सरकारी सुरक्षा गृह

- राजु अधिकारी

मध्य रातमा अमेरिकाबाट छोराले फोनमा खुशीको खबर सुनाए पछि एकछिन् त उसलाई निकै खुशी लाग्यो। छोराको बर्षौ देखिको अमेरिकी नागरिक बन्ने सपना पुरा भएकोमा एउटा बाबु भएको नाताले सन्तानको लागि खुशी हुनु स्वाभाविक नै थियो। तर त्यसको मतलब उसलाई थाहा थियो - अब उसको छोरो नेपाल फर्कने छैन। अनि त्यो सोंचेर उसको त्यो खुशी बिस्तारै उसले थाहा नपाइकनै दु:खमा परिणत भयो। बास्तवमा मनमनै उसले छोराको अमेरिकी नागरिकताको निबेदन अस्वीकृत होस् भन्ने पुकारा गरिरहेको थियो, तर खुलेर कसैलाई भन्न नमिल्ने। जसले जे भने पनि हरेक मानिस स्वार्थि हुन्छ, उसको त्यो जन्मजात गुण हो। मानिसले सबभन्दा पहिले आफ्नै बारेमा सोंच्छ अनि मात्रै अरुको बारेमा। त्यसैले उसले पनि आफ्नो बारेमा सोंचेर नै छोराको निबेदन अस्वीकृत होस् भन्ने पुकारा गरेको थियो। उसलाई डर थियो कि छोरो उताको नागरिक भए पछि नेपाल फर्कने छैन अनि आफ्नो बुढेसकालको सहारा कोहि हुने छैन। त्यतिमात्रै होइन उसको अपार सम्पत्तिको देखभाल गर्ने कोहि हुने छैन। के गर्नु बुढीले एक्लै छोडेर आफु भन्दा पहिले बाटो तताईहाली, अबको आशा भने पनि सहारा भने पनि त्यहि एउटा छोरो थियो त्यो पनि टाढा हुने भयो।
छोराको त्यो फोनले त्यो दिन उसलाई रात भरि निद्रा लागेन। अब छोरो पनि अमेरिका बिलय हुने भयो भनेर उसलाई निकै एक्लोपन महशुस भयो। हुन त आज भोलि कसका छोराछोरीले बाबु आमालाई स्याहारेर बसेका छन र? तैपनि सास हुदाँसम्म आश हुन्छ भनेर कतै छोराको दिमागमा एक्लो बाबुलाई स्याहार्नु पर्छ भनेर बुद्धि पलाई हाल्छ कि भन्ने झिनो आशामा ऊ बसेको थियो। तर छोरोको पनि के गल्ति छ र? उसले बाबुलाई अमेरिका लगेर सुबिधा सम्पन्नसंग राख्छु भनेकै छ, त्यो भन्दा उसले पनि के गरोस त? उसको लागि आफ्नो र उसका छोराछोरीको भबिष्यसंग खेलवाड गर्न पनि त भएन। के गर्नु संसार यस्तै हो, माया पनि खोला जस्तै रहेछ, तलतिर मात्रै बग्ने- उसले छोराको लागि आफुले गर्न सक्ने सबै गरेको थियो छोरोले पनि आफ्ना छोराछोरीको लागि आफुले गर्न सक्ने सबै गर्ने नै भयो। ऊ अमेरिका गएर उनीहरुसंगै नातिनातिना संग रमाउँदै बसे पनि हुने हो तर उसलाई ती म्लेच्छहरुको देशमा मरेर अगति पर्नु छैन। जे जस्तो भए पनि पशुपतिको आर्य घाटमा जलेर बैकुण्ठ जाने उसको इच्छा छ।
त्यसैले अब के गर्ने होला भनेर उसलाई निकै छटपटी हुदै गयो। न मर्न सकिने न बहुलाउन सकिने।
एउटा सजिलो उपाय थियो वृद्धाश्रममा गएर बस्नु तर पशुपतिको छेउछाउमा रेहेका वृद्धाश्रम देख्दा उसलाई ती वृद्धाश्रमम भन्दा पनि मर्न कुरेरे बस्ने घरहरु जस्तो लाग्छ। त्यहाँ गए पछि खुशीसँग बाँकी जीवन बिताउँला भनेर त सोच्दै नसोंचे हुन्छ- त्यहाँ त निराशामा टोलाएर बस्दै दिन काट्ने काल पर्खिने बाहेक अरु काम छैन।
तर एउटा गजबको ठाउँ थियो उ जान चाहेको- सरकारले समाजका विशिष्ट व्यक्तिको लागि भनेर सरकारी सुरक्षा गृह खोलेको थियो केहि समय अगाडी। कतै जोरजाम गरेर त्यो सुरक्षा गृहमा छिर्न पाए त जीवन आनन्दमा बित्ला जस्तो उसलाई लाग्यो। इज्जत पनि, रमाइलो पनि सुरक्षा पनि, दुवै हातमा लड्डु।
तर एउटा समस्या थियो- ऊ विशिष्ट थिएन, त्यसैले सरकारको त्यो सुरक्षा गृहमा उसलाई प्रवेश दिने? तर पैसाले किन्न नसकिने कुरो के नै छ र? उसको विशिष्ठता पनि उसले पैसाले किन्ने विचार गरेर एकदिन आफ्नो पुरानो साथी भेट्न गयो। उसको साथीको भान्जा नयाँ सरकारमा मन्त्रि भएको थियो। सानो हुँदा आफ्नो मामाघर आउँदा उसले पनि त्यो भान्जालाई चिनेको थियो तर सोझै गएर भन्न उसलाई अलि अप्ठ्यारो लाग्यो। उसको भान्जा सानै देखि निकै मुर्ख भएकोले उसलाई सबैले महास्वाँठ भनेर बोलाउँथे पछि राजनीतिमा लागेर ठुलै मन्त्रि भएको थियो।
उसको साथीले भनसुन गरिदिएछन्, केहि दिन पछि उसलाई त्यहाँबाट खबर आयो अनि खुशी हुँदै ऊ मन्त्रिलाई भेट्न पुग्यो। तर मन्त्रीले अलि बढि नै पैसा लाग्ने सुनायो- ‘लाखमा होइन करोडमा, त्यो पनि एक दुइ करोड होइन दश बीस करोड नै लाग्छ। अरु जस्तो भएको भए त मैले कुरै अगाडी बढाउने थिएन तर हजुरको केस भएकोले म कुरा राख्छु, सायद हुन्छ पनि होला।’
तर पैसाको उसलाई के चिन्ता? त्यसैले निर्धक्कसंग उसले मन्त्रीलाई ‘पैसाको चिन्ता नगर बाबु। खालि मलाइ त्यहाँ पस्नु परेको छ।’ भन्यो।
उसको कुरा सुनेर मन्त्रीले पनि अलि उत्सुकता राख्दै सोध्यो- ‘तर हजुरको खास केस के हो? मिडियामा पनि आएको जस्तो लाग्दैन।’
आफ्नो बास्तविक कुरा भन्न उसलाई अलि अप्ठारो पनि लाग्यो अनि फेरी व्यक्तिगत कुराहरु सबै किन भन्नु भनेर उसले- ‘अलि व्यक्तिगत कुरा हो बाबु। त्यसैले भन्न अलि अप्ठ्यारो छ।’
मन्त्रीले मनमनै सोंच्यो- स्वास्नी नभएको एक्लो बुढो, यो उमेरमा सायद नियन्त्रण गर्ने सकेन होला बुढाले, अनि जोशको बेला होश गुमायो होला, पछि थाहा पाए पछि पैसाको भरमा केश दवाउन नसके पछि यहाँ शरणमा आएको होला। अनि मुसुमुसु हाँस्दै मन्त्रीले भन्यो- ‘यो उमेरमा यस्तै हो हजुर। यस्ता केस धेरै छन्, त्यसमा लाज मान्नु पर्दैन, ल मैले तपाइको कुरा बुझें। अब भोलि पैसा लिएर मेरो सचिवलाई दिनुहोला। अनि बांकी कुरा म मेरो मान्छेलाई भनेर मिलाइदिन्छु।’
अनि ऊ मख्ख पर्दै अब सरकारले सुरक्षा प्रदान गर्ने अति विशिष्ट मान्छेहरुसंग जीवनको उत्तरार्ध खुशीमा काट्न पाइने भयो भनेर मन्त्रीको कोठाबाट बाहिरियो। उसले सोंच्यो त्यहाँ पक्कै पनि पूर्व राष्ट्रपति, पूर्व प्रधान मन्त्रीहरु, ठूला ठूला समाजसेवीहरु, कलाक्षेत्र र खेलकुद क्षेत्रमा योगदान पु-याएका विशिष्ट व्यक्तिहरु होलान भनेर। त्यति ठूला मान्छे संग कसरी घुलमेल गर्ने, कसरी उनीहरुसंग कुरा गर्ने भनेर उसले योजना बनाउन थाल्यो।
भर्खर गठन भएको दुइ तिहाइ बहुमतको सरकारले केहि काम गर्न सकेन, उखान टुक्कामै पाँच बर्ष सकाउने भयो, गुण्डागर्दी, भ्रष्टाचार, आतंक, बलात्कार पहिलेको भन्दा बढेको छ, अपराधीहरुलाई सरकारले नै सुरक्षा दिएर राखेको छ भनेर सरकारको निकै आलोचना भै रहेको थियो, उसलाई पनि हो कि जस्तो लागेको थियो। तर मन्त्रीलाई भेटे पछि उसलाई त्यस्तो लागेन। उसलाई लाग्यो कामहरु त भैरहेका छन नि, केहि समय त लागि हाल्छ नि, जादु गरेको हो र एकैछिनमा सबै बदलिने? भित्रभित्रै सरकारले कति राम्रो काम गरिराखेको रहेछ- जस्तै यो सरकारी सुरक्षा गृह बनाएर देशका विशिष्ट व्यक्तिहरुलाई सुरक्षित र सम्मानजनक रुपले राख्न। यस्ता नदेखिने महान कामहरु कति भएका होलान तर त्यो कुरा जनताले देख्दैनन त्यसैले विपक्षीको लहलहैमा लागेर गरेर सरकारको आलोचना गर्छन। उसलाई सरकारको महान कार्यको मुक्तकण्ठले प्रशंशा गर्न मन लाग्यो। घर फर्केर निकै दिन पछि खुशी हुँदै त्यो रात गहिरो निद्रामा ऊ आरामले सुत्यो।
ऊ सरकारी सुरक्षा गृह प्रवेश गर्ने दिन पनि आइपुग्यो। उसले कल्पना गरे जस्तै त्यो गृह निकै सुरक्षित थियो, दुइ तहको सुरक्षा थियो। भित्र छिर्नुभन्दा पहिले सबै जांच गरिन्थ्यो। सबै प्रक्रिया पुरा गरेर ऊ पनि भित्र पस्यो।
एउटा राम्रो सार्बजनिक पार्क पनि नभएको उकुसमुकुस राजधानीको मुटुमै त्यति फराकिलो, त्यति स्वच्छ अनि सुन्दर ठाउँ पनि रहेछ भन्ने उसलाई पहिले थाहा थिएन। त्यहाँको बातावरणले उसलाई एकैछिनमा मोहित बनायो। आफु पनि तिनै विशिष्ट व्यक्तिहरु बस्ने त्यो सुबिधा सम्पन्न अनि उच्च सुरक्षाको घरमा बस्न पाउँदा उसको खुशीको सिमाना थिएन।
निकै सुन्दर त्यो ठाउँमा उसले त्यहाँ बस्ने अरुलाई नियाल्यो। उसलाई अलि अप्ठ्यारो लागेको थियो- त्यति विशिष्ट मानिसहरुको बिचमा आफु खासै नचिनिएको अनि देशको लागि केहि योगदान नगरेको मान्छे बकुल्लाको बथानमा काग पो भइन्छ कि भन्ने। उसले यताउता हे-यो त्यहाँ उसले चिनेका मान्छेहरु कोहि पनि थिएनन। उनीहरुले नचिने पनि पूर्व राष्ट्रपति, पूर्व प्रधान मन्त्रीहरु, ठूला ठूला समाजसेवीहरुलाई त उसले चिन्नु पर्ने हो। तर उसले कसैलाई पनि चिन्न सकेन। उसलाई लाग्यो उसले नचिनेका त्यति धेरै विशिष्ट व्यक्तिहरु रहेछन।
फराकिलो सफा चौरमा ऊ बाहिर एक्लै टोलाउँदै थियो, त्यहाँ एउटा अधबैंसे मान्छे चुरोटको धुँवा उडाउँदै उतिर आयो अनि उसलाई सोध्यो- ‘नयाँ हो?’
‘हजुर।’ उसले सोझो अनि छोटो उत्तर दियो अनि उसलाई सोध्यो- ‘हजुरको परिचय?’
‘ए, म? त्यो ३८ टन सुनको कुरा त सुन्नु भएकै होला नि, म त्यसैको मान्छे हुँ। ठुलो माछो भन्थे नि, म त्यहि मध्यको एक हुँ, हुन त म भन्दा ठूला माछा सरकारमै छन।’ त्यति भन्दै चुरोटको धुवाँ उडाउँदै ऊ आफ्नो बाटो लाग्यो।
उसलाई अलि कुरो नबुझे जस्तो लाग्यो। त्यसैबीचमा अलि परबाट भर्खरको युवक कानमा हेडफोन लगाएर गीतमा झुम्दै उतिरै आयो अनि आफु भन्दा ठूलो मान्छेलाई आदर गरेर बोल्नु पर्छ भन्ने सामान्य शिष्टताको पनि ख्याल नगर्दै उसले ‘लाइटर छ?’ भनेर सोध्यो।
लाइटर त उसंग थिएन नै तर यति कलिलो उमेरमै विशिष्ट बन्न सफल भएको त्यो युवक को रहेछ भनेर उसलाई निकै उत्सुकता जाग्यो अनि उसले लाइटरको उत्तर नदिई उसलाई उल्टै सोध्यो- ‘तपाई?’
‘म?’ हास्दै उक्त युवकले भन्यो- ‘सुदुर पश्चिममा एउटी पाखे केटीको बलात्कार र हत्या भएको कुरा त थाहै होला नि? म त्यहि बलात्कारी र हत्यारा हुँ। अनि मैले सुनेको तिमी पनि त्यहि कारणले लुक्न आएका हौ रे, हो? तिमीचाहिं यो बुढेसकालमा किन जोस्सिएको त?’
त्यो युवकको कुरा सुनेर उसको दिमाग झनन्न ग-यो। उसले त्यहाँ अरुहरुलाई पनि भेट्दै गयो। ठग ठेकेदारहरु, काला बजारीहरु, कर छल्ने व्यापारीहरु, गुणस्तरहिन सामान उत्पादन गर्ने कारखानाका मालिकहरु, मानब तस्करीहरु, गुन्डा र हत्याराहरु सबै तिनै सरकारले दिएको उच्च सुरक्षामा थिए।
त्यो देखेर उसलाई चिटचिट पसिना आयो। उसलाई आफ्नै बुद्धिले गर्दा तावाबाट फुत्केर भुंग्रोमा छिरे जस्तो भयो। त्यति उच्च सुरक्षायुक्त सरकारी सुरक्षा गृहमा पनि उसले आफुलाई निकै असुरक्षित महशुश ग-यो। के थाहा बुढाबुढी, केटाकेटी, गर्भवती, सुत्केरी केहि नभन्ने बलात्कारीहरुले कुनदिन महिला र पुरुष पनि नछुट्याई उसलाई पनि बलात्कार गर्ने पो हुन् कि? उसको सम्पत्ति धेरै छ भन्ने थाहा पाए पछि उनलाई त्यहिँ भित्रै मारेर सम्पत्ति पनि कुम्ल्याउने हुन् कि?
त्यो सरकारी सुरक्षा गृहभित्र पस्न उसलाई जति हतार थियो अहिले आएर त्यहाँबाट उम्कन उसलाई त्यो भन्दा पनि धेरै हतार थियो।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 13 मङ्गसीर, 2075

लेखकका अन्य रचनाहरु