नेपाली साहित्य अनि डुवर्स

- नवीन पौड्याल

१. आमुख- साहित्य समाजको दर्पण हो। कुनै पनि समाजको जीवन्तता र सक्रियताको लक्षण त्यहाँ हुने साहित्यिक, सामाजिक, सांस्कृतिक, राजनैतिक गतिविधिलाई मान्न सकिन्छ। अझ साहित्यिक कार्यकलापले समाजको सर्वाङ्गीण सक्रियता झल्किन्छ। साहित्यमा समाजको उन्नति, अवनति, विकास, विकृति इत्यादि सबै पक्षहरूको प्रतिबिम्बन हुन्छ। यदि कुनै समाजलाई चिन्नु हो भने पहिले त्यस समाजको साहित्य कस्तो छ, कति सम्पन्न छ भनी नियाले थाहा पाउन सकिन्छ। साहित्यले समाजलाई प्रत्यक्ष-परोक्ष रूपमा दिशा निर्देशन पनि गरेको हुन्छ। समाजका जागरूक युवावर्ग मिलेर साहित्यिक गोष्ठी गरी समाजलाई अघि बढाउने कार्य गर्छन्। समाजलाई सठिक मार्गमा डोर्‍याउने एउटा तत्व साहित्य पनि हुनसक्छ। अतः साहित्य समाजको दर्पणका साथै औ दिशा-निर्देशक पनि हो। साहित्यले युग बोकेको हुन्छ, जनाकांक्षा बोकेको हुन्छ, जनआवाज बोकेको हुन्छ। साहित्यले समाज र मुलुकको व्यवस्थाप्रति सचेतता बोकेको हुन्छ, विकृति देखेको हुन्छ, क्रान्तिको झिल्को बोकेको हुन्छ। साहित्यमा सकारात्मक परिवर्तनको चेतना हन्छ र हुनुपर्छ। यसकारण साहित्य समाजको पछिपछि कुद्ने मात्र नभएर समाजको अघिअघि गएर बाटो देखाउने तत्व पनि हो ।

२. मासिक भेला र साहित्यलाई टेवा – कुनै पनि समाजमा साहित्यलाई प्रवर्द्धन र संवर्द्धन गर्न लेखन, अध्ययन मनन, पुस्तक प्रकाशन, साहित्यिक संस्था र संगठन, कार्यक्रम अनि सरकारी संरक्षण आदि कुरा पर्दछन्। यसबाहेक गाउँ र बजारतिर सम्पन्न हुने नियमित भेला र जमघट पनि साहित्यलाई टेवा दिने मुख्य आधार बनेको हुन्छ। यस्ता खाले मासक भेलाले समाजलाई साहित्यसित जोड्छ, समाजलाई साहित्यिक परिवेश बनाइदिन्, असाहित्यिकलाई साहित्यिक बनाइदिन सक्छ। यसरी हेर्दा दिने एउटा मासिक साहित्यिक भेला पनि साहित्यलाई अघि बढाउने सुख्य उत्प्रेरक तत्व बनेको हुन्छ। गाडीमा मोबिलले इन्धन सञ्चालनमा महत्वपूर्ण योगदान दिए झैं समाजमा साहित्यिक गतिविधिलाई गति दिने काम गर्छ ।

३. नेपाली साहित्य र मासिक साहित्यिक भेला - नेपाली साहित्यको इतिहास हेर्दा हामी पनि साप्ताहिक र मासिक भेला कार्यक्रमले नै नेपाली साहित्यलाई अघि बढाउन धेरै सहयोग दिएको इतिहास पाइन्छ। साप्ताआफ्ना साथीहरूलाई भेला गरी साहित्यिक कार्यकलाप शुरू गर्ने मोतीराम भट्टको नेतृत्वमा संचालित मोतीकृष्ण मण्डलीलाई पाउँछौं। त्यस संस्थामा मोतीराम भट्ट, नरदेव पाण्डे, लक्ष्मीदत्त पन्त, बडाकाजी मरीचिमान सिंह इत्यादि प्रमुख थिए। त्यस मण्डलीले कहिले मासिक,कहिले साप्ताहिक रुपमा भेला भई गजल, समस्यापूर्त्ति कविता सुन्ने र सुनाउने प्रचलन राखेको थियो। मोतीराम भट्टको अकालमा नै निधन भएकाले उक्त संस्था र जमघट लामो चल्न सकेन। नेपाली साहित्यमा चलेका राल्फाली, बुट-पालिस, अस्वीकृत जमात, अमलेख, तरलवादी इत्यादि साहित्यिक आन्दोलनहरू यस्तै मासिक वा साप्तहिक भेलाका उपज हुन्। यता दार्जीलिङ-सिक्किमतिर पनि यस्ता मासिक वा साप्ताहिक जमघटबाट धेरै साहित्यिक संस्था र गतिविधि बढेका हामी देख्न सक्छौं। सन् १९४६-४७ तिर गान्तोकका विशेष चारजना शिक्षकलगायत अन्य केही व्यक्तिहरू मिली साहित्यिक चर्या गर्थे। त्यसैको फलस्वरूप अपतन साहित्य परिषद् गठन भएको भन्ने भनाइ छ। यता दार्जीलिङतिर पनि यस्ता साहित्यिक जमघटको इतिहास पाइन्छ। हरिप्रसाद गोर्खा राईको कथासंग्रह यहाँ बदनाम हुन्छमा एउटा कथा छ नेपाली साहित्य-चक्रमा सुनेका तीन कथामा पनि साहित्य चक्रको उल्लेख छ जहाँ प्रत्येक महिना कसैले कविता कसैले कथा आदि सुनाउने परम्परा रहेको छ। असम, मेघालयतिर उक्त साहित्यिक भेला हुने गरेको थाहा पाइन्छ। यद्यपि उक्त कार्यक्रम अवश्य नै थियो। हरिप्रसाद गोर्खा राईलगायत अन्य केही साहित्यिक चासो राख्ने व्यक्तिहरू अवश्य संलग्न भएको हुनुपर्छ। भाक्सू-देहरादूनतिर पनि यस्ता खाले कार्यक्रम भएको हुनुपर्ने कुराको अनुमान लाउन सकिन्छ। पछिबाट दार्जिलिङ, गान्तोक, कालिम्पोङ खरसाङ हुँदै अब धेरै ठाउँमा मासिक साहित्यिक भेला सञ्चालन हुँदै आएको पाइन्छ। कुनै दीर्घ समयसम्म यस्ता मासिक कार्यक्रमहरू सञ्चालित छन्, कुनै छाडिएका छन्, कुनै बन्द हुँदै बौरदे गरेको पाइन्छ। हालसम्म बत्तीसवटा जति मासिक भलाहरू सञ्चालित भेला हुन्। सबैभन्दा बढी प्रकरण पूरा गर्ने कालिम्पोङको बसिबियाँलो हो। यसले हालसम्म एकसय अडहत्तरौं प्रकरण पूरा गरिसकेको छ। यसपछि दार्जिलिङको खुल्ला साहित्यिक गोष्ठी मञ्च, साहित्य परिक्रमा, शब्द समय, कफि कविता, चिया कविता, साहित्य सङ्गम आदि सक्रिय रहेका छन्। यसबारे सम्बन्धित स्थानका समालोचक वा साहित्येतिहासकारहरू वा ती ती ठाउँका सामाजिक-साहित्यिक संघ-संस्थाहरूले पनि अध्ययन-अनुसन्धान गर्नुपर्ने देखिन्छ।

३. साहित्य-परिक्रमा र डुवर्स - डुवर्सको बाग्राकोटमा पनि साहित्य-परिक्रमा नामक साहित्यिक भेला कार्यक्रम सञ्चालन भइरहेको छ। मासिक तवरमा नियमित नभए तापनि अनुकूल समय पारेर यसले साहित्यानुरागी भेला गरी हालसम्म अडचालिसौं प्रकरणसम्मको यात्रा हिंडिसकेको छ। सन् २००० को जुलाई महिनामा बद्रीनारायण प्रधानको आँगनमा बसेको पहिलो भेलाले साहित्य-परिक्रमा नामकरण गरी आफ्नो उद्देश्य र नियमावली तय गरेको हो। स्थायी रूपमा कोही एकैजना संयोजक नभएर पालै-पिलो गरी प्रकरणै पछि संयोजक बन्ने प्रथा छ । सुखमन मोक्तान, अजय खँड्का, अजय श्रेष्ठ, वेगवसन्त थापा, भूपेश शर्मा, निर्मल शर्मा,रूपेश शर्मा, नारायणविक्रम प्रधान, शङ्कर प्रधान, देवेन्द्र छेत्री, श्रीमती गङ्गादेवी शर्मा, बलराम पुरी आदिले संयोजकको भार वहन गरेका छन्। श्री देवेन्द्र छेत्री यसको संयोजक भएका बेला यसै कार्यक्रममा केटा-केटीका निम्ति खेल-कुदको आयोजना पनि गरिएको थियो। एकपटक नारी-भेला आयोजना पनि गरिएको थियो र त्यसमा विन्द्या सुब्बा,डा कविता लामा, दुर्गा गुरूङ आदिलाई डाकी भव्य बनाइएको थियो। भेला वेगवसन्त थापा, रेमिका थापा इत्यादिले वार्ता पनि प्रस्तुत गरेका छन्। साहित्यिक प्रतिभाहरूलाई सम्वर्द्धन र प्रवर्द्धनका निम्ति गठित र संचालित उक्त साहित्यिक कार्यक्रमले आफ्नो विशिष्ट योगदान दिँदैआएको छ। हालमा यस संस्थामा अजय खँड्का, अजय श्रेष्ठ, भूपेश शर्मा, गणेश बस्नेत आदि सक्रिय रहेका छन्। यसले उनन्चालिसौं प्रकरण सामसिङमा मनाई पचासौं प्रकरण चाँहि बाग्राकोटमा धुमधामको साथ मनायो। अब यसले सय प्रकरणको खुडकिलो पार गर्दैछ। सय प्रकरणसम्म आउनलाई यसले धेरै समस्या झेल्नु पर्‍यो, आर्थिक कठिनाइको सामना गर्नुपर्यो। बीचबीचमा बिसाउँदै, बिलाउँदै र बौरिदै भए पनि सय प्रकरण पुग्नु पनि एउटा महत्त्वपूर्ण उपलब्धि हो ।
साहित्य परिक्रमाले युवा पुस्ताका एउटा ठुलो जमातलाई साहित्यमुखी बनायो। विद्यार्थी पुस्तालाई पनि साहित्य लेख्ने परिवेश बनाइदियो। नयाँ नयाँ हाँचका कवि गजलकार कथाकार बनायो। यसले डुवर्सव्यापी एउटा नयाँ पुस्तालाई साहित्यमा रूचि लिने बनायो, साहित्य लेख्नेहरूलाई मञ्च निर्माण गरिदियो । यसले स्वर्ण प्रकरण विशेषाङ्क पनि प्रकाशित भएको छ ।

४. नेपाली साहित्य विकास समिति र डुवर्स - डुवर्सको मुख्य साहित्यिक संस्था डुवर्स नेपाली साहित्य विकास समितिले त्यहाँको नेपाली साहित्यको उत्थान गर्न कम्मर कसेको देखिन्छ। सन् १९७४ मा स्थापित यस समितिले घरि कुद्दै र घरि बिसाउँदै आफ्नो कार्य गरिरहेकै छ। यसले डुवर्समा अभिभावक संस्था बनी धेरै साहित्य सेवा गरिरहेको छ। किताबसिंह राई, सुखमन मोक्तान, इन्द्रबहादुर गुरूङ, गोपालसिंह विश्व, सितम मोक्तान, ललित न्यासुर, श्रीनारायण प्रधान, अबीर खालिङ आदिले यसलाई गति दिन काम गरिरहेछन् । बेला बेलामा साहित्यिक कार्यक्रम आयोजना गर्नु, पुस्तक प्रकाशन गर्नु आदि जस्ता कार्यक्रम गरिरहेको देखिन्छ। यसले आफ्नो साहित्यिक पत्रिका अवलोकन पनि प्रकाशित गरिरहेको छ। यस संस्थाले अझै धेरै साहित्यिक काम सम्पन्न गर्न सक्छ।

४. डुवर्स र प्रगतिवाद – प्रगतिवाद भन्नाले के बुझिन्छ भन्ने परिभाषातिर नगएर डुवर्समा यस मार्क्सवादी चिन्तनले कतिको प्रभाव पारेको छ भन्ने कुरा अध्ययन गर्नुपर्ने देखिन्छ। शाब्दिक अर्थमा त डुवर्स भन्नाले द्वार र छिर्ने गल्छौंडा बुझिन्छ। भुटान, आसाम बंगाल छिर्ने भूभाग भनेर डुवर्सको नामकरण भएको हो भने पनि सही होला। यसबारे यहाँ डुवर्सको नामकरण, इतिहास, भूगोल आदि जमर्को नगरी आफ्नो सोझो कुरा व्यक्त गर्ने प्रयास मात्र गरिन्छ। आममानिसका निम्ति डुवर्स भन्नाले चियाबारी, जङ्गल र सानासाना बजारहरू भएको एउटा प्राकृतिक सुन्दरताले भरिएको तर अल्पविकसित स्थान बुझिन्छ। यहाँका अधिकतर मानिस चिया श्रमिकहरू भएको ठाउँ हो। अधिकतर चिया श्रमिकहरूका बीचबाट प्रगतिवादी साहित्य सिर्जना हुनु नै अपेक्षित हुन्छ। चारैतिर चियाबगानका धुरा र पाडाहरूबाट अभाव, अपुग, अन्याय र असन्तुष्टिबीचबाट सिर्जिएको साहित्य कस्तो हुन्छ त। रातदिन कठोर परिश्रम, मेहनत, अभाव र अपुग, शोषण दोहनका भुवँरीमा शास्त्रीय र रोमान्टिक साहित्य अवश्य लेखिने होइनन्। यस्तोमा त वर्गसङ्घर्ष, क्रान्तिकारी चेतना, परिवर्तानाकांक्षी स्वर, शोषण र अन्याय अत्याचारको विद्रोहात्मक चेतनाका झिल्काहरू देखा पर्छन्।
डुवर्सबाट प्रकाशित भएका विभिन्न साहित्यिक पत्रिकाहरूमा विभिन्न स्वर उरालिएका रचना प्रकाशित भएको हुनपर्छ। अग्रदूत, दीपमलिका, इन्द्रधनुष, शिरीष, प्रयास, नायक, टिस्टा सुनकोस, कोपिला, मुना, अवलोकन जस्ता पत्रिकाहरूले डुवर्सलाई बोकेका छन्। डुवर्सको आवाजलाई बुलन्द गरेका छन्, डुवर्सको स्वरलाई उरालेका छन्। बद्रीनारायण प्रधान, मणिकुमार थापा, जनार्दन थापा, विष्णु शर्मा अधिकारी, इन्द्रबहादुर गुरूङ, किताबसिंह राई, श्रीनारायण प्रधान, रूपेश शर्मा, रबिन खवास, कृष्ण योञ्जन, अजय खँडका, वेगबसन्त थापा, गोपालसिंह विश्व आदि आ-आफ्ना कृति लिएर देखा परेका छन्। यिनका कृतिमा प्रत्यक्ष-परोक्ष प्रगतिवादी चिन्तन पाइन्छ । अझ बद्रीनारायण प्रधानले त सैद्धान्तिक र सचेत रूपमा नै मार्क्सवादलाई अपनाएका हुन्। उनले आमा उपन्यासलाई नेपाली अनुवाद गर्नु, महर्षि कार्ल मार्क्सको जीवनी लेख्नु उनको आफनै सैद्धान्तिक अडानलाई स्पष्ट पार्नु हो। मौली र भुवँरी जस्ता उपन्यास र संगत कथासङ्ग्रहमा उनी प्रगतिवादी देखिन्छन्। उनी बाँचुञ्जेल प्रगतिवादको एउटा मूल खम्बा भएर लेखिरहे । उनले नै कथा, उपन्यास, समालोचना र निबन्ध लेखनमा प्रगतिवादी चेतनालाई अघि बढाइरहे । उनको प्रगतिवादी लेखनलाई पालो दिन रूपेश शर्मा, अनन्त श्रेष्ठ, अजय खँड्का आदि देखा परेका छन्। यद्यपि अझै प्रखर रूपमा प्रगतिवादी सिद्धान्तका आधारमा सिर्जना र दृष्टि लिएर रूपेश शर्मा समालोचनाको फाँटमा देखा पर्छन्। यस कृतिलाई डुवर्सको मात्र नभएर भारतीय नेपाली समालोचनामा एउटा उत्कृष्ट समालोचनाको पुस्तक मान्न सकिन्छ ।

५. डुवर्सको परिप्रेक्ष्यमा साहित्यकारहरू – डुवर्समा विभिन्न प्रतिकूल परिस्थितिबीच पनि नेपाली साहित्य फले-फुलेको छ। नेपाली साहित्यको श्रीवृद्धिमा यस क्षेत्रको पनि योगदान रहेको छ। उनले डुवर्समा आएर समालोचनाको जग बसालेका हुन्। डुवर्सेली साहित्यको लेखाजोखा र सर्वेक्षण कार्य शङ्कर प्रधानले गरेका छन् । यहाँ अन्य विधाका तुलनामा कविता विधाले ढाकेको छ। यहाँबाट अन्य विधाका तुलनामा कवितासङ्ग्रह बढी प्रकाशित छन् जो अन्य ठाउँमा पनि त्यही हुन्छ। यहाँबाट हालसम्म अट्ठाइसवटा कवितासङ्ग्रह, दुईवटा खण्डकाव्य, चारवटा गीतसङ्ग्रह, एउटा गजलसङ्ग्रह, तीनवटा मुक्तकसङ्ग्रह गरी जम्मा चालिसवटा कविताकृति, बीसवटा कथासङ्ग्रह प्रकाशित भएका छन्। यता उपन्यास भने सातवटा मात्र जो अत्यन्त थोरै प्रकाशित छन्। चारवटा एकाङ्कीसङ्ग्रह प्रकाशित देखिन्छन्। विष्णु शर्मा अधिकारी, बद्रीनारायाण प्रधान आदि मात्र उपन्यास लेखनमा देखिएका हुन्। बद्रीनारायण प्रधानले डुवर्सलाई सिङ्गै बोकेका थिए। उनका मौलिक र अनूदित गरी लगभग एघारवटा जति कृति प्रकाशित छन्। उनले बाग्राकोटदेखि लिएर समग्र डुवर्सलाई नै साहित्यिक सामाजिक र राजनैतिक अभिभावक बनेर समाजलाई ठुलो योगदान दिएका हुन्। बाग्राकोटको साहित्य परिक्रमाको पनि उनी मूल अभिभावक र स्तम्भ बनेका थिए। अर्का किताबसिंह राईले पनि साङ्गठनिक रूपमा डुवर्सलाई बोकेर हिँडेका थिए। उनका दुईवटा कवितासङ्रग्रह – जीवनफूल (१९८०) अक्षरानुभूति (२०१४), कथासङ्ग्रह - कलिलो फूल गुलाबको (१९८५) तथा लेखसङ्ग्रह - आँखीझ्यालबाट (१९९७) र सिर्जना र समीक्षण (२०१०) उनका कृति प्रकाशित देखिन्छन् । यीबाहेक अन्य अनुवाद र सम्पादित र दस्तावेजी कृतिहरू पनि प्रकाशित गरेका छन् । बद्रीनारायण प्रधान र किताबसिंह राईले लगाएको गुण र ऋणलाई डुवर्सले पनि केही हदसम्म भए पनि फर्काउने प्रयास गरेको छ। कालजयी कर्महरूमा बद्रीनारायण प्रधान (२०१४, सम्पादक रूपेश शर्मा) नामक स्मृति ग्रन्थ, बद्रीनारायण प्रधान समृति प्रतिष्ठान र बाग्राकोटा उहाँको सालिकको स्थापनि आदि कार्यले उनलाई अमर बनाउने कार्य भएको छ। यस्तै गरी कितापिंह राई : कीर्ति र कृति (२०१८) नामक स्मृति ग्रन्थको प्रकाशनका साथै सालिक स्थापनाको जमर्को पनि गरिएको छ। प्रधानको स्मृति ग्रन्थ धेरै पक्षमा उत्कृष्ट बनेको छ भने किताबसिंह राई स्मृति ग्रन्थ पनि धेरै मेहनत, परिश्रमका साथ प्रकाशित गरिएको छ।

६. नेपाली समालोचना र डुवर्स - डुवर्समा समालोचना टाक्सिएको छ । डुवर्समा आफ्नो कर्मक्षेत्र बनाएर बसेका जीवन नामदुङले सन् १९७८ मा प्रकाशित पुस्तक नेपाली साहित्यका भौंप्वालहरूका माध्यमबाट डुवर्समा पुस्तकाकार रूपमा समालोचनाको घरेडी बसालिदिएका हुन् । यसपछि सन् १९९१ मा मननारायण प्रधानको केही साहित्यिक अध्ययन र मूल्याङ्कन पुस्तक डुवर्सको दोस्रो समालोचनात्मक कृति हो । यसपछि जनार्दन थापाले पनि प्रगतिवादी सामलोचनालाई अघि बढाएका छन् उनी पनि निष्ठावान, निर्भीक र व्यवहारिक समालोचक हुन् । यद्यपि उनको समालोचना क्षेत्रमा पुस्तकाकार रूपमा कृति प्रकाशित भए भएका छैन। किताबसिंह राईको सिर्जना र समीक्षण (२०१०) समालोचनात्मक पुस्तक प्रकाशित देखिन्छ। यसभित्र रहेका जम्मा तेह्रवटा लेखहरूमा दसवटा भने समालोचनापरक र बाँका तीनवटा भने सामान्य सांस्कृतिक, शैक्षिक र नेपाली भाषिक पठन-पाठनको स्थिति लेखाजोखा गरिएको छ। समालोचनापरकमा पनि सर्वेक्षणपरक, कृतिपरक र कृतिकारपरक रहेका छन्। यस पुस्तकको खास मूल्य भने सर्वेक्षणात्मक समीक्षामा रहेको पाइछ। कोही विद्यार्थी-शोधार्थीले डुवर्सको साहित्येतिहास र सर्वेक्षण गर्नुपरे किताबसिंह राईको यस पुस्तक विशेष महत्त्वको हुन्छ। शङ्कर प्रधानका पनि समीक्षै समीक्षा (२०१३), कालअनुरूप कविता (२०१५) र डुवर्सका कृतिहरू (२०१६) गरी तीनवटा समालोचनात्मक कृति प्रकाशित देखिन्छन् । यसमा डुवर्सका कृतिहरू भने डुवर्स क्षेत्रका साहित्य सर्वेक्षण र अनुसन्धान गर्ने र रूचि राख्ने विद्यार्थी र अन्वेषकका निम्ति भने निकै उपयोगी बनेको छ । यसभित्र डुवर्सबाट प्रकाशित ११९ वटा विभिन्न विधाका पुस्तकहरू र ९६ वटा पत्रिकाहरूबारे संक्षिप्त रूपमा भए पनि समीक्षा-टिपोट गरेका छन् । रूपेश शर्माको सिर्जना र दृष्टि (२०१७) समालोचना
यसरी हेर्दा डुवर्सभूमि चियाखेती र अन्य अन्नादिका निम्ति मात्र नभएर साहित्य सिर्जना गर्नका निम्ति उर्वर भूमि हो । यद्यपि यहाँका गोर्खाली समुदाय विभिन्न आर्थिक, सामाजिक, राजनैतिक, भौगोलिक आदि समस्यासित जुझ्दै भए पनि नेपाली साहित्यको श्रीवृद्धिमा लागिपरेको देखिन्छ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 13 मङ्गसीर, 2075

लेखकका अन्य रचनाहरु