएन ?”

“उनको अनुपस्थितिले म मर्माहत भै सकेको थिएँ । हुँदा सस्तो नहुँदा कस्तो ? भन्ने चरितार्थ ममा लागू भैसकेको थियो । केही वर्ष उनकै खोजीमा बिताएँ । त्यसबीच आमाको दुबै मिर्गाैला खराब भए । डायलसिसमा एक वर्ष बिताएँ । भएकी एउटी आमा बचाउनको लागि भएको घर पनि बिक्री गरी भारतमा लगेर मिर्गौला प्रत्यारोपण गर्दा पनि आमालाई एक वर्ष भन्दा वढी बचाउन सकिनँ । म भित्र पुनः घरजम गर्ने चाह रित्तिसकेको थियो । उनीसँग भेट भए माफ मागेर मुक्ति द्वारलाई खोल्ने उद्देश्यले भाँैतारि रहेको छु र भौतारिँदै छु ।”

“अन्तर हृदयको पवित्र चाहलाई इश्वरले पनि पूरा गरिदिन्छन रे ।” अङ्कलको मरिसकेको शाहसलाइ बौराउने कोशिस गर्दै मैले उहाँलाई पुलुक्क हेरेँ ।

“त्यही आशले त बाँची रहेको छु ।”

उहाँसँग विदा मागेर म जानलाई उठेँ ... । अचानक वायाँ हात टि टेवलमाथी रहेको खाली चियाको गिलासमा ठोक्किन पुग्यो ।

“झ¥याम्म....।” चियाको गिलास भूइँमा बज्रिएर चकनाचुर भयो । मैले आतिँदै अङ्कललाई पुलुक्क हेरेँ । मन एक प्रकारले त्रसित भयो । ह्वात्त भिरबाट खसेझैँ मुटु चिसियो । दिमागमा अनेकौँ शङ्काका काला बादलहरू मडारिन थाले । के भनांैं के गरौं, अक्क न वक्क भै अङ्कललाई एकोहोरो हेरिरहेँ ।

“भैगो छोरी, तिमी कस्ट नगर । म उठाएर फ्याँकाँैला ।” नमिठो मन बोकेर म कोठाबाट बाहिरिएँ ।

गल्तीबाट पाठ सिकेपछि मान्छेले त्यही गल्ती दोहो¥याउँदैन क्यार ! खोलाको भेलले लामो समयसम्म बगाएको ढुङ्गाको आकार फेरिन सक्छ भने मान्छेको मन हो .. । मन र मस्तिष्कको अन्तरद्वन्द चलाउँदै घर पुगेँ । आमाले ढिला हुनुको कारण खोतल्नु भयो । मैले अङ्कलको पीडा जस्ताको तस्तै ओकली दिएँ । आमाको उसैमाको गम्भीर अनुहार झन गम्भीर भएको थियो । उहाँ भावसुन्य देखिनु हुन्थ्यो । “सायद मरुभूमिमा पनि पानीको मुहान फेला पर्न सक्छ भनेको यही होला .... !” आमाको मुखबाट मन्द स्वर बाहिरिएर वातावरणमा विलिन भयो ।
८८८
हाकिम साहब र म आत्तिँदै अस्पताल पुग्यौँ । अङ्कलले चलाएको भेन तेल ट्याङकरसँग ठोकिएछ । अफिस अनुगमनमा आएको हाकिमलाई एयरपोर्ट पु¥याएर फर्कँदा दुर्घटना भएको रहेछ । हामी अस्पताल पुग्दा डाक्टरहरु उहाँको बाँधिएका दाँतलाई उपकरणद्वारा खोल्ने प्रयास गरिरहेका थिए । सायद मुख उघार्नका लागि होला । मलाई देखेपछि उहाँका आँखाहरु मेरो मुहारमा टाँसिएका थिए । दुवै आँखाका पुतली घुमिरहेका थिए ।

अङ्कलको मुहारमा खुसी र सन्तोषको सम्मिश्रणता छाएको थियो । बाडुली लागे झँै गरेर अचानक वहाँको मुख खुल्यो ... । मुखबाट भुलुक्क रगत बाहिरियो । उहाँको छातीबाट आल्ना निकाल्दै डाक्टरले भने–“आइ एम सरी...।”

मैले जीवनमा पहिलोपटक यति नजिकबाट मानिसको मृत्युसँग साक्षात्कार गर्ने मौका पाएकी थिएँ । मन भक्कानिएर आएको थियो । म डाको छोडेर रुन पनि सकिरहेको थिइनँ । हाकिम साहब प्रहरी र डाक्टरसँग गफ गरिरहनु भएको थियो । दिनको एक बजिसकेको थियो । मैले आफ्नो घाँटीमा झुण्डिएको लकेट सँगको सुनको सिक्रीलाई छामेँ ... जुन सिक्री आमामार्फत एक हप्ता अगाडि मैले पाएकी थिएँ । “ड्राइभर अङ्कल तिमीलाई भेट्न आएको थियो, नभेटेपछि तिमीलाई दिनु भनी छाडेर गएको ।” आमाले यसो भन्दै सिक्री दिनुभएको थियो ।

“नलिनु पर्दथ्यो .... किन लिनु भएको ?”

“पर्दैन भनी मैले लाखाँै चेष्टा गरेँ ... ऊ मानेन... । उसको जिद्धिको अगाडि मेरो केही चलेन । मलाई उसले विभिन्न कुरा गरेर गलाइ छाड्यो.....।” आमाको बोलीमा लाचारीपन झल्किरहेको थियो ...। मेरी आमालाई जस्तो तस्तोले गलाउन सक्दैनथ्यो । साँच्चै भन्नुपर्दा ड्राइभर अङ्कलको बोलीमा अपनत्व झल्कन्थ्यो ..। मुखबाट निस्केको वाक्यले सम्मोहन गर्दथ्यो । यस्तो प्रतिभा विरलै मानिसहरुमा पाइन्छ । सिक्री सुम्सुम्याउँदा सुम्सुम्याउँदै आँखाबाट आँसु झर्न थाल्यो । रुमालले आँसु पुछ्दै नजिकैको कुनातिर लागेँ । आमालाई जानकारी गराउन मन लाग्यो । मोवाइलमा नम्बर डायल गरेँ ।

“अँ .. भनत छोरी .. ।” आमाको स्वर कानमा ठोकियो ।

“आमा .....! ड्राइभर अङ्कलको दुर्घटना भएछ ... तेल बोकेको ट्याङकरसँग....।”

“हँ..... के......के अचम्म सुन्नु प¥यो । अहिले कस्तो छ त उसलाई?” आमाको अत्यासपूर्ण स्वर कानमा ठोकियो ।

“अस्पताल पुग्नासाथ उहाँ बित्नु भयो .... । म अस्पतालबाट बोल्दै छु.... ।”

“अचम्म .....।” उताबाट यतिमात्र प्रतिक्रिया आयो ।

“सायद, दाहसंस्कारपछि मात्र घर फर्कन्छु होला । अफिसले नै दाहसंस्कारको व्यवस्था मिलाउनु पर्छ भन्दै हुनुहुन्थ्यो हाकिम साहव ... ।” यति भनेर मैले मोवाइल बन्द गरेँ ।

अङ्कलसँग घरिघरि अफिसमा भेट हुन्थ्यो । भेट हुँदा उहाँको आँखामा आपूmप्रति स्नेहको भाव पलाएको पाउथेँ । उहाँको मायामा अभिभावकत्व झल्केझैँ लाग्दथ्यो । बाबुको स्नेह नपाएकीले मलाई यस्तो लागेको हो कि ? आपूmभित्र उब्जेको प्रश्नको समाधान खोज्दाखोज्दै थाक्दथेँ ।

उता आमाको गम्भीरतामा झन बृद्धि भएझँै लागिरहेको थियो । उहाँ मस्तिष्कभित्र कुनै द्वन्द चलाइरहनु भएझँै भान हुन्थ्यो । उहाँ मेरो अनुपस्थितिमा निकै समयसम्म रुनु भएझैँ लाग्दथ्यो । उहाँका आँखाका डिलहरु सुनिएका देखिन्थे । म सामु पर्दा काममा व्यस्त भएझैँ गरेर मदेखि टाढिने प्रयास गर्नु हुन्थ्यो । मैले उहाँको मन दुख्ने काम गरेको हेक्का हुन सकिरहेको थिएन । केही दिन अगाडिदेखिका पानाहरु पल्टाउन म व्यस्त थिएँ । शुन्यतामा केही खोज्ने मेरा प्रयासहरु विफल भइरहेका थिए । मोवाइलको घण्टीले म वर्तमानमा आइपुगेँ । आमाको फोन रहेछ ।

“छोरी ... । उसले तिमीलाई छोरी जस्तै मानेको थियो । मलामीहरुलाई राम्रो खाजा खुवाउनु । क्रियामा बस्ने मान्छे नहुँदा ब्राहमणले खर्च लिएर गरिदिने चलन छ, सम्भव भए त्यसको पनि व्यवस्था मिलाइ दिनु । आफ्नो ठान्ने र मान्नेका लागि मान्छेले यति त गरिदिनै पर्छ ।” आमाको स्वरमा आदेश होइन अनुरोध झल्किरहेको थियो । सायद उहाँ भित्रभित्रै सुक्सुकाइरहनु भएको थियो क्यार....!

“हवस् आमा... म त्यो व्यवस्था मिलाउने छु ..... अहिलेलाई राखेँ ।”

चिताको आगो दनदन बलिरहेको थियो । आमाले भने बमोजिम साहव र मैले व्यवस्था मिलाइ सकेका थियांै ।

“लीला ... । यो ड्राइभरको पर्स तिमी नै राख है ... ।” हाकिमले अङ्कलको मनिपर्स मलाई दिनुभयो । मैले मनि पर्सलाई ओर्काइफर्काइ हेरेँ । मनिपर्स उघारेर हेर्दा पर्सभित्र एउटा बैबाहिक फोटो रहेछ । मैले त्यो फोटोलाई नियालेर हेरेँ । फोटो हेर्ने बित्तिकै म छाँगाबाट झरेँ । बेहुलाको रुपमा ड्राइभर अङ्कल र बेहुलीको रुपमा मेरी आमा ... । युवा अवस्थाको दुवैको त्यो फोटोले मलाई मर्माहत पारिरहेको थियो । मलाई भाउन्न भएर आयो । फोटो समाएको मेरो हात लगलग काम्न थाल्यो । मेरो आँखा अगाडि फिल्मको पर्दामा देखिएको दृश्यझैँ सवै घटनाहरु आउँदै जाँदै गर्न थाले । मलाई सिक्री दिन आउँदा अङ्कल र आमाको भेट भयो होला । मरुभूमि भैसकेकी मेरी आमाको मनमा अङ्कलको स्नेहले मायाका टुसा उमार्न सकेन होला । अङ्कलको वर्तमान अवस्था त्यही टेन्सनको उपज हुन सक्छ । मेरो दिमागमा चितुवाको गतिमा एउटा विचार दगु¥यो । बलिरहेको चिता नजिक पुगेर मैले अरुहरुको अवलोकन गरेँ । कसैको ध्यान मतिर थिएन । फोटोलाई दन्किरहेको चितामा फ्याँकेर म सन्तोषको स्वास फेर्न थालेँ....। आपूmदेखि लुकाएको भेद बुझेको यथार्थ आमा समक्ष उद्घाटित गरेर उहाँको नजरबाट गिर्ने इच्छा म मा उत्पन्न हुन नसकेको हो वा सत्य उजागरपछि आमामा उत्पन्न हुन सक्ने परिवर्तित रुपको कल्पनाले डराएकी ! आखिर आमा पनि त हिन्दु संस्कारभित्र हुर्केकी महिला न हो .....। हेर्दाहेर्दै निमेश भरमै फोटो खरानीमा परिणत भयो । सत्यलाई उद्घाटित गरेर साइनो उजागर गर्न नचाहने मेरी आमा र खोजी गरिरहेको छोरी भेट्टाउँदा पनि तिमी मेरी छोरी हौ भनेर भन्न नसक्ने लाचार बाबुमा समानान्तर देखिरहेकी थिएँ .. । म दुवैलाई स्याबासी दिन पनि सकिरहेकी थिइन र सराप्न पनि सकिरहेकी थिइन । त्यो समानान्तरमा भरखरै आपूm पनि समाविष्ट हुन पुगेकीमा आफ्नो मनले राम्रो र नराम्रो के गरेँ छुट्याउन सकिरहेको छैन ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 15 माघ, 2075

लेखकका अन्य रचनाहरु