ग्रिनविच सम्झना

- डा. ऋषिराम शर्मा

पत्याउन मुस्किलै पर्ने तर नपत्याई नहुने भ्रमण। सात दिनको लन्डन यात्रामा सातवटै नियात्रा लेख्ने छविरमण ! समालोचक समीक्षकका शब्दमै ‘एक झलकमा लन्डन’ र ‘आफूसँगै पाठकलाई भ्रमण गराउँदै छविरमण’। यसै नियात्रामार्पmत कविताका द्वीपबाट नियात्राका महाद्वीपमा पाइला टेकेका छन् उनले। उनको छवि धपक्कै बलेको छ ग्रिनविचको साँझ (नियात्रा किताब) मा।

नियात्रा धेरैले लेख्छन्, सूचना तथ्य र विवरण पनि पस्कन्छन्, कनिकुथी कनेर अनुभूतिको टाटेपाटे रङमा ती सूचनालाई रंग्याउन पनि धेरैले सक्छन् तर छविरमण सिलवाल यीभन्दा पृथक् छन् र फरक छन्।

आँखाले देखेका दृश्य र कानले सुनेका सूचनालाई उनी सोझै हृदयमा पठाउँछन् र प्रशोधन गरेर निकाल्छन् केही शाश्वत् वाक्यहरू; जहाँ उनको कविमन विभिन्न सन्दर्भमा तरल भएर पोखिन्छ।

लन्डनमा नेपालीले सेल पकाएको देखेर उनी भन्छन्, ‘आखिर मान्छे जहाँ भए पनि आफू जन्मे हुर्केको संस्कार र जीवनशैलीलाई सँगै बोकेर लैजाँदो रहेछ।’ लन्डनमा बहिनीको घरमा तीजको दर खान जाँदा उनलाई लाग्छ, ‘मान्छे कुनै अर्को देशमा आफू मात्रै बसाइँ सरेको हुँदैन, उसले आफूसितै आफ्नो संस्कार र संस्कृति ल्याएको हुन्छ, अझ भन्ने हो भने एउटा देश नै साथै लगेको हुन्छ’ (७६)।

सहरबीचको विशाल रेजेनपार्क र त्यहाँको सौन्दर्य देखेर उनी ठान्छन्, ‘साँच्चै त्यसै बन्दैन सुन्दर पर्यावरण त्यसका लागि प्रतिबद्धता, मेहनत र असल संस्कार चाहिन्छ’ (७३)। सौन्दर्य जोगाउने काम राज्यको मात्र होइन व्यक्तिको पनि त्यत्तिकै भूमिका हुँदो रहेछ भन्ने सत्यबोधपश्चात् उनी भन्छन्, ‘समाज बदल्नका लागि हरेक मान्छे आफैंबाट बदलिनु पर्दोरहेछ’।

हो, हामी हरेक काममा राज्यको मुख ताक्छौं तर आफैंले गोब्र्याएको गोठ राज्यले सफा पारिदेओस् भन्ने हाम्रो चाहनाप्रति गम्भीर हुन र आपूmबाटै संस्कार र सभ्यताको सुरुआत गर्नु पर्ने विचार पोख्छन्।

छविरमण उताकी स्वस्थ र तरुनी टेम्स नदी देखेर यताकी रोगी र बूढी वाग्मती सम्झन्छन्, उताको व्यवस्था देखेर यताको अव्यवस्था सम्झन्छन्। हाइड पार्कको वातावरणीय व्यवस्थापन देखेर रत्नपार्कको विकृति र दुर्दशा सम्झन्छन्। लन्डनको सार्वजनिक यातायात सुव्यवस्था देखेर काठमाडौंको सार्वजनिक यातायातको दुरवस्था सम्झन्छन्। सेक्सपियरको जन्मस्थलमा पाइला टेकेर उनको मनको उडान देवकोटाको जन्म घरमा पुगेर अवतरित हुन्छ।

लन्डनको क्यामडेनमा पुग्दा उनलाई आफ्नै बासस्थान पेप्सीकोला र कर्मथलो ठमेल झल्झल्ती याद आउँछ र उनी भन्छन्, ‘साँच्चै मेरो जीवन नै ठमेल र पेप्सीकोलाको दूरी नाप्दैमा बितेको छ’ (६७)।

ग्रोभ फार्म (विशाल कृषि फार्म) मा पुगेर उनी जब किसानको शान, उच्च जीवनस्तर र इज्जत देख्छन् नेपालका किसानले पसिना, परि श्रम र लगानीको उचित मूल्य नपाएर आक्रोशस्वरूप कहिले दूधले सडक नुहाइदिएको त कहिले बाटोमा तरकारी फ्याँकिदिएको र बाटै जाम भएका कहालिलाग्दा कथा सम्झन्छन्। यसरी जबजब उनी उताको व्यवस्था र कानुन सम्झन्छन् तबतब उनी यताको अव्यवस्था र अराजकता देखेर दुःखी हुन्छन्।

पाठकलाई उत्सुकता र जिज्ञासाको सूत्रमा बाँधेर सँगसँगै हिँडाउने सारथि हुन्, छविरमण। उनका नियात्रामा गति र यतिको चमत्कारिक योग छ। आँखाले खिचेका दृश्यलाई र कानले सुनेका आवाजलाई अक्षरमा मूर्त तुल्याएका छन्। उनका तिर्खालु आँखा एकछिन लन्डनमा दृश्य खिच्न चलायमान हुन्छन् र दृश्य खिच्छन्। पुनः टक्क अडिन्छन् र सूचना टिप्छन् पुनः ती दृश्य र सूचनालाई अनुभूतिको ल्याबमा पठाउँछन् र नयाँ माल बनाएर हाम्रासामु पस्कन्छन्।

गतिशीलता, स्थानीयता, सूचना र तथ्यको सम्प्रेषणजस्ता नियात्राका आधारभूत तत्वहरूकै गोरेटोमा उनका नियात्रा यात्रारत देखिन्छन्।

छवि जहाँ जान्छन् मुटुमा नेपाल लिएर जान्छन्। जहाँ नेपाली देख्छन् उनीहरूलाई दाजुभाइ ठान्छन्, नेपालीहरूको पौरखले कतारको मरुभूमिमा ल्याएको हरियाली, अनि जताततै नेपाली देखेर उनी भन्छन्, ‘अब भने मलाई विश्वास भयो कि कतार बनाउने त नेपालीहरू पो रहेछन्’ (३०)।

एकातिर नेपालीको पसिना र पौरखको कारण कतारमा विकास लहलहाएको छ भने तिनै नेपालीहरूको अभावले मातृभूमि नेपाल विकासको तीव्र चाहनाले छटपटाएको छ। त्यसैले त युरोप–अमेरिकामा रंगीन सपनामा भासिएका नेपालीको सन्दर्भ दिँदै उनी लेख्छन्, ‘तर यथार्थ यो चाहिँ हामीले स्वीकार गर्नुपर्छ यतिका नेपालीलाई विदेश लघार्ने कारक तत्व चाहिँ नेपालको गैरजिम्मेवार र जनउत्तरदायीविहीन राजनीति नै हो’ (२५)।

यति छोटो समयमा गरेको भ्रमणमा पनि उनले पर्याप्त सूचना दिन चुकेका छैनन्। सूचनाका स्रोत हुन्– उनकै जिज्ञासु आँखा, मित्र विजय सापकोटा, गाइडबाट सुनेका कुरा रेकर्ड गर्ने उनकै कान र केही उनकै पूर्वज्ञान र अध्ययन। उनले दिएका सूचना अपडेटेड भर्संनमा आएका छन्, पूर्ववर्ती/अग्रज नियात्राकारले दिएभन्दा थप र फरक रूपमा।

लन्डनको पहिलो दिनको भ्रमण नियात्रामा दिइएको सेन्ट्रल लन्डन, एजबेयर बजार र बसस्टपको व्यवस्थित संरचनाको सूचना बेजोड छ। उनी पहिलो दिन अक्सफोर्ड सर्कस, मार्वल आर्च, स्पिकर कर्नर, हाइड पार्क, बकिङघम प्यालेस, बिलिङटन चर्च, युद्धस्मारक, क्विन्स गार्डेन, ट्रफलगर स्क्वायर, नेसनल ग्यालरी घुमेर तत्तत् स्थानका सूचना पनि निकै जीवन्त रूपमा दिएका छन्। दोस्रो दिन ‘बेम्ली स्टेडियममा एक फन्को’ लगाउँदा उनी अलपोर्टन, क्विन्सवरी, हिन्दु मन्दिर र भारतीहरूले भरिभराउ भएको लन्डनको भारत भ्रमण गरेका छन्।

‘गिनविचको साँझ’लगायत अन्य नियात्रामा उनी टेम्स नदी, लन्डन आदि वेस्टमिनिस्टर र बिगवेन, टावरब्रिज कटीसार्क, रोयल म्युजियम, रोयल अब्जर्भेरी, क्यामडेन टाउन, रेजेन पार्क, स्ट्याटफोर्ड अपन एभन तथा ग्रोभ फार्मजस्ता महत्वपूर्ण स्थलहरूबाट तथ्य, जिज्ञासा र प्रश्नात्मक सूचनाहरू लिई नियात्रामा पस्केर पाठकलाई अभिभूत तुल्याएका छन्।

नियात्रामा अनेकौं रोचक कुरा छन्। रेल होस् या पार्क, जहाँ पनि किताब पढ्दै गरेका मानिस देख्दा उनी बेलायती पठन संस्कृति देखेर लोभिन्छन्। गोर्खा सैनिकले रानीको सुरक्षा त दिएको तर ती सुरक्षा दिने गोर्खाको आफ्नै देश कत्तिको सुरक्षित छ भन्ने प्रश्न उठ्छ छविका मनमा।

कवि भनेर थाहा पाएपछि इमिग्रेसन अधिकारीले दिएको सम्मानले उनको कवि हुनाको गौरवबोधले सगरमाथा छुन्छ। टेम्स नदी क्रस गर्न नदीमुनिको सब–वे यात्रालाई उनी पानीमुनिको ओभानो यात्रा भनी विपरीतमूलक बिम्ब प्रदान गर्छन्।

छविरमणका भाषामा चित्रात्मकता, गतिशीलता र चुम्बकीय प्रवाह छ। सडकमा गुडिरहेका लामबद्ध गाडी देखेर उनको कविकल्पना यसरी पोखिन्छ, ‘मानौं यी गाडी नभएर परेड खेलिरहेका सिपाही हुन्’ (४७)। बेलायतको बस यात्रा गर्दागर्दै नेपालको बस यात्रालाई उनी गुन्द्रकको बिम्ब प्रदान गर्दै भन्छन्– ‘कसरी कोच्छन् यात्रुहरूलाई मानौं यात्रुहरू गुन्द्रुक हुन्, जति कोच्यो अमिलिनु पर्ने’ (४६)।

भिख माग्ने सांगीतिक, सिर्जनात्मक स्टाइल र बारीभरि रोपेका सोलार प्यानलबाट उत्पादित बिजुली बेच्ने किसानहरूको वर्णनमा वक्रता छ र त्यो पनि सहज र स्वाभाविक।

गतिशीलता, स्थानीयता, सूचना र तथ्यको सम्प्रेषणजस्ता नियात्राका आधारभूत तत्वहरूकै गोरेटोमा उनका नियात्रा यात्रारत देखिन्छन्। किनकि गतिशीलता उनका नियात्राको प्राण हो, स्थानीयता उनको नियात्राको स्थापत्य हो। अनुभूतिको प्रयोगशालाबाट कलात्मक, जीवन्त र चलायमान भएर आउने सूचना, तथ्य र घटनाहरू उनका नियात्राको पठनीयताका पोषक तत्व हुन्।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 13 मङ्गसीर, 2075

लेखकका अन्य रचनाहरु