भारतीय नेपाली साहित्यको विश्लेषणात्मक इतिहास

- दीपक सुवेदी

साहित्य कुनै पनि जाति वा भाषाभाषी विशेषको सभ्यताको परिचायक हुन्छ । कुनै पनि जातिले बोल्ने भाषामा साहित्यको भण्डार जति बढी हुन्छ त्यो जाति त्यति नै सभ्य मानिन्छ । भारतीय नेपाली साहित्यको सन्दर्भमा हेर्ने हो भने संस्कृतकालदेखि लिएर आजपर्यन्त निरन्तर रुपमा युग अनुरुप साहित्यको सिर्जना हुँदै आएको छ । यस कालखण्डमा के कति सर्जक र सिर्जना आए यसको ऐतिहासिक तथ्यपूर्ण सामग्री शोध ग्रन्थका रुपमा डा.गोमादेवी शर्माको भारतीय नेपाली साहित्यको विश्लेषणात्मक इतिहास प्रकाशित भएकोछ ।
नेपाली साहित्य सम्बन्धि धेरैजसो इतिहास नेपालबाटै लेखिएका छन् । ती लेखिएका कतिपय इतिहासमा लेखकहरु माझ प्रतिस्पर्दा वा विरोधभास पनि फेला परेका छन् । जति लेखिए भारतीय नेपाली साहित्यको सम्बन्धमा, वाराणसीतिरको केही बढी साहित्यिक गतिविधिको उल्लेख पाउनु स्वभाविकै हो । कारण धेरैजसो अग्रज नेपाली स्रष्टाले आफ्नो साहित्यिक साधनाको केन्द्र वाराणसीलाई नै बनाएका थिए र मानेका पनि छन् । ती इतिहासमा दार्जिलिङ वा सिक्किमका केही कृतिहरु र स्रष्टाहरु पनि समावेश गरिएका छन् साथमा भारतको पश्चिमाञ्चल देहरादूनतिरका पत्रपत्रिकाको योगदान पनि उल्लेख गरिएको पाइन्छ । तर पूर्वोत्तर भारतको नेपाली साहित्यको गतिविधि एकदमै नगण्य मात्रामा मात्रै बैज्ञानिक रुपमा खोज अनुसन्धान गरिएको पाइन्छ । त्यहाँदेखि काठमाण्डौँसम्म आइपुगेका, पढिएका वा यहीँबाट प्रकाशनमा आएका केही कृति तथा स्रष्टाहरुको इतिहास लेखकहरुले फेला पारेका होलान् । तर कतिपयको त आजसम्मको इतिहासमा लेखिएकै थिएन । पछिल्लो समयमा पूर्वोत्तर भारतीय नेपाली र साहित्यिक गतिविधि सम्बन्धि धेरै तथ्याङ्क र विश्लेषण डा.गोमादेवी शर्माको भारतीय नेपाली साहित्यको विश्लेषणात्मक इतिहासमा छन् ।
जुनसुकै जातिको होस्, यसै पनि भाषा र साहित्य एकातिर अति सम्वेदनशील र हृदयस्पर्शी कुरा हुन् भने अर्कातिर कठिन विषयवस्तु पनि हुन् । यिनको न सर्वमान्य परिभाषा दिन सकिन्छ न व्याख्या नै गरेर साध्य छ । भाषा साहित्यको इतिहास क्रम, विकासको इतिहास होस्, चाहे त्यो जुनसुकै जातिको किन नहोस् । साहित्य व्यक्ति, समाज तथा राष्ट्रिय चेतनाबोधको परिवर्तन एवं विकाससितै विकास हुँदै जान्छ । त्यसैले साहित्य सधैँ एकनास रहँदैन । साहित्यको इतिहास गतिशील तथा परिवर्तनको इतिहास हो जसको लेखन कार्य गर्नभने सहज पनि छैन ।
यो ग्रन्थ मुख्य रूपमा आठवटा अध्यायहरूमा बाँडिएको छ । पहिलो अध्यायमा इतिहासको सैद्धान्तिक परिचय, दोस्रो अध्यायमा नेपाली भाषाको उद्भव र विकासका साथै भारतमा गोर्खालीहरू आएका भन्ने प्रश्नमाथि विमर्श, नेपाली समाज र भारत, अहिलेसम्म गरिएका कार्यको विवरण आदि उल्लेख गरिएको छ भने तेस्रो अध्यायमा भारतीय नेपाली साहित्यको काल विभाजन र नामकरण छ । चौथो अध्यायमा प्रारम्भिककाल, पाँचौँ अध्यायमा भक्तिकाल, छैठौँ अध्यायमा मोतीराम युग, सातौँ अध्यायमा आधुनिककाल अन्तर्गत नवजागरणकाल, स्वच्छन्दतावादी युग, आयामिक आन्दोलनकाल र नवलेखनकालमा विभाजित गरिएको छ । प्रत्येक कालखण्डमा तत्कालीन साहित्यलाई प्रभावित पार्ने देशका सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक आदि परिस्थितिहरूको विश्लेषण, अन्य भारतीय साहित्यसँग तुलना, गद्य र पद्य दुवै साहित्यका प्रमुख प्रवृत्तिको विश्लेषण र कालविशेषको साहित्यको विकास गर्ने पत्रपत्रिकाहरूका साथै स्रष्टाहरुको परिचय समेत दिइएको छ । लामो समयदेखि नेपाली साहित्यको प्रकाशनमा समर्पित गोर्खा ज्योति प्रकाशन, मणिपुरले यो पुस्तक प्रकाशन गरेको ६ सय २४ पृष्ठको रहेकोछ ।
नेपाली भाषाको उद्भव इसाको नवम, दसौँ शताब्दी मानिन्छ र यसको प्राचीनतम नमूना सन् ९८१ मा दुल्लुका राजा दामुपालको शिलालेखमा प्राप्त छ । पुस्तकाकार रुपमा यस भाषामा लिखित यथाप्राप्त ग्रन्थ भास्वती हो जो सन् १४०० मा लेखिएको हो । आजसम्मको यात्रावधिमा नेपाली भाषाले थुप्रै नाम र कृतिहरु प्राप्त गर्यो । यसै क्रममा भारतीय नेपाली साहित्यको शुरुवात सन् १७४४ मा रघुनाथ भाटको पद्य रचनाबाट प्रारम्भ भएरदेखि हालसम्म भारतीय नेपाली साहित्यको मूल्याङ्कन समग्र नेपाली साहित्यसँगै हुँदै आएको छ । भारतीय नेपाली लिपिबद्ध साहित्यको थालनी भने सन् १८९३ मा मणिपुरबाट लेन्सनायक तुलाचन आलेको मणिपुरको लडाइँको सवाईबाट भएको र नेपाली साहित्यको विशाल आकार खडा गर्न भारतीय नेपाली साहित्यको विशेष भूमिका रहँदै आएको छ । बनारसबाट मोतीराम भट्टले नै गोर्खा भारत जीवन नामक पत्रिका (१८८७) प्रकाशन गरेर नेपाली साहित्यलाई मुद्रणको दुनियाँमा प्रवेश गराएका थिए भनेर गोमाले पुस्तकमा तर्क सहित उल्लेख गरेकीछन् ।
एउटै रचनाकार कहिले दुबै देशको साझा सम्पति बनेर उभिन्छन् । जसबाट पानीमा ओर्लंदा त्यसको गहिराई र भित्रका अप्ठयाराहरुको आभास गोमाले लेखनका क्रममा अनुभव गरेकीछन् । यस अवस्थामा समग्र नेपाली साहित्यमा सीमारेखा कोरेर डा.गोमादेवीले कसरी यसलाई छुट्टै भारतीय नेपाली साहित्यको इतिहासको रुपमा उभ्याउँछिन् होला ? पुस्तक अध्ययन गर्दै जाँदा हरेक पाठकको मनमा प्रश्न उठ्छ । जसमा जन्मलाई प्राथमिकता न दिएर भारत भूमिमा सिर्जना भएको साहित्यलाई भारतीय नेपाली साहित्य र सर्जकहरुलाई भारतीय नेपाली साहित्यका निर्माताका रुपमा स्थान दिएर इतिहास लेखनमा डा.गोमादेवीले माध्य मार्ग अपनाएकीछन् ।
भारतीय नेपाली साहित्यको विश्लेषणात्मक इतिहासमा डा.गोमादेवी शर्माले नेपाली भाषाको भाषा वैज्ञानिक परिचय, भारतमा गोर्खालीहरु नेपालबाट आएका हुन् भन्ने प्रश्नप्रति तार्किक दृष्टिकोण, समग्र नेपाली साहित्यको संकेत, भारतीय नेपाली साहित्यको पृष्ठभूमि आदिको चर्चा गर्दै पूर्वाग्रह रहित भएर तटस्थ भावले काल विभाजन र नामकरणको आधारमा भारतीय नेपाली साहित्यको विश्लेषणात्मक अध्ययन गर्ने प्रयास गरेकिछन् । जुन प्रयास प्रशंसनीय देखिन्छ ।
लीलबहादुर क्षेत्री भन्छन्– ‘मलाई एउटा अगाध सागरको तटमा उभिएर सागरको तटतिर एक विहंगम दृष्टि फ्याँकेको अनुभव भइरहेको छ । एउटा केही देखिँदैन । फेद टुप्पोको टुंगो छैन । अनन्त सागरसित पर क्षितिजमा आकाश मिलेको देखिन्छ । अनन्त जलराशिमा सूर्यका किरण प्रतिबिम्बित भएकाले आँखा तिरमिराउँछन् । यस्तो अनन्त सागरमा म पौडन नजान्ने व्यक्तिले कता हाम्फाल्नु ? तटको कुन छेउबाट जल तरङ्गमा पाइला टेक्नु ? जलमा पाइला चोपलेर मात्र हुन्छ ? सागरको अविराम चलेको ढेउमाझ पाइला अड्याउन सक्नुप¥यो । ढेउसितै आफू उचालिन सक्नु प¥र्यो । अहँ म सक्तिन । बरु यस्तो अनन्त सागर छिचोल्ने प्रयास गोमाले गरेकीछिन् ।’ भारतीय परिप्रेक्ष्यमा केही इतिहास ग्रन्थहरु लेखिए तापनि बैज्ञानिक पद्दति अपनाउँदै समग्र विधालाई समावेश गरेर लेखिएको विश्लेषणात्मक इतिहास भने यो पहिलो भएको दावी डा.सीताराम अधिकारीले पनि गरेका छन् ।
अनुसन्धान नियन्त्रित हुन्छ । ज्ञानका विभिन्न विधाहरु आ–आफ्ना विषयवस्तुमा फरक हुन सक्छन्, जस्तै–भाषा, साहित्य, समाजशास्त्र, विज्ञान, गणित आदि । तर ती सबैले अंगाल्ने अनुसन्धानको लक्ष्य भने एउटै हुन्छ । त्यस लक्ष्यप्रातिमा फरक फरक पद्धतिहरु अपनाइन्छन् । कुनै विषयको अनुसन्धान गुणात्मक पद्धतिबाट गरिन्छ भने कुनैको मात्रात्मक पद्धतिबाट । यो अनुसन्धानमा व्यक्तिगत धारण, विश्वास र मान्यताको प्रभावमा नरही डा. गोमादेवी शर्माले प्रष्ट, तार्किक, संक्षिप्त र एकार्थक भाषाको प्रयोग गर्दै दोस्रो पद्धतिलाई बढी अवलम्बन गरेकी छन् ।
आफ्नो जन्मभूमि र कर्मभूमि मणिपुर नै भएकी डा.गोमादेवी शर्माको यो पुस्तकले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गरेको छ । वर्तमानमा अमेरिका, बेलायत, जापान, मलेसिया, हङ्कङ लगायत विश्वका प्रायः जसो सबै देशमा नेपाली साहित्यको सिर्जना गरिन्छ । सबैको अखण्ड स्वरुप नै समग्र नेपाली साहित्य हो । समग्र नेपाली साहित्य एउटा छाता हो र भारतीय नेपाली साहित्य त्यस छाताभित्र पर्ने एउटा घटक हो । यस घटकको छुट्टै वैज्ञानिक अभिलेखीकरण गर्ने जमर्को गर्नु चानचुने कुरा होइन । भाषा र साहित्यको अनुसन्धान जगतमा लाग्नेहरुका लागि डा.गोमादेवी शर्माको यो अठोट, आँट, धैर्य र लगानी उपयोगी छ ।

गौरादह, झापा, नेपाल

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 29 मङ्गसीर, 2075

लेखकका अन्य रचनाहरु