सम्झनामा काठमाडौं यात्रा

- अर्जुन यावा

साँझको बेला फुर्सद कहिल्यै हुँदैन। ‘समय दैनिक’ कार्यालयमा प्रूफ रिडिङमा व्यस्त भइन्छ। सन् 2013-मा 8 जुलाईको दिन हुनुपर्छ, अहिले ठीकसित ख्याल गर्न सकिनँ, त्रयमासिक नेपासी पत्रिका ‘सुनाखरी’-का सम्पादक श्री विजय कटुवाज्यूले फोन गर्नु भयो- ‘नमस्कार अर्जुन जी...।’ त्यसपछि वहाँले ‘नेपाली वाङ्मय परिषद, काठमाडौं’-बाट सिक्किमेली पत्रकारिता तथा साहित्य जगतका 2-3 जना साथीहरूलाई निमन्त्रणा रहेको जानकारी गराउँदै 3-4 दिनभित्रमा यात्रा गरिहाल्नु पर्ने भएकोले फोन गर्नुभएको अवगत गराउनु भयो। कार्यालयमा यतिबेला धेरै नै स्टाफहरूको कमी महसुश भइरहेको बेला मैले भनें- ‘सम्झनु भयो विजयी, धन्यवाद। तर, म त जानँ सक्दिन होला। छुट्टी मिल्न गाह्रो छ।’ अझ कुरा थपें- ‘समय रहेछ, मिलेछ भनें फोन गर्छु नि त है।’ त्यसपछि दुई-चार कुरा भयो अनि फोन राखें।
‘को हो अर्जुन?’ ‘समय दैनिक’-का सहसम्पादक मित्र डिल्लीराम दुलालको प्रश्‍न थियो त्यतिबेला।
‘सुनाखरीका सम्पादक विजयजी’ भनें मैले।
‘के भन्छ?’ फेरि चासो राख्नु भयो डीआर दाजुले। उमेर, अनुभव र ज्ञानले दाजु। पूरा नाम डिल्लीराम दुलाल। छोटो र सजिलोमा मेरो निम्ति डीआर दाजु।
‘काठमाडौं जाऊँ भन्दै हुनुहुन्थ्यो। उताबाट निमन्त्रणा रहेछ। भ्याउँदिन भनिदिएँ।’ भनें मैले।
‘आउनु-जानुको व्यवस्था के रहेछ? सोधन।’ यो हो सम्पादक पारस सरको कुरा। पारस सर। अथवा पारसमणि दंगाल ‘शम’।
‘आ..! भ्याउँदिन भनिसकें, होस् है। सबै हुन्छ, जाउँ न भने के गर्नु?’ भनिदिएँ।
‘भनेको चाहिँ मान न।’ पारस सरले यति भन्नुभएपछि अनि फोन लगाएँ विजयज्यूलाई। अनि काठमाडौं जाने भएँ म पनि एकजना पत्रकारको रूपमा। पछिबाट थापा पाएँ ‘नेपाली वाङ्मय परिषद, काठमाडौं’-को पहिलो वार्षिकोत्सव भानु जयन्तीको अवसरमा आयोजन गरिने भएको रहेछ। 14 जुलाईको कार्यक्रम, 12-मा हिँडिने भइयो।
---
10 जुलाईको दिन एमजी मार्ग, गान्तोकमा विजयज्यू र भानुप्रकाश मार्मिक (साहित्यिक नाम, आधिकारिक नाम थाहा छैन अझै) र प्रणय लामिछाने दाजुसित भेट भयो। प्रणय दाई आफ्नो कामतिर लाग्नु भयो। कुरा-कुरामा ‘हाम्रो यात्रा त 13-मा मात्रै होला जस्तो छ’ भन्नुभयो विजयज्यूले। उहाँले भन्नुभयो- ‘कालेबोङबाट मनोज बोगटी जानुहुँदैछ। 13-मा मात्रै जाऊँ भन्नुहुँदै छ।’ यता मेरो समय दैनिक, आकाशवाणी गान्तोक रेडियो, घरको चाँजो सबै 12-को लेखाजोखामा मिलाइसकेको थिएँ। समय दैनिकबाट फेरि ‘16-मा चाहिँ आइपुग्नु है’ भन्ने निर्देश नै छ। सबै कुरा बताएपछि ‘ठीकै छ बोगटीज्यूलाई भनौं न त। आखिर 12-कै कुरा भाको हो अस्तिदेखि नै, मिलाउनु हुन्छ कि!’ भन्ने सल्लाह भयो। वर्षाको मौसम, बाटोको पनि उत्ति भरोसा थिएन।
---
12 जुलाईमा विजयज्यूको फोनकल आएपछि म पुगें देउराली स्ट्याण्ड। मार्मिक सर अघिनै पर्खिरहनु भएको रहेछ। हातमा फोन खेलाउँदै कसलाई हो फोन गर्न लाग्नु भएको थियो। ‘विजयजी अलिक समय लाग्ने भो भन्नुहुँदै थियो’ भने। त्यसपछि हामी तीनवटा सीट लिएर लाग्यौं ओह्रालो।
‘विजयजी, हामी आउँदै छौं है!’ मार्मिक सरले फोन लगाउनु भयो।
तादोङ कलेज छेउ पुगेपछि तीनजनै भेट भइयो। यहाँदेखि शुरू भयो हाम्रो यात्रा। मनोज दाइलाई सिलगढीमा भेट्ने सल्लाह भयो। बाटो बन्द छ भन्ने बिहानै कुरा सुनिएको थियो। किर्नेमा खाना खानैपर्छ भनेपछि खाइयो। बोगटी दाइ यतिबेलासम्म कालेबुङमै हुनुहुन्थ्यो। चित्रेअगाडितिर बाटो बन्दले झण्डै एकघण्टाजति बाटोमा बसियो।
अलिकति अबेर सिलगढी पुगेपछि फोन लगाउँदा थाहा भयो, बोगटी दाइ सालुगढा आइपुग्नुभएछ। तर झण्डै 45 मिनटपछि मात्र जङ्कसन विपरीत हाम्रो भेट भयो। अनि लाग्यौं चारैजना काकरभिट्टा। काकरभिट्टा पुग्नेवित्तिकै शुरू भयो हामी ठगिने काम। बसमा तीस रुपियाँको यात्रा, टाटा स्पेसियो भिक्टामा प्रतिव्यक्ति सयरुपियाँ। ‘हो र?’ भन्दै भएपनि तिर्नै पर्‍यो। ‘तेसो र पो मोरोहरूले सिलगढी मै भारा नउठाको रहेछ।’ बोगटी दाइले भन्नुभयो।
‘लुट्यो..।’ वहाँले हाँस्दै भन्नुभयो। मैले ‘नेपालीलाई नेपालीले नै त लुट्यो, ठीकै छ’ भनिदिएँ।
---
उतातिरका कुराहरू विजयजीलाई नै धेरै थाहा थियो। सिलगढी आइपुग्न अघि नै राङ्काबाट आमाले फोन गर्नुभएको थियो- ‘बसमा अलिक होसियर हुनु। काठमाडौंमा पनि होसियार हुनु है। यहाँजस्तो होइन नि।’ आमा आखिर आमा हुन्।
यतिबेला ‘पानीधारा जतिकै आउ-जाउ गर्ने साथी हुनुहुन्छ’ भनेको थिएँ आमालाई। विजयजी हाम्रो अगुवा, वहाँकै पछि लागेर काकरभिट्टमा रुपियाँ किनियो। ‘सयकडा दुई रुपियाँ’ भन्दै दिदी-बहिनीहरू झोलामा खोसेलासरि रुपियाँ बोकेर दगुरी रहेका थिए। यसअघि पनि काकरभिट्ट आएकै हूँ। निक्कै रूप फेरिएछ। तर अवस्था उस्तै।
बसको टिकट बुकिङ गरिएको थिएन। विजयजीको चिनजानीसित कुरा भएपछि तत्काल टिकट पाइयो 45 रुपियाँको छुटपछि 1100 प्रतिव्यक्ति। तर बसको कन्डिसन ठीक थिएन। त्यहीमाथि बसको पछाडिको चक्काभन्दा अझै पछाडिको सीट। नाम सायद ‘नेशनल’ थियो, यतिखेर ठीकसँग सम्झन सकिनँ। जेहोस्, बाटोतिर रोक्दै र छतमा सामानहरू लगाउँन आधा-एक घण्टासम्म रोक्दै भएपनि सकुशल काठमाडौं भेल्ली पुर्‍यायो।
यात्रावाधी अल्छी लाग्ला भनेर धेरैदिनदेखि आधाकल्चो राखेको युवा गजलकार मिरा मन थापाकृत ‘माटो मुटु र मन’ बोकेको थिएँ। पढ्न शुरू गरें। हाल इजरायलमा रहेकी मिरा मनले गजलहरूमा पनि कसरी यति मीठो ढङ्गमा आफ्ना बाध्यताका कुराहरू सजाउन सकेकी? एकपछि अर्को पढ्दै गएँ। प्रतिदिनको व्यस्तताबाट उम्केको मेरो लागि इच्छाहरू हुँदाहुँदै पनि पढन पाएको थिइँन। त्यसैले यो राम्रो अवसर पाएको सम्झिँदै थिएँ।
बसको झ्यालबाट बाहिरतिर देखाउँदै ‘भाइ मिरा मनको गाउँ यही हो’ भन्नुहुँदै थियो छेउमा बस्नुभएको मार्मिक सरले।
‘आहा! यति मीठामीठा गजलहरूकी सर्जकको जन्मथलो!’ मनैमन खुशी लाग्यो। मिराज्यूलाई अहिलेसम्म भनेकै छुइन यो कुरा। उसो त उहाँसित कुरा पनि फेसबुकमै मात्र भएको हो। काठमाडौं पुगेपछि फोन सम्पर्क गरेको थिएँ। तर, भनेजस्तो कुरा हुनसकेन। नेटवर्कको समस्या सबैतिर उस्तै रहेछ। मिराज्यूको गाउँतिर पुग्दा साँझको झण्डै सात बजेको हुनुपर्छ। तर, उज्यालै थियो। गान्तोकमा त यतिबेला झमक्क भइसक्यो। सम्झँदै थिएँ। भनुजयन्तीको उपलक्ष्यमा आयोजित कथा प्रतियोगिताको परिणाम आजै हुने झल्यास्स सम्झिपाएँ। व्यस्त छन् डीआर दाजु यतिबेला। थाहा भएरै पनि भर्खर-भर्खरै एक्टिभेट भएको पापाबाट मागेर बोकेको एनसेल मोबाइल सीमबाट फोन लगाएँ।
‘एसबी प्रथम भएछ। नाटकमा इम्मानुएल दाजु दोस्रो।’ मेरो प्रश्‍नमा डीआर दाजुको उत्तर थियो।
एसबी अर्थात शेरबहादुर साथी र इम्मानुएल दाजु दुवैले पुरस्कार पाएछन्। खुशी लाग्यो। ‘दृष्टिको प्रयोगशालाले पाएन?’ भने अनि छोटो कुराकानीपछि फोन राखें। इन्टरनेश्‍नल कल सर्विसमा लोभ नगरी भएन मैले।
---
सप्तरी पुगिएछ। खाना खानलाई बस रोकिँदा ब्यूझिएँ। रातको दश बज्नै लागेको थियो। विजयजी भन्नुहुँदै थियो -‘खाना खानुपर्छ। अब त भोलि काठमाडौं पुगेपछि मात्रै हो।’
‘भेनाज्यू’ होटलमा ‘खाए खा नखाए...।’ भनेजस्तै टेबलमा प्लेटको खाना ल्याएर राखिदिएपछि ‘सब्जी थप, रस लेऊ, खाना थप, काटेको प्याज लेऊ’ जसो भनेपनि ‘छैन, सकियो’ बाहेक अरू जवाब पाइन्नथ्यो। तर 200 रुपियाँ त तिर्नै पर्‍यो। त्यपछि फेरि शुरू भयो यात्रा। पछाडिको सीटमा बोगटी दाइ र विजयज्यू, अगाडि मार्मिक सरसित म।
‘एकजना छोडियो हौ...।’ पछाडिको सीटबाट कसैले कराएपछि बस रोकियो। वास्तवमा एकजना आफ्नो सीट छोडेर अर्को खाली सीटमा बसेका रहेछन्। फेरि हिँड्यौं हामी।
---
बिहानको झिसमिसेमा कसोकसो ब्युझिएँ। नदीको तिरैतिर हाम्रो बस गुडिरहेको थियो। झ्यालबाट रमिता हेरिरहेको थिएँ। गान्तोकबाट सिलगढी झर्दा सिङ्तामदेखि टिस्टा नदीको किनारै-किनार भएर गड़ेको सम्झना भयो। केहीबेर अवलोकन गरें। फेरि झ्याल बन्द गरिदिएँ। चिसोले मलाई छिट्टो टाउको दुख्छ। त्यसैले टाउकोमा तावलको सप्को पनि कसेको छु। पछि फर्केर हेरें। रमितामै हुनुहुन्थ्यो।
‘विजयजी! यो त्रिसुली हो?’ सोधेँ।
नेपाली चलचित्रतिर खुब हेरेको र सुनेको नदी। आमा-पापाले काठमाडौं जाँदाको कुरा सुनाउनु भएको थियो। त्यतिबेला पनि त्रिसुलीको कुरा भएकै थियो। त्यसैले सोधेको थिएँ विजयजीलाई।
‘हो त।’ वहाँको जवाबपछि अझ धेरै कुरा बताइरहनु भएको थियो। बोगटीज्यू निदाइरहनु भएको थियो। मार्मिक सर अघिनै ब्युझिनु भएको रहेछ।
‘अब यो गतिरै गतिर जानुपर्छ।’ मार्मिक सरले भन्नुभयो।
---
6ः30 देखि 7ः00 बजीतिर हुनुपर्छ शितल बजार, मालेखु, नौबिसे हुँदै धार्के पुगियो। बस रोकियो।
‘लु चिया-नास्ता गर्नोस।’ खलासी कराए। खाने मन उत्ति थिएन। हामी चारैजनाले चिया मात्र मगायौं। ल्याउनमा अबेर लगायो। पछि आउने अरूहरूलाई दिँन्छन्। हामीलाई तीनपल्ट माग्दा पनि उत्ति ख्याल नगरेको जस्तो लाग्यो। भराई पो कारण थापा पाइयो। बितेको वर्षपनि काठमाडौं पुगेर फर्किनु भएको मार्मिक सर कि विजयजी भन्नुहुँदै थियो -‘यो चारवटा सुख्खा रोटी, अलिकति आलु, दुई-तीन चोक्टा मर्टन र अचार देख्नुहुँदैछ नि! यतिको अढाइ-तीनसय हो। चिया भनेको दश रुपियाँको। चियाको लागि ढिलो त भइहाल्छ नि।’
‘पैसा भनेको यहाँ कुलोबाट उघाएर ल्याउने हो कि क्याहो!’ मनमनै सोंचे र भने ‘आम्...म म। यति महँगो?’
‘यो भेकमा यस्तै छ।’ भन्नुभयो विजयजीले।
अघिनै त्रिसुली पनि छोडिसकिएको जस्तो लाग्यो। धार्के छोडेपछि विस्तारै समतल पनि सकिएको रहेछ।
‘भाइ अब उकालो लागियो है..।’ मार्मिक सर मलाई भौगोलिक जानकारी गराउनुहुन्छ। जति टाड़िदै जाँदैथियौं उति नै हामी कति पहाड़ चड्दैछौं भन्ने छोड़िएका ठाउँहरू देखाउँदै अवगत गराउँनु हुँदैथियो मार्मिक सर मलाई। उकालो चढ़ाई सकिनसाथ सायद चेकपोष्ट पुगिएछ। बस अलिकति थामिएजस्तो के लागेको थियो ‘लौ हजूरहरू काठमाडौं आइपुग्नु भयो, यहाँहरूको यात्रा सफल बनोस, पशुपतिले हजूरहरूको सुरक्षा गरुन्....’ यस्तै के-के भन्दै दुइभाइ बसमा प्रवेश गरे। अनि ‘लौ अब एउटा... र्‍याप सुन्नुहोस’ भन्दै गाउन थाले ‘बतलको पानीले आखाँ सन्काई सानीले, इज्जत गयो पिउने बानीले...’
गीत नयाँ-नयाँ नै थियो। अलिकति थपिदिए उनीहरूले ‘या.. या..’। मिसाएकै भएपनि खुबै मीठो लागेको थियो गीत। सबैले दश, बीस रुपियाँ हातमा दिएपछि तुरुन्तै निस्किहाले। एकजनाले सय रुपियाँ दिए। रमाइलो हुने सम्झेका रहेछन्। रुपियाँ थाप्ने बित्तिकै दुवै फुत्त निस्किँदा भन्दैथिए ‘एउटै गीतमा सय रुपियाँ गयो।’
‘फेरि शुरू भयो लुटिन।’ हामीमझ कसैले भन्दै थिए। अनि लाग्यौं ओह्रालो काठमाडौं भेल्लीतिर।
---
मैले पहिलोपल्ट नेपालको साहित्यिक यात्रा गरेको पाँचवर्ष भएछ। अहिले सबैकुरा सम्झेर कहाँ हुन्छ, हुँदैन। यात्राको झण्डै 6 महिनापछि लेख्न लागेको थिएँ। काठमाडौं भ्याल्ली झरेर कलंकीसम्म पुगेपछि थाँतिमा रह्यो। कारणवश लेख्न सकिएन। यहाँदेखि उता संक्षिप्तमा भए पनि सम्झनामा भएका कुराहरू राखिरहन मन लागेको छ।
बसपार्कमा ओर्लियौं। पहिलोपल्ट काठमाडौं टेक्दैथिएँ। समतल बसेको काठमाडौंलाई चेकपोष्ट छोडेपछि नै बसबाटै भएपनि अवलोकन गर्दै आएको थिएँ। रमाइलो लागिरहेको थियो। बसबाट ओर्लेर फेरि चढ्यौं ‘विङ्गर’-मा। म्याक्रो भनिँदोरहेछ सायद काठमाडौंमा।
रत्नपार्कमा ओर्लियौं। त्यसपछि हिँड्यौं पैदल बागबजारतिर। नेपाल वाङ्मय परिषयका अध्यक्ष श्री शशी लुलुम्बुलाई भेट्यौं उहाँहरूकै कार्यालयमा। त्यसपछि उहाँले नै पुर्‍याउनुभयो होटल ताज।
हाम्रो कार्यक्रम थियो 14 जुलाईमा। तर, काठमाडौंका साथीहरूले सायद ‘क्याफे कविता’ नै हुनुपर्छ, कार्यक्रम राखेका रहेछन्। नयाँ बानेश्‍वरको कुनै एउटा क्याफे थियो। साहित्यकारहरू थिए। पत्रकारहरू थिए। प्रिण्ट मीडियाका साथीहरू थिए। रेडियोकर्मीहरू थिए। टीभीकर्मीहरू थिए। मलाई रमाइलो लागेको के थियो भने, हामी पुग्दा बसेर गफिँदै चिया र कफीको चुस्की लिइरहेका थिए धेरैले। आधिघण्टाभित्रै त्यो एउटा साहित्यिक मञ्च बन्यो।
कार्यक्रम चलिरहेको थियो। रेडियो (एफएम)-मा लाइभ प्रसारण भइरहेको थियो। टीभी च्यानलबाट लाइभ देखाइरहेको उद्घोषकले बताइरहेका थिए। म एक सामान्य पत्रकारका रूपमा पुगेको। सुनाउनुपर्ने भयो कविता। कविता लेख्न रुचाउनु, रहर गर्नु अनि साँच्चै कविता लेख्नु कत्ति फरक हुन्छ भन्नेकुरा यतिबेला सोच्दैथिएँ। सुनाउँदिन भनेर मैले धरै नपाएपछि सुनाएँ। कार्यक्रम सकियो। भानुजयन्तीको दिन थियो। त्यहाँ तर युवा जमाजमा देवकोटाको फोटो भएको सेतो टी-सर्ट संस्थाको सहयोगका लागि राखिएका थिए। बल्ल थाहा भयो, काठमाडौंमा देवकोटालाई धेरै मानिँदोरहेछ।
साँझमा फेरि बागबजारमा भानु स्मृति प्रतिष्ठान हो कि यस्तै अर्को एउटा संस्थाले भानुजयन्ती समारोहको अवसरमा ‘भानु काव्य सन्ध्या’ कार्यक्रम आयोजन गरेको रहेछ। भारतबाट आएका साहित्यकारहरू जसरी पनि पुग्नैपर्ने भयो। पुग्यौं। पुग्यौं पनि होइन, शशीज्यूले पुर्‍याउनुभयो। त्यहीबेला सन् 1990-को दशकदेखिको मेरो चाहना पूरा भएको थियो रेडियो नेपालका कार्यक्रम सञ्चालकका रूपमा मैले चिनेको साहित्यकार श्री नवराज लम्सालसित भेट गर्ने। कार्यक्रममा धेरैजसो छन्दोवद्ध कविता नै वाचन गरिँदैथिएँ। कविहरू युवाभन्दा धेरै प्रौढ थिए। क्याफे-कवितामा खुब रमेका, खुब जमेका कवि बोगटी यतिबेला जम्न सकेनन्।
‘यार हत्या नै भयो हौ...।’ पछिल्लो-पछिल्लो लहरमा मसँगै बसेका बोगटी भन्दैथिए। कार्यक्रम सकेर होटल पुग्दा रात निक्कै चड्दैथियो।
बोगटी दाईको निक्कै चर्चा रहेछ काठमाडौंमा। त्यसैले दिउँसैदेखि उहाँका साथीहरू भेट गर्न आइरहेका थिए। यतिबेला पनि साथीहरू भेला भएका थिए। टीयूबाट महेश पौड्याल, पत्रकार गणेशकुमार राई, स्वप्निल स्मृति, विमला तुम्खेवा अरुहरू धेरै थिए। राति कतिबेरसम्म जम्यो माहोल, बेलैमा ओछ्यान लागेको मैले ख्याल राखिन।
---
बिहान कार्यक्रम पुग्नुथियो, होटल हार्दिकमा। हामी बसेको ताज होटलबाट नजिकै। नेपाल वाङ्मय परिषद, काठमाडौंको वार्षिकोत्सव निक्कै धुमधामसित आयोजन गरिएको थियो। सन् 2005 तिर, सिक्किममा सानो अन्तरवार्ता लिने अवसर पाएको थिएँ गीत-संगीतकार श्री बुलु मुकारुङसित। यसपटक दोस्रो भेट गर्ने अवसर पाएको थिएँ। अन्तरवार्ताको सम्झना गराउँदा भन्नुहुँदैथियो- ‘खोइ, म पनि पाउँ न एकप्रति।’
बल्ल बिर्को खोलियो दिमागको, साहित्यिक कार्यक्रमतिर जाँदा केही त लगेर जानुथियो। भनेँ, ‘सर फेरि आएँभने पक्का ल्याउनेछु।’ तर अहिलेसम्म फेरि भेट हुने अवसर जुरेको छैन। आकाशवाणी गान्तोकमा केहीवर्ष अघि भेट भएको थियो कालेबुङबाट आउनु भएका गजलकार श्री असीम सागर। हिजाज काठमाडौंमा हुनुहुँदो रहेछ। भेट भयो। भन्नुहुँदैथियो -‘अर्जुन जी, काठमाडौं त गजलको महासागर हो। त्यसैले मैले कविता विधा समाएँ। आफैलाई चिनाउन गाह्रो छ यहाँ। त्यसैले जति कविता सुनाउँछु कण्ठस्थ गरेर मात्रै सुनाउँछु भन्ने सोचेको छु।’ कार्यक्रममा ‘पानी’ कविता त्यसरी नै सुनाउनु भएको थियो।
कार्यक्रम शुरू भयो। एकपछि अर्का राम्रा-राम्रा कविताहरू सुन्ने राम्रो अवसर पाइरहेको थिएँ। फेरि परेँ म फसादमा। विजयजीले कविहरूको सूचिमा मेरो नाम पनि दिनुभएको रहेछ। उमेरमा आफूभन्दा सानै थिए धेरैजना। तर, सिर्जनाले धेरै फड्को मार्नेहरूबीच उभिएको थिएँ म कवि भएर। पहिलोपल्ट कविता वाचन गरेर अनरियम पनि थापेको थिएँ।
कार्यक्रम सकिएपश्‍चात बाहिर चिया-खाजासितै फोटो सेसन चलिरहेको थियो। यहिबेला पहिलोपल्ट भेट गर्ने अवसर पाएको थिएँ प्रसिद्ध लोकगायक खेमराज गुरुङसित। त्यो भेट पहिलो थियो, एउटै र अन्तिम पनि बन्यो। खुब फर्साइलो, मिलनसार। उनैले गाएको ‘वारी जमुना, पारी जमुना’ र अन्य गीतहरूजस्तै। उनको साथमा भेट भएको थियो नाटककार प्रवीण पुमा र गजलकार-गायिका चन्द्रा चामलिङ अनि अरुहरू। बेलुकी होटलमा भेटिएका मित्रहरूसित अझै धेरै कुरा गर्ने अवसर मिलेको थियो। फोटो खिच्ने समय मिलेको थियो। धेरैजनाले आ-आफ्ना कृतिहरू दिए।
---
कार्यक्रम सकिएपछि हामी पुग्यौं होटल। बेलुकीको बसमा फर्किनुथियो काकरभिट्टा। यहीबेला आउनुभएको थियो प्रवीण पुमा र चन्द्रा चामलिङ औपचारिक भेटको निम्ति। खादा लगाएर हामीलाई स्वागत जनाउनुभएको थियो। पुस्तकहरू दिनुभएको थियो प्रवीणजीले। आफ्नो दोहोरी गीति एल्बम दिनुभयो चन्द्रा बहिनीले। फेरि फोटो खिच्यौं।
साथीहरू पुस्तक किन्न र बजार घुम्न निस्केका थिए। सिक्किम आफू-आफू फर्किने भयौं। काकरभिट्टासम्मको आउने-जाने व्यवस्था आयोजक समितिले मिलाएकै थियो। मलाई पनि बसेर भोलि जाने कर गरिरहनु भएको थियो प्रवीणजीले। आजै फर्किनुपर्ने मेरो वाध्यता सुनाएपछि उहाँले नै काठमाडौं घुमाउने आङभार लिनुभयो। ‘साँझको बसमा फर्किँदा पुगिन्छ’ भन्नुभएपछि म सहमत भएँ। होटलबाट निस्केर चन्द्रा बहिनीसित छुट्यौं। त्यसपछि केही पुस्तकहरू किन्यौं। रेडियो नेपालको स्टुडियो घुम्ने मेरो रहर बुझेपछि प्रवीणजीले पुर्‍याउनुभयो। नवराज लम्सालज्यूसित बसेर कुरा गर्ने फुर्सद पाइयो। लम्साल सरले आफ्ना स्टाफहरूसित चिनाउनुभयो। भन्नुहुँदैथियो -‘उहाँ पनि रेडियोकर्मी नै हुनुहुँदो रहेछ। 20-25 वर्षअघिको हाम्रो कार्यक्रमबारे सबै थाहा रहेछ उहाँलाई।’ हो, उहाँले सञ्चालन गर्नुहुने कार्यक्रम सुरसंगममा गीति कथा सुनेर नै म उहाँको फ्यान भएको हुँ। तर, वविता खनाल, रामविला र धनियाको पाठमा आउनुहुने कोही हुनुहुन्नरहेछ। उहाँहरू नहुनुका आफ्नो-आफ्नै कारणहरू रहेछन्। धेरै जानकारी गराउनुभएको थियो। छोटो समय भएकाले अनि आफू पूर्ण तयारी पनि नभएको हुनाले रेडियोमा अन्तर्वार्ता कार्यक्रम गर्न सकिने कुरामा म सहमत हुन सकिन।
रेडियो नेपाल स्टुडियो पुग्नअघि हामी पुगेका थियौं म्युजियम अर्थात राजदरवार। राजदरवारमा 52 ढोका रहेको सुनेको मात्र थिएँ। थोरै समयमा पनि प्रवीणजीले मलाई पुर्‍याउनु भएको थियो। एक-एकवटा कोठाहरू, सामग्री र स्थानहरूबारे जानकारी गराउनु भएको थियो। नेपालभरिको 75 जिल्लाको नामकरण गरिएको बताउनुभएको थियो। राजदरवार पुग्नअघि बाटोमा भेट भएको थियो हाम्रो युवा साहित्यकारसित। सामान्य परिचय भएको थियो।
प्रवीणजीका एकजना मित्रका रूपमा मैले उहाँलाई चिनेँ। उहाँले मलाई भारतको सिक्किम राज्यबाट आएका मित्र अर्जुन भनेर चिन्नुभयो।
बाटोमा जाँदैगर्दा प्रवीणजीले भन्नुभयो -‘अहिले उहाँ त्यतिकै बसिरहनु भएको छ। राम्रो लेखक, राम्रो साहित्यकार हुनुहुन्छ। उहाँको ‘कर्णाली ब्लुज’ उपन्यास खुब चलेको थियो।’
‘बुद्धि सागर हो उहाँ?’ तादोङ गान्तोकमा मित्र प्रवीण खालिङको हातमा एकदिन देखेको थिएँ कर्णाली ब्लुज। ‘साह्रै राम्रो छ’ भन्नुभएको थियो। मागेर पढ्न मन लागेको थिएन। त्यसैले भर्खरै किनेर ढाड़मा बोकिरहेको ब्यागमा रहेका पुस्तकहरूमा एउटा कर्णाली ब्लुज नै थियो। कत्ति भेट गर्ने रहर थियो। भन्नुपर्ने थिएछ प्रवीणजीलाई जस्तो लाग्यो। नभनेर अवसर छुटेकोमा आफैसित रिसाएँ। कम्तिमा एउटा शेल्फी लिनेथिएँ। पाइन।
‘हो त। बुद्धिसागर। ओहो, म पनि कस्तो नि। हतारले गर्दा भुसुक्कै बिर्सिएछु।’ भन्नुभयो प्रवीणले।
रेडियो नेपाल स्टुडियोबाट निस्केर हामी सिधै लाग्यौं धररा चड्न। राजदरवार प्रवेश गर्दा उहाँले नै टिकट लिनुभएको थियो। यहाँ पनि प्रवीणजीले नै लिनुभयो।
‘पहिला एघारतला थियो। पछि नौतलासम्म जान दिइन्थ्यो। अहिले दिइन्दैन।’ धरराको इतिहास बताउनुहुँदै थियो मलाई। सायद हामी साततलासम्म चढ़ेका थियौं। 14 जुलाई 2013-मा पहिलोपल्ट चढ़ेको धररामा फेरि चड्ने अवसर पाइएन। धररा चढ़नअघि रानी पोखरी देखाउनुभएको थियो। टुँड़ीखेल देखाउनुभएको थियो। यहीबेला नेपालको राष्ट्रिय गानाका सर्जक श्री ब्याकुल माइला र अर्का एकजनासित पनि बसेर चिया सँगै पिएका थियौं। अरु-अरु खै कता-कता धेरैठाउँ घुमाउनु भएको थियो। घुमिरहेकै समय उहाँले भन्नुभएको थियो -‘कोही पनि साहित्यकार साथीहरू आउनु भएको थाहा पाएँ भने उहाँहरूलाई साथ दिन पाउँदा खुशी लाग्छ। मैलेजस्तो दुःख नपाउन् भन्ने लाग्छ।’
पछिबाट थाहा पाएँ, नाटकसम्बन्धी आफ्नो अध्ययन भ्रमणको समय सिक्किम आउँदा धेरै कष्ट भोग्नुभएको रहेछ। धेरैजनाले आज र भोलि भन्दै समय नदिएको, दुःख पाउनुभएको थाहा पाएपछि त्योभन्दा नरमाइलो अरु के हुनसक्ला? लाग्यो। ग्लानी भयो। फेरि आउनुभए सम्पर्क गर्नुहोला, सकेको सहयोग गर्नेछु भन्ने वचन दिएँ।
दिनभरिको हाम्रो यात्रा पूरा भएपछि साँढेतीन बजीतिर उहाँले नै पुर्‍याउनुभयो कलंकी। विजयजीले बस टिकट मिलाइदिनुभयो। त्यसपछि छुटेका थियौं हामी।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 29 मङ्गसीर, 2075

लेखकका अन्य रचनाहरु