सन्तोष लामिछानेको चामल खानेहरू र चौलानी पिउनेहरू कविता केलाउँदा

- मित्र पौडेल

भावनाको बौद्धिक कोमलता कविता हो भनेर नाट्यसम्राट् बालकृष्ण समले कविताको परिभाषा दिए । कुनै पनि बिषयको तात्विक परिभाषालाई अर्थगत सीमामा समाहित गर्न सकिदैन । भाषाद्वारा अनन्त निराकार शुन्य संसारको बर्णन गर्न सकिने हुनाले अनन्त गतिशील भैरहन्छ । त्यसैले कवितामा निराकार तत्वको अवशेष रहने भएकाले जीवनको कार्यकारण सम्बन्ध गाँसिएको हुन्छ । तसर्थ कवितामा सौन्दर्य, भाव, शैली, विचार, प्रतीक, बिम्ब, उपमा, अलंकार आदि कविभित्रको चेतन, अवचेतन, अचेतन र अहं, स्वहम मनका संरचनाहरू हुन् । फ़्रायडले कविहरू मनोरोगी हुन्छन् भनी अर्थ्याएका पनि छन् । सिर्जनाका अवस्थामा अचेतन भई सिर्जीत सिर्जनालाई मनोविज्ञानमा न्युरोसिस भनिन्छ । तसर्थ त्यस अवस्थाको सिर्जना स्वयम् कविलाई पनि ज्ञात रहदैन ।

संवेदना, भाव, राग अनि अनुभूतिका शक्तिले कविमनलाई जडचेतन वा कायिक स्थितिदेखि मुक्त गराएको हुन्छ । त्यस अवस्थाले नै कविहरूको कैवल्य अवस्था हो । 'न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते ' ज्ञानले जस्तै संसारमा अरु कुनै तत्वले पवित्र गर्न सक्दैन भनिएको छ । कविताले चित्तिवृतिबिशेषलाई प्रभाव पार्न सकेन भने त्यस कविताको प्रभाव क्षाणिक रहन्छ । मानवीय बिषयका चार अन्तस्करणहरू मन, बुद्धि, चित्त र अहंकारलाई कविमनले र उसको लेखन कौशलले प्रभावित बनाएको हुन्छ । तसर्थ यिनै विभिन्न समट्टवितभित्र कवि सन्तोष लामिछानेका कविता संग्रह "चामल खानेहरू र चौलानी पिउनेहरू"को अध्ययन र अवलोकन संक्षिप्तमा गरिएको छ ।

डायास्पोरिक नेपाली साहित्य संसारमा कवि सन्तोष लामिछाने अब नयाँ नाम होइन । उनको प्रतिनिधि प्रगतिवादी र प्रयोगवादी यथार्थवादी प्रवृतिभित्र समाहित कबिताहरूको संग्रह हो "चामल खानेहरू र चौलानी पिउनेहरू" । युवाकवि सन्तोष लामिछानेका कविताहरूमा विविध यथार्थ धरातलको संयोजनबाट निश्रित विम्बहरूको काव्यशैली प्रकट भएका छन् । विश्वसमाजमा देखा परेका दलाल पूंजीवादी अर्थव्यवस्थाका उत्पादनले सबै भन्दा ठूलो पैसा बनाएको हुन्छ तसर्थ हजारमा इमान बेचेर बेइमान बन्ने दुश्प्रवृतिप्रति लेखक कविका कलम चलेको छ । कविले समाजमा भनिने गरेको जातको कृत्रिम विभेदका साथै सामाजिक एवं धार्मिक अन्धताको अवैज्ञानिक संस्कारको अन्त्यको कामना गरेका छन् । शान्ति सहिष्णुता र मानवतावादी विचार व्यक्त गरेका छन् । काव्यलेखनको सवल पक्षमा उभिएको कवि लामिछानेका 'इक्षाहरूको मृत्यु' शिर्षक कवितामा विसंगतीपूर्ण, निराशावादी प्रवृति देखाइएता पनि मानवतावादी जीवनदर्शन ब्यक्त गरिएको छ । यिनका सबैजसो कविताहरूमा वर्तमान विश्वसमाज र जीवन-जगतलाई अत्याधिक प्रभाव पार्ने विश्वसमाज अवस्थित ठूला र साना, धनी र गरिबबीचकै खाडलप्रति जुझारू आव्हान हो भन्न सकिन्छ ।

कविले मानबको जीवन भोगाइ र त्यसको मन्थनबाट निर्मित उच्च जीवन दर्शनको कलात्मक भाषिक अभिव्यक्ति दिएका छन् । सुनिस्चित प्रबन्द्यन, सुक्ष्म सकारात्मक जीवनदर्शन, उच्च आदर्श, दृढ निश्चयी समर्पण एवं समग्र मानवताको भविष्यको निर्माणकारी अभिब्यन्जना यिनका कवितामा आएका प्रमुख प्रवृति हुन् । मानव सभ्यताको बिकाशमा श्रमको अहम् भूमिका रहेको छ । श्रम र उत्पादनको अन्तर सम्बन्धले मानब बिकाशमा गुणात्मक फड्को मार्न सकेको हो । तसर्थ कविले श्रम र श्रमिक वर्गप्रति सदासर्वदा श्रद्धा गर्दछन् । तसर्थ चौलानी पिउनेहरूनै मानव सभ्यताको मूल सूचक हुन् न् की चामल खानेहरू भन्दा । श्रम र उत्पादनले पुँजीवाद बिकाश र पुँजीवादको गर्भमा नै समाजवादको बिजारोपण हुन्छ र जहिले पनि श्रमिकको अवस्था दयनीय हुने भन्ने यथार्थ बोध यस कविताको बिचारको बिपुल बनेर आएको छ ।

"आफ्नै वजनले थिचिएर लुलो भएका छन्
माटोबाट टुक्राटुक्राभई अलग्गिएको
सबले कुल्चने धुलो भएका छन् "

'आजकल केही मान्छे' शिर्षकको कविता समग्रमा समाज पनि विकृत भईरहेको छ र समाजको मानवीय अस्तित्व ह्रासोन्मुख भएको तितो यथार्थ यस शिर्षकको कवितामा देखाइएको छ ।

'पैसा' 'फूलहरू' 'योद्धाहरूलाई आव्हान" "खेर गएका बलिदान" "नियती" "देवता र दानव" "जुत्ता र मोजाहरू" जस्ता शिर्षक कविताहरूमा भाइचारा र मानवतामा आधारित मानवीय जीवनप्रणाली कसरी र कुन रुपमा खल्बलिदै गएको छ भन्ने यथार्थ पक्षलाई परिस्थितीका कसीमानै स्वानुभूतिमुलक दृष्टिकोणका साथ केलाउने प्रयास गरिएको छ । द्वन्द र सशस्त्र युद्धका विभीषिकाहरूले देश तथा विश्व समाजमा परेको क्षति र समस्त नागरिकहरूलाई हुन् गएको पीडाहरूको अत्यन्त कारुणिक र मार्मिक प्रसंगको प्रभावपूर्ण वर्णन अत्यन्तै जिवन्त रहेको छ ।

यसर्थ यस संग्रहका कविताहरूले मानिस-मानिसबीच द्वन्द र अशान्तीले सिर्जना गर्न पुगेको विमानश्य, द्वेष, घृणासम्बद्ध विकृतिका पर्खालहरू भत्किनुपर्छ र सबै शान्त र समुन्नत समाज निर्माणमा परस्परमा हातेमालो गर्दै एक्यबद्ध जुट्नुपर्छ भन्ने आजको युगीन आवश्यकतामाथि गहन प्रकाश पर्न सकेको छ ।

हाल : म्याडिसन, अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 13 मङ्गसीर, 2075

लेखकका अन्य रचनाहरु