एक गल्ती

- अर्जुन थापा

एकोहोरो कुकुर रोएको आवाजले उनको निद्रा टुट्छ । उनी बिस्तारै उठेर बार्दलीमा जान्छिन् । निक्खर कालो रातले काठमाडौँलाई आफ्नो पछ्यौरीमा लुकाएको छ । औँसीको रात आज । सानोमा हरर मुभीमा आजैको रातमा भुतहरू निस्किएको हेरेको उनको मानसपटलमा कतै लुकेका छन् । बट्टाबाट एक खिल्ली चुरोट निकालेर सल्काउँछिन् । उपत्यका लगभग मस्त निद्रामा थियो । उनको एकपछि अर्को चुरोट सल्काई र सक्काइको क्रम रोकिएको थिएन । कुकुरको एकोहोरो रुवाइको आवाजले उनको मनमा झन् डर बढी राखेको छ । अत्याधुनिक सोलारजडित ल्याम्पपोस्टको अघि लम्पसार सडकमा कुकुरहरूका झुन्ड मात्र देख्छिन् उनले । आँखाको निद्रा खोई कता भागिसकेको छ उनको । जे हुन नहुने थियो त्यत्रो वर्षदेखि आफूलाई जोगाएर, समालेर राखेकी थिइन् उनले । तर आज आएर किन कमजोर हुन पुगिन् उनी ? अहिले यही एक गल्तीको कारण उनी भित्रभित्रै छटपटी राखेकी प्रस्ट देखिन्छ ।
एक्कासि बसिराखेको चेयरबाट जुरुक्क उठ्छिन् । त्यही बार्दलीबाट तल हेर्छिन् । उनको मनमा आत्महत्या गर्ने सोचाइले जन्म लिन्छ । पाँच तलामाथिबाट हाम फालेमा एकै पटक काम तमाम हुन्छ । मेरो गल्तीको सजाय भनेकै यही हुनेछ भनेर तम्तयार हुन्छिन् उनी बार्दलीबाट हाम फाल्नलाई । उनी भित्र कोठामा गएर एक पन्ना कागज र बलपेन लिएर त्यही बार्दलीमा आएर फटाफट केही लेख्न थाल्छिन् । उनको आँखाबाट आँसु बग्न सुरु गर्छ । आँसुका थोपाहरू सोझै उनले लेखिरहेको कागजको पन्नामा गएर ठोकिराखेका हुन्छन् । जसले अक्षरहरूलाई अस्पष्ट पारिराखेको हुन्छ । तर पनि त्यसको कुनै प्रवाह नगरी उनी लेखिरहन्छिन् । उनको लेखाइ रोकिन्छ । चेयरसँगैको सानो टेबलमा त्यही एक पन्ना कागज र कागजमाथि पेन राख्छिन् । सर्सर्ती मोबाइलमा भएका सबै कुराहरू डिलिट गर्छिन् र त्यही टेबलमा राख्छिन् ।
कुकुर रुन छोडेको छ अहिले । आकाशमा छरिएका ताराहरूलाई एकोहोरो हेरिसकेपछि उनी जुरुक्क उठ्छिन् र बार्दलीबाट आधा शरीर मात्र के झुकाएकी हुन्छिन् ... ।
ड्डड्ड
‘कङ्ग्य्राच अन योर प्रमोसन ! यु रियल्ल्ी डिजर्भ शान्ति । भोलिबाट यस कम्पनीको डिजिएम हुँदैछौ ।’ भनेर अफिसको बोसले भन्दा शान्तिलाई विश्वास नै लाग्दैन । एकपछि अर्को गर्दै अफिसका साथीभाइहरूबाट र मोबाइलमा बधाइका घन्टी बज्न थालेपछि मात्र उनलाई विश्वास लाग्छ । उनले रातदिन भनेर खटेकी थिइन् । विगत सत्र वर्षदेखि यस कम्पनीलाई माथि उठाउन । जसको फलस्वरूप आज डिजिएम बन्न सफल भइन् । एउटी नारी भएकै कारण अनेकौँ दुःखहरू सहनु प¥यो । तर उनको सेल्फ कन्फिडेन्टको अगाडि सबैले हार खानै प¥यो । उनकै मिल्ने साथीहरू पारटाइज तथा घुमेर हिँडिरहँदा उनी भने काममा व्यस्त रहन्थिन् । उनका पनि धेरै इच्छा चाहनाहरू हुँदाहुँदै पनि सबलाई एक साइडमा राखेर कामलाई बढी महŒव दिइन् ।
इकोनोमिकबाट कलेज टप गरेकी थिइन् । हरेक कुरामा उनी अब्बल थिइन् । तर पनि उनमा घमण्ड भने कहीँ कतै थिएन । सानोदेखि ठुलो हरेकलाई समान व्यवहार गर्थिन् । उनको बोलीमा एक प्रकारको जादु नै थियो । हरेकलाई आफ्नो बसमा राख्न सक्ने क्षमता उनमा थियो । तर पनि छ महिना अगाडि अफिसको सेमिनारको लागि पोखरा गएर फर्केपछिबाट उनमा बिस्तारै परिवर्तन देखा पर्न थालेका थिए । सुरुसुरुमा उनी यसलाई सामान्य रुपमा लिने गर्थिन् तर पछिपछि उनलाई पनि लाग्न थालेको थियो कि जे भइराखेको छ र हुँदै गइराखेको छ त्यो गलत हो । जुन कुराको उनले कहिल्यै कल्पना गरेकी थिइनन् । त्यही चिजले उनलाई अब गाह्रो पार्न थालिसकेको थियो । उनले आफैँलाई एकान्तमा राखेर अनेकौँ पटक प्रश्न नगरेको पनि होइन तर उत्तर ठिक विपरीत आउँथ्यो ।
जुन कुरालाई विगत सत्र वर्षदेखि दबाएर राखेकी थिइन् । आफ्नो आत्मबललाई मजबुद बनाएर राखेकी थिइन् । तर, त्यस साँझ उनी कमजोर हुन पुगिन् । उनलाई नै थाहा छैन कि त्यस घृणित काम उनीबाट कसरी हुन पुग्यो भनेर । उनले कसरी मञ्जुरी दिइन् त्यसलाई, उनी आफैँलाई थाहा छैन ।
ड्डड्ड
‘मामु यति राती किन यहाँ ?’ भन्ने सानी छोरीको प्रश्नले उनी झस्याङ्ग हुन्छिन् । उनकी छोरीलाई देख्नेबित्तिकै उनी सपनाबाट ब्युँझेझैँ हुन्छिन् । छोरीलाई गम्लङ्ग अँगालो हालेर गालाम किस गर्छिन् । उनको शरीरभरि पसिनाले पुरै भिज्न थाल्छ । छोरीलाई रुममा सुताई उनी बाथरुममा नुहाउन जान्छिन् ।
घाँटी तथा छातीमा भएका राता दागहरूलाई उनी बेस्कन माडेर मेटाउन खोज्छिन् । जुन अघि साँझमा होटलको रुममा घटेको घटनाको परिणाम थियो । तर, ती दागहरू हट्ने कुनै छाँटकाँट देखिएको थिएन । उनी सकुन्जेल रुन्छिन् ।
एक घन्टाजति पछि उनी बाथरुमबाट बाहिर निस्कन्छिन् । बेडमा अझै बिराट सुतिराखेको हुन्छ । जो सत्र वर्ष अगाडि शान्तिलाई हरकदममा साथसाथ भएर हिँड्ने भनेर यस घरमा विवाह गरेर ल्याएको थियो ।
शान्ति विराटको छेउमा गएर बिस्तारै बस्छिन् र उसलाई हेर्छिन् ।
‘यी सत्र वर्षमा हरेक कदममा मेरो साथ दिएको मान्छे । अफिसको कामले हप्तौँ दिन घरबाहिर जाँदा पनि कहिल्यै केही भनेन । घर र छोरी सबैलाई मैलेभन्दा राम्रो ख्याल गरेर राख्यो । यी सत्र वर्षमा उसको मुखबाट कुनै अपशब्द निस्केन । तर, आज क्षणिक शारीरिक भोकको लागि यस्तो भगवान् समान लोग्नेलाई धोका दिएँ मैले । यो सत्र वर्षमा मैले मेरो श्रीमान्बाट नपाएको कुरा त पाएँ तर त्यसको बदलामा अब मैले आजीवन म आफ्नै नजरबाट आफूलाई पतित पाउनेछु । के यौनसन्तुष्टि नै सबैथोक भयो मलाई र आज मबाट घृणित कार्य हुन गयो ! गङ्गाको जल जत्तिको पवित्र छे मेरी बुहारी भन्ने मेरी सासूको अगाडि मैले कसरी आँखा जुधाउने ? मेरो सान हो मेरी शान्ति भन्ने मेरो श्रीमान्को अगाडि कसरी मुख देखाऊँ ? हे भगवान् मबाट के जघन्य अपराध हुन गयो ?’ भन्दै श्रीमान्को नजिकै जान्छिन् । उनको आँखाको आँसु तप्प विराटको गालामा खस्छ ।
‘के भयो आज मेरी प्यारीलाई’ भन्दै विराटले आफू भएतिर तान्छ ।
‘तिमी मलाई कति विश्वास गर्छौ विराट ? मबाट कुनै विश्वासघात भएमा के गर्छौ ?’ शान्ति उल्टै प्रश्न गर्न थाल्छिन् ।
‘सम्बन्ध भनेको विश्वासमा टिक्छ र जहाँसम्म तिम्रो विश्वासघातको गर्ने कुरा आउँछ । त्यसमा बरु म डगमगाउँला तर मलाई तिमीप्रति पूर्ण विश्वास छ । म तिमीलाई आफूभन्दा बढी विश्वास गर्छु । यी फाल्तु कुरा छोड मेरी श्रीमतीलाई जन्मदिनको धेरैधेरै शुभकामना ।’ भन्दै सिरानीमुनिबाट लुकाइराखेको डाइमन्डको इयररिङ निकालेर लगाइदिन्छ बिराट ।
शान्तिको आँखाबाट आँसु बगिराखेका हुन्छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 29 मङ्गसीर, 2075

लेखकका अन्य रचनाहरु