प्रकृतिको आँगन

- भेषराज रिजाल

एक्लै हिँड्नुमा पनि बडो आनन्द रहेछ । र त, प्रकृतिसँग सम्वाद गर्दै हिँडिरहन चाहन्छु म युगौँयुग ।
सम्बत् २०७५ साल भदौ दोस्रोसाता नवलपुरको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयबाट निस्केर छिपेनी टोलतिर सोझिँदा आफैसँग बोलेथेँ म ।
प्रकृतिको आँगनमा निस्कँदा खेतको हरियो उज्यालोले चङ्गिएथेँ । धानको पातमा छोइएको आकास देखेर मुग्ध भएथेँ । कुलोको पानीको मधुरो कलकल, तेजिलो बहाव र सङ्लो लहरसँग सङ्लिएथेँ । त्यही सङ्लो पानीमा पखालिन आइपुगेथे चकचके चरीहरू पनि ।
कयौँ बिगाहामा लडिरहेथ्यो उखुबारी । गुलियो चाख्न नपाएको छेवैको गाउँ भने युगीन उदासी झोक्राइरहेथ्यो । दुब्लो अनुहारभित्र खुम्चिएका मान्छेहरू कुदिरहेथे आफ्नै धुनमा । गरिबीले चुसेको युवाशक्ति र अभावले निचोरेको गाउँको अनुहार देखेर पिरोलिएथेँ म पनि ।
वरचुली माविको आँगनबाट वरचुली खोजेथेँ मैले ।
अहिले कुहिरोले छोपिएको छ वरचुली, टाउकोमा घाँसको मुठो बोकेका विकराम महतोको जवाफ सुनिएथ्यो ।
गाउँघरबारे सोध्दा घोँगी बटुलेर फर्केका थरुनीहरू यसरी लजाएथे, मानौँ मैले उनीहरूसँग वैँशालु जोबनै मागेको थिएँ । तिनका गुलाबी ओठबाट शब्द नफुस्किए पनि मिनाक्षी आँखाको मोहनीमा डुबेथेँ म । राम्रो हुन गोरै हुनुपर्छ भन्नेहरूलाई नाजवाफ बनाइरहेथ्यो तिनको कल्साउँदो रुपरङ ।
एउटा गर्वले भने ठडिएथ्यो शिर– गाउँ सम्पन्नतासँग सम्झौता गर्ला तर इमानसँग छलिन खोज्दैन । गाउँले इमान र सरल जीवन शैलीले तानिरहेथ्यो मलाई ।
बाख्रा चराइरहेकी दिदीले गैँडाले माडेको धान देखाउँदै भनिथिन्– उखुबारीभित्र पनि बस्छ गैँडा ।
उस्तै थियो मनिराज चौधरीको व्यथा– कलिलो धान गैँडाले चर्छ । दुध पसे बँदेलले चुस्छ । बाला लागे चरा मुसाले लुछ्‍छ । बचेको बल्ल किसानलाई ।
किसानको बालीमा अरूको पनि रजाइँ चल्छ कि ? मनले सोधेको प्रश्न ओठले फुस्काउन सकेन मनिराजहरूसँग । तब, बनाबटी मुस्कानले ओठ टालेर बेपत्ता भागेथेँ म ।
फाँटैफाँट कुद्दा आँकका फुस्रा पातमा ओखती देखेथेँ । लज्जावतीका वैजनी फूलमा बुटी देखेथेँ । दुबोका मुन्टामा जीवन भेटेथेँ । हिँड्दा खुट्टा दुखे पनि देखेथेँ बाटोको फराकिलो छाती । तातो पसिनामा मन चोबलिए पनि झन् सुन्दर देखेथेँ विविधताले भरिएको प्रकृतिको आँगन ।
पराले टौवाको अनुहारमा झुल्किएथ्यो पिप्रहरगाउँ । गोठमा भैँसी थिए र पिँढीमा बाख्रापाठा । गर्मी सहेर उग्राइरहेथे गाईबाच्छा । आँखामा बसेथे सुन्दर घरआँगन । ती घरआँगनमा रमाइरहेथे केटाकेटी । मलाई लागेथ्यो– स्वर्ग कतै हुन्छ भने यही धर्तीमा छ त्यो !
पिप्रहरका होमस्टे र होटल रिसोर्ट आँखामा बस्न खोजिरहेथे । धर्तीका अनेक रूप नियाल्दै मन फुकाएर दगुर्न चाहन्थेँ म पनि । मन फुकाएर मात्रै के गर्नु समयले बाँधिएपछि ? आशाको बेलुनमा बल गरीगरी भर्न खोज्दैथिएँ रित्तो मनका उडन्ते रहरहरू ।
विषादीले निलेका विशाल फाँटलाई अर्गानिक खेतीले हराभरा पार्न पाए ! किसानले पसिनाको मूल्य पाउने पद्धति बसाल्न पाए ! कति मग्मगाउँदो हो यो माटोको सुगन्ध ? मनमा खेलिरहेथे अनेक तर्कना ।
उल्टै बाँझै देखिए केही फाँटरू । जहाँ पुगे पनि मान्छेले माटोको माया मानेको देखिएन । जमिन टुक्र्यायो । सडकछेउमा एउटा झुप्रो ठड्यायो । चिया, चाउचाउ, चुरोट, रक्सी आदिको व्यापार गर्‍यो । कति सुख चाहिएको हो मान्छेलाई ? मान्छेको सामुन्ने मरुभूमितुल्य लडेको विशाल फाँट देखेर रन्थनिन्छु म ।
म गैह्री झर्दा गर्मी ओर्लिरहेथ्यो धर्ती चुम्न । सिमलका विशाल रुखले आकासमै पुगेर छल्न खोज्दैथिए भदौरे घाम । झुप्रे बस्तीले भने खरका झुप्राबाटै लोप्पा चखाइरहेथे गर्मीलाई । झुप्राको शीतलले लोभिएथ्यो मन ।
सिमलो जमिनको झाडीभित्र गुञ्जिरहेथ्यो चराहरूको चिरबिर । फुलेको काँसघारीको बीचोबीच सुहाइरहेथ्यो पटेराको कालो घोगा । मान्छेले आवादी गर्न नसकेको जमिनमा हुर्केका बोटविरुवामा नजर लगाउँदा नारायणीनदी पो भेटिएथ्यो ।
म आश्चर्यचकित भएर हेरेथेँ नारायणीको जलप्रवाह । भदौरे घाम र हरियो छाया घोलेर बगिरहेथ्यो नारायणी । आफैसँग सोधेथेँ– सधैँ धाएर किन आउँछु म नारायणी किनार ? नारायणी देख्दा किन छचल्किन्छन् मभित्र खुसीका हजार छालहरू ?
मनको अनेक जवाफले पुलकित हुँदै सिमसार समितिले बनाएको सत्तलछेउमा पुगेर नारायणीलाई अञ्जुलिभर उठाएथेँ मैले ।
म बाटो लाग्दा एउटा भङ्गालोले पछ्याइरहेथ्यो मलाई । गैँडा र गोहीको भय मुटुभित्र दबाएर बर्खेभेलमा बगेको नदी प्रवाहतिरै हिँडिरहेथेँ म । दुईचारपाइला नदीसँगै बरालिँदा पनि कति शीतल भएको हृदय ! नदी किनारको एकझोक्का हावाले छुँदा पनि कति सरस भएको मन !
एकलास वनमा एक्लै हिँड्दा शरीरमा काँडा उम्रिएथे मेरा । गैँडाको दिशा र पदचिन्ह देखेर झन् गह्रुङ्गो भएथ्यो पाइलो । गतिले अवरोध छिचोल्नुपर्नेमा अवरोधको भुमरीमै फसिरहेथ्यो मेरो गति । केहीक्षणको निर्जनताले सातो लिएथ्यो मेरो । दिन बिग्रे अचानक गैँडा निस्कन्छ भन्ने माझी बहिनीको भनाइले कतै घोचिरहेथ्यो चसचसी । हरेक आकार र आकृतिले तरङ्ति हुनछोडेको थिएन मन ।
नारायणी भने निर्भयले बगिरहेथ्यो आफ्नै गतिमा ।
घाँस काट्ने मान्छेहरू देख्दा बिर्सिएको डर ढुकुरको विरहले फेरि जगाएथ्यो । जब विरह उर्लेर आउँथ्यो मनमा, तब भङ्गालोको बर्खेभेल मैतिर उर्लेर बगेझैँ लाग्थ्यो ।
पिँढीको डिलमा बसेर माछा मार्ने जाल बुन्दैथिइन् बूढीआमै । दुनियाँले अरूलाई सखाप पार्न महाजाल बुनिरहेछ । अरूलाई फसाउन गौँडैपिच्छे बथान बसिरहेछ जमाना । नफसी सुखै छैन– लिसोबाट फुत्के पासोमा, पासोबाट फुत्के लिसोमा । यस्तो दुनियाँमा निर्वाहको हातेजाल बुन्ने बूढीआमैलाई दोषी देख्न सकिनँ मैले । बुढेसकालमा समेत शान्तिको सास फेर्न नपाएकी बूढीआमैको अनुहारमा मुलुकको असली दर्पण झल्किरहेथ्यो । उनको मुहारको मुजामा देखिन्थे अनुभवका अनगिन्ति रेखाहरू ।
नदीपट्टि पिठ्युँ फर्काएर हैबडखोलामा भैँसी आहाल बसालिरहेथे विकराम खोजवार । आफुभन्दा ठूलो जाल बोकेर हिँडिरहेथ्यो एउटा केटो । मोटरसाइकललाई अलपत्र पारेर झाडीभित्र छिरेका जोडीलाई पनि डरै थिएन । तब सोचेथेँ– व्यर्थै डराएँछु म ।
संसारेडाँडाको घेरो हेरेर नवलपुर छुट्ट्याएथेँ मैले । बोटेटोलको पुछारमा निस्कँदा मधेश झर्न हतारिएका डाँडासँग ठोक्किएथे मेरा नजर । शीतल जल बोकर मलाई खोज्दै आइपुगेथ्यो नारायणी । दृश्यसँग घोलिएर आइरहेको नारायणीसँग घोलिएथेँ म पनि । धमिलिए पनि भुमरी र लहरमा टल्किरहेथ्यो त्यो । त्यसको जीवन्त चलमलाहटसँग छोइएका तरङ्गले कम्पित भएथेँ म ।
नारायणीमाथिको बादल बर्सन खोज्दैथियो । हृदय छटपटिँदा बर्सने आँखाजस्तो थियो बादल । दृश्य तड्पिँदा छटपटिने मनजस्तो थियो बादल । धानका हरिया बोट र घाँसका भारीसँग रुझ्न तयार थिएँ म पनि । बेरोजगार युवाजस्तै विदेशिन हतारिँदैथियो नारायणी । घुर्मैलो आकासमा घाम मलिन हुनलागे पनि उकालो लाग्दैथियो जीवन । उकाली, ओराली, दौँतरी, बाल्यकाल, दृढता, मिठास, खुसी सब धड्किरहेथ्यो मेरो छातीमा । अनि नदी किनार छोडेर गाउँ पसेथेँ म पनि ।
बर्खाले पखालेको पहाड आँसुले पखालेको मनजस्तो थियो । चराहरूको पखेँटा फैलिएको क्षितिज वसन्त फक्रेको बगैँचाजस्तो थियो । समथर खेतमा उभिएर मसँग बोलेथे रुखपात । क्षितिजबाट निस्केर साउती गर्दैथिए चुरेका चुलीहरू । झरहीखोला र मुकुण्डेखोलाबीचको सोतो छिचोले पनि मन नाघेर अन्तै लम्कन सकिनँ म । चुरेको कालो वन र फाँटको हरियो धान बिर्सेर अन्त हेर्न सकिनँ मैले ।
पहाड र क्षितिजबीच एउटा बिन्दुसरि उभिएथेँ म । बिन्दुहरूले बनेको रेखाले जोडेको दृश्य सुन्दर लाग्छ मलाई । म सोच्छु, बिन्दु बिलाउनसक्छ तर रेखा दौडिरहन्छ । शायद त्यही रेखाले डोर्‍याइरहेछ मलाई । रेखामाथि अडिएको छ मेरो जीवनरेखा ।
कुजौली गाउँबाट सामुदायिक प्राकृतिक चिकित्सालयभित्र छिर्दा चिकित्सालयका भित्ताहरू बोल्दैथिए– आहार औषधि हो, औषधि नै आहार हो । आहा क्या गज्जब आवाज भित्ताहरूको । स्वस्थ्य जीवनशैली र आहारविहारसँगै प्राकृतिक उपचार पद्धति अवलम्बन गर्न मान्छेसँग आग्रह थियो चिकित्सालयको ।
भित्तामै सजिएका थिए धनवन्तरी, चरक, सुश्रुत र पतञ्जलीहरू । मनको भित्तामा टाँस्सिनआएथे जोन फ्लोयर, लुइस कुने, एडल्फ जुस्ट र हेनरी लिण्डलहारहरू । जल, माटो, सूर्य आदि प्राकृतिक चिकित्सा अपनाएर उपचारमा तल्लीन थिए डा.विनोद, डा.संग्राम र डा.आजाद । उत्तिकै खटिरहेथे थानेश्वर, सुशील, बाबुलाल, जीतबहादुर, वसन्त, हिमलाल, शेरबहादुर, पवित्रा, मञ्जु र सपनाहरू । आहा क्या सुन्दर दृश्य कर्मशील हातहरूको ।
मनले दोहर्‍याइरहेथ्यो– यस्तै आवाज, दृश्य र जीवन नियाल्दै प्रकृतिको आँगनमा डुलिरहन चाहन्छु म ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 29 मङ्गसीर, 2075

लेखकका अन्य रचनाहरु