जित-हार !

- बद्री अधिकारी

अरूमाथि शंका, उपशंका तथा आरोप–प्रत्यारोप गर्न मानिसलाई सजिलो हुन्छ तर कसैले आफूमाथि सोही प्रकृतिको विषय र अवस्थामा सोही बमोजिमको कार्य गरिरहेको कुराबाट जब ऊ परिचित हुन्छ त्यसबखत मर्माहत हुँदै आक्रोश व्यक्त गर्न थाल्दछ । यस्तो कुराको मात्रा स्वभाव हेरी हरेकमा पृथक हुन सक्छ तर हुँदैहुँदैन चाहिँ भन्न सकिन्न । यो उनको अनुमान मात्र हो । हिजोआज उनको लोग्ने बिदेशबाट आएपछि पहिलेको जस्तो छैन । उनी भनेपछि मरिहत्ते गर्ने ! उनको सामीप्यता रुचाउने मान्छे अलि पृथक भएझैँ लागिरहेको थियो । कार्यव्यस्तताले हो कि उसको चालचलन व्यवहारले त्यो कुरा पुष्टि गरिरहेको थिएन । जति नै व्यस्त हुँदा पनि उनका लागि समय निकाल्ने मान्छे आजकल व्यस्त नभए पनि व्यस्तताको नाटक गरिरहेको हुन्छ । उनी आफ्नो कमजोर पक्षलाई अतीतदेखि वर्तमानसम्म केलाउन व्यस्त हुन्छिन् । कयौँ घन्टाको झोक्राइ व्यर्थ हुन्छ । उनी आफ्नो त्रुटि पर्गेल्न सकिरहेकी थिइनन् । सात वर्षको छोरोसँग उनी ऊ विदेश जाँदा एक्लै बसेकी थिइन्, छुट्टभिन्न भएकाले गर्दा........। मूल घर नजिकै थियो । हिजोआज प्रायः ऊ बाबुआमा, दाजुभाइसँग गफ छ भनेर गाँस टिपेपछि उतै लाग्छ । मान्छेको मन शङ्कालु हुन्छ, मूल घरका मानिसले उनको विरूद्ध केही सुनाइदिए कि ? या गाउँलेले पो केही सुनाए कि ? परिस्थितिले गर्दा एउटी तरुनी एक्लै छोराछोरीसँग बस्नु पर्दा हाम्रो जस्तो समाजमा बढी शंका–उपशंका, चियोचर्चो गर्ने चलन छ । उनी यसरी नै मनोसंवाद गर्दै घरमा एक्लै बसिरहेकी थिइन् । उसको आफूप्रतिको व्यवहारले उनीभित्र विक्षोभ उत्पन्न भइरहेको थियो । उनी मुस्कुराउँदै नजिक पर्न खोज्थिन् तर ऊ मोबाइल खेलाउँदै अर्को छेउतिर लाग्थ्यो । मानौँ ऊ कसैको नम्बर डायल गर्दै छ । एउटै घरको बसाइ एउटै ओछ्यानको सुताइ हुँदा पनि दुई बीचमा टाढापन थियो । उनीसँग ऊ टाढिनुको तात्पर्य बुझ्न सकिरहेकी थिइनन् । ऊ उनीसँग टाढिनुको अर्थ खोलिरहेको थिएन भन्ने उनीलाई भान भइरहेको थियो । ऊ आजकाल गम्भीरसँग केही सोचिरहेछ झैँ लाग्दथ्यो । यो उनको ठम्याइ मात्र थियो । अस्तिको कुरा हो जेठानीसँग भेट भएको ।
“के छ तिम्रो खबर ?”
“राम्रो छ ।” जेठानीको प्रश्नमा उनले यसरी उत्तर दिएकी थिइन् । जेठानीको मुस्कानभित्र कुटिलता लुकेझैँ लागेथ्यो । मनको पीडा उनीसँग पोख्ने विचार हुँदाहुँदै पनि त्यसो गर्न सकिनन् । उनलाई जेठानीका आँखामा कपटपूर्ण चञ्चलता झल्केझैँ लागेथ्यो । जेठानीले पहिला पनि उनलाई विवाह नगरौँ भनेकी रे ! उनको ‘ऊ’ लाई निकै सम्झाएकी रे ! उनको ‘ऊ’ ले उनलाई मन पराएपछि जेठानीको माइततिरकी केटीसँग देवरको विवाह गराउँने धोको पूरा नभएको रे ! “अब त म उनीहरूकी मान्छे भइसकेँ । के अझै जेठानी दिदी मेरो दाम्पत्य जीवन सुखमय नहोस् भन्ने चाहन्छिन् ?” मनमा यसरी खेलिरहेका कुराले झन उनी मर्माहत भइरहेकी थिइन् । आफ्नो मान्छेले अरूको कुरा सुन्न थालेपछि घरभित्र कलहको जन्म हुनु स्वभाविकै कुरा हो । सबको कुरा सुने पनि निर्णय आफ्नो दिमागले गर्नुपर्छ । पैँचो लिएर गरेका निर्णयहरू सबै ठीक हुन सक्छन् र ? त्यति अबुझ मान्छे त हैन, यसमा पनि देशप्रदेश घुमेर सुखदुःख देखेको मान्छे । चारचार वर्ष विदेश बसेर आ’को ! के विदेशमा ‘ऊ’ ले अरूको कुरा मात्र सुन्नुपर्छ भन्ने ज्ञान प्राप्त गरेर आयो त ? उनीभित्र आश्चर्यको सीमा झनझन बढिरहेको थियो । डाँको छोडेर रून मन लागिरहेको थियो । उनका हातखुट्टाहरू थरथर कापिरहेका थिए । भएभरको बल लगाएर चिच्याउन मन लागे पनि अरूले के सोच्लान् ? भन्ने त्रासले त्यसो गर्न सकिरहेकी थिइनन् । घरको बरण्डामा उभिएर अगाडिको ग्राभेल सडकलाई हेरिरहेकी थिइन् । जो शान्तसँग आफूमाथि हिँडेका सवारी साधन र यात्रीहरूको बोझ झेलिरहेको थियो, उनीझैँ ।

“नुतन, ए ! नुतन !”
“ए ! दिदी पो, नमस्कार ! –झस्कदैँ बाटातिर हेर्दै उनले भनिन् ।
“भाइ छैनन् ?”
“हुनुहुन्न त । मूलघरतिर जानुभएको छ । दिदीलाई हतार छैन भने एकछिन आउँनु न !”
“भाइले विदेशबाट राम्रो खानेकुरा ल्याएको छ कि कसो ?”
“जे छ त्यसैले सत्कार गर्छु नि !” उनले मुस्कुराउँदै भनिन् । बाटाबाट बोल्ने ती महिला माइती गाउँकी दिदीकी साथी । उनी बरन्डाबाट बैठक कोठातिर लागिन् दिदीको स्वागतका लागि । गर्मीको समय भएकाले उनले दिदी र आफूलाई फ्रिजको पानीमा सर्वत बनाइन् ।
“भाइबिदेशबाट भर्खर आएको भए पनि तिम्रो मुहारमा खुसीका रेखा नाँचेका देखिदैनन् त !”
“होइन दिदी ! त्यस्तो केही होइन ।”– झस्कँदै उनले भनिन् ।
“तिम्रो दिदी मेरो साथी भएपछि म तिम्रो दिदीसरह हुँ । के आजकाल तिमीहरूबीच खटपट चल्दै छ ? भाइलाई पनि प्रायः घरमा बसेको देख्दिनँ ।”
“...................... ।” उनले बोलेर केही जवाफ गरिनन् । मिना दिदीको स्नेह र माया भरिएको स्वर सन्दा उनका आँखाहरू रसाएर आएका थिए । बगिरहेको आँसुलाई उनले साडीको सप्कोले पुछिन् । दिदीले जिद्धि गरेर सोधेपछि उनले ढाँट्न सकिनन् । ‘ऊ आफूसँग टाढिँदै गएको’ सबै कुरा मिना दिदीलाई सुक्सुकाउँदै ओकलिन् । मिना दिदीले उनलाई धैर्यधारण गर्ने सल्लाह दिँदै भनिन्– “तिम्रा घरपट्टिका र अरू केही मानिसले तिम्रो छोरोलाई घरमा आएर ट्युसन पढाउने रुप्सिलो राहुलसँग तिम्रो अनैतिक सम्बन्ध छ भनी चर्चा गर्दा रहेछन् । मैले पनि घाइँघुइँ त्यस्तो सुनेथेँ ।”
“दिदी यो कस्तो अचम्मको कुरो ! दिदी म त्यस्ती भए आजको रात काट्न नपाऊँ ।” यति भन्दै उनी घुँक्कघुँक्क गर्दै रून थालिन् ।
“बहिनी हिम्मत नहार ! विष नखाईकन लाग्दैन । ‘आफ्नो आङको हात्ती नदेख्ने, अर्काको आङको जुम्रा देख्ने’ मानिसहरूको कुरा पत्याउँनु हुँदैन । केही भए हामी पनि छौँ । माइती पनि छन् ।” उनलाई मानसिक र शारीरिक दुवै रूपले मिथ्या आरोपका विरूद्ध लड्नका लागि तयार रहन सल्लाह दिँदै मिना दिदी विदा मागेर त्यँहाबाट लागिन् । ऊ टाढिएको यथार्थदेखि परिचित भएपछि उनी झन् छट्पटिन लागिन् ।
काम गर्ने जाँगर उनमा मरिसकेको थियो । आफूमाथि मिथ्या शंका गर्ने ऊप्रति क्रोध उत्पन्न हुँदै थियो । शरीरका हरेक जोर्नीहरूमा असह्य पींडाबोध भइरहेको थियो । भविष्यको सुनौलो महललाई आँधीबेहरीले भत्काउन सक्ने संकेतले उनी किंकर्तव्यविमूढ हुँदै गइरहेकी थिइन् । असन्तुलित मस्तिष्क र मन भएको अवस्थामा मान्छे सही प्रकारले आफ्नो दैनिकी गर्न सक्दो रहेनछ । के बिर्सेँ ? के भुलेँ ? के हराएँ ? जस्तो लाग्दो रहेछ । उनलाई पनि त्यस्तै भइरहेको थियो । उनलाई औधि माया गर्ने दिदीको घर धरानमा थियो । दिदीसँग भेट्न नगएको पनि धेरै समय भइसकेको थियो । फोनमा यदाकदा कुरा हुन्थ्यो । ‘रूप्सिलो’ अहिले पनि छोरालाई पढाउन आइरहेको थियो । सारै हँसिलो र सहयोगी भावना भएको मान्छे । उनले उसलाई तिहारमा भाइ बनाएर भाइटिका लगाइदिएकी थिइन् । प्रत्येक तिहारमा भाइ दिदीको हातबाट टीका थापिरहेको थियो । ‘ऊ’ ले नै घरमै आएर ट्युसन पढाउन लगाएको थियो । दैनिक भेटघाट भएपछि हेमखेम बढ्नु र पारस्परिक सर–सहयोग हुनु अस्वभाविक कुरापनि होइन । मीठोमसिनो पाक्दा भाइको नाताले नदिई खाने कुरा पनि भएन । त्यही सानो कुरालाई लिएर बढाई–चढाई गरेर अर्काको घर बिगार्दा के पाइन्छ ? त्यो पनि घरतिरका आफ्ना मान्छेहरूले । खोई ! कसलाई आफ्नो भन्नु र कसलाई पराई ? छोरालाई पढाउने कुरामा ‘ऊ’ ले ‘रूप्सिलो’ लाई केही भनेको छैन । ‘रूप्सिलो’ ले आदरपूर्वक भिनाजु भन्दा हायहल्लो मात्र ‘ऊ’ ले भनेको देखिन्थ्यो । सायद, ‘रूप्सिलोले’ पनि त्यो कुरोको लख काटेको थियो क्यारे ! एकपटक ‘रूप्सिलो’ले मलाई भनेको थियो– “दिदी ! भिनाजु त पहिलाको जस्तो फरासिलो हुनुहुन्न, चिन्तित भएझैँ देखिनुहुन्छ ।”
“कामको व्यस्तताले होला । खोई मलाई त त्यस्तो लाग्दैन ।“ यसरी उनले उसको प्रश्नको उत्तर दिएकी थिइन् । अरू थोक भन्नु पनि के ? अरूहरूले चर्चा गरेका कुरा भाइलाई सुनाएर दिल दुखाउन चाहन्थिनन् उनी । यसरी नै सुखको अनुभूत नगरी दुःखका भावसागरमा पौडँदै उनका दिनहरू बितिरहेका थिए । समयको गति कसैको दुःख होस् या सुख, वास्ता नगरी आफ्नै पाराले चिप्लिरहेको थियो । समयको गतिलाई हालसम्म कसैले उछिन्न सकेका छैनन् र कहिल्यै पनि कसैले उछिन्न नसक्लान् ।
“पख ! तँलाई र तेरो नाँठोलाई प्रहरी थाना लगेर ठीक पार्छु ।” एकाबिहानै झोँकिएर ‘ऊ’ घरबाट आँधीसरह बाहिरियो । ‘ऊ’ लाई उनले घरबाट गएको हेरी मात्र रहिन् । उनको शरीर दुःखिरहेको थियो । बेलुका ‘ऊ’ ले रक्सि पिएर आएको रहेछ । ‘रूप्सिलो’ सँग लागेको भनेर निकै लछारपछार गरी उनलाई हिर्काएको थियो । त्यसबखत रूँदै भनेकी थिइन् “पापको पनि ख्याल राख ! त्यस्तो बानी मेरो भए रात काट्न नपाऊँ । तिमी कसको लहैलहैमा लागेका छौ आजकाल ?”
“तेरो कसम त दूध र भात, गर्भ पनि फ्याँकिस् भन्ने हल्ला छ । निस्किहाल मेरो घरबाट ।” लात र घुस्सी उनीमाथि बर्साउँदै झन लछारपछार गरेको थियो ‘ऊ’ ले ।
“नचाहिँदो आरोप नलाऊ ! प्रमाणविनाको कुराले मेरो मात्र बेइज्जती हुँदैन । कमसेकम इज्जतको त ख्याल राख !” उनले दस औँला जोडेर बिन्ति गरेकी थिइन् । ‘ऊ’ उनको कुरा सुन्ने पक्षमा थिएन । ‘ऊ’ मुखमा जे आयो त्यही फलाकिरहेको थियो । छोरोलाई पनि हप्कीदप्की गरिरहेको थियो । ‘ऊ’ क्रोधले थरथर कापिरहेको थियो । उनी मुख फर्काउन छाडेर कुनामा टुक्रुक्क बसेकी थिइन् । आँखाबाट बलिन्द्र आँसुका धारा बगिरहेका थिए । ‘ऊ’ फत्फताउँदै सुत्ने कोठातिर लागेको थियो । अनेकौँ कुरा खेलाउँदै उनी कुनाको कुनै बसिरहिन् । ‘के गर्नु ? के नगर्नु ? सुद्धि हराइसकेको थियो । छोरो बैठक कोठाको ओछ्यानमै निदाइसकेको थियो । कुटाइले दुःखेको शरीर र असन्तुलित भएको मनमा निन्द्रा लाग्ने कुरै भएन । घरभित्रको रडाकोले गर्दा बेलुका खाना खाने कुरै भएन । हल्लीखल्लीले गर्दा छिमेकीहरूका झ्यालढोका उघ्रेका थिए । क्षणभरमै चकमन्न भएकाले होला एक–दुईजना उनको घरसम्म आएका छिमेकीहरू पनि फर्केर गइसकेका थिए ।
प्रहरी थानाको कम्पाउन्डको एक छेउमा उनीलाई गाउँका ठूलाबडाहरू केरकार गर्दै थिए भने अर्को छेउमा ‘रुप्सिलो’ लाई । ‘रुप्सिलो’ ले त्यो कुरा स्वीकार्दै स्वीकारेन । नभएको आरोपलाई स्वीकार्ने कुरा पनि भएन, त्यसमा पनि कुमार केटो । उनको ‘ऊ’ सँग प्रमाण थिएन, भनेका भरको कुरा मात्र । उनका आँखाबाट आँसुको भेल बगिरहेको थियो । केश पाकेका बूढापाकाहरू उनको ‘ऊ’ लाई ‘प्रमाणविनाको कुरा नगर, छोराको मुख हेर, प्रमाणविहीन कुरा पानीको फोका समान हुन्छ’ भनेर सम्झाइरहेका थिए तर ‘ऊ’ सम्झने पक्षमा थिएन । ऊ त झन उनले गर्भ पनि फ्याँकेको आरोप सार्वजनिक रूपमा लगाइरहेको थियो । उनले रूँदै भनिन् “सीता पनि पटक–पटकको आरोपलाई सहन नसकेर धर्तीमाताको शरणमा गएकी थिइन् । मैले त्यस्तो गर्भ फ्याँकेको भए पिसाव परीपक्षणबाट थाहा हुन्छ । त्यसका लागि तयार छु । आरोप लगाउँदैमा म आत्महत्या गर्दिनँ । एक्लै भए पनि स्वअस्तित्वको लागि सङ्घर्ष गरिरहनेछु ।” मानिसहरू दुई खेमामा बाँडिएका देखिन्थे । “हावा नचली पात हल्लिँदैन ।” “गल्ति गर्ने मान्छे केही न केही गल्छ नि तर खोई ! दुवै जना गल्दैनन् ।” “गल्ति भए डाक्टरी जाँचका लागि किन तयार हुन्थिन् ?” जस्ता बिचार तथा दृष्टिकोण दुवै पक्षबाट आ–आफ्नो ढंगले आइरहेको थियो– “धेरै मान्छे धेरै कुरा ।” देखेको नदेखै गर्नु एक दिन भेद खुलिहाल्छ या त भागिहाल्छन् ।” “लोग्नेस्वास्नीले केही समयका लागि अलग बसेकै राम्रो । नत्र दुर्घटना हुनसक्छ ।” अदालतले मात्र नाता कायम गर्ने भएकाले उनको ‘ऊ’ लाई अदालत जाने सल्लाह प्रहरीको थियो । राजीखुसी नभएपछि प्रहरीले केही गर्न सक्ने कुरो भएन । उनलाई सम्झाउनेहरू भनिरहेका थिए– “लोग्ने हो, पछि मन फर्केला । केही समयका लागि तिमी माइतीमै बस । छोरोले पनि आमा खोज्ला, मान्छे हो मन फर्किन सक्छ ।” आखिर सबैले सम्झाउँदा तत्कालका लागि उनी माइत जान तत्पर भइन् । जुनसुकै विचार कहिल्यै शून्य हुँदो रहेनछ । विचारका पछि केही न केही सङ्का हुँदो रहेछ । उनको पक्षमा पनि मानिसहरू थिए भने ‘ऊ’ को पक्षमा पनि । केवल फरक यति मात्र थियो कि उनका पक्षमा मानिस स्वस्फूर्त लागेका थिए मसिनो स्वरमा भने ‘ऊ’ पक्षका मानिस ठूलो स्वरमा, मानौँ खाइपचनी गरिरहेका छन् । यो उनको अनुमान मात्र हो । उनको विरोधमा बोल्नेहरू उनलाई गाउँबाट धपाउन सकेकोमा हर्षित देखिँदै थिए । उनीहरू एकापसमा खुसी व्यक्त गरिरहेका देखिँदै थिए । मसिनो स्वरले बोल्ने बूढापाकाहरू उनको लोग्नेले– “दुःख निम्त्यायो, भविष्यमा दुःख पाउँछ ।” भनिरहेका थिए ।
उनी माइत बसेको पनि एक बर्ष नाँघिसकेको थियो । छोराको सम्झना आइरहन्थ्यो । “रुप्सिलो” ले पनि त्यो गाउँ छाडेर गयो भन्ने खबर सुनेकी थिइन् । भाइटीका लगाउने एउटा भाइ गुमेकामा मनको एक कुनामा चस्स काँडाले घोचेझैँ भएको थियो । पवित्र भावनाबाट उब्जेको सम्बन्ध रगतको नाता र सिन्दुरको साइनोभन्दा उपासनीय हुन्छ भन्ने कुरालाई उनको ‘ऊ’ ले बुझेन । नबुझ्नेसँग कस्को के लाग्दो रहेछ र ! उनीभित्र ‘ऊ’ को सम्झना सल्बलाउन खोजेको बेला टाउको झड्कारेर अलग्याउन खोज्थिन् । एक दशकभन्दा लामो जीवन ‘ऊ’ सँग बिताएकी थिइन् कसरी सम्झना नआउनु र ! अतीतले मानिसलाई नलगार्न सक्ने कुरो हुँदै हुँदैन । चाहे त्यो राम्रो होस् या नराम्रो । राम्रा क्षण र नराम्रा क्षणले अवस्था अनुकूल बढी र घटी सताउने गर्दा रहेछन् । ‘दुःख र सुखको सम्मिश्रण नै जीवन हो ।’ उनलाई कसैले भनेको यो कुरा यथार्थ लागिरहेको थियो । छोरोलाई हेर्ने प्रवल चाहनालाई उनी दबाइरहेकी थिइन् । स्कूलमा फोन गर्दा प्रिन्सिपलले– “तपाईंको फोन छोरोलाई नदिनु भनेको छ ।” भनेर फोन राखिदिन्थ्यो । घरमा फोन गर्ने कुरा भएन । “बाबुछोरा मुल घरमै खान्छन् केवल सुत्न मात्र घर आउँछन् भन्ने खबर सुन्दा उनलाई नरमाइलो लाग्दथ्यो । “आफूसँग एउटै ओछ्यानमा सुत्ने छोरो कसरी सुतिरहेको होला ? पेटभरि खान पाउँछ कि पाउँदैन ? भुटेको मासु भनेपछि हिरिक्क हुने......., त्यत्रो जहानमा .......... !” समय चिप्लँदै थियो आफ्नै पाराले...। जेठानी दिदीकी माइती गाउँकी केटी सौता परिछे ।
बहु विवाहमा उनले ‘ऊ’ लाई जाहेरी गरिसकेकी थिइन् । “अर्को विवाह ग¥यो रे !” भन्ने सुन्दा उनीभित्र क्रोधको ज्वाला दन्केको थियो । आफ्नो भविष्य स्वयम् निर्माण गर्नुपर्ने उनीमाथि अर्को चुनौति थपिइसकेको थियो । बूढापाकाले दिएको– ‘झीनो मन कम्लाउँने आशा’ रित्तिइसकेको थियो । थानामा उनी र ‘ऊ’ को बीचमा कुरा मिलेन । अंश दिने कुरामा ‘ऊ’ कञ्जुस्याइँ गरिरहेको थियो । थानाले उजुरी गरेपछि जिम्माजमानीमा पनि ‘ऊ’ लाई छोड्न मानेन । उनकी सौतालाई चाहिँ भोलि दाखिल गर्ने सर्तमा प्रहरी थानाबाट छाडिएको थियो । अहिले उनी ‘ऊ’ भन्दा माथि परेकी थिइन् । नयाँ दम्पत्तिलाई जेल सजायसम्म हुन सक्ने भएकाले ‘ऊ’ पक्षका मानिसहरू खुसामद गरिरहेका थिए । एक भाग अंश नपाउन्जेल उनी नमिल्ने कुरा गरिरहेकी थिइन् । एक भागमा पनि करिब पचास लाखको जेथो पर्ने सम्भावना थियो ।
आज पनि थानामा भएको कचहरीमा दुवै पक्ष आ–आफ्नो अडानमा अडिरहेका थिए । धेरै समयको वादविवाद निष्कर्ष विहीन भएका कारण दुवै पक्षले पत्याएका प्रतिनिधिमुलक तीन सदस्यीय न्यायिक मण्डली गठन गरियो । त्यस मण्डलीले गरेका निर्णय दुवै पक्षलाई मान्य हुने सर्त गरियो । उनी त्यो भीडलाई मिहिन ढङ्गले नियालिरहेकी थिइन् । उनलाई आरोप लगाउँदाको कचहरीमा रमाउनेहरू मरिच चाउरिएझैँ देखिन्थे भने अनुनयविनय गर्दै मिहिन स्वर ओकल्नेहरूको मुहारमा मुस्कान नाँचिरहेको देखिन्थ्यो । दुई भागमा बाँडिएका मानिसका मुहारमा प्रष्ट रूपले हार र जितका रेखाहरू सल्बलाइरहेका थिए । उनले आफ्नो मनमस्तिष्कलाई छाम्दै आफूले आफैंसँग प्रश्न गरिन ‘जित–हार ! मैले जितेँ भने पनि म किन रमाउन सकिरेकी छुइनँ ? उफ् ....... !” उनले दुवै हातका बूढी औँलाले दुखेको दुवै कन्चटलाई थिचिन् । उनी जमिनको एक छेउमा टुक्रुक्क बसेकी थिइन् भने उनको ‘ऊ’ सोही अवस्थामा अर्को छेउमा ।
निर्णायक मण्डलीले निर्णय सुनायो– ‘एक महिनाभित्र पीडितलाई अंश स्वरूप पच्चीस लाख नगद दिने या त घरघडेरी पास गरिदिने ।’
“दिदी ! आउनुहोस् तपाईँले जित्नुभयो ।” नजिकै उभिएको भाइको स्वर उनको कानमा गुञ्जियो ।
“भाइ ! तिमीले हा¥यौ तर धन्ना नमान ।” अर्कोतिर उनकी जेठानी दिदी उनको ‘ऊ’ सँग भनिरहेकी थिइन् । कानमा ठोकिएको त्यो कुराले उनको मन भक्कानिएर आइरहेको थियो । उनले आँखा घुमाएर चारैतिर हेरिन् ।
उनी सिंहको वेगले जुरुक्क उठेर ठूलो स्वरले चिच्याइन् “दिदी तपाईं भाइलाई स्यावासी दिनुहोस् नेपालको कानुनमा श्रीमतीको नाममा रहेको सँगोलको सम्पत्ति पोइल जाँदा स्वतः श्रीमानको नाममा कायम हुन्छ तर श्रीमानले अर्को विवाह गर्दा उसको नामको सम्पत्ति जेठी श्रीमतीको नाममा स्वतः सरिजाने ब्यवस्था छैन, त्यसैले लोग्ने मान्छेले आइमाइलाई दोहोरो शोषण गरिरहेका छन् तर त्यसको एकदिन अन्त्य हुनेछ । त्यसैले होला ऊ हारेर पनि दुःखित छैन र म जितेर पनि रमाउन सकिरहेकी छुइनँ । मेरो जस्तो घटना यहाँ उपस्थित कसैको घर परिवारमा पनि नघटोस् र दिदी तपाईंको घरमा पनि कसैद्वारा नघटाइयोस् । म भगवानसँग यही प्रार्थना गर्दछु ।” सबै उपस्थित भद्र भलाद्मी महिला, पुरुष, राजनीतिककर्मी र न्याय सेवामा खटिएका प्रहरी एक प्रकारको नमिठो मान्दै ट्वाल्ल परेर मुखामुख गर्न थाले । उनी मूर्तिझैँ नमस्कारको मुद्रामा ठिङ्ग उभिइरहेकी थिइन् । छलफलमा उपस्थित भएकी महिला सांसद सदनमा यस पटक नुतनले उठाएको कुरा कानून संसोधनका लागि उठाउने अठोट गरिरहेकी थिइन् । नूतनको हारजित केहो सांसद स्वयम् छुट्याउन सकिरहेकी थिईनन् ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 13 मङ्गसीर, 2075

लेखकका अन्य रचनाहरु