"भाया साक्रा" एउटा विशिष्ट नियात्रासङ्ग्रह

- प्रा.डा.गंगाप्रसाद अधिकारी

‘भाया साक्रा’ यो अनौठो शब्दले तीव्र जिज्ञासा जन्माउँछ – के हो ‘भाया साक्रा ?’
‘भाया साक्रा’ कृष्ण बजगाईंको नियात्रासङ्ग्रह, अनौठो नाम अनि नाम र विषयवस्तुबिच गज्जबको तालमेल, पुस्तकको सुन्दर र अर्थपूर्ण नामको छनोट ।

‘पवित्र बाटो’का प्राचीन रोमेलीहरूको तीर्थयात्रा गर्ने मुख्य सडक रहेछ ‘भाया साक्रा’ । रोमन सम्राट्हरूले रोमका विभिन्न मन्दिरको यात्राका लागि बनाएका भव्य र कलात्मक बाटालाई भनिँदोरहेछ ‘भाया साक्रा’ । बजगाईंले यही अर्थमा आफ्ना एक्काइसवटा ऐतिहासिक–पुरातात्विक ठाउँको भ्रमणका सम्झनाहरूको सङ्ग्रहलाई ‘भाया साक्रा’ नाम दिएका रहेछन् । ती सबै भ्रमण तीर्थायात्रासमान छन् त्यसैले सबै मार्गहरू ‘भाया साक्रा’ हुन् ।

प्रसिद्ध साहित्यस्रष्टा, वैज्ञानिक, अभिनेता, योद्धा, सङ्गीतज्ञहरुका स्मारक र सङ्ग्रहालयहरू, अचम्मका मानवनिर्मित कलाकृतिहरू र प्रकृतिरचित भयावह ताण्डवका स्मृतिचित्रहरूको अवलोकनबाट आर्जित ज्ञान र अनुभव स्रष्टाले पाठकलाई समर्पित गरेका छन् ‘भाया साक्रा’ मा । त्यसैले ‘भाया साक्रा’ स्रष्टा र पाठकका लागि त्यो अलभ्य ज्ञान र अनुभवसम्म पुग्ने ‘पवित्र बाटो’ नै हो ।

नियात्रामा यात्रास्थल जति गहकिलो र दर्शनीय हुन्छ त्यसबारेको संस्मरण पनि त्यतिकै गहकिलो हुन्छ । ‘भाया साक्रा’का यात्रास्थल त्यस्तै कौतुकमय, रोमाञ्चक, रहस्यपूर्ण र गरिमामय छन् । कुनै मानवनिर्मित, कुनै प्रकृतिरचित र कुनै परम्पराले सृजना गरेका यस्ता विश्वप्रसिद्ध स्थानहरूको भ्रमण निकै गर्विलो छ ।

न्युटनको जन्मघर, बगैंचा, पृथ्वीको गुरुत्वाकर्षण शक्ति पत्ता लगाउन न्युटनलाई उक्साउने स्याउको रुख र उनको स्मारक, डार्बिनको निवास, छेवैको बगैंचाको उनको प्रयोगशाला र स्मारक देख्न, घुम्न र सुम्सुम्याउन पाउनु अनि कथा जस्तो लाग्ने त्यो न्युटनको बगैंचाको च्वाँठ अमिलो स्याउ चाख्न पाउनु कति रोमाञ्चक अनुभूति होला ?

बजगाईंले भ्रमण गरेका विश्वप्रसिद्ध साहित्यकारहरू बर्नार्ड श, डिकेन्स, डाह्ल, अस्टिनहरूका महत्वपूर्ण स्मारक र सङ्ग्रहालयहरू, नेपोलियनले ऐतिहासिक पराजय भोगेको स्थल वाटरलु र त्यहाँको युद्धसम्बन्धी स्मारक, विश्वप्रसिद्ध हास्य अभिनेता चार्ली च्यापलिन हुर्केको घर दर्शनीय ऐतिहासिक धरोहर हुन् । अर्को अचम्मको ठाउँ शर्लक होम्सको स्मारक र म्युजियम, आख्यानकार आर्थर डोयलको आख्यानको एउटा काल्पनिक पात्र होम्स जो लेखक डोयललाई छायामा पारेर आफू विश्वप्रसिद्ध बनेको छ । डिफोको रबिन्सन क्रुसोभन्दा पनि शक्तिशाली र लोकप्रिय त्यस काल्पनिक व्यक्तिको ‘डेरा’ को बखान गज्जबलाग्दो छ ।

अन्य गन्तव्य पनि कुनै ऐतिहासिक, कुनै प्राकृतिक र कुनै मानवनिर्मित अचम्मका, रोचक र कलापूर्ण छन् । विश्वप्रसिद्ध स्पिकर्स कर्नर, स्टोनहेन्ज, बेलायती मन्दिर, फ्लान्दर्सको मैदान, ब्रसेल्सका विशाल अटोमियम, पिसा टावर, संसारकै सबैभन्दा सानो देश भ्याटिकन सिटी, प्राचीन रोमेली देवीहरूको मन्दिर, नेपल्सको ज्वालामुखी, डेथट्रयाप, प्राचीन रोम नगर, लेखकले गरेको चरीचुच्चे रेलको ब्रसेल्सको यात्रा पनि उस्तै रोमाञ्चक छ ।

न्युटनको जन्मघर, बोटबाट स्याउदाना भुइँतिर खस्दा उनले पृथ्वीको गुरुत्वाकर्षण शक्तिबारे घोत्लिने प्रेरणा पाएको त्यो बगैंचामा सशरीर भ्रमण पहँुच नपुग्नेका लागि कल्पनालोक हो । त्यही बगैंचामा पुगेर च्वाँठ अमिलै सही, त्यही बोटमा फलेको स्याउदाना टोक्न पाउनु कस्तो सौभाग्य π अनि त्यही अनुभव पाठकमा दुरुस्त पस्कने लेखन कला पनि जीवन्त छ ।
‘भाया साक्रा’का हरेक नियात्रा वर्णनको यस्तै कलाले उज्यालिएका छन्; बेजोड छन् । इतिहासमा पढिएका कलासाहित्य र राजनीति क्षेत्रका अमर पात्रहरू अनि काल्पनिक चरित्रका समेत स्मारक र सङ्ग्रहालय पुगेर तिनलाई नजिकैबाट नियाल्नु, सुम्सुम्याउनु र त्यसलाई त्यतिकै कलात्मकतासाथ प्रस्तुत गर्नु साँच्चै ईष्र्यायोग्य छ ।

पुस्तकको मुख्य आकर्षण लेखकले यात्रामा गरेको विस्मयकारी अनुभूति हो । संसारलाई आफ्नो अभिनयकलाले हँसाएर हुरुक्कै पार्ने प्रसिद्ध हास्य अभिनेता चार्ली च्यापलिनको निजी जीवनको करुण कथा त आँसुकै अक्षर झैं छ । वाटरलुको लडाईंमा भएको नेपोलियनको पराजयको त्रासदी र रोमाञ्चकारी नियात्रा पढ्दा पाठक उहीँ पुग्दछन् । इतिहासपुरुषका उस्तै अद्भुत कथाले मनै फुरुङ्ङ हुन्छ । बर्नार्ड शको विपन्न जीवनमा सम्पन्न महिला सार्लोटसँगको विवाहले ल्याइदिएको वैभवको कुराको वर्णन गजबलाग्दो छ ।
यात्रामा मनपरेका कुराले पाठकलाई तान्नु स्वाभाविकै हो तर बित्थैंमा आइएछ भन्ने लागेको ‘स्टोनहेन्ज’ को वर्णनले झन् आश्चर्यमा डुबाउँछ । कम्प्युटर स्क्रिन र गुगलम्यापमा देखिने स्टोनहेन्जको कहिल्यै समाधान नहुने रहस्य कति विस्मयकारी कुनै कलात्मकता र आकर्षण नभएको स्टोनहेन्ज आफैंमा अद्भुत आश्चर्य हो । केटाकेटीको भाँडाकुटीको घर जस्तोे त्यो बिकामे र प्रयोजनहीन संरचना कसले र किन बनायो होला अनि नौ मिटर अग्ला र बिस टन ओजन भएका त्यत्रा बडेमानका ढुङ्गा कसरी कुन शक्तिले कहाँबाट बोकिल्यायो होला ? विश्वलाई नै चकित पार्ने यो संरचना हेर्दा जति सामान्य र केटाकेटीको खेल जस्तो छ यसको रहस्यबारेको जिज्ञासा उत्तिकै सनसनीपूर्ण छ ।

कुनै स्रोत र साधन नभएको त्यस युगको त्यो संरचना कुनै दैत्य वा जादुगरको करामत मान्ने एक थरी र अर्का थरी वैज्ञानिक हौं भन्नेहरू पनि अहिलेसम्म कसैले नदेखेका अर्को ग्रहका एलियनहरूको करामत हो भन्ने अन्धविश्वासमै रहेको यो कस्तो चाहिँ रहस्य हो ? हाम्रा दन्त्यकथामा आउने यामानका राक्षसहरूका छोराछोरीको भाँडाकुटी खेल त होइन यो ? कि जोनाथन स्विफ्टको गुलिभरको कथा ?

बेल्जियमको राजधानी ब्रसेल्समा रहेका नौवटा अचम्मका फलामे डल्ला अझ अद्भुत रसकै डल्ला लाग्छन् । स्टोनहेन्जको रचनाको रहस्य अज्ञात भए पनि सन् १९५८ मा मानवनिर्मित यी अद्भुत नौ वटा डल्लालाई चाहिँ अटोमियम भनिँदोरहेछ । मानिसलाई अचम्ममा पार्ने गरी मानिसले नै बनाएको यो कस्तो अद्भुत गन्तव्य अनि निर्माण हुनासाथै ढल्केको इटलीको पिसा टावर नि हाम्रो एउटा सानो गाउँ जत्रो मात्रै विश्वकै सबैभन्दा सानो देश भ्याटिकन सिटी इटलीकै नेपल्सको ज्वालामुखी र रोम सहरको पुरानो अन्डाकारको एम्फिथिएटर कोलोसियम सबै आश्चर्यमय सबै कौतुकमय लाग्छन् ।

नियात्रा आश्चर्यलाग्दा, रोमाञ्चक र कुतूहलपूर्ण विषयकै विधा हो । त्यसमा पनि ‘भाया साक्रा’ त यस्ता विषयको पुञ्ज नै हो । अझ वर्णनकलाले त्यसको आद्भुतिकता झन् चमत्कारी बनेको छ । पुस्तकको नामको आकर्षणसँगै वर्णित विषयको आद्भुतिकता र स्रष्टाको वर्णनकौशलले पाठकलाई अभिभूत पार्छ ।

यात्राक्रममा बाटाका दृश्यहरूबारे भने एकदुईबाहेकका रचनाले केही बोलेका छैनन् । करिव एकसय किलोमिटर टाढा तुफानी दौडपछि ‘द होम अफ डार्बिन’ लेखेको गेटमा पुगेपछि नेभिगेटरले गन्तव्यमा पुगेको जनाउ दियो (पृ.१९) । एकसय किलोमिटर लामो यात्राको सन्दर्भ एउटै वाक्यमा ? यात्रासंस्मरणमा यात्राकै सन्दर्भ यसरी एकै वाक्यमा खुम्चिनु ? यात्रासंस्मरणकारले आफैं ‘कार’ चाहिँ चलाउन नहुने नै रहेछ, आफैं चालक भएपछि ध्यान कहाँ बाटावरिपरि घुम्न पाउँदो रहेछ र ?

तर यसको क्षतिपूर्ति पनि भएको छ गन्तव्यस्थलको ऐतिहासिक नालीबेलीबाट । सबै संस्मरणमा भ्रमणस्थलबारेको नालीबेली दिइएको छ । यसबाट हामी स्रष्टाका भ्रमणअनुभूतिसँग तदाकार हुन अनि त्यसको ऐतिहासिक र अन्य परिप्रेक्ष्यको समेत ज्ञान प्राप्त गर्न पाउँछौं । सबै संस्मरणमा गन्तव्यस्थलको नालीबेली दिइएको छ । यो ‘भाया साक्रा’ को विशेष पक्ष हो र यो यसको सबल पक्ष पनि हो ।

पुस्तक पढ्दा लाग्छ नियात्राकार इतिहासज्ञ, भूगर्भविद्, रसायनशास्त्री, भौतिकशास्त्री सबै हुन् । संसारकै यावत् ज्ञानको भण्डार छ उनीभित्र । त्यसैले उनी घुमेका ठाउँको यात्रानुभूतिसँगै त्यसबारेको नालीबेली दिन्छन् पुस्तकमा । गन्तव्यस्थलको अवलोकनले मात्र बजगाईंको चित्त बुझ्दैन र उनी त्यसबारे अनेक स्रोतको प्रयोग गरेर बुझिछाड्छन् र त्यो ज्ञान पाठकलाई भाग लगाउँछन् । नेपल्सको भोल्क्यानोबारेको यो वर्णन हेरौं ः
पृथ्वीको सतहमुनिको ऊर्जा अर्थात् जियोथर्मल इनर्जीका कारण चट्टान पग्लेर तरल र ग्याससम्मको अवस्थामा पुग्दछ । पृथ्वीको सतहमुनि पग्लिएर रहेको चट्टानलाई म्याग्मा भनिन्छ । अत्यन्त तातो म्याग्माले दबाव उत्पन्न गर्दछ र त्यो माथि आउने प्रयास गर्दछ । म्याग्मा बाहिर निस्कँदा पृथ्वीको माथिल्लो सतह फाट्छ । मुनिबाट आउने अत्यधिक दबावका कारण म्याग्मा विष्फोटक तरिकाले बाहिर निस्कन पुग्छ ।
यो पढ्दा यात्रासंस्मरण होइन भूगर्भविषयक कुनै पाठ्यपुस्तक पढेजस्तो लाग्छ ।

युरोपका हरेक भ्रमणसँगै बजगाईं नेपाललाई सम्झिहाल्छन् । नेपालमा पनि यस्तै भइदिए कस्तो हुन्थ्यो भन्ने सोच सबैतिर आएको छ । युरोपका प्रसिद्ध साहित्यस्रष्टा, वीर पुरुषहरूका जस्तै सङ्ग्रहालय हाम्रा साहित्यकार र राष्ट्रसेवी वीरहरूका पनि बन्न पाएको भए ? त्यसले आउने पुस्तालाई कति प्रेरित गथ्र्योहो ? स्रष्टा यस्ता विषयमा पनि निकै चिन्तित छन् । आफ्नो मुलुक कहिले यो अवस्थामा पुग्ला या नपुग्ला ?

गन्तव्यको कोरा वर्णनभन्दा पनि गन्तव्यको नालीबेली नै दिने ‘भाया साक्रा’को शैली विशिष्ट छ । ‘भाया साक्रा’ ऐतिहासिक महत्वका, अनौठा र प्रेरणादायी गन्तव्य रोजेर गरिएको यात्राबाट प्राप्त अनुभूति, गन्तव्यबारेको ज्ञान र रहस्यको त्रिवेणी बनेको छ र यसै कारण यो अलि पृथक् स्वादको पनि बनेको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 29 मङ्गसीर, 2075

लेखकका अन्य रचनाहरु